Monday, June 21, 2010

Childhood Days Memories of Senior Journalist Shiv Prasad Bhattrai जीवनमा जस्तोसुकै दुःख परेपनि हिम्मत नहारी प्रयास गरिरहनुपर्छ

शिवप्रसाद भट्टराई वरिष्ठ पत्रकार हुनुहुन्छ । उहाँ विगत २० वर्षदेखि यस क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँ अहिले मुना मासिक बालपत्रिकामा सम्पादक हुनुहुन्छ । यस अघि उहाँ गोरखापत्र दैनिकमा प्रधान सम्पादक हुनुहुन्थ्यो । यस अंकमा हामीले यिनै आदरणीय पत्रकार दाजु शिवप्रसाद भट्टराईसँग उहाँको बाल्यकाल बारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ : 

मेरो जन्म काठमाडौंको बालुवाटारमा भएको हो । त्यतिबेला मेरो परिवार डेराको घरमा बसेको थियो । पछि हामी मैतिदेवी नजिकैको अर्को घरमा डेरा सर्यौं । त्यसपछि बल्ल बुवाले बल्लतल्ल ठूलो दुःख गरेर काठमाडौंको टंगाल गैरीधारामा घर किन्नु भयो । यसरी तीनवटा ठाउँमा मेरो बाल्यकाल बित्यो ।

मलाई क, ख चिनाउँने काम मेरै बुवा पद्मप्रसाद भट्टराईबाट घरमै भएको हो । पछि बुवाले मलाई संस्कृतमा लेखिएको अमरकोश र कौमुदी आदि पढाउँनु भयो । त्यसपछि मलाई उहाँले रानी पोखरी छेउमा रहेको संस्कृत प्रधान पाठशालामा भर्ना गरिदिनुभयो । त्यहाँ मैले बुद्विनाथ गुरुबाट कौमुदी, केशवराम जोशीबाट गणित, बाल्मीकि पौडेलबाट रुद्री र सिद्विनाथ गौतमबाट कालिदास, भारवि र माघले कुमारसंभवम् र शिशुपाल वध नामक संस्कृत काव्यहरु पढेको सम्झँदा अहिले पनि मलाई मज्जा लाग्छ । त्यहाँ पढ्दा पढ्दै मैले संस्कृत छात्रावासमा भर्ना भएर पढ्ने अवसर पाएँ । छात्रावासमा साथीहरुसँग मिलेर खेल्दै पढ्दा खूब रमाइलो हुन्थ्यो । मैले त्यहाँ बस्दा वादविवाद, कविता, हाजिरी जवाफलगायत थुप्रै प्रतियोगितामा भाग लिएँ । थुप्रै पुरस्कारहरु पनि जितें । त्यसपछि कथा-कविताहरु लेख्ने र पत्रपत्रिकाहरुमा छाप्नको लागि पठाउँने पनि गर्न थालें । मलाई त्यो बेला मेरो लेखरचना छापिएको हर्ेदा एकदमै खुसी लाग्थ्यो । म पढ्दा अहिलेको बाल्मिकी क्याम्पसको नाम राजकीय संस्कृत महाविद्यालय रहेको थियो । यसै बीच २०३० साल पुस २५ गतेका दिन मेरो बुवाको निधन भयो । उहाँ संस्कृतको ठूलो विद्घान हुनुहुन्छ । उहाँको नाममा नेपाल सरकारले २०५३ सालमा हुलाक टिकट पनि प्रकाशित गरेको छ ।

मेरो प्यारो बुवाको मृत्युपछि मैले जीवनमा धेरै दुःख पाएँ । म त्यतिबेला १७ वर्षको थिएँ । त्यसपछि जीवन धान्नको लागि जागिर खाँदै कहिले वीरगन्ज, कहिले जनकपुर पुग्न वाध्य भएँ । यसरी दुःखका कारणले ७ वर्षम्म मैले मेरो पढाइलाई अघि बढाउँन पाइन । यो समयमा मैले विभिन्न विद्यालयमा नेपाली र संस्कृत विषय पढाउँनुको साथै विभिन्न दैनिक, साप्ताहिक र मासिक पत्रिकाहरुमा पनि काम गरें ।

मलाई आफ्नो पढाइ बढाउँन खूब मन थियो । मौकाको खोजीमा थिएँ । ७ वर्षछि मैले मिहिनेत गर्दै गएर साहित्य विषयमै उत्तरमध्यमा प्रविणता प्रमाणपत्र तह पूरा गरें । पछि पढ्दै, पढाउँदै र पत्रकारिता गर्दै मैले नेपाली विषयमा एम.ए र शिक्षा शास्त्रमा एम.एड. सम्मको अध्ययन गरें । यस बीचमा मैले त्रि.वि.शिक्षा शास्त्र संकाय, काठमाडौं शिक्षा क्याम्पस, जेम्स स्कुल, ज्ञानोदय आवासीय मावि, अल्फाज स्कुल, माउन्ट सेब स्कुल र माउन्ट सिनाइ स्कुलमा पढाउँने काम पनि गरें ।

विं.सं.२०४५ सालमा गोरखापत्र दैनिकमा काम गर्ने गरी उपसम्पादक पदमा म छनोट भएँ । त्यस अघि २०४० देखि ०४४ सम्म मैले गोरखापत्र र मधुपर्कको प्रुफ हेर्ने काम पनि गरेको थिएँ । त्यसपछि मलाई गोरखापत्र संस्थानले गोरखापत्र दैनिकका सह-सम्पादक, नायब कार्यकारी सम्पादक, कार्यकारी सम्पादक, नायब प्रधान सम्पादक र प्रधान सम्पादकसमेत भई काम गर्ने अवसर प्रदान गर्यो । यसैबीच म गोरखापत्र संचालक समितिको सदस्यमा पनि नियुक्त हुन पाएँ । अहिले म गोरखापत्र संस्थानबाटै वि.सं.२०४७ दखि निरन्तर प्रकाशित हुँदै आएको मुना मासिक बालप्रकाशनको सम्पादकका रुपमा काम गर्दैछु ।

जीवनमा जस्तोसुकै दुःख परेपनि हिम्मत नहारी प्रयास गरिरहनुपर्दोरहेछ । जीवनको अर्को नाम नै संघर्ष हो । आज कडा मिहिनेतले दुःखलाई हटाएर मैले मेरो जीवनलाई सुखी बनाएको छु । आज म जे छु, जहाँ छु र जुन अवस्थामा छु यो मेरै श्रम र सिपको कारणले हो भन्ने मलाई लागेको छ ।

No comments:

Post a Comment