Sunday, December 22, 2019

फरक क्षमताका बालबालिकासँग लेखक

काठमाडौँ, पुस ६/ बालसाहित्य प्रतिष्ठान नेपाललको नियमित कार्यक्रम विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम अन्तर्गत यस महिना फरक क्षमताका बालबालिकालाई लेखक देवु लुइँटेलले छन्द वाचन र लेखनको प्रशिक्षण दिनुभयो । प्रशिक्षणमा नेपाल अपाङ्ग केन्द्र, बुङ्मती, ललितपुरमा आश्रित २५ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
कार्यक्रममा लेखक लुइँटेलले रमाइलो गरी आफ्ना र पाठ्यपुस्तकका रचनाहरु वाचन गर्दै बालबालिकाहरुलाई प्रशिक्षण दिनुभएको थियो । बालबालिकाहरु अत्यन्त खुसी भएका थिए ।
कार्यक्रममा दृष्टिविहीन लगायत विविध किसिमका अपाङ्गता भएका बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष कार्तिकेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल अपाङ्ग सेवा कन्द्रका अध्यक्ष दयाराम महर्जनले कार्यक्रम अत्यन्त राम्रो भएकाले महिनामा एकपटक आएर यस्तो प्रशिक्षण गरिदिनुहन लेखक लुइँटेललाई आग्रह गर्नुभएको थियो । कार्यक्रम पुस ४ गते शुक्रबार सम्पन्न भएको थियो ।

Thursday, December 5, 2019

Monday, November 18, 2019

MEET THE AUTHOR WITH SCHOOL CHILDREN

काठमाडौँ, मंसिर ३/  बालसाहित्य प्रतिष्ठान नेपालको विद्यालयका बालबालिकासँग लेखक नियमित मासिक कार्यक्रमको कार्तिक महिनाको कार्यक्रम अन्तर्गत बालसाहित्य लेखक प्रभा भट्टराईसँग क्यामेलिया मावि, कालिमाटी, काठमाडौँमा अध्ययनरत ३९ जना बालबालिकाहरुले अन्तरक्रिया गर्नुभयो ।
बालसाहित्य प्रतिष्ठान नेपाल, बालसाहित्य छलफल समूहको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य रुद्रमणि अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले लेखक परिचय प्रस्तुत गर्नुहुँदै विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमले बालबालिकामा पठन संस्कार बढाउने र उनीहरु भित्र लुकेर रहेको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा वरिष्ठ बालसाहित्य लेखक भट्टराईले आफ्ना अनुभवहरु सुनाउनुका साथै रचना वाचन गर्दै छन्द लेखनबारे चर्चा गर्नुभएको थियो । उहाँको कविता वाचन सुनेर बालबालिकाहरु एकदमै खुसी हुनुभएको  थियो ।
बालबालिकाहरु सक्रिय सहभागी हुनुभएको उक्त कार्यक्रममा उहाँहरुले आफ्ना रचना वाचन गर्दै लेखकसँग छलफल पनि गर्नुभएको थियो ।



प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको लेखक प्रभा भट्टराईको परिचयको छोटकरी अंश :

प्रभा भट्टराई आचार्य बालसाहित्य लेखनमा एउटा स्थापित लेखक हुनुहुन्छ । उहाँ वि.सं. २०१२ कार्तिक १६ गते चुँदिरम्घा, तनहुँमा जन्मनुभएको हो । उहाँ हाम्रा आदिकवि भानुभक्त आचार्यका पनातिनी हुनुहुन्छ ।
उहाँका मातापिता आमा मिठ्ठु आचार्य र पिता नारायणदत्त शास्त्री आचार्य हुनुहुन्छ । उहाँले नेपाली विषयमा एम.फिल. सम्मको अध्ययन पूरा गर्नुभएको छ । हाल विद्यावारिधिका लागि अनुसन्धान गरिरहनुभएको छ ।
उहाँले लामो समयदेखि पद्मकन्या क्याम्पसमा पढाउँदै आउनुभएको छ । उहाँको पहिलो प्रकाशित रचना 'आमा' कविता हो । जुन २०३३ सालमा 'बालक ' पत्रिकामा प्रकाशित भएको थियो । यसैगरी उहाँका 'पोसिला', २०६०, 'मेरो सानो भाइ' लगायत बालकविता संग्रहहरु र 'सन्तु र सुगा', २०६१ लगायत थुप्रै बालकथा र बालचित्रकथाकृतिहरु प्रकाशित छन् । छन्दोबद्व कवितामा विशेष दख्खल राख्नुहुने कवि आचार्यको वि.सं. २०६२ मा 'सरित संगम' नामक कवितासंग्रह प्रकाशित भएको थियो । उहाँले लेखन, सम्पादन र अनुवादका क्षेत्रमा पनि काम गर्नुभएको छ ।
विद्यार्थी जीवनमा स्कूल/कलेजमा पढ्दा कवि आचार्यले साहित्यिक प्रतियोगिताहरुमा धेरै पुरस्कारहरु प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले राष्ट्रिय स्तरका पुरस्कार र सम्मानहरु पनि प्राप्त गर्नुभएको छ । उहाँको सुमधुर स्वरमा सजिएका रामायण वाचन लगायत अन्य छन्दमा कविता वाचनका अडियो सामग्रीहरु अत्यन्त रुचिकर छन् । तिनले पाठक र स्रोताबाट निक्कै प्रसंशा बटुलेका छन् । उहाँ हाल ताहाचाल, काठमाडौँमा छोरा र छोरीसँगै बस्नुहुन्छ ।
उहाँले बाल स्वभाव, चरित्र, जीवन शैली र बाल संवेगलाई टपक्क टिपेर उनीहरुकै लोलीमा, उनीहरुकै बोलीमा सुन्दर काव्यहरु सिर्जना गर्नुभएको छ । यस कारण उहाँका रचनाहरु अत्यन्त लोकप्रिय छन् । उहाँका बालगीतहरुले बालबालिका माझमा राम्रो प्रभाव पारेका छन् । गहिरो छाप छोडेका छन् ।
एउटा असल बालसाहित्य लेखकले बालबालिकाले जसरी नै सोच्न सक्नुपर्छ अनि मात्र ऊ सफल लेखक हुनसक्छ भन्ने बालसाहित्य लेखनको सिद्वान्तलाई हृदयङ्गम गरी भन्ने हो भने लेखक भट्टराईका बालरचनामा त्यो छाप देखिन्छ । उहाँ बालबालिकाले जस्तै साचेर र महसुस गरेर लेख्नुहुन्छ । जसमा सुनमा सुगन्ध थप्ने काम उहाँमा रहेको छन्द लेखन कलाको विलक्षण क्षमता र कवि हृदयले गरेको देखिन्छ ।

Wednesday, November 13, 2019

BRAILLE BOOKS DONATION PROGRAM 2019

 
काठमाडौं कार्तिक २९ । बालसाहित्य प्रतिष्ठान नेपालले कार्तिक २७ गते बुधबार दृष्टिविहिन युवा संगठन नेपालमार्फत् दृष्टिविहिन बालबालिकाहरुका लागि विभिन्न लेखकहरुका ९ कृतिहरुको ३३३ थान ब्रेल पुस्तकहरु विभिन्न जिल्लाका दृष्टिविहीन बालबालिकाहरुलाई निःशुल्क वितरण गर्ने गरी सहयोग प्रदान गरेको छ ।
पुस्तकहरुमा रामकाजी कोनेलिखित ब्रेललिपिमा प्रकाशित पहिलो मुक्तक सङ्ग्रह ‘मुक्तक मोह’, जलेश्वरी श्रेष्ठको ‘पिंकी र पुतलीहरु’ र सोही पुस्तकको अङ्ग्रेजी संस्करण ‘पिंकी एण्ड द बटरफ्लाईज’ कथा सङ्ग्रह, नेपाल बालसाहित्य समाज र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त परियोजना अन्तर्गत प्रकाशित ‘नेपाली बालकथा’ २० लेखकका बालकथासङ्ग्रह, भारतीय बालसाहित्यकार मनोरमा जफा लिखित ‘हाँस्ने सुगा’, बालसाहित्यकार गंगा पौडेलको ‘को ठूलो’ बालकथा सङ्ग्रह र बालसाहित्यकार कार्तिकेयका ३ बालकथाकृतिहरु ‘वाह ! दुनोट पसलेकी छोरी’, ‘साँच्चैकैको हिरो हो कृष्णबहादुर’ र ‘म चोर होइन’ रहेका छन् ।
कार्यक्रममा बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयले विभिन्न परिवेशका बालबालिकाहरुको पठन संस्कृति विकास गर्ने मुख्य लक्ष्य लिई बालसाहित्य प्रतिष्ठान नेपालले २०५८ सालदेखि यस क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाँले बालबालिका तथा युवा विद्यार्थीहरुको लागि पाठ्यक्रमभन्दा बाहेकका बालसाहित्यको पनि निकै महत्वपूर्ण भूमिका रहने हुँदा यस्ता निजी प्रयासबाट ब्रेललिपिमा पुस्तक प्रकाशन गरिनुले नेपालको सरकारी निकायलाई पनि ब्रेलपुस्तक प्रकाशनका लागि ध्यानाकर्षण हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले दृष्टिविहिन बालबालिका तथा युवा विद्यार्थीहरुले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन भएका पुस्तकहरु मात्र पढ्न पाइरहेको सन्दर्भमा उनीहरुको चौतर्फी विकासका निम्ति ब्रेलपुस्तकहरु प्रदान गर्नुभएकोमा आभार प्रकट गर्नुभयो । यसले धेरै भन्दा धेरै दृष्टिविहिन बालबालिकाहरुलाई लाभान्वित गर्ने विश्वास व्यक्त गर्दै उहाँले देशभरिका ८० वटा दृष्टिविहिनका लागि विद्यालयहरु तथा स्रोतविद्यालयहरुमा ती ब्रेलपुस्तकहरु निःशुल्क वितरण गरिने व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
त्यसैगरी संगीतकार तथा बालसाहित्य प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश सुवेदीले ब्रेलपुस्तक वितरण प्रतिष्ठानको प्रारम्भिक कार्य भएको र बालबालिकाहरुको ज्ञान अभिवृद्धि गर्ने खुराकको रुपमा यी पुस्तक रहेको बताउनुभयो । दृष्टिविहिन तथा फरक क्षमताका बालबालिकाहरुको पहुँचमा पठन सामग्री पर्याप्त नपुगेको सन्दर्भमा थोरै भए पनि सघाउ पुग्ने उद्देश्यले ब्रेल लिपिमा प्रकाशित यी किताबहरु नेत्रहीन युवा संघसँग सहकार्य गरी दृष्टिविहिन बालबालिका तथा युवाहरुमाझ पु¥याउने बताउनुभयो ।
कार्यक्रममा बालसाहित्य प्रष्ठिान नेपालका सहसचिव कविता पराजुली, सदस्य गोकर्ण तिमिल्सिना, प्रतिष्ठानका भक्तपुर संयोजक रश्मी खागी तथा नेत्रहीन युवा संघ नेपालका निर्देशक विश्व श्रेष्ठ, सचिव दुर्गा आचार्यले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
प्रदान गरिएका ब्रेलबुकहरुको सूची यस प्रकार रहेको छ :
१. मुक्तक मोह (मुक्तक सङ्ग्रह) – लेखक रामकाजी कोने
२. हाँस्ने सुगा र अरु बालकथाहरु – लेखक मनोरमा जफा, नेपाली अनुवाद कार्तिकेय
३. पिङ्की र पुतलीहरु र अरु बालकथाहरु – लेखक जलेश्वरी श्रेष्ठ
४. को ठूलो ? – लेखक गङ्गा कर्माचार्य पौडेल
५. नेपाली बालकथा – २० लेखकका नेपाली बालकथाहरु
६. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथाहरु – लेखक कार्तिकेय
७. म चोर होइन र अरु बालकथाहरु – लेखक कार्तिकेय
८. वाहा ! दुनोट पसलेकी छोरी र अरु बालकथाहरु – लेखक कार्तिकेय
९. पिङ्की एण्ड बटरफ्लाइज (बालकथाहरु) – लेखक जलेश्वरी श्रेष्ठ, अङ्ग्रेजी अनुवाद महेश पौड्याल ।


Monday, October 21, 2019

हार्दिक आभार

श्री वसुश्री पाण्डे
आँखा नदेख्ने दृश्यविहीन बालबालिकाका लागि प्रकाशित 'ब्रेललिपिका बालसाहित्य कृति' र गरिब बालबालिकाका लागि 'बालपुस्तक उपहार' प्रदान गर्ने प्रतिष्ठानको नियमित कार्यक्रमका लागि आदरणीय लेखक/समाजसेवी तथा शिशु सेवा केन्द्र, विराटनगरका अध्यक्ष श्री वसुश्री पाण्डेज्यूले          रु. १५०००/- सहयोग गर्नुभएकोमा प्रतिष्ठान परिवार उहाँप्रति हार्दिक आभार प्रकट  गर्दछ । 
प्रा. डा. अच्युतमणि आचार्य
संरक्षक, बालसाहित्य प्रतिष्ठान नेपाल ।

Sunday, September 29, 2019

CONGRATULATIONS

CLFN congratulates its Vice President Mahesh Paudyal for being awarded with Prasiddha Kanel Memorial Litereary Award, 2019. The award, established by Nepal Shrasta Samaj (Neplese Writers Society) was conferred upon Mr. Paudyal by Ganga Prasad Uptreti, Chancellor of Nepal Academy in an event held at the Academy premises on 28 September. The award comprises of a citation and cash Rs. 11111. The award is given annually to writers of repute, who are less than forty years of age.
MANY MANY CONGRATULATIONS.
-
Prof. Dr. Achyut Mani Acharya
Patron
Children Literature Foundation Nepal (CLFN) and Family


शुभजन्मोत्सवको हार्दिक मंगलमय शुभकामना

Kartikeya Ghimire, President, CLFN



आदरणीय कविवर दाजु राष्ट्रकवि माधव घिमिरेज्यू १०१ वर्ष पुग्नुभएको छ । शुभजन्मोत्सवको यस सुखद अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 
    हरेक भेटमा मलाई केही न केही टिप्स दिनुहुने कविवरले यस पटक केही दिनअघिको भेटमा मेरो सिर्जनात्मक लेखन सम्बन्धमा छलफलकै क्रममा 'प्रेरणादायी सुझाव' दिनुभयो । जसले मेरो सिर्जनात्मक लेखनको लक्ष्य निर्धारण   भयो ।
 हार्दिक नमन कविवर । अब म त्यही लक्ष्य प्राप्तिका लागि अग्रसर भएको छु । हजुरको जीवनको सय वर्षबाट १ सय १ वर्ष पुग्ने अन्तिम महिनाको त्यो पहिलो दिन म जीवनभरि सम्झिरहनेछु । त्यो ‘प्रेरणादायी सुझाव’ बारे केही काम गरेर आफ्नो लेखकीय जीवनबाट अझ बढी खुसी र सन्तुष्ट भएपछि विस्तारमा भन्नेछु ।
(फोटो उहाँको निवासमा लिइएको हो । जुन भेटमा उहाँको सचित्र रंगीन बालकथाकृतिको सम्पादनबारे विमर्श गरेको थिएँ ।)

Friday, September 27, 2019

लेखक कार्तिकेयसँग पुस्तक हस्ताक्षर तथा अन्तरक्रिया



 बालबालिकाहरुका लागि रमाइला पुस्तक प्रदर्शनीको अवसरमा
बुकआर्ट बालसाहित्य शृङ्खलाका लेखक कार्तिकेयसँग पुस्तक हस्ताक्षर तथा अन्तरक्रिया 
===
मिति : २०७६ असोज ११ गते शनिबार
समय : बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म
स्थान : होलिभिजन स्कूल, ताहाचल, काठमाडौँ

HAPPY DASHAIN


Wednesday, September 18, 2019

विद्यालयका बालबालिकासँग लेखक AUTHOR WITH SCHOOL CHILDREN

Prof. Dr. Achyut Mani Acharya
Founder/Patron, Achyut Acharya Creative writing Forum
काठमाडौँ, असोज २ / बालसाहित्य प्रतिष्ठान नेपालको विद्यालयका बालबालिकासँग लेखक मासिक कार्यक्रमको भदौ महिनाको कार्यक्रम अन्तर्गत् बालसाहित्य लेखक कविता पराजुलीसँग बाल व्यवसायी केन्द्र मावि, सिफलचौर, काठमाडौँमा अध्ययनरत ४५ जना बालबालिकाहरुले अन्तरक्रिया गर्नुभयो ।
 उक्त अवसरमा लेखक पराजुलीको भर्खरै प्रकाशित दुई बालकविता कृतिहरु निदरी र हजुरआमा माथि कक्षा ८ का विद्यार्थीहरु शान्ति दंगाल, हेमन्त दहाल र सिर्जन बानियाँले समीक्षा प्रस्तुत गर्नुभएको थियो । बालबालिकाहरु रोहित पण्डित, सविना श्रेष्ठ, कोपिला गौतम, विनिता श्रेष्ठ र राजकुमार तामाङले लेखक पराजुलीका कृतिहरुबाट आफूलाई मन परेका कविताहरु हाउभाउसहित वाचन गरेर सुनाउनु हुँदा कार्यक्रम निकै रमाइलो भएको थियो । कार्यक्रममा लेखक पराजुलीले पनि आफ्ना रचना वाचन गर्नुभएको यियो । स्वागत भाषण तथा संस्था परिचय कक्षा ८ का विद्यार्थी रेख प्रसाद जैसीले गर्नुभएको यियो ।
प्रतिष्ठानका सभापति कार्तिकेयको सभापतित्व र विद्यालयका प्राचार्य श्यामप्रसाद भण्डारीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रम प्रा.डा. अच्युतमणि आचार्य बालसिर्जना कोषबाट संचालन गरिएको थियो । कार्यक्रमको संचालन कक्षा १० का विद्यार्थी विचन अधिकारीले गर्नुभएको यियो । कार्यक्रममा सबै भूमिकामा बालबालिकाहरु नै सक्रिय हुनुभएको थियो । उक्त अवसरमा लेखक पराजुलीले आफ्ना दुई बालकविता कृतिहरु र सत्यमोहन जोशी लिखित कृति ‘केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरु’ ५/५ प्रति  विद्यालयको पुस्तकालयलाई उपहार प्रदान गर्नुभएको थियो । साथै समारोहमा कविता वाचन, पुस्तक समीक्षा र उद्घोषण तथा स्वागत मन्तव्य आदि भूमिकामा रही प्रतिभा प्रस्तुत गर्ने १० जना बालप्रतिभाहरुलाई ‘बाघभैरब जात्रा’ नामक 'कार्तिकेय बालप्रतिभा पुरस्कार' प्राप्त कृति उपहार प्रदान गरिएको थियो । यस कृतिका लेखक अनुष्का पौडेल हुनुहुन्छ । उहाँ निःसर्ग बाटिका स्कूलमा अध्ययनरत बालप्रतिभा हुनुहुन्छ ।
बाल व्यवसायी केन्द्र मावि, सिफलचौर, काठमाडौँमा स्थापित 'अच्युत आचार्य बालसिर्जना मञ्च' ले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकासका लागि विविध सिर्जनात्मक कार्यक्रम गर्दै आएको छ ।
Author Kabita Parajuli

