Saturday, July 27, 2019

कार्तिकेय ट्रस्टका संस्थापक श्री कार्तिकेयले वि.सं. २०७५ को कार्तिकेय बालप्रतिभा छनोट भ्रमणका क्रममा विभिन्न विद्यालयमा व्यक्त गर्नुभएको मन्तव्यको सार

कार्तिकेय ट्रस्टका संस्थापक श्री कार्तिकेयले वि.सं. २०७५ को कार्तिकेय बालप्रतिभा छनोट भ्रमणका क्रममा विभिन्न विद्यालयमा व्यक्त गर्नुभएको मन्तव्यको सार यहाँ प्रस्तुत गरिएको छ :
 नमस्कार मित्रहरु,
अभिभावक, विद्यार्थी र शिक्षक मित्रहरुमा हार्दिक नमन !
सुरुमा तपाईं अभिभावकसँग मलाई केही भन्न मन लागेको छ,
तपाईं औषधी किन्न जानुहुन्छ, डाक्टरको कागज बोकेर जानुहुन्छ, डाक्टरसँग पनि औषधीबारे प्रश्न पनि गर्नुहुन्छ तैपनि औषधीको एक्सपायर डेट हेर्नुहुन्छ अनि मात्र औषधी किन्नुहुन्छ ।
अनि तरकारी र फलफूल किन्न जाँदा पनि कुहिएको, नकुहिएको छानेर ताजा हेरेर किन्नुहुन्छ । बिग्रेको तरकारी, कुहिएको तरकारी अलिअलि सस्तो पाए भनेर ५० प्रतिशत छुटमा घरमा ल्याएर कहिले छोराछोरीलाई खुवाउने धृष्टता गर्नुभएको छ ?
छैन भने,
आफ्ना बालबालिकाका लागि बालपुस्तक किन्दा तपाईं किन सचेत भइरहनुभएको छैन ? पुस्तक छनोटमा तपाईंले किन महत्वका साथ लिइरहनुभएको छैन ?
तपाईंलाई लाग्ला औषधीले त तुरुन्तै असर गरेर हानी गर्ला कि !
बिग्रिएको फलफूल र तरकारीले पखाला होला कि ! तर, एउटा खराब किताबले के पो गर्ला र ? होईन, यति हलुकासँग नहेर्नुस्, एउटा खराब किताबले माथिका वस्तुहरुभन्दा अझ ठूलो असर   गर्छ ।
कसरी ?
तपाईंहरुको चेहरामा मैले यही प्रश्न देखिरहेको छु,
वास्तवमा तपाईंले बालपुस्तक छनोट गरेर पढाउँदै गर्नुभएको बालक सिकाइको पहिलो चरणको माटो हो । कुमालेले तयार गरेको माटोजस्तै । त्यस कलिलो मस्तिष्कमा खराब किताबले ईष्र्या, घृणा, असमानता, अरुलाई होच्याउनु र ठग्नु अनि झुक्याउनु महानता हो भन्ने जस्ता विचारहरु थोपर्न सक्छन् । ती थोपरीएका विचारहरुले ती बालबालिकाको बानी निर्माण हुनेछ, जसले गर्दा एउटा सभ्य र सहिष्णु समाज निर्माणमा ती किताबले भ्रष्ट भूमिका निर्वाह गर्नेछन् । यति मात्र होइन, तपाईंले छनोट गर्नुभएको किताबमा भाषाको स्तर राम्रो र शुद्ध हुनु जरुरी छ । भाषाको सिकाइको चरणमा नै बालबालिकाले भाषाको गलत प्रयोग सिके भने त्यो जीवनभरि नै सच्चिन कठिन हुन्छ । अनि भाषाको सवालमा अर्को महत्वपूर्ण कुरा पनि छ, यदि कुनै किताबमा उमेर सुहाँउदो भाषा छैन भने त्यसले बालबालिकालाई किताबप्रति वितृष्णा जगाउँछ र उनीहरुमा  पठनसंस्कार विकास गर्ने कुरामा बाधा उत्पन्न हुन पुग्दछ ।
