Saturday, July 3, 2010

हरिवनमा बालकथावाचन र लेखन कार्यक्रम सम्पन्न

मनकामना उच्च मावि, हरिवन, सर्लाहीमा रमाइलो बालकथावाचन र लेखन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बालकथावाचन राष्ट्रिय अभियान लिएर देशका २४ जिल्लामा पुगिसक्नुभएका बालबालिकाका लागि साहित्य लेख्ने लेखक कार्तिकेय घिमिरेले कथावाचन गर्नुभएको थियो । उहाँले आफ्ना रुचाइएका कथाहरु ड्राइभर अंकल किन रोए, डस्टर उड्यो, फर्सी बहादुरको कथा र साँच्चैको हिरो हो कृष्णबहादुर वाचन गरी सुनाउँदा बालबालिकाहरु निकै रमाएका थिए । उहाँले बालबालिकाहरुलाई बालकथा कसरी लेख्ने भन्ने विषयमा रोचक ढंगले प्रशिक्षण पनि दिनुभएको थियो । यस कार्यशालामा एघारजना बालप्रतिभाले हाउभाउसहित कथावाचन गरी कार्यक्रमलाई झन् रोचक बनाएका थिए । उनीहरुमध्ये उत्कृष्ट तीनजनालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दशदेखि सोह्र वर्षउमेरसम्मका एकचालिस जना बालबालिकाहरुले भाग लिएका थिए ।
बालसाहित्य प्रतिष्ठान काठमाडौंको सहकार्यमा मनकामना उच्च माविले आयोजना गरेको यो कार्यक्रम प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईको सभापतित्वमा भएको थियो । कार्यक्रममा उप-प्रधानाध्यापक ङमेन्द्रप्रसाद घिमिरेले यस कार्यक्रमबाट विद्यार्थीहरुमा सिर्जनशीलता बढाउँन विशेष सहयोग पुगेको विचार व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा समुदायका बालबालिकामा सिर्जनशीलता बढाउँन कार्तिकेय बालप्रतिभा पुरस्कार कोष काठमाडौंको सहयोगमा केटाकेटी बुक क्लब स्थापना गरिने घोषणा गरिएको छ । कोषले उपलब्ध गराएका नौ सयभन्दा बढी किसिमका चार हजार बालपुस्तक रहने सो किताब क्लबले स्थानिय समुदायका बालबालिकाहरुलाई पुस्तकालयको सेवा प्रदान गरी विलक्षण र सिर्जनशील बालव्यक्तित्व निर्माणमा टेवा पुर्याउँने अपेक्षा रहेको विद्यालयका संस्थापक शिक्षासेवी एन.टि. लामाले बताउँनुभएको छ ।

No comments:

Post a Comment