Wednesday, August 25, 2010

अनाथ बालबालिकाहरूमाझमा नाटक प्रदर्शन

बालबालिकाहरुसँग लेखक
ललितपुरको टुटेपानीमा अवस्थित मदरहुड केयर नेपाल बालगृहमा आश्रित अनाथ बालबालिकाहरु माझमा कथावाचन र भिडियो नाटक प्रदर्शन गरिएको छ । बालसाहित्य लेखक कार्तिकेय घिमिरेले कथावाचन गर्नुभएको कार्यक्रममा लेखक कार्तिकेयले नै लेख्नुभएको बालनाटक पाँच रुपियाँ को भिडियो पनि प्रदर्शन गरिएको थियो । प्रेम पौडेल र मानसराजले निर्देशन गर्नुभएको एक घन्टाको यस नाटकमा एघार वर्षीय बालिका आयुशी सामरीले मुख्य चरित्र आशा को भूमिकामा अभिनय गर्नुभएको छ ।
कपि उपहार दिदै आयुशी
धनी परिवारमा जन्मिएका सक्षम बाबालिकाहरुले असहाय, दुःखी र गरीब बालबालिकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने मुख्य सन्देश रहेको मनछुने कथावस्तु रहेको यस नाटकमा अभिनय गरेपछि नाटकको सारबाट प्रभावित भई हरेक दिन आफ्नो खाजा खर्चबाट पाँच रुपियाँ जोगाएर यस नाटककी प्रमुख पात्र आयुशीले बालगृहमा आश्रीत तीसजना बालबालिकाहरुलाई सो समारोहमा कपि र चकलेट उपहार दिनुभएको थियो ।
नाटक हेर्दै बालबालिकाहरु
उक्त अवसरमा बालगृहका बालबालिकाहरु गीत गाएर, नाचेर, क्यारिकेचर गरेर र चुटि्कला सुनाएर आ-आफ्नो प्रतिभा प्रदर्शन कार्यक्रममा सहभागी हुनु्भएको थियो । कार्यक्रम बालसाहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको थियो ।
Photo: Bishwas Thegim, MC Nepal, Lalitpur

Sunday, August 15, 2010

Children's Story by Senior Writer Vijaya Chalise कासाङ

"आज पसलको सामान नल्याइ नहुने, आजै पाहुना पनि धेरै आउँछन् । के पो गर्ने होला !" आमा छिमेकी बजुलाई आफ्नो समस्या सुनाउँदै हुनुहुन्थ्यो ।
"त्यै त के गरी भ्याउँछ्यौ एक्लैले" विहानको घाम ताप्दै तर्कारी केलाउन सघाइरहनुभएकी बजुले भन्नुभयो ।
पासाङकी आमा मुक्तिनाथ आउने पाहुनाहरू बस्नेखाने सानो सानो लज चलाउनुहुन्थ्यो । यो झारकोट गाउँ असाध्यै रमाइलो थियो । बाबा विदेशी पाहुना लिन पोखरा जनुभएकाले घरमा आमा र कासाङ मात्र थिए । जोमसोममा कलेज नभएकोले कासाङका दाजु पनि पोखरामैं बसेर पढ्थे । एक्लै लज चलाउन आमालाई भ्याइनभ्याई थियो । लजको समान लिन झण्डै एक विहानको बाटो हिंडेर जोमसोम पुग्नुपथ्र्यो ।
"आमा,म गएर ल्याउँछु नि त सामान ! के के ल्याउने भन्नोस् न बरु ।" आमाको समस्या बुझेर कासाङले भनिन् । उनी अघिपछि पनि विदाको बेला घोडा लिएर जोमसोम आउने जाने गर्थिन् । किनमेल गरेर आमालाई सघाउँथिन् । उनी जोमसोम कै स्कुलमा छ कक्षाकी विद्यार्थी थिइन् ।
"पढ्न चाहिं कति बेला जान्छ्यौ नि -"आमाले समस्या देखाउनु भयो ।
"आज शनिवार होइन, बिर्सनुभएको -"कासाङले स्कूल जानुनपर्ने कुरा सम्झाइन् ।
"ए हो त नि ,राम्ररी गएर सामान ल्याउ छोरी !"आमाले भन्नुभयो ।
कासाङ आमासँग किन्नु पर्ने सामानको सूची र पैसा लिएर जोमसोमतिर हिंडिन् । उनी घोडामा थिइन् । उनले माया गर्ने भएकोले घोडा पनि भनेको मान्थ्यो ।
जोमसोम झर्ने बाटो एकदमैं ठाडो र भिरालो थियो । बाटाभरि मसिना ढुङ्गाका गिर्खाले घोडाका खुर समेत रड्किने डर हुन्थ्यो । अझ अलि ढिलो भयो भने त कालीगण्डकीको खोचै खोँच जोडतोडको हावा चलेर मान्छे नै उडाउलाजस्तो गर्थ्र्यो । उकालो बाटोको धूलो र वगरको बालुवा उडाएर आँखै हेर्न दिंदैनथ्यो ।
"पख्...पख्...फुर्के, विस्तारै हिंड । खुट्टा रड्केर लड्लास् फेरि ! कासाङले भनिन् । उनको कुरा बुझेजस्तै घोडा पनि विस्तारै हिंड्न थाल्यो । कासाङ घोडालाई फुर्के भनेर बोलाउँथिन् । ओरालो सकेर बल्ल बल्ल कालीगण्डकीको किनारै किनारको बगर हिंडेर उनी जोमसोम पुगिन् ।

Saturday, August 14, 2010

कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको २०६७ को बालप्रतिभा पुरस्कारका लागि सिफारिस पठाउँनेसम्बन्धी जरुरी सूचना

पुरस्कारको नामः
कार्तिकेय बालप्रतिभा पुरस्कार २०६७
र कार्तिकेय शैक्षिक प्रोत्साहन पुरस्कार २०६७ ।
प्रतिभाको क्षेत्रः
साहित्य, सिर्जना, संगीथ, अभिनय, विज्ञान, अध्ययन र साहसिक कार्यमध्ये कुनै एक वा यी मध्ये केही क्षेत्रमा विलक्षण क्षमता प्रदर्शन गर्न सफल भएकाले आवेदन गर्न सक्नुहुनेछ । (प्रतिकूल अवस्थामा रही हुर्किएर पनि विलक्षण क्षमता प्रदर्शन गर्न सफल बालबालिकाहरुलाई विशेष प्राथमिकता दिइने छ ।)
आवेदन दिने अन्तिम मितिः
२०६७ असोज मसान्त
पुरस्कार घोषणा मितिः
मंसीर ५ (नोभेम्बर २०) अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा
पुरस्कार बितरणः
पुस ४ गते २०६७
पुरस्कार राशिः
जनही रु ५ हजार एक र सम्मान पत्र दुइ जनालाई । विशेष कार्यक्रम गरी प्रदान गरिदै आएको छ
आवेदन गर्दाः
विद्यालयको र सम्बन्धित संस्थाको सिफारिस, प्राप्त उपलब्धीहरुको प्रमाण पत्रहरुको फोटो कपि, फोटो दुइ प्रति, अन्य बालप्रतिभाको क्षमतावारे थप जानकारी लिन सहयोग मिल्ने सम्पूर्ण कागजातहरु पठाउनुपर्नेछ । शैक्षिक प्रोत्सान पुरस्कारका लागि असहाय, गरिबीको अवस्थामा रहेर पनि पढाइमा विलक्षण लोपोन्मुख जातिका बालबालिकाहरुका लागि सम्बन्धित संघसंसथा, विद्यालय र बालबालिकाहरु स्वयंले हामीलाई बालप्रतिभाको क्षमतावारे शैक्षिक प्रमाणपत्रको फोटोकपि र सिफारिसहरु पठाउँनु पर्नेछ । यो पुरस्कार लेखक घिमिरेले सिर्जना मन्चन र वाचन गरी च्यारिटी संकलन गरेको रकमबाट प्रदान गर्ने गरिएको छ । यस कोषबाट हालसम्म ३८ जना पुरस्कृत र २४ जना सम्मानित भइसक्नुभएको छ ।
स्थापनामा विशेष सहयोगः
यस कोषको स्थापनामा विशेष सहयोग विगत २४ वर्षदेखि शिक्षा क्षेत्रमा समर्पित शिक्षासेवी मोहनकुमार कार्कीले गर्नुभएको हो । उहाँ यस कोषका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
सिफारिस पठाउँने ठेगानाः
अध्यक्ष- मोहनकुमार कार्की, पो.ब.नं. २५८५९, काठमाडौं ।

Children's Story by Senior Writer Vinaya Kumar Kasajoo सेतो भूत

"ट्वाक, ट्वाक, ट्वाक" लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो । एउटा लाहाँचे बसेको थियो । तर उसले टोड्को बनाउन लागेको थिएन । तर ट्वाक, ट्वाक आवाज आउन छाडेन ।
उसले बारीको डिलतिर हेर्यो । अचम्म ! एक जना पुड्को मानिसले कान्लाको ढुंगामाथि केही कुरा फोर्न लागेको उसले देख्यो । कान्छाले जीवनमा त्यति सानो मानिस देखेको थिएन । त्यो मानिस खरायो जत्रो थियो । उसले सेतो लुगा लगाएको थियो । पहिले त उसलाई डर लाग्यो । तर अचानक उसले आफ्नो बज्यैले सुनाउँनुभएको सेतो भूतको कथा सम्झ्यो ।
सेतो भूतलाई कब्जामा लिन पाए उसले गाडेको धन भेट्टाइदिन्छ भन्ने कान्छाले सुनेको थियो । त्यो सानो मानिस पक्कै पनि सेतोभूत हुनुपर्छ भन्ने उसले ठान्यो । जीवनभरि अर्काको घरमा हलो जोतेर बसेको कान्छाले अचानक धनी हुने उपाय देख्यो । उसले त्यो सेतो भूतलाई समात्ने बिचार गर्यो ।
सेतो भूत एक सुरले ढुंगामाथि ओखर फोरिरहेको थियो । कान्छा चाल मारेर उसको नजिक आएको उसले पत्तै पाएन । कान्छाले अचानक त्यो भूतलाई च्याप्प समात्यो र भाग्ला भनेर बेस्सरी अँठ्यायो ।
"आम्मै ! के गरेको -" त्यो सेतो भूतले अत्तालिँदै सोध्यो ।
"लौ तैँले पैसा कहाँ गाडेको छस् ? भन् । नभनेसम्म तँलाई छाड्दिन ।" कान्छाले अरू कुरामा नअल्मलिई सेतो भूतलाई भन्यो ।
"ओ हो म निसास्सिएर मर्न लागेँ । अलि खुकुलोसँग त समात ।" सेतो भूतले भन्यो ।
"हात खुकुलो पारेँ भने त तँ भागिहाल्छस् नि । कुरामा नभुला । मलाई गाडेको धन देखा ।" कान्छालाई कहिले भूतले पैसा देखाइदेला भन्ने ध्याउन्ना थियो ।
भूतले नरम हुँदै भन्यो, "पहिले मलाई सास फेर्न त देऊ । म मरेँ भने तिमीलाई पैसाको ध्याम्पो कसले देखउँछ -"
"लौ त लौ । नभाग नि । ध्याम्पो कहाँ छ चाँडै भन् ।" कान्छाले हात अलि खुकुलो पार्दै भन्यो ।
"हामी सेतो भूतले एकपल्ट बोले पछि बोल्यो बोल्यो । हामीले मानिसले जस्तो कुरा फेर्न जान्दैनौँ । पहिले मलाई भुइँमा राखिदेऊ अनि पैसा गाडेको ठाउँ देखाइदिउँला ।" भूतको कुरामाथि कान्छालाई विश्वास लाग्यो ।
कान्छाले भूतलाई भुइँमा राखिदियो । भूतले आङ तन्काएर लामो सास फेर्यो अनि कान्छालाई भन्यो, "लौ हिँड मसँग । खोल्सा पारिको बनमा जाउँ ।"
सेतोभूतको पछिपछि लागेर कान्छा खोल्सामा पुग्यो । खोल्सामा सानो खोला बगिरहेको थियो । उसले भूतलाई हातमा बोकेर खोला तर्न सघायो । खोला तरेपछि उनीहरू अलिअलि उकालो हिँडदै बनतिर लागे ।
उनीहरु बनको माझमा पुगे । त्यहाँ पुगेपछि सेतोभूतले भन्यो, "लौ हामी धन गाडेको ठाउँमा आइपुग्यौँ ।" उसले एउटा रुखको फेँदतिर औँल्याउँदै भन्यो, "लौ यही रुखको मुन्तिर झण्डै पाँचहात तल सुनका मोहरले भरिएको एउटा ध्यम्पो छ । तिमी आफैले खनेर ध्याम्पो झिक्नुपर्छ ।"
सुनको मोहरले भरिएको ध्याम्पोको नजिक पुगेको थाहा पाएर कान्छा दंग पर्यो । उसले जतिसकेको चाँडो त्यो ध्याम्पो हात पार्ने बिचार गर्यो । तर ध्याम्पो पाँच हात तल थियो । त्यसलाई नखनी निकाल्न सकिँदैनथ्यो । तर कान्छासँग खन्ने औजार थिएन । उसले भूतसँग खन्ने कुरा माग्यो । तर भूतसँग पनि औजार थिएन ।
भूतले भन्यो, "तिमी घर गएर खन्ने औजार लिएर आए भइहाल्छ नि ।"
"ठीक कुरा गर्यौ । मैले औजार लिएर नआएसम्म तिमी यहीँ बसिराख है त ।" कान्छाले भन्यो ।
"अब म किन बसिराख्नु पर्छ र - तिमीले औजार लिएर आउ र खनेर लगे त भइहाल्यो नि ।" भूतले भन्यो ।
"तिम्रो कुरा त ठीक हो । तर म फेरि फर्केर आउँदा यही ठाउँ र यही रुख कसरी चिन्ने -" कान्छाले सोध्यो ।
भूतले हाँस्दै भन्यो, "यति सानो कामको लागि पनि म यहाँ बसिराख्नु पर्छ र ?"
"कसरी थाहा पाउने त ?" कान्छाले उत्सुक हुँदै सोध्यो ।
भूतले भन्यो, "तिमीले लाएको टोपी यो रुखको टुप्पामा राखेर जाऊ फर्कदा टाढैबाट रुख चिनिहाल्छौ नि ।"
कान्छालाई भूतको कुरा चित्त बुझ्यो । ऊ रुखमाथि चढ्यो र आफूले लाएको ढाकाटोपी फुकालेर सबैभन्दा अग्लो हाँगामा बाँध्यो ।
रुखबाट ओर्लेपछि उसले सेतो भूतलाई धन्यवाद दियो । खन्ने औजार लिन ऊ हतारिँदै घरतिर लाग्यो ।
घर पुगेर उसले चुच्चे, कोदोलो र साबेल लियो । पैसाको ध्याम्पो राख्नको लागि बोरा पनि लियो । ती सबै कुरा डोकामा राखेर ऊ हस्याङफस्याङ गर्दै बनतिर लाग्यो । बनको माझमा पुग्दा अँध्यारो हुन थालेको थियो । उसले आफ्नो ढाकाटोपी अडकाएको रुख खोज्यो ।
तर अचम्म ! उसले बनका सबै रुखका टुप्पामा एकएक वटा ढाकाटोपी झुण्डिएको देख्यो । असर्फीको ध्याम्पो गाडेको रुख अब कसरी चिन्ने ? कान्छा निराश भयो । "बदमास भूतले मलाई झुक्यायो" भन्दै ऊ थुचुक्क रुखको फेँदमा बस्यो । भूतलाई नछाडेको भए आफूले चिताए जति धनसम्पत्ति उसले दिन्थ्यो होला भनेर कान्छा पछुतायो ।
त्यही बेला रुखमाथि कोही खितितिति हाँसेजस्तो लाग्यो । उसलाई भूतसँग रिस उठेको थियो । पक्कै पनि रुखमाथि बसेर भूतले जिस्क्याएको होला भन्ने उसलाई लाग्यो । रिसको झोँकमा ऊ जुरुक्क उठ्यो र सकेसम्म बल गरेर रुख हल्लायो ।
रुख हल्लाउँदा भूत त झरेन तर रुखमाथि झुण्ड्याएको टोपी झर्यो । कान्छाले भुइँबाट टोपी टिप्यो र आफ्नो ढाकाटोपी हो कि होइन भनेर हेर्यो । उसको ढाकाटोपी मैलो थियो । तर त्यो ढाकाटोपी भर्खर दर्जीकहाँबाट ल्याएजस्तो नयाँ थियो । उसले त्यो टोपी आफ्नो खल्तीमा हाल्यो ।
आफ्नो टोपी पत्ता लगाउन पाए त ध्याम्पो गाडेको रुख पत्ता लागिहाल्छ भनेर कान्छाले वरिपरिको रुख हल्लाउँदै टोपी झार्न थाल्यो । झरेका टोपीहरू बटुल्दै उसले डोकामा राख्न थाल्यो । रात पर्यो । डोको पनि भरियो । तर कान्छाले आफ्नो टोपी फेला पारेन ।
रात छिप्पिएपछि उसलाई बनमा बस्न डर लाग्यो । भूतलाई मनमनै गाली गर्दै डोको भरि ढाकाटोपी लिएर कान्छा घर फक्र्यो ।
अचेल कान्छा बजारको चोकैमा ढाकाटोपी पसल राखेर बसेको छ ।
(प्राचीन आइरिस लोककथामा आधारित)

Wednesday, August 11, 2010

I have a very striking memoir that haunts me very often - by Mahesh Paudyal 'Prarambha'

Children are often more sensitive than the adults. Their world is of course soft and tender, but the gravity of thoughts and the seriousness abiding them, are often astonishing. I have a very striking memoir that haunts me very often.
It was a story class. Every class used to be a story class, I confess. I would even confess that I didn’t teach anything at all, save telling petty animal stories and fairy tales, keeping them confined for forty minutes and end up with a curious question so that the students would be ready to continue the next day. English, literature, grammar, usages… Ooph! Ghost would take care of all those things, I thought.
'Once there was a fat boy, as fat as Humpty Dumpty…' and there came a noise from the back seat. I would tolerate anything save noise in my class. I lost my temper and shouted at the gentle, lovely boy at the and, "You mote, what do you want?"
And that was the end of the story. How could I continue? I never thought that the words would touch the child so deeply. He stopped down and burst into torrents of tears. I tried to convince him that I did not mean it. But all my endeavors went in vain. It was the last period of the day and he continued till the end.
What pained me much was the fact that he was the first boy of the class and I liked him very much. He would often come very close to me and share personal things. He even remembered my birthday when everyone else did not care to remember.
I watched him board the micro van as the evening assembly ended. His eyes were red still and his sister sat near him, convincing. How he defended his position, God knows. I was speechless, full of sour guild and remorse. Curse me! Do I deserve teaching literature to children?
I had my quarter inside the school premises, and I would look after the hostel too. In the evening came rings after rings, enquiring who one 'Poudel' was and why he had abused their child. "Does he understand children's psychology?"
The next afternoon I entered the class, blank. There was no story inside me. Absence of stories meant absence of my every resource. I have confessed earlier that I knew nothing else to teach. Grammar, language, literature, usages… Oomph!
Sad, dark, somber and badly beaten, I stood staring at the back walls. I could not look straight on anyone's face. How could I? Why did not I perish the previous night?
"I am not feeling well. I cannot teach you anything today. Will you please keep quiet and study yourself?"
This would have been a welcome suggestion in science and mathematics classed which demand so much of concentration and exercise. But, story and postponement -- No! It was hard to agree. But no one dared to deny, for the looks on my eyes were not normal.
For a few minutes, there was a dead silence. I paid a squinted look at the boy. He was there, moving his eyes from one corner of the room to another.
When the silence grew too hostile to be reconciled with, he abruptly got up from his seat and started sobbing, "Sir, I … know w..hy you are ang…ry. Yeste…day te..le..phone. I am sorry, Sir!"
"But whey did you tell that to your parents, honey?"
"Because my eye we..we..were red and my my mother asked and I could could not no no not tell her lies and I told. I have have ne..ver told lie to my mo mo mother."
It was true. I strongly believe that he had never told life to his mother. In the school too, he had been award with the title "The Most Disciplined Student of the Year," not only once, but twice.
"But this evening, I will have to leave the school and go somewhere else. For more telephone calls are going to come. You have cried today as well, and your mother will ask you again. You can not tell lie today either. You should never tell lie. "
There were tears of course, but embedded deep in them was a thoughtful look, a serious contemplation and a sorry realization. I knew, I was completely on the wrong side, and he did not need to be sorry. He was perhaps sorry because his relation with his 'best teacher' was souring.
I studied his looks again. Out of this hardship, a crime that I had forced into his austerity, was germinating.
"I will tell lie today. Sir, I will tell her I have got severe headache."
His voice did not tremble this time. He was firm in committing a crime I had forced in him. He was ready to give his white soul an ugly dark blot, because that blot had come to him as a blessing from his 'teacher'.
I did not know what to say. Would he choose the greatest sin that he had never committed so far? Would he sell his discipline for the sake of a teacher? Perhaps he did. No telephone came that evening and no 'greater' student I have ever seen. His is great not because he told lie for me, but because, he had an ocean of respect for teachers.

Written by National Child Talent- 2003 Ms. Shlesma Chhetri, Bates College USA मेरो देश खै ?

मेरी श्रीमती प्रतिमा भुसक्क निदाएकी छिन् । निदाएकै बेला भएपनि उनको मुहारमा खुसी छल्केको मैले महसुस गरेको छु । अर्को ओछ्यानमा छोरा र छोरी पनि यस्तै सन्तुष्टि को निन्द्रामा मस्त छन् । घडीले पनि आफ्नो गतिलाई रोकेको छैन रातको एक बजाइसकेको छ । मलाई भने पटक्कै निन्द्रा लागेको छैन । मन यसै छट्पटाइ रहेको छ । यसो चारैतिर हेर्छु श्रीमतीले यात्राको लागि ठीक पारेका स-साना झोलाहरुले मलाई गिज्याइरहे जस्तो लाग्छ । यो मेरो बासस्थान जसलाई भूटानी सरणार्थी शिविर भन्छन् । यस शिविरमा मैले सत्रबर्ष बिताइसकेको छु । जसले मेरो उमेरलाई पनि यो भन्दा दोब्बर बनाएको छ ।

त्यो क्षणहरु मलाई कहिल्यै पुरानो लाग्दैन जहिले पनि हिजो जस्तै लाग्छ जतिबेलामा म मेरो जन्मस्थान भूटानमा थिएँ । बाबुआमाको एक्लो छोरो, खान लाउन दुःख थिएन । मायाको संसारमा हुर्कदै थिएँ । साथीहरुसंग पनि धेरै आत्मियता थियो अनि जीवनको बाल्यकाल रमाइलै रमाइलोमा बित्यो । मेरो सबैभन्दा मिल्ने साथी कर्मा साह्रै मिलनसार थियो । उसको घर र मेरो घर सँगै थियो हामीमा पारिवारिक मित्रता थियो । हामीले मनाएका हरेक खुशियालीमा हामी दुबैको उपस्थीति हुन्थ्यो । अनि सबैले हाम्रो मित्रतालाई उदाहरण दिन्थे । एकदिन भूटानमा भएको राजनितीक आँधिले हामी सबैलाई तहस नहस पारेर हामीलाई लखेटिन बाध्य बनायो । अनि हामीले गन्तब्यहीन यात्रामा भिरपाखामा गुडुल्किदैं भारतको बाटो हुँदै नेपालको पूर्वी भेगको झापाको खुल्ला ठाउँमा आएर सास फेर्यौं । भोक भोकैं दिन काट्यौं अनि आकाशको छतमुनि जीवनको ढुकढुकि साँच्यौं । विस्तारै विस्तारै हामी दयामायाको पात्र बन्यौ र प्राप्त भएका सहयोगबाट हाम्रा लागि स-साना टहराहरु निर्माण गरिए । त्यही टहरामा जीवन विताएको आज सत्रबर्ष बितेछ । यही हो हाम्रो सानो संसार जसलाई भूटानी सरणार्थी शिविर भनिन्छ । यो यही शिविर हो जहाँ मैले बाल्यकालपछिको समय विताएँ । अनि अभावै अभावको जिन्दगीमा सम्झौता गर्दै जीवनको गति अघि बढाइ रहें । मेरो आत्मीय मित्र कर्माको साथ त लखेटिएकै दिन छुटेको थियो । त्यसपछि शिविरमा आएको केही बर्षपछि पहिले आमाको माया खोसियो र केही समयको अन्तरमा पिताको माया पनि खोसियो । म त्यसै भौतारिरहेको थिएँ । एकजना साथीसँगको मित्रताको कारण म पनि बसको टिकट काउन्टरमा काम गर्न थालें । काम जस्तो भएपनि आफ्नै मेहेनतको कमाइ भएकोले आत्मसन्तुष्टि मिल्दै गयो । झापाकै केटीसँग विवाहपश्चात जिन्दगी राम्रै रहृयो । एक छोरी र एक छोरासहितको सानो परिवारको जीम्मेवारी निभाउँदै गएँ । त्यसरी नै समयको चक्र घुम्न थाल्यो ।
पटक पटक आफ्नो देश फर्किने आशामा आन्दोलनमा पनि नहोमिएको होइन म। एक पटक त ठूलै आन्दोलन भएर धेरै अगाडि बढियो तर मेची पुलमा पुगेपछि आन्दोलन रक्तपातपूर्ण बन्यो । त्यसबेलाको घाउँको खाटा भने अझैपनि राम्ररी पुरिएको छैन । त्यस्तैमा अर्को एउटा नयाँ कुराको थालनी भयो । भूटानी शरणर्थीहरुलाई पुनर्वासको लागि अन्तर्राष्ट्रिय आप्रवास संगठनमार्फत् अमेरिका लगिने । यो कुराले शिविरमा निकै हलचल ल्यायो । कसैले यसका राम्रा पक्षको बखान गर्न थालें भने कसैले नराम्रा पक्ष तर यस हलचलले पनि मेरो परिवारलाई अलग राख्न सकेन । मेरी श्रीमती प्रतिमाले मलाई जिद्दी गर्न लागि हामी पनि आवेदन हालौं भनेर । मलाई भने पटक्कै चासो थिएन । किनकि भित्री मनले मलाई मेरै जन्मस्थलमा जान मन थियो । ढिलो चाँडो जहिले भएपनि मर्नुभन्दा अगाडि । तर के गर्नु कहिलेकाँहि अरुको लागि चल्नु पर्दो रहेछ मैले सोचें मेरो इच्छा भन्दा मेरो परिवारको खुसी महत्वपूर्ण छ । अनि मैले नचाहदा नचाहदै भएपनि अमेरिकामा पुनर्वासको लागि दरखास्त हालें । मेरी श्रीमतीको चाहना अनुरुप नै सबै प्रक्रिया मिल्दै गयो । हामी स-परिवारको तीन पटकसम्म अर्न्तवार्ता भयो अनि हाम्रो यात्रा निश्चित भयो । मेरी श्रीमती धेरै खुसी देखिन थालिन् । उनी निक्कै व्यस्त हुन थालिन् । उनी अमेरिकामा भएका चिन्ने मान्छे खोजी खोजी सम्पर्क गरी त्यहाँको बारेमा आवश्यक कुराहरु संकलन गर्न थालिन् । अनि उनका आफन्तहरुसँग भेटघाटहरु बढ्न थाले । उनी धेरै मिठा मिठा सपना बुन्न थालिन् । कहिले काँहि छोरा छोरीलाई भन्ने गर्थिन्, "तेरा बाबु शरणार्थी भएपनि भाग्यमानी रहेछन् अमेरिका जान पाए" मलाई यस्तो सुन्दा जीवन शून्य बनेजस्तो लाग्दथ्यो अनि मनमनै भन्दथें अमेरिका भनेको क्या हो- जाने सहरको नाम साल्ट लेक सिटी भन्ने सुनिन्छ तर राम्ररी भाषा त बोल्न आउँदैन के काम गर्ने अनि यो बाँकी आधा उमेरलाई कसरी त्यहाँ समर्पित गर्ने फेरि सुनिन्छ हामी जस्तालाई शहरभन्दा टाढा गाउँमा लगिन्छ रे जहाँ हामीले आफ्नो नयाँ जीवनलाई सुरुआत गर्नु पर्छ रे आदि ।

हाम्रो जाने दिन जति नजिक हुन्थ्यो म त्यतिनै निरास हुन थालें । मलाई भने एक्लो भएको अनुभव भयो । हुन त म एक्लै थिएँ । न बाबु-आमा थिए । नत अभिन्न मित्र नै मेरो मनमा के छ बुझ्ने जमर्को कसलाई नै थियो र । मेरो अन्तरआत्माले भने अमेरिका होइन भूटान नै जान खोजिरहेको थियो । साँच्चै भनौं भने त्यो ठाउँ छोडेपछि बरु सत्र बर्ष बिताएको यही शिविरकव नै माया लाग्छ । किनिकि यहाँ म जस्तै भाग्यले ठगेका मेरा आफन्तहरु छन् । जोसँग रगतको नाता नभएता पनि आत्मियताको नाता गहिरो छ । जहाँ मैले मेरै भाषा बोल्न सक्छु अनि सबैको संस्कार एउटै छ ।