त्यसैले मेरो नम्र निवेदन छ, तपाईं आफ्ना बालबालिकाको पहुँचमा पुगेका किताब किन्नुअघि त्यो किताबबारे केही कुरा बुझेर किन्ने गर्नुहोस् र घरमा विभिन्न माध्यमबाट पुगेका किताबको पनि समीक्षा गरेर मात्र बालबालिकालाई दिनुहोस् । विद्यालयले चित्तनबुझ्ने किताब छनोट गरेको छ भनेपनि प्रश्न गर्नुहोस् ।
किताबको मूल्याङ्कन आफैँ गर्न सक्नुहुन्न भने पनि औषधीको लागि डाक्टरको सल्लाह लिएको जस्तै शिक्षक र अन्य शिक्षित विज्ञहरुको सल्लाह लिनुहोस्, अनि मात्र आफ्ना बालबालिकालाई ती किताब किनेर पढ्न दिनुहोस् ।
तपाईंलाई भन्दा दुःख लाग्छ, मलाई हीनताबोध पनि महसुस भइरहेको छ, वास्तवमा म आफैं अध्यक्ष रहेको बालसाहित्य प्रतिष्ठान नेपाल, अग्रज डा. शैलेन्दुप्रकाश नेपाल अध्यक्ष रहनुभएको नेपाल बालसाहित्य समाज, अग्रज श्री विनय कसजू अध्यक्ष रहनुभएको बालवाङ्मय तथा अनुसन्धान केन्द्र, नेपाल प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य विभाग, जसलाई अहिले अग्रज डा. देवी नेपालले नेतृत्व गरिरहनुभएको छ र विभिन्न विश्वविद्यालयका भाषा र साहित्य पढाउने अग्रज प्रोफेसरहरु, विज्ञहरु आदि आदिको एउटा समूह बनाएर त्यो समूहले वर्षका पठनयोग्य बालपुस्तक, नेपाली बालसाहित्यका १०० पठनयोग्य उत्कृष्ट कृतिहरु भनेर सूची सार्वजनिक गरेर तपाईंहरुलाई सहयोग गर्न सक्नुपर्ने हो । तर, हामीले यो सकिरहेका छैनौँ, यसका लागि हामीले आगामी दिनमा अझ बढी प्रयास गर्दै गएर यो काम पूरा गरेरै छाड्नुपर्छ भन्ने मलाई लाग्दछ । तथापि आजको समयमा किताबको छनोटमा तपाईंको विवेकले भ्याएसम्म सचेत भएर छनोट गर्ने कोसिस गर्नुहोस् भन्ने मेरो हार्दिक आग्रह रहेको    छ । 
हो, अहिले हाम्रो देशमा तरकारीमा विषादीको प्रयोगले कोकोहोलो छ, कुरा त गम्भीर हो तर विश्वभरिका टिभी र इन्टरनेट च्यानलहरु इन्टरनेटबाट खुल्ला गरिदिएर जसरी आज यी माध्यमले बालबालिका र किशोर मष्तिष्कमा विषादी घुलिरहेको छ, त्यसको कसैले लेखाजोखा गरेको छैन । यसलाई रोक्न सकिन्न भन्ने एकथरी मत पनि सुनिन्छ । अर्को थरी मत सरकार नै नलागी नागरिकले यसमा केही गर्न सक्दैनन् भन्ने पनि छ । आज जसरी बच्चा अलमलिएकै छ, फुर्सद पाइएकै छ भनेर तपाईं अभिभावकले बच्चालाई मोबाइल, टिभी र आइप्याड खेलौना दिइरहनुभएको छ । त्यो गलत हो, सरासर गलत हो । आज जसरी अन्य मुलुकमा खान योग्य छैन भनेर भनिएका