Thursday, November 5, 2009

उदाउँदा तारा एउटा राम्रो प्रयास

धादिङ जिल्लाका २५ जना बालप्रतिभाहरुको कविता समेटिएको उदाउँदा तारा नामक बालकविताकृति प्रकाशित भएको छ । धादिङ जिल्लाका ६२ विद्यालयका १ सय ७२ बालबालिकाहरुले भाग लिएको जिल्लाव्यापि प्रतियोगिताबाट छनोट गरी पुरस्कृत २५ वटा कविता यस संग्रहमा समेटिएको छ । यस कृतिलाई साहित्यकारहरु नवीन बन्धु पहाडी, महेश पौड्याल प्रारभ्भगणेश ढुङ्गानाले सम्पादन गरेका छन् । शान्तिको लागि सेवा नेपाल नामक संस्थाद्घारा प्रकाशित यस कृतिमा उत्कृष्ट कभर तयार गर्ने काम इश्वरकुमार श्रेष्ठले गरेका छन् । साथै प्रकाशन संयोजनको जिम्मेवारी युवा संजाल धादिङले बहन गरेको छ ।
वास्तवमा पिछडिएका भेगका बालबालिकाहरुलाई सिर्जनात्मक बनाउँन यो स्तुत्य प्रयास हो । यसले एकातिर ग्रामीण भेगका बालबालिकाहरुको आवाज समेटेको छ भने अर्कोतिर उनीहरुलाई साहित्य सिर्जनामा सक्रिय हुन पनि प्रेरित गरेको छ ।

मैले धेरै वर्ष झुम्राको बल खेलें Childhood days Memory of Writer Rambabu Subedi

रामबाबु सुवेदी वरिष्ठ साहित्यकार हुन् । यिनी छन्दमा राम्रा-राम्रा कविता र गीत लेख्न सिपालु साहित्यकार पनि हुन् । यिनै आदरणीय साहित्यकार सुवेदीसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं । उनी यसरी सुनाउँछन् आफ्नो बाल्यकालको कथाः
मेरी आमाको नाम पवित्रा सुवेदी (घिमिरे) हो र बाको नाम देवीदास सुवेदी हो । मेरी बहिनीको नाम पार्वती न्यौपाने (सुवेदी) हो ।
मेरो न्वारानको नाम झलकनाथ हो, दोस्रो नाम वसन्त हो । मेरो खास नाम बाबुराम थियो तर मेरो गाउँको अर्को एकजना भाइको नाम पनि बाबुराम भएको हुँदा मेरा गुरु गोविन्द बरालले मेरो नामको अक्षरलाई उलटपुलट पारेर मेरो नाम रामबाबु बनाइदिनु भयो । त्यसपछि म रामबाबु भएँ । साहित्यमा मेरो नाम राजीव पनि हो ।
मेरो गाउँको नाम हंसपुर हो । यो कास्की जिल्लामा पर्छ । मादी नदीको छेउमा मेरो रमाइलो गाउँ छ । उत्तरमा अन्नपूर्ण हिमाल, पश्चिममा रुपा र बेग्नासताल, काखमा पास्तो खोलो र घना जंगल रहेको छ । काफल, ऐंसेलु, चुत्रो, जामुनो, तिँदु, कटुस र दक्यौली जस्ता फलहरु मैले थुप्रै खाएको छु । म सानो छँदा मेरो गाउँमा सुन्तला र आँप पनि टन्नै थिए ।
मेरो गाउँमा बाहुन, क्षेत्री, गुरुङ, मगर, कामी, सार्की आदि जातिको बसोबास छ । ती नङ र मासु झै मिलेर बसेका छन् । यिनै जातिका बालुन, सोरठी, भजन, चुड्का, ठाडोभाका, रोदी आदिले मेरो कलिलो मनमा ठूलो प्रभाव पारेका हुन् । दशैं, तिहार, तीज र रतेलीको रमाइलो वातावरणको मज्जा पनि मेरो मनमा ताजा छँदैछ ।
म सानो छँदा मेरो गाउँमा कुनै विद्यालय थिएनन् । त्यतिखेर गाउँमा पीँढीशिक्षा (कसैको पीँढीमा पढाइने शिक्षा) को चलन थियो । मेरा गुरु वृहस्पति न्यौपानेले मलाई पीँढीमै अक्षर चिनाउँनु भएको हो । मैले पेचबहादुर गुरुङ र गणेश श्रेष्ठ गुरुहरुसँग चौतारीमा पढ्न पाएँ । त्यसपछि गुरु स्थानानाथ न्यौपाने र छँगेनी रुद्रनाथसँग मैले कटेरा-झुप्रोमा पढें । त्यसपछि मैले पोखराको संस्कृत पाठशालामा गएर अमरकोश र लघुकौमुदी पढ्न थालें । यसरी कहिले मामाघरमा र कहिले पुरन्चौरमा बसेर पढ्दा पढ्दै वि.सं. २०१४ सालमा मेरो प्रभात प्राइमरी स्कुल खुल्यो । म त्यही स्कुलमा पढ्न थालें ।
गाउँमा खेलकुदमा रमाएका ती दिनहरु सम्झँदा मलाई निकै आनन्द लाग्छ । पांग्रा गुड्काउँदै रमाउँनु, डन्डीबियो खेल्नुको मज्जा नै अर्को थियो । झुम्राको फुटबल खेल्दा त झन म बढी रमाउँथें । मैले धेरै वर्ष झुम्राको बल खेलें ।
मलाई र मेरी बहिनीलाई आमाको काखमा छाडेर मेरो बुवा लाहुर जानुभएको थियो । उहाँको लाहुर भारतको कलकत्ता थियो । केही समय पछि दुइवटा भरिया लगाएर बुवा घर आउँदा म पाँच वर्षो फुच्चे थिएँ । उहाँलाई लिन आमा र म गाउँको छेउसम्म पुगेका थियौं । त्यो बेला मलाई देख्नासाथ बुवाले मलाई अंगाल्नु भयो र बर्र आँसु झार्नु भयो । बुवा रोएको देखेर आमा र म पनि रोयौं । मलाई लाग्छ त्यो आँसु खुसीका पनि थिए र दुःखका पनि थिए ।
मेरो घरमा गाई, भैसी र बाख्रा थिए । भेडा थिएनन् । म गाई-बाख्रा चराउन जान्थें । पाठापाठी मलाई एकदमै मनपर्थे । पाडाबाच्छालाई म एकदमै माया गर्थें । म भकारा सोर्थे, घाँस काट्थें । बाआमालाई सघाउँथें ।
म सात वर्षो हुँदा मेरो बुवा बित्नुभयो । म टुहुरो भएँ । बहिनी टुहुरी भई । आमाले सेता लुगा लगाउनु भयो । आमालाई दुःख थियो । एक्ली नारी विधवा भनेर मानिसहरु हेप्थे । उहाँले धेरै दुःख गरेर मलाई र बहिनीलाई हुर्काउनुभयो र पढाउनुभयो । समाजसँग डराउनु भएन । उहाँले हिम्मत साथ हामीलाई हुर्काउनुभयो, पढाउनुभयो र योग्य बनाउँनु भयो । आमालाई हौसला दिएर मामा चन्द्रकान्त घिमिरेले ठूलो गुन लगाउनु भयो । मलाई थपी-थपी घिउँ खुवाउँने माइजू झनै जाती हुनुहुन्थ्यो । 
मेरी आमा अहिले हुनुहुन्न । उहाँ बित्नु भयो । मलाई लाग्छ मेरी आमा पानीको थोपो र समुद्र दुबै हो । किनकि आमाको माया अपार छ । आमाको देखाएको बाटो अहिले म हिडिरहेको छु । सँधै श्रम र मिहिनेतलाई माया गर भन्ने आमाको आज्ञाले गर्दा नै आज मेरो जीवन खुसी भएको छ ।

