Tuesday, September 10, 2019

कार्तिकेय बालप्रतिभा पुरस्कार तथा बालसाहित्य लेखक सम्मान समर्पण

काठमाडौँ, भदौ २४/ कार्तिकेय ट्रष्टका संस्थापक अध्यक्ष तथा संरक्षक मोहन कार्कीको सभापतित्वमा गत भाद्र २२ गते आइतबार सम्पन्न समारोहमा कार्तिकेय बालप्रतिभा पुरस्कार बालवैज्ञानिक निश्चल पौडेललाई प्रदान गरियो । निश्चल नवजीवन मावि, जुटपानी सर्लाहीमा कक्षा १० मा अध्ययनरत हरिवन नगरपालिका ४, सासापुर, सर्लाहीका विलक्षण बालप्रतिभा हुन् । आफूलाई सानैदेखि विज्ञानमा   रुचि रहेको बताउने निश्चलले कवाडीमा फालिएका सरसामानहरु जुटाएर पाँचवटा ड्रोन, ब्याट्रीबाट चल्ने साइकल र मौसमको अवस्थाबारे जानकारी दिने उपकरण लगायत वैज्ञानिक उपकरणहरु बनाएर सबैको स्याबासी पाएका छन् ।
निश्चल गाउँमा रहेको कवाडी (थोत्रा सामान किनेर बेच्ने ठाउँ) मा रहेका विभिन्न पाटपुर्जा जम्मा पारेर आफूले बनाएको ब्याट्रीबाट चल्ने साइकल चढेर नै विद्यालय जाने गरेका छन् । उनलाई १० हजार नगद सहित ट्रष्टले पुरस्कृत गरेको थियो ।
निश्चल भन्छन्, “नास्टका प्राज्ञ ऋषि साहले मलाई सिर्जनात्मक कार्यमा सहयोग गरिरहनु भएको  छ । यस वर्ष कार्तिकेय बालप्रतिभा पुरस्कारले ममा झन् बढी हौसला थपेको छ ।”
कार्तिकेय ट्रष्टको २१ औं वार्षिक कार्यक्रममा यस वर्ष कार्तिकेय बालप्रतिभा पुरस्कारबाट क्रमशः गायन विधामा लेबरोटरी स्कूलमा कक्षा ७ मा अध्ययनरत दृष्टिविहीन बालगायक प्रोसेस पाण्डे, लेखन विधामा न्यूटन माविमा कक्षा १० मा अध्ययनरत पुष्पा लोहनी र चित्रकला विधामा एसओएस बालग्राम काभ्रेमा कक्षा १० अध्ययनरत बालक विजय सिंह वाइवा पुरस्कृत भएका थिए । यी ३ बालप्रतिभाहरुलाई जनही नगद ५ हजार प्रदान गरिएको थियो ।

यसैगरी ट्रष्टले समर्पण गर्दै आएको चन्द्रनाथ वरिष्ठ बालसाहित्य लेखक सम्मानबाट वरिष्ठ बालसाहित्य लेखक विजय चालिसे, दुर्गादेवी वरिष्ठ बालसाहित्य अनुसन्धाता सम्मान वरिष्ठ बालसाहित्य अनुसन्धाता प्रमोद प्रधान र सहृदयी लेखक सम्मानबाट बालसाहित्य लेखक कविता पराजुली सम्मानित हुनुभएको थियो । सम्मानित लेखकहरुलाई जनही ५ हजार नगद पनि प्रदान गरिएको थियो । साथै उक्त समारोहमा चन्द्रनाथ वर्षका उत्कृष्ट लोककथाकार पुरस्कारबाट वरिष्ठ लोककथाकार रेवती राजभण्डारी पुरस्कृत हुनुभएको थियो । उहाँलाई पनि नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो । तिन जना लेखकलाई प्रदान गरिएका यी पुरस्कार र सम्मानहरु कार्तिकयका पिताजी चन्द्रनाथ घिमिरेको ८५ औं जन्मोत्सवका अवसरमा र माताजी दुर्गादेवी घिमिरेको स्मृतिमा स्थापना गरिएका हुन् । पुरस्कृत बालप्रतिभाहरु, पुरस्कृत लेखक र सम्मानित लेखकज्यूहरुलाई समारोहका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले माला लगाएर सम्मान पत्र र नगद समर्पण गर्नुभएको थियो ।
ड्रोन उडाएर कार्यक्रमको उद्घाटन गरिएको उक्त समारोहमा पुरस्कृत बालप्रतिभा र सम्मानित बालसाहित्य लेखकहरुबारे वरिष्ठ बालसाहित्य लेखक रञ्जुश्री पराजुलीले प्रकाश पार्नुभएको थियो भने कार्तिकेय ट्रष्टबारे युवा प्रतिभा सरिता अधिकारीले बोल्नुभएको थियो । समारोहमा आयोजित बालसाहित्य रचना वाचन कार्यक्रममा वरिष्ठ बालसाहित्य लेखकहरु जलेश्वरी श्रेष्ठ, गंगा कमाचार्य पौडेल, सुशीला देउजा, ललिता 'दोषी', कविता पराजुली, विजय कट्टेल 'छहरा', देबु लुइँटेल, उर्मिला पन्त पाण्डेय लगायत र बालप्रतिभाहरु शिक्षा भट्टराई, सिजा मगर, सलुजा तामाङ, अनुसा घिमिरे, पुष्पा लोहनी, सौरभ पौडेल लगायतले भाग लिनुभएको थियो ।
समारोहमा ब्राइट फ्युचर स्कूलका प्रिन्सिपल दयाराम थापा, एसओएस बालग्राम काभ्रेका प्राचार्य नरेश्वर आचार्य, वरिष्ठ बालसाहित्य लेखक तेजप्रकाश श्रेष्ठ, चर्चित आख्यानकार महेश पौड्याल, डा. ऋषि शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment