Thursday, January 7, 2010

म कलेजमा हिरो थिएँ- Childhood days Memory of Writer Shree Om Shrestha Rodan

श्रीओम श्रेष्ठ रोदन वरिष्ठ साहित्यकार हुन् । यिनले नेपाली साहित्यको निवन्ध, लघुकथा र नियात्रा विधामा महत्वपूर्ण योगदान गरेका छन् । नेपाली साहित्यको राष्ट्रिय पत्रिका मधुपर्कका सम्पादकसमेत रहेका रोदनले साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि उल्लेख्य योगदान गरिरहेका छन् ।
यस अंकमा हामीले यिनै मिलनसार, मायालु र सह्रदयी वरिष्ठ लेखक दाजु रोदनको बाल्यकालका सम्झनाहरु प्रस्तुत गरेका छौं । उनी आफ्नो सम्झना सुनाउँदै भन्छन्-
म वि.सं. २०१९ साल लक्ष्मी पूजाको दिन ललितपुरको झम्सीखेलमा जन्मिएको हुँ । म बुवा शिवप्रसाद र आमा दिलकुमारीको माइलो छोरा हुँ । म एउटा साधारण परिवारमा जन्मिएको हुँ । मेरो परिवारमा सातजना हुनुहुन्छ । चारजना दाजुभाइ र एउटी दिदी अनि बुवाआमा हुनुहुन्छ ।
पाँचजना छोराछोरी एउटा बुवाको जगिरले पालिन हामीलाई त्यो बेला गाह्रो थियो । त्यही भएर होला हामी पाँचै जना छोराछोरीले बोर्डिङ स्कुलमा पढ्न पाएनौं । मैले घर नजिकै सानेपामा रहेको टीकाविद्याश्रम स्कुलमा पढें । मेरो औपचारिक शिक्षा त्यो विद्यालयबाट सुरु भए पनि बुवाको जागिरको कारणले गर्दा कहिले भद्रपुर, कहिले बिराटनगर, कहिले जनकपुर, कहिले बीरगन्ज आदि ठाउँमा पुगेर मैले विद्यालय फेरी-फेरी पढें ।
त्यो बेला बुवा नेसनल ट्रेडिङमा काम गर्नुहुन्थ्यो । त्यसो भएको हुनाले धेरैवटा विद्यालयमा पढ्दा पनि म एक कक्षाको एक कक्षामै रहेको अनुभव पनि मैले गरेको थिएँ । किनकि त्यो बेला बुवाको एक वर्षभत्रै तीन चारवटा ठाउँमा सरुवा हुने भएर मेरो पढाइ त्यस्तो भएको थियो । यसरी घुमेर पढ्न पाएकोमध्ये मलाई जनकपुरको गंगाधाममा रहेको विद्यालयमा पढेको याद अझै पनि आउँछ । त्यो विद्यालय एउटा पाटीमा चलाइएको थियो । पाटीमा माथि छत त थियो तर दायाँ बायाँ सबै खुला थियो । त्यही बसेर हामी पढ्थ्यौं । पढ्ने पाटी छेउमै गंगा सागर नाम गरेको ठूलो पोखरी थियो । त्यो बेला हामी सिलेटमा लेख्दै पढ्थ्यौं । कहिलेकाही सिलेट धेरै फोहोर भयो त्यही छेउको पोखरीमा चप्लङ् चोपेर सफा गर्ने गर्दथ्यौं ।
म स्कुल पढेदेखि नै पसलमा बस्ने गरेको थिएँ । बुवाले जागिर खाएको पैसाले मात्र परिवार धान्न गाह्रो भएपछि हामीले पसल खोलेका थियौं । मैले स्नातक बी.ए.सम्म पढुन्जेल पनि पसलमा धेरै समय दिएँ । त्यो बेला पसलको लागि सामान साइकलमा राखेर ल्याउँदा साथीहरुले देख्दा मलाई नमज्जा पनि लाग्थ्यो । के सोचे होलान् भन्ने पनि सोच्थें । तर म आफ्नो काम आफै गर्नुपर्छ भन्ने स्वभावको थिएँ । आफू जस्तो छु त्यो सत्य कुरा साथीहरुबाट लुकाउँन मलाई मन पनि लागेन । यही कारणले गर्दा पढाइमा पनि खट्ने र पसलमा पनि खट्ने मेरो बानी बस्यो । मेरो यो बानीलाई साथीहरुले पनि मनपराएको मैले अनुभव गरेको छु ।
मेरो विद्यालय र कलेज जीवनमा म अतिरिक्त क्रियाकलापमा चर्चित विद्यार्थी थिएँ । कथा, कविता लेख्ने र नाटक खेल्ने भएकाले सबै विद्यार्थीहरुले मलाई चिन्थे । म स्कुल र कलेज जीवनमा त हिरो नै थिएँ । केटी साथीहरु पनि थुप्रै थिए । सबैको माझमा म प्रीय प्यारो पनि थिएँ ।
वास्तवमा त्यो बेला मैले धेरै दुःख गरेर पढेको हुँ । मैले कक्षा एकदेखि स्नात्तकोत्तर एम.ए.सम्मको पढाइ नै दुःख गरेर पूरा गरेको हुँ । मेरो परिवारका सबै जनाले मैले जस्तै दुःख गरेर पढेका हुन् । दुःख गरेर परिश्रम गरेर भएपनि पढ्यो भने राम्रो हुँदोरहेछ भन्ने कुराको गतिलो पाठ मेरो जीवनले नै मलाई सिकाएको छ जस्तो मलाई लाग्छ ।

No comments:

Post a Comment