Monday, October 26, 2009

बालसाहित्यकार कपिल लामिछानेको बाल्यकाल

कपिल लामिछाने कवि, कथाकार, समालोचक र बालसाहित्यका लेखक हुन् । लामिछानेका अक्षर, कालेकुकुर, भाँडाकुटी, सुनकथा, म्याउँम्याउँ बिरालो, राँकेभूत, रमाइला गाउँखाने कथा, नाङ्लाजत्रो फूल, रमाइला केही कथा, दसैं, पिङ र हात्ती, ठूलो मान्छे, मुसाको बस्ती आदि एक दर्जनभन्दा बढी बालसाहित्यका पुस्तकहरू प्रकाशित भइसकेका छन् । पच्चीस वर्षदेखि उनी शिक्षण र लेखनमा लागिरहेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने लामिछानेको नेपाली बालसाहित्यका क्षेत्रमा उल्लेखनीय र विशेष योगदान रहेको छ । उनी आफैंले बाआमाका सम्मानमा शुकदेव-सुकुमाया लामिछाने बालसाहित्य पुरस्कारको स्थापना पनि गरेका छन् । लामो समयदेखि भैरहवामा बसोबास गर्दै आएका लामिछाने पोखराको रमाइलो प्रकृतिको काखमा २०१५ असोज २४ गते जन्मिएका हुन् । यस अंकमा हामीले वरिष्ठ लेखक लामिछानेको बाल्यकालका केही संस्मरणहरू प्रस्तुत गरेका छौं ।