Saturday, September 14, 2019

कार्यक्रममा सहभागी भई मानवीय सहयोग गर्न चाहनेलाई सूचना

बालसाहित्य प्रतिष्ठान नेपालले आफ्ना शुभचिन्तक सदस्यको सहयोगमा
हरेक वर्ष कार्यक्रम संचालन गर्दै आएको कुरा यहाँहरुमा विदितै रहेको    छ । अतः यस वर्ष निम्नखित कार्यक्रममध्ये आफूलाई इच्छा लागेको कार्यक्रममा सहभागी भई मानवीय सहयोग गर्न चाहने बालसाहित्य लेखक, समाजसेवी, अग्रज महानुभावहरुले प्रतिष्ठानमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।
१. गरिब बालबालिकाका लागि कपी, कलम सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि सरकारी विद्यालयमा अध्ययनरत दुई सय बालबालिकाका लागि एक हजार प्रति कपी सहयोग गर्नुपर्ने छ । जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. दस हजार रहेको छ ।
२. कथावाचन क्लबमा संलग्न बालबालिकाका लागि कपी, कलम सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि सरकारी विद्यालयमा अध्ययनरत एक सय बालबालिकाका लागि पाँच सय प्रति कपी सहयोग गर्नुपर्ने छ । जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. पाँच हजार रहेको छ ।
३. अन्धा साहित्य बालकथाकृति सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि सरकारी विद्यालयमा अध्ययनरत ५० जना अन्धा बालबालिकाका लागि ब्रेल बालपुस्तक सहयोग गर्ने कार्यक्रम रहेको छ । जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. पाँच हजार रहेको छ ।
४. अन्धा साहित्य बालकथाकृति सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि सरकारी विद्यालयमा अध्ययनरत बालसाहित्य वाचन कार्यक्रममा सहभागी २५ जना अन्धा बालबालिकाका लागि ब्रेल बालपुस्तक सहयोग गर्ने कार्यक्रम रहेको छ । जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. ३  हजार रहेको छ ।
५. अन्धा साहित्य बालकथाकृति सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि सरकारी विद्यालयमा अध्ययनरत गरिब बालक वा बालिका १५ जना अन्धा बालबालिकाका लागि ब्रेल बालपुस्तक सहयोग गर्ने कार्यक्रम रहेको छ । जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. २  हजार रहेको   छ ।
६. अन्धा बालबालिकाका लागि ब्रेल पेपर र स्टाइलस (स्लेट) सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि सरकारी विद्यालयमा अध्ययनरत गरिब बालक वा बालिका ५ जना अन्धा बालबालिकाका लागि एक वर्षका लागि पुग्ने ब्रेल कागज, लेख्ने स्टाइलस आदि सहयोग गर्ने कार्यक्रम रहेको छ । जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. १५  हजार रहेको छ ।
७. सुकुम्बासी बालबालिकाका लागि बालपुस्तक सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि खोला किनारमा टहरा बनाएर बसोवास गरिरहेका परिवारका ५० बालबालिकाका लागि एक सेट बालपुस्तक (२२ थरी बालकिताबहरु) सहयोग गर्ने कार्यक्रम रहेको छ । जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. १५  हजार रहेको छ ।
८. सुकुम्बासी बालबालिकाका लागि बालपुस्तक सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि खोला किनारमा टहरा बनाएर बसोवास गरिरहेका ३७ परिवारका परिवारका ८५ बालबालिकाका लागि एक सेट बालपुस्तक (२२ थरी बालकिताबहरु) सहयोग गर्ने कार्यक्रम रहेको छ । जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. २५  हजार रहेको छ ।
९. सरकारी विद्यालयका विद्यार्थी बिच आयोजना हुने बालकविता प्रतियोगिता प्रायोजन सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि ५० जना बालबालिका माझमा हुने प्रतियोगिताको प्रायोजन गर्नुपर्नेछ । जसमा सहभागी खाजा खर्च, निर्णायक खर्च र विजयीलाई पुरस्कार समेत गरी जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. २० हजार रहेको छ ।
१०. सरकारी विद्यालयका विद्यार्थी बिच आयोजना हुने बालकथावाचन प्रतियोगिता प्रायोजन सहयोग गर्ने कार्यक्रम : यस कार्यक्रमका लागि बढीमा ५० जना बालबालिका माझमा हुने प्रतियोगिताको प्रायोजन गर्नुपर्नेछ । जसमा सहभागी खाजा खर्च, निर्णायक खर्च र विजयीलाई पुरस्कार समेत गरी जसका लागि दाताले प्रदान गर्नुपर्ने रकम जम्मा रु. २५ हजार रहेको  छ ।
११. सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाका लागि चित्रकला लेखन तालिम कार्यशाला (दाताबाट १ दिने कार्यशालाका लागि रु. १५ हजार र २ दिने कार्यशालाका लागि रु. २५ हजार सहयोगको अपेक्षा गरिन्छ । साथै यस कार्यक्रमका लागि चित्रकला शिक्षक ३ महिनासम्म उपलब्ध गराई सहयोग गर्ने दाताको लागि पनि आव्हान गरिन्छ । जसका लागि मासिक रु. १५ हजारका दरले ४५ हजार सहयोगको अपेक्षा गरिएको छ । जुन रकमबाट प्रशिक्षक पारिश्रमिक र ३० जना बालबालिकाको लागि चित्रकला सामग्री र खाजाको पनि व्यवस्था गरिने छ ।
१२. उद्घोषण, नेतृत्व विकास र छन्द वाचन तथा लेखन तालिमका लागि पनि सहयोगी दाताको लागि आव्हान गरिन्छ । जसका लागि दाताबाट ३ महिनाका लागि मासिक
१५ हजारका दरले ४५ हजार सहयोगको अपेक्षा गरिएको छ । जुन रकमबाट प्रशिक्षक पारिश्रमिक र ३० जना बालबालिकाको लागि चित्रकला सामग्री र खाजाको पनि व्यवस्था गरिने     छ ।  
 १३. बालसिर्जना मञ्च : यस कार्यक्रम अन्तर्गत् सरकारी विद्यालयको एउटा कोठालाई सानो हलको सेटअपमा तयार गरी त्यसलाई अतिरिक्त सिर्जनात्मक क्रियाकलाप कक्ष र पुस्तकालयको रुपमा तयार गरिने छ । यस कार्यका लागि दाताबाट रु. दुई लाख पच्चीस हजार सहयोगको अपेक्षा गरिएको छ । उक्त कक्षको नाम दाताको नामबाट वा दाताले इच्छाए अनुसार नाम राखी सरकारी विद्यालयका विद्यार्थीको सिर्जनात्मक विकासका लागि काम गरिने गरिएको छ ।
(नोट : यी सबै कार्यक्रममा दाताको इच्छा अनुसारको सन्दर्भ जोड्न सकिने छ । जुन सन्दर्भ ब्यानरमै उल्लेख गर्न सकिने छ : जस्तै लेखक वा उहाँका आफन्तको जन्मदिनमा, मातापिताको स्मृतिमा आदि आदि ।)
हाम्रो इमेल ठेगाना : 
childacademy43@gmail.com, मोबाइल ९८४१४७७५१५

Tuesday, September 10, 2019

कार्तिकेय बालप्रतिभा पुरस्कार तथा बालसाहित्य लेखक सम्मान समर्पण

काठमाडौँ, भदौ २४/ कार्तिकेय ट्रष्टका संस्थापक अध्यक्ष तथा संरक्षक मोहन कार्कीको सभापतित्वमा गत भाद्र २२ गते आइतबार सम्पन्न समारोहमा कार्तिकेय बालप्रतिभा पुरस्कार बालवैज्ञानिक निश्चल पौडेललाई प्रदान गरियो । निश्चल नवजीवन मावि, जुटपानी सर्लाहीमा कक्षा १० मा अध्ययनरत हरिवन नगरपालिका ४, सासापुर, सर्लाहीका विलक्षण बालप्रतिभा हुन् । आफूलाई सानैदेखि विज्ञानमा   रुचि रहेको बताउने निश्चलले कवाडीमा फालिएका सरसामानहरु जुटाएर पाँचवटा ड्रोन, ब्याट्रीबाट चल्ने साइकल र मौसमको अवस्थाबारे जानकारी दिने उपकरण लगायत वैज्ञानिक उपकरणहरु बनाएर सबैको स्याबासी पाएका छन् ।
निश्चल गाउँमा रहेको कवाडी (थोत्रा सामान किनेर बेच्ने ठाउँ) मा रहेका विभिन्न पाटपुर्जा जम्मा पारेर आफूले बनाएको ब्याट्रीबाट चल्ने साइकल चढेर नै विद्यालय जाने गरेका छन् । उनलाई १० हजार नगद सहित ट्रष्टले पुरस्कृत गरेको थियो ।
निश्चल भन्छन्, “नास्टका प्राज्ञ ऋषि साहले मलाई सिर्जनात्मक कार्यमा सहयोग गरिरहनु भएको  छ । यस वर्ष कार्तिकेय बालप्रतिभा पुरस्कारले ममा झन् बढी हौसला थपेको छ ।”
कार्तिकेय ट्रष्टको २१ औं वार्षिक कार्यक्रममा यस वर्ष कार्तिकेय बालप्रतिभा पुरस्कारबाट क्रमशः गायन विधामा लेबरोटरी स्कूलमा कक्षा ७ मा अध्ययनरत दृष्टिविहीन बालगायक प्रोसेस पाण्डे, लेखन विधामा न्यूटन माविमा कक्षा १० मा अध्ययनरत पुष्पा लोहनी र चित्रकला विधामा एसओएस बालग्राम काभ्रेमा कक्षा १० अध्ययनरत बालक विजय सिंह वाइवा पुरस्कृत भएका थिए । यी ३ बालप्रतिभाहरुलाई जनही नगद ५ हजार प्रदान गरिएको थियो ।

