Thursday, June 27, 2019

ब्रेललिपिमा प्रकाशित ६ वटा बालकथा सङ्ग्रह विमोचित

ललितपुर, असार १२ गते
नमुना मच्छिन्द्र मावि, लगनखेल, ललितपुरको दृश्यविहीन शाखामा ६ वटा ब्रेललिपिमा प्रकाशित बालकथासङ्ग्रह विमोचन गरियो । विहीवार आयोजित उक्त समारोहमा नमूना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख डा. दीनबन्धु शर्मा, दृश्यविहीन बालप्रतिभाहरु, विमोचित कृतिका लेखकहरु जलेश्वरी श्रेष्ठ, गङ्गा कर्माचार्य पौडेल, साहित्यकार देवु लुइँटेल, दृश्यविहीन विलक्षण युवाहरु आश्मा अर्याल, सरिता अर्याल, वरिष्ठ कलाकार हेम पौडेल लगायतले संयुक्त रुपमा कृति विमोचन गर्नुभएको थियो ।
विमोचित कृतिहरुमा वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठ लिखित पिङ्की र पुतलीहरु र अरु बालकथा, वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेल लिखित को ठूलो ?, वरिष्ठ भारतीय लेखक मनोरमा जफा लिखित हाँस्ने सुगा र अरु बालकथा र लेखक कार्तिकेय लिखित ३ वटा बालकथासङ्ग्रहहरु म चोर होइन र अरु बालकथा, वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा र साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा गरी ६ कृतिहरु रहेका छन् ।
उक्त अवसरमा विमोचित कृतिहरुबारे दृश्यविहीन युवा प्रतिभा सरिता अर्यालले गहकिलो समीक्षा गर्नुभएको थियो भने दृश्यविहीन युवा प्रतिभा आश्मा अर्यालले सुन्दर कार्यक्रम संचालन गर्नुभएको थियो । समीक्षा मन्तव्यका क्रममा समीक्षक अर्यालले ब्रेलमा नेपाली बालसाहित्य प्रकाशनको इतिहासमा एकै पटक ६ वटा बालपुस्तक विमोचन भएको यो नै पहिलो पटक हो भन्नुभयो । साथै उहाँले ब्रेललिपिमा एउटै लेखकका ३ कृतिहरु एकै दिन विमोचन हुनु पनि दृश्यविहीन बालबालकाका लागि ठूलो सौगात भएको धारणा राख्नुभएको थियो ।
समारोहमा फरक क्षमताका बालबालिका माझमा माउन्ट एभरेस्ट स्टोरी टेलिङ एक्सप्रेस कार्यक्रम अन्तर्गत विमोचित कृतिका लेखकत्रय जलेश्वरी श्रेष्ठ, गङ्गा कर्माचार्य पौडेल र कार्तिकेयले कथावाचन गर्नुभएको थियो । साथै कलाकार हेम पौडेल र साहित्यकार देवु लुइँटेलले बालकविता वाचन गर्नुभएको थियो ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै वरिष्ठ साहित्यकार तथा नमूना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माले बालसाहित्य लेखन अत्यन्त संवेदनशील लेखन भएकाले बालसाहित्य लेखकहरुले सजग र गम्भीर भएर यस क्षेत्रमा कलम चलाउनु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, असल पुस्ता निर्माणका लागि बालसाहित्यले ठूलो जिम्मेवारी बहन गर्न सक्नुपर्छ । त्यसैले बालसाहित्य लेख्न सजिलो छ भन्ने धारणा आजैबाट हामीले त्याग्नुपर्छ । यो अत्यन्त जटिल लेखन विधा हो । यसमा कुशल कलम चलाउन मिहिनेत र समर्पण चाहिन्छ ।
हेमगङ्गा कलासाहित्य प्रतिष्ठानबाट प्रकाशित को ठूलो ? ब्रेलबुक र बालसाहित्य प्रतिष्ठानबाट प्रकाशित ५ ब्रेलबुक गरी यी सबै ६ कृतिहरु निःशुल्क वितरणका लागि प्रकाशित गरिएको हो । साथै प्रतिष्ठानबाट प्रकाशित ५ वटा ब्रेललिपिका बाकथाकृतिहरु साहित्यकार कार्तिकेयले आफ्नी ममतामयी माता दुर्गादेवी घिमिरे देवनायीकी रामानुज दासीको स्मृतिमा प्रकाशित गर्नुभएको हो ।

No comments:

Post a Comment