Friday, January 21, 2011

धादिङमा बालसाहित्य सम्मेलन सम्पन्न

देशका कुनाकन्दरामा रहेका बालबालिकाहरुको सिर्जनात्मक क्षमता बढाउँने उद्देश्यले विगत नौ वर्षेखि संचालन हुँदै आएको बालसाहित्य सम्मेलन र बालप्रतिभालाई पुरस्कृत, सम्मानित गर्ने यात्राअर्न्तर्गत यो पटक धादिङ जिल्लामा बालसाहित्य सम्मेलन सम्पन्न भएको छ ।
गजुरीमा आयोजित सम्मेलन वरिष्ठ साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनमा बालसाहित्य प्रतिष्ठान नेपाललाई स्थानीय आयोजकहरु युवा संजाल धादिङ, धादिङ रेडियो र प्राज्ञिक विद्यार्थी परिषदले साथ दिएका थिए । कार्यक्रमको संयोजन रेडियोकर्मी पार्वती श्रेष्ठले गरेकी थिइन् । उनलाई गणेश ढुंगाना, उपेस श्रेष्ठ, अमृत न्यौपाने, लेखक नवीनबन्धु पहाडी र पत्रकार राजेन्द्रप्रताप शाहलगायतले सघाएका थिए ।
पुस्तक प्रदर्शनीमा बालबालिकाहरु
सम्मेलनमा २०६२ को एसएलसीमा उत्कृष्ट प्रथम हुन सफल छात्रा अन्जना राजबंशी र २०६७ को कार्तिकेय बालप्रतिभा सुमीक्षा खड्काको अनुभव प्रस्तुति र अन्तरक्रिया, युवराज नयाँघरेबाट बाल्यकालका अनुभवको रोचक प्रस्तुति गरिनुका साथै बालकथा लेखन र वाचन कार्यशालाको पनि आयोजना गरिएको छ ।
बालकथा लेखन र बाचनवारे प्रतिष्ठानका अध्यक्ष र महासचिव क्रमशः कार्तिकेय र महेश पौड्याल प्रारम्भले प्रशिक्षण दिएका थिए । कथालेखन कार्यशाला र प्रतियोगिताकोसमेत आयोजना गरिएको सम्मेलनमा एकसय तेतीस जना बालबालिकाहरुको सहभागिता रहेको थियो । उत्कृष्ट पाँच बालबालिकालाई पुरस्कृत गरिएको छ । सिर्जनशील बालप्रतिभाको राम्रो जमघट र सिर्जनामा सक्रिय सर्जकहरुको जमघटले गर्दा कार्यक्रम सफल भएको छ । सम्मेलनमा महेश पौड्याल प्रारम्भ र कार्तिकेयको कथावाचन, युवराज नयाँघरेको रोचक बाल्यकाल र अन्जना राजबंशीसँगको अनुभव साटासाट र छलफलमा बालबालिकाहरु निकै उत्साहित भएका थिए । बीएन पुस्तक संसारद्घारा प्रर्दशनीमा राखिएका पुस्तकहरु पनि उनीहरुले निकै चाख दिएर हेरेका थिए ।
ग्रामीण भेगका बालबालिकामाझमा पुगेर उनीहरुमा बालसाहित्यप्रति रुचि जगाउँदै बालसाहित्यको प्रर्वर्धनमा समर्पित रहने उद्देश्यका साथ सुरु भएको यो यात्रा प्रतिष्ठानले हालसम्म २४ जिल्लामा सम्पन्न गरिसकेको छ ।

No comments:

Post a Comment