यसैगरी ट्रष्टले समर्पण गर्दै आएको चन्द्रनाथ वरिष्ठ बालसाहित्य लेखक सम्मानबाट वरिष्ठ बालसाहित्य लेखक विजय चालिसे, दुर्गादेवी वरिष्ठ बालसाहित्य अनुसन्धाता सम्मान वरिष्ठ बालसाहित्य अनुसन्धाता प्रमोद प्रधान र सहृदयी लेखक सम्मानबाट बालसाहित्य लेखक कविता पराजुली सम्मानित हुनुभएको थियो । सम्मानित लेखकहरुलाई जनही ५ हजार नगद पनि प्रदान गरिएको थियो । साथै उक्त समारोहमा चन्द्रनाथ वर्षका उत्कृष्ट लोककथाकार पुरस्कारबाट वरिष्ठ लोककथाकार रेवती राजभण्डारी पुरस्कृत हुनुभएको थियो । उहाँलाई पनि नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो । तिन जना लेखकलाई प्रदान गरिएका यी पुरस्कार र सम्मानहरु कार्तिकयका पिताजी चन्द्रनाथ घिमिरेको ८५ औं जन्मोत्सवका अवसरमा र माताजी दुर्गादेवी घिमिरेको स्मृतिमा स्थापना गरिएका हुन् । पुरस्कृत बालप्रतिभाहरु, पुरस्कृत लेखक र सम्मानित लेखकज्यूहरुलाई समारोहका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले माला लगाएर सम्मान पत्र र नगद समर्पण गर्नुभएको थियो ।
ड्रोन उडाएर कार्यक्रमको उद्घाटन गरिएको उक्त समारोहमा पुरस्कृत बालप्रतिभा र सम्मानित बालसाहित्य लेखकहरुबारे वरिष्ठ बालसाहित्य लेखक रञ्जुश्री पराजुलीले प्रकाश पार्नुभएको थियो भने कार्तिकेय ट्रष्टबारे युवा प्रतिभा सरिता अधिकारीले बोल्नुभएको थियो । समारोहमा आयोजित बालसाहित्य रचना वाचन कार्यक्रममा वरिष्ठ बालसाहित्य लेखकहरु जलेश्वरी श्रेष्ठ, गंगा कमाचार्य पौडेल, सुशीला देउजा, ललिता 'दोषी', कविता पराजुली, विजय कट्टेल 'छहरा', देबु लुइँटेल, उर्मिला पन्त पाण्डेय लगायत र बालप्रतिभाहरु शिक्षा भट्टराई, सिजा मगर, सलुजा तामाङ, अनुसा घिमिरे, पुष्पा लोहनी, सौरभ पौडेल लगायतले भाग लिनुभएको थियो ।
समारोहमा ब्राइट फ्युचर स्कूलका प्रिन्सिपल दयाराम थापा, एसओएस बालग्राम काभ्रेका प्राचार्य नरेश्वर आचार्य, वरिष्ठ बालसाहित्य लेखक तेजप्रकाश श्रेष्ठ, चर्चित आख्यानकार महेश पौड्याल, डा. ऋषि शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

2019 Newbery Medalist Meg Medina: An Ambassador of Cultures

Her ears were buzzing. Her knees were buckling. Her mouth was babbling. Author Meg Medina Merci Suárez Changes Gears (Candlewick, 2018) had been awarded the coveted Newbery Medal. In her YouTube response, Medina shares her elation and appreciation to readers and committee members alike.
remembers that much about the morning she received “the” call from the Newbery Committee telling her that her book
Just a handful of years ago, Medina emerged on the publishing scene with her picture book,  Tia Isa Wants a Car (Candlewick, 2011). Since then, she has written six more titles which have received numerous accolades and awards including Pura Belpré Honors for Mango, Abuela, and Me (Candlewick, 2017).
“I could not have dreamed this scenario,” shares Medina. “The real question is what do you do with that precious gift? It has to amount to more than having a sticker on your book and a pretty medal sitting in a curio cabinet. For me, it has meant figuring out how to use my visibility to bring new authors to the table, and how to encourage readers—whether they’re parents, teachers, librarians, or young people—to read widely, diversely, and voraciously. It has meant using my visibility to be an ambassador of cultures to readers at a time when our country is wrestling with so many divisive narratives.”

for details log on:

 https://www.mackincommunity.com/2019/08/27/2019-newbery-medalist-meg-medina-an-ambassador-of-cultures/?fbclid=IwAR25jJgUiSq-S-UST5SpZi3kn4bGM5BE4HfhApvj4CmCXO4XhQYg5IR76KA

Monday, September 2, 2019

कवितावाचनमा विद्यार्थी सहभागी गराइदिने सम्बन्धमा ।

श्री प्रिन्सिपलज्यू,
 
विषय : कवितावाचनमा विद्यार्थी सहभागी गराइदिने  सम्बन्धमा ।
  
 महोदय,
   यस कार्तिकेय ट्रष्टले राष्ट्रिय बालदिवस २०७६ का अवसरमा निम्न मिति, समय र स्थानमा बालकविता वाचनमा विशेष प्रतिभा भएका बालप्रतिभाहरुबाट कविता वाचन विशेष बालकवि गोष्ठी र बालप्रतिभा पुरस्कार वितरण तथा बालसाहित्य लेखक सम्मान    कार्यक्रम आयोजना गर्न गइरहेको हुँदा त्यस विद्यालयका कक्षा ६ देखि ९ सम्म अध्ययनरत २ जना (छात्र र छात्रा) बालकविहरुलाई सहभागिताका लागि पठाइदिनुहुन निवेदन गर्दछु ।   सहभागी बालकविहरु र विद्यालयलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ । साथै सार्वजनिक यातायातमा आउनुहुने बालबालिकाका लागि बस भाडाको व्यवस्था पनि गरिएको  छ ।
वाङ्मय शताब्दी पुरुष श्री सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने यस कार्यक्रममा यस वर्ष विशेष बालप्रतिभा ४ जना र वरिष्ठ बालसाहित्य लेखक २ जनालाई नगद पुरस्कार र सम्मान प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।
अतः आफ्ना विद्यालयका सिर्जनशीला छात्र र छात्रालाई सहभागी गराई उनीहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिदिनुहुन निवेदन गर्दछु । कार्यक्रममा बालअधिकारसँग सम्बन्धित कविता वाचन गर्नुपर्नेछ । बालप्रतिभाले आफ्नो वा अन्य लेखकको रचना पनि वाचन गर्न सक्नेछन् । सहभागी विद्यार्थीको नाम, विद्यालयको नाम र कक्षा २०७६ भदौ २१ गते बेलुका ५ वजेसम्म फोन नं. ९८०१०७७५१५ वा ९८४१४७७५१५ मा म्यासेज वा फोन गरी टिपाइदिनुहुन अनुरोध गर्दछौँ ।

कार्यक्रम मिति : २०७६ भदौ २२ गते आइतबार
समय : दिउँसो १ः४५ बजे
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रवचन कक्ष १, लेखनाथ हल), कमलादी, काठमाडौँ, नेपाल ।

                                                                                                                          निवेदक
                                                                                                                     मोहन कार्की
                                                                                                                        अध्यक्ष

बालप्रतिभा र बालसाहित्य लेखक पुरस्कृत हुने


काठमाडौँ, भदौ १५/ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आगामी भदौ २२ गते विलक्षण बालप्रतिभाहरु र वरिष्ठ लेखकहरुलाई पुरस्कृत र सम्मानित गर्नुहुने भएको छ । 

कार्तिकेय ट्रष्ट नेपालबाट आयोजना हुने यस कार्यक्रम ट्रष्टका संस्थापक अध्यक्ष वरिष्ठ शिक्षासेवी मोहन कार्कीको सभापतित्वमा सम्पन्न हुनेछ । कार्यक्रममा बालप्रतिभाहरु बालवैज्ञानिक निश्चल पौडेल, प्रोसेस पाण्डे (फरक क्षमताका बालप्रतिभा, गायन), विजय सिंह वाइबा (एसओएस बालग्रामका बालप्रतिभा, चित्रकला) र पुष्पा रेग्मी (संघर्ष गर्दै जीवनलाई उज्यालोतर्फ डोर्याइरहेकी बालप्रतिभा, साहित्य लेखन) लाई कार्तिकेय बालप्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।  

 साथै सोही समारोहमा आदरणीय लेखकहरु विजय चालिसेलाई बालसाहित्य लेखनमा विशिष्ट योगदानका लागि 'चन्द्रनाथ वरिष्ठ बालसाहित्य लेखक सम्मान, २०७५', प्रमोद प्रधानलाई बालसाहित्य लेखन र अनुसन्धानमा विशिष्ट योगदानका लागि 'दुर्गादेवी वरिष्ठ बालसाहित्य लेखक/अनुसन्धाता सम्मान, २०७५',  'चन्द्रनाथ वर्षका उत्कृष्ट लोककथाकार पुरस्कार' नेपाल भाषाका लोककथा संकलन र लेखनमा उत्कृष्ट कृतिका लागि श्रीमती रेवती राजभण्डारीलाई समर्पण गरिने कार्यक्रम रहेको छ ।  

कार्यक्रम २०७६ भदौ २२ गते आइतबारका दिन दिउँसो १ः४५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ (प्रवचन कक्ष हल नं. १ मा) आयोजना हुने आयोजक कार्तिकेय ट्रष्ट नेपाल, पोस्ट बक्स नम्बर २५८५९, काठमाडौँले जनाएको छ ।  

  पुरस्कृत बालप्रतिभाहरुमध्ये बालवैज्ञानिकलाई १० हजार र अन्यलाई जनही ५ हजार नगद पुरस्कारसहित पुरस्कृत गरिने र सम्मानित लेखकज्यूहरुलाई जनही ५ हजार नगद सहित सम्मानित गरिने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ । विगत दुई दशकदेखि वितरण हुँदै आएको यस पुरस्कार बालसाहित्य लेखक कार्तिकेयको लेखकस्वबाट स्थापित भएको विज्ञप्तीमा उल्लेख छ । यस ट्रष्टका संस्थापक अध्यक्ष मोहन कार्की, उपाध्यक्ष पारस श्रेष्ठ, सचिव महेश पौड्याल र कोषाध्यक्षमा भगवती पौडेल रहनु भएको छ ।