रत्नका रत्नप्रसाद

यिनी रत्न पुस्तक भण्डारका संस्थापक रत्न प्रसाद श्रेष्ठ हुन् । यिनले नेपाली बालसाहित्यको विकासमा ठूलो योगदान गरेका छन् । यिनको विशिष्ट योगदानको कदरका लागि हामी यिनको हार्दिक प्रशंसा गर्दछौं । 
         नेपाली बालसाहित्यको अनलाइन चौतारी परिवार

Bravo Editor; Keep it Up!

Many know that Mahesh Paudyal ‘Prarambha’, the editor of http://www.ketaketi.org/, and the editor of many books for children published from Nepal, writes stories. He himself weaves stories for children and in many cases rewrites and decorates others’ stories. But there are few who write about, or know of his personal story. Ketaketinews.com has today undertaken this move to write his story, and we have a reason for that.

Mr. Paudyal has a history of continuously topping examinations of various levels, and recently the same has happened once again. In 1997, he was the district topper of SLC from Senapati district of Manipur (India) where he took his SLC from. His documents reveal that that was the first time his high school made to the position of the rankers. He had been the board topper in English, and had been awarded by the Board of Secondary Education Manipur with a special citation for the accomplishment.
History repeated in 2002, when he became the sole first division holder in the entire Manipur University in English (Honors) Courses and won a gold medal. Prime Minister Man Mohan Singh conferred him the medal in a colorful gathering in the Auditorium of Manipur University. He brought home the laurels once again in 2005, when at home, he topped the Department of English, Tribhuvan University. He is due for recieving a gold medal for the same during the Convocation that may be held sometime in November this year.
His stories do not stop there. For his M.Phil Degree he joined the Institute of Advanced Communication, Education and Research (IACER) under Pokhara University in Spring 2008, and the first semester results brought him 4 points out of 4 in GPA, once again attesting his academic excellence. Just a few weeks ago, the second semester results too came, and history repeated. He has 4 out of 4 once again, and the result is unprecedented in the history of IACER, according to IACER sources. He is already entitled for another big recognition from Pokhara University as well.

The Ketaketinews.com family is proud of having him as our editor. He has a natural flair for writing, and has a special soft corner for children. His records reveal that he published his first poem when he was an eighth grader and his first story in English as soon as he appeared his matriculation exams. He is always busy doing others’ tasks, for which, we know, he gets seldom paid, or duly reciprocated. And yet, he never denies helping any, and still always maintains his marks high.
Congratulations editor, we always wish you a bright future, and a glorious career as an author.

Tuesday, November 3, 2009

किशोर पहाडीको रमाइलो बाल्यकाल

किशोर पहाडी राम्रा कथाहरु लेख्छन् । यिनी नेपाली साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ लेखक हुन् । यिनै अग्रज लेखक पहाडीको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । उनी बाल्यकालको सम्झना सुनाउँदै भन्छन्
बालखकालको सम्झना गर्दा आफ्नो स्वर्णकालको सम्झना हुन्छ । 'स्वर्णकाल' भनेको उज्यालो समय हो । बालखकालमा हामी अबोध हुन्छौँ । 'अबोध' भनेको केही पनि नजान्ने हो । बालखकालमा हामीले केही जानेका हुँदैनौँ ।
त्यसैकारण होला मेरो स्कूले जीवनको पहिलो दिनको सम्झना गर्दा म कति अबोध रहेछु भनी छक्क पर्छु ।
मैले पढेको पहिलो स्कूल हो- काठमाडौँको डिल्लीबजारमा अवस्थित "विजय मेमोरियल हाईस्कूल" । त्यहाँ म ६ वर्षको उमेरमा २ कक्षामा भर्ना भएको थिएँ जस्तो लाग्छ । यो वि.सं. २०१९ सालतिरको कुरा हो । स्कूलको पहिलो दिनमा मेरो मनमा धेरै नै डर थियो । नयाँ ठाउँको डर, नयाँ वातावरणको डर, नयाँ मान्छेहरूको डर, नयाँ शिक्षकहरूको डर ।
त्यतिखेरको मेरो कक्षामा बेञ्च थिएन, सुकुलहरू ओच्छ्याइएका थिए । सुकुल भनेको बस्नको निम्ति परालद्वारा बनाइएको ठूलो चकटी जस्तै चीज हो ।
हामी सुकुलमा बसेर पढिरहेका थियौँ । कक्षामा कुनै शिक्षकले पढाइरहनु भएको थियो । अचानक मलाई सुसुले च्याप्यो । तर डरले गर्दा मैले शिक्षकलाई "म ट्वाइलेट जान्छु" पनि भन्न सकिनँ । कहिले कक्षा सिद्धिएला र जाउँला भनी कुरेर बसिरहेँ । मलाई किन हो किन शिक्षकसँग डर लाग्यो ।
धेरै नै बेर भएपछि पनि कक्षा चाहिँ सिद्धिएन । मैले सुसु रोकेको रोक्यै गरेँ । हुँदा हुँदा हुँदा हुँदा...धेरै नै बेर भएपछि...मैले सुसु रोकिराख्न सकिनँ । सुकुलमा बसेकोबस्यै मेरो सुसु फुस्क्यो । सुकुल जम्मै भिज्यो । अनि म उठेँ । शिक्षककहाँ गएँ र बडो साहसका साथ भनेँ- "मलाई सुसु आयो, सर !"
म त्यसरी उठ्दा कक्षाका सम्पूर्ण विद्यार्थीले मेरो भिजेको कट्टु देखे । अनि "लौ यसले त ... ... सुसु गरिसकेछ, सर" भनी सबै जना हाँस्न थाले । मलाई लाज लागेर आयो ।
स्वास्थ्यको कारण पनि सुसु आएपछि त्यो रोकिराख्नु नहुने रहेछ । यो कुरा मलाई धेरै पछि थाहा भयो । रोकिराख्दा यसरी एक त बेइज्जत हुने, अर्को स्वास्थ्य पनि खराब हुने । सुसु त रोक्न नहुने रहेछ ।