जे होस् समयसंगै चल्नै पर्यो मैले । आफ्नो इच्छाभन्दा समयलाई साथ दिए जस अनुरुप भोलि हामीलाई आईओएमको गाडीले भद्रपुर अनि त्यहाँबाट हवाइजहाज चढाएर काठमाडौं लग्दैछ । जहाँबाट हामी अमेरिका जाने हवाईजहाज चढ्नेछौं । त्यसैले त म रातभरि नसुति मेरा वितेका जीवनको स्मरण गर्दैछु अन्तिम क्षणमा ।

उज्यालो हुनै लाग्दा प्रतिमा उठिन् र छोराछोरी र मलाई उठाउँदै आज जानुपर्ने स्मरण गराउँदै हतार गर्न थालिन् । सबैजना जराक्क जुरुक्क उठेर तयारीमा जुटे । अनि वरपरका मानिसहरु जो हामीसँग जाँदै थिए सबैको शिविरमा मसिनो खलवली सुनियो । मेरा छोराछोरीहरु खुसी हुदै बाबा, हवाईजहाजमा कस्तो हुन्छ भनेर सोध्दै थिए । हाम्रा सामानहरु त हिजैं प्याक थिए । त्यसै निर्धारित समयमा हामी शिविरलाई अन्तिम विदाई गर्दै निस्कियौं । मेरा आखाँहरु रसाए कसैले देख्ला कि भन्दै मैले मुन्टो लुकाएँ र गाडीमा चढें । गाडीले आफ्नो गति बढायो भद्रपुर एअरपोर्ट जान तर मलाई भने उल्टो बाटो आएजस्तै लागिरहेको थियो । मनले भने भूटान नै फर्काइ रहेको थियो । मेरा आखाँहरु नथामिकन भेल बगाइरहेको थिए । मेरो देश छोडेर अर्को देश आएँ अब त्यो पनि छोडेर झन अर्को देश जाँदैछु सदाको लागि । आखिर मेरो जन्म थलो, कर्म थलो अनि मेरो परिचय गराउने देश कुन रहेछ त ? के म जीवनको अन्त्यसम्म पनि कुनै स्पष्ट जवाफ नपाई बाँचेको हुन्छु त ? यो कसलाई सोध्ने ? मेरा साथ दिने कोही त थिएनन् । तसर्थ गालाबाट बगिरहेका ती ताता र नूनिला आँसुका ढिक्काहरुलाई म प्रश्न गरिरहेको छु, मेरो देश खै ?
 (लेखिका क्षेत्री हाल Bates College अमेरिकामा स्नातक तहमा अध्ययनरत छिन् ।)

Monday, August 2, 2010

Childhood Days Memories of Senior Social Worker Prof. Dr. Achyut Mani Acharya प्राध्यापक डाक्टर अच्युतमणिको बाल्यकाल

प्रा.डा. अच्युतमणि आचार्य वरिष्ठ बालरोग विशेषज्ञ हुनुहुन्छ। उहाँ समाजसेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । आचार्यले बालहितकारी, चिकित्सा, शिक्षा र धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्न विभिन्न पुरस्कारहरुको पनि स्थापना गर्नुभएको छ। दुःखी गरीब बालबालिकाहरुलाई विभिन्न अनाथालमा गई निशुल्क उपचार गरिदिने र औषधीसमेत सहयोग गर्ने डा. आचार्य चिकित्सा क्षेत्रका आदरणीय व्यक्तित्व हुनुहुन्छ । यस अंकमा डा. आचार्यसँग उहाँको बाल्यकालका बारेमा कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकाल सुनाउँदै भन्नुहुन्छ :
म काठमाडौंको चावहिलमा वि.सं. १९९८ सालमा पिता विष्णुमणि र माता गोपी आचार्यको पुत्रका रुपमा जन्मिएको हुँ । म जन्मेको दुइ वर्षमा नै मेरो आमा बित्नुभयो । त्यसैले म मेरी हजुरआमासँगै खेल्दै, रमाउँदै र पढ्दै हुर्किएको हुँ । म सानो छँदा चाबहिल एउटा सानो गाउँ थियो । पशुपतिनाथको उत्तर-पश्चिम रुखै-रुख र मकैबारीले भरिएको हरियाली थियो । चाबहिल गणेशथानदेखि लिएर अहिलेको चाबहिल चोकसम्म भने सडकको दुबै छेउमा घर बजार थियो । त्यो चोकमा ठूलो खरीको बोट थियो । खरीको बोटमुनि दुइजना कपाल खौरने हजामहरु बस्दथे । उनीहरुले निकै दुखाएर कपाल खौरन्थे ।
त्यसबेला त्यो सानो गाउँमा पनि आवश्यक पर्ने कामका लागि सबै किसिमका कार्य गर्ने एक दुइ परिवार थिए । जसले गर्दा समुदायमा सजिलो हुन्थ्यो । चावहिलमा त्यहीका बासिन्दाले नै कपाल काट्ने, लुगा धुने, काठको काम गर्ने र इटा बनाउने, छाता बनाउने, जुत्ता बनाउने, लुगा सिउने, मासु काट्ने र भाँडा बनाउने लगायत हात हेर्ने र विरामी हेर्ने आदि जस्ता सबै काम गर्थे । सबै पेसाका मान्छेहरु हाम्रो समुदायमा थिए । जीवन सजिलो र रमाइलो थियो । कुनै काम परे हजुरआमाले फलानोको घरमा गएर भन न गर्दिहाल्छन् नि भन्नुहुन्थ्यो । पेट दुखे वैद्यकोमा जाने, लुगा च्यातिए दमिनी भाउजुकोमा जाने गर्थें । यसरी सबैजनाले मलाई जुनसुकै काम पर्दा सहयोग गर्थे । सहयोग गर्ने मानिसहरुले हाम्रो घरमा आएर चामल, मकै र पैसा लिएर जानुहुन्थ्यो । यसरी समाजमा मानिसहरु एक आपसमा मिलेर बसेका थिए ।
चाबहिल गाउँभरिका मान्छेहरुले एकअर्कालाई चिन्दथे । एक आपसमा मित्रता थियो । मलाई लाग्छ त्यतिबेलाको समाज एकदमै रमाइलो थियो । अलि ठूलो भएर म पद्मोदय स्कुल नजाउन्जेलसम्म सानै छँदा मेरी आमा बित्नुभएको कुराले मलाई केही पिर पारेको थिएन । त्यतिबेलासम्म पनि मलाई मेरो बुवा को हो भन्ने कुरा थाहा थिएन । किनकि मैले बुवालाई हेर्नै पाएको थिइन । म सँधै हजुरआमाको वरिपरि नै घुमिरहेको हुन्थें ।
मेरी हजुरआमा कलिलै उमेरमा विधवा हुनुभएको थियो । उहाँको संसार भनेको नै गौरीघाट, गुहेश्वरी र पशुपति नै थियो । उहाँ विहान चारबजे रुमाल धोती लिएर गौरीघाटमा नुहाउन जानुहुन्थ्यो । उहाँले सधै मलाई विहान चार बजे उठाएर जाने बेलामा ढोका लगाएर बस् है बाबु भन्नुहुन्थ्यो । म उठ्न अल्छी गरें भने उहाँले मलाई संस्कृतको काग चेस्टा स्वान निन्धा भन्ने श्लोकको गीत गाएर उठाउनुहुन्थ्यो । हजुरआमा बिहान उठेर अँध्यारोमा हिड्नुभएको म टुलुटुलु हेरिरहन्थे । उहाँ अँध्यारोमा नदेखिने हुनुभएपछि म ढोका बन्द गरेर कहिले पढ्थें भने कहिले भुसुक्कै निदाउँथें । म सुतें भने चाहिं मेरी दिदीले दिउँसो हजुरआमालाई सुटुक्क पोल लाइदिन्थिन् । त्यसैले म धेरै जसो विहान उठेर पढ्ने गर्थे । अहिले पनि बिहान उठेर पढ्दा मलाई मज्जा लाग्छ ।
हाम्रो घरमा जोडिएको आधा घर पल्लापट्टी बाजे र बज्यैको घर थियो । उहाँहरु मेरो हजुरआमाको जेठाजु जेठानी रे । तर, मलाई आफ्नै बाजे बज्यै जस्तो गरी माया गर्दथे । किनकि उहाँहरु मलाई सम्झनाको लागि बारबार आमा नभएको टुहुरो र बाबुले पनि अर्की बिहे गरेपछि बनेको अनाथको रुपमा हेर्नुहुन्थ्यो र माया दर्शाउँनुहुन्थ्यो । हुन पनि हाम्रो घरमा मलाई सुत्ने-पढ्ने कोठा थिएन । हजुरआमालाई थकाई लागेको दिन वा फूपु माइत बस्न आएको बेला मलाई शरण दिने काम पल्लापट्टी बाजे-बज्यैको नै थियो । यसैकारण मेरो सानो बेला वल्लो घर कि पल्लो घर थियो । वास्तवमा खाने बस्ने ठेगान थिएन । जत्ता गए पनि भयो । जसको नाति भइदिए पनि भयो । पल्लापट्टी बाजे बज्यैको छोराछोरी कोही नभएकाले मलाई पाल्दा केटाकेटी पाल्ने उहाँहरुको रहर केही हदसम्म पूरा भएको अनुभूति गर्नुहुन्थ्यो होला । उहाँहरुको संर्सगले मलाई पनि फाइदै पुगेको थियो । केटाकेटी अवस्थामा काम गर्नेसँग चिसो छिडीमा सुत्न पनि परेन । भोको बस्न पनि परेन । सबभन्दा ठूलो फाइदा भनेको मेरो मन किताब र अध्ययनतिर गयो । किनभने पल्लापट्टी बाजे दरबार हाई स्कुलमा वेदको पण्डित अध्यापक हुनुहुन्थ्यो । उहाँका धेरै पुस्तकहरु थिए र धेरै चेलाहरु पनि थिए । यसैले पनि होला मलाई पनि पढ्ने र पढाउने पट्टी अभिरुचि बढ्यो र म प्राध्यापक पनि बन्न सकें ।
मेरो पहिलो विद्यालय पशुपति गौशालाको सत्तल हो । मेरो कक्षा चाहीं भन्डारखाल पट्टी थियो । म सँगै पढ्ने साथीमा मेरी दिदी र अर्का साथी निबु ढुंगाना थिए । अरु साथीलाइ मैले याद गर्न सकिन । निबु अहिले क्यानडामा छन् ।
त्यो विद्यालयमा विहान जान त गइन्थ्यो । बेलुका वा दिउसो आउन परे नसकिने । बनकालीको जंगल अँध्यारो थियो । दिउसै काग कराइरहन्थे र कोही पनि एक्लै दुक्लै गौशालाबाट चावहिल आउँदैनथे, पत्याउनुहुन्छ ? यो सत्य हो । यसैकारण दोस्रो वर्षमा म स्कुल सरें । कुटुबहाल लामपोखरी चावहिलको विनायक स्कुलमा । यो स्कुलमा मैले तीनवर्ष बिताएँ । जुन कक्षामा पनि पहिलो-पहिलो भएकाले त्यस स्कुलको हेडमास्टरको सिफारिसमा म मेरो अन्तिम स्कुल पुतलीसडकको पद्मोदय हाइस्कुलमा भर्ना हुन पुगें । त्यसबेला काठमाडौंमा दरवार स्कुल, जुद्धोदय र पद्मोदय मात्र हाईस्कुल थिए । चावहिलको गाउँबाट शहरमा पढ्न आउने भनेको भाग्यै थियो । उतिबेला मोटर, बस, रिक्सा आदि थिएनन् ।
मोहन शमशेर महाराज सिंह दरबारमा बस्नुहुन्थ्यो । हामी उहाँको ढोका अगाडि जान पाउँदैनथ्यौ । दरवार हेर्न पाइदैनथ्यो । पुतलीसडकबाट थापाथली जानलाई महाराजको बाटो मुनि सुरुङ जस्तो बनाइएको थियो । जहाँबाट हामी हिड्ने गर्दथ्यौ । त्यो बेला तीन चारवटा गाडी मात्र थिए । सबैजना गाडी हेर्न र गाडीको धुवा खान सडकमा कुदाकुद गर्थे ।
एक वर्ष पद्मोदयमा बिताउँदा नबिताउँदै २००९ साल आयो । त्यसपछि धेरै परिवर्तन आयो । हामीले राजा हिड्ने बाटोमा हिड्न मात्रै पाएनौ । राजा सुत्ने खोपी पनि हेर्न जान पायौं । राजा त्रिभुवनले सिंहदरबार हेर्न र्सवसाधारणलाई खुल्ला गरिदिए । पद्मोदयका विद्यार्थी सबैले एसियाको सबैभन्दा ठूलो घर, चोक, बगैचा चहारे र संसारकै सबैभन्दा ठूलो परेड ग्राउण्ड टुडिखेलमा दौडन पुगे । टुडिखेल पनि दुइवटा थिए । ठूलो टुडिखेल रानीपोखरीदेखि अहिलेको रंगशालाको उत्तरपट्टीको बारसम्म र सानो टुडिखेल डाँडामुनि कमलको फूल फुल्ने पोखरीदेखि त्रिपुरेश्वरसम्म । त्यसबेला बिहान नौ बजे भात खाई हिड्दै पद्मोदय स्कुल आएका केटाकेटी साँझ छ बजेसम्म फुटबल खेली सानो टुडिखेलबाट हिड्दै बेलुका सातबजे चावहिल घर पुग्दथ्यौ । त्यसरी खेलेको र हिडेको कारणले होला आज ६८ वर्ष लाग्ने बेलातिर पनि मेरा खुट्टा बलिया छन् ।
यसरी मैले जीवनमा थुप्रै दुःख गरेर पढें । डाक्टर बन्न पनि सफल भएँ । तर मलाई आजकल के लाग्छ भने मान्छे जो जे-जे बने पनि, जुन पेशामा लागे पनि, साँच्चैको सुख पाउँन त दिनदुःखी मान्छेहरुको नै सेवा गर्नुपर्ने रहेछ । त्यसमा नै भगवानको पूजा र जीवनको ठूलो सुख लुकेको हुँदोरहेछ । अहिले म त्यही सुख भोगिरहेको छु ।

Thursday, July 29, 2010

Children's Poetry by Senior Writer Boond Rana गुजी पाएँ ! - वरिष्ठ लेखक बूँद राना

अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले
के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले
आज फेरि भन्नु भयो सम्झाउँदै राती

'आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !'