Tuesday, August 27, 2019

कार्तिकेय बालप्रतिभा पुरस्कार बालवैज्ञानिक निश्चल पौडेललाई प्रदान गर्ने निर्णय

काठमाडौँ, भदौ १०/ कार्तिकेय ट्रस्टका संस्थापक अध्यक्ष वरिष्ठ शिक्षासेवी मोहन कार्कीको अध्यक्षतामा सोमवार बसेको बैठकले यस वर्षको कार्तिकेय बालप्रतिभा पुरस्कार बालवैज्ञानिक निश्चल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । निश्चल नवजीवन मावि, जुटपानी, सर्लाहीमा कक्षा १० मा अध्ययनरत बालप्रतिभा हुन् । 
आफूलाई सानैदेखि विज्ञानमा रुचि रहेको बताउने निश्चलले कवाडीमा फालिएका सरसामानहरु जुटाएर पाँचवटा र्डोन, ब्यार्टीबाट चल्ने साइकल र मौसमको अवस्थाबारे जानकारी दिने उपकरण बनाएर सबैको स्याबासी पाएका  छन् । निश्चल गाउँमा रहेको कवाडी (थोत्रा सामान किनेर बेच्ने ठाउँ) मा रहेका विभिन्न पाटपुर्जा जम्मा पारेर आफूले बनाएको ब्यार्टीबाट चल्ने साइकल चढेर नै विद्यालय जाने गरेका छन् । 
निश्चल भन्छन्, नास्टका प्राज्ञ ऋषि साहले मलाई सिर्जनात्मक कार्यमा सहयोग गरिरिहनु भएको  छ । 
विगत दुई दशकभन्दा लामो समयदेखि फरक-फरक प्रतिभा भएका बालबालिकालाई प्रदान गरिँदै आइएको यस पुरस्कारबाट पुरस्कृत बालप्रतिभा निश्चललाई नगद दश हजार र ताम्रपत्र प्रदान गरी एक विशेष समारोहमा सम्मानित गरिने भएको छ । पुरस्कार बालसाहित्य लेखक कार्तिकेयको लेखकस्वबाट स्थापित भएको हो । यस वर्षको पुरस्कार राष्टिय बालदिवसका अवसरमा प्रदान गरिने भएको छ । 

Wednesday, August 21, 2019

आदरणीय सत्यमोहन जोशी लिखित पुस्तक प्रकाशित

आदरणीय सत्यमोहन जोशी लिखित पुस्तक बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित भएको छ ।
चित्रांकन वरिष्ठ चित्रकार अशोकमान सिं,
हार्दिक आभार ।

Thursday, August 1, 2019

Respected Tripurari Sharma


Tripurari Sharma is a well-known theatre personality in India and currently works as a professor of Drama at the National School of Drama (NSD), where she teaches acting, writing, and directing. A graduate from Delhi University and NSD, Sharma has written and directed numerous plays including children’s productions.
She has worked with both the NSD theatre company, Theatre in Education, and the Alarippu organization.
Sharma enjoys creating engaging characters and plots that children relate to. Her work has received many honors including the Safdar Hashmi Award and the Sanskriti Award.

Saturday, July 27, 2019

कार्तिकेय ट्रस्टका संस्थापक श्री कार्तिकेयले वि.सं. २०७५ को कार्तिकेय बालप्रतिभा छनोट भ्रमणका क्रममा विभिन्न विद्यालयमा व्यक्त गर्नुभएको मन्तव्यको सार