उत्तरपट्टी माछापुच्छ्रे हिमाल, दक्षिणपट्टी बेगनास ताल । दुवैका बीचमा छ, माझठाना गाउँ । कास्की जिल्लाको त्यही रमाइलो ठाउँमा २०१५ साल असोजमा मेरो जन्म भएको हो । शुकदेव र सुकुमाया मेरा बुवाआमा हुनुहुन्छ । वहाँहरू सारै मिहिनेती किसान हुनुहुन्थ्यो । दुइ छोरी (दिदी मधु र चन्द्रकला) पछि मेरो जन्म भएकाले घरमा हर्षबढाइँ मनाइएछ । सात गाउँ डाकेर भोजभतेर र नचरी लगाइएको थियो रे ! सामाजिक मूल्य र मान्यता नै त्यस्तै थियो । सबै छोराको खायस वा चाहना गर्थे । छोरो पाउँदा खुसी हुन्थे । बाआमा र दुइवटी दिदीको प्यारो भएर म बढ्दै थिएँ । मोटोघाटो थिएँ रे सानैदेखि । छ महिनाको बेलामा राति आमा सुतेको मौका छोपी रातो देखेर अँगेनाको आगो खान खोज्दा मेरो हातै पोलेछ ।
पाँचछ वर्षको भएपछि मेरो पढाइ सुरु भयो । घरमा फराकिलो आँगन थियो । आँगनका डिलमा बान्नो (ढुङ्गे पर्खाल) उठाइएको थियो । बान्नामाथि ठूला छपनी थिए । तिनै छपनीमा धूलो हालेर कहिले औंलाले कहिले छेस्काले लेखिन्थ्यो । मैले पनि त्यसरी नै कखग सिकें। बारखरी सिकें। दुना पढें । सिक्ने क्रममा बुवाले भनेझैं त्यही गतिमा सिक्न-बुझ्न सकिन्नथ्यो । एकदिन जानेन भनेर रिसले बुवाले लुगा भुत्ल्याएर सिस्नाको झ्याङमा फालिदिनुभयो । म डर, त्रास र सिस्नाको बिझाइले थर्कमान भएको थिएँ । दिदीहरूले त्यहाँबाट झिक्नुभयो र सम्झाई-सम्झाई सिकाउनु भयो । त्यसपछि ठूलो वर्णमाला भन्ने किताब पाएँ । त्यसमा केही स्तोत्र थिए, केही वैज्ञानिक आविष्कारका कुरा थिए, केही कथाकुथुङ्ग्री थिए, केही अङ्ग्रेजी शब्दका नेपाली अर्थ थिए, दुना थिए । मैले ती सबै कण्ठ पारें । एकदिन बुवाले स्कुलमा हाल्ने कुरा गर्नुभयो । एकडेढ घन्टा हिँडेर स्कुल जानुपर्थ्र्यो । किसानी काममा व्यस्त बुवाले एकदिन मेरा लागि समय निकाल्नु भयो । स्कुल जाँदै गर्दा मैले १५ सम्मका दुना सुनाएँ । ठूलो वर्णमालामा भएका सबै पाठ मुखाग्र थिए । सबै सुनाएँ । बुवा खुसी हुनुभयो । जनक प्राइमरी स्कुलमा पुगेर पनि मैले हेडगुरुलाई जानेका कुरा सुनाएँ । त्यसले गर्दा दुइ कक्षामा मेरो नाम लेखियो ।
स्कुलमा साथीहरूसित रमाउँदै पढ्थें । कक्षामा सबैभन्दा सानो थिएँ । अलिक कम बोल्थें। कसैको हराएको कुरा खुसुक्क झोलामा हाल्ने चलन थिएन । कसको के हरा' - भनेर कराउँथें । अनि हराउनेवाला उठेर मेरो भन्थ्यो । दिन्थें । एकदिन पढ्दै गर्दा पुस्तकको पाना च्यातियो । सरले हप्काउनुभयो र भोलिपल्ट आउँदा अलिकति भातको माड ल्याउन भन्नुभयो । ल्याएँ । त्यसले च्यातिएको पाना टाँस्सियो । गम भन्ने कुरा त्यतिखेर हामीलाई थाहै थिएन ।
दुइको परीक्षा सकियो । त्यतिबेला काका (कान्छाबा) आसामबाट घर आइपुग्नुभयो । म वहाँसित झयाम्मिएँ र पछि लागेर आसाम पुगें । पोखराबाट भैरवहासम्म हवाईजहाजमा उडें । त्यतिखेर बाटो बनेको थिएन । आसाममा काकाले बांगला स्कुलमा हालिदिनु भयो । त्यसमा मेरो दिल बसेन । पढ्न छाडेर म गाई-गोठालाको पछि लागेँ । जङ्गल-जङ्गल घुमें । मट्याङ्ग्रा खेलें । खाल्डे खेलें । गोठाला साथीका लहैलहैमा लागेर बाँदर र हात्तीका बथानलाई जिस्क्याएँ । बयर बटुलें । बयर कुट्दा हातै कुट्यो । ब्रह्मपुत्र भारतकै ठूलो नदी हो । गाईको पुच्छरमा समातेर ब्रह्मपुत्र पार हुन खोज्दा झन्डै मरेको थिएँ । साथीहरूले बचाएरमात्र बाँचें । त्यो घटना सम्झँदा अहिले पनि जीउ जिरिङ्ग हुन्छ ।
यसरी १४ महिनाजति आसाममा बिताएर घर फर्कें । स्कुले साथीहरू चारमा पुगेका थिए । म पनि चारमै भर्ना भएँ । साथीहरू लगातार पढ्दै आएका, म फड्केर आएको । तर चारको जाँच हुँदा म राम्रो अङ्क ल्याएर पास भएँ । पाँच कक्षामा दोस्रा भएर कलम र कापी पुरस्कार पाएँ । कति साथीहरू फेल भएर रुँदै घरतिर लागे । मैले अभावका बीच हुर्केर पनि राम्रो कामले गर्दा सबैको स्याबासी पाएँ ।
जनक प्रा.वि. अहिले पनि प्रा.वि. नै छ, तर त्यसले थुप्रै नागरिक जन्माएको छ । त्यसले आफू बढ्नुमा होइन, अरूलाई बढाउनुमा विश्वास गरेको छ । त्यसपछि म रत्नशोभा नि.मा.वि. (हाल उच्च मा.वि.) मा भर्ना भएँ । त्यहाँबाट ६ र ७ कक्षा उतीर्ण गरेपछि हाईस्कुलका लागि मैले झनै टाढा जानुपर्ने भयो । करिब ५ किलोमिटर हिंडेर जानु हिंडेर आउनु सानो बालकका लागि चानचुने कुरा थिएन । जनज्योति मा.वि. (कालिका गा.वि..) मा कक्षा आठमा म र डा.रामकृष्ण तिमल्सिना (हाल रजिस्ट्रार सर्वोच्च अदालत) फुच्चे केटा थियौं । पढाइमा भने तेज ।
घरमा छँदा बाआमालाई काममा सघाउँथें । कहिले बाख्रा चराउन जानु, कहिले भैंसी हेर्न जानु, कहिले कोदालो खन्नु, कहिले घाँसदाउरा काट्नु पढाइका अतिरिक्त नियमित कामजस्तै हुन्थ्यो । घरको आर्थिक अवस्था र स्कुल टाढा भएको कारणले मैले हाईस्कुलको पढाइ छाड्नुपर्यो । आठको जाँचै दिन पाइनँ । बुवाको इच्छा र चाँजोपाँजोमा म टीकाराम भण्डारी (हाल जनज्योति मा.वि.का शिक्षक) का साथ लागेर बनारस पुगें । दस हन्डर र सोर ठक्कर खाँदै त्यो परदेशमा आफैंले कमाएर पढ्नुपथ्र्यो । पढें । पूजा गरें । खाना पकाएँ । औषधि घोटें । केकेमात्र गरिनँ -
यसरी मेरो बाल्यकाल माछापुच्छ्रेको आँगनमा रमाउँदै, आसामको जङ्गल र बनारसका गल्लीमा भौंतारिंदै बित्यो । त्यहीं फेरि नउदाउने गरी बाल्यकाल अस्तायो । जीवनका सुरुका दिन सुखद भए पनि ती मेरा सम्झनामा छैनन् । मैले मेरो बाल्यकालका जति कुराहरू सम्झेको छु, ती सारै कष्टदायक मात्र छन् । सानैमा आफैंले कमाएर जीवन धान्दै पढ्नु कम कष्टको कुरो होइन । त्यस्तो कष्ट कुनै बालबालिकालाई नपरोस् । मेरो यही कामना र चाहना छ । एउटा कुरा भने हो, त्यसले मलाई खार्यो, जिम्मेवार बनायो र जीवनका पछिल्ला दिन केही सजिला हुनपुगे । बाल्यकालका कुरा संझिल्याउँदा मलाई अहिले पनि कहाली लाग्छ । त्यस्ता घटना मेरो लेखनका सामग्री पनि भएका छन् । केही प्रेरणादायी पनि भएका छन् ।
सुरुमा धुलौटोमा लेख्थें, यतिखेर कम्प्युटरमा लेख्दै छु । एउटै मान्छेको जीवनमा यत्रो परिवर्तन भएछ । त्यो मैले चालै पाइन । म त लागिरहें पढ्न र लेख्न । २०४४ देखि मैले बालकथा लेख्न थालेको हुँ । अहिले पनि लेख्दै छु । अहिलेसम्म बालसहित्यका एक दर्जन पुस्तक छापिसकेका छन् । केही छापिने तर्खरमा छन् । मलाई भाइबहिनीका लागि अझ धेरै लेख्ने इच्छा छ ।
                                                                                                                                  २०६६।१।६

No comments:

Post a Comment