Wednesday, November 13, 2019

BRAILLE BOOKS DONATION PROGRAM 2019

 
काठमाडौं कार्तिक २९ । बालसाहित्य प्रतिष्ठान नेपालले कार्तिक २७ गते बुधबार दृष्टिविहिन युवा संगठन नेपालमार्फत् दृष्टिविहिन बालबालिकाहरुका लागि विभिन्न लेखकहरुका ९ कृतिहरुको ३३३ थान ब्रेल पुस्तकहरु विभिन्न जिल्लाका दृष्टिविहीन बालबालिकाहरुलाई निःशुल्क वितरण गर्ने गरी सहयोग प्रदान गरेको छ ।
पुस्तकहरुमा रामकाजी कोनेलिखित ब्रेललिपिमा प्रकाशित पहिलो मुक्तक सङ्ग्रह ‘मुक्तक मोह’, जलेश्वरी श्रेष्ठको ‘पिंकी र पुतलीहरु’ र सोही पुस्तकको अङ्ग्रेजी संस्करण ‘पिंकी एण्ड द बटरफ्लाईज’ कथा सङ्ग्रह, नेपाल बालसाहित्य समाज र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त परियोजना अन्तर्गत प्रकाशित ‘नेपाली बालकथा’ २० लेखकका बालकथासङ्ग्रह, भारतीय बालसाहित्यकार मनोरमा जफा लिखित ‘हाँस्ने सुगा’, बालसाहित्यकार गंगा पौडेलको ‘को ठूलो’ बालकथा सङ्ग्रह र बालसाहित्यकार कार्तिकेयका ३ बालकथाकृतिहरु ‘वाह ! दुनोट पसलेकी छोरी’, ‘साँच्चैकैको हिरो हो कृष्णबहादुर’ र ‘म चोर होइन’ रहेका छन् ।
कार्यक्रममा बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयले विभिन्न परिवेशका बालबालिकाहरुको पठन संस्कृति विकास गर्ने मुख्य लक्ष्य लिई बालसाहित्य प्रतिष्ठान नेपालले २०५८ सालदेखि यस क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाँले बालबालिका तथा युवा विद्यार्थीहरुको लागि पाठ्यक्रमभन्दा बाहेकका बालसाहित्यको पनि निकै महत्वपूर्ण भूमिका रहने हुँदा यस्ता निजी प्रयासबाट ब्रेललिपिमा पुस्तक प्रकाशन गरिनुले नेपालको सरकारी निकायलाई पनि ब्रेलपुस्तक प्रकाशनका लागि ध्यानाकर्षण हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले दृष्टिविहिन बालबालिका तथा युवा विद्यार्थीहरुले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन भएका पुस्तकहरु मात्र पढ्न पाइरहेको सन्दर्भमा उनीहरुको चौतर्फी विकासका निम्ति ब्रेलपुस्तकहरु प्रदान गर्नुभएकोमा आभार प्रकट गर्नुभयो । यसले धेरै भन्दा धेरै दृष्टिविहिन बालबालिकाहरुलाई लाभान्वित गर्ने विश्वास व्यक्त गर्दै उहाँले देशभरिका ८० वटा दृष्टिविहिनका लागि विद्यालयहरु तथा स्रोतविद्यालयहरुमा ती ब्रेलपुस्तकहरु निःशुल्क वितरण गरिने व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
त्यसैगरी संगीतकार तथा बालसाहित्य प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश सुवेदीले ब्रेलपुस्तक वितरण प्रतिष्ठानको प्रारम्भिक कार्य भएको र बालबालिकाहरुको ज्ञान अभिवृद्धि गर्ने खुराकको रुपमा यी पुस्तक रहेको बताउनुभयो । दृष्टिविहिन तथा फरक क्षमताका बालबालिकाहरुको पहुँचमा पठन सामग्री पर्याप्त नपुगेको सन्दर्भमा थोरै भए पनि सघाउ पुग्ने उद्देश्यले ब्रेल लिपिमा प्रकाशित यी किताबहरु नेत्रहीन युवा संघसँग सहकार्य गरी दृष्टिविहिन बालबालिका तथा युवाहरुमाझ पु¥याउने बताउनुभयो ।
कार्यक्रममा बालसाहित्य प्रष्ठिान नेपालका सहसचिव कविता पराजुली, सदस्य गोकर्ण तिमिल्सिना, प्रतिष्ठानका भक्तपुर संयोजक रश्मी खागी तथा नेत्रहीन युवा संघ नेपालका निर्देशक विश्व श्रेष्ठ, सचिव दुर्गा आचार्यले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
प्रदान गरिएका ब्रेलबुकहरुको सूची यस प्रकार रहेको छ :
१. मुक्तक मोह (मुक्तक सङ्ग्रह) – लेखक रामकाजी कोने
२. हाँस्ने सुगा र अरु बालकथाहरु – लेखक मनोरमा जफा, नेपाली अनुवाद कार्तिकेय
३. पिङ्की र पुतलीहरु र अरु बालकथाहरु – लेखक जलेश्वरी श्रेष्ठ
४. को ठूलो ? – लेखक गङ्गा कर्माचार्य पौडेल
५. नेपाली बालकथा – २० लेखकका नेपाली बालकथाहरु
६. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथाहरु – लेखक कार्तिकेय
७. म चोर होइन र अरु बालकथाहरु – लेखक कार्तिकेय
८. वाहा ! दुनोट पसलेकी छोरी र अरु बालकथाहरु – लेखक कार्तिकेय
९. पिङ्की एण्ड बटरफ्लाइज (बालकथाहरु) – लेखक जलेश्वरी श्रेष्ठ, अङ्ग्रेजी अनुवाद महेश पौड्याल ।


No comments:

Post a Comment