Children's Literature Foundation Nepal (CLFN)| बालअधिकार प्रवर्द्धनका लागि बालसाहित्य P. O. Box 25859 Kathmandu, Nepal Email : childacademy43@gmail.com, Phone : 977- 9801077515, 9841477515, whatsApp/Viber: 977-01-9841477515 President : Kartikeya, Email: kartikeyaghimire@gmail.com
Monday, March 19, 2012
बालसाहित्य पढ्नेहरू चलाख र बुद्घिमान् हुन्छन्
राष्ट्रिय सभाग्रहमा केही समयअघि सम्पन्न भएको साझा बृहत्
पुस्तक प्रदर्शनीमा आफ्ना छोराछोरीलाई सँगै लिएर आइपुगेका काठमाडौं सिफलका राजेश
लामिछानेले भने– छोराछोरी
बालकथा भनेपछि पढ्न हुरुक्कै गर्छन् । त्यसैले पुस्तक मेलामा छानी–छानी किताब पाइन्छ भन्ने सुनेर आएको
।
छेउमै उभिएर
बुवाको कुरा सुनिरहेकी कक्षा ५ मा पढ्ने जानुकाले मुसुक्क हाँस्दै भनिन्– मलाई बालकथा पढ्न मज्जा लाग्छ । उनका
भाइ निखिलले पनि के कम थिए उनले पनि थपिहाले मलाई त चुट्किलाको किताब मनपर्छ । चित्रहरू
धेरै भएको कथा पनि मनपर्छ ।
यसपल्टको मेलामा
काठमाडौंका मात्र होइन काठमाडौं छेउछाउका जिल्लाहरू नुवाकोट, धादिङ, ललितपुर र भक्तपुरलगायतका जिल्लाका अभिभावकहरू आफ्ना
छोराछारीलाई मनपर्ने बालसाहित्यको किताब किनेर लगिदिन कस्सिएर आएका भेटिए ।
उनीहरूले रमाइला–रमाइला
बालसाहित्यका किताब पोको पारेर छोराछोरीलाई कोसेली लगिदिएको दृश्य साँच्चै रमाइलो
थियो ।
बुवासँगै किताबको
पोको बोकेर दङ्ग पर्दै गरेकी मुनाले भनिन् – मलाई यो मेलामा थुप्रै थरी किताब एकै ठाउँमा पाएकोमा
खुसी लाग्यो । ल हेर्नुहोस् मैले किनेका किताब । उनले उत्साहित हुँदै आफ्नो झोला
देखाइन् । उनको झोलामा रमाइला कथाका किताब र मेमोरी कसरी बढाउँने, बृहत् समान्यज्ञानलगायतका किताबहरू थिए
।
अनि उनले झन् उत्साहित हुँदै भनिन्– ‘थाहा छ, यी किताब बाबाले मलाई बर्थडेको गिफ्ट दिनुभएको हो नि !’
वास्तवमा
यसपालिको पुस्तक मेला हेर्न थुप्रै अभिभावकहरू आए र बालबालिकाहरू पनि आए । तर
काठमाडौं नैकापकी सुभलता नहकर्मीलाई यो प्रदर्शनीमा किताब छान्न धौ–धौ प¥यो । उनले गुनासो गर्दै भनिन्– अलि स्पष्ट जानकारी दिने सिस्टम भएन ।
कुन किताब कता हो खोज्नै गाह्रो । अलि राम्ररी ठूलो मिलाएर म्याप बोर्ड प्रदर्शनी ठाउँमा राखेर कुन खालको किताबको कुनो
कता हो देखाएर प्रदर्शनी गरे राम्रो हुने थियो । यहाँ त सब घारघुर रहेछ । किताब
खोज्नै गाह्रो !
यसरी
विद्यार्थी बालबालिकाहरू आफैले धाएर अनि अभिभावकले चासो देखाएर छोराछोरीलाई पढ्ने
मौका दिनु राम्रो कुरा हो भन्छन् बाल चिकित्सक, विशेषज्ञ एवं समाजसेवी प्रा.डा. अच्युतमणि आचार्य ।
उनी भन्छन्– वास्तवमा
बालसाहित्य पढ्ने बालबालिकाहरू चलाख र वुिद्घमान हुन्छन् । त्यस्तै विचार राख्छन्
मुना पत्रिकाका पूर्व सम्पादक एवं वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराई । उनी भन्छन्–
बालसाहित्यले बालबालिकाको
सिर्जनशील क्षमताको विकास गर्छ । साथै, उनीहरूलाई काम गर्न प्रेरित र अग्रसर पनि गराउछ ।
By
Kartikeya
बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू – कार्तिकेय घिमिरे
बालसाहित्य
लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर
मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत
गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो कामका सहभागी हुँदै हुनुहुन्छ भने
तपाईंले बालबालिकाका लागि अन्याय गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाई सचेत हुनुपर्छ
।
एउटा बालक, आजको आशा हो । ऊ अगुवा पनि हो । त्यसैले उसको लागि तयार गरिने साहित्यिक
सामग्रीले विशेष महत्व राख्दछ । किनकि एउटा मानिस मष्तिष्कबाट संचालित हुन्छ ।
साहित्यले उसको मष्तिष्कलाई प्रभावित गर्ने काम गर्दछ ।
जब हामी
बालसाहित्य लेखनको कुरा गर्छौं त्यो सँगै बालबालिकाको व्यवहार निर्माण, सामाजिकता र भाषाको सिकाइको पक्ष पनि गाँसिएर आउँछ । त्यसैले एउटा असल
बालसाहित्यले सौहार्दपूर्ण बालकको निर्माणमा सहयोग गर्दछ र उसलाई भाषिक रुपमा दक्ष
पनि बनाउछ । त्यसरी नै एउटा अपरिपक्व बालसाहित्यले बच्चाको भाषिक सिकाइलाई मात्र
भ्रष्ट पार्दैन उसको व्यवहारिक र नैतिक पक्षमा पनि घात गर्दछ । त्यसैले बालसाहित्य
लेखन अत्यन्त गम्भीर लेखन हो भनिएको हो ।
वास्तवमा
बालकका लागि लेखिने साहित्य उनीहरुको उमेर समूह, समाज र पारिवारिक
पृष्ठभूमि आदि जस्ता पक्षबाट सिधै प्रभावित हुनुपर्छ । उमेर समूह अन्तर्गत् रंगको संयोजन, भाषाको प्रयोगको अवस्था र कुन परिवेशको बच्चालाई के कुरा, कस्तो कुरा पढ्न दिदा वा पढेर सुनाउँदा राम्रो हुन्छ भन्ने कुरामा बालसाहित्य
लेखक सदैव सचेत हुनु जरुरी छ । जसका लागि उमेर समूह अनुसारका बालबालिकाको रुचि, मनोविज्ञान र भाषिक स्तरका वारेमा एउटा लेखकले पर्याप्त ज्ञान हासिल गरेको
हनुपर्दछ । यस आलेखमा यिनै पक्षमा केन्द्रित भई केही छलफल र वैचारिक मन्थन गर्ने
काम गरिएको छ । साथै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुको जगमा उभिएर विमर्श पनि
गरिएको छ ।
एउटा बालक जो ६
वर्षको छ । सामान्य अवस्थामा निश्चय नै उसले स्वाद लिई–लिई क्रम मिलाएर पढ्ने क्षमता ग्रहण गरिसकेको हुन्छ । उसमा प्रतिस्पर्धा गर्न
चाहने, हतारिने र घरभन्दा बढी विद्यालयमा रमाउने स्वभाव हुन्छ । यिनीहरु प्रश्न गर्न
पाउँदा रमाउँछन् । साथै अरुसँग घुम्न पाउँदा र अरुले खानेकुरा उपहार दिएमा दंग
पर्ने स्वभावका हुन्छन् । साथै असफलतामा छिट्टै विचलित भई हाल्ने र रोइ हाल्ने
यिनीहरुको स्वभाव हुन्छ । अनुसन्धानले के देखाएको छ भने यो उमेरका नानीहरु यी
पक्षलाई विचार गरी लेखिएको रचना स्वाद लिएर पढ्छन् । जसले गर्दा उनीहरुको भाषिक
स्तरमा पनि राम्रो टेवा पुग्दछ र उनीहरुको व्यक्तित्वको विकासमा पनि यसले मद्घत
गर्दछ । यस खालको स्वभाव र व्यवहारको अवस्था एउटा बच्चामा ७ र आठ वर्षमा पनि
रहिरहन्छ । यसमा उमेरको उकालो लाग्ने चरणसँगै समूहमा मिलेर काम गर्न रुचाउँने, रमाइलो गर्न, पटपट बोल्न, गल्ति सुधार्दै अघि बढ्न र शब्दभण्डार ह्वात्तै बढाउँन सक्नेजस्ता खूबी एंव
स्वभावहरु थपिदै जान्छन् । साथै खेलकुदमा रमाउँने, समानता, सबैप्रति समान व्यवहार,
भेदभाव मननपराउँने आदि जस्ता स्वभाव पनि रहन्छन् । त्यसैले
एउटा लेखकले यो पक्ष पनि बुझ्नु आवश्यक छ ।
त्यस्तै जब ऊ ९
वर्षको पुग्छ । ऊ ज्ञान प्रति जिज्ञासु हुन थाल्छ । जानकारीमूलक खेलमा रुचि राख्छ
। साथै निष्पक्ष व्यवहार खोज्ने र गुनासो गर्ने बानीको विकास हुन्छ । यस अलावा
उसमा कुरालाई बढाइचढाइ गरेर तन्काएर भन्दा रमाइलो मान्ने, ठूलामाथि खोट लगाउँने र घुर्की लगाउँने आदि जस्तो स्वभावको विकास हुन्छ । यस
अलावा आफ्नै लिंगको (केटा भए केटासँग र केटी भए केटीसँग) मिलेर राम्रो मित्रता
राखेर काम गर्दा दंग पर्ने हुन्छ ।
त्यसपछि दश
वर्षको उमेरमा परिवारका सदस्य र साथीभाइबीच रमाउँने र सही कुरा गर्न मनपराउँने
साथै धेरै किसिमका किताब पढ्न रुचि राख्ने र आफ्ना कुरा अरुलाई भन्न रुचि राख्ने
एवं हँसिलो भएर प्रस्तुत हुनेखालको हुन्छन् । अरुको कुरा सुन्ने, लगनशीलता र सहयोगी भावनाको विकास पनि यो उमेरका प्रमुख पक्ष हुन् ।
यसरी बढ्दै जब
बालक ११ वर्षको हुन्छ तब उसमा तर्क गर्ने क्षमता बढ्दै जान्छ । ऊ फरक फरक कोणबाट
समाजलाई हेर्न थाल्छ । आफूमै मग्न भई रमाउँने र निर्णय गर्दा अलमलिने दोधारमा
पर्ने, नयाँ नयाँ काम गर्न रुचाउँने स्वभावको हुन्छ । यो उमेरमा उसमा अरुलाई ठाडठाडै
भन्ने मुडी स्वभाव पनि रहन्छ । त्यसपछि १२ वर्षमा टेक्दा उसमा प्रौढको जस्तै
व्यक्तित्व देखा पर्न थाल्छ । ऊ विवेकी र समझदार बन्छ । अर्काको दुःख मर्म बुझ्ने
तथा साथीभाइलाई बढी महत्व दिने स्वभाव विकसित हुन्छ । यही उमेरको क्रममा केटीहरुमा
रजस्वला हुने गर्दछ । केटाकेटी दुवै क्रमशः किशोरावस्थातिर लम्कन्छन् ।
साँच्चै
भन्नुपर्दा यहाँ चर्चा गरिएको उमेरका विषयमा, यिनको शारिरीक, मनोवैज्ञानिक, भाषिक र सामाजिक विकासका वारेमा एउटा लेखकले जान्नुपर्ने, बुझ्नुपर्ने र थाहा पाउनुपर्ने कुराहरु थुप्रै छन् । यी त झलक मात्र हुन् ।
तथापि भविष्यमा एउटा असल पाठक र एउटा सफल व्यक्तित्व निर्माण भएको नागरिक तयार
गर्नका लागि यी उमेरका वारेका प्रस्तुत गरिएका कुरालाई गमेर लेख्न सक्दा पनि पठनीय
र रुचिकर बालसाहित्य तयार हुने धरातल निर्माण हुनसक्ने कुरामा विमति राख्न सकिन्न
।
यस अलावा हामी कहाँ अहिले लेखिदै आएको साहित्य
अधिकांशतः यी उमेर समूहका लागि बढी लक्षित पाइएकाले पनि यी उमेर समूहवारे थोरबहुत
चर्चा गर्नु यहाँनिर उपर्युक्त हो भन्ने लागेको छ ।
अब यो भन्दा
तल्लो उमेर समूह वा प्रारम्भिक तहको बालबालिकाका लागि लेख्न ती बालबालिकाको रुचि र
स्वभावारे केही चर्चा गरौं । नेपालको सन्दर्भमा भन्दा हालसम्म प्रकाशित
