Monday, July 30, 2012

केटाकेटी मिडियामा बाललेखकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

केटाकेटी मिडिया (जमल, काठमाडौं) मा आज बाललेखकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साहित्य सिर्जना गरी पुस्तक प्रकाशन गरिसकेका र साहित्य लेखनमा रमाइरहेका गरी २३ जना बालप्रतिभाहरू सहभागी भएका थिए ।
सहभागी प्रतिभामा पुस्तक लेख्ने लेखक प्रतिभाका साथै सिनेमामा अभिनय गरेका, गायनमा एल्बम प्रकाशन गरिसकेका र रेडियो एवम् टिभीमा कार्यक्रम संचालन गरिरहेकालगायत विविध विधाका प्रतिभाशाली बालबालिकाहरू सहभागी भएका थिए ।
कार्यक्रममा अमेरिकामा अध्ययनरत ११ वर्षिय लेखक हिमांशु निभा कुँवर, सेन्टमेरिजमा कक्षा ५ मा अध्ययनरत लेखिका ज्वाला ढकाल भिएस निकेतनको १२ वर्षका लेखक महेश भट्टराई नोबेल एकेडेमीका १३ वर्षीया नियात्राकार र कवि सुशान्तमान सिंह मास्केसँग सहभागी साथीहरूले अन्तरक्रिया गरेका थिए ।
साथै कार्यक्रममा गायनमा उत्कृष्ट प्रतिभाहरू गरिमा ज्ञवाली (कक्षा ६, टाइम्स टेलिक स्कुल) र वर्षा अधिकारी (कक्षा ६, क्रिएटिभ एकेडेमी, कीर्तिपुर) ले प्रतिभा प्रस्तुत गरेका थिए, साथै सहभागी प्रतिभाहरूले एकअर्कालाई साथी बनाउने र आआफ्नो घरमा दराजभरि किताब राखेर पुस्तकालय बनाई जतिसक्यो बढी साहित्यका किताब पढ्ने निर्णय गरेका थिए ।
बालबालिकाहरू कस्तो साहित्य पढ्न चाहन्छन् र उनीहरू कस्तो लेखिरहेका छन् र किन लेख्छन् भन्ने कुरामा आधारित रही बालबालिकाको कुरा सुनौं भन्ने आब्हानका साथ आयोजित यस अन्तरक्रियामा लेखक नयनराज पाण्डेले आफ्नो बाल्यकालको सम्झना बालबालिकाहरूलाई रोचक ढंगले सुनाउनु भएको थियो