कार्तिकेय ट्रस्टका संस्थापक श्री कार्तिकेयले वि.सं. २०७५ को कार्तिकेय बालप्रतिभा छनोट भ्रमणका क्रममा विभिन्न विद्यालयमा व्यक्त गर्नुभएको मन्तव्यको सार यहाँ प्रस्तुत गरिएको छ :
 नमस्कार मित्रहरु,
अभिभावक, विद्यार्थी र शिक्षक मित्रहरुमा हार्दिक नमन !
सुरुमा तपाईं अभिभावकसँग मलाई केही भन्न मन लागेको छ,
तपाईं औषधी किन्न जानुहुन्छ, डाक्टरको कागज बोकेर जानुहुन्छ, डाक्टरसँग पनि औषधीबारे प्रश्न पनि गर्नुहुन्छ तैपनि औषधीको एक्सपायर डेट हेर्नुहुन्छ अनि मात्र औषधी किन्नुहुन्छ ।
अनि तरकारी र फलफूल किन्न जाँदा पनि कुहिएको, नकुहिएको छानेर ताजा हेरेर किन्नुहुन्छ । बिग्रेको तरकारी, कुहिएको तरकारी अलिअलि सस्तो पाए भनेर ५० प्रतिशत छुटमा घरमा ल्याएर कहिले छोराछोरीलाई खुवाउने धृष्टता गर्नुभएको छ ?
छैन भने,
आफ्ना बालबालिकाका लागि बालपुस्तक किन्दा तपाईं किन सचेत भइरहनुभएको छैन ? पुस्तक छनोटमा तपाईंले किन महत्वका साथ लिइरहनुभएको छैन ?
तपाईंलाई लाग्ला औषधीले त तुरुन्तै असर गरेर हानी गर्ला कि !
बिग्रिएको फलफूल र तरकारीले पखाला होला कि ! तर, एउटा खराब किताबले के पो गर्ला र ? होईन, यति हलुकासँग नहेर्नुस्, एउटा खराब किताबले माथिका वस्तुहरुभन्दा अझ ठूलो असर   गर्छ ।
कसरी ?
तपाईंहरुको चेहरामा मैले यही प्रश्न देखिरहेको छु,
वास्तवमा तपाईंले बालपुस्तक छनोट गरेर पढाउँदै गर्नुभएको बालक सिकाइको पहिलो चरणको माटो हो । कुमालेले तयार गरेको माटोजस्तै । त्यस कलिलो मस्तिष्कमा खराब किताबले ईष्र्या, घृणा, असमानता, अरुलाई होच्याउनु र ठग्नु अनि झुक्याउनु महानता हो भन्ने जस्ता विचारहरु थोपर्न सक्छन् । ती थोपरीएका विचारहरुले ती बालबालिकाको बानी निर्माण हुनेछ, जसले गर्दा एउटा सभ्य र सहिष्णु समाज निर्माणमा ती किताबले भ्रष्ट भूमिका निर्वाह गर्नेछन् । यति मात्र होइन, तपाईंले छनोट गर्नुभएको किताबमा भाषाको स्तर राम्रो र शुद्ध हुनु जरुरी छ । भाषाको सिकाइको चरणमा नै बालबालिकाले भाषाको गलत प्रयोग सिके भने त्यो जीवनभरि नै सच्चिन कठिन हुन्छ । अनि भाषाको सवालमा अर्को महत्वपूर्ण कुरा पनि छ, यदि कुनै किताबमा उमेर सुहाँउदो भाषा छैन भने त्यसले बालबालिकालाई किताबप्रति वितृष्णा जगाउँछ र उनीहरुमा  पठनसंस्कार विकास गर्ने कुरामा बाधा उत्पन्न हुन पुग्दछ ।
त्यसैले मेरो नम्र निवेदन छ, तपाईं आफ्ना बालबालिकाको पहुँचमा पुगेका किताब किन्नुअघि त्यो किताबबारे केही कुरा बुझेर किन्ने गर्नुहोस् र घरमा विभिन्न माध्यमबाट पुगेका किताबको पनि समीक्षा गरेर मात्र बालबालिकालाई दिनुहोस् । विद्यालयले चित्तनबुझ्ने किताब छनोट गरेको छ भनेपनि प्रश्न गर्नुहोस् ।
किताबको मूल्याङ्कन आफैँ गर्न सक्नुहुन्न भने पनि औषधीको लागि डाक्टरको सल्लाह लिएको जस्तै शिक्षक र अन्य शिक्षित विज्ञहरुको सल्लाह लिनुहोस्, अनि मात्र आफ्ना बालबालिकालाई ती किताब किनेर पढ्न दिनुहोस् ।
तपाईंलाई भन्दा दुःख लाग्छ, मलाई हीनताबोध पनि महसुस भइरहेको छ, वास्तवमा म आफैं अध्यक्ष रहेको बालसाहित्य प्रतिष्ठान नेपाल, अग्रज डा. शैलेन्दुप्रकाश नेपाल अध्यक्ष रहनुभएको नेपाल बालसाहित्य समाज, अग्रज श्री विनय कसजू अध्यक्ष रहनुभएको बालवाङ्मय तथा अनुसन्धान केन्द्र, नेपाल प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य विभाग, जसलाई अहिले अग्रज डा. देवी नेपालले नेतृत्व गरिरहनुभएको छ र विभिन्न विश्वविद्यालयका भाषा र साहित्य पढाउने अग्रज प्रोफेसरहरु, विज्ञहरु आदि आदिको एउटा समूह बनाएर त्यो समूहले वर्षका पठनयोग्य बालपुस्तक, नेपाली बालसाहित्यका १०० पठनयोग्य उत्कृष्ट कृतिहरु भनेर सूची सार्वजनिक गरेर तपाईंहरुलाई सहयोग गर्न सक्नुपर्ने हो । तर, हामीले यो सकिरहेका छैनौँ, यसका लागि हामीले आगामी दिनमा अझ बढी प्रयास गर्दै गएर यो काम पूरा गरेरै छाड्नुपर्छ भन्ने मलाई लाग्दछ । तथापि आजको समयमा किताबको छनोटमा तपाईंको विवेकले भ्याएसम्म सचेत भएर छनोट गर्ने कोसिस गर्नुहोस् भन्ने मेरो हार्दिक आग्रह रहेको    छ । 
हो, अहिले हाम्रो देशमा तरकारीमा विषादीको प्रयोगले कोकोहोलो छ, कुरा त गम्भीर हो तर विश्वभरिका टिभी र इन्टरनेट च्यानलहरु इन्टरनेटबाट खुल्ला गरिदिएर जसरी आज यी माध्यमले बालबालिका र किशोर मष्तिष्कमा विषादी घुलिरहेको छ, त्यसको कसैले लेखाजोखा गरेको छैन । यसलाई रोक्न सकिन्न भन्ने एकथरी मत पनि सुनिन्छ । अर्को थरी मत सरकार नै नलागी नागरिकले यसमा केही गर्न सक्दैनन् भन्ने पनि छ । आज जसरी बच्चा अलमलिएकै छ, फुर्सद पाइएकै छ भनेर तपाईं अभिभावकले बच्चालाई मोबाइल, टिभी र आइप्याड खेलौना दिइरहनुभएको छ । त्यो गलत हो, सरासर गलत हो । आज जसरी अन्य मुलुकमा खान योग्य छैन भनेर भनिएका तरकारी र फलफूल सन् २०१३ देखि नै बिक्री भएर सन् २०१९ सम्म निर्वाध बिक्री भएर बल्ल आवाज उठ्यो । त्यसरी नै विश्व बजारमा हेर्न योग्य छैन भनी सांस्कृतिक अतिक्रमणको लक्ष्यसहित तयार गरिएका बाल र किशोर लक्षित कार्टुन लगायत नयाँ माध्यमका मुभीहरु निर्वाध रुपमा हाम्रा बाल तथा किशोरको खाना खाने बहानाको साथी बनी प्रयोग भइरहेको छ र हामी आफैँ प्रयोग गर्न उक्साइरहेका छौँ । आफ्नो फुर्सदका लागि हामीले हाम्रा बालबालिकाको वर्तमानप्रति खेलवाड गरिरहेका छौँ, अक्षम्य अपराध गरिरहेका छौँ, यसको परिणाम हामी अभिभावकले आँसु बगाएर चुकाउनु नै पर्नेछ एक दिन । तसर्थ यसमा सचेत बनौँ भन्ने मेरो आग्रह रहेको छ ।
मैले यसो भनिरहँदा मलाई धेरै मित्रहरुले यसको समाधान के हो त ? यसमा सरकार दोषी छ, हाम्रो पुरै सिस्टम नै दोषी छ भनेर रिस पोख्ने पनि गर्नुभएको छ । हो, ती मित्रहरुको रिस आफ्नो ठाउँमा ठीक पनि छ तर आफ्नै प्रयासले पनि यसलाई कम गर्न किन प्रयास नगर्ने ? भनेर हामीले गरेर सफल भएका केही व्यवहारिक प्रयोगबारे म तपाईसँग केही विमर्श गर्न चाहन्छु ।
१. वातावरण परिवर्तन गर्नुहोस् : अब तपाईंको घर, विद्यालयको होस्टेल र बालगृहको वातावरण परिवर्तन गर्न पहल सुरु गर्नुहोस् ।
बालक पत्रिकामा सम्पादक भएको समयमा साथै विभिन्न पत्रिकामा कार्यरत रहेका ती दिनहरुमा र आज केटाकेटी अनलाइन डटकम डिजिटल बालपत्रिकामा सम्पादकका रुपमा कार्यरत रहिरहेको अवस्थामा मैले थुप्रै विद्यालयका प्रमुख साथीहरु, होस्टेलका प्रमुख र अभिभावकज्यूहरुलाई अन्तर्वार्ताका लागि भेटेको छु । उहाँहरु गौरवका साथ आफ्ना आश्रित बालबालिकाको खानाको मेन्यु प्रस्तुत गर्नुहुन्छ, हप्ताको दुई दिन मासु खुवाइरहेको कुरा र शाकाहारीका लागि पोषणयुक्त अन्य खानाको व्यवस्थापनको कुरा पनि गर्वका साथ सुनाउनुहुन्छ । जब म प्रश्न गर्छु अनि पुस्तक अध्ययन र अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था नि ? यसमा उहाँहरुको उत्तर दिने उत्साह स्वात्तै घटेर सयबाट दशमा आउँछ, हो मलाई यहीनेर दुःख लाग्छ, यसलाई सुधार्न कराउँदै गुनासो गर्दै हिँड्ने गरेको छु । केही परम मित्रहरुले यो पक्षमा राम्रो सुधार गर्नुभएको छ । त्यहाँ व्यावहारिक परिवर्तन परिणाममा देखिएको छ । त्यो कसरी सम्भव भइरहेको छ ? आउनुस् एकछिन यसमा मन्थन गरौँ ।
टिभी नहेर, मोबाइल नहेर, आइप्याड नहेर भनेर मात्र हुँदैन, तपाईंले त्यसको विकलप पनि त दिन सक्नुपर्यो नि !
हो, महत्वपूर्ण कुरा यही हो यसमा नै सबै कुराको विकल्प रहेको छ । जसका लागि तपाईंले बच्चाको लागि एउटा रुटिन बनाइदिनुहोस् । याद  गर्नुहोस् यो कक्षा कोठा भित्रको रुटिन होइन, एउटा बच्चाको घरको रुटिन, बालगृहको रुटिन र होस्टेलको रुटिन हो । जसमा पुस्तक अध्ययन गर्ने दुईवटा खण्ड हुनेछन् १. पाठ्यपुस्तक दोहोर्याएर पढ्ने र होमवर्क गर्ने र २. अतिरिक्त पाठ्यपुस्तकहरु पढ्ने, जस्तै ः बालकथा, कविता र पत्रपत्रिका आदि आदि पढ्ने र साहित्य रचना गर्ने अर्थात् केही लेख्ने । अनि यो सँगै गाँसिएर खेलकुदका लागि समय र टिभीका लागि समय पनि व्यवस्थापन  गर्ने ।
यसरी समय व्यवस्थापन भएपछि घरको बालकको लागि उसको उमेर अनुसारको पुस्तकहरु भएको पुस्तकालय र होस्टेल तथा बालगृहका लागि पनि सोही अनुसारको पुस्तकालय तथा अतिरिक्त क्रियाकलाप र साप्ताहिक घुमफिरको लागि उचित समय तालिका तयार गरिदिने र अडियो भिजुअलको लागि र खेलकुदको लागि पनि स्थान व्यवस्थापन  गरिदिने ।
यसरी समय बाँडिदै गएपछि बालबालिका र किशोरले मोबाइल र आइप्याड र टिभीमा नै आश्रित भइरहनु पर्ने समय स्वतः घट्दै जानेछ र उनीहरुको बानी क्रमशः बदलिँदै जानेछ, जसले कालान्तरमा उसको व्यक्तित्व विकासमा ठूलो सकारात्मक महत्व राख्नेछ भन्ने कुरालाई हामीले मनन गरी यो कुरा लागू गर्न आजैबाट प्रतिबद्ध होऔँ भनी निवेदन गर्दछु । खानेकुराको सवाल पनि यस्तै हो, यदि कुनै विद्यालय, बालगृह वा घरमा फास्टफुड भित्रिन नदिने प्रतिबध्ता गरी मेनु निर्माण गरियो भने यो कार्य गर्न सम्भव छ, गर्न सकिन्छ, हाम्रा साथीहरुले सफल भएर देखाइसक्नुभएको छ ।
तपाईं र मजस्तै अभिभावक मित्रहरुले जसरी पुस्तक छनोटमा सचेत हुनुपर्छ त्यसरी नै आफ्ना छोराछोरीले हेर्ने टिभी तथा युट्यब इन्टरनेटको छनोटमा पनि सचेत हुनैपर्छ । हामीले जतिसक्यो बढी प्रयास गरी आफ्ना बालबालिकालाई सुमधुर र सौहार्द बालापन जिउनका लागि वातावरण तयार गरिदिने हो । उनीहरुको थरीथरी कल्पनामा रमाउने र कल्पनाको उडान भर्ने बालापन युट्युब कम गरेर दिन सक्छौँ । केही बुज्रुक अभिभावकहरुलाई लाग्ला नयाँ प्रविधिसँग चाँडै साक्षात्कार नगराए हाम्रा बालबालिका पछाडि पर्ने पो हुन् । आफ्ना नानीहरुका लागि त्यसरी गहन रुपमा सोच्ने ती प्यारा अभिभावकको सोचलाई सलाम । तर, जसजसले यो मोबाइल बनाए जो यसको मुख्य व्यापारी छन्, तिनीहरुले नै आफ्ना साना नानीहरुलाई यसबाट टाढा राख्ने नियम कडाइका साथ कार्यान्वयन गरिरहेको आजको अवस्था हो । उनीहरुले किन यसो गरिरहेका छन् ? एकपटक हामी पनि गम्भीर भएर सोचौं अनि लहैलहैमा उनीहरुका धेरै कुराहरु कपी गरिरहेका त छँदैछौँ, एकपटक यसलाई पनि कपी गरेर लागू गरी हेरौं न त !
आदरणीय तपाईं अभिभावकले व्यस्तताको छालमा लपेटिएर प्रश्न गर्न छाड्नुभएको छ आजकल । प्रश्न गर्नुस्, आवाज उठाउनुस् । हाम्रो बच्चा पढ्ने विद्यालय समय घटाउँदै घटाउँदै लगेर नेपाली भाषा मार्न उद्यत छ । त्यही विद्यालय हामीलाई संमृद्धिको लालीपप चुसाएर चाइनिज भाषाको छुट्टै कक्षा नै पढाइरहेको छ, किन ?
आफ्नै नेपाली भाषा शिक्षणमा किन उसले जागर देखाइरहेको छैन ? किन हाम्रा विद्यार्थीहरुकको मातृभाषामा शिक्षणलाई बेवास्ता गरी अंग्रेजीलाई अत्याधिक प्राथमिकता दिइँदैछ ?
हामीले प्रश्न गर्ने पक्ष यो पनि हो । तर हामी अरुको भाषामा रमाउँदै गरेको बालक, अरुको फास्टफुडमा अभ्यस्त हुँदै गरेको बालकलाई हेरेर गर्व गरिरहेका छौँ । उसलाई नेपालीजस्तो बनाउन चाहिरहेका नि छैनौँ, यसमा दोष कसको हो ? आफैँले आफैँलाई प्रश्न गर्नुहोस् ।
 चाइना भ्रमण गर्न जान पाउने लालसामा हाम्रा विद्यालयहरुले चाइनिज भाषा लादिरहेका छन् । आफ्नो भाषा मारेर संमृद्धि मिल्छ, बच्चाले भविष्यमा सुख पाउछ भनेर हामी अभिभावकले आफ्नो बच्चाभित्र सिक्ने चरणमै मर्दै गरेको नेपाली भाषा सिप हेरेर ताली बजाइरहेका छौँ, अंग्रेजी भाषाका लागि ।
अरुको भाषा जानेर मात्र मुलुक समृद्ध हुने हो भने जापानिज र चाइनिजहरु किन अंग्रेजी भाषामा पोख्त हुन त्यति रहर गर्दैनन्, तर आफ्नो भाषाप्रति गर्व गरेर नै विश्व अर्थतन्त्रमा अगाडि  छन् ? त्यसैले जब हामीले बच्चालाई हाम्रो भाषा केही होइन, हाम्रो देश केही होइन भन्दैभन्दै अभ्यस्त पार्दै जान्छौँ, त्यसको असर उसको आत्मविश्वासमा पनि पर्छ, उसले अरुलाई भन्दा आफूलाई होचो र निचो देख्छ । उसको आत्मविश्वास डगमगाउँछ । त्यसैले हामी पनि आफ्नो देशका असंख्य कुराहरुलाई छोपेर आफ्ना बालबालिकालाई देशको बारेमा नकारात्मक कुरा मात्र नसुनाऔँ । जतिसक्यो बढी उनीहरुमा सकारात्मक सोचको विकास गरौँ, असल अभिभावकको कर्तव्य निर्वाह गरौँ ।
अब तपाईं विद्यार्थी मित्रहरुलाई पनि मलाई केही कुरा भन्न मन लागेको छ :
अहिले तपाईंहरु अरुको नक्कल गरेर र घोकेर सुनाएर ताली पाउनमा अभ्यस्त हुँदै जानुभएको देखेर मलाई दुःख लाग्छ ।
तपाईं आफैँले आफैँलाई विश्वास गर्नुस् । तपाईं सबैभन्दा अलग हुनुहुन्छ, सबैभन्दा फरक हुनुहुन्छ । तपाईं हरेक बालबालिकामा भिन्नभिन्न विशेष क्षमताको प्रतिभा निहित रहेको छ । त्यो प्रतिभाले मौलाउने फस्टाउने मौका खोजिरहेको छ, त्यसलाई परिश्रम र अभ्यासको बलले मौलाउने मौका दिनुहोस् ।
त्यसपछि तपाईंको प्रतिभाले आफ्नै शैली, आफ्नै क्षमताको विकास गर्छ फलस्वरुप तपाईंको एउटा अलग्गै परिचय बन्छ ।
हो, मेरो गुनासो यही कुरामा हो, तपाईं जस्तो यस्तो आफ्नै शैली र क्षमता विकास गर्न सक्ने बालप्रतिभाले किन घोकेर पढ्ने ? किन अरुको नक्कल गरेर अरुजस्तै बन्न खोज्ने ? तपाईं आफू आफूजस्तै नै बन्नुस् । आफ्नो लागि आफैँ हिरो र हिराइन हुँ भन्ने आत्मविश्वास बोकेर अगाडि बढ्नुस् । आफूलाई एकदमै महत्व दिनुस्, आफ्नो मनोबल सधैँ उच्च राख्नुस् । तर, सधैँ याद गर्नुस्, तपाईंको जितमा मानवताले कहिल्यै हार्नुहुँदैन । मानवतालाई आफ्नो जितभन्दा माथि राख्नुस् । मानवतालाई मारेर, मानवतालाई हराएर हासिल भएको तपाईंको जितले कालान्तरमा तपाईंलाई आत्मग्लानी, पछुतो र छटपटी शिवाय खुसी र शान्ति दिन सक्ने छैन । त्यसैले सबै साथीभाइलाई सम्मान गर्नुस् । स्वस्थ प्रतिस्पर्धा गर्नुस् । प्रतिभाको प्रतिस्पर्धा गर्नुस् । अहंकार र छलकपटको होइन । सही प्रतिस्पर्धाले हाम्रो जीवनमा उर्जा मिल्छ । र, उर्जाले जीवन सौहार्द र शान्त हुन्छ । खेलमा हार र जितका दुई पटाहरु हुन्छन् । हारमा आत्तिने र जितमा मात्तिने नगर्नुस् । हारपछिको जित मीठो हुन्छ र जितपछिको हारले अझ बढी मिहिनेतको अपेक्षा राख्छ अनि त्यो हारपछिको जित रोमान्चक हुन्छ, अविष्मरणीय बन्छ । मलाई यति भन्नु छ, यदि तपाईं दौड प्रतियोगितामा हुनुहुन्छ र दौडने क्रममा एउटा साथी हर्टअट्याक भएर लड्यो भने जितलाई बिर्सिदिनुस् र कसरी हुन्छ त्यो साथीको प्राण रक्षाको लागि कटिबद्ध हुनुहोस् । अनि तपाईं असल मान्छे बन्नुहुनेछ । दृढ विश्वास गर्नुस्, असल मान्छे नै दीर्घकालीन रुपमा सफल र सर्वप्रीय मान्छे बन्नेछ । अरु भनेका पानीका फोकाजस्ता मात्र हुन् । क्षण भरमै चम्किएर बिलाउनेछन् ।
अब प्रतिभा छनोटका लागि ठाउँठाउँमा कार्तिकेय ट्रस्ट किन पुगिरहेको छ ? भन्ने प्रश्नको जवाफ दिने प्रयास गर्दछु ।
वास्तवमा म धेरैभन्दा धेरै बालबालिका र किशोर मित्रहरुसँग संवाद गर्न चाहन्छु । उहाँहरुलाई आफ्ना केही कुरा भन्न चाहन्छु र उहाँहरुका केही कुरा सुन्न चाहन्छु । यो त्यही उद्देश्यबाट प्रेरित एउटा शृङ्खला मात्र हो । हामी विगत २२ वर्षदेखि यसरी नै यो सानो सत्प्रयासमा निरन्तर लागिरहेका छौँ ।
कस्तो प्रतिभा छनोट हुन्छन् त ?
यो प्रश्न यस यात्रामा सबैभन्दा बढी सोधिने प्रश्न हो । साँच्चै भन्नुपर्दा प्रतिभा छनोट गर्ने काम अत्यन्त कठिन काम हो । एउटा विद्यालय, बालगृह वा आश्रम वा अन्य यस्तै बालसंरक्षण केन्द्रहरुमा पुग्दा फरफरक विधाका उत्कृष्ट भनेर २०÷२५ जना विद्यार्थीहरुसँग छलफल गर्ने मौका प्राप्त हुन्छ । म पनि यो अवसरका लागि उहाँहरुप्रति कृतज्ञ हुन्छु, कथा सुनाउँछु र लामो गफगाफ कुराकानी गर्ने गर्छु । बालबालिकाको कुरा पनि मज्जाले सुन्छु । तर हरेक ठाउँमा पुग्दा हामी आयोजकका पनि केही बाध्यता हुन्छन् । हामी सबैलाई पुरस्कृत गर्न सक्दैनौँ । तर सधैँ मेरो मनको प्राथमिकतामा त्यस्ता बालबालिकाहरु पर्छन्, जसले जीवनका प्रतिकूलताहरुसँग लाप्पा खेल्दै जीवनलाई सुनौलो भविष्यतर्फ, उज्यालोतिर अग्रसर गराइरहेका हुन्छन् । हो, म मान्दछु, कतिपय अवस्थामा कहिलेकाही प्रतिकूलताबीच हुर्किएका बालबालिकाभन्दा सहज पारिवारिक अवस्थामा हाँसीखुसी हुर्किएका बालबालिकाहरु अझ बढी प्रतिभावान् हुन् कि जस्तो पनि लाग्छ । त्यो स्वाभाविक पनि हो, स्याहार पुगेको बिरुवा राम्ररी सप्रनु स्वाभाविक पनि हो । ती सधैँ उम्दा छन् र रहिरहने छन् । उनीहरुका लागि जीवनका अनेकौँ सफलताका ढोकाहरु खुल्दैखुल्दै जनेछन्, यो मेरो विश्वास हो र शुभाशीष पनि ।
तर प्रतिकूलतालाई जितेर आएकाहरुको चमकमा पनि कुनै कमी हुँदैन । उनीहरु पनि अब्बल छन्, हुन्छन् । यो कार्तिकेय ट्रस्टको विश्वास हो । हामी जीवनका फरकफरक मोडहरुमा संघर्ष गर्दै वर्तमानलाई टल्काउँदै सुमधुर भविष्यतर्फ अग्रसर संघर्षशील बालप्रतिभाहरुका लागि हो । हाम्रो छनोटमा विगत दुई दशकदेखि उनीहरु पहिलो प्राथमिकतामा पर्दै आएका छन् । र, परिरहने छन् । अनि सहज पारिवारिक वातावरणमा हुर्किएर विलक्षण क्षमता प्रस्तुत गर्न सफल बालप्रतिभाहरुलाई पनि हामीले पुरस्कृत गर्दै आएको सत्य सबै सामु छर्लङ्ग नै छ ।
र, अन्त्यमा विद्यालयहरुलाई पनि मलाई केही भन्नु छ,