बालसाहित्यमध्ये दुई प्रतिशतमात्र यो उमेर समूका लागि लक्षित पुस्तकहरु प्रकाशित
भएका छन् भन्ने एक अनुसन्धानले देखाएको छ । जुन दुःखलाग्दो अवस्था हो । यो उमेर
समूहका लागि चर्को रंग रहेका चित्र भएका किताबहरु हुनुहँुदैन, सादा वा सालिन रंग हुनुपर्छ । किताबलाई यताउति चलाएर सार्न मिल्ने, किताबको ढोका खोल्न मिल्ने र किताब छुँदा विभिन्न आवाज आउने जस्ता रमाइला
प्रकृतिका उनीहरुका दैनिक क्रियाकलापसँग सम्बन्धित शब्द थोरै भएका वा शब्द नै
नभएका क्रियाकला मात्र भएका पनि पुस्तक हुन सक्छन् । जन्मेदेखि २ वर्षसम्मको
बच्चालाई पुस्तकप्रति लगाव पैदा गर्न वा किताब छ है भनेर स्मृतिमा राख्ने हेतुले
मात्र मोटा गाता भएका यस्ता किताबको तयारी उत्तम मानिन्छ ।
त्यस्तै २ देखि
४ वर्षसम्मको बच्चाको लागि भाषाको सिकाइको सुरुको चरणका वर्णमालाको ज्ञान दिने, लय हालेर गाउदै र भन्दै सुनाउन सकिनेखालका र विपरीतार्थी शब्द एवं ५ शब्दको
वाक्य संरचनामा तयार भएका चित्रकथाहरु पनि उनीहरुका लागि रुचिकर हुन्छन् । जसमा
उनीहरुलाई नयाँ पात्रको अनौठो दैनिकीवारे हाउभाउसहित प्रस्तुत गरिदा त्यो
प्रभावकारी हुन्छ ।
त्यस्तै ४ देखि
६ वर्षका नानीको हकमा छोटा,
रमाइला र लय मिलेका कथा र कविताका पुस्तक मनपराउँछन् । के
कसरी चल्छ भन्ने जस्ता जिज्ञासा मेटाउने सामग्री तर्फ पनि यिनीहरुको ध्यान
बिस्तारै बढ्दै जान्छ । त्यसैले सरल, लयात्मक जानकारी किताबहरु यो
उमेरका लागि बढी रुचिकर हुन्छन् भन्ने अनुसन्धानले देखाएको छ ।
अब अन्त्यमा
अलिकति बालसाहित्य लेखनको वर्तमान अवस्थावारे टिप्पणी गरौं । अहिले हरेक महिना ५
वटाको हाराहारीमा वार्षिक ६० वटा जति बालसाहित्यका किताब छापिइरहेको अवस्था छ । तर
ती किताब लेखनको अवस्था निकै अलमलको छ । त्यो यस अर्थमा कि लेखक कुन उमेर समूहका
लागि लेखिरहेको छु भन्ने कुरामा स्पष्ट हुन सकिरहेको देखिन्न । यस अवस्थालाई दृष्टिगत
गरी अब यहाँनिर यही विषयको सेरोफेरोमा केही चर्चा गर्नु उचित हुन्छ भन्ने ठानेको
छु ।
लेखक साथी, तपाईंले लेख्नुभएको किताब सुरुवात एउटा उमेर समूहको, बीचको अर्को उमेर समूहको र अन्त्य अर्को उमेर समूहको रुचिसँग मिल्दो भइदियो
भने के त्यो किताब पठनीय बन्ला त ? त्यो पक्कै पनि बन्दैन । त्यसैले
सुरुको चरणमा लेखकले अरु कुनै कुरामा अलमल नगरी यी कुरामा ध्यान दिनु आवश्यक
देखिन्छ ।
लेखनको
सन्दर्भमा सर्वप्रथम आफूले लेख्ने चरणलाई तीन चरणको चश्माबाट हेर्ने, जन्मदेखि ५ वर्ष, ६ देखि ९ वर्ष र १० देखि १३ वर्ष । हाम्रो परिवेशमा यो उचित हुन्छ भन्ने मलाई
लाग्दछ । यसरी हेरिसकेपछि तपाईंले तयार गर्नुभएको योजनालाई यो आलेखमा रहेका
कुराहरुले थोरबहुत सहयोग गर्न सक्छन् । तथापि तपाईंले लेख्ने निर्णय गर्नुभएको
उमेर समूहका बालबालिकाको गतिविधिको प्रत्यक्ष अवलोकन, उनीहरुसँग गफ गर्न, खेल्न र समय बिताउँन निकाल्ने समय र संसर्गले तपाईंलाई थप धेरै कुराहरुका
सम्बन्धमा निर्देशित गर्नेछ । जसले गर्दा तपाईंले उत्कृष्ट बालसाहित्य सिर्जना
गर्न सक्नु हुनेछ । जसका लागि तपाईंलाई अग्रिम शुभकामना छ ।
मिति २०६८ फागुन ९
Subscribe to:
Posts (Atom)