त्यही स्कूलमा फेरि ४ कक्षामा भएको एउटा अर्को घटनाले पनि केटाकेटीहरू कति अबोध हुन्छन् भनी थाहा हुन्छ ।

४ कक्षामा मौखिक जाँच भइरहेको थियो । सर र मिसहरूले सबै विद्यार्थीलाई पालैपालो विभिन्न प्रश्नहरू सोधिराख्नुभएको थियो । हामीहरूले त्यो प्रश्नको जवाफ मुखैले बोलेर दिनुपर्थ्र्यो ।

मेरो पालो आयो । म उभिएँ र शिक्षकहरूको नजिकै गएँ ।

एकजना शिक्षकले सोध्नुभयो- "जनावरहरूमा सबैभन्दा उफ्रन सक्ने जनावर कुन हो ? "

म यति अज्ञानी र अबोध थिएँ कि यस प्रश्नको जवाफ मैले झवाट्ट दिइहालेँ- "...फट्याङ्ग्रा..."

मलाई उत्तर थाहा थिएन । तर घरमा फट्याङ्ग्रा फुत्रुक् फुत्रुक् उ्रिरहेको देख्ने गर्दथेँ । त्यसैले त्यही होला भन्ने ठानेँ ।

शिक्षक शिक्षिकाहरू गलल्ल हाँसे । पछि मैले घर फर्केर सबैलाई आफूलाई सोधिएको प्रश्नहरूको बारेमा भनेँ । सबैजना हाँस्नुभयो । अनि उहाँहरूबाटै थाहा भयो कि जनावरमा सबैभन्दा बढी उफ्रन सक्ने जनावर चितुवा हो भनेर ।
ओहो ! म कति अबोध रहेछु हगि ?

विजय मेमोरियल हाईस्कूलमा मैले ६ कक्षासम्म पढेँ । ६ कक्षापछि म वीरगञ्जमा पढ्न गएँ । वीरगञ्जमा मेरो बुवाको अफिस भएको हुँदा म पनि त्यहाँ गएको हुँ । त्यहाँ म त्रि-जुद्ध बहुउद्देश्यीय विद्यालयमा कक्षा ७ मा भर्ना भएँ । यो २०२४ सालको कुरा हो ।
स्कूलमा मेरो सबैभन्दा मिल्ने साथी थिए- रविन्द्रमानन्द बज्राचार्य । ऊ र म दिनहुँ कक्षा कोठामा किताब राखेपछि केहीबेर सिनेमाघरसम्म घुम्न जान्थ्यौं ।
एक दिन त्यसरी नै घुम्न निस्कँदा हामीले बाटोमा कुनै चीज भेट्यौँ । "बच्छीः मबिया... बच्छीः मबिया..." भन्दै मैले त्यो चीज उठाएँ ।
हामी बालखकालमा कुनै चीज भेट्टायौँ भने "बच्छीः मबिया... बच्छीः मबिया..." भन्थ्यौँ । र, त्यसो भन्दा हामीले त्यो चीजलाई आधा आधा पार्नु पर्दैनथ्यो । नेपाल भाषामा ' बच्छीः' भनेको 'आधा' 'मबिया' भनेको 'दिन्नँ' भनेको हो ।
तर त्यसोभन्दा पनि रविन्द्रले "हुन्न हुन्न...मलाई पनि चाहिन्छ" भन्न थाल्यो ।
त्यो चीज रहेछ- एउटा एयरफोन- रेडियोमा जोडी कानमा लगाई सुन्ने एउटा किसिमको तार ।
'दिन्नँ' भन्ने, 'चाहिन्छ' भन्ने । दुवैजना एक छिन कराइरहृयौँ । अन्तमा हामीले आधा आधा पार्ने नै निधो गर्यौँ । छेउको एउटा ढुङ्गा टिपेर ढ्याङ ढ्याङ हान्यौँ र त्यो एयरफोन फुटायौँ ।
धत्तेरी ! फुटाएपछि त्यो एयरफोन उसलाई पनि काम लागेन, मलाई पनि काम लागेन । नफुटाएको भए त दुइमध्ये एकलाई काम लाग्थ्यो ।
कति अबोध त ! त्यो बेलाका हामी केटाकटीहरु ।

मित्रता (बालकथा) By Bidya Sapkota

मुसलधारे पानी परिरहेको थियो । वा-आमा काममा जानुभएको आइपुग्नुभएको थिएन । शनिवारको दिन स्कूल विदा भएकोले राजु घरमा एक्लै थियो । कालुको पनि विहानदेखी अत्तोपत्तो नै थिएन । पानी पनि कत्ति पर्न सकेको, वार्दलिमा उभिएर एक्लै रुन थाल्यो ऊ । भल यति ठूलो आएको थियो कि, दाउराको चाङ्गहरु भत्काउदै लगिरहेको थियो । चराहरु रुखमा क्रुकुक्क परेर वसेका थिए । साथीहरु पनि कोही आउन सकेका थिएनन् । बिहानदेखि पानी परेको रोकिएको थिएन । भोक लागेर पनि राजुको छटपटी वढेको थियो । रोएर उसका आँखा राता भैसकेका थिए । पानी परेको समय भएर होला, वरिपरि कसैले पनि राजुको रुवाइ सुनेनन् ।

रुँदा-रुँदा थाकेर राजु निदाउन लागेको थियो । उसको छेउमै आएर कालु टुक्रुक्क वस्यो । पानीले निथ्रुक्क भिजेको कालुलाइ देखेर राजु खुसी भयो । कालु तँ कहा गएको थिइस् हँ ? मलाइ एक्लै कस्तो डर लाग्यो......... राजुले उसलाइ थपथपाउदै भन्यो । कालुले डराउदै ट्वाल्ल परेर हेरिरह्यो ।

