Tuesday, October 19, 2010

Children's Story by Kartikeya Ghimire वाहा ! दुनोट पसलेकी छोरी

बडा दसैं र तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यो रमाइलो कथा कोसेलीको रुपमा प्रस्तुत गरेका छौं ।
Ketaketi Online Family

म खुर्र दौडेर आई पसलको खाटमा थचक्क बसें ।

आमा असिनपसिन हुँदै ठूलो ताप्केमा दुनोट पकाइरहनु भएको थियो । बुवा पाँच-पाँचवटा दुनोट झोलामा हालेर पोका पार्न ब्यस्त हुनुहुन्थ्यो । खाटसम्म आगोको तातो आएको थियो । म एकछिन त्यही आगोमा हेर्दै टोलाएँ । सँधै जस्तै आज पनि मैले फेरि त्यही प्रश्न आफैले आफैलाई सोधें - मलाई साथीहरु छ्या ! दुनोट पसलेकी छोरी किन भन्छन् हँ ?

उत्तर त मसँगै छ । म साँच्चै दुनोट पसलेकी नै छोरी त हुँ नि ! तर म छ्या ! कसरी भएँ ? आज फेरि मेरो मनले मलाई प्रश्न गर्यो । यो प्रश्नको उत्तर दिन मलाई गाह्रो भयो । मैले बुवाआमालाई फेरि हेरें । दुबैजना असिनपसिन हुँदै काम गरिरहनुभएको थियो । म किताबको झोला त्यही पसलमा छोडेर दौडदै चौरमा पुगें । चौरमा थुप्रै साथीहरु खेलिरहेका थिए । मैले उनीहरु सबैलाई राम्ररी हेरें । त्यसपछि आफ्नै सुरमा चिच्याउँदै भनें - राधा नेताकी छोरी । हरि वकिलको छोरो । गीता व्यापारीकी छोरी र सुभम डाक्टरको छोरो । अनि यी सबै छ्या ! भएनन्, म किन छ्या ! भएँ ?

मेरो वरिपरि कोही थिएनन् । मैले चिच्याएको कसैले सुनेनन् । मेरो मन अब अलि हलुका भयो । म दौडदै साथीहरुको नजिक पुगें । मलाई खेल्न पाउँछु कि भन्ने आशा थियो । अहँ, मैले खेल्न पाइनँ । म नजिक पुग्नासाथ साथीहरु प्रहरी आएजस्तै सतर्क भए । उनीहरुले मलाई हेरेर ओठ लेर्ब्याए । भाइसँगै उभिनुभएकी सिमा दिदीले मतिर हेरेर भन्नु भयो - यो त्यही छेउको सरकारी स्कुलमा पढ्ने केटी ।

त्यसपछि सबैले मलाई जा तँ यहाँबाट जा भनेजस्तै लाग्ने गरी हेरे । म बेतोडसँग दौडिदै आफ्नो दुनोट पसलमा पुगें । आमाबुवा असिपसिन हुँदै काम गरिरहनुभएको थियो । मैले केही भन्न सकिनँ । केही सोध्न पनि सकिनँ । बुवाले पत्रिकामा पोको पारेर दुर्इवटा दुनोट दिनुभयो । मैले पकापक खाएँ । अनि म हतार-हतार कोठातिर हिडें ।

कोठामा पुगेपछि मैले फेरि एकपल्ट आफैलाई प्रश्न गरें - म कसरी छ्या ! भएँ हँ ?

