Thursday, March 29, 2012

रविना घिमिरेको ‘जून पोखिएको आँगन’ बिमोचित


बालप्रतिभाको प्रवर्धनका लागि विगत १५ वर्षदेखि काम गरिरहेको केटाकेटी मिडियाबाट प्रकाशित प्रतिभाशाली बालिका रविना घिमिरेको जून पोखिएको आँगनकविता संग्रहको विमोचन सम्पन्न भयो । 
वरिष्ठ साहित्यकार डा. मोदनाथ प्रश्रित, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती र उद्योगपति डा. ताराप्रसाद पोखरेलले संयुक्त रुपमा लेखिका घिमिरेको कृति विमोचन गर्नुभएको थियो । विलक्षण प्रतिभावान् बालिका घिमिरेले कक्षा ४ पढ्दादेखि कक्षा १० सम्म अध्ययनरत रहँदा रचना गरिएका ३२ कविताहरू यस संग्रहमा रहेका छन् । यो केटाकेटी मिडियाको दशौं प्रकाशन शृंखला अन्तर्गत् प्रकाशित भएको हो ।
केटाकेटी मिडियाका अध्यक्ष लेखक कार्तिकेयको सभापतित्वमा भएको यस समारोहमा कृतिका वारेमा विश्वविद्यालयका अंग्रेजी विषय शिक्षक महेश पौड्यालले प्रकाश पारेका थिए । साथै प्राज्ञ बुँद राना, सह प्राध्यापक रञ्जुश्री पराजुली, रमा अधिकारी, गोपाल पराजुली, प्राज्ञ विष्णु प्रभात, बालप्रतिभा सुशान्तमान सिंह मास्के, भागवत आचार्य, सुब सेन, रामबहादुर पहाडी, राजेन्द्र घिमिरेलगायत लेखकहरूले रचना सुनाउँनुका साथै कृतिको वारेमा विचार व्यक्त गर्नुभएको थियो ।

Monday, March 26, 2012

विद्घान शोधार्थीहरूलाई प्रस्ताव पेश गर्नुहुन हार्दिक आब्हान


त्रिभुवन विश्वविद्यालयबाट कार्तिकेय घिमिरेका आख्यानात्मक (कथा) कृतिहरूको अध्ययन कार्तिकेय घिमिरेको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन भन्ने दुई शीर्षकमा शोधपत्र सम्पन्न भएका छन् । यी शोधपत्र रत्नराज्य क्याम्पसको पुस्तकालयमा राखिएका छन् । यस शोध गर्नुहुने विद्यार्थीहरू मीना शर्मा र सुमित्रा मैनाली, शोध निर्देशक सह प्राध्यापक रघु घिमिरे र बाह्य परीक्षक ढाकाप्रसाद घिमिरे, सह प्राध्यापक तुलसीमान श्रेष्ठ (विभागीय प्रमुख) एवं रत्नराज्य क्याम्पस परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
साथै घिमिरेका विषयमा स्नात्तकोत्तर तहमा शोध गर्न चाहनुहुने विद्यार्थी साथीहरू र उनको विषयमा विद्यावारिधी गर्न चाहनुहुने शोधार्थीलाई कार्तिकेय चाइल्ड ट्यालेन्ट अवार्ड ट्रष्टको दशौं वार्षिकोत्सवको यस सुखद अवसरमा संस्थापक अध्यक्ष मोहन कार्की, उपाध्यक्ष पारस श्रेष्ठ र कोषाध्यक्ष भगवती पौड्यालको विशेष सहयोगमा त्रि. वि. वि. अंग्रेजी विभागका शिक्षक एवं ट्रष्टका सचिव महेश पौड्यालको संयोजकत्वमा विद्घतवृती प्रदान गरिने निर्णय गरिएको छ । त्यसैले इच्छुक विद्घान शोधार्थीहरूलाई प्रस्ताव पेश गर्नुहुन हार्दिक आब्हान गर्दछौं ।
                                     निवेदक
                                     अध्यक्ष
                      कार्तिकेय चाइल्ड ट्यालेन्ट अवार्ड ट्रष्ट
                            पो. ब. नं. २५८५९ काठमाडौं ।

Monday, March 19, 2012

मिडिया शिक्षाको सवालमा केही कुरा (विचार) कार्तिकेय घिमिरे

मिडिया अर्थात् आम संचार माध्यमहरु (रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकाहरु) बाट प्रसारित र प्रकाशित विज्ञापनले सबै भन्दा बढी कसलाई प्रभावित गर्छ ?
यो प्रश्न तपाईंलाई कसैले सोध्यो भने तपाईं के जवाफ दिनुहुन्छ ?
तर मनोविदहरु भन्छन् – बालबालिकालाई बढी असर गर्छ । उनीहरु सिकाइको प्रारम्भिक चरणबाट गुज्रिरहेको हुनाले विज्ञापनका हरेक कुरा उनीहरुलाई नयाँ लाग्छन् र त्यसको आकर्षक हाउभाउ र प्रस्तुतिबाट उनीहरु तुरुन्तै प्रभिावित भइ हाल्छन् । यस सम्वन्धमा मिडियाको अनुसन्धानमा लागेकाहरु भन्छन् – बालबलिकाले विज्ञापन हेर्ने र त्यसको नक्कल गरेर दुर्घटना निम्त्याउने र आफै दुर्घटनामा पर्ने रोगले अहिल विश्व नै ग्रस्त छ । अमेरिकामा त द्घन्द सिनेमाको भूतले यतिसम्म बाल मष्तिष्कलाई अठ्याउने गरेको छ कि हरेक वर्ष जसो बालयुवाहरुले हिरोको भूमिकाको नक्कल गर्दै अन्धाधुन्ध गोली चलाएर आफ्ना सामान्य मनमुटाव भएका साथीहरु र गुरुहरुलाई मार्ने गरेका छन् । यो क्रम लगातार चार वर्षदेखि चलिरहेको छ । वर्षमा कम्तिमा एउटा यस्तो घटना त्यहाँ घटेको खबर मिडियामा आइरहेका छन् । अझ कतिपय अलि साना घटना त सम्वन्धित कलेज र महाविद्यालयहरुले आफ्नो संस्थाको व्यापार खतम हुने डरले बाहिर आउन नदिएर भित्रभित्रै लुकाउने गरेका पनि छन् ।
हो, यस घटनाचित्रले स्पष्ट के संकेत गर्दछ भने बालबालिकाहरु मिडियाबाट सबै भन्दा बढी प्रभावित हुने वर्गमा पर्छन् ।
मूलतः ६ देखि १५ वर्षमुनिका बालबालिकानहरुलाई पढाइरहेका प्रशिक्षित गुरुआमाहरु भन्छन् – बाल सिकाइमा टेलिभिजनको महत्व ठूलो छ । अहिले सूचना प्रविधिको युगमा मिडियाको व्यवस्थित उपयोग बालबालिकाको हितमा छ । किनकि उनीहरुलाई मिडियाबाट टाढा राखेर समाजमा प्रतिस्पर्धामा उत्रन नसक्ने लङ्गडो बनाउनु पनि हुन्न ।
वास्तवमा मनोविद, गुरु, गुरुआमा र मिडिया विशेषज्ञहरु सिधै मिडियालाई बाल अहितकारी भन्ने पक्षमा देखिदैनन् । तर उनीहरु मिडियामा हेरेका कुराहरु माथि बालबालिकाहरुलाई सही गलत के हो भनेर विश्लेषण गर्न प्रेरित गर्नुपर्छ भन्ने विचार राख्छन् । साथै उनीहरु के कुरामा पनि जोड दिन्छन् भने कुनै पनि बालबालिकालाई उनीहरुको उमेर अनुकुलका टेलिभिजन कार्यक्रमहरु र अन्य मिडियाका सामग्रीहरु हेर्न, पढ्न र लगअन गर्न प्रेरित गर्नु राम्रो हो । यसका लागि शिक्षक र अभिभावकहरुले राम्रो भूमिका खेल्न सक्छन् ।
बालबालिकाहरुलाई सानै देखि ठूला–ठूला एक्सनका सिनेमाहरु हेर्न प्रेरित गर्ने र उनीहरु दङ्ग परे भन्दैमा बढीमा बढी टेलिभिजनमा झुम्मिन दिने प्रवृति गलत हो । यसले शारिरीक र मानसिक दुबै रुपमा बालबालिकाहरु पीडित हुन्छन् । एकातिर शारिरीक विकासमा बाधा हुन्छ भने अर्कोतिर उनीहरु अपराध मनोवृतितिर मोडिन सक्छन् ।
त्यसैले मिडिया र बालबालिका वारे आचारसंहिता र नीति नियम बनाउने विज्ञहरु भन्छन् – मिडियाको कु्न कार्यक्रम, स्तम्भ वा कुन वेब पत्रिका वा सिनेमाहरु आफ्ना बालबालिकाहरुको लागि सिर्जनात्मक र उपयोगी छ भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ । त्यस्तै सामग्री उत्पादन गर्ने मिडिया हाउसले पनि उत्पादित सामग्रीको लक्षित समूह वारे जानकारी गराउँनुपर्छ । हरेक टिभी सो होस् वा सिनेमाको सिडीमा स्पष्ट साथ यी कुरा उल्लेख गरिनुपर्छ । साथै अभिभावकहरुलाई नै लक्षित गरी केही सन्देश उल्लेख गनुपर्छ भन्ने ती विज्ञहरुको ठहर रहेको पाइन्छ । साथै बालबालिकाहरुलाई पनि मिडियाको प्रवृति, व्यापार गर्ने काइदा र विज्ञापनको विश्वसनीयताका पक्षहरुवारेको छलफल र अन्तरक्रियामा सहभागी गराई मिडिया शिक्षा दिनु जरुरी छ भन्ने ठान्छन् उनीहरु ।
वास्तवमा मिडिया शिक्षा कसरी दिने ? के मिडिया शिक्षा भनेको मिडियाप्रति बालबालिका वा किशोरहरुलाई नकारात्मक हुन प्रेरित गर्ने शिक्षा हो त ? भन्ने जस्ता प्रश्नहरु अहिले उठिरहेका छन् ।
यस सम्वन्धमा हाम्रो देशमा एउटा ठोस धारणा बन्नसकेको अवस्था अहिले देखिन्न । यहाँ एकथरी मान्छेहरु अनावश्यक रुपमा लोभ्याउने, अश्लिल र हिंसाजन्य कुराहरु हेर्न र पढ्नबाट बालबालिकाहरुलाई रोक्नुपर्छ भन्ने मत राख्छन् । अर्काथरी मान्छेहरु समयसिमा निर्धारण गरेर बालबालिकाहरु सुतिसकेपछि अर्थात् लेट आवर रातिको समयमा मात्र त्यस्ता सामग्रीको प्रसारण हुनुपर्छ भन्ने मत राख्छन् । तात्कालीन माओवादी लडाईंको कालमा रगतको आहालमा डुबेका लासहरु टेलिभिजनहरुले प्रसारण गर्दा यो मुद्दा चर्केर उठेको थियो ।
तर यी दुवै मतलाई अस्वीकार गर्दै मिडिया शिक्षाको कुरा गर्नेहरुको भने फरक मत रहेको पाइन्छ । उनीहरु भन्छन् – समाजमा घट्ने हरेक घट्नाहरुवारे सूचना प्राप्त गर्न पाउनु बालबालिकाहरुको पनि सूचनाको हक हो । उनीहरुले सूचना पाउनुपर्छ यो उनीहरुको अधिकार हो । तर उनीहरुसँग बसेर छलफल, अन्तरक्रिया र विचार आदान–प्रदान गरी हामी बयस्कहरुले उनीहरुलाई मिडियामा प्रसारित, प्रकाशित सामग्री र विज्ञापनहरु प्रति आलोचनात्मक दृष्टिकोण बनाउन सघाउनुपर्छ । उनीहरुलाई मिडियाको विषयवस्तुका वारेमा सचेत र सजक गराउँनु पर्छ । अर्थात् हर्लिक्स खाएर जाँचमा फस्ट हुन सकिने हो कि होइन ? कम्प्लान खाएर हाइट बढ्ने हो कि होइन ? चाउचाउले दिमाख कति तेजिलो बनाउने हो ? यस्तै आदि–इत्यादि खालका टेलिभिजनलगायतका मिडियामा आउने विज्ञापनहरुवारे अभिभावकहरु र गुरुहरुले आफ्ना बालबालिकाहरुसँग खुलेर छलफल र अन्तरक्रिया गर्नुपर्छ भन्छन् विद्घानहरु । साथै मिडियाले किन विज्ञापन प्रसारण गर्छ ? विज्ञापन बनाउँनु प्रचार गर्नुको उद्देश्य के हुन्छ ? भन्नेजस्ता तमाम सवालमा पनि अन्तरक्रिया हुनुपर्छ ।
हो, वास्तवमा मिडिया शिक्षा भनेको यसबाट निस्कने निचोडहरु नै हुन् । जसले एकातिर मिडियाको सूचनाको विश्वसनियतातर्फ बालबालिकाहरुलाई आकर्षित गरेर उनीहरुलाई सूचना ग्रहण गर्न प्रेरित गर्दछ भने अर्को तर्फ मिडियाले पैसाको खेतीका लागि चमचमाएर प्रकाशन र प्रसारण गरेका विज्ञापनको वारेमा पनि स्पष्ट धारणा बनाउन पनि सहयोग मिल्दछ ।
तर यहाँनिर बालअधिकारवादीहरुको स्पष्ट अवधारणा र एकमत के रहेको पाइन्छ भने बालबालिकाहरुलाई यसो गर, त्यसो नगर भनेर गुरुकुल शैलीमा बन्देज लगाउने होइन । उनीहरुलाई छलफल, अन्तरक्रिया र ठोस तथ्यहरुका आधारमा तर्क प्रस्तुत गरी उनीहरुको जिज्ञासालाईसमेत समाधान हुने गरी समाधान गरिदिएर मिडिया शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ । यसो गर्न सकियो भने एकातिर यसले बाल व्यक्तित्वमा निखार ल्याउन मद्घत गर्दछ भने अर्कोतिर मिडियाको विज्ञापनलगायतका कुराहरुको नकारात्मक असरहरु न्यूनिकरण गर्न सघाउ पनि मिल्दछ ।
हो, आज हामी बाँचिरहेको युग मिडियाको युग हो । यस संसारका सबै मानिसहरु अहिले मिडियाको अत्याधुनिक विकासको मज्जा लिदै यगको उपयोगमा लठ्ठ परेर रमाइरहेका छन् । तर यही मिडिया यसको सही र समुचित उपयोग गर्न नजान्दा कत्तिका लागि अभिशाप पनि भएको छ । यसमा सबै भन्दा बढी बालबालिका र किशोरकिशोरीहरु पर्दछन् । त्यसैले यो मिडियाको युगमा मिडिया प्रति बालबालिकाहरुलाई आलोचनात्मक हुन हामीले प्रेरित गर्नुपर्छ । उनीहरुलाई मिडियाका साधनमा प्रसारित र प्रकाशित सामग्रीहरु जस्तैः विज्ञापन, सिनेमा, सनसनीपूर्ण समाचारहरु आदि प्रति चनाखो हुन र त्यसलाई आलोचनात्मक ढङ्गले हेर्न प्रेरित गरिनुपर्छ ।
हो, एउटा सिनेमा वा विज्ञापनमा मानिस उडेको देखाइनछ भने वास्तविक जीवनमा यत्तिकै मानिस उड्न सक्दैन यसले हावा देखायो वा रमाइलोका लागि देखायो भन्नेखालका आलोचनात्मक वा विश्लेषणात्मक खालका धारणाहरु बनाउँन आफ्ना बालबालिकाहरुलाई प्रेरित गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र बालबलिकामा पर्ने विज्ञापनको असर र समग्र मिडियाकै बालबालिकाहरुको सृजनात्मक विकासका लागि बाधक हुनेखालका असरहरुलाई न्यूनिकरण गर्दै लैजान र सकारात्मक असरहरुलाई बढाउँदै लैजान सहयोग मिल्दछ । त्यसैले अब बालबालिकासँग सरोकार राख्नेहरु सबै मिडिया शिक्षालाई व्यापक बनाउँन लाग्नुपर्छ भन्ने कुरामा शायदै कसैको दुई मत होला ।

बालसाहित्य पढ्नेहरू चलाख र बुद्घिमान् हुन्छन्


राष्ट्रिय सभाग्रहमा केही समयअघि सम्पन्न भएको साझा बृहत् पुस्तक प्रदर्शनीमा आफ्ना छोराछोरीलाई सँगै लिएर आइपुगेका काठमाडौं सिफलका राजेश लामिछानेले भनेछोराछोरी बालकथा भनेपछि पढ्न हुरुक्कै गर्छन् । त्यसैले पुस्तक मेलामा छानीछानी किताब पाइन्छ भन्ने सुनेर आएको । 
  छेउमै उभिएर बुवाको कुरा सुनिरहेकी कक्षा ५ मा पढ्ने जानुकाले मुसुक्क हाँस्दै भनिन्मलाई बालकथा पढ्न मज्जा लाग्छ । उनका भाइ निखिलले पनि के कम थिए उनले पनि थपिहाले मलाई त चुट्किलाको किताब मनपर्छ । चित्रहरू धेरै भएको कथा पनि मनपर्छ ।
 यसपल्टको मेलामा काठमाडौंका मात्र होइन काठमाडौं छेउछाउका जिल्लाहरू नुवाकोट, धादिङ, ललितपुर र भक्तपुरलगायतका जिल्लाका अभिभावकहरू आफ्ना छोराछारीलाई मनपर्ने बालसाहित्यको किताब किनेर लगिदिन कस्सिएर आएका भेटिए । उनीहरूले रमाइलारमाइला बालसाहित्यका किताब पोको पारेर छोराछोरीलाई कोसेली लगिदिएको दृश्य साँच्चै रमाइलो थियो ।
 बुवासँगै किताबको पोको बोकेर दङ्ग पर्दै गरेकी मुनाले भनिन् मलाई यो मेलामा थुप्रै थरी किताब एकै ठाउँमा पाएकोमा खुसी लाग्यो । ल हेर्नुहोस् मैले किनेका किताब । उनले उत्साहित हुँदै आफ्नो झोला देखाइन् । उनको झोलामा रमाइला कथाका किताब र मेमोरी कसरी बढाउँने, बृहत् समान्यज्ञानलगायतका किताबहरू थिए ।
अनि उनले झन् उत्साहित हुँदै भनिन्– ‘थाहा छ, यी किताब बाबाले मलाई बर्थडेको गिफ्ट दिनुभएको हो नि !
    वास्तवमा यसपालिको पुस्तक मेला हेर्न थुप्रै अभिभावकहरू आए र बालबालिकाहरू पनि आए । तर काठमाडौं नैकापकी सुभलता नहकर्मीलाई यो प्रदर्शनीमा किताब छान्न धौधौ प¥यो । उनले गुनासो गर्दै भनिन्अलि स्पष्ट जानकारी दिने सिस्टम भएन । कुन किताब कता हो खोज्नै गाह्रो । अलि राम्ररी ठूलो मिलाएर म्याप बोर्ड  प्रदर्शनी ठाउँमा राखेर कुन खालको किताबको कुनो कता हो देखाएर प्रदर्शनी गरे राम्रो हुने थियो । यहाँ त सब घारघुर रहेछ । किताब खोज्नै गाह्रो !
      यसरी विद्यार्थी बालबालिकाहरू आफैले धाएर अनि अभिभावकले चासो देखाएर छोराछोरीलाई पढ्ने मौका दिनु राम्रो कुरा हो भन्छन् बाल चिकित्सक, विशेषज्ञ एवं समाजसेवी प्रा.डा. अच्युतमणि आचार्य । उनी भन्छन्वास्तवमा बालसाहित्य पढ्ने बालबालिकाहरू चलाख र वुिद्घमान हुन्छन् । त्यस्तै विचार राख्छन् मुना पत्रिकाका पूर्व सम्पादक एवं वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराई । उनी भन्छन्बालसाहित्यले बालबालिकाको सिर्जनशील क्षमताको विकास गर्छ । साथै, उनीहरूलाई काम गर्न प्रेरित र अग्रसर पनि गराउछ ।
                                                                                                                       By Kartikeya

बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू – कार्तिकेय घिमिरे


बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो कामका सहभागी हुँदै हुनुहुन्छ भने तपाईंले बालबालिकाका लागि अन्याय गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाई सचेत हुनुपर्छ ।
एउटा बालक, आजको आशा हो । ऊ अगुवा पनि हो । त्यसैले उसको लागि तयार गरिने साहित्यिक सामग्रीले विशेष महत्व राख्दछ । किनकि एउटा मानिस मष्तिष्कबाट संचालित हुन्छ । साहित्यले उसको मष्तिष्कलाई प्रभावित गर्ने काम गर्दछ ।
जब हामी बालसाहित्य लेखनको कुरा गर्छौं त्यो सँगै बालबालिकाको व्यवहार निर्माण, सामाजिकता र भाषाको सिकाइको पक्ष पनि गाँसिएर आउँछ । त्यसैले एउटा असल बालसाहित्यले सौहार्दपूर्ण बालकको निर्माणमा सहयोग गर्दछ र उसलाई भाषिक रुपमा दक्ष पनि बनाउछ । त्यसरी नै एउटा अपरिपक्व बालसाहित्यले बच्चाको भाषिक सिकाइलाई मात्र भ्रष्ट पार्दैन उसको व्यवहारिक र नैतिक पक्षमा पनि घात गर्दछ । त्यसैले बालसाहित्य लेखन अत्यन्त गम्भीर लेखन हो भनिएको हो ।
वास्तवमा बालकका लागि लेखिने साहित्य उनीहरुको उमेर समूह, समाज र पारिवारिक पृष्ठभूमि आदि जस्ता पक्षबाट सिधै प्रभावित हुनुपर्छ । उमेर समूह अन्तर्गत् रंगको संयोजन, भाषाको प्रयोगको अवस्था र कुन परिवेशको बच्चालाई के कुरा, कस्तो कुरा पढ्न दिदा वा पढेर सुनाउँदा राम्रो हुन्छ भन्ने कुरामा बालसाहित्य लेखक सदैव सचेत हुनु जरुरी छ । जसका लागि उमेर समूह अनुसारका बालबालिकाको रुचि, मनोविज्ञान र भाषिक स्तरका वारेमा एउटा लेखकले पर्याप्त ज्ञान हासिल गरेको हनुपर्दछ । यस आलेखमा यिनै पक्षमा केन्द्रित भई केही छलफल र वैचारिक मन्थन गर्ने काम गरिएको छ । साथै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुको जगमा उभिएर विमर्श पनि गरिएको छ ।
एउटा बालक जो ६ वर्षको छ । सामान्य अवस्थामा निश्चय नै उसले स्वाद लिईलिई क्रम मिलाएर पढ्ने क्षमता ग्रहण गरिसकेको हुन्छ । उसमा प्रतिस्पर्धा गर्न चाहने, हतारिने र घरभन्दा बढी विद्यालयमा रमाउने स्वभाव हुन्छ । यिनीहरु प्रश्न गर्न पाउँदा रमाउँछन् । साथै अरुसँग घुम्न पाउँदा र अरुले खानेकुरा उपहार दिएमा दंग पर्ने स्वभावका हुन्छन् । साथै असफलतामा छिट्टै विचलित भई हाल्ने र रोइ हाल्ने यिनीहरुको स्वभाव हुन्छ । अनुसन्धानले के देखाएको छ भने यो उमेरका नानीहरु यी पक्षलाई विचार गरी लेखिएको रचना स्वाद लिएर पढ्छन् । जसले गर्दा उनीहरुको भाषिक स्तरमा पनि राम्रो टेवा पुग्दछ र उनीहरुको व्यक्तित्वको विकासमा पनि यसले मद्घत गर्दछ । यस खालको स्वभाव र व्यवहारको अवस्था एउटा बच्चामा ७ र आठ वर्षमा पनि रहिरहन्छ । यसमा उमेरको उकालो लाग्ने चरणसँगै समूहमा मिलेर काम गर्न रुचाउँने, रमाइलो गर्न, पटपट बोल्न, गल्ति सुधार्दै अघि बढ्न र शब्दभण्डार ह्वात्तै बढाउँन सक्नेजस्ता खूबी एंव स्वभावहरु थपिदै जान्छन् । साथै खेलकुदमा रमाउँने, समानता, सबैप्रति समान व्यवहार, भेदभाव मननपराउँने आदि जस्ता स्वभाव पनि रहन्छन् । त्यसैले एउटा लेखकले यो पक्ष पनि बुझ्नु आवश्यक छ ।
त्यस्तै जब ऊ ९ वर्षको पुग्छ । ऊ ज्ञान प्रति जिज्ञासु हुन थाल्छ । जानकारीमूलक खेलमा रुचि राख्छ । साथै निष्पक्ष व्यवहार खोज्ने र गुनासो गर्ने बानीको विकास हुन्छ । यस अलावा उसमा कुरालाई बढाइचढाइ गरेर तन्काएर भन्दा रमाइलो मान्ने, ठूलामाथि खोट लगाउँने र घुर्की लगाउँने आदि जस्तो स्वभावको विकास हुन्छ । यस अलावा आफ्नै लिंगको (केटा भए केटासँग र केटी भए केटीसँग) मिलेर राम्रो मित्रता राखेर काम गर्दा दंग पर्ने हुन्छ ।
त्यसपछि दश वर्षको उमेरमा परिवारका सदस्य र साथीभाइबीच रमाउँने र सही कुरा गर्न मनपराउँने साथै धेरै किसिमका किताब पढ्न रुचि राख्ने र आफ्ना कुरा अरुलाई भन्न रुचि राख्ने एवं हँसिलो भएर प्रस्तुत हुनेखालको हुन्छन् । अरुको कुरा सुन्ने, लगनशीलता र सहयोगी भावनाको विकास पनि यो उमेरका प्रमुख पक्ष हुन् ।
यसरी बढ्दै जब बालक ११ वर्षको हुन्छ तब उसमा तर्क गर्ने क्षमता बढ्दै जान्छ । ऊ फरक फरक कोणबाट समाजलाई हेर्न थाल्छ । आफूमै मग्न भई रमाउँने र निर्णय गर्दा अलमलिने दोधारमा पर्ने, नयाँ नयाँ काम गर्न रुचाउँने स्वभावको हुन्छ । यो उमेरमा उसमा अरुलाई ठाडठाडै भन्ने मुडी स्वभाव पनि रहन्छ । त्यसपछि १२ वर्षमा टेक्दा उसमा प्रौढको जस्तै व्यक्तित्व देखा पर्न थाल्छ । ऊ विवेकी र समझदार बन्छ । अर्काको दुःख मर्म बुझ्ने तथा साथीभाइलाई बढी महत्व दिने स्वभाव विकसित हुन्छ । यही उमेरको क्रममा केटीहरुमा रजस्वला हुने गर्दछ । केटाकेटी दुवै क्रमशः किशोरावस्थातिर लम्कन्छन् ।
साँच्चै भन्नुपर्दा यहाँ चर्चा गरिएको उमेरका विषयमा, यिनको शारिरीक, मनोवैज्ञानिक, भाषिक र सामाजिक विकासका वारेमा एउटा लेखकले जान्नुपर्ने, बुझ्नुपर्ने र थाहा पाउनुपर्ने कुराहरु थुप्रै छन् । यी त झलक मात्र हुन् । तथापि भविष्यमा एउटा असल पाठक र एउटा सफल व्यक्तित्व निर्माण भएको नागरिक तयार गर्नका लागि यी उमेरका वारेका प्रस्तुत गरिएका कुरालाई गमेर लेख्न सक्दा पनि पठनीय र रुचिकर बालसाहित्य तयार हुने धरातल निर्माण हुनसक्ने कुरामा विमति राख्न सकिन्न ।
 यस अलावा हामी कहाँ अहिले लेखिदै आएको साहित्य अधिकांशतः यी उमेर समूहका लागि बढी लक्षित पाइएकाले पनि यी उमेर समूहवारे थोरबहुत चर्चा गर्नु यहाँनिर उपर्युक्त हो भन्ने लागेको छ ।
अब यो भन्दा तल्लो उमेर समूह वा प्रारम्भिक तहको बालबालिकाका लागि लेख्न ती बालबालिकाको रुचि र स्वभावारे केही चर्चा गरौं । नेपालको सन्दर्भमा भन्दा हालसम्म प्रकाशित बालसाहित्यमध्ये दुई प्रतिशतमात्र यो उमेर समूका लागि लक्षित पुस्तकहरु प्रकाशित भएका छन् भन्ने एक अनुसन्धानले देखाएको छ । जुन दुःखलाग्दो अवस्था हो । यो उमेर समूहका लागि चर्को रंग रहेका चित्र भएका किताबहरु हुनुहँुदैन, सादा वा सालिन रंग हुनुपर्छ । किताबलाई यताउति चलाएर सार्न मिल्ने, किताबको ढोका खोल्न मिल्ने र किताब छुँदा विभिन्न आवाज आउने जस्ता रमाइला प्रकृतिका उनीहरुका दैनिक क्रियाकलापसँग सम्बन्धित शब्द थोरै भएका वा शब्द नै नभएका क्रियाकला मात्र भएका पनि पुस्तक हुन सक्छन् । जन्मेदेखि २ वर्षसम्मको बच्चालाई पुस्तकप्रति लगाव पैदा गर्न वा किताब छ है भनेर स्मृतिमा राख्ने हेतुले मात्र मोटा गाता भएका यस्ता किताबको तयारी उत्तम मानिन्छ ।
त्यस्तै २ देखि ४ वर्षसम्मको बच्चाको लागि भाषाको सिकाइको सुरुको चरणका वर्णमालाको ज्ञान दिने, लय हालेर गाउदै र भन्दै सुनाउन सकिनेखालका र विपरीतार्थी शब्द एवं ५ शब्दको वाक्य संरचनामा तयार भएका चित्रकथाहरु पनि उनीहरुका लागि रुचिकर हुन्छन् । जसमा उनीहरुलाई नयाँ पात्रको अनौठो दैनिकीवारे हाउभाउसहित प्रस्तुत गरिदा त्यो प्रभावकारी हुन्छ ।
त्यस्तै ४ देखि ६ वर्षका नानीको हकमा छोटा, रमाइला र लय मिलेका कथा र कविताका पुस्तक मनपराउँछन् । के कसरी चल्छ भन्ने जस्ता जिज्ञासा मेटाउने सामग्री तर्फ पनि यिनीहरुको ध्यान बिस्तारै बढ्दै जान्छ । त्यसैले सरल, लयात्मक जानकारी किताबहरु यो उमेरका लागि बढी रुचिकर हुन्छन् भन्ने अनुसन्धानले देखाएको छ ।
अब अन्त्यमा अलिकति बालसाहित्य लेखनको वर्तमान अवस्थावारे टिप्पणी गरौं । अहिले हरेक महिना ५ वटाको हाराहारीमा वार्षिक ६० वटा जति बालसाहित्यका किताब छापिइरहेको अवस्था छ । तर ती किताब लेखनको अवस्था निकै अलमलको छ । त्यो यस अर्थमा कि लेखक कुन उमेर समूहका लागि लेखिरहेको छु भन्ने कुरामा स्पष्ट हुन सकिरहेको देखिन्न । यस अवस्थालाई दृष्टिगत गरी अब यहाँनिर यही विषयको सेरोफेरोमा केही चर्चा गर्नु उचित हुन्छ भन्ने ठानेको छु ।
लेखक साथी, तपाईंले लेख्नुभएको किताब सुरुवात एउटा उमेर समूहको, बीचको अर्को उमेर समूहको र अन्त्य अर्को उमेर समूहको रुचिसँग मिल्दो भइदियो भने के त्यो किताब पठनीय बन्ला त ? त्यो पक्कै पनि बन्दैन । त्यसैले सुरुको चरणमा लेखकले अरु कुनै कुरामा अलमल नगरी यी कुरामा ध्यान दिनु आवश्यक देखिन्छ ।
लेखनको सन्दर्भमा सर्वप्रथम आफूले लेख्ने चरणलाई तीन चरणको चश्माबाट हेर्ने, जन्मदेखि ५ वर्ष, ६ देखि ९ वर्ष र १० देखि १३ वर्ष । हाम्रो परिवेशमा यो उचित हुन्छ भन्ने मलाई लाग्दछ । यसरी हेरिसकेपछि तपाईंले तयार गर्नुभएको योजनालाई यो आलेखमा रहेका कुराहरुले थोरबहुत सहयोग गर्न सक्छन् । तथापि तपाईंले लेख्ने निर्णय गर्नुभएको उमेर समूहका बालबालिकाको गतिविधिको प्रत्यक्ष अवलोकन, उनीहरुसँग गफ गर्न, खेल्न र समय बिताउँन निकाल्ने समय र संसर्गले तपाईंलाई थप धेरै कुराहरुका सम्बन्धमा निर्देशित गर्नेछ । जसले गर्दा तपाईंले उत्कृष्ट बालसाहित्य सिर्जना गर्न सक्नु हुनेछ । जसका लागि तपाईंलाई अग्रिम शुभकामना छ । 
                            मिति २०६८ फागुन ९        

Tuesday, February 7, 2012

रङ्गमञ्चमा महेश पौड्याल र “आमा नहुँदा एक साँझ” (कार्तिकेय घिमिरे)

 पछिल्लो समयमा नेपाली बालसाहित्य लेखन मौलाएको अवश्य छ, तर विधागत रुपले हेर्दा बाल–एकाङ्की र बाल–नाटक सङ्ख्यात्मक रुपमा पछि परिरहेको छ । यदाकदा फाट्टफुट्ट निस्कने बाहेक बालबालिकाहरूका लागि नाटकको क्षेत्र त्यति मौलाएको देखिँदैन । तर प्रभावकारिताका हिसाबले हेर्ने हो भने सोझै मञ्चनमा जान सहज हुने हुनाले सबै विधाहरूभन्दा प्रभावकारी विधा नाटक नै हो भन्ने कुरामा कुनै विवाद छैन । यस्तो अवस्थामा बाल–एकाङ्की लेखन र प्रकाशन आफैंमा एक अत्यावश्यक र स्वागतयोग्य कार्य हो भन्ने मलाई लाग्दछ । महेश पौड्यालको एकाङ्की सङ्ग्रह “आमा नहुँदा एक साँझ” प्रकाशित हुनु नेपाली बालएकाङ्कीको क्षेत्रका लागि एक सुखद सन्दर्भ हो भन्ने मैले ठानेको छु । 
महेश पौड्याल नेपाली बालसाहित्य क्षेत्रमा नयाँ नाम होइन । मौलिक कथाकार, कुशल अनुवादक, सशक्त कथावाचक र खरो समालोचकका रुपमा परिचित पौड्याल बालमनोविज्ञान र बालसुलभ मानसिकताका राम्रा जानकार हुन् । लामो समय विद्यालयमा शिक्षक भई बिताएका पौड्यालले बालबालिकासँगको  सामिप्यताले आफूलाई बालसाहित्य लेखनतिर तानेको कुरा भन्दै र लेख्दै आएका छन् ।
नाटक लेखन क्षेत्रमा यसै कृतिमार्फत् पौड्याल पहिलोपल्ट नाट्यकृति लेखकका रुपमा प्रकाशित भएका हुन् । तर उनमा नाट्यसाधना भने लामो समयदेखि रहेको देखिन्छ । सानै उमेरदेखि नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने उनको स्वभाव रही आएको छ । भारतमा स्कुल र कलेजको अध्ययन गरिरहँदा पनि उनले दाजुको कर्तव्य, देशको माटो, दाइजो  र कमल आदि नाटक लेखन र निर्देशन गरेका थिए । साथै यी नाटकमा स्वयंले अभिनय पनि गरेका थिए ।
नेपालमा पौड्यालले पहिलोपल्ट २०६० सालमा प्लेटोको “द एलेगोरी अफ द केभ” को नाट्य रुपान्तरण गरी स्वयंले निर्देशन गरेर भक्तपुरको एक स्कुलमा मञ्चन गरेका थिए । ठूलो रङ्गमञ्मा भने उनी २०६७ मा देखा परे । त्यतिबेला उनको लेखन र निर्देशनमा, बालमनोविज्ञानमा आधारित नाटक “चङ्गा” को प्रदर्शन शैली थिएटरले आयोजना गरेको प्रथम बालनाटक महोत्सवमा भयो । धेरै प्रसंशा पाएको उक्त नाटकको सफलतापछि उनको “बिगौती त खाने खाने” शीर्षकको नाटक मानसराजको निर्देशनमा मञ्चित भयो । जसमा हुरेसु नेपाल बालग्रहमा आश्रित बालबालिकाहरूसँगै उनी स्वयंले पनि अभिनय गरेका थिए । रसियाली नाटककार निकोलाइ गोगोलको नाटक “सरकारी निरीक्षक” मा नगराध्यक्षको चुनौतीपूर्ण भूमिकामा दर्जनौं पल्ट उत्रिएर उनले आफूलाई एक प्रतिभावान् नाट्य कलाकारको रुपमा  पनि परिचत गराइसकेका छन् । पछिल्लो समयमा प्रसिद्ध रसियाली कथाकार आन्तोन चेखोभको बालकथा “वाङ्का” को उनले नेपालीमा नाट्य रुपान्तरण गरेका छन्, जसलाई तेस्रो बालनाटक महोत्सवमा शैली थिएटरले मञ्चन गरिरहेको छ ।
बालएकाङ्की प्रकाशनको प्रसङ्गमा उनको पहिलो बालएकाङ्की “आकाश” लोकप्रीय राष्ट्रिय दैनिक राजधानीमा २०६६ मा प्रकाशित भएको हो । त्यसपछि “विजय” शीर्षकको एकाङ्की भ्वाइस अफ चिल्ड्रेन पत्रिकाले २०६७ मा प्रकाशित ग¥यो । उक्त एकाङ्की युनाइटेड पब्लिकेसनले प्रकाशन गरेको “मेरो नेपाली माला” पाठ्यपुस्तक श्रृङ्खलाको कक्षा पाँचको पाठ्यपुस्तकमा पनि पर्न सफल भएको छ ।
अङ्ग्रेजी साहित्यको विद्यार्थी र शिक्षक भएका नाताले पश्चिमी साहित्यको पनि गहन अध्ययन गरेका पौड्याल नेपाली बालसाहित्यका क्षेत्रमा फरक धारको वकालत गर्दै आएका साधक हुन् । उनी परम्परित उपदेशमूलक साहित्य र पूर्ण स्वेरकल्पनावादबाट नेपाली बालसाहित्य मुक्त हुनुपर्ने कुराका पक्षपाती हुन् । आफ्नो साहित्यमा उनले उनको यही विश्वासलाई लिपिबद्ध गरिरहेका छन् । उनका कथाजस्तै उनका एकाङ्की पनि मनोविज्ञानको जगमा उभिएका, गहिरा अभिव्यक्ति हुन् । यथार्थताको अत्यन्त निकट रहेर लेखिएका उनका एकाङ्कीहरूमा वयस्कहरूको गलत बुझाइ र आकलनकै कारण अन्यायमा परेका बालबालिकाको मनोदशा दर्शाइएको हुन्छ । यस सङ्ग्रहमा परेका सबै एकाङ्की यही प्रकृतिका छन् । बालबालिकाका बारेमा लेखिएका भएता पनि प्रौढहरूका लागि धेरै सोचनीय विषयवस्तुहरुको उठान गर्दै बहस सिर्जना गर्ने काम यी एकाङ्कीहरूले गरेका छन् ।
अन्त्यमा म लेखक पौड्यालको सिर्जना शक्ति अझ बढी मौलाउँदै जाओस् भन्ने कामना गर्दै यस कृतिको सफलताको शुभकामना व्यक्त गर्दछु ।

Tuesday, January 24, 2012

वर्ष २०६८ मा कोषबाट पुरस्कृत हुने दुई बालप्रतिभाहरू । यस पटक ६ जना बालप्रतिभाहरू कोषबाट पुरस्कृत हुनुहुने निर्णय भएको छ ।


sarita adhikari and sarita aryal
सरिता अधिकारी कक्षा ८ मा पढ्छिन् । उनी आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । काठमाडौं कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले वि.सं. २०६८ भदौ २९ गते राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको बालगीत प्रतियोगितामा प्रथम पुरस्कार जितेकी थिइन् । दुबै आँखा नदेख्ने १२ बर्षीय सरिताले गीत गाएको उनका संगीत विषयका गुरु रमेश सुवेदीलाई पनि एकदमै मनपर्छ ।
यिनै प्रतिभाशाली छात्रा सरितासँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
कहिलेदेखि गीत गाउन थाल्नुभयो ?
म सानैदेखि गाउने गर्थें । कहिलेकाही गीत, कविता पनि लेख्ने गर्छु ।
जिन्दगी के हो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षमय यात्रा हो जिन्दगी ।
आँखा देख्नुहुन्न, बाहिरको संसार कस्तो होला जस्तो लाग्छ ?
संसार रमाइलो छ जस्तो लाग्छ ।
के कुराले गर्दा रमाइलो होला जस्तो लाग्छ ?
साथीभाइ, प्रकृति, विकास आदि कारणले गर्दा रमाइलो भएको होला भन्ने     लाग्दछ ।
कसरी ल्याब्रोटरी स्कुलमा पढ्न आइपुग्नु भयो ?
पहिला म पोखराको अमर सिंह उच्च माविमा पढ्थें । पछि दृष्टिबिहिनका लागि यो स्कुल राम्रो छ भन्ने थाहा पाएर पढाइको सिलसिलामा यहाँ आइपुगेकी हुँ ।
कस्तो शब्द भएको गीत गाउन मन लाग्छ ?
म जस्तै बालबालिकाको मनको कुरा भन्ने शक्ति भएको गीतगाउन मन लाग्छ ।
गीतको अभ्यास कसरी गर्नुहुन्छ ?
पहिला सुरुमा गीतको शब्दलाई गुरुले भन्दिनुहुन्छ । म ब्रेल लीपिमा लेख्छु । त्यसपछि गुरुको आज्ञा अनुसार गाउने अभ्यास गर्छु ।
एउटा गीत राम्ररी गाउने हुन कति दिन सिक्नुपर्छ ?
बढीमा दुई हप्ता र घटीमा एक हप्ता लाग्ने गर्छ । यस पल्ट पुरस्कार पाएको गीत तयार गर्न मलाई ७ दिन लागेको थियो । प्रतियोगिता चाँडै हुने भएकाले समय छोटो भएका कारण मैले हरेक दिन अलि बढी समय दिएर यो गीतको अभ्यास गरेकी थिएँ ।
तपाईलाई के गर्दा मज्जा लाग्छ ?
मलाई गीत गाउन र फुर्सदको बेला रेडियो सुन्न मज्जा लाग्छ । रेडियोमा म बालकार्यक्रमहरु र गीतहरु सुन्छु ।
तपाईको घरमा कोको हुनुहुन्छ ?
आमा, बुवा, दिदी र भाइ हुनुहुन्छ । म कान्छी छोरी हुँ । बुवाको कपडा पसल     छ ।
भविष्यमा के बन्ने विचार छ ?
भविष्यमा गायक बन्ने उद्देश्य छ । त्यसका लागि म मिहिनेत गरिरहेकी छु ।
मनपर्ने गायक र गायिका कोको हुन् ?
मलाई गायक स्वरुपराज आचार्य, गायिका रेजिना रिमाल र अन्जु पन्त मनपर्छ ।
ब्रेल लीपिमा पढेर किताबका कुराहरु सिक्न र परीक्षामा राम्रो गर्न कत्तिको गाह्रो वा सजिलो  के छ ?
सुरुसुरुमा गाह्रो हुँदोरहेछ । तर सिकेपछि बिस्तारै सजिलो हुँदै जानेरहेछ । आँखा देख्ने साथीहरुसँगै बसेर पढ्ने भएकाले कतिपय कुरा त सुनेर पनि बुझ्न र थाहा पाउन सकिन्छ नि !
दृष्टिबिहीन बालबालिकाको पढाइलाई अझ राम्र्रो गर्न के कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
पाठ्यपुस्तक, साहित्यका किताब, सामान्यज्ञानका किताब र मनोरञ्जनका किताबहरु बढी बे्रल लीपिमा भइदिए धेरै राम्रो हुने थियो । साथै त्यसरी नै बढी भन्दा बढी राम्रा ज्ञानगुनका किताबहरु सुन्ने किताबका रुपमा उत्पादन भइदिए पनि धेरै राम्रो हुने थियो ।
ठूलो मान्छे हुनुपर्छ कि असल मान्छे हुनुपर्छ जस्तो लाग्छ ?
असल मान्छे बन्नुपर्छ जस्तो लाग्छ । किनकि विचार र भावना असल भएको मान्छे नै सबैभन्दा ठूलो हुन्छ भन्ने मलाई लाग्दछ ।
तपाईंको होस्टेलको बसाई कस्तो छ अहिले ? यसमा केही कुरा नपुगेको छ कि ?
सजिलो छ । होस्टेलमा बस्छु । गीत सुन्ने साधनको चाहिँ अभाव छ । त्यो पाए अझ बढी आफ्नो क्षमता बढाउन सक्थें भन्ने मलाई लाग्छ । राम्रो गायक बन्न पहिला अरुले गाएका बढी भन्दा बढी गीत सुन्नुपर्छ भन्ने मलाई लाग्छ ।
जीवनमा आँखा नदेख्ने भएकोमा पछुतो लागेको त छैन नि ?
जीवनमा एकदमै उत्साहका साथ अगाडि बढिरहेकी छु । मलाई आफू दृष्टिविहीन भएकोमा केही पछुतो छैन । मान्छे जो जहाँ जस्तो अवस्थामा छ, त्यही अवस्थामा नै संघर्ष गरी प्रगति गर्न सक्ने  मान्छे नै असल र ट्यालेन्ट मान्छे हो जस्तो मलाई लाग्छ । दुःखमा आत्तिने मान्छेले कहिल्यै प्रगति गर्न सक्दैन । म पनि कहिलेकाही अलिअलि दुःखी हुने गर्छु तर फेरि आत्मविश्वासका साथ अघि बढ्ने गर्छु ।

सरिता अर्याल कक्षा ६ मा पढ्छिन् । उनी पनि आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । सरिता अधिकारीसँगै एउटै स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय बालगीत प्रतियोगितामा सान्त्वना पुरस्कार जितेकी थिइन् ।
यिनै प्रतिभाशाली छात्रा सरिता अर्यालसँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
किन गीत गाउनु हुन्छ ?
यो मेरो सानैदेखिको रुचि हो ।
कस्ता गीत गाउन मन लाग्छ ?
बालगीत र लोकगीत गाउछु ।
गीत कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सबैको मनछुने खालको हुनुपर्छ । त्यसका लागि जीवनमा मेल खाने हुनुपर्छ ।
के कुरा गर्दा रमाइलो लाग्छ ?
गीत संगीत सुन्दा रमाइलो लाग्छ ।
जीवन केहो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षको माध्यम हो जीवन । बाँच्नका लागि आफै संघर्ष       गर्नुपर्छ ।
होस्टेलको बसाइ कस्तो भइरहेको छ ?
रमाइलो नै भइरहेको छ ।
भविष्यमा के बन्ने उद्देश्य छ ?
एउटा राम्रो गायिका बन्ने धोको छ । त्यसकै लागि मिहिनेत गरिरहेकी छु ।

Friday, January 20, 2012

केटाकेटी न्युज मासिक पत्रिकाको नयाँ अंक बजारमा आइपुगेको छ । यस अंकको आकर्षण यस प्रकार रहेको छ

ketaketi news, year 7, issue 5
१. कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको वारेमा विशेष सामग्री, कोषले दश वर्षमा के कति बालप्रतिभालाई पुरस्कृत गरयो ? कोको पुरस्कृत भए भन्ने लगायत कोषको वारेमा विभिन्न व्यक्तित्वका विचारहरु ।
२. लिटिल मिस वल्र्ड विपश्वी पौडेल के भन्छिन् ? उनको विचार र रमाइला फोटोहरु ।
३. वर्ष २०६८ मा कुन कुन बालप्रतिभाहरु पुरस्कृत भए ? ती बालप्रतिभाको परिचय यस अंकमा रहेको छ ।
४. आँखा नदेखेर केभो त, हामी गीत गाएर नै संसार जित्न सक्छौ । दृष्टिविहिन बालिकाहरु सुमधुर स्वरकी धनी सरिता अधिकारी र सरिता अर्यालसँगको मनछुने कुराकानी ।
५. प्रा. डा. अच्युतमणि आचार्यको जाडोमा बालबालिकाको स्वास्थ्य विषयमा लेखका साथै प्रमोद प्रधान, महेश पौड्याल, मोहन कार्की, पारस श्रेष्ठ, भगवती पौडेल, ऋषिराम पाण्डे, श्लेष्मा क्षेत्री, अञ्जना राजवंशी र सुमिक्षा खड्काको विचारहरु ।
६. शुभतारा स्कुलमा कक्षा चारमा पढ्ने प्रतिभाशाली बालिका आँचल भण्डारीको प्रतिभावारे आवरण चर्चा र चीनकी बालप्रतिभा जेनीसँगको कुराकानी, चीनबाट सरोज शाहीको कोसेली ।
७.  र, केटाकेटी क्विजका साथै अन्य रमाइला जानकारी एंवं केटाकेटी मिडियाबाट प्रकाशित कृतिहरुवारेको जानकारी यस अंकमा समेटिएका छन् ।

Wednesday, December 28, 2011

HAPPY NEW YEAR 2012 केटाकेटी मिडिया प्रकाशनबाट प्रकाशित रमाइला किताबहरू

१. फूलको साथी (बालकथा–सङ्ग्रह) – वरिष्ठ साहित्यकार डा. शैलेन्दु प्रकाश नेपालले लेख्नुभएका उत्कृष्ट बालकथाहरूको किताब । मूल्य रु ६५।–
२. जून पोखिएको आँगन (बालकविता–सङ्ग्रह) – प्रतिभाशाली बालिका रविना घिमिरेले लेख्नुभएका उत्कृष्ट कविताहरूको किताब । मूल्य रु ७५।–
३. भक्तपुर घुम्दाको मज्जा (यात्रा–संस्मरण) – प्रतिभाशाली बालक सुशान्तमान सिंह मास्केले लेख्नुभएको भक्तपुरमा घुमघामको अनुभववारे जानकारीमूलक किताब । मूल्य रु ५५।–
४. मैले पूजा गरेकी फुच्ची (बालकथा–सङ्ग्रह) – साहित्यकार कार्तिकेय घिमिरेले लेख्नुभएका बालकथाहरूको किताब । मूल्य रु २५।–
५. बिपनाको जिद्दी (बालकथा–सङ्ग्रह) – साहित्यकार शर्मिला घिमिरेले लेख्नुभएका उत्कृष्ट बालकथाहरूको किताब । मूल्य रु ६५।–
६. रमाइला चित्रकथाहरू (चित्रकथा–सङ्ग्रह) – विभिन्न साहित्यकारहरूले लेख्नुभएका रमाइला र उत्कृष्ट चित्रकथाहरूको किताब । मूल्य रु ४५।–
७. कार्तिकेय घिमिरेका उत्कृष्ट बालकथाहरु (बालकथा–सङ्ग्रह) – घिमिरेका १४ वटा बालकथाहरु समेटिएको रमाइलो किताब । मूल्य रु ७५।– 
८. इन्र्टेस्टिङ चाइल्ड स्टोरिज फर चिल्ड्रेन (बालकथा–सङ्ग्रह) कार्तिकेयका ३६ वटा बालकथाहरु अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशित । मूल्य रु २०५।–
९. पहिलो भेटमा संगालेका अनुभूतिहरु१२ जना वरिष्ठ साहित्यकारसँगको पहिलो भेटघाटवारे बालिका सन्ध्या सिग्देलको रोचक संस्मरण ।
निम्न पुस्तकहरु बिक्री बितरण वारे थप जानकारीका लागि  ९८४१४७७५१५ 

Tuesday, December 27, 2011

Interesting Stories for Children

The anthology Interesting Stories for Children evolves out of the underlying structure of Nepali culture which has the psychology of mythopoetic imagination in its core. The core is the folk culture which still has the innocence of myth. The collection focuses on contemporary issue of conflict and the physical and psychological impacts of conflict on children. The work critiques the present social behaviorism that either misreads or does not read children's minds. The stories invite the readers to be conscious of the most vulnerable group of the society. The narratives both entertain and educate us.
A writer who reveals such deep structure of a culture communicates with the essential features of life and its basic systems. The stories written by Kartikeya Ghimire and edited by Mahesh Paudyal are in a very child-friendly language with seriousness of subject matters.
Dr. Arun Gupto
Reader
Central Department of English, Tribhuvan University


INTERESTING STORIES FOR CHILDREN
AUTHOR : KARTIKEYA GHIMIRE
TRANSLATOR/EDITOR : MAHESH PAUDYAL
SIZE : 250 PAGES
PRICE RS. 205/-
PUBLISHED BY : KETAKETI MEDIA PVT. LTD.

AVAILABLE IN THE MARKET FROM PAUSH 15, 2068.