! तैले किन हेरिरहेको नि मलाई ? तलाई पनि त जाडो भयो होला पख् ल । राजुले कपडा खोजेर कालेलाइ पुछिदियो । कालु पनि आत्तिएको जस्तो देखिन्थ्यो । राजुको साथ पाएर थपक्क वसिरहृयो । कालु वोल्न सक्दैनथ्यो तर उसका चम्किला आँखाहरु, लामो-लामो जुँगाको भाषा राजु तुरुन्तै वुझिन्थ्यो । विस्तारै झरि पनि रोकिदै गइरहेको थियो । अघिसम्म भोकले आकुल भएको राजु कालुलाइ भेटेपछि त्यत्तिकै अघाएजस्तो भयो । झुस्यानले पानी बग्ने बाटो छेकिएछ । भल भरिएर वाख्राको गोठ भरिन लागेको थियो, कालुले बुर्लुक्क उफ्रेर नाल खोलिदियो ।
दुवै भोकाएका थिए । आमाले दलानमा खाजा पकाएर राखिदिनुभएको थियो । राजु सानै थियो कालुले राजुको मुखमा हेर्यो अनि सानो बनेर बसिदियो । राजुले उसको जिउमाथि चढेर खाजा झिक्यो अनि दुवै मिलेर खाए । एक्लै डराइरहेको वेला एक अर्काको साथ पाएर दुवै एकदम खुसी भए ।
साँझ परेपछि वावा-आमा आउनुभयो । कालुलाइ राजुसँग वसिरहेको देखेर दङ्ग पर्नुभयो । तर कालु पहिला जस्तो पटक्कै थिएन । कताकता डराएजस्तो, आत्तिए जस्तै गरेर बाहिर हेरिरहेको थियो ।
कालु के भो तलाई ? राजुले सुम्सुम्याउदै सोध्दा आखाभरि आशु बनाउदै कालु राजुसँगै झन् टास्सिएर बस्यो ।
आमा हेर्नु के भो यसलाइ अघि देखी नै डराइरहेको छ । के भयो भनेर सोध्यो कि खाली रुन्छ मात्रै रुन्चे अनुहार लगाउदै अघि देखिको एकएक कुरा आफू आत्तिएको, काले भिज्दै आएको, वाख्रा वचाएको, खाजा खाएको सवै कुरा राजुले बाबुआमालाइ सुनायो ।
राजुको जे कुरा पनि विगारिदिने, खानेकुरा पनी खाइदिने भनेर आमाहरुले नै परको खेतनेर छोड्न कालुलाइ लग्नुभएको थियो तर काले त अघि नै आइपुगिसकेछ । आमालाइ यिनीहरुको यस्तो मित्रता आफूले नदेखेकोमा पछुतो लाग्यो । एउटा विरालोको वच्चाले आफ्नो छोरालाइ त्यत्ति धेरै माया गरेको तर आफू मान्छे भएर पनि उसलाइ सधै दुर्व्यवहार गरेकोमा खिन्नता लाग्यो ।
ल आओ ! खाजा खान आमाले वोलाउनुभयो । राजु आयो तर काले डराएर उतै वसिरहृयो । काले, तँ पनि आइज न, आमाले मायाले बोलाउनु भयो ! राजु र काले दुवैले रमाउँदै सँगै वसेर दूधभात खाए ।
कल्याणपुर - , नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं

Monday, October 26, 2009

भगवान, के यही हो त बालदिवस ? By Pratibha

', राम (राम झल्यास्स व्युझियो) उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ? निधार सुमसुम्याउदै रामकी मालिक्नीले भनिन् । राम तर्सियो, सपना नै पो हो कि भनेर उसले आफूलाई चिमोट्यो ।
उठ है बाबु, म तिमीलाई दूध तताउछु भनेर मालिक्नी भान्सा कोठामा गइन् । राम एकैछिन त वाल्ल पर्यो अनि सोच्यो- हैन आज मालिक्नीलाई के भएछ ? सधै चार बजे आएर छालै निकालूला जस्तो गरी चिमोटी चिमोटी चिच्याउने मालिक्नीको मनमा आज म प्रति कताबाट दयाभाव आएछ हँ - सायद दुःखीको पनि दिन आउँछ भनेको साँच्चै रहेछ ! मालिक्नीले सायद अब मलाई पनि आफ्नो छोराजतिकै माया गरिबक्सिन्छ क्यारे ।
ओहो ! राम तिमी अझै पनि बिस्तारामा नै छौ ? उठ गएर हातमुख धोऊ, मैले दूध तताइ दिएँ आज तिमी सानो मालिक....सानोबाबुको स्कूल जानुपर्छ- मालिक्नीले मायालु स्वरमा भनिन् ।
रामलाई अझै पनि सपना हो कि विपना छुट्याउनै मुस्किल भइरहेको थियो । भगवानले एक न एक दिन सबैको पुकार सुन्छ भनेको यही हो क्यारे । ऊ यही सोच्दै बिस्ताराबाट उठ्यो अनि मुख धुन भनि तलको बाथरुम जानलाई पाइला बढायो । यो देखी मालिक्नीले उसलाई हत्तपत्त रोक्दै भनिन्- ओ बाबु, कता तलको फोहोरी बाथरुम हिड्न लागेको ? यहीँ छँदै छ नि सफा, राम्रो बाथरुम । अनि सुन, आजबाट तिमी सानोबाबुको कोठामा नै सुत्नु, मैले सानो बाबुको सर्टमा आइरन गरेकी छु आज सानो बाबु बिरामी छ तिमी उसको स्कुल जानु ल । ल, ल जाउ छिटो गर ।
रामुले अझै पनि होस सम्हाल्न सकेको थिएन । अब ती दुःखका कहालिलाग्दा दिनहरु त केवल कल्पनाका तस्बीरहरु बनी टाँगिने भए, ...हो, सोच्दा सोच्दै उसले कपडा लगायो अनि नास्ता खान गयो । ऊ नास्ता खाएर भुइँमा बस्न लाग्यो । यो देखेर उसका मालिकसाहेबले बाबु, किन भुइँमा बसेको - माथि आउन भनेर समाते अनि माथि आफूसँगै टेबुलमा लगेर नास्ता गर्न लगाए अनि भने- बाबु स्कूलमा राम्रोसंग पढ्नु है । रामले हस् मालिकसाहेब भन्यो । रामु, अब हामीलाई मालिक-मालिक्नी हैन अङ्कल-आन्टी भन्नु र बेलुका कतै नभुलि घर आऊ है, बेलुका तिमीलाई भेट्न थुप्रै अङ्कल-आन्टीहरु आउनुहुन्छ ।
हस्, अङ्कल भन्दै राम झोला बोकेर स्कुल गयो ।
बेलुका उसलाई लिन मालिक्नी यानी आन्टी आएकी थिइन् । रामलाई देखेपछि हात समातेर घर ल्याइन्, अनि घर ल्याएर जुस पिउन दिइन्, त्यसपछि सानोबाबुका राम्रा कपडा ल्याएर लगाउन दिइन् । रामले चुपचाप कपडा फेर्यो एकैछिनमा उसको अङ्कल पनि अफिसबाट आइपुगे । केहीबेरमा नै त्यो घरमा ठूलो भीड जम्मा भयो । कसैको हातमा माइक र कसैको हातमा फूल थिए । रामले केही सोच्नै सकेन । पछि कुरा बुझ्दै जादा ती त कोही पत्रकार, कोही मन्त्री त कोही हाकिम पो रहेछन् । उनीहरु सबैको खातेदारी आन्टीले नै गरिन् । अनि सबैजना पत्रकारले प्रश्न गर्न थाले । राम आत्तिएर केही बोल्नै सकेन । उसको अङ्कलले क्यामरातिर फर्केर भने- राम अलि लजालु स्वभावको छ । हामीले उसलाई यहाँ ल्याएको तीन वर्ष भयो । कहिल्यै पनि बदमासी गर्दैन, ज्ञानी छ, सधैँ स्कूल जान्छ, भ्याउदा अलिअलि आन्टीलाई सहयोग गर्छ । जे होस्, गर्व लाग्छ एउटा अनाथलाई ल्याएर छोराको स्थानमा राख्न पाउँदा हैन बाबु ? रामु केही प्रतिक्रिया नजनाई केवल कृत्रिम मुस्कान हास्छ । सोफाबाट मन्त्री उठ्छन् अनि मन्त्रीले सबै मान्छेको अगाडि उसको ढोङ्गी अङ्कललाई दोसल्ला ओढाइ प्रमाणपत्र दिन्छन् अनि भन्छन्- आज बालदिवसको दिन यस्तो ठूलो व्यक्तिलाई सम्मान गर्न पाउँदा म पनि हर्षवभोर भएको छु । सबै व्यक्तिमा यस्तै सोच पलाओस् भन्ने कामना गर्दै रामको उज्ज्वल भविष्यको लागि यो २ लाखको चेक दिन चाहन्छु, हस त धन्यवाद ।
त्यसपछि कार्यक्रम सकिन्छ । सबैजना आ-आफ्नो घरतिर लाग्छन् ।

रामले आज बालदिवस रहेछ भन्ने कुरा बल्ल थाहा पायो । मनमा कुरा खेलाउदै टेबुलमा भएको जुस पिउन हात मात्रै के अगाडि बढाएको थियो । उसको हातमा सहनै नसक्ने प्रहार भयो । ऊ रन्थनिएर रातो भयो र बिस्तारै टाउको उठाएर हेर्यो । उसमाथि प्रहार गर्ने त उसकै आन्टी पो रहिछिन् । अनि उसले मसिनो स्वरमा भन्यो आन्टी, फेरि उसको ढाडमा सुम्ल्याउँदै उनले उनले भनिन्- केको आन्टी, मालिक्नीसाहेब भन् । तर आन्टी अघि त.....के को अघि - अघिको कुरा त तेरो भ्रम या भनौँ सपना नै सम्झी । राम केवल आँसु तपतप चुहाएर उभिइरह्यो । मालिक्निसाहेबले भनिन्- ती कपडा फुकाल अनि कतै लगेर मिल्काइदिनु, अब ती कपडा सानो मालिकले लगाउँदैन, अनि सुन् भान्सामा एउटा रोटी छ त्यो रोटी खा अनि यी सबै भाडा माझ, कोठा सफा गर्, भूइँ पुछ् अनि मैला-मैला कपडा धोएर त्यो भर्याङमुनि कै कोठामा गएर सुत्नु, आज पार्टी हामी उतै डिनर गरेर आउछौँ बुझिस् ।
रामले टाउको हल्लाउँदै बुझेँ मालिक्नीसाहेब भन्यो । अनि मनमा आएको पहिरो थाम्नै नसकेर पल्लो कोठामा गएर भक्कानो छुट्ने गरेर रोयो । उसको घाउ यति गहिरो थियो कि त्यसको कुनै मलम, औषधी नै थिएन । उसले भगवानको अगाडि गएर आफ्नो मनको गाठो फुकाउँदै ढुंगाको देवतालाइ सोध्यो भगवान, के यही हो त बालदिवस ?
यो कथा अनलाइन बालकथा प्रतियोगिता २०६५ मा प्रथम पुरस्कार प्राप्त कथा हो

