Friday, August 26, 2016

कथा लेखन कार्यशाला सम्पन्न




पनौती, काभ्रे । बाल साहित्य प्रतिष्ठान नेपाल र ज्ञान विकास सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा एक दिने बालकथा लेखन तथा वाचन कार्यशाला काभ्रेको पनौतीस्थित ज्ञान विकास सामुदायिक पुस्तकालयमा सम्पन्न भयो । कार्यशालामा स्थानीय १० विद्यालयका बीस जना बालबालिकाहरु सहभागी भएका थिए । सहभागीहरुलाई बाल साहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले बालकथा लेखन तथा वाचनका विषयमा प्रशिक्षण दिनुभएको थियो । उक्त अवसरमा बालबालिकाहरुको माझमा कथा लेखन प्रतियोगिता पनि आयोजना गरिएको थियो । कार्यशालामा सामुदायिक पुस्तकालयका अध्यक्ष महेश कुमार कर्माचार्य, नेपाली लेखक संघ काभ्रेका अध्यक्ष सूर्यप्रसाद लाकोजू, प्रतिष्ठानका सदस्य रश्मी खागी, साहित्यकार सुभद्रा दाहाललगायतको उपस्थिति रहेको थियो । पुस्तकालयका उपाध्यक्ष ओम कृष्ण श्रेष्ठको संयोजनमा सम्पन्न सो कार्यशालामा उत्पादित कथाहरुको संग्रह पनौतीका बालबालिकाको कथा नामक पुस्तक पनि प्रकाशन गरिने भएको छ । नतिजा प्रकाशन तथा उत्कृष्ट तीन कथालेखकहरुलाई पुस्तकालय दिवसका अवसरमा पुरस्कृत गरिने भएको छ । साथै भाद्र १२ र १३ गते भक्तपुरमा पनि नेशनल प्याब्सन भक्तपुर जिल्ला कार्यसमितिसँगको सहकार्यमा यस्तै कार्यशालाको आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा उत्पादित कथाहरुको संकलनलाई पनि भक्तपुरका बालबालिकाहरुको कथा नामक पुस्तक प्रकाशन गरिने भएको छ । पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानद्वारा सुरु गरिएको यस अभियानमा देशका १५ जिल्लाका बालबालिकाहरुको कथा संकलन प्रकाशन गर्ने लक्ष्य लिएको छ । साथै उक्त अवसरमा कार्तिकेयका उत्कृष्ट बालकथाहरु नामक कृति बालबालिका र लेखकहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।

No comments:

Post a Comment