Thursday, January 9, 2020

प्रयास नेपालमा बालकथा र कविता लेखन कार्यशाला

काठमाडौँ/ प्रयास नेपाल, बालुवाटार, काठमाडौँमा आश्रित बालबालिकाहरुका लागि आयोजित एकदिने कथा–कविता लेखन तथा वाचन कार्यशाला गत पुस २५ गते शुक्रबार सम्पन्न भयो ।
कार्यशालामा उक्त आश्रममा आश्रित २५ जना बालबालिकालाई लेखकद्वय कार्तिकेय र देवु लुइँटेलले कथा–कविता लेखन तथा वाचन प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा बालसाहित्य लेखक देवु लुइँटेलले छन्द कविता लेखनको तालिम दिनुभएपछि अभ्यासका क्रममा बालबालिकाहरुले कविता रचना गरी सुनाएका थिए । लेखक लुइँटेलको प्रशिक्षणका क्रममा बालबालिकाहरु एकदमै खुसी भएका थिए ।
दोस्रो चरणमा बालसाहित्य लेखक कार्तिकेयले कथा लेखन र वाचनबारे प्रशिक्षण दिनुभएको थियो । उक्त अवसरमा कार्तिकेयले आफ्ना रमाइला बालकथाहरु राम र श्याम दुवै बेस्सरी रोए, डस्टर उड्यो र फर्सीबहादुरको कथा हाउभाउसहित वाचन गरी सुनाउनु भएको थियो ।
कार्तिकेय ट्रस्टको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित यस कार्यक्रम ममतामयी माता देवनायिकी रामानुजदासीको स्मृतिमा आयोजना गरिएको थियो ।
प्रयास नेपालका अध्यक्ष मनी जोशीको सभापतित्व र उक्त संस्थाका  महासचिव रत्न कार्कीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष मनी जोशीले सिर्जनात्मक क्षमताको विकासले बालबालिकाहरु अध्ययनशील र जिम्मेवार बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा लेखक लुइँटेलले बालबालिकामा पठन बानीको विकास गर्न सिर्जनात्मक लेखन तालिम र पुस्तकमाथि छलफल गर्ने कार्यक्रमहरुको विशेष महत्व हुने धारणा व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी लिखित बालतथ्यपुस्तक सम्पदा परिचय र सन्दर्भकथाहरु, जलेश्वरी श्रेष्ठ लिखित बालचित्रकथा जंगलको हीही, सुशीला देउजा लिखित नेपाली बालसाहित्यमा एउटै कृतिमा चार भााषा समावेश गरी प्रकाशित पहिलो बालचित्रकथाकृति बाघ र बाबा, कविता पराजुली लिखित बालकविता संग्रह निदरी, शैलेन्दुप्रकाश नेपाल लिखित बालकविता संग्रह जूनलाई चुम्ने इच्छा, कार्तिकेय लिखित बालकथा संग्रह भ्यागुताको न्याय, अनुष्का पौडेल लिखित बालचित्रकथाकृति बाघभैरव जात्रा लगायत एक दर्जन कृतिहरु संस्थाको पुस्तकालयलाई उपहार प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कार्तिकेयकी ममतामयी माता देवानायिकी रामानुजदासीको स्मृतिमा देशका ९ स्थानका अवस्थित बालगृहहरुका यस किसिमको सिर्जनात्मक लेखन तथा वाचन कार्यशाला गरिने कार्यक्रम रहेको कार्तिकेय ट्रस्टले जानकारी गराएको छ । यसअघि बुंगमतीस्थित अपाङ्ग सेवा केन्द्र र लेबोरटरी स्कूलमा कार्यक्रम सम्पन्न भएको थियो । वरिष्ठ बालसाहित्य लेखक प्रभा भट्टराईले लेबरोटरी स्कूलमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुलाई छन्द वाचन तथा लेखनको तालिम दिनुभएपछि यो अभियान सुरु भएको हो । यस अभियानका क्रममा १५ जना विविध परिवेशका लेखकज्यूहरुले फरक क्षमताका बालबालिकाहरुलाई 'मिट दि अथर' शृङ्खलाअन्तर्गत् प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । अब अन्य ६ स्थानमा यो कार्यक्रमको आयोजना गरिने भएको छ ।

No comments:

Post a Comment