तरकारी र फलफूल सन् २०१३ देखि नै बिक्री भएर सन् २०१९ सम्म निर्वाध बिक्री भएर बल्ल आवाज उठ्यो । त्यसरी नै विश्व बजारमा हेर्न योग्य छैन भनी सांस्कृतिक अतिक्रमणको लक्ष्यसहित तयार गरिएका बाल र किशोर लक्षित कार्टुन लगायत नयाँ माध्यमका मुभीहरु निर्वाध रुपमा हाम्रा बाल तथा किशोरको खाना खाने बहानाको साथी बनी प्रयोग भइरहेको छ र हामी आफैँ प्रयोग गर्न उक्साइरहेका छौँ । आफ्नो फुर्सदका लागि हामीले हाम्रा बालबालिकाको वर्तमानप्रति खेलवाड गरिरहेका छौँ, अक्षम्य अपराध गरिरहेका छौँ, यसको परिणाम हामी अभिभावकले आँसु बगाएर चुकाउनु नै पर्नेछ एक दिन । तसर्थ यसमा सचेत बनौँ भन्ने मेरो आग्रह रहेको छ ।
मैले यसो भनिरहँदा मलाई धेरै मित्रहरुले यसको समाधान के हो त ? यसमा सरकार दोषी छ, हाम्रो पुरै सिस्टम नै दोषी छ भनेर रिस पोख्ने पनि गर्नुभएको छ । हो, ती मित्रहरुको रिस आफ्नो ठाउँमा ठीक पनि छ तर आफ्नै प्रयासले पनि यसलाई कम गर्न किन प्रयास नगर्ने ? भनेर हामीले गरेर सफल भएका केही व्यवहारिक प्रयोगबारे म तपाईसँग केही विमर्श गर्न चाहन्छु ।
१. वातावरण परिवर्तन गर्नुहोस् : अब तपाईंको घर, विद्यालयको होस्टेल र बालगृहको वातावरण परिवर्तन गर्न पहल सुरु गर्नुहोस् ।
बालक पत्रिकामा सम्पादक भएको समयमा साथै विभिन्न पत्रिकामा कार्यरत रहेका ती दिनहरुमा र आज केटाकेटी अनलाइन डटकम डिजिटल बालपत्रिकामा सम्पादकका रुपमा कार्यरत रहिरहेको अवस्थामा मैले थुप्रै विद्यालयका प्रमुख साथीहरु, होस्टेलका प्रमुख र अभिभावकज्यूहरुलाई अन्तर्वार्ताका लागि भेटेको छु । उहाँहरु गौरवका साथ आफ्ना आश्रित बालबालिकाको खानाको मेन्यु प्रस्तुत गर्नुहुन्छ, हप्ताको दुई दिन मासु खुवाइरहेको कुरा र शाकाहारीका लागि पोषणयुक्त अन्य खानाको व्यवस्थापनको कुरा पनि गर्वका साथ सुनाउनुहुन्छ । जब म प्रश्न गर्छु अनि पुस्तक अध्ययन र अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था नि ? यसमा उहाँहरुको उत्तर दिने उत्साह स्वात्तै घटेर सयबाट दशमा आउँछ, हो मलाई यहीनेर दुःख लाग्छ, यसलाई सुधार्न कराउँदै गुनासो गर्दै हिँड्ने गरेको छु । केही परम मित्रहरुले यो पक्षमा राम्रो सुधार गर्नुभएको छ । त्यहाँ व्यावहारिक परिवर्तन परिणाममा देखिएको छ । त्यो कसरी सम्भव भइरहेको छ ? आउनुस् एकछिन यसमा मन्थन गरौँ ।
टिभी नहेर, मोबाइल नहेर, आइप्याड नहेर भनेर मात्र हुँदैन, तपाईंले त्यसको विकलप पनि त दिन सक्नुपर्यो नि !
