Tuesday, January 24, 2012

वर्ष २०६८ मा कोषबाट पुरस्कृत हुने दुई बालप्रतिभाहरू । यस पटक ६ जना बालप्रतिभाहरू कोषबाट पुरस्कृत हुनुहुने निर्णय भएको छ ।


sarita adhikari and sarita aryal
सरिता अधिकारी कक्षा ८ मा पढ्छिन् । उनी आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । काठमाडौं कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले वि.सं. २०६८ भदौ २९ गते राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको बालगीत प्रतियोगितामा प्रथम पुरस्कार जितेकी थिइन् । दुबै आँखा नदेख्ने १२ बर्षीय सरिताले गीत गाएको उनका संगीत विषयका गुरु रमेश सुवेदीलाई पनि एकदमै मनपर्छ ।
यिनै प्रतिभाशाली छात्रा सरितासँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
कहिलेदेखि गीत गाउन थाल्नुभयो ?
म सानैदेखि गाउने गर्थें । कहिलेकाही गीत, कविता पनि लेख्ने गर्छु ।
जिन्दगी के हो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षमय यात्रा हो जिन्दगी ।
आँखा देख्नुहुन्न, बाहिरको संसार कस्तो होला जस्तो लाग्छ ?
संसार रमाइलो छ जस्तो लाग्छ ।
के कुराले गर्दा रमाइलो होला जस्तो लाग्छ ?
साथीभाइ, प्रकृति, विकास आदि कारणले गर्दा रमाइलो भएको होला भन्ने     लाग्दछ ।
कसरी ल्याब्रोटरी स्कुलमा पढ्न आइपुग्नु भयो ?
पहिला म पोखराको अमर सिंह उच्च माविमा पढ्थें । पछि दृष्टिबिहिनका लागि यो स्कुल राम्रो छ भन्ने थाहा पाएर पढाइको सिलसिलामा यहाँ आइपुगेकी हुँ ।
कस्तो शब्द भएको गीत गाउन मन लाग्छ ?
म जस्तै बालबालिकाको मनको कुरा भन्ने शक्ति भएको गीतगाउन मन लाग्छ ।
गीतको अभ्यास कसरी गर्नुहुन्छ ?
पहिला सुरुमा गीतको शब्दलाई गुरुले भन्दिनुहुन्छ । म ब्रेल लीपिमा लेख्छु । त्यसपछि गुरुको आज्ञा अनुसार गाउने अभ्यास गर्छु ।
एउटा गीत राम्ररी गाउने हुन कति दिन सिक्नुपर्छ ?
बढीमा दुई हप्ता र घटीमा एक हप्ता लाग्ने गर्छ । यस पल्ट पुरस्कार पाएको गीत तयार गर्न मलाई ७ दिन लागेको थियो । प्रतियोगिता चाँडै हुने भएकाले समय छोटो भएका कारण मैले हरेक दिन अलि बढी समय दिएर यो गीतको अभ्यास गरेकी थिएँ ।
तपाईलाई के गर्दा मज्जा लाग्छ ?
मलाई गीत गाउन र फुर्सदको बेला रेडियो सुन्न मज्जा लाग्छ । रेडियोमा म बालकार्यक्रमहरु र गीतहरु सुन्छु ।
तपाईको घरमा कोको हुनुहुन्छ ?
आमा, बुवा, दिदी र भाइ हुनुहुन्छ । म कान्छी छोरी हुँ । बुवाको कपडा पसल     छ ।
भविष्यमा के बन्ने विचार छ ?
भविष्यमा गायक बन्ने उद्देश्य छ । त्यसका लागि म मिहिनेत गरिरहेकी छु ।
मनपर्ने गायक र गायिका कोको हुन् ?
मलाई गायक स्वरुपराज आचार्य, गायिका रेजिना रिमाल र अन्जु पन्त मनपर्छ ।
ब्रेल लीपिमा पढेर किताबका कुराहरु सिक्न र परीक्षामा राम्रो गर्न कत्तिको गाह्रो वा सजिलो  के छ ?
सुरुसुरुमा गाह्रो हुँदोरहेछ । तर सिकेपछि बिस्तारै सजिलो हुँदै जानेरहेछ । आँखा देख्ने साथीहरुसँगै बसेर पढ्ने भएकाले कतिपय कुरा त सुनेर पनि बुझ्न र थाहा पाउन सकिन्छ नि !
दृष्टिबिहीन बालबालिकाको पढाइलाई अझ राम्र्रो गर्न के कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
पाठ्यपुस्तक, साहित्यका किताब, सामान्यज्ञानका किताब र मनोरञ्जनका किताबहरु बढी बे्रल लीपिमा भइदिए धेरै राम्रो हुने थियो । साथै त्यसरी नै बढी भन्दा बढी राम्रा ज्ञानगुनका किताबहरु सुन्ने किताबका रुपमा उत्पादन भइदिए पनि धेरै राम्रो हुने थियो ।
ठूलो मान्छे हुनुपर्छ कि असल मान्छे हुनुपर्छ जस्तो लाग्छ ?
असल मान्छे बन्नुपर्छ जस्तो लाग्छ । किनकि विचार र भावना असल भएको मान्छे नै सबैभन्दा ठूलो हुन्छ भन्ने मलाई लाग्दछ ।
तपाईंको होस्टेलको बसाई कस्तो छ अहिले ? यसमा केही कुरा नपुगेको छ कि ?
सजिलो छ । होस्टेलमा बस्छु । गीत सुन्ने साधनको चाहिँ अभाव छ । त्यो पाए अझ बढी आफ्नो क्षमता बढाउन सक्थें भन्ने मलाई लाग्छ । राम्रो गायक बन्न पहिला अरुले गाएका बढी भन्दा बढी गीत सुन्नुपर्छ भन्ने मलाई लाग्छ ।
जीवनमा आँखा नदेख्ने भएकोमा पछुतो लागेको त छैन नि ?
जीवनमा एकदमै उत्साहका साथ अगाडि बढिरहेकी छु । मलाई आफू दृष्टिविहीन भएकोमा केही पछुतो छैन । मान्छे जो जहाँ जस्तो अवस्थामा छ, त्यही अवस्थामा नै संघर्ष गरी प्रगति गर्न सक्ने  मान्छे नै असल र ट्यालेन्ट मान्छे हो जस्तो मलाई लाग्छ । दुःखमा आत्तिने मान्छेले कहिल्यै प्रगति गर्न सक्दैन । म पनि कहिलेकाही अलिअलि दुःखी हुने गर्छु तर फेरि आत्मविश्वासका साथ अघि बढ्ने गर्छु ।

सरिता अर्याल कक्षा ६ मा पढ्छिन् । उनी पनि आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । सरिता अधिकारीसँगै एउटै स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय बालगीत प्रतियोगितामा सान्त्वना पुरस्कार जितेकी थिइन् ।
यिनै प्रतिभाशाली छात्रा सरिता अर्यालसँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
किन गीत गाउनु हुन्छ ?
यो मेरो सानैदेखिको रुचि हो ।
कस्ता गीत गाउन मन लाग्छ ?
बालगीत र लोकगीत गाउछु ।
गीत कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सबैको मनछुने खालको हुनुपर्छ । त्यसका लागि जीवनमा मेल खाने हुनुपर्छ ।
के कुरा गर्दा रमाइलो लाग्छ ?
गीत संगीत सुन्दा रमाइलो लाग्छ ।
जीवन केहो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षको माध्यम हो जीवन । बाँच्नका लागि आफै संघर्ष       गर्नुपर्छ ।
होस्टेलको बसाइ कस्तो भइरहेको छ ?
रमाइलो नै भइरहेको छ ।
भविष्यमा के बन्ने उद्देश्य छ ?
एउटा राम्रो गायिका बन्ने धोको छ । त्यसकै लागि मिहिनेत गरिरहेकी छु ।

No comments:

Post a Comment