गुजी हेर्ने रहर थियो नदेखेको कैल्यै
एक टुक्रा दियालोको झोसें आगो मैले
चुपचाप चोर-चाल आँटीमाथि पुगें
सोलीभरि सेल देखी बल्ल कुरा बुझें
यौटा सेल टिपी दौडी बज्यैछेउ आएँ
हाँस्तै भनें- 'इ बज्यै ! मैले गुजी पाएँ !'
Email: boondrana@yahoo.com

Children's Play by Krishna Shaha 'Yatri' हारुनको मुरली

स्थान -  कुनै मन्दिर परिसर ।
समय – बिहान ।
पात्रहरु:
हारुन अली एक दृष्टिविहीन बालक/मुरलीवादक, वर्ष १३

सानी कक्षा ५ मा पढ्ने एक बालिका, वर्ष ११

रामु कक्षा ६ मा पढ्ने एक बालक, वर्ष १२

डेबिड कक्षा ६ मा पढ्ने एक बालक, वर्ष १२

अङ्कल रामु र डेबिडको अङ्कल/सङ्गीतकार, वर्ष ४५
(एउटा पुरानो खालको मन्दिर देखिन्छ । मानिसहरू ओहोरदोहोर गरिरहेका हुन्छन् । मन्दिरको अगाडि एकजना बालक हारुन अली मुरली बजाइरहेका हुन्छन् । हारुन दुवै आँखा देख्दैनन् । उनी जन्मजात दृष्टिविहीन हुन् । केही मानिस मुरलीको धून ध्यान दिएर सुनिरहेका हुन्छन् । नजिकै सानी फूल बेचिरहेकी हुन्छिन् ।)
सानी: ल आउनुस् हजुर ! बीस रुपैयाँमा फूल, अछेता र प्रसाद लैजानुहोस् । आउनुहोस् । फूल लगेपछि सित्तैमा जुत्तासमेत हेरिदिन्छौँ । ल आउनुहोस् हजुर । ताजा, सफा र सुन्दर फूल लैजानुहोस् ।
(त्यसैबेला रामु र डेबिड आफ्ना अङ्कलसित घुम्न आएका हुन्छन् ।)
रामु: अङ्कल ! अङ्कल ! मलाई त्यो रातो गुलाफको फूल मनपर्छ । किनिदिनुहोस् न ।
डेबिड: अनि मलाई ऊ त्यो लालीगुँरास मन पर्यो । किनिदिनुहोस् न ।

अङ्कल: ए..., तिमीहरूलाई फूल मन पर्यो ? पर्ख है त ।

(अङ्कलसँगै रामु र डेबिड पनि सानी नजिक जान्छन् ।)

अङ्कल: नानी ! ऊ त्यो गुलाफ र लालीगुँरासको कति पर्छ ?

सानी: खै कति भन्ने अङ्कल । त्यति मात्रै फूल लाने भए आफैँ मिलाएर दिनुहोस् न ।
अङ्कल: ल त्यसो भए दस रुपैयाँ दिन्छु, है त ?

सानी : हवस् ।
(सानी गुलाफ र लालीगुँरास दिन्छिन् । रामु र डेबिड खुसी हुँदै फूल लिन्छन् ।)

अङ्कल: (सानीलाई) नानी तिमी पढ्न जादिनौ ?
सानी : जान्छु नि अङ्कल । म तीन कक्षामा पढ्छु । स्कुल बिदाको दिन म यो पसलमा बसेर आमालाई पालो दिन्छु नि ।

रामु: तिम्रो नाम के हो ?

सानी: मेरो नाम सानी हो ।

रामु: सानी ! अनि तिमी कतिबेला होमवर्क गर्र्छौ नि ?

सानी: म पसलबाट फर्किएपछि होमवर्क गर्छु ।
डेबिड: (जिब्रो निकाल्दै) आम्मा ! पसलमा काम गर्दा त थाकिन्छ नि । अनि होमवर्क गर्न अल्छी लाग्दैन ?
सानी: आफ्नो काम गर्न कहिल्यै अल्छि मान्नुहुँदैन ।
अङ्कल: आहा ! सानीले कति राम्रो कुरा गरिन् । देख्यौ त रामु । सानी कति मिहिनेती छिन् ।
सानी: अङ्कल, मभन्दा झन् हारुन दाइ निक्कै मिहिनेती हुनुहुन्छ ।
रामु:  हारुन, को हारुन ?
सानी: हारुन अली दाइ क्या त । (हातले इशारा गर्दै) ऊ पर मुरली बजाउने । उहाँ मुरली निक्कै मीठो बजाउनुहुन्छ । के तपाईंहरू हारुन दाइसँग परिचय गर्न चाहनुहुन्छ ?
अङ्कल: हुन्छ नि सानी ।
सानी: ल त्यसो भए मसँग आउनुस् । (नजिकैको साथीलाई) मीना ! मेरो फूल पनि हेरिदेऊ ल । म उहाँहरुलाई हारुन दाइकोमा पुर्याएर आइहाल्छु ।

(चारैजना हारुन भए ठाउँमा आउँछन् ।)

सानी: हारुन दाइ !
हारुन: (सम्हालिँदै) को ? सानी ?
सानी: हो, हारुन दाइ, तपाईंको मुरली सुन्न एकजना अङ्कल र साना साथीहरु आउनुभएको छ ।
हारुन:  ए हो ?
अङ्कल: हो नि हारुन बाबु । सानीले खुबै प्रशंसा गरिन् । नसुनी मनले मान्दै मानेन । ल सुनौँ न त, तपाइको मुरलीको धून ।
हारुन: अनि कतिजना ?  को को हुनुहुन्छ नि ?
रामु: म रामु र मसँगै डेबिड पनि छ । मलाई पनि मुरली बजाउन मनपर्छ तर जान्दै जान्दिनँ । स्कुलमा कृष्ण सरले बजाउन सिकाउनुहुन्छ । हैन त डेबिड ?
डेबिड: हो नि ।
सानी : ल त्यसो भए तपाईंहरु सुन्दै गर्नुहोस् । म पसल पुगेर आउँछु है ।
अङ्कल : हुन्छ, हुन्छ ।
(हारुन मुरली बजाउन थाल्छ । सबैजना ध्यान दिएर सुन्न थाल्छन् । उनले मुरली बजाएको सुनेर सबै दङ्ग पर्छन् । हारुनले मुरली बजाउन छाडेर विश्राम लिन्छन् ।)
हारुन: अनि कस्तो लाग्यो त मेरो मुरलीको धून ?
अङ्कल: बाबु ! तिमीभित्र एउटा ठूलो कलाकार लुकेको रहेछ ।
हारुन: धन्यवाद अङ्कल ।
अङ्कल: हारुन ! तिमीलाई यो मुरली बजाउन कसले सिकाएको हो ?
हारुन: मेरो बुबाले सिकाउनुभएको हो अङ्कल ।
अङ्कल: अनि तिम्रो बुबा कहाँ हुनुहुन्छ त ?
(अचानक हारुनको गला अवरुद्ध हुन्छ । आँखाको डिलमा आँसु देखिन्छ । हारुन केही बोल्न खोज्छ, तर सक्दैन । सानी आइपुग्छिन् ।)
सानी: ल, फेरि तपाईंले पनि हारुनदाइको बुबाको कुरा कोट्याउनुभयो कि क्या हो ?
अङ्कल: हो सानी । मैले सोधेको मात्र के थिएँ, हारुन त रुन पो थाले ।
सानी:  नसोधेकै भए बेस हुन्थ्यो ।
अङ्कल :  किन र सानी ?
सानी : हारुन दाइको बुबालाई पोहोर साल गाडीले ठक्कर दिएर मारेको हो । त्यो घटनाले गर्दा हारुन दाइले निकै दिन केही खानुभएन । बिरामी पनि पर्नुभयो । यो कुरा गर्यो कि उहाँको गला नै रोकिन्छ ।
अङ्कल: ओहो । साह्रै नराम्रो घटना घटेछ । म अब सोध्दिनँ । यो सुनेर मलाई दुःख लाग्यो ।
हारुन: भयो अङ्कल । अब त मैले पनि बिर्सिसकें । यो दुःखीको सानैमा आमा बित्नु भयो । एक मात्र सहारा बुबालाई पनि कालले चाँडै लग्यो । अब त बाँच्ने सहारा यो मुरली मात्र बनेको छ । धन्न सानीजस्ता साथीहरू पाएको छु र यो संसार रमाइलो लाग्छ ।
अङ्कल: हारुन ! तिमी सङ्गीत सिक्न र पढ्न चाहन्छौ ?
हारुन: पढ्न पाए किन नपढ्नु नि । तर, ती सबै सपना हुन् मेरा लागि ।
रामु: सानी, हाम्रो अङ्कल पनि राम्रो सङ्गीतकार हुनुहुन्छ । उहाँले धेरै गीत पनि गाउनुभएको छ ।
हारुन: ए हो र ?
डेबिड: हो नि । अनि अङ्कल एउटा सङ्गीत विद्यालयमा पढाउनु पनि हुन्छ ।
हारुन: हो अङ्कल ?
अङ्कल: हो हारुन । मैले तिम्रो प्रतिभालाई नियालिरहेको थिएँ धेरै दिनदेखि । आज बल्ल नजिकबाट बुझ्न पाएँ । के तिमी सङ्गीत विद्यालयमा पढ्न चाहन्छौ ?
हारुन: तर म कसरी पढ्न सक्छु र ? पढ्ने पैसा कसले दिन्छ मलाई ?
अङ्कल: हारुन ! तिमीजस्तै असहाय तर प्रतिभाशाली बालबालिकाहरुका निम्ति छात्रवृत्तिको समेत हामीले व्यवस्था गरेका छौं । म त्यो पाठशालाको प्रिन्सिपल पनि हुँ । तिमीलाई पढ्ने, बस्ने र खाने व्यवस्था म मिलाई दिन्छु हारुन । तिमी मसँग हिँड । तिमी भविष्यमा एउटा राम्रो कलाकार बन्नुपर्छ ।
सानी:  के साँच्चै हो ? त्यसो भए हारुनदाइले पनि पढ्न पाउने हुनुभयो ?

अङ्कल:  हो, सानी । अब हारुन पनि स्कुल जानेछन् ।

रामु/डेबिड: आहा ! अब हारुन पनि स्कुल जाने !
(सबैको अनुहारमा खुशी छाउँछ । हारुनलाई बिस्तारै सबैले उठाउँछन् ।)
हारुन: अङ्कल । मलाई अझै विश्वास लागेको छैन । के म स्कुल पढ्न सक्नेछु ?
अङ्कल: हारुन । तिमीले आँखाले हेर्न नसक्दैमा हरेस खानुहुँदैन । अवसर पाएको खण्डमा तिमीले जे पनि गर्न सक्छौ । हाम्रै मुलुकमा पनि थुप्रै नाम कहलिएका दृष्टिविहीन गायक-गायिका तथा सङ्गीतकारहरु छन् । ल हिँड, जाऊ अब ... ।
हारुन: अङ्कल ! तपाईंलाई धेरै धेरै धन्यवाद ।
अङ्कल: धन्यवाद मलाई हैन, तिम्रो मुरलीलाई दिनुपर्छ । जसले हामी सबैको मन तान्न सक्यो । कि कसो सानी ?
सानी: (सुँक्क-सुँक्क गर्दै) हो नि अङ्कल । हारुन दाइ यहाँबाट गएपछि मलाई नबिर्सनुस् है ? अनि जानुभन्दा अघि अन्तिमपटक मुरली बजाइदिनुस् न ल ।
हारुन: सानी, के भनेकी ? तिमी त मेरी प्यारी बैनी हौ । म बिर्सन्नँ । (सानीको मुहार हातले छुन्छ ।) सानी तिमी रोएकी ? के तिमी खुसी छैनौ ?
सानी: (आँसु पुछ्दै) होइन हारुन दाइ । म त असाध्यै खुसी छु । खुसीले पो रोएकी । अब अरु नरुवाउनोस् है । ... हारुन दाइ ! जानुअघि एकपटक मुरली बजाएर मात्र जानुस् है । अनि पढेर ठूलो मान्छे हुनुस् ।
(सानीको कुराले सबै स्तब्ध हुन्छन् । हारुनले मुरलीलाई चुम्छ र बजाउन थाल्छ । मीठो धूनमा सबैजना आनन्दित हुन्छन् । पर्दा बिस्तारै खस्छ ।)
For feedback Email: krishnayatri@gmail.com

Tuesday, July 27, 2010

Childhood Days Memories of Senior Writer Shreeom Rodan श्रीओम रोदनको बाल्यकालको कथा