हो, महत्वपूर्ण कुरा यही हो यसमा नै सबै कुराको विकल्प रहेको छ । जसका लागि तपाईंले बच्चाको लागि एउटा रुटिन बनाइदिनुहोस् । याद  गर्नुहोस् यो कक्षा कोठा भित्रको रुटिन होइन, एउटा बच्चाको घरको रुटिन, बालगृहको रुटिन र होस्टेलको रुटिन हो । जसमा पुस्तक अध्ययन गर्ने दुईवटा खण्ड हुनेछन् १. पाठ्यपुस्तक दोहोर्याएर पढ्ने र होमवर्क गर्ने र २. अतिरिक्त पाठ्यपुस्तकहरु पढ्ने, जस्तै ः बालकथा, कविता र पत्रपत्रिका आदि आदि पढ्ने र साहित्य रचना गर्ने अर्थात् केही लेख्ने । अनि यो सँगै गाँसिएर खेलकुदका लागि समय र टिभीका लागि समय पनि व्यवस्थापन  गर्ने ।
यसरी समय व्यवस्थापन भएपछि घरको बालकको लागि उसको उमेर अनुसारको पुस्तकहरु भएको पुस्तकालय र होस्टेल तथा बालगृहका लागि पनि सोही अनुसारको पुस्तकालय तथा अतिरिक्त क्रियाकलाप र साप्ताहिक घुमफिरको लागि उचित समय तालिका तयार गरिदिने र अडियो भिजुअलको लागि र खेलकुदको लागि पनि स्थान व्यवस्थापन  गरिदिने ।
यसरी समय बाँडिदै गएपछि बालबालिका र किशोरले मोबाइल र आइप्याड र टिभीमा नै आश्रित भइरहनु पर्ने समय स्वतः घट्दै जानेछ र उनीहरुको बानी क्रमशः बदलिँदै जानेछ, जसले कालान्तरमा उसको व्यक्तित्व विकासमा ठूलो सकारात्मक महत्व राख्नेछ भन्ने कुरालाई हामीले मनन गरी यो कुरा लागू गर्न आजैबाट प्रतिबद्ध होऔँ भनी निवेदन गर्दछु । खानेकुराको सवाल पनि यस्तै हो, यदि कुनै विद्यालय, बालगृह वा घरमा फास्टफुड भित्रिन नदिने प्रतिबध्ता गरी मेनु निर्माण गरियो भने यो कार्य गर्न सम्भव छ, गर्न सकिन्छ, हाम्रा साथीहरुले सफल भएर देखाइसक्नुभएको छ ।
तपाईं र मजस्तै अभिभावक मित्रहरुले जसरी पुस्तक छनोटमा सचेत हुनुपर्छ त्यसरी नै आफ्ना छोराछोरीले हेर्ने टिभी तथा युट्यब इन्टरनेटको छनोटमा पनि सचेत हुनैपर्छ । हामीले जतिसक्यो बढी प्रयास गरी आफ्ना बालबालिकालाई सुमधुर र सौहार्द बालापन जिउनका लागि वातावरण तयार गरिदिने हो । उनीहरुको थरीथरी कल्पनामा रमाउने र कल्पनाको उडान भर्ने बालापन युट्युब कम गरेर दिन सक्छौँ । केही बुज्रुक अभिभावकहरुलाई लाग्ला नयाँ प्रविधिसँग चाँडै साक्षात्कार नगराए हाम्रा बालबालिका पछाडि पर्ने पो हुन् । आफ्ना नानीहरुका लागि त्यसरी गहन रुपमा सोच्ने ती प्यारा अभिभावकको सोचलाई सलाम । तर, जसजसले यो मोबाइल बनाए जो यसको मुख्य व्यापारी छन्, तिनीहरुले नै आफ्ना साना नानीहरुलाई यसबाट टाढा राख्ने नियम कडाइका साथ कार्यान्वयन गरिरहेको आजको अवस्था हो । उनीहरुले किन यसो गरिरहेका छन् ? एकपटक हामी पनि गम्भीर भएर सोचौं अनि लहैलहैमा उनीहरुका धेरै कुराहरु कपी गरिरहेका त छँदैछौँ, एकपटक यसलाई पनि कपी गरेर लागू गरी हेरौं न त !