डाकाले पूरा गाउँ नै लुटेर लैजान्थ्यो- रामकाजी कोने

रामकाजी कोने राम्रा मुक्तकहरु लेख्छन् । यिनको मुक्तकमेला नामको मुक्तक-सङ्ग्रह भर्खरै प्रकाशित भएको छ । यिनी पेशाले वरिष्ठ पर्यटन व्यवसायी हुन् । समाजसेवाको क्षेत्रमा पनि यिनले विशेष योगदान पुर्याइरहेका छन् । यिनै वरिष्ठ साहित्यकार कोनेसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं । उनी बाल्यकालको अनुभव सुनाउँदै भन्छन् :
म वि.सं.२०११ साल वैशाख पूणिर्मा बुद्घजयन्तीका दिन कास्की जिल्लाको दाङ्सीं मोहारिया गाउँमा जन्मेको हुँ । मेरो पहिलो विद्यालय भैरहवाको भैरहवा हाइस्कुल हो । मैले रुपन्देही मन्रि्रामको शान्ति विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको हुँ । भैरहवा क्याम्पसमा मैले प्रविणता प्रमाण पत्र तह पढें । मैले त्यहीबाट भाषा-साहित्य पढ्न शुरु गरेको हुँ । जुन एउटा रमाइलो क्षण थियो । यो बेला म गुरु टंक न्यौपानेलाई विशेष सम्भिरहेको छु । उहाँले पढाउँनुभएको साहित्य लेखनको प्रेरणाले नै म साहित्यकार बन्न पुगें । त्यो बेला बालकृष्ण भट्टराई गुरु र क्याम्पसका साथीहरुले मलाइ ठूलो गुन लगाएका थिए ।
वि.सं.२०३२ सालको कुरा हो । त्यो बेला भैरहवामा स्नात्तकको पढाइ हुन्थेन । त्यसैले अध्ययनको लागि म काठमाडौं आएँ । मैले त्रिचन्द्र क्याम्पसमा स्नात्तक पढ्न शुरु गरें । त्यहाँ मैले गुरु कृष्ण गौतमबाट साहित्य लेख्नुपर्छ भन्ने अझ बढी प्रेरणा पाएँ ।
जीवन सोचे जस्तो हुँदैन, देखे जस्तो हुँदैन मात्र भोगे जस्तो हुन्छ भनेझैं मेरो जीवनमा पनि त्यस्तै भयो । साहित्यलाई मनमै लुकाएर राख्नुपर्यो । म घरको जेठो छोरो । आमाको आज्ञा अनुसार अघि बढ्न थालें । त्यसैले मैले परिवारलाई भौतिक सुख दिन अक्षरको खेती गर्ने लेख्ने काम छोडेर अंकको खेती गर्ने व्यापारको काम रोज्नु पर्यो । यसरी धेरै अघिदेखि लेख्न थालेपनि बीचमा धेरै वर्षम व्यापारमै ब्यस्त भएँ । त्यसैले धेरै ढिलो भर्खरै वि.सं. २०६६ मा मेरो पहिलो मुक्तक सङ्ग्रह प्रकाशित हुन पुग्यो । केही साथीहरुले किताब ढिला निकाल्यौ भने । धेरै साथीहरुले राम्रो लेख्दारहेछौ भनेर हौसला पनि दिएका छन् । यतिबेला मलाई मेरा साहित्यिक मित्रहरु र सहयोगी साहित्यिक पत्रिकाहरुको गुन सम्झन मन लागेको छ । युवराज नयाँघरे, विजय वजिमय, वियागी बूढाथोकी, डा.हरि शर्मा, युवराज गौतम, मधुपर्क, गरिमा, मिर्मिरेलगायत सबै शुभचिन्तकप्रति म कृतज्ञ रहेको छु ।
वास्तवमा म पहाडमा जन्मेपनि मैले धेरै समय तराईमा बिताएँ । भैरहवामा हाम्रो जग्गा जमीन थियो । त्यो बेला हाम्रो छिमेकी गाउँमा डाका आएर लुटेको सम्झँदा अहिले पनि मलाई नमज्जा लाग्छ । गोरुले तान्ने गाडा नै लिएर एक हुल डाकाहरु आएका थिए । उनीहरुले पूरै गाउँका घरबाट सामानहरु लुटेर लगे । तराईमा बस्नेहरुको यो दुःख सम्झँदा मेरो मन कटक्क खान्छ । त्यस्तै चैत महिनाको हावाहुरीमा कच्ची खरले छायका घरहरुमा आगो लागेर दुःख पाएका त्यतिबेलाका मानिसहरु सम्झँदा म अहिले पनि भावुक हुन्छु । साँच्चै नै तराईको जीवन निकै कष्टपूर्ण हुन्छ ।
मेरो जीवनमा म मेरा दुइजना हजूरबुवाहरुबाट निकै प्रभावित भएको छु । मेरो मामा घरको हजूरबुवाको नाम नरबहादुर हो । उहाँ एकदमै धार्मिक हुनुहुन्थ्यो । सँधै विहान कार्यालयमा काम गर्न जाँदा बाटोमा पर्ने सबै कमिलाका गोलाहरुमा एक-एक मुठ्ठी चिनी हालिदिएर जानुहुन्थ्यो । बाटोमा हिड्दै जाँदा खुला चौर र खेतका गराहरुमा पिसाब फेर्दा पनि धर्ती आमालाई दुख्छ भनेर पात राखी पातमाथि पिसाब फेर्ने गर्नुहुन्थ्यो । उहाँ प्राणीहरुलाई एकदमै माया गर्नुहुन्थ्यो । आफ्नो पैतालाले कमिला पनि कुल्चिएर नमरोस् भनी विचार पुर्याएर हिड्नुहुन्थ्यो । त्यस्तै म पाँच वर्षको छँदा बित्नुभएका मेरो बुवाघरका हजूरबुवाको वारेमा आमाले मसँग धेरै कुरा गर्नु् भएको छ । उहाँ बित्नुभएको दिन उहाँलाई सैनिक पोशाक लगाइदिएर पाल्कीमा हालेर लगेको अहिले पनि म झलझली सम्झन्छु । त्यो सानो बेला अरुले सोध्दा मैले हजूरबुवा बजार जानुभएको हो भनेर जवाफ दिएको थिएँ । त्यो बेलासम्म मलाई मान्छेहरु मर्छन् भन्ने कुरा नै थाहा थिएन ।
मेरा बुवाघरका हजूरबुवा क्याप्टेन खड्ग सिंह समाजसेवी हुनुहुन्थ्यो । उहाँले त्यो बेला गाँउमा स्वास्थ्य चौकी र पुस्तकालयहरु स्थापना गर्ने काम गर्नुभयो । उहाँ गाउँलेहरुको नेता पनि हुनुहुन्थ्यो । सिपाहीको जागिर पछि उहाँले धेरै समय राजनीति पनि गर्नुभयो । उहाँ गाउँ आउँदा गाउँलेहरु खुसीले रमाएर नाच्दथे ।
मेरा दुबै हजूरबुवाहरु मेरो जीवनका आदर्श नायकहरु हुनुहुन्छ । मैले मेरी आमा सकलादेवीलाई भाविको रुपमा पाएँ । आमाको प्रेरणा र सही मार्गदर्शनले नै आज म सफल मान्छे बन्न सकेको हुँ । आमालाई आदर र स्नेह गर्ने छोराछोरी नै खुसी रहन सक्छन् जस्तो मलाई लाग्छ । आमाको न्यानो मया र प्रेरणा अनि हजूरबुवाहरुको सम्झनाले गर्दा अहिले म उहाँहरुलाई नै आदर्श बनाएर व्यापारको घोडामा बसेर साहित्यको लगाम समातेर अघि बढिरहेको छु । जसले गर्दा मेरो व्यापार इमान्दारितामा टिकेको छ । अनि साहित्यको रसमा पौडदै, लेख्दै र पढ्दै जीवन बाँच्न पाएकोमा म दङ्ग छु, फुरुङ्ग छु र आफूलाई निकै भाग्यमानी पनि ठान्दछु ।

नूर-गङ्गा बालसाहित्य पुरस्कार कार्तिकेयलाई

वि.सं. २०६५ सालको नूर-गङ्गा बालसाहित्य पुरस्कार केटाकेटी अनलाइन बालपत्रिकाका प्रधान सम्पादक कार्तिकेय घिमिरेले पाएका छन् ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच घिमिरेलाई उक्त पुरस्कारबाट समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सम्मानित गरे ।
नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष डा.चूडामणि बन्धुको सभापतित्वमा भएको यस समारोहमा गुठीका संरक्षक नूर प्रताप ज..राणाले साहित्यकार प्रश्रतिलाई अभिनन्दन गरेका थिए ।
सो समारोहमा गुठीले प्रदान गर्ने नूर-गङ्गा लोकगीत गायन राष्ट्रिय पुरस्कारबाट गायिका हरिदेवी कोइराला, बालसाहित्यको राष्ट्रिय नूर-गङ्गा बालसाहित्य पुरस्कारबाट कार्तिकेय घिमिरे र लुम्बीनी अन्चलका साहित्यकार पुरस्कारबाट विष्णु प्रभात, पाल्पा जिल्लामा एसएलसी परीक्षामा उत्कृष्ट छात्रछात्राहरुलगायत विभिन्न प्रतिभाहरु पुरस्कृत भएका थिए ।
उक्त अवसरमा वरिष्ठ समालोचकहरु प्राध्यापक गोपीकृष्ण शर्मा डा. भवेश्वर पंगेनी र प्रमोद प्रधानले पुरुरस्कृत प्रतिभाहरुको वारेमा प्रकाश पार्नुभएको थियो ।
विगत १८ वर्षदेखि प्रदान गरिदै आएको नूरगङ्गा पुरस्कार नेपाली साहित्यको विशिष्ट पुरस्कार हो । यस पुरस्कारका संस्थापक अध्यक्ष वरिष्ठ लोकगायिका स्वर्गीय गङ्गा राणा हुन् ।