श्रीओम श्रेष्ठ रोदन वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँले नेपाली साहित्यको निवन्ध, लघुकथा, नियात्रा लेखन र सम्पादनका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ । नेपाली साहित्यको राष्ट्रिय पत्रिका मधुपर्कका सम्पादकसमेत रहनुभएका रोदनले साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि उल्लेख्य योगदान गरिरहनुभएको छ ।
यस अंकमा हामीले यिनै मिलनसार, मायालु र सह्रदयी वरिष्ठ लेखक रोदनको बाल्यकालका सम्झनाहरु प्रस्तुत गरेका छौं । उहाँ आफ्नो सम्झना सुनाउँदै भन्नुहुन्छ :
म वि.सं. २०१९ साल लक्ष्मी पूजाको दिन ललितपुरको झम्सीखेलमा जन्मिएको हुँ । म बुवा शिवप्रसाद र आमा दिलकुमारीको माइलो छोरा हुँ । म एउटा साधारण परिवारमा जन्मिएको हुँ । मेरो परिवारमा सातजना हुनुहुन्छ । चारजना दाजुभाइ र एउटी दिदी अनि बुवाआमा हुनुहुन्छ ।
पाँचजना छोराछोरी एउटा बुवाको जगिरले पालिन हामीलाई त्यो बेला गाह्रो थियो । त्यही भएर होला हामी पाँचै जना छोराछोरीले बोर्डिङ स्कुलमा पढ्न पाएनौं । मैले घर नजिकै सानेपामा रहेको टीकाविद्याश्रम स्कुलमा पढें । मेरो औपचारिक शिक्षा त्यो विद्यालयबाट सुरु भए पनि बुवाको जागिरको कारणले गर्दा कहिले भद्रपुर, कहिले बिराटनगर, कहिले जनकपुर, कहिले बीरगन्ज आदि ठाउँमा पुगेर मैले विद्यालय फेरी-फेरी पढें ।
त्यो बेला बुवा नेसनल ट्रेडिङमा काम गर्नुहुन्थ्यो । त्यसो भएको हुनाले धेरैवटा विद्यालयमा पढ्दा पनि म एक कक्षाको एक कक्षामै रहेको अनुभव पनि मैले गरेको थिएँ । किनकि त्यो बेला बुवाको एक वर्षभत्रै तीन चारवटा ठाउँमा सरुवा हुने भएर मेरो पढाइ त्यस्तो भएको थियो । यसरी घुमेर पढ्न पाएकोमध्ये मलाई जनकपुरको गंगाधाममा रहेको विद्यालयमा पढेको याद अझै पनि आउँछ । त्यो विद्यालय एउटा पाटीमा चलाइएको थियो । पाटीमा माथि छत त थियो तर दायाँ बायाँ सबै खुला थियो । त्यही बसेर हामी पढ्थ्यौं । पढ्ने पाटी छेउमै गंगा सागर नाम गरेको ठूलो पोखरी थियो । त्यो बेला हामी सिलेटमा लेख्दै पढ्थ्यौं । कहिलेकाही सिलेट धेरै फोहोर भयो त्यही छेउको पोखरीमा चप्लङ् चोपेर सफा गर्ने गर्दथ्यौं ।
म स्कुल पढेदेखि नै पसलमा बस्ने गरेको थिएँ । बुवाले जागिर खाएको पैसाले मात्र परिवार धान्न गाह्रो भएपछि हामीले पसल खोलेका थियौं । मैले स्नातक बी.ए.सम्म पढुन्जेल पनि पसलमा धेरै समय दिएँ । त्यो बेला पसलको लागि सामान साइकलमा राखेर ल्याउँदा साथीहरुले देख्दा मलाई नमज्जा पनि लाग्थ्यो । के सोचे होलान् भन्ने पनि सोच्थें । तर म आफ्नो काम आफै गर्नर्ुपर्छ भन्ने स्वभावको मान्छे थिएँ । आफू जस्तो छु त्यो सत्य कुरा साथीहरुबाट लुकाउँन मलाई मन पनि लागेन । यही कारणले गर्दा पढाइमा पनि खट्ने र पसलमा पनि खट्ने मेरो बानी बस्यो । मेरो यो बानीलाई साथीहरुले पनि मनपराएको मैले अनुभव गरेको छु ।
मेरो विद्यालय र कलेज जीवनमा म अतिरिक्त क्रियाकलापमा चर्चित विद्यार्थी थिएँ । कथा, कविता लेख्ने र नाटक खेल्ने भएकाले सबै विद्यार्थीहरुले मलाई चिन्थे । म स्कुल र कलेज जीवनमा त हिरो नै थिएँ । केटी साथीहरु पनि थुप्रै थिए । सबैको माझमा म प्रीय प्यारो पनि थिएँ ।
वास्तवमा त्यो बेला मैले धेरै दुःख गरेर पढेको हुँ । मैले कक्षा एकदेखि स्नात्तकोत्तर एम.ए.सम्मको पढाइ नै दुःख गरेर पूरा गरेको हुँ । मेरो परिवारका सबै जनाले मैले जस्तै दुःख गरेर पढेका हुन् । दुःख गरेर परिश्रम गरेर भएपनि पढ्यो भने राम्रो हुँदोरहेछ भन्ने कुराको गतिलो पाठ मेरो जीवनले नै मलाई सिकाएको छ जस्तो मलाई लाग्छ ।

Children's Story by Bidhya Sapkota 'Nirjala' पारु

'छि ! मलाई त योसँग बोल्न पनि मन लाग्दैन ।'


'हो भन्या हेर न सधैं टासिँन आउछे ।'                                 

'कत्ति न जान्ने भएर बोलिरा'की हुन्छे फेरी ……………'

रमिला ,कोपिला र उत्तम कक्षामा खासखुस गरिरहेका थिए । अलिपर सरितासँग बसिरहेकी पारु बडो मायालाग्दो अनुहार पारेर यताउता हेरिरहेकी थिई । कक्षामा उसलाई पढ्न पनि मन लाग्दैनथ्यो । सर मिसले पनि वास्तै नगरेजस्तो कस्तो कस्तो लागिरहन्थ्यो । ऊ हरेक दिन निहाउरिदैं स्कूल पुग्थी अनि त्यस्तै गरेर घर फर्किन्थी ।
घरमा पनि खासै वोल्दिनथी । मलाई केही खान मनछैन फन्फनिदै हिड्थी ।
आमाले माया गरेर खाजा दिइसकेपछि भन्थी -'म भोलिदेखी स्कूल जान्न्न हैं'
'पढेर आउदा पनि तँ किन ठूलै मेलो जितेर आएजस्तो गर्छेस् नानु, स्कूल नजाने भन्ने पनि हुन्छ पढ्न जान परि गो नि ।' आमा हर्कानुहन्थ्यो ।
जान्न भनेपछि जान्न के………। ऊ भूतभुताउदै निस्कन्थी । कहाँ जान्थी आमालाई पत्तै हुनैनथ्यो । सुरेश आले र कमली उसैलाई पर्खैर बसिरहेका हुन्थे । उनीहरु गुच्चा खेल्थे । घण्टौ बालुवामा लडिबुडी गर्थे अनि अवेर फर्कन्थे ।
घर फर्कदा बुबा पनि कामबाट फर्किसक्नुभएको हुन्थ्यो ।
कहाँ गएकी पारु अहिलेसम्म ?

हेर गति………।

होमवर्क पनि गर्नु पर्दैन ?

ऊ नसुने झैं गर्थी । जव आमाले बुबाको कुरामा हा मा हा मिलाउनुहन्थ्यो अनि ऊ रुन थाल्थी ।
कोही मेरो कुरै बुझ्दैनन् । मलाई हामवर्क सोमवर्क गर्नुछैन । म स्कूल जान्न । त्यास्तो जावो स्कूल । बरु म त कमलीहरुसँगै खेल्छु । एकैसासमा भनिभ्याउथी ऊ ।
हरेक दिन रडाको मच्चाएर स्कूल पठाउनुपर्थ्यो । पारुको पारा देखेर आमा दिक्क भैसक्नुभएको थियो । त्यस्तैमा जाडो विदाको बेला पारेर शहरमा पढ्ने दाजु घर आउनुभयो । दाजु आएपछि त झन् पारु उग्र देखिई । विद्यालय जान पटक्कै मानिन ।
पहिला-पहिला स्कूल जान भनेपछि फुर्किएर दौडने आफ्नी बहिनीको बदलिदों रुप देखेर दाजु छक्क पर्नुभयो । उहाँलाइ लाग्यो गाली गरेर यो मान्नेवाला छैन तर किन जान मानिन यो चाहिं पत्ता लगाउनुपर्यो ।
होस् मेरी नानु स्कूल जान्न मसँग घुम्न जान्छे । आमालाई इशाराले चूप हुन सिकाउदै मायालु आवाजमा दाजु बोल्नुभयो ।
स्कूलकै वाटो भएर हिड्दा पारुका साथीहरु खेलीरहेका थिएँ तर कसैले पनि बहिनीलाई वास्तै नगरेको देखेर उहाँलाई नराम्रो लाथ्यो ।
भोलिपल्ट शनिबारको दिन थियो । दाजुबहिनी नुहाइधुवाइ गर्न भनेर खोलातिर गएँ । फर्केपछि दाजुले उसको कपाल कोरिदिन खोज्नुभयो ।
'वाफरे ! टाउकोमा त जुम्राले गुँडै लगाइसकेछ । आमा के हो यो यसको तपाई ख्यालै गर्नुहुन्न कि के हो ?'दाजु कराउनुभयो ।
'घरधन्दा भन्यो के भन्यो म भ्याउदै भ्याउन्न । फेरी यो पनि त कहाँ सानी छे र दश वर्षकी भैसकी कपाल कोर्न सक्दिन र ?'
'पुल्पुलिएकी कहीकी, लगा न चड्कन ।' आमा उल्टै रिसाउनु पो भयो ।
दाजुले तेल लगाएर विस्तारै उसको कपाल कोरिदिनुभयो ।
'कत्ति फोहरी नानु तँ तलाई यो जुम्राले डोरी लगाएर रुखमा झुण्ड्याउने वेला भैसकेछ । अवदेखी म तलाई नानु हैन जुम्री भनेर बोलाउछु हैं ।' उहाँले जिस्क्याउदै भन्नुभयो ।
पारु कालेनीलो भएर रुन लागी । 'मलाई कोही पनि मन पर्दैन मलाई कसैले पनि माया गर्दैन । म घरमा पनि बस्दिन स्कूल पनि जान्न । कमली र सुरेशकहाँ बस्छु
'ऊ रिसाएर हिड्न खोजी ।
'अरे ! मेरी नानु मैले त जिस्क्याएको पो त । नरिसाऊ हिड बजार जाऊ
' दाजुले बल्लबल्ल उसलाई मनाउनु भयो ।
आइतबारको दिन दाजु पनि सँगै बस्ने शर्तमा पारु स्कूल गई । साच्चै नै पारु त्याहा एक्लीएकी रहिछ । उसका त साथी नै रहेनछन् ।
दाजुले बच्चाहरुको खासखुस् गरेको सुन्नुभयो 'आज त्यो जुम्रीसँग को आएछ ?'
आफ्नी बहिनी फोहरी भएकैले सबैले हेला गर्दा रहेछन् भन्ने थाहा पाएर उहाँलाई दुख लाथ्यो र मनमनै प्रण गर्नुभयो म मेरी नानुलाईं सफा चंचल मिहिनेती र अरुभन्दा अझ प्यारी बनाएरै छाड्नेछु ।
दाजु आएपछिका दिन उसलाई रमाइलो लाग्न थालेको थियो । उहाँ उसको राम्रो ख्याल गर्नुहुन्थ्यो । होमवर्क सिकाइदिनुहुन्थ्यो । आफैंले विद्यालयको लागि तयार गरेर पुर्याइदिनुहुन्थ्यो । अनि फुस्रदमा घुमाउनु हुन्थ्यो मीठोमीठो कथा सुनाउनुहन्थ्यो ।
साँच्चै केहीदिन मै पारु हसिलीखुसिली देखिई । कहिल्यै पाठ नबुझाउने पारु अरुभन्दा पहिला उठेर होमवर्क बुझाउन थालेको नजानेको कुरा सोधेको देखेर सर-मिस पनि खुसी हुनुभयो । हेर्दाहेर्दै उसका धेरै साथी भएँ ।
अर्को एकविहान ऊ चिच्याउदै थिई । 'आमा ! छिटो खाजा राखिदिनुस् मलाई स्कूल जान ढिला भैसक्यो । '

Sunday, July 25, 2010

By Shlesma Chhetri, USA भगवानको घर कहाँ छ ?

यो २०६० सालको कुरा हो जति बेला म कक्षा ९ मा पढथें, त्यतिबेला मैले मेरी प्यारी हजुरआमालाई गुमाएको थिएँ । त्यो बेला मलाई राम्ररी थाहा छ भोलिपल्टको दिन असार ३ गते मेरो चौधौं जन्मदिन थियो अनि हजुरआमाको आशिर्वाद थाप्नु अगाडि नै उहाँले यस संसारबाट बिदा लिनुभएको थियो । सधैं उपहारहरु प्राप्त गरेर मेरो जन्मदिन रमाइलो हुन्थ्यो तर चौधौं जन्मदिनमा मैले ममतामयी हजुरआमाको काख गुमाएको थिएँ, जुन काखमा मैले मेरो जीवनको आरम्भ गरेकी थिएँ । मेरो बालसुलभ मस्तिकमा त्यसबेला प्रश्नहरु छरिएका थिए । यस संसारबाट बिदा लिएर मेरी हजुरआमा कहाँ जानुभयो होला ? मैले यही प्रश्न विस्तारै मेरी आमालाई सोधेकी थिए अनि उहाँले भन्नुभएको थियो भगवानको घर जानुभयो जहाँ गएपछि कोही पनि फर्केर आउन सक्दैन । मैले अझ प्रश्नहरु थप्न लागेको थिएँ उहाँले फेरि भन्नुभयो तिमी ठूली भएपछि बुझ्ने छौं । उहाँले मलाई चुप त गराउनु भयो तर मेरा मनमा भने हुरी चल्न थाल्यो । भगवानको घर कहाँ होला ? किन त्यहाँ गएपछि फर्कन नमिल्ने होला ? त्यसै दिनताका मलाई उदास देखेर फेरि आमाले मलाई सम्झाउनु भएको थियो । भगवानको घर बादलपारि तारै-तारा भएको ठाउँमा हुन्छ रे, त्यहाँ फूलैफूलको सुन्दर बगैंचा अनि रमाइलो बातावरण हुन्छ रे जसलाई स्वर्ग भन्ने गरिन्छ अनि त्यसैले त्यहाँ जाने मानिसहरुलाई स्वर्गिय भनेको हो । मलाई सम्झाउँदै गर्दा उहाँ रे ...... रे......... भन्दै हुनुहुन्थ्यो सायद उहाँलाई पनि कसैले त्यस्तै भनेको थियो होला ? मलाई अलि ढुक्क त लागेको थियो किनकि मेरी प्यारी हजुरआमा तारै-ताराको झिलिमिली र फूलैफूलको सुगन्धमा हुनुहुन्छ । उहाँ स्वर्गे भएको बर्षमै मैले बीर गणेशमान सिंह बालप्रतिभा पुरस्कार प्राप्त गरेर बर्ष बालक २०६० को उपाधि पाएकी थिएँ । मैले खुशी हुँदै त्यो ताम्रपत्रलाई आकाशतर्फ फर्काएर हजुरआमालाई देखाएको थिएँ ।सायद देख्नु भयो होला जस्तै लागेको थियो । म जहिले पनि उहाँलाई सम्झदा आकाश तर्फ हेरेर बादलपारि स्वर्गमा बस्ने हजुरआमालाई हेर्ने प्रयास गर्थें अनि नीलो आकाशमा भएका सेता बादलहरुले विभिन्न आकारमा उड्दै जाँदा म बादलको आकारमा मेरी हजुरआमाको रुपको कल्पना गर्थें जसले गर्दा मलाई उहाँसंग भेट भएको भान हुन्थ्यो ।

समयको अन्तरालमा मेरा दिनहरु बित्दै गए अनि ममा बालसुलभता हराउँदै गयो जीवनको अर्थ पनि पहिल्याउँदै गएँ । मैले मेरो जीवनको २० सौं बसन्तको हाराहारीमा आइपुग्दा अकस्मात् फेरि एउटा बिर्सन नसक्ने दुर्घटना भयो । मेरी प्यारी साथी मालश्रीको कर्णालीमा डुङ्गा दुर्घटनामा मृत्यु भयो । कर्णालीको छालले उनलाई सायद बादलपारि पुर्यायो र्स्वर्गमा, अनि उनी स्वर्गिय हुन पुगिन् मेरी हजुरआमा जस्तै । यस पटक भने उ कहाँ गई भनेर मैले कसैलाई सोधिन । जीवन र मृत्यु, शुरु र अन्त्य जस्तै हो पूरै नबुझेपनि सामान्यरुपमा स्वीकार्न करै लाग्यो असामयीक भएपनि मृत्यु त मृत्यु नै हो ।

हामीहरु सामाजिक प्राणी भएकाले मन त्यसै भौतारिदो रहेंछ अनि अन्त्यमा मनलाई हलुका पार्ने त आँशुनै रहेछ मनको साथी । बिछोडको पीडालाई भुल्न धेरै रोंए रुदाँरुदै मन हलुका भयो अनि मलाई लाग्यो भगवानको घर त आफ्नै मनभित्र पो रहेछ जहाँ सधैं मेरी हजुरआमा र मेरी प्यारी साथी मालश्रीले दरिलो डेरा जमाएका छन् । म रुँदै थिएँ मेरो ९ बर्षे अबोध भाइले भन्यो "दिदी तिमी किन यति धेरै रोएको ? " मैले रुँदै भने "मालश्री दिदी भगवानको घर गइन् त्यसैले रुन मन लाग्यो" भाइले फेरि प्रश्न गर्यो "भगवानको घर कहाँ छ ? भगवानको घर माथि आकाशमा बादल पारि छ । त्यहाँ तारैताराहरुको झिलिमिली छ अनि फूलैफूलको सुन्दर बगैंचा छ भनेर भाइलाई सम्झाए । उसको बाल सोचाइले यसको के अर्थ लगायो मलाई थाहा भएन । मैले जीवन र मृत्यु स्वभाविक हो, यो संसार भन्दा बेग्लै अर्को संसार छैन अनि भगवानको घर कल्पना मात्र हो,  मनलाई बुझाउने बहाना मात्र हो भनेर बुझेपनि भाइलाई बुझाउन सकिन । तसर्थ मैले पनि आमाले मलाई भने जस्तै गरी उसलाइ भनें- तिमीले ठूलो भएपछि बुझ्नेछौ ।
(लेखिका क्षेत्रीको प्रकाशोन्मुख कृति मालश्री बाट साभार)
Email : shlesma41@hotmail.com

Monday, July 19, 2010

हार्दिक बधाई !

