Thursday, March 4, 2010

बालनाटकको रमाइलो मेला शुरु

काठमाडौं फागुन १७, २०६६
बालबालिकाहरुको मानसिक, शारिरीकलगायत समग्र सिर्जनात्मक विकासका लागि बालनाटकको रमाइलो मेला बालनाटक महोत्सब फागुन १७ बाट शुरु भएको छ । यो महोत्सब आगामी २३ गतेसम्म रुसि सांस्कृतिक केन्द्र कमलपोखरीमा चल्नेछ ।

आज आयोजित एक समारोहबीच बरिष्ठ नाट्यकर्मी अभि सुवेदीले पानसमा दीयो बालेर यस महोत्सबको उद्घाटन गर्नु भयो ।

यस नाटक महोत्सबबाट बालबालिकाको सोच्ने शक्तिको विकास हुने, शब्द भण्डार बढ्ने, लेखन पक्षमा सुधार हुने, आफू जस्तै साथीले गरेको अभिनय हेरी आत्मविश्वास बढ्ने र सिनेमा हेरे जस्तै मनोरन्जन प्राप्त गरी स्वास्थ्यमा पनि फाइदा पुग्ने आशा गरिएको मेलाका संयोजक लक्ष्मीप्रसाद बास्तोलाले बताउँनुभएको छ ।

यस च्यारिटी बालनाटक महोत्सबमा सातवटा बालनाटकहरु जम्मा १३ वटा शो प्रदर्शन गरिने छन् । कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको सहयोगमा शैली थिएटर, ग्लोबल पब्लिक स्कुल, साथसाथ थिएटर, सेरेन भ्याली स्कुल र भ्याली भ्यु स्कुलका बालकलाकारहरुको प्रस्तुतिमा नाटक प्रदर्शन हुने यस महोत्सबमा एक हजार चार सय बालबालिकाहरुले टिकट बुक गरिसकेका छन् । साथै ३ सय असहाय बालबालिकाहरुलाई यो शो निःशुल्क देखाइने छ । बिहान र दिउँसोको शोमा गरी दुइ हजार बालबालिकाहरुले नाटक हेर्ने अपेक्षा गरिएको छ । हालसम्म चौध सय बालबालिकाहरुले टिकट बुक गरिसकेका छन् ।

यस महोत्सबबाट उठेको सम्पूर्ण रकमबाट गरिब, असहाय र बिपन्न बालबालिकाहरुलाई शैक्षिक प्रोत्साहन छात्रबृति प्रदान गरिने छ ।

यस कार्यक्रम गर्नुको उद्देश्यवारे प्रकाश पार्दै कार्तिकेय बालप्रतिभा पुरस्कार कोषका अध्यक्ष मोहनकुमार कार्कीले कोषले सँधै बालहितकारी कार्यक्रममा जोड दिने र बालप्रतिभालाई प्रत्यक्ष सहयोग गर्नेतर्फजोड दिएको धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा शैली थिएटरका अध्यक्ष नवराज बूढाथोकीले यो कार्यक्रमले बालबालिकाको सिर्जनात्मक क्षमताको विकास हुने आशा गरिएको बताउँनु भयो ।

यो नाटक मेलामा स्वदेशी र विदेशी लेखकहरु क्रमशः कार्तिकेय घिमिरे, टंकप्रसाद चौलागाईं, महेश पौड्याल प्रारम्भ, आलेक्साजेन्द्रा पुश्किन र लियो टल्सटायका नाटकहरु मन्चन भइरहेका छन् । पहिलो दिन पुश्किनको नाटक सुनौलो माछा प्रदर्शन गरिएको थियो भने अन्तिम दिन टल्सटायको नाटक छुट्टी मकै भुट्टीको प्रदर्शन हुनेछ । कार्तिकेय लिखित नाटक पाँच रुपियाँको प्रदर्शन आगामी २२ गते शनिवार १२ बजे विशेष च्यारिटी शोमा गरिने भएको छ । समाजका सक्षम बालबालिकाहरुले विपन्न र असहाय बालबालिकाहरुप्रति माया र सद्भाव देखाउँनुपर्छ भन्ने मनछुने कथा भएको यो नाटकलाई प्रेम पौडेल र मानसराजले निर्देशन गर्नुभएको हो । यस नाटकमा दशवर्षीय बालिका मुख्य पात्रको रुपमा रहेकी छिन् ।

पुश्किन र टल्सटायको नाटकको निर्देशन नवराज बूढाथोकीले गर्नुभएको हो भने महेश पौड्याल प्रारम्भ, टंकप्रसाद चौलागाईंले पनि आ-आफ्नो नाटक निर्देशन गर्नुभएको छ ।
बालनाटक महोत्सबबाट संकलित सम्पूर्ण रकम समुदायका गरिब र विपन्न एबं संघर्ष गरी आफ्नो पढाइलाई निरन्तरता दिदै आएका दशजना सघर्षशील बालबालिकाहरुलाई शैक्षिक प्रोत्साहन छात्रबृतिको रुपमा प्रदान गरिने बताइएको छ ।

No comments:

Post a Comment