आदरणीय तपाईं अभिभावकले व्यस्तताको छालमा लपेटिएर प्रश्न गर्न छाड्नुभएको छ आजकल । प्रश्न गर्नुस्, आवाज उठाउनुस् । हाम्रो बच्चा पढ्ने विद्यालय समय घटाउँदै घटाउँदै लगेर नेपाली भाषा मार्न उद्यत छ । त्यही विद्यालय हामीलाई संमृद्धिको लालीपप चुसाएर चाइनिज भाषाको छुट्टै कक्षा नै पढाइरहेको छ, किन ?
आफ्नै नेपाली भाषा शिक्षणमा किन उसले जागर देखाइरहेको छैन ? किन हाम्रा विद्यार्थीहरुकको मातृभाषामा शिक्षणलाई बेवास्ता गरी अंग्रेजीलाई अत्याधिक प्राथमिकता दिइँदैछ ?
हामीले प्रश्न गर्ने पक्ष यो पनि हो । तर हामी अरुको भाषामा रमाउँदै गरेको बालक, अरुको फास्टफुडमा अभ्यस्त हुँदै गरेको बालकलाई हेरेर गर्व गरिरहेका छौँ । उसलाई नेपालीजस्तो बनाउन चाहिरहेका नि छैनौँ, यसमा दोष कसको हो ? आफैँले आफैँलाई प्रश्न गर्नुहोस् ।
 चाइना भ्रमण गर्न जान पाउने लालसामा हाम्रा विद्यालयहरुले चाइनिज भाषा लादिरहेका छन् । आफ्नो भाषा मारेर संमृद्धि मिल्छ, बच्चाले भविष्यमा सुख पाउछ भनेर हामी अभिभावकले आफ्नो बच्चाभित्र सिक्ने चरणमै मर्दै गरेको नेपाली भाषा सिप हेरेर ताली बजाइरहेका छौँ, अंग्रेजी भाषाका लागि ।
अरुको भाषा जानेर मात्र मुलुक समृद्ध हुने हो भने जापानिज र चाइनिजहरु किन अंग्रेजी भाषामा पोख्त हुन त्यति रहर गर्दैनन्, तर आफ्नो भाषाप्रति गर्व गरेर नै विश्व अर्थतन्त्रमा अगाडि  छन् ? त्यसैले जब हामीले बच्चालाई हाम्रो भाषा केही होइन, हाम्रो देश केही होइन भन्दैभन्दै अभ्यस्त पार्दै जान्छौँ, त्यसको असर उसको आत्मविश्वासमा पनि पर्छ, उसले अरुलाई भन्दा आफूलाई होचो र निचो देख्छ । उसको आत्मविश्वास डगमगाउँछ । त्यसैले हामी पनि आफ्नो देशका असंख्य कुराहरुलाई छोपेर आफ्ना बालबालिकालाई देशको बारेमा नकारात्मक कुरा मात्र नसुनाऔँ । जतिसक्यो बढी उनीहरुमा सकारात्मक सोचको विकास गरौँ, असल अभिभावकको कर्तव्य निर्वाह गरौँ ।
अब तपाईं विद्यार्थी मित्रहरुलाई पनि मलाई केही कुरा भन्न मन लागेको छ :
अहिले तपाईंहरु अरुको नक्कल गरेर र घोकेर सुनाएर ताली पाउनमा अभ्यस्त हुँदै जानुभएको देखेर मलाई दुःख लाग्छ ।
तपाईं आफैँले आफैँलाई विश्वास गर्नुस् । तपाईं सबैभन्दा अलग हुनुहुन्छ, सबैभन्दा फरक हुनुहुन्छ । तपाईं हरेक बालबालिकामा भिन्नभिन्न विशेष क्षमताको प्रतिभा निहित रहेको छ । त्यो प्रतिभाले मौलाउने फस्टाउने मौका खोजिरहेको छ, त्यसलाई परिश्रम र अभ्यासको बलले मौलाउने मौका दिनुहोस् ।
त्यसपछि तपाईंको प्रतिभाले आफ्नै शैली, आफ्नै क्षमताको विकास गर्छ फलस्वरुप तपाईंको एउटा अलग्गै परिचय बन्छ ।
हो, मेरो गुनासो यही कुरामा हो, तपाईं जस्तो यस्तो आफ्नै शैली र क्षमता विकास गर्न सक्ने बालप्रतिभाले किन घोकेर पढ्ने ? किन अरुको नक्कल गरेर अरुजस्तै बन्न खोज्ने ? तपाईं आफू आफूजस्तै नै बन्नुस् । आफ्नो लागि आफैँ हिरो र हिराइन हुँ भन्ने आत्मविश्वास बोकेर अगाडि बढ्नुस् । आफूलाई एकदमै महत्व दिनुस्, आफ्नो मनोबल सधैँ उच्च राख्नुस् । तर, सधैँ याद गर्नुस्, तपाईंको जितमा मानवताले कहिल्यै हार्नुहुँदैन । मानवतालाई आफ्नो जितभन्दा माथि राख्नुस् । मानवतालाई मारेर, मानवतालाई हराएर हासिल भएको तपाईंको जितले कालान्तरमा तपाईंलाई आत्मग्लानी, पछुतो र छटपटी शिवाय खुसी र शान्ति दिन सक्ने छैन । त्यसैले सबै साथीभाइलाई सम्मान गर्नुस् । स्वस्थ प्रतिस्पर्धा गर्नुस् । प्रतिभाको प्रतिस्पर्धा गर्नुस् । अहंकार र छलकपटको होइन । सही प्रतिस्पर्धाले हाम्रो जीवनमा उर्जा मिल्छ । र, उर्जाले जीवन सौहार्द र शान्त हुन्छ । खेलमा हार र जितका दुई पटाहरु हुन्छन् । हारमा आत्तिने र जितमा मात्तिने नगर्नुस् । हारपछिको जित मीठो हुन्छ र जितपछिको हारले अझ बढी मिहिनेतको अपेक्षा राख्छ अनि त्यो हारपछिको जित रोमान्चक हुन्छ, अविष्मरणीय बन्छ । मलाई यति भन्नु छ, यदि तपाईं दौड प्रतियोगितामा हुनुहुन्छ र दौडने क्रममा एउटा साथी हर्टअट्याक भएर लड्यो भने जितलाई बिर्सिदिनुस् र कसरी हुन्छ त्यो साथीको प्राण रक्षाको लागि कटिबद्ध हुनुहोस् । अनि तपाईं असल मान्छे बन्नुहुनेछ । दृढ विश्वास गर्नुस्, असल मान्छे नै दीर्घकालीन रुपमा सफल र सर्वप्रीय मान्छे बन्नेछ । अरु भनेका पानीका फोकाजस्ता मात्र हुन् । क्षण भरमै चम्किएर बिलाउनेछन् ।
अब प्रतिभा छनोटका लागि ठाउँठाउँमा कार्तिकेय ट्रस्ट किन पुगिरहेको छ ? भन्ने प्रश्नको जवाफ दिने प्रयास गर्दछु ।
वास्तवमा म धेरैभन्दा धेरै बालबालिका र किशोर मित्रहरुसँग संवाद गर्न चाहन्छु । उहाँहरुलाई आफ्ना केही कुरा भन्न चाहन्छु र उहाँहरुका केही कुरा सुन्न चाहन्छु । यो त्यही उद्देश्यबाट प्रेरित एउटा शृङ्खला मात्र हो । हामी विगत २२ वर्षदेखि यसरी नै यो सानो सत्प्रयासमा निरन्तर लागिरहेका छौँ ।
कस्तो प्रतिभा छनोट हुन्छन् त ?