बालसाहित्यकार कपिल लामिछानेको बाल्यकाल

कपिल लामिछाने कवि, कथाकार, समालोचक र बालसाहित्यका लेखक हुन् । लामिछानेका अक्षर, कालेकुकुर, भाँडाकुटी, सुनकथा, म्याउँम्याउँ बिरालो, राँकेभूत, रमाइला गाउँखाने कथा, नाङ्लाजत्रो फूल, रमाइला केही कथा, दसैं, पिङ र हात्ती, ठूलो मान्छे, मुसाको बस्ती आदि एक दर्जनभन्दा बढी बालसाहित्यका पुस्तकहरू प्रकाशित भइसकेका छन् । पच्चीस वर्षदेखि उनी शिक्षण र लेखनमा लागिरहेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने लामिछानेको नेपाली बालसाहित्यका क्षेत्रमा उल्लेखनीय र विशेष योगदान रहेको छ । उनी आफैंले बाआमाका सम्मानमा शुकदेव-सुकुमाया लामिछाने बालसाहित्य पुरस्कारको स्थापना पनि गरेका छन् । लामो समयदेखि भैरहवामा बसोबास गर्दै आएका लामिछाने पोखराको रमाइलो प्रकृतिको काखमा २०१५ असोज २४ गते जन्मिएका हुन् । यस अंकमा हामीले वरिष्ठ लेखक लामिछानेको बाल्यकालका केही संस्मरणहरू प्रस्तुत गरेका छौं ।

उत्तरपट्टी माछापुच्छ्रे हिमाल, दक्षिणपट्टी बेगनास ताल । दुवैका बीचमा छ, माझठाना गाउँ । कास्की जिल्लाको त्यही रमाइलो ठाउँमा २०१५ साल असोजमा मेरो जन्म भएको हो । शुकदेव र सुकुमाया मेरा बुवाआमा हुनुहुन्छ । वहाँहरू सारै मिहिनेती किसान हुनुहुन्थ्यो । दुइ छोरी (दिदी मधु र चन्द्रकला) पछि मेरो जन्म भएकाले घरमा हर्षबढाइँ मनाइएछ । सात गाउँ डाकेर भोजभतेर र नचरी लगाइएको थियो रे ! सामाजिक मूल्य र मान्यता नै त्यस्तै थियो । सबै छोराको खायस वा चाहना गर्थे । छोरो पाउँदा खुसी हुन्थे । बाआमा र दुइवटी दिदीको प्यारो भएर म बढ्दै थिएँ । मोटोघाटो थिएँ रे सानैदेखि । छ महिनाको बेलामा राति आमा सुतेको मौका छोपी रातो देखेर अँगेनाको आगो खान खोज्दा मेरो हातै पोलेछ ।
पाँचछ वर्षको भएपछि मेरो पढाइ सुरु भयो । घरमा फराकिलो आँगन थियो । आँगनका डिलमा बान्नो (ढुङ्गे पर्खाल) उठाइएको थियो । बान्नामाथि ठूला छपनी थिए । तिनै छपनीमा धूलो हालेर कहिले औंलाले कहिले छेस्काले लेखिन्थ्यो । मैले पनि त्यसरी नै कखग सिकें। बारखरी सिकें। दुना पढें । सिक्ने क्रममा बुवाले भनेझैं त्यही गतिमा सिक्न-बुझ्न सकिन्नथ्यो । एकदिन जानेन भनेर रिसले बुवाले लुगा भुत्ल्याएर सिस्नाको झ्याङमा फालिदिनुभयो । म डर, त्रास र सिस्नाको बिझाइले थर्कमान भएको थिएँ । दिदीहरूले त्यहाँबाट झिक्नुभयो र सम्झाई-सम्झाई सिकाउनु भयो । त्यसपछि ठूलो वर्णमाला भन्ने किताब पाएँ । त्यसमा केही स्तोत्र थिए, केही वैज्ञानिक आविष्कारका कुरा थिए, केही कथाकुथुङ्ग्री थिए, केही अङ्ग्रेजी शब्दका नेपाली अर्थ थिए, दुना थिए । मैले ती सबै कण्ठ पारें । एकदिन बुवाले स्कुलमा हाल्ने कुरा गर्नुभयो । एकडेढ घन्टा हिँडेर स्कुल जानुपर्थ्र्यो । किसानी काममा व्यस्त बुवाले एकदिन मेरा लागि समय निकाल्नु भयो । स्कुल जाँदै गर्दा मैले १५ सम्मका दुना सुनाएँ । ठूलो वर्णमालामा भएका सबै पाठ मुखाग्र थिए । सबै सुनाएँ । बुवा खुसी हुनुभयो । जनक प्राइमरी स्कुलमा पुगेर पनि मैले हेडगुरुलाई जानेका कुरा सुनाएँ । त्यसले गर्दा दुइ कक्षामा मेरो नाम लेखियो ।
स्कुलमा साथीहरूसित रमाउँदै पढ्थें । कक्षामा सबैभन्दा सानो थिएँ । अलिक कम बोल्थें। कसैको हराएको कुरा खुसुक्क झोलामा हाल्ने चलन थिएन । कसको के हरा' - भनेर कराउँथें । अनि हराउनेवाला उठेर मेरो भन्थ्यो । दिन्थें । एकदिन पढ्दै गर्दा पुस्तकको पाना च्यातियो । सरले हप्काउनुभयो र भोलिपल्ट आउँदा अलिकति भातको माड ल्याउन भन्नुभयो । ल्याएँ । त्यसले च्यातिएको पाना टाँस्सियो । गम भन्ने कुरा त्यतिखेर हामीलाई थाहै थिएन ।
दुइको परीक्षा सकियो । त्यतिबेला काका (कान्छाबा) आसामबाट घर आइपुग्नुभयो । म वहाँसित झयाम्मिएँ र पछि लागेर आसाम पुगें । पोखराबाट भैरवहासम्म हवाईजहाजमा उडें । त्यतिखेर बाटो बनेको थिएन । आसाममा काकाले बांगला स्कुलमा हालिदिनु भयो । त्यसमा मेरो दिल बसेन । पढ्न छाडेर म गाई-गोठालाको पछि लागेँ । जङ्गल-जङ्गल घुमें । मट्याङ्ग्रा खेलें । खाल्डे खेलें । गोठाला साथीका लहैलहैमा लागेर बाँदर र हात्तीका बथानलाई जिस्क्याएँ । बयर बटुलें । बयर कुट्दा हातै कुट्यो । ब्रह्मपुत्र भारतकै ठूलो नदी हो । गाईको पुच्छरमा समातेर ब्रह्मपुत्र पार हुन खोज्दा झन्डै मरेको थिएँ । साथीहरूले बचाएरमात्र बाँचें । त्यो घटना सम्झँदा अहिले पनि जीउ जिरिङ्ग हुन्छ ।
यसरी १४ महिनाजति आसाममा बिताएर घर फर्कें । स्कुले साथीहरू चारमा पुगेका थिए । म पनि चारमै भर्ना भएँ । साथीहरू लगातार पढ्दै आएका, म फड्केर आएको । तर चारको जाँच हुँदा म राम्रो अङ्क ल्याएर पास भएँ । पाँच कक्षामा दोस्रा भएर कलम र कापी पुरस्कार पाएँ । कति साथीहरू फेल भएर रुँदै घरतिर लागे । मैले अभावका बीच हुर्केर पनि राम्रो कामले गर्दा सबैको स्याबासी पाएँ ।
जनक प्रा.वि. अहिले पनि प्रा.वि. नै छ, तर त्यसले थुप्रै नागरिक जन्माएको छ । त्यसले आफू बढ्नुमा होइन, अरूलाई बढाउनुमा विश्वास गरेको छ । त्यसपछि म रत्नशोभा नि.मा.वि. (हाल उच्च मा.वि.) मा भर्ना भएँ । त्यहाँबाट ६ र ७ कक्षा उतीर्ण गरेपछि हाईस्कुलका लागि मैले झनै टाढा जानुपर्ने भयो । करिब ५ किलोमिटर हिंडेर जानु हिंडेर आउनु सानो बालकका लागि चानचुने कुरा थिएन । जनज्योति मा.वि. (कालिका गा.वि..) मा कक्षा आठमा म र डा.रामकृष्ण तिमल्सिना (हाल रजिस्ट्रार सर्वोच्च अदालत) फुच्चे केटा थियौं । पढाइमा भने तेज ।
घरमा छँदा बाआमालाई काममा सघाउँथें । कहिले बाख्रा चराउन जानु, कहिले भैंसी हेर्न जानु, कहिले कोदालो खन्नु, कहिले घाँसदाउरा काट्नु पढाइका अतिरिक्त नियमित कामजस्तै हुन्थ्यो । घरको आर्थिक अवस्था र स्कुल टाढा भएको कारणले मैले हाईस्कुलको पढाइ छाड्नुपर्यो । आठको जाँचै दिन पाइनँ । बुवाको इच्छा र चाँजोपाँजोमा म टीकाराम भण्डारी (हाल जनज्योति मा.वि.का शिक्षक) का साथ लागेर बनारस पुगें । दस हन्डर र सोर ठक्कर खाँदै त्यो परदेशमा आफैंले कमाएर पढ्नुपथ्र्यो । पढें । पूजा गरें । खाना पकाएँ । औषधि घोटें । केकेमात्र गरिनँ -
यसरी मेरो बाल्यकाल माछापुच्छ्रेको आँगनमा रमाउँदै, आसामको जङ्गल र बनारसका गल्लीमा भौंतारिंदै बित्यो । त्यहीं फेरि नउदाउने गरी बाल्यकाल अस्तायो । जीवनका सुरुका दिन सुखद भए पनि ती मेरा सम्झनामा छैनन् । मैले मेरो बाल्यकालका जति कुराहरू सम्झेको छु, ती सारै कष्टदायक मात्र छन् । सानैमा आफैंले कमाएर जीवन धान्दै पढ्नु कम कष्टको कुरो होइन । त्यस्तो कष्ट कुनै बालबालिकालाई नपरोस् । मेरो यही कामना र चाहना छ । एउटा कुरा भने हो, त्यसले मलाई खार्यो, जिम्मेवार बनायो र जीवनका पछिल्ला दिन केही सजिला हुनपुगे । बाल्यकालका कुरा संझिल्याउँदा मलाई अहिले पनि कहाली लाग्छ । त्यस्ता घटना मेरो लेखनका सामग्री पनि भएका छन् । केही प्रेरणादायी पनि भएका छन् ।
सुरुमा धुलौटोमा लेख्थें, यतिखेर कम्प्युटरमा लेख्दै छु । एउटै मान्छेको जीवनमा यत्रो परिवर्तन भएछ । त्यो मैले चालै पाइन । म त लागिरहें पढ्न र लेख्न । २०४४ देखि मैले बालकथा लेख्न थालेको हुँ । अहिले पनि लेख्दै छु । अहिलेसम्म बालसहित्यका एक दर्जन पुस्तक छापिसकेका छन् । केही छापिने तर्खरमा छन् । मलाई भाइबहिनीका लागि अझ धेरै लेख्ने इच्छा छ ।
                                                                                                                                  २०६६।१।६