आदरणीय प्रिन्सिपलज्यू,
कृपया बच्चालाई घोकाएर, रट्न लगाएर ५ पेज लेखाएर विद्यालयका एउटा मेडल र शिल्ड भित्रिएकोमा गर्व नगर्नुस् । बरु एक पेज नै किन नहोस्, बच्चाले आफैँ लेखेर ऊ आफैँ गौरवान्वित हुने मौका दिनुहोस् । विद्यार्थीलाई घोक्ने मञ्च र घोकाउने शिक्षक होइन । विचार आदान प्रदान गर्ने, आफ्ना कुरा निर्धक्क भन्न पाउने साप्ताहिक सृजना वाचन मञ्चको संयोजन गरिदिन सक्ने शिक्षक दिनुस् । त्यो मञ्चले नै भाषालाई निखार्दछ । आज मञ्च पाएको त्यो बालबालिकाले ५ पेजको मात्र के कुरा गर्नुहुन्छ, ठूलो समूहमा एक घन्टा भाषण गर्न सक्ने सामथ्र्य आफूभित्र विकसित गर्न सक्नेछ । २० पेज लेख्न सक्ने क्षमता आफूभित्र विकसित गर्न सक्नेछ ।
तपाईं प्रिन्सिपलज्यूहरुसँग मेरो अर्को पनि गुनासो छ, तपाईंहरु सधैँ जान्नेलाई मात्र अगाडि सार्नुहुन्छ । नजान्ने झन् झन् नजान्ने बन्दै गएर आत्मग्लानीले सिद्धिएको, आत्मविश्वास गुमाएको खबर नै राख्नुहुन्न । यो गलत हो प्रिन्सिपलज्यू । ब्याक बेन्चरलाई पनि अगाडि ल्याउनुस्, जान्ने र नजान्नेको जोडी बनाइदिएर उनीहरुलाई सँगसँगै दाउनुहोस् , जोत्नुहोस् र सँगसँगै रोपाइँ पनि गर्नुहोस् । विश्वास गर्नुस्, नजान्नेले रोपेको धान पहिलो वर्ष अलिकति होचो होला, अलिकति थोरै फल्ला तर त्यसमा धान पक्कै फल्छ । अर्को वर्षमा त झन् सप्रेको बोट भएर नै धान फल्नेछ । कुरा आत्मविश्वासको हो, तपाईं उसको आत्मविश्वासलाई डगमगिन नदिनुहोस् । सफलता तपाईं हामीजस्तो छैन, ऊ निष्पक्ष र तटस्थ रहन्छ सधैँ, तसर्थ उसले नजान्नेको ट्याग लागेकोलाई पनि एकदिन मज्जाले सफलताको स्वाद चाख्ने मौका दिनेछ, अवश्य दिनेछ । तर, तपाईंले उसलाई सिक्नका लागि सधैँ प्राथमिकतामा राखिदिनुहोस् ।
भन्ने कुरा धेरै छन्, यहाँ सबै भनेर सम्भव पनि छैन । तर अन्त्यमा मेरो यति भन्नु छ,
प्रिन्सिपलज्यूहरु,
आफ्ना विद्यार्थीहरुलाई हरेक दिन एक घन्टा पुस्तकालयमा बिताउने मौका दिनुहोस् । किताबहरु भरिभराउ भएको एउटा पढ्न सहज भएको पुस्तकालय नभएको विद्यालय पनि के विद्यालय ? त्यो त जनावर बस्ने खोर मात्र हो । तसर्थ मैले सधैँ भन्ने गरेको छु, जुन विद्यालयमा पुस्तकालय छैन, त्यहाँ मलाई कथा भन्न नबोलउनुहोस् । किनकि त्यहाँ तीतो कुरा गरेर झुकेको तपाईंको शिर हेर्दा म आफैँलाई लज्जा महसुस हुन्छ । त्यसै म त्यस्तो विद्यालयमा आफैँ जान्नँ ।
 र, अन्त्यमा कार्तिकेय ट्रस्ट बालबालिका माझमा पठन संस्कृतिको विकासका लागि स्थापित भएको हो । यस ट्रस्टले दुई दशक लामो यात्रामा अगाडि बढिरहेको छ । ट्रस्टले यति लामो समयसम्म काम गर्न सक्नुमा यस ट्रस्टका संस्थापक अध्यक्ष वरिष्ठ शिक्षासेवी श्री मोहन कार्की सरको ठूलो योगदान रहेको छ । उहाँप्रति हामी कृतज्ञ छौँ । त्यस्तै ट्रस्टका सचिव श्री महेश पौड्याल (आख्यानकार, समीक्षक तथा त्रिविविका अंग्रेजी विषयका शिक्षक) को सहयोगप्रति पनि आभारी रहेका छौँ । साथै कार्तिकेय लिखित बालकृतिहरु किनेर सहयोग गर्नुहुने पाठक, विद्यालय र पुस्तकालय परिवारप्रति पनि आभारी छौँ ।