यो प्रश्न यस यात्रामा सबैभन्दा बढी सोधिने प्रश्न हो । साँच्चै भन्नुपर्दा प्रतिभा छनोट गर्ने काम अत्यन्त कठिन काम हो । एउटा विद्यालय, बालगृह वा आश्रम वा अन्य यस्तै बालसंरक्षण केन्द्रहरुमा पुग्दा फरफरक विधाका उत्कृष्ट भनेर २०÷२५ जना विद्यार्थीहरुसँग छलफल गर्ने मौका प्राप्त हुन्छ । म पनि यो अवसरका लागि उहाँहरुप्रति कृतज्ञ हुन्छु, कथा सुनाउँछु र लामो गफगाफ कुराकानी गर्ने गर्छु । बालबालिकाको कुरा पनि मज्जाले सुन्छु । तर हरेक ठाउँमा पुग्दा हामी आयोजकका पनि केही बाध्यता हुन्छन् । हामी सबैलाई पुरस्कृत गर्न सक्दैनौँ । तर सधैँ मेरो मनको प्राथमिकतामा त्यस्ता बालबालिकाहरु पर्छन्, जसले जीवनका प्रतिकूलताहरुसँग लाप्पा खेल्दै जीवनलाई सुनौलो भविष्यतर्फ, उज्यालोतिर अग्रसर गराइरहेका हुन्छन् । हो, म मान्दछु, कतिपय अवस्थामा कहिलेकाही प्रतिकूलताबीच हुर्किएका बालबालिकाभन्दा सहज पारिवारिक अवस्थामा हाँसीखुसी हुर्किएका बालबालिकाहरु अझ बढी प्रतिभावान् हुन् कि जस्तो पनि लाग्छ । त्यो स्वाभाविक पनि हो, स्याहार पुगेको बिरुवा राम्ररी सप्रनु स्वाभाविक पनि हो । ती सधैँ उम्दा छन् र रहिरहने छन् । उनीहरुका लागि जीवनका अनेकौँ सफलताका ढोकाहरु खुल्दैखुल्दै जनेछन्, यो मेरो विश्वास हो र शुभाशीष पनि ।
तर प्रतिकूलतालाई जितेर आएकाहरुको चमकमा पनि कुनै कमी हुँदैन । उनीहरु पनि अब्बल छन्, हुन्छन् । यो कार्तिकेय ट्रस्टको विश्वास हो । हामी जीवनका फरकफरक मोडहरुमा संघर्ष गर्दै वर्तमानलाई टल्काउँदै सुमधुर भविष्यतर्फ अग्रसर संघर्षशील बालप्रतिभाहरुका लागि हो । हाम्रो छनोटमा विगत दुई दशकदेखि उनीहरु पहिलो प्राथमिकतामा पर्दै आएका छन् । र, परिरहने छन् । अनि सहज पारिवारिक वातावरणमा हुर्किएर विलक्षण क्षमता प्रस्तुत गर्न सफल बालप्रतिभाहरुलाई पनि हामीले पुरस्कृत गर्दै आएको सत्य सबै सामु छर्लङ्ग नै छ ।
र, अन्त्यमा विद्यालयहरुलाई पनि मलाई केही भन्नु छ,

आदरणीय प्रिन्सिपलज्यू,
कृपया बच्चालाई घोकाएर, रट्न लगाएर ५ पेज लेखाएर विद्यालयका एउटा मेडल र शिल्ड भित्रिएकोमा गर्व नगर्नुस् । बरु एक पेज नै किन नहोस्, बच्चाले आफैँ लेखेर ऊ आफैँ गौरवान्वित हुने मौका दिनुहोस् । विद्यार्थीलाई घोक्ने मञ्च र घोकाउने शिक्षक होइन । विचार आदान प्रदान गर्ने, आफ्ना कुरा निर्धक्क भन्न पाउने साप्ताहिक सृजना वाचन मञ्चको संयोजन गरिदिन सक्ने शिक्षक दिनुस् । त्यो मञ्चले नै भाषालाई निखार्दछ । आज मञ्च पाएको त्यो बालबालिकाले ५ पेजको मात्र के कुरा गर्नुहुन्छ, ठूलो समूहमा एक घन्टा भाषण गर्न सक्ने सामथ्र्य आफूभित्र विकसित गर्न सक्नेछ । २० पेज लेख्न सक्ने क्षमता आफूभित्र विकसित गर्न सक्नेछ ।
तपाईं प्रिन्सिपलज्यूहरुसँग मेरो अर्को पनि गुनासो छ, तपाईंहरु सधैँ जान्नेलाई मात्र अगाडि सार्नुहुन्छ । नजान्ने झन् झन् नजान्ने बन्दै गएर आत्मग्लानीले सिद्धिएको, आत्मविश्वास गुमाएको खबर नै राख्नुहुन्न । यो गलत हो प्रिन्सिपलज्यू । ब्याक बेन्चरलाई पनि अगाडि ल्याउनुस्, जान्ने र नजान्नेको जोडी बनाइदिएर उनीहरुलाई सँगसँगै दाउनुहोस् , जोत्नुहोस् र सँगसँगै रोपाइँ पनि गर्नुहोस् । विश्वास गर्नुस्, नजान्नेले रोपेको धान पहिलो वर्ष अलिकति होचो होला, अलिकति थोरै फल्ला तर त्यसमा धान पक्कै फल्छ । अर्को वर्षमा त झन् सप्रेको बोट भएर नै धान फल्नेछ । कुरा आत्मविश्वासको हो, तपाईं उसको आत्मविश्वासलाई डगमगिन नदिनुहोस् । सफलता तपाईं हामीजस्तो छैन, ऊ निष्पक्ष र तटस्थ रहन्छ सधैँ, तसर्थ उसले नजान्नेको ट्याग लागेकोलाई पनि एकदिन मज्जाले सफलताको स्वाद चाख्ने मौका दिनेछ, अवश्य दिनेछ । तर, तपाईंले उसलाई सिक्नका लागि सधैँ प्राथमिकतामा राखिदिनुहोस् ।
भन्ने कुरा धेरै छन्, यहाँ सबै भनेर सम्भव पनि छैन । तर अन्त्यमा मेरो यति भन्नु छ,
प्रिन्सिपलज्यूहरु,
आफ्ना विद्यार्थीहरुलाई हरेक दिन एक घन्टा पुस्तकालयमा बिताउने मौका दिनुहोस् । किताबहरु भरिभराउ भएको एउटा पढ्न सहज भएको पुस्तकालय नभएको विद्यालय पनि के विद्यालय ? त्यो त जनावर बस्ने खोर मात्र हो । तसर्थ मैले सधैँ भन्ने गरेको छु, जुन विद्यालयमा पुस्तकालय छैन, त्यहाँ मलाई कथा भन्न नबोलउनुहोस् । किनकि त्यहाँ तीतो कुरा गरेर झुकेको तपाईंको शिर हेर्दा म आफैँलाई लज्जा महसुस हुन्छ । त्यसै म त्यस्तो विद्यालयमा आफैँ जान्नँ ।
 र, अन्त्यमा कार्तिकेय ट्रस्ट बालबालिका माझमा पठन संस्कृतिको विकासका लागि स्थापित भएको हो । यस ट्रस्टले दुई दशक लामो यात्रामा अगाडि बढिरहेको छ । ट्रस्टले यति लामो समयसम्म काम गर्न सक्नुमा यस ट्रस्टका संस्थापक अध्यक्ष वरिष्ठ शिक्षासेवी श्री मोहन कार्की सरको ठूलो योगदान रहेको छ । उहाँप्रति हामी कृतज्ञ छौँ । त्यस्तै ट्रस्टका सचिव श्री महेश पौड्याल (आख्यानकार, समीक्षक तथा त्रिविविका अंग्रेजी विषयका शिक्षक) को सहयोगप्रति पनि आभारी रहेका छौँ । साथै कार्तिकेय लिखित बालकृतिहरु किनेर सहयोग गर्नुहुने पाठक, विद्यालय र पुस्तकालय परिवारप्रति पनि आभारी छौँ ।

हस् त धन्यवाद् ।
तपाईंले मेरो मनको कुरा सुनिदिनु भयो, सबैप्रति हार्दिक आभार ।
जय बालबालिका ।
जय बालसाहित्य ।।
 (यस कार्यक्रमको रिपोर्टर मनीषलाई हार्दिक धन्यवाद छ ।)

No comments:

Post a Comment