अनलाइन बालकथा प्रतियोगिता २०६६ को सूचना

नेपालको पहिलो इन्टरनेट बालपत्रिका केटाकेटी न्युज डटकम र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा प्रारम्भ अनलाइन बालकथा प्रतियोगिताको २०६५ बाट आयोजना शुरु गरिएको हो । यस वर्ष २०६६ मा पनि यसको आयोजना हुने भएको छ । यस प्रतियोगितामा ९ वर्षदेखि १८ वर्षम्मका बालबालिकाहरु र १९ वर्षदेखि ७५ वर्षसम्मका वयस्कहरु गरी दुइ समूहका लेखकहरुले भाग लिन पाउनेछन् । समसामयिक परिवेशका बालकथाहरुलाई प्राथमिकता दिइने यस प्रतियोगितामा भाग लिन यही पुस मसान्तभित्र आफ्नो कथा ketaketinews@gmail.com इमेल ठेगानाबाट पठाइसक्नुपर्नेछ । इमेलको सुविधा नभएको हकमा पो‌‌‌स्ट बक्स नम्बर २५८५९ काठमाडौंमा कथा पठाउनुहोस् । प्रतियोगितामा पठाइने कथा मौलिक, अप्रकाशित र बढीमा ६ सय शब्दसम्मको नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । उत्कृष्ट बालकथाकारलाई पत्रकार एवं बालसाहित्यकार महेश पौड्याल प्रारम्भको संरक्षकत्वमा प्रदान गरिने प्रारम्भ अनलाइन बालकथा पुरस्कारबाट नगद रु पाँच हजार एकसहित पुरस्कृत गरिने छ ।
थप जानकारीका लागिः
बालसाहित्य प्रतिष्ठान नेपाल
पो..नं.२५८५९ काठमाडौं, नेपाल
फोन ९८४१०६७६०१, ९८४१४७७५१५, ९७५१००३५३१
माथिको तस्बीर प्रारम्भ अनलाइन बालकथा पुरस्कार २०६५ प्राप्त गर्ने प्रतिभा प्रतिभा केसी, कुश्मा, पर्वतको हो । तलको फोटो कुश्मा बजारमा भएको पुरस्कार वितरण समारोहको हो ।