Monday, November 18, 2019

MEET THE AUTHOR WITH SCHOOL CHILDREN

काठमाडौँ, मंसिर ३/  बालसाहित्य प्रतिष्ठान नेपालको विद्यालयका बालबालिकासँग लेखक नियमित मासिक कार्यक्रमको कार्तिक महिनाको कार्यक्रम अन्तर्गत बालसाहित्य लेखक प्रभा भट्टराईसँग क्यामेलिया मावि, कालिमाटी, काठमाडौँमा अध्ययनरत ३९ जना बालबालिकाहरुले अन्तरक्रिया गर्नुभयो ।
बालसाहित्य प्रतिष्ठान नेपाल, बालसाहित्य छलफल समूहको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य रुद्रमणि अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले लेखक परिचय प्रस्तुत गर्नुहुँदै विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमले बालबालिकामा पठन संस्कार बढाउने र उनीहरु भित्र लुकेर रहेको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा वरिष्ठ बालसाहित्य लेखक भट्टराईले आफ्ना अनुभवहरु सुनाउनुका साथै रचना वाचन गर्दै छन्द लेखनबारे चर्चा गर्नुभएको थियो । उहाँको कविता वाचन सुनेर बालबालिकाहरु एकदमै खुसी हुनुभएको  थियो ।
बालबालिकाहरु सक्रिय सहभागी हुनुभएको उक्त कार्यक्रममा उहाँहरुले आफ्ना रचना वाचन गर्दै लेखकसँग छलफल पनि गर्नुभएको थियो ।



प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको लेखक प्रभा भट्टराईको परिचयको छोटकरी अंश :

प्रभा भट्टराई आचार्य बालसाहित्य लेखनमा एउटा स्थापित लेखक हुनुहुन्छ । उहाँ वि.सं. २०१२ कार्तिक १६ गते चुँदिरम्घा, तनहुँमा जन्मनुभएको हो । उहाँ हाम्रा आदिकवि भानुभक्त आचार्यका पनातिनी हुनुहुन्छ ।
उहाँका मातापिता आमा मिठ्ठु आचार्य र पिता नारायणदत्त शास्त्री आचार्य हुनुहुन्छ । उहाँले नेपाली विषयमा एम.फिल. सम्मको अध्ययन पूरा गर्नुभएको छ । हाल विद्यावारिधिका लागि अनुसन्धान गरिरहनुभएको छ ।
उहाँले लामो समयदेखि पद्मकन्या क्याम्पसमा पढाउँदै आउनुभएको छ । उहाँको पहिलो प्रकाशित रचना 'आमा' कविता हो । जुन २०३३ सालमा 'बालक ' पत्रिकामा प्रकाशित भएको थियो । यसैगरी उहाँका 'पोसिला', २०६०, 'मेरो सानो भाइ' लगायत बालकविता संग्रहहरु र 'सन्तु र सुगा', २०६१ लगायत थुप्रै बालकथा र बालचित्रकथाकृतिहरु प्रकाशित छन् । छन्दोबद्व कवितामा विशेष दख्खल राख्नुहुने कवि आचार्यको वि.सं. २०६२ मा 'सरित संगम' नामक कवितासंग्रह प्रकाशित भएको थियो । उहाँले लेखन, सम्पादन र अनुवादका क्षेत्रमा पनि काम गर्नुभएको छ ।
विद्यार्थी जीवनमा स्कूल/कलेजमा पढ्दा कवि आचार्यले साहित्यिक प्रतियोगिताहरुमा धेरै पुरस्कारहरु प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले राष्ट्रिय स्तरका पुरस्कार र सम्मानहरु पनि प्राप्त गर्नुभएको छ । उहाँको सुमधुर स्वरमा सजिएका रामायण वाचन लगायत अन्य छन्दमा कविता वाचनका अडियो सामग्रीहरु अत्यन्त रुचिकर छन् । तिनले पाठक र स्रोताबाट निक्कै प्रसंशा बटुलेका छन् । उहाँ हाल ताहाचाल, काठमाडौँमा छोरा र छोरीसँगै बस्नुहुन्छ ।
उहाँले बाल स्वभाव, चरित्र, जीवन शैली र बाल संवेगलाई टपक्क टिपेर उनीहरुकै लोलीमा, उनीहरुकै बोलीमा सुन्दर काव्यहरु सिर्जना गर्नुभएको छ । यस कारण उहाँका रचनाहरु अत्यन्त लोकप्रिय छन् । उहाँका बालगीतहरुले बालबालिका माझमा राम्रो प्रभाव पारेका छन् । गहिरो छाप छोडेका छन् ।
एउटा असल बालसाहित्य लेखकले बालबालिकाले जसरी नै सोच्न सक्नुपर्छ अनि मात्र ऊ सफल लेखक हुनसक्छ भन्ने बालसाहित्य लेखनको सिद्वान्तलाई हृदयङ्गम गरी भन्ने हो भने लेखक भट्टराईका बालरचनामा त्यो छाप देखिन्छ । उहाँ बालबालिकाले जस्तै साचेर र महसुस गरेर लेख्नुहुन्छ । जसमा सुनमा सुगन्ध थप्ने काम उहाँमा रहेको छन्द लेखन कलाको विलक्षण क्षमता र कवि हृदयले गरेको देखिन्छ ।

No comments:

Post a Comment