बालसाहित्य लेखक एवं पत्रकार विजयराज आचार्यले 'पुष्कर गौतम बालसाहित्य पुरस्कार-२०६६' प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । उहाँको साझा प्रकाशनबाट प्रकाशित बाटुली बालकथाकृतिलाई २०६६ को उत्कृष्ट बालकृति ठहर गरी यो पुरस्कार प्रदान गरिएको कुरा पुरस्कार प्रदान गर्ने संस्था तन्नेरी त्रैमासिक पत्रिकाले जनाएको छ ।
       बालसाहित्यको प्रवर्धनका निम्ति सक्रिय लेखक आचार्यका मौलिक, अनुवाद र सम्पादन गरी ३६ वटा कृतिहरु प्रकाशित भएका छन् । उहाँ हाम्रो बालबगैचा मासिक बालपत्रिकाका सम्पादक पनि हुनुहुन्छ । विवेक सिर्जनशील प्रकाशनका कार्यकारी अध्यक्षसमेत रहनुभएका लेखक आचार्य एकदशकभन्दा लामो समयदेखि बालसाहित्यको क्षेत्रमा समर्पित हुँदै आउँनुभएको छ ।
         बालसाहित्य लेखन, अनुवाद, सम्पादन, प्रकाशन र वितरणका क्षेत्रमा संलग्न रही बालसाहित्यको प्रवर्धनमा विशेष योगदान गर्दै आउनुभएका लेखक आचार्य यस पुरस्कारबाट पुरस्कृत हुनुभएको यस सुखद अवसरमा हामी बधाई ज्ञापन गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील भविष्यको शुभकामना व्यक्त गर्दछौं ।
केटाकेटी अनलाइन परिवार
                                                                                      र

Saturday, July 17, 2010

Readers are therefore requested ...

All profits from the sale of these books will be used to institute a fund for the education of girls from depressed communities. Readers are therefore requested to buy as many copies of these books as possible for themselves and for their friends.
Contact Us: 977-9751003531, 9841477515                                         

Children's Story by Senior Writer Late Ramesh Vikal मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ?

आलोकले एकदिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ? तर आमाबाले त्यस्तो केही गर्नु भएन । बरु बाले खुसी हुँदै भन्नुभयो 'अहो ! कति राम्रो छाउरो रहेछ, कहाँबाट ल्याएको ?'
'स्कुलबाट बाबा !', आलोकले भन्यो, 'त्यहाँ स्कुलमा नि साथीहरू यसलाई दुःख दिइरहेका थिए । लट्ठीले पिटिरहेका थिए, घोचिरहेका थिए । त्यसैले मैले पैसा तिरेर ल्याएको । उनीहरू बदमास छन् । जसलाई पनि दुःख दिन्छन् । त्यसो गर्न हुँदैन हगि बाबा ?', आलोकले बाबासँग जिज्ञासा राख्यो ।
'हो त्यसो गर्नु हुँदैन', बाले भन्नुभयो, 'बरु त्यस्ता दुःख पाएका निर्धाहरूलाई माया गर्नुपर्छ, दया गर्नुपर्छ । तिमीले ठीक गर्यौ ! यो कुकुरलाई फोहोरी घाउ पनि लागेको रहेछ । सफा गरेर औषधी लगाइदेऊ ।'
घरमा आमाबाले यस्तै राम्रा असल कुरा सिकाएकाले आलोक सानैदेखि असल र राम्रो बानी व्यहोराको केटो थियो । ऊ साथीभाइ सबैसँग मिलेर बस्थ्यो । आफूभन्दा साना, निर्धा, दुब्लालाई माया गर्दथ्यो । केही पर्यो भन्ने मद्दत गर्न अघि सर्थ्र्यो । गुरुबागुरुआमालाई श्रद्धा गथ्र्यो, आदर गथ्र्यो । पाले दाइ, आया दिदीलाई पनि मान गथ्र्यो । त्यसैले उसलाई सबैले माया गर्थे ।
उसैको स्कुलमा एक जना छुच्चो केटो पनि थियो । ऊ धनीको छोरो थियो । उसको बाबु मन्त्री हाकि के हो त्यस्तै ठूला मान्छे थिए रे । त्यसैले ऊ बाबुको धक्कु देखाएर मनपरि गथ्र्यो । पढ्नुभन्दा केटाहरू बटुलेर बदमासी गथ्र्यो । साना कक्षाका विद्यार्थी, पाले दाइ, आया दिदीहरूलाई हेप्थ्यो । गुरुबागुरुआमालाई टेर्दैनथ्यो, सबैलाई दुःख दिन्थ्यो । त्यो बदमास केटाको नाम प्रचण्ड थियो ।
त्यस दिन प्रचण्ड आफ्ना चण्डाल साथीहरूका साथमा त्यो सानो छाउरालाई सताइरहेको थियो । कोही पुच्छर निमोठेर घिसार्थे, कोही कानमा, नाकमा दिसा-पिसाब गर्ने ठाँउमा छेस्काले घोच्थे । बिचरो छाउरो कुइँकुइँ गर्दै भुक्थ्यो । तर उनीहरू त्यसलाई लखेटी-लखेटी समातेर घिसार्दै, लछार्दै ल्याएर अनेक दुःख दिइरहेका थिए । यो सबै देखेर आलोकलाई नराम्रो लाग्यो । उसले अगाडि गएर भन्यो, 'किन तिमीहरूले यो बिचरा छाउरोलाई दुःख दिएको -'
'हामीलाई मन लाग्यो !', प्रचण्डले जिराहा निहुँ खोज्ने स्वरमा भन्यो ।
'तँलाई के को चासो - तँ साले पाखेको छोरालाई - तेरा बाबु हो कि, दिदीबहिनी दाजुभाइ हो कि - हाम्रो काममा रोक लगाउन खोज्ने तँ को होस्, ऐले दिऊँ कि क्या हो -' उसले हप्काउँदै भन्यो ।
बेकारमा आफ्नो बाबा र दाजुदिदीलाई उकासेको देखेर आलोकलाई रिस पनि उठ्यो । यसलाई जोरी पुर्याइदिने हो कि क्या हो - ऊ अगाडि सर्यो, तर उसको मिल्ने साथी ध्रुवले उसलाई रोक्यो, 'भो छोड्दे ! सित्तैमा यस्तासँग किन जुध्नु - रछानमा चलाए आफ्नै मुखमा छिटा पर्छ, जाऊँ हिँड् ।'
'के भनिस् - मलाई रछान भन्ने तँ - खोज्या होस् तैँले -', जुडो खेलाडीको पाराले प्रचण्ड निहुँ खोज्दै अगाडि आयो । यसपल्ट आलोकले अगाडि सरेर प्रचण्डलाई पछार्यो, 'भैगो हामी तँसँग झगडा गर्न आएको होइन । यो छाउरोलाई दुःख नदे ! यो मलाई दे ।'
'किन दिनु तँलाई सित्तैमा ...- के दिन्छस् तँ मलाई -', प्रचण्डले अझै निहुँ खोज्ने तालले भन्यो । आलोकले खाजा खर्चबाट बचाएर राखेको पाँच रुपियाँको नोट झिकेर देखाउँदै भन्यो- 'यो पाँचको नोट दिन्छु म तँलाई । त्यो मलाई दे, हुन्छ -'
'जाबो पाँच रुपियाँको नोट त मलाई दिसा पुछ्न पनि काम लाग्दैन', प्रचण्डले अनुहार खुम्च्याएर भन्यो । आलोकले अर्को पाँच रुपियाँ झिकेर देखाउँदै भन्यो, 'लौ भैगो यो दस रुपियाँ दिन्छु, दिन्छस् -'
धनी बाबुको छोरो प्रचण्डलाई त्यस्ता पाँच/दस रुपियाँ के आँखा लाग्दो हो । तर, उसको खराब चाल बुझेर उसका बाबुले उसको खर्च एकदमै कम गरिदिएका थिए । चुरोट खान अचेल उसले बाबुको बगली मार्ने कि आमाको थैलो रित्याउने गरेको थियो । तर त्यो पनि सधैँ मिल्दैनथ्यो । त्यसैले कहिलेकाहीँ उसलाई पाँच/दस रुपियाँ पनि खाँचो पथ्र्यो । ऊ अहिले दस रुपियाँ देखेर दोधारमा पर्यो ।
'ए प्रचण्ड ! ली ली ! दुइ चारवटा चुरोट भए पनि आउँछ', उसका साथीहरूले उसलाई हौस्याए । अनि उसले त्यो दस रुपियाँ लिएर छाउरो आलोकलाई दियो । कालो जीउमा सेतो खैरो बुट्टा भएको छाउरो सुन्दर थियो । छाउरो लिएर आलोक घर गयो ।
बाबाको आज्ञा पाएपछि उसले छाउरोलाई तातोपानी तताएर नुहाइदियो, घाउ सफा गरेर औषधी लगाइदियो । अनि आफ्नै कोठामा आफ्नो पलङको बगलमै बोरा ओछ्याएर बस्ने ठाउँ बनाइदियो ।
आमाले दूध बिस्कुट ल्याएर खान दिनुभयो । त्यो खाएपछि छाउरो आनन्दसँग बोरामा गुँडुल्किएर बस्यो ।
छाउरो असाध्यै गुनिलो भएर निस्क्यो । आलोकले उसको नाम पाङ्ग्रे राख्यो । ऊ साह्रै राम्रो स्वभावको थियो । दिशापिसाब पनि जथाभावी गर्दैनथ्यो । दिशापिसाब लाग्यो भने कुइँकुइँ कराउँथ्यो । अनि ढोका खोलिदिएपछि बाहिर टाढा कतै रछानमा कि फोहोर फाल्ने ठाँउमा गरेर आउँथ्यो । ऊ आलोकलाई धेरै पछ्याँउथ्यो । जथाभावी चोरेर खाँदैनथ्यो । भोक लागे पनि कुइँकर्ुइँ कराउँथ्यो । आमाले दूधभात ल्याएर खान दिनुभएपछि खाइपिई गरी बगैँचा, फूलबारीतिर खेल्न जान्थ्यो । चराहरूसँग लखेटीलखेटी खेल्थ्यो । कुनै नौलो मानिस घरमा आयो भने भु भु गर्दै कराउँथ्यो, तर कसैलाई टोक्ने गर्दैनथ्यो । भित्रबाट आमाले कि घरका अरू कसैले झयालबाट हेरेर त्यो नौलो मानिससँग हाँसेर राम्रोसँग बोलेपछि ऊ आफ्नो खेलतिर लाग्थ्यो ।
ऊ बराबर आलोकसँगै स्कुल पनि जान्थ्यो । त्यहाँ आलोकले सिकाएका अनेक खेलहरू देखाएर ऊ आलोकका साथीहरूलाई खुसी पनि तुल्याउँथ्यो । सबैले उसलाई माया गर्थे र केकबिस्कुट खान दिन्थे । स्कुल छुटेपछि आलोकसँगै घर र्फकन्थ्यो । अब ऊ यति सुग्घरी र राम्रो भएको थियो, उसलाई आलोक धेरैजसो आफैसँग खाटमै सुत्न दिन्थ्यो । मान्छे र पशु भए पनि आलोक र पाङ्ग्रे एक ज्यानजस्तै भएका थिए, एकै आमाका छोराहरू जस्तै थिए ।
त्यस्तैमा एकपल्ट स्कुलमा देश दर्शनको कार्यक्रम बन्यो । गुरुबागुरुआमाहरूले केही छानिएका विद्यार्थीहरूलाई आफ्नै देशका केही ऐतिहासिक ठाउँमा घुमाउन लाने हुनुभयो । पन्ध्र/बीस दिनको यो भ्रमणमा आलोक पनि जाने भयो । पाङ्ग्रे पनि ऊसँग जान छट्पटायो । तर आलोकले उसलाई फकायो, 'तैँले हामीसँग जान मिल्दैन । तँ आमाबाबाको सेवा गरेर घरै बस् । पन्ध्र/बीस दिन त हो नि ! म आइहाल्छु नि । बरु आउँदा मीठामीठा खानेकुरा ल्याइदिउँला, ज्ञानी भएर बस् ।'
पन्ध्र दिनको यो घुमाइमा आलोकको मनमा हरेक दिन पाङ्ग्रेको सम्झना आइरहृयो । उसले उसको ती नीला र मायालु आँखा, उसको चञ्चले स्वभाव, उसले बगैँचामा चराहरूलाई लखेट्तै उफ्रीउफ्री खेलेका खेल अनि आफैँसँग चौरमा खेलेका अनेक रमाइला खेलहरू कहिल्यै बिर्सन सकेन । उठ्दा, बस्दा, खाँदा र घुम्दा पनि घरिघरि आँखावरिपरि नाचिरहे । कहिले घर पुगेर त्यो प्यारो पाङ्ग्रेलाई बोकेर माया गरौ भनेर ऊ छट्पटाउँथ्यो ।
पन्ध्र दिनको घुमफिर सकेर त्यो टोली घर फक्र्यो । घर आइपुग्दा निकै राती भइसकेको थियो । गुरुहरूले आलोकलाई बाहिर ढोकासम्म पुर्याएर जानुभयो । उसले आमालाई बोलायो आमाले सुनेर ढोका खोल्न आउँदै भन्नुभयो, 'बाबु
आइपुग्यौ - किन यति राती पारेको - पख है म ढोका खोल्न आउँछु ।'
आमा आएर ढोका खोलिदिनुभयो । उसको स्वर सुनेर पाङ्ग्रे अत्यन्त खुसी भयो । ऊ खुसीले आमाको पछिपछि उफ्रिदै आयो । ढोका खु्लेपछि ऊ अत्यन्तै रमाएर आलोकको बुइ चढ्न झम्टिँदै आयो । पेटी निकै अग्लो थियो । तल आँगनमा सिमेन्ट लगाएको थियो । यसरी हर्षे कुइँकुइँ गर्दै उफ्रिदै आउँदा पाङ्ग्रेका गोडा कसरी लटपटिएछन् कुन्नि ऊ लगभग दुइ फिट अग्लो पेटीबाट तल आँगनको सिमेन्ट लाएको भुइँमा बज्रन पुग्यो ।
'कुइँ कुइँ !' उसको घाँटीबाट पीडाको स्वर निस्क्यो । बज्रँदा उसले मुण्टोले टेक्न पुगेछ । कलिलो गर्दन ठनक्कै भाँचिएछ । घाँटीबाट अत्यन्त दर्दनाक स्वर निकाल्दै ऊ छटपटाउन थाल्यो । आलोक आत्तियो, 'आमा के भयो पाङ्ग्रेलाई - के भयो मेरो पाङ्ग्रेलाई -'
उसले पाङ्ग्रेलाई आफ्नो काखमा लियो । आमाले भित्रबाट पानी ल्याएर पाङ्ग्रेको मुखमा हालिदिनुभो । पाङ्ग्रे एक पल्ट नराम्रोसँग छटपटाएर आफ्नो प्यारो आलोकको काखमा शान्त भयो । आलोकको आँखाबाट बलिन्द्र धारा आँसु खस्न थाले । उसको छाती भरियो, बोलीमा भक्कानु फुट्यो, 'आमा - के भयो मेरो पाङ्ग्रेलाई -" मेरो पाङ्ग्रे मर्यो - पाङ्ग्रे मर्यो-'
आमा केही बोल्न सक्नुभएन । उहाँका पनि आँखा भरिएर आए । अनि बल्ल छोरालाई पाङ्ग्रेको लासबाट तानेर माथि लग्नुभयो । पाङ्ग्रेलाई वीरेले लगेर बगैँचाको एउटा स्याउको बोटको फेदमा गाडिदियो । आलोक बेहाल थियो । ऊ दुइ-तीन दिनसम्म रोइरहृयो । दुइ दिनसम्म त खाना पनि राम्ररी खाएन । धेरै फकाएपछि बल्ल तल्ल सम्हालियो । बाबाले उसलाई खुसी तुल्याउन एउटा अर्को राम्रो छाउरो ल्याइदिनुभयो । तर आलोकले त्यसलाई हेर्दा पनि हेरेन । त्यसपछि उसले कुनै कुकुर पालेन ।

Friday, July 16, 2010

Childhood Days Memories of Senior Writer Vijaya Chalise बुवाले कोठामा थुनिदिनु भयो

विजय चालिसे वरिष्ठ पत्रकार-साहित्यकार हुनुहुन्छ । उहाँ विगत ३५ वर्षदेखि सहित्यिक लेखन र पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ । साहित्य बाहेक पत्रपत्रिकाहरूमा समसायिक विषय लेखन, शिक्षा, आमसञ्चार-पत्रकारिता, साहित्य आदि विविध विषयमा असङ्ख्य टिप्पणीमूलक तथा विश्लेषणात्मक लेखहरू लेखेर जनतामाझ चेतना फैलाउने काममा निरन्तर समर्पित ५७ वर्षीय साहित्यकार चालिसेसँग यस अङ्कमा हामीले उहाँको बाल्यकाल बारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको सम्झना यसरी सुनाउँनुहुन्छ:
काठमाडों जिल्ला अर्न्तर्गत जोरपाटी गाउँ विकास समितिको नौ नम्बर ओडामा एउटा रमाइलो र शान्त गाउँ छ- आरुबारी । नया सडकबाट एघार किलोमिटर जति परको यो रमाइलो गाउँ अग्लो र खुला ठाउँमा रहेको छ । पूर्व राजनीकुञ्जको जङ्गल, उत्तर सधैं सल्लेरी सुसाउने जगडोलको बन, चारैतिर हरियालीले ढाक्ने गरेको खुलाठाउँ उत्तर-पूर्वमा गोकर्र्णोश्वर र दक्षिण बौद्धनाथको बीचमा थुपुक्क बसेको यही गाउँमा म जन्मेको थिएँ । आमा सुशीला चालिसे र बाबा रमेश विकल (रामेश्वर शर्मा चालिसे ) बाट २००८ साल असार २२ गते मेरो जन्म भएको हो ।

मेरो परिवार गाउँको साधारण परिवार हो । मेरा बाजे चन्द्र शेखर ठूलै पदमा सरकारी जागिरे हुनुहुन्थ्यो । म जन्मनुभन्दा दुइ वर्षअगाडि नै उहाँ वित्नुभएकोले मैले उहाँलाई देख्न पाइन । मेरी आमाले खासै औपचारिक शिक्षा पाउनु भएको थिएन । बाबा शिक्षित र साहित्यकारसमेत हुनुभएकोले मैले भने सानैदेखि पढ्ने वातावरण पाएँ । बाबाको धेरैजसो समय घर-गाउँभन्दा बाहिरै बित्थ्यो । विहान हामी उठ्दा उहाँ हिँडिसक्ने, बेलुका हामी सुतिसकेपछि घर फर्कने हुँदा धेरै जसो हामी उहाँलाई देख्नै पाउँदैनथ्यौं । त्यसैले हाम्रो सबै लालनपालन आमाबाटै हुन्थ्यो ।
मलाई पनि सबै केटाकेटीलाई जस्तै सानोमा नयाँ कुरा र नयाँनयाँ कथाहरु सुन्न मन पथ्र्यो । म जन्मनुभन्दा अगाडि नै स्वर्गे भै सकेकोले अरूकोजस्तो मैले बाजे बज्यैको काखमा लुटपुटिएर कथाहरु सुन्ने अवसर पाइन । त्यो कमी म गाउँका साथीसङ्गाती र हाम्रै जग्गाजिमीको हेरचाह गरेर बस्ने गुल्चादाइ, मोहनलाल दाइबाट पूरा गर्थेँ । उहाँहरू हामीलाई दन्त्यकथा र गाउँखाने कथाहरू सुनाउने गर्नुहुन्थ्यो ।

मेरो बाल्यकाल त्यति बेलाका मेरो उमेरका केटाकेटीको जसरी बित्छ, त्यसरी नै साधारण तरिकाले वित्यो । केटाकेटीमा अहिलेको जस्तो रेडियो, टेलिभिजन, सिनेमा केही देख्न पाइँदैनयो । म सत्र वर्षो उमेरमा पुगे पछि २०२५ सालमा मात्र रेडियो र टेप रेकर्ड देख्न पाएको थिएँ । ती कुरा बाबाले आफू अमेरिकाबाट फकँदा ल्याउनु भएको थियो । अहिलेजस्तो टोलटोलमा सिनेमाघर पनि थिएनन् । न त अहिलेकाजस्ता थरी थरीका खेलौनाहरू र अरू खेल्ने कुरा नै पाइन्थ्यो । मनोरञ्जनका साधन भन्नु नै आफ्ना उमेरका साथीसङ्गाती जम्मा भएर खेलिने लुकामारी, झुम्राका पुतलीको बिहे, गट्टा, चोर पुलिस वा डुमदाई, आसपासजस्ता खेलहरू हुनेगर्थे । कहिले काहीँ कपडाको डल्लो र भोगटेको भकुण्डो खेलिन्थ्यो ।

यसरी मेरो बालककाल गाउँकै सानो घेराभित्रै बित्यो । गाउँ र मेरो टोल पनि अहिलेकोजस्तो बाक्लो थिएन । मेरो टोलमा जम्मा छ सात घर थिए । त्यसमा पनि मेरै उमेरका केटाकेटी दुइचारजना मात्र ! मेरी दिदीको उमेरका एक छेंवल थिए । यही सानो समूह र ठाउँमा मेरो विद्यालयजानु अगाडिको समय वित्यो । सरुमा घरमैं बाह्रखरी सिकेर गाउँकै स्कुलमा चार कक्षासमम पढेपछि चावहिलको सरकारी स्कुलमा भर्ना भएँ । दश-एघार वर्षो कलिलो उमेरमा पाँच-छ किलोमिटर टाढा चावेलसम्म हिँडेरै स्कुल आउनुजानु सजिलो थिएन । त्यसैले स्कुल जान नपरे हुन्थ्यो भन्ने पनि लाग्थ्यो । बस मोटर देख्न पाउने कुरै थिएन, न बाटो नै अहिलेको जस्तो सफा र फराकिलो थियो । वषर्ामा हिलैहिलो हुन्थ्यो । अहिले सम्झँदा चाहिँ त्यतिबेला अल्छी र दुःख मानेर स्कुल नगएको भए अहिले भाइबहिनीहरूसँग यसरी कहाँ कुरा गर्न कहाँ पाउँथे र भन्ने लाग्छ ।

ठूला मानिसहरू तास आदि बाह्रमासे खेल्ने गर्थे । हामीभन्दा केही ठूला दाइहरू खोपी, पायाँ, पाङ्ग्रा, ओख्खर आदि खेल्थे । खोपी-तास-पायाँजस्ता खेल त्यतिबेला पनि राम्रो मानिँदैनथे । खराब केटाकेटीले मात्रै त्यस्तो खेल खेल्छन् भन्थ्ियो । स्कुल पढ्न थाले पछि अर्थात केही ठूलो भएपछि मेरे संगत पनि आफूसरहका र आफूभन्दा केही ठूला दाइहरूसँग हुन थाल्यो । उनीहरूकै संगतमा म पनि कहिले काहीँ खोपी तास खेल्न थालेँ, कहिलेकाहीँ ओखरमा च्याँखे राख्थेँ । । एक दिन गाउँकै सडकमा साथीहरूको करले खोपी खेल्दैं थिएँ । त्यतै आइरहनुभएको बाबाले देख्नुभएछ । मलाई घोक्य्राउँदै घर ल्याएर कोठामा थुनिदिनु भयो । त्यस पछि केही दिन त मैले ती साथीहरूकहाँ जानै छाडिदिएँ । तर केटाकेटी मन के मान्थ्यो, फेरि लुकेर साथीहरूसँग खोपी-तास खेल्ने मौका छोपिहाल्थेँ । अर्को एक दिन त्यसरी नै तास खेलिरहेको फेला परेपछि मैले त्यहीँनै नराम्ररी बाबाको हातको पिटाइ खाएँ । त्यस दिनदेखि भने मैले तास, खोपीजस्ता कुनै पनि खेलबाड गर्ने आँट गरिन । अहिले पनि यस्ता मनोरञ्जन र स्वास्थ्यलाई राम्रो नगर्ने जाड रक्सीबाट म सधैं टाढा रहन्छु । अरुले त्यतातिर विताउने समय म लेखपढ गरेर विताउन रुचाउँछु ।

अरुजस्तै कथा सुन्न सानैदेखि मन पराउँथेँ । बाबाले घरमा ल्याउनुहुुने पुस्तक-पत्रिका पल्टाउँदा पल्टाउँदै पत्तै नपाइ साहित्यतिर तानिँदै गएछु,। बाबा आफैं साहित्यकार, उहाँको नाउँ र कथा आदि पत्रपत्रिकामा छापिएको देख्दा यसरी नै आफ्नो पनि नाम छापिए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो । घरमा माधव घिमिरे, भूपि शेरचन, सिद्धिचरण, केदारमान व्यथितजस्ता ठूलाठूला साहित्यकार आउँदा उहाहरूको व्यक्तित्वले पनि नजानिँदो किसिमले तान्दै गयो । बाबा र स्वर्गीय भैरव अर्यालबाट पे्ररणा र प्रोत्साहन पनि पाउँदै गएँ । घरपरिवार, छोराछोरीको सबै जिम्मेवारी मेरी श्रीमती लक्ष्मी चालिसेले लिइदिएर सहयोग नगरेको भए पनि यो क्षेत्रमा लाग्न सकिँदैनथ्यो होला । त्यसैले उनको पनि धेरै ठूलो सहयोग छ ।

माथि नै केही सङ्केत गरेँ, मेरो अध्यनको सुरुआत पहिले घरैमा र केही पछि गाउँकै स्कुलबाट भयो । मेरो स्कुल र महाविद्यालय, विश्व विद्यालयका सबै शिक्षा साधारण स्कुल-कलेजबाट भएको हो । कक्षा चारसम्म गाउँकै अरुणोदय प्राथमिक विद्यालयमा र त्यसपछि आठ कक्षासम्म चावहिलको मित्र मण्डल हाइस्कुलमा पढेँ । कक्षा नौ र दश चाहिँ चावहिलकै मित्र सहशिक्षालय मर्निङ हाइस्कुलमा पढेर प्रवेशिका (एस. एल. सी ) उत्तीर्ण गरें । आइए त्यतिबेलाको महेन्द्ररत्न पब्लिक कलेज बसन्तपुरमाबाट पास गरेँ । आइए पढदै गर्दादेखि नै गाउँको स्कुलमा आंशिक शिक्षकका रुपमा पढाएर आफ्नो खर्च पुर्याने कोशिस गरेँ । स्कूलमा पढाएर आफू पढ्नु पर्ने हुँदा बीए राति पढाइ हुने नेशनल कलेज (अहिलेको शंकरदेव क्याम्पस ) मा पढेर पास गरेँ । बौद्धसम्म मात्रै बस चल्थ्यो, त्यो पनि साँझ पाँच-छ बजेपछि भेटिँदैनथ्यो । त्यसैले पुतली सडकदेखि दुइ घण्टा हिँडेर एक्लै आधारातमा घर आउनु पथ्र्यो । बाटो राम्रो थिएन । सुनसान हुन्थ्यो, चरोमुसो कतै नभेटिने । त्यसैले पढाइमा अब्बल हुन सकिएन, बीएसम्म सामान्य श्रेणीमा पास गरेर चित्त बुझाउनु पर्यो । बीए पास गरेर त्रिभुवन विश्व विद्यालयमा अर्थशास्त्र पढ्न भनी एमएमा भर्ना भएँ । चामुण्डा माध्यमिक विद्यालयमा बिहानभरि पढाएर जोरपाटीबाट एघार बजे कीर्तिपुर पुग्न सम्भव भएन । त्यसैले विश्वविद्यालयको नियमित कक्षा पनि छाड्नु पर्यो । त्यही बीचमा राति पुतली सडककै पद्मोदयमा एक वर्षो बीएडको पर्ढाई सुरु गरें । त्यो सकिएपछि बल्ल नेपाली विषयमा प्राइभेट जाँच दिएर एमए पास गरें । २०२८ सालदेखि २०३६ सालसम्म स्कुलमा पढाएपछि २०३७को सुरुदेखि गोरखापत्रमा उपसम्पादकमा भर्ना भएँ । त्यही बीच कोलम्बो प्लान अर्न्तर्गत मनोनित भइ बेलायत गएर पत्रकारिता विषयमा डिप्लोमाको उपाधि पनि लिएँ । पढ्ने र पढाउने काम त अहिले पनि छुटेको छैन । दिनको दुइ तीन घण्टा सधैँ पढ्छु । २०४२ सालदेखि नै पशुपति क्याम्पसमा पढाउँदै पनि आएको छु ।

Wednesday, July 7, 2010

हार्दिक बधाइ ज्ञापन गर्दछौं

वरिष्ठ अग्रज लेखक शान्तदास मानन्धरज्यूले साझा बालसाहित्य पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछौं ।
उहाँले नेपाली बालसाहित्यको विकासमा विशेष योगदान गर्नुभएको छ । हामी उहाँ प्रति कृतज्ञ छौं ।

To promote Children's Literature and reading activities in Nepal
                       केटाकेटी अनलाइन परिवार
                         र
http://childrensbooks77.blogspot.com/  ब्लग परिवार ।



Tuesday, July 6, 2010

Childhood Days Memories of Korean Writer Yoojeong कोरियाली बालसाहित्यकारको बाल्यकाल

प्राध्यापक डाक्टर यु जङ्गयी कोरियाली बालसाहित्यकार हुनुहुन्छ । उहाँ हङ्गीक विश्वविद्यालयमा कोरियन साहित्य पढाउँनुहुन्छ । उहाँले आधुनिक कोरियाली कविता भन्ने विषयमा विद्यावारिधि गर्नुभएको हो ।
चालीस दिने नेपाल भ्रमणका लागि जङ्गयी नेपाल आउनुभएको थियो । गत २०६६ भदौ १ गते उहाँ आफ्नो भ्रमण सकाएर कोरिया फर्किनु भयो । यो भ्रमणमा उहाँसँगै १३ जना कोरियाली बालबालिकाहरु पनि आएका थिए ।
यस अंकमा हामीले प्रसिद्व कोरियाली कवि, समालोचक र बालसाहित्यकार जङ्गयीसँग उहाँको बाल्यकालका सम्झना वारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको कथा सुनाउँदै भन्नुहुन्छ:
म एउटा साधारण परिवारमा जन्मिएकी हुँ । मेरो बुवा व्यापार गर्नुहुन्थ्यो । मेरो घरमा हामीलाई खान, बस्न र पढ्न पनि गाह्रो अवस्था थियो ।
म सानैदेखि पुस्तक पढ्न खूब रुचि राख्थें । म सानो छँदा विदेशी लेखकका किताबहरु बेच्दै घर-घरमा हकरहरु घुम्दथे । उनीहरु थरीथरीका किताबहरु बेच्दै हिड्थे । एक सेट किताबमा दशथरी कथाका किताबहरु हुन्थे । ती किताब पढ्न मलाई एकदमै मन लाग्थ्यो । तर मेरो बुवाआमाले किन्दिन सक्नु हुन्नथ्यो । मसँगै भाइबहिनीलाई पनि पढाउँनु पर्ने भएकोले घरको सबै पैसा हाम्रो विद्यालयको किताब किन्दा नै सकिन्थ्यो । त्यसैले म सँधै घर बाहिर उभिएर ती घुमाउँदै किताब बेच्न हिडेका हकरहरुले बोकेका कथाका किताबहरु लोभिदै हेर्थें । म पढ्न नपाएकोमा थकथक मान्थें ।
एकदिनको कुरा हो, मैले मेरो छिमेकीको घरमा थुप्रै कथाका किताबहरु दराजमा सजाएर राखेको देखें । त्यसपछि म दङ्ग पर्दै छिमेकीको घरमा गएर किताब पढ्ने कुरा सोच्न थालें । नभन्दै मैले त्यो मौका पाएँ । एक दुइ दिन मैले त्यो छिमेकीको घरमा गएर ती किताबहरु मज्जाले पढें । शुरुको दिन त म किताब पढ्न पाएकोमा यति धेरै रमाएँ कि मैले त धेरै खुसी भएर रुँदै-रुँदै किताबहरु पढें । म आफ्नो जिन्दगीमा त्यो दिनलाई कहिले बिर्सिन सक्दिन ।
हुन त मेरा छिमेकीका पनि छोराछोरीहरु थिए । तर उनीहरु घरमा भएको त्यति राम्रा किताबको वास्ता गर्दैनथे । उनीहरुलाई त कथाको किताब पढ्न मन नै लाग्दोरहेनछ । त्यतिबेला म सोच्थें कस्तो बोर जसलाई किताब पढ्न मन छैन ऊसँग चै यति धेरै किताब । मलाई पढ्न मनलाग्छ तर मसँग किताब नै छैन । यो सम्झदाँ मलाई रुन मन लाग्थ्यो ।
यसरी मैले रमाउँदै दुइ तीन दिन छिमेकीकोमा गएर किताब पढें । तर त्यसपछि मैले त्यहाँ गएर किताब पढेको उनीहरुले मनपराउँन छाडे । त्यसपछि म त्यो छिमेकीकोमा किताब पढ्न जान छाडें । आमालाई कर गरेर छिमेकीको घरमा किताब लिन पठाउँन थालें । यसरी दुइ दिनसम्म आमाले मलाई त्यहाँबाट किताब ल्याइदिनु भयो । तर एकदिन आमालाई पनि वचन लगाएछन् । त्यसपछि आमाले रिसाउँदै ती छिमेकीको सेखी झार्न मलाई एक सेट दशवटा कथाका किताबहरु ल्याइदिनु भयो । ओहो, त्यो दिन त म धेरै खुसी भएकी थिएँ । आफ्नो कथाका किताबलाई किस गरेर, अंगालो मारेर मैले रमाइ-रमाइ पढें । हो, मैले मेरो आफ्नो किताब आफैले रुँदै, कराउँदै, हाँस्दै र हल्ला गर्दै पढेको त्यो दिन मेरो जिन्दगीको कहिल्यै नबिर्सने दिन हो ।
साँच्चै, म किताबको कीरा नै थिएँ । म निक्कै धेरै किताब पढ्थें । म किताब पढ्दापढ्दै खाना खान नै बिर्सिन्थें । आमाले मलाई छोरी तिमीले खाना खाएकी छैनौ भनेर दुइ तीन पटक सम्झाउँनु पर्दथ्यो ।
यसरी धेरै किताब पढ्ने बानीले गर्दा होला अहिले म लेखक बन्न सकें । अहिले पनि म धेरै किताब पढ्ने गर्छु । मैले क्याम्पसमा विद्यार्थीहरुलाई पढाउन पनि धेरै किताब पढ्नुपर्छ । त्यो बाहेक मलाई नयाँ-नयाँ उपन्यास, कथा र कविताहरु लेख्न पनि त मैले धेरै किताब पढ्नुपर्छ नि ! मेरा बालसाहित्यमा दशवटा किताबहरु छापिएका छन् । ती सबै किताबले पुरस्कारहरु पनि जितेका छन् । यो पनि म धेरै पढ्ने मान्छे लेखक भएर हो भन्नुहुन्छ मेरा गुरुहरु ।
म समालोचक पनि हुँ । मेरा समालोचनासम्वन्धी पाँचवटा किताबहरु छापिएका छन् । अरुका किताबहरु पढेर ती किताबको राम्रा पक्ष र नराम्रा पक्षका वारेमा लेख्नु मेरो काम हो । त्यही कामलाई समालोचना भनिन्छ । त्यसैले समालोचना गर्न पनि म धेरै किताबहरु पढ्ने गर्छु ।
यसरी आफूलाई सफल मान्छे बनाउँन म धेरै थरी किताबहरु पढिरहेकी छु । मलाई लाग्छ, हरेक मान्छेले किताब पढ्नुपर्छ । राम्रा ज्ञानगुनका किताब पढ्ने मान्छेहरु जीवनमा सँधै सुखी र सफल हुन सक्छन् ।
प्रस्तुतिः कार्तिकेय घिमिरे

Childhood Days Memories of Senior Writer Rochak Ghimire घोडाबाट पछारिए कर्णेल बूढा !

रोचक घिमिरे वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ नेपालको प्रसिध्द साहित्यिक पत्रिका रचनाका प्रधान सम्पादक पनि हुनुहुन्छ । निवन्ध लेखनमा सुपरिचित लेखक रोचकको बाल्यकालको रमाइलो संस्मरण यस अंकमा हामीले प्रस्तुत गरेका छौं ।
मेरो उमेर त्यो बेला १२ वर्षजतिको थियो होला । दशैंको रमझम सकिएर तिहार लाग्दो बेला थियो । तिहारको खुशीयालीमा फाट्टफुट्ट पटखा पड्काउने, फुलझडी बाल्ने, आतिसबाजी गर्ने चलन भर्खर भर्खर काठमाडौंमा शुरु भएको थियो । बाले हामी तीनजना दाजुभाइ म, रघु र केशवलाई के काम परेर हो कुन्नि लप्टन बा तारानाथ (शङ्कर घिमिरे र डा.मधु घिमिरेका पिता) कहाँ भाटभटेनी पठाउनुभो । लप्टन बा कहाँबाट हामी दाजुभाई गहिरीधारातिर लाग्यौं । त्यहाँको हलुवाई पसलेको बर्फीको स्वाद लिन पल्केका थियौं हामी । हामीसंग एकदुइ रुपियाँ थियो । बर्फी खाएर केही पैसा बच्यो । त्यहीं छ्याके साहूको पसल अगाडि पटखा, भैंचम्पा, टीनको सिटी, टीनकै बन्दुक, कागतको सर्प आदि विभिन्न खेलौना फिंजाएर बेच्न राखिएका थिए । ती सामानको वरिपरि केटाकेटीहरू झुम्मिइरहेका थिए । हामी पनि तमासे भएर हेर्न थाल्यौं । भाइ रघुले सिटी किन्यो, केशवलाई कागतको सर्प मन पर्यो । मैले चाहिं टीनको कालो खेलौना बन्दूक र त्यसलाई पड्काउन चाहिने बारूदको टिके रील किनें । बन्दूकमा त्यो रील हालेर प्याट्ट प्याट्ट पड्काउँदै हिड्न थालें म । ठूलो आनन्द र खुसी अनुभव भो मलाई । भाइहरू पनि रमाएर सिटी फुक्दै, सर्प हल्लाउँदै हिडिरहेका थिए ।
हामी त्यसै क्रमले गैरीधाराबाट टङ्गाल गणेशथानतर्फ आइरहेका थियौं । उताबाट कर्णेल डम्बर शमशेर थापा (१५ साले चुनावमा डा.के.आइ.सिंहको पार्टीबाट विजयी सांसद लोचन समशेर थापाका पिता) घोडा चढेर आइरहेका थिए । घोडाको पछिपछि सइस हिडिरहेको थियो । त्यो वेला घरानियाहरू घोडा, साइकल चढ्थे । कार मोटरसाइकल त ज्यादै कम थिए र ती राणा परिवारकै एकलौटी थिए भनेपनि हुन्छ । एक सुरले म बन्दुक पड्काउँदै, रमाइलो गर्दै हिडिरहेको थिएँ । अचानक डम्वर समशेर बूढा घोडाबाट तल सडकमा डङ्ग्रङ्ङ पछारिए । ती मोटा, सुकुमार बूढा उठ्न सकेन्, सइस भाग्न लागेको घोडा समाउनतिर लाग्यो । जम्मा भएका बटुवाहरूले कर्णेल बूढालाई उठाएर उभ्याए । हामी तीन भाइ फुच्चे मग्न भएर यो सबै रमीता हेरिरहेका थियौं । कर्णेल बूढाले चारैतिर हेरे । खेलौना बन्दुक मेरो हातैमा थियो । डम्बर शमशेर मेरो नजिकै आए अनि मेरो हातको बन्दुक खोसेर भने-'यै हो तेरो बन्दूक ! बड, बन्दूक पड्काउने भा'को !' यति भनेर उनले त्यो बन्दूक नीलकाँडाको झ्याङ्तिर हुर्र्याइदिए । मैले पड्काएको बन्दुकबाट तर्सिएर घोडाले कर्णेल बूढालाई लडाएको रहेछ । त्यसैले मेरो त्यो दोषी बन्दुकसँग उनले त्यसरी बदला लिएका रहेछन् भन्ने कुरा बल्ल बुझ्यौं हामीले । मैले अँध्यारो मुख लगाएँ । 'दाजुले होइन ! दाजुले होइन !' भनेर भाइ केशव रुन लाग्यो । बूढाको आँखा सिटीमा पनि पर्ला र फ्याँकिदेलान भनेर अर्को भाइ रघु सिटी लुकाउन लाग्यो । त्यहाँ उभिएका पाका मान्छेहरू पनि 'कर्साबलाई लडाउने, बदमास केटाहरू !' भन्दै हामीलाई नै गाली गर्न लागे । कसैले त हामीलाई चिनेका पनि रहेछन् र यी गहनापोखरीका पण्डित बाजेका छोरा हुन् भनेको पनि सुनियो । बाले थाहा पाउनुहोला भनेर हामीलाई डर लाग्यो ।
हामी तीनभाइ लुत्रे कान लगाएर घरको बाटो लाग्यौं । डम्बर शमशेर बूढा खोच्याङ् खोच्याङ् गर्दै पैदलै हिडे । सइस घोडा डोर्याएर लुखुर लुखुर उनको पछिपछि लाग्यो । लप्टनबा तारानाथले चाहीं यो कुरा थाहा पाउनुभएछ । एकदिन उहाँले मलाई भन्नुभो- 'तिमीहरूले बन्दुक पड्काएर घोडाबाट पछारिएका कर्णेल बूढा केही दिन थला परेर बल्ल उठेछन् बिचरा !'
एक्लै यो घटना सम्झदा अहिले पनि मलाई रमाइलो, नरमाइलो, कस्तो कस्तो लाग्छ । हामी तीन दाजुभाइ भएको वेला यसको चर्चा चल्दा चाहिं एकै पटक गलल्ल हाँसोको फोहोरा छुट्ने गर्छ !