हस् त धन्यवाद् ।
तपाईंले मेरो मनको कुरा सुनिदिनु भयो, सबैप्रति हार्दिक आभार ।
जय बालबालिका ।
जय बालसाहित्य ।।
 (यस कार्यक्रमको रिपोर्टर मनीषलाई हार्दिक धन्यवाद छ ।)

Sunday, July 21, 2019

नेपाली बालसाहित्यमा साँच्चिकै परिवर्तन ल्याउने हो भने के गर्नुपर्छ ? - कार्तिकेय

हामीले नेपाली बालसाहित्यलाई पुस्तक बजारको मूल प्रवाहमा छिराउन सक्नुपर्छ अनि मात्र हरेक विद्यालयका पुस्तकालयमा नेपाली बालसाहित्यका सेलेक्टेड पुस्तकहरुको छुट्टै ठूलो र्याक बस्छ । अनि नेपाली बालसाहित्यलाई संस्थागत रुपमै खरिद गरिने वातावरण सिर्जना हुनसक्छ । त्यसका लागि हामीले यी कुरा गर्न सक्नुपर्छ :
१. नेपाली बालसाहित्यका १०० उत्कृष्ट बालकृतिहरुको सूची सार्वजनिक गर्ने । यो कार्यका लागि बालसाहित्यको प्रवद्र्धनमा लागेका सामाजिक संस्थाहरुको एउटा अलाइन्स बनाउने, त्यो अलाइन्सले मुलुकका प्रतिष्ठित विश्वविद्यालयबाट एकएक जना विशेषज्ञ, संस्थागत प्रतिनिधि विशेषज्ञ, मनोविद् आदिको एउटा बोर्ड बनाउने र त्यो बोर्डले के कस्ता गुण भएका किताब उत्कृष्ट बालकृति हुने भन्ने एउटा मापनको खाका तयार गर्ने र त्यसलाई बृहत् छलफल गरी बुक छनोटको मापदण्डको रुपमा सार्वजनिक गरिदिने । त्यसपछि त्यही आधारमा विस्तृत अध्ययन गरी ३ वर्षभित्र नेपाली बालसाहित्यका १०० उत्कृष्ट बालकृतिहरुको सूची सार्वजनिक गर्ने ।
२. त्यसपछि त्यही आधारमा वर्षका २५ (उमेर समूह अनुसार गर्नुपर्ने भएकाले २५ गरिएको) उत्कृष्ट बालसाहित्य लेखक र पुस्तकहरुको सूची सार्वजनिक गर्ने परम्परा सुरु गर्ने । 
३. त्यसपछि उत्कृष्ट १०० मा छानिएका किताबहरुको नयाँ साजसज्जा संस्करण प्रकाशन गर्न सुरु गर्ने । ती सबै किताब बजारमा सहजै उपलब्ध हुने वातावरण बनाउने । साथै, १०० मा छानिएका मध्ये धेरेै भन्दा धेरै किताबको मोटो गाता संस्करण पनि प्रकाशन गर्ने ताकि विदेशी किताबमा रमाउने विद्यालय र पुस्ताको पनि उक्त कृतिहरुमा ध्यान आकृष्ट होस् ।
४. त्यसपछि यस्तो दिन ल्याउन प्रमोसन गर्न सुरु गर्ने कि नेपाली बालसाहित्यका १०० किताब हाम्रो पुस्तकालयको पुस्तकालयमा छ भन्दा विद्यालय टिमलाई गौरव महसुस होस् । उत्कृष्ट २५ किताब पनि त्यसरी नै विद्यालयसम्म पुग्ने वातावरण बन्दै जानेछ । र, त्यसपछि मात्र नेपाली बालसाहित्यका ती सूचीमा नपरेका किताबहरुको मूल्य स्वतः कम हुनेछ र सूचीमा परेकाहरुले पनि मितव्ययी मूल्य राख्न स्वतः प्रोत्साहित हुनेछन् किनकि उनीहरुको बिक्रीको संख्या बढी हुने भएकाले छपाइको मूल्य त कम हुँदै गएको अवस्था हुनेछ ।
५. आगामी ५ वर्षभित्र यति गरिसकेपछि त्यही अलाइन्सले सबैसँग सहयोग जुटाएर १ करोडको अक्षयकोष बनाउने र सुरुवातमा हरेक २ वर्षमा दुई उमेर समूहका २ लेखकलाई २ लाख ५० हजार राशिको उत्कृष्ट बालसाहित्य पुरस्कार प्रदान गर्ने परम्परा सुरु गर्ने । अनि बल्ल बालसाहित्य लेखन र पठन संस्कृतिका उपलब्धिपूर्ण धक्का महसुस हुनसक्छ र नेपाली बालसाहित्यको अवस्थामा साँच्चिकै परिवर्तन हुनेछ । अहिले त डलरको चमचमले नेपाली बालसाहित्य चहकिलो भएको जस्तो मात्र लागेको हो तर त्यतिबेला साँच्चै नेपाली पाठकको नेरुले नै बालसाहित्य चम्कने छ । किनकि आज रोल डाल र एनिड ब्लाइटन लगायत लेखकका सिरिजका सबै किताब किनेर घरमै पुस्तकालय बनाएर पढाउन सक्ने आर्थिक स्तर भएका पाठकसम्म पनि नेपालबाट प्रकाशित नेपाली बालसाहित्य पुग्ने दिन आउने छ ।
६. हो, पुरस्कारको हकमा छनोटमा र बुक सेलेक्सेनमा निष्पक्ष हुँदैन विदेशमा त यस्तो भनेर नि प्रतिक्रिया आउन सक्छ तर म ती मित्रहरुलाई यति मात्र भन्न चाहन्छ, भो अब विदेशको उदाहरण दिएर गौरव गर्न कम गरौं, पुरस्कार छनोटमा र बुक सेलेक्सेनमा असहमतिका स्वरहरु युरोप, अमेरिका र अन्य बालसाहित्य पढ्ने अवस्था अत्यन्त राम्रो भएका मुलुकमा पनि सुनिँदै आएका छन् । तर हाम्रो प्रयास त्यसलाई कसरी कम गर्ने भन्ने हुँदै जानुपर्छ । अर्को कुरा हामीले यस्तो उदाहरण दिन सक्ने दिन ल्याउनुपर्छ : जस्तै— फलानो प्रदेशमा बालसाहित्य बढी बिक्यो, फलानो प्रदेशमा बालबालिकाको पुस्तकालय बढी छ, फलानो प्रदेशका बच्चाहरुको पठन गति तगडा छ, फलानो प्रदेशमा किताब पढौं, पुरस्कार जितौं कार्यक्रममा १ लाख विद्यार्थीले भाग लिए, फलानो प्रदेशमा धेरै किताब पढ्नेमध्ये टप टेनलाई स्थानीय सरकारको पहलमा हरेक वर्ष छात्रवृत्ति प्रदान गरियो, यसबाट देशभरि दसौं हजार विद्यार्थीले राम्रो किताब पढ्ने बानीका कारणले निःशुल्क पढ्न पाए, आदि आदि यस्ता कुराहरु र उदाहरणले सही र सुनौलो भविष्यका लागि प्रदेशप्रदेशबीच आन्तरिक प्रतियोगिता बढाउन सके हामीले परिवर्तन महसुस गर्न र भोग्न पाउने हो ।