Monday, September 2, 2019

कवितावाचनमा विद्यार्थी सहभागी गराइदिने सम्बन्धमा ।

श्री प्रिन्सिपलज्यू,
 
विषय : कवितावाचनमा विद्यार्थी सहभागी गराइदिने  सम्बन्धमा ।
  
 महोदय,
   यस कार्तिकेय ट्रष्टले राष्ट्रिय बालदिवस २०७६ का अवसरमा निम्न मिति, समय र स्थानमा बालकविता वाचनमा विशेष प्रतिभा भएका बालप्रतिभाहरुबाट कविता वाचन विशेष बालकवि गोष्ठी र बालप्रतिभा पुरस्कार वितरण तथा बालसाहित्य लेखक सम्मान    कार्यक्रम आयोजना गर्न गइरहेको हुँदा त्यस विद्यालयका कक्षा ६ देखि ९ सम्म अध्ययनरत २ जना (छात्र र छात्रा) बालकविहरुलाई सहभागिताका लागि पठाइदिनुहुन निवेदन गर्दछु ।   सहभागी बालकविहरु र विद्यालयलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ । साथै सार्वजनिक यातायातमा आउनुहुने बालबालिकाका लागि बस भाडाको व्यवस्था पनि गरिएको  छ ।
वाङ्मय शताब्दी पुरुष श्री सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने यस कार्यक्रममा यस वर्ष विशेष बालप्रतिभा ४ जना र वरिष्ठ बालसाहित्य लेखक २ जनालाई नगद पुरस्कार र सम्मान प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।
अतः आफ्ना विद्यालयका सिर्जनशीला छात्र र छात्रालाई सहभागी गराई उनीहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिदिनुहुन निवेदन गर्दछु । कार्यक्रममा बालअधिकारसँग सम्बन्धित कविता वाचन गर्नुपर्नेछ । बालप्रतिभाले आफ्नो वा अन्य लेखकको रचना पनि वाचन गर्न सक्नेछन् । सहभागी विद्यार्थीको नाम, विद्यालयको नाम र कक्षा २०७६ भदौ २१ गते बेलुका ५ वजेसम्म फोन नं. ९८०१०७७५१५ वा ९८४१४७७५१५ मा म्यासेज वा फोन गरी टिपाइदिनुहुन अनुरोध गर्दछौँ ।

कार्यक्रम मिति : २०७६ भदौ २२ गते आइतबार
समय : दिउँसो १ः४५ बजे
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रवचन कक्ष १, लेखनाथ हल), कमलादी, काठमाडौँ, नेपाल ।

                                                                                                                          निवेदक
                                                                                                                     मोहन कार्की
                                                                                                                        अध्यक्ष

बालप्रतिभा र बालसाहित्य लेखक पुरस्कृत हुने


काठमाडौँ, भदौ १५/ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आगामी भदौ २२ गते विलक्षण बालप्रतिभाहरु र वरिष्ठ लेखकहरुलाई पुरस्कृत र सम्मानित गर्नुहुने भएको छ । 

कार्तिकेय ट्रष्ट नेपालबाट आयोजना हुने यस कार्यक्रम ट्रष्टका संस्थापक अध्यक्ष वरिष्ठ शिक्षासेवी मोहन कार्कीको सभापतित्वमा सम्पन्न हुनेछ । कार्यक्रममा बालप्रतिभाहरु बालवैज्ञानिक निश्चल पौडेल, प्रोसेस पाण्डे (फरक क्षमताका बालप्रतिभा, गायन), विजय सिंह वाइबा (एसओएस बालग्रामका बालप्रतिभा, चित्रकला) र पुष्पा रेग्मी (संघर्ष गर्दै जीवनलाई उज्यालोतर्फ डोर्याइरहेकी बालप्रतिभा, साहित्य लेखन) लाई कार्तिकेय बालप्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।  

 साथै सोही समारोहमा आदरणीय लेखकहरु विजय चालिसेलाई बालसाहित्य लेखनमा विशिष्ट योगदानका लागि 'चन्द्रनाथ वरिष्ठ बालसाहित्य लेखक सम्मान, २०७५', प्रमोद प्रधानलाई बालसाहित्य लेखन र अनुसन्धानमा विशिष्ट योगदानका लागि 'दुर्गादेवी वरिष्ठ बालसाहित्य लेखक/अनुसन्धाता सम्मान, २०७५',  'चन्द्रनाथ वर्षका उत्कृष्ट लोककथाकार पुरस्कार' नेपाल भाषाका लोककथा संकलन र लेखनमा उत्कृष्ट कृतिका लागि श्रीमती रेवती राजभण्डारीलाई समर्पण गरिने कार्यक्रम रहेको छ ।  

कार्यक्रम २०७६ भदौ २२ गते आइतबारका दिन दिउँसो १ः४५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ (प्रवचन कक्ष हल नं. १ मा) आयोजना हुने आयोजक कार्तिकेय ट्रष्ट नेपाल, पोस्ट बक्स नम्बर २५८५९, काठमाडौँले जनाएको छ ।  

  पुरस्कृत बालप्रतिभाहरुमध्ये बालवैज्ञानिकलाई १० हजार र अन्यलाई जनही ५ हजार नगद पुरस्कारसहित पुरस्कृत गरिने र सम्मानित लेखकज्यूहरुलाई जनही ५ हजार नगद सहित सम्मानित गरिने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ । विगत दुई दशकदेखि वितरण हुँदै आएको यस पुरस्कार बालसाहित्य लेखक कार्तिकेयको लेखकस्वबाट स्थापित भएको विज्ञप्तीमा उल्लेख छ । यस ट्रष्टका संस्थापक अध्यक्ष मोहन कार्की, उपाध्यक्ष पारस श्रेष्ठ, सचिव महेश पौड्याल र कोषाध्यक्षमा भगवती पौडेल रहनु भएको छ ।