अहँ मैले फेरि उत्तर पाउँन सकिनँ ।

अहिले म गुन्द्री ओछ्याएर पढ्न बसेकी छु । मनमा धेरै कुरा सोचिरहेको छु । खै किन हो किन आज मैले पढ्नै सकेकी छैन । गृहकार्य पनि गर्न सकेकी छैन । अल्छी मान्दै हाई गर्दै मैले भित्तामा हेरें । भित्तामा आमा, बुवा र मेरो हाँसिरहेको फोटो झुन्ड्याइएको थियो । त्यो फोटोमा बुवाआमा मोटोघाटो हुनुहुन्थ्यो । गाउँबाट लखेटिएपछि बुवाआमाले यहाँ धेरै दुःख गर्नु पर्यो । शरीर सुक्यो । पातलो हुनु भयो । अनि म पनि दुनोट पसलेकी छोरी भएँ ।

यति कुरा सम्झँदा म रोइसकेकी थिएँ । मेरो आँखाबाट बर्र आँशु खस्यो । म घुक्क घुक्क रोएँ । एकछिन पछि हत्केलाले आँशु पुछ्दै मैले एकटकसँग झोलामा हेरें । त्यसपछि किताब निकालेर पढ्न थालें । आज मैले अरु दिनकोभन्दा बढी पढें । आमाले खाना खान आऊ भनेर तीनपल्ट बोलाउँनु पर्यो । आमा पनि छक्क पर्नु भयो ।

खै के भएर हो अचेल म असाध्यै सोच्ने गर्छु यस्तो किन भयो ? त्यस्तो किन भएन ? म घरी घरी आफैले आफैलाई प्रश्न गरिरहन्छु । साथीहरु भन्छन् - म कक्षामा गुरुलाई प्रश्न सोधेर हैरान गर्छु रे । तर मलाई त्यस्तो लाग्दैन । म त जान्न चाहन्छु । हरेक कुरा जान्न चाहन्छु । मेरो मनले मलाई यही कुरा भनिरहन्छ । अनि मुखबाट आफै प्रश्नहरु निस्कन्छन् ।

आमा बिरामी हुनु भएकीले आज म अलि ढिलो विद्यालय पुगेकी थिएँ । म विद्यालयमा पुग्दा त्यहाँको वातावरण अलि भिन्न थियो । थुप्रै साथीहरु जम्मा भएर रमीता हेरिरहेका थिए । मैले पनि चनाखो भएर हेरें । विद्यालयमा नेपाली लुगा दौरा, सुरुवाल र ढाका टोपी लगाएका दुर्इजना पाहुनाहरु आउँनुभएको रहेछ । एउटा कक्षा कोठाभित्र बसेर हेड सरकी छोरी रीता, श्याम सरको छोरा रुपक र घनु साहुका छोरा हरि जाँच दिइरहेका थिए । के को जाँच रहेछ भनेर मलाई खुबै खुल्दुली भयो । सबै साथीहरु रमीता हेर्नमा मस्त थिए । म लुसुक्क छिरेर हेड सरको छेउमा पुगें । हेड सरले ती पाहुनालाई केही कुरा भनिरहनु भएको थियो । मैले ध्यान दिएर सुनें । उहाँ ती तीनजना विद्यार्थी विद्यालयका सबैभन्दा जान्ने टप विद्यार्थी हुन् त्यसैले यिनीहरुलाई छानेर जाँच दिन लगाएको हुँ भन्ने कुरा गरिरहनु भएको थियो । मलाई त्यो कुरा सुन्दा नमज्जा लाग्यो । मैले केही बोल्न सकिनँ । मनभरि धेरै प्रश्नहरु आए । ठीक त्यतिबेला टङ् घन्टी लाग्यो । पाहुनाहरुले जाँच दिने विद्यार्थीको कपि लिए । उनीहरु कपि लिएपछि हिँड्ने सुरसार गर्न थाले त्यसपछि मलाई खपिनसक्नु भयो । मैले हतार-हतार झोलाबाट कपि निकालें । त्यो कपिमा एउटा प्रश्न लेखें र दौडँदै गएर त्यो अलि पाको देखिने पाहुनालाई दिएँ । उनले मेरो प्रश्न हेरे । अनि मलाई हेरे । मेरो टाउको बिस्तारै सुमसुम्याएर उनले भने - नानी तिम्रो प्रश्नको उत्तर हामी भोलि आउँदा लिएर आउँछौं है !

म अक्क न बक्क भएँ । उनीहरु घुइयाँ गाडी चढेर हिडे ।

साथीहरु सबैले ऐ भन न तैले के प्रश्न लेखेर दिइस् भन्दै वरिपरि जम्मा भएर घेरे । हेड सरले राता राता आँखा पार्दै हेर्नु भयो । सबै कक्षा कोठातिर दौडिए । श्याम गुरुले त मलाई खाउँला झै गरी हेर्नु भयो ।

त्यो दिन मैले केही भन्न सकिनँ । साथीहरुलाई पनि केही जवाफ दिन सकिनँ । टङ टङ घन्टी लाग्यो । सबैजना झोला बोकेर दौडिदै घरतिर लागे । म पनि सँधै जस्तै फेरि दौडिदैं घर गएँ ।

भोलिपल्टको कुरा हो । त्यो दिन पनि म रोएकी थिएँ । विद्यालय जान बस चढ्न लागेका साथीहरुले खै किन हो मलाई ठुस्किएर हेरे । मैले मुसुक्क हाँसेर हेरें । उनीहरुले गजक्क परेर हेरे । उनीहरुले पनि मलाई 'छ्या !' भनेर भने जस्तै लाग्यो । त्यसपछि मेरा आँखा त्यतिकै रसाए । म बाटैमा रोइदिएँ । अनि हत्केलाले आँशु पुछ्दै दौडदै विद्यालयको चौरमा पुगें ।

आज पनि साथीहरुले भन न हो तैले के प्रश्न लेखेकी थिइस् भनेर सोधेका मात्र के थिए । श्याम गुरु कक्षामा टुप्लुक्क आइपुग्नु भयो । सबैजना चुपचाप लागे । उहाँले कराउँदै चर्को स्वरमा भन्नु भयो - ल आशा कुमारी चौधरी हेड सरकोमा जाने रे ।

ला बित्यास पर्यो, तेरो प्रश्नले तँलाई गोदाउँने भो आशा - सबै साथीहरुले मलाई हेर्दै मनमनै त्यही भनेजस्तै लाग्यो । मुटु ढुकढुक भयो । म बिस्तारै नियाउरो अनुहार बनाएर हेड सरको कोठामा पुगें । म त्यहाँ पुग्दा हेड सरले राता राता आँखा पारेर हेरिरहनु भएको थियो । मैले डराएर वरिपरि केही देखिनँ । त्यतिकैमा कसैले माया गरेर बोलाएको सुनें -

आशा, तिमी पनि जाँच दिने हो ?

मैले बिस्तारै टाउको उठाएर आवाज आएतिर हेरें । आम्मै, ती दौरा सुरुवालवाला हिजो आएका पाहुना पो रहेछन् । मैले आँखाभरि आँशु पार्दै टाउको हल्लाएर 'हो' भनें । दुइ हात जोडेर नमस्ते पनि गरें ।

जाँच न हो कसलाई डर लाग्दैन र ! हेड सरले प्रश्नपत्र झिकेर दिनु भयो । हेडसरको हातबाट प्रश्नपत्र लिदा मेरो हात थर्र काम्यो । ती पाहुनाले आज फेरि मेरो कपाल मुसारेर मलाई हौसला दिए । यसरी मैले आफूले जानेसम्मको कुरा सबै लेखेर जाँच दिएँ ।

कपि बुझाएपछि म दौडदै कक्षा कोठामा गएँ । साथीहरु मलाई अचम्म मानेर हेरिरहेका थिए । कक्षामा गुरुआमाले पढाइरहनु भएको थियो । म चुपचाप गएर बसें । मेरो मनमा के के कुरा खेलिरहेको थियो । छेउमै बसेकी शान्ताले मलाई कोट्याउँदै खुसुक्क सोधी - भन्न हो, तैले त्यो पाहुनालाई के प्रश्न लेखेर दिएकी थिइस् । उनीहरुलाई त उत्तर नै नआएर त्यसको जवाफ पछि लिएर आउँने छौं भने नि !

