Sunday, April 30, 2017

Book Discussion with SCHOOL CHILDREN बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं/ लर्नस क्लब, रिलाएन्स कोएड स्कुल र बुकआर्ट नेपालको आयोजना तथा केटाकेटी अनलाइन पत्रिका र स्कूल लाइफ म्यागाजिनको सहकार्यमा बालसाहित्य लेखक कार्तिकेयका तीनवटा कृतिहरुमाथि विद्यालयका बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । 
कार्यक्रममा कार्तिकेय लिखित बालचित्रकथाहरु आमा, पपी छुट्यो, म चोर होईन र फुच्ची नानी सूर्य भेट्न गइन् गरी तीनवटा कृतिहरुको अध्ययन गरेर बालबालिकाहरुले उक्त कृतिहरुमाथि आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । साथै उनीहरुले लेखकसँग अन्तरक्रिया पनि गरेका थिए ।
अन्तरक्रियामा सहभागी नौ वर्ष उमेरका बालबालिकाहरुले रमाइलो कथा, सुन्दर चित्रहरु र आकर्षक छपाई भएको यो किताब पढ्दा आफूहरुलाई कथा अझ लामो भइदिएको भए हुन्थ्यो कि भन्ने लागेको प्रतिक्रिया दिएका थिए । केही बालबालिकाले फुच्ची नानीले कसरी सपना देखिन् ? भन्ने प्रश्न रमाइलोसँग सोधेका थिए । साथी उनीहरुले फुच्ची नानी आकाशमा पुग्दाको क्षण मज्जा आएको विचार व्यक्त गरेका थिए । हरेक किताबमा आठ–आठ जना बालप्रतिभाहरुले विचार व्यक्त गरेको कार्यक्रममा सहभागी बालबालिकाहरुले म चोर होईन कथा माथि प्रतिक्रिया दिंदा रमाएका थिए । उनीहरुले कार्यक्रममा उक्त कथा नेपाली र अंग्रेजी दुवै भाषामा वाचन गरेर सुनाएका थिए । 
कार्यक्रममा बोल्दै लेखक कार्तिकेयले यस्ता छलफल कार्यक्रमले लेखकलाई ठूलो हौसला र प्रेरणा मिल्ने रहेछ भन्नुभएको थियो । उहाँले बालबालिकाहरुको प्रश्न सुनेर आफू चकित भएको र उनीहरुबाट आफूले धेरै सिक्न पाएकोमा आयोजकवर्ग र बालबालिकाप्रति आभार प्रकट गर्नुभएको थियो । 
लेखक कार्तिकेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रिलयन्स कलेजका प्रिन्सिपल रवीन्द्र जंग थापा, कार्यक्रम निर्देशक सुबोध खनाल, अनिल खतिवडा, पटकथाकार हेमन्त खतिवडालगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रिन्सिपल थापाले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढीभन्दा बढी पुस्तक पढ्न प्रेरित गर्न आव्हान गर्नुभएको थियो । 
क्लबका निर्देशक सुबोध खनालले क्लबले बालबालिकामाझमा पठन संस्कृतिको विकासका लागि सशक्त ढंगले काम गर्ने उद्देश्य लिएको बताउनुभएको थियो । 

No comments:

Post a Comment