Sunday, July 25, 2010

By Shlesma Chhetri, USA भगवानको घर कहाँ छ ?

यो २०६० सालको कुरा हो जति बेला म कक्षा ९ मा पढथें, त्यतिबेला मैले मेरी प्यारी हजुरआमालाई गुमाएको थिएँ । त्यो बेला मलाई राम्ररी थाहा छ भोलिपल्टको दिन असार ३ गते मेरो चौधौं जन्मदिन थियो अनि हजुरआमाको आशिर्वाद थाप्नु अगाडि नै उहाँले यस संसारबाट बिदा लिनुभएको थियो । सधैं उपहारहरु प्राप्त गरेर मेरो जन्मदिन रमाइलो हुन्थ्यो तर चौधौं जन्मदिनमा मैले ममतामयी हजुरआमाको काख गुमाएको थिएँ, जुन काखमा मैले मेरो जीवनको आरम्भ गरेकी थिएँ । मेरो बालसुलभ मस्तिकमा त्यसबेला प्रश्नहरु छरिएका थिए । यस संसारबाट बिदा लिएर मेरी हजुरआमा कहाँ जानुभयो होला ? मैले यही प्रश्न विस्तारै मेरी आमालाई सोधेकी थिए अनि उहाँले भन्नुभएको थियो भगवानको घर जानुभयो जहाँ गएपछि कोही पनि फर्केर आउन सक्दैन । मैले अझ प्रश्नहरु थप्न लागेको थिएँ उहाँले फेरि भन्नुभयो तिमी ठूली भएपछि बुझ्ने छौं । उहाँले मलाई चुप त गराउनु भयो तर मेरा मनमा भने हुरी चल्न थाल्यो । भगवानको घर कहाँ होला ? किन त्यहाँ गएपछि फर्कन नमिल्ने होला ? त्यसै दिनताका मलाई उदास देखेर फेरि आमाले मलाई सम्झाउनु भएको थियो । भगवानको घर बादलपारि तारै-तारा भएको ठाउँमा हुन्छ रे, त्यहाँ फूलैफूलको सुन्दर बगैंचा अनि रमाइलो बातावरण हुन्छ रे जसलाई स्वर्ग भन्ने गरिन्छ अनि त्यसैले त्यहाँ जाने मानिसहरुलाई स्वर्गिय भनेको हो । मलाई सम्झाउँदै गर्दा उहाँ रे ...... रे......... भन्दै हुनुहुन्थ्यो सायद उहाँलाई पनि कसैले त्यस्तै भनेको थियो होला ? मलाई अलि ढुक्क त लागेको थियो किनकि मेरी प्यारी हजुरआमा तारै-ताराको झिलिमिली र फूलैफूलको सुगन्धमा हुनुहुन्छ । उहाँ स्वर्गे भएको बर्षमै मैले बीर गणेशमान सिंह बालप्रतिभा पुरस्कार प्राप्त गरेर बर्ष बालक २०६० को उपाधि पाएकी थिएँ । मैले खुशी हुँदै त्यो ताम्रपत्रलाई आकाशतर्फ फर्काएर हजुरआमालाई देखाएको थिएँ ।सायद देख्नु भयो होला जस्तै लागेको थियो । म जहिले पनि उहाँलाई सम्झदा आकाश तर्फ हेरेर बादलपारि स्वर्गमा बस्ने हजुरआमालाई हेर्ने प्रयास गर्थें अनि नीलो आकाशमा भएका सेता बादलहरुले विभिन्न आकारमा उड्दै जाँदा म बादलको आकारमा मेरी हजुरआमाको रुपको कल्पना गर्थें जसले गर्दा मलाई उहाँसंग भेट भएको भान हुन्थ्यो ।

समयको अन्तरालमा मेरा दिनहरु बित्दै गए अनि ममा बालसुलभता हराउँदै गयो जीवनको अर्थ पनि पहिल्याउँदै गएँ । मैले मेरो जीवनको २० सौं बसन्तको हाराहारीमा आइपुग्दा अकस्मात् फेरि एउटा बिर्सन नसक्ने दुर्घटना भयो । मेरी प्यारी साथी मालश्रीको कर्णालीमा डुङ्गा दुर्घटनामा मृत्यु भयो । कर्णालीको छालले उनलाई सायद बादलपारि पुर्यायो र्स्वर्गमा, अनि उनी स्वर्गिय हुन पुगिन् मेरी हजुरआमा जस्तै । यस पटक भने उ कहाँ गई भनेर मैले कसैलाई सोधिन । जीवन र मृत्यु, शुरु र अन्त्य जस्तै हो पूरै नबुझेपनि सामान्यरुपमा स्वीकार्न करै लाग्यो असामयीक भएपनि मृत्यु त मृत्यु नै हो ।

हामीहरु सामाजिक प्राणी भएकाले मन त्यसै भौतारिदो रहेंछ अनि अन्त्यमा मनलाई हलुका पार्ने त आँशुनै रहेछ मनको साथी । बिछोडको पीडालाई भुल्न धेरै रोंए रुदाँरुदै मन हलुका भयो अनि मलाई लाग्यो भगवानको घर त आफ्नै मनभित्र पो रहेछ जहाँ सधैं मेरी हजुरआमा र मेरी प्यारी साथी मालश्रीले दरिलो डेरा जमाएका छन् । म रुँदै थिएँ मेरो ९ बर्षे अबोध भाइले भन्यो "दिदी तिमी किन यति धेरै रोएको ? " मैले रुँदै भने "मालश्री दिदी भगवानको घर गइन् त्यसैले रुन मन लाग्यो" भाइले फेरि प्रश्न गर्यो "भगवानको घर कहाँ छ ? भगवानको घर माथि आकाशमा बादल पारि छ । त्यहाँ तारैताराहरुको झिलिमिली छ अनि फूलैफूलको सुन्दर बगैंचा छ भनेर भाइलाई सम्झाए । उसको बाल सोचाइले यसको के अर्थ लगायो मलाई थाहा भएन । मैले जीवन र मृत्यु स्वभाविक हो, यो संसार भन्दा बेग्लै अर्को संसार छैन अनि भगवानको घर कल्पना मात्र हो,  मनलाई बुझाउने बहाना मात्र हो भनेर बुझेपनि भाइलाई बुझाउन सकिन । तसर्थ मैले पनि आमाले मलाई भने जस्तै गरी उसलाइ भनें- तिमीले ठूलो भएपछि बुझ्नेछौ ।
(लेखिका क्षेत्रीको प्रकाशोन्मुख कृति मालश्री बाट साभार)
Email : shlesma41@hotmail.com

No comments:

Post a Comment