साथीको खासखुसमा गुरुआमाको कर्के नजर पर्यो । ऊ पक्क परी । म ध्यानमग्न भएर पढाइमा एकोहोरिएँ ।

एक घन्टापछि पाले काका कक्षा कोठामा आउँनु भयो । उहाँले कराउँदै भन्नु भयो - ल आशा, तिमी हेड सरकोमा जाने रे ।

साथीहरु यो पल्ट झन डराए । उनीहरुले मलाई माया गरेर दयालु पाराले हेरे । उनीहरुको मनमा पटक पटक हेड सरकोमा जानु पर्ने गरी गल्ती हुने त्यस्तो प्रश्न आशाले के सोधी छे ती पाहुनालाई भन्ने जिज्ञासा प्रश्नै प्रश्न भएर दौडिरहेको मैले महसुस गरें ।

म हेड सरको राता आँखा र डरलाग्दो हेरार्इ सम्झदै डराउँदै कार्यालय कोठामा पुगें । पाहुनाले मलाई पुलुक्क हेरें । उनले मलाई एउटा लामो पाना कागज दिदै भने - ल यो लगेर तिमीले विद्यालयको मुख्य सूचना पाटीमा टाँस्नु । मैले पुलुक्क हेड सरतिर हेरें । उहाँले रिसाएर झर्किदै गम त्यहाँ छ त्यो पनि लिएर जा भन्नु भयो । छेउमा बसेका पाहुनाहरु मुसुमुसु हाँसिरहेका थिए ।

मैले त्यो कागज बोकेर आउदैँ गर्दा के रहेछ भनेर यसो हेरें । आम्मै, कागजमा मैले सोधेको प्रश्न नै लेखेको देखेर एकछिन त म छक्क परें । तर अचम्म मानेर पढ्दा पढ्दै त्यसको अन्तिम हरफ पढेपछि म एकदमै खुसी भएँ ।

मैले रमाउँदै त्यो कागज सूचना पाटीमा टाँसिदिएँ । सूचना पाटीमा टाँसिएको कुरा पढ्दै साथीहरुले एकै स्वरमा भने,

तिमीहरुकी साथी आशाले हामीलाई सोधेको प्रश्नमा यस्तो लेखेकी थिइन् -

साथीहरु सबैले मलाई छ्या ! दुनोट पसलेकी छोरी भन्छन् । म कसरी छ्या भएँ ? अनि आज जान्ने विद्यार्थीहरुसँग तपाईंले जाँच लिएको रे, के कक्षामा प्रथम हुनेभन्दा जान्ने अरु कोही हुन्छ ?

हुँदैन भने खै मैले जाँच दिन पाएको त ?

हुन्छ भने कसरी हुन्छ ? झर्को नमानी उत्तर दिनुस् न है

आशा चौधरी

भाइबहिनीहरु, उनको यही प्रश्न पढेपछि हामीले उनलाई जाँच दिने मौका दियौं । जाँचमा उनी पासमात्र होइन पहिला नै भइन् । त्यसैले अब उनलाई देशभरिका उत्कृष्ट विद्यार्थीहरु पढ्न पाउने सरकारको राष्ट्रिय विद्यालयमा पढ्ने मौका दिएका छौं । यो विद्यालयका तीन हजार सातसय विद्याथीमध्येबाट यो पल्ट उनी मात्र छानिएकी छिन् ।

-  धन्यवाद

अहिले अझ धेरै साथीहरु जम्मा भएर त्यो सूचना पढिरहेका छन् । म साथीहरु तिर हेर्दै मुसुक्क हाँसे । आज म हाँस्दा सबै हाँसेझै लाग्यो मलाई ।

आज मैले एउटा अठोट गरेकी छु - मलाई अब वाहा ! दुनोट पसलेकी छोरी भनेर चिनिनु परेको छ ।

के म त्यो दिन ल्याउँन सक्छु ?
मलाई पो.ब.नं. २५८५९ काठमाडौंमा पत्र लेखेर भन्नुस् न है !

माया गर्ने साथी आशा ।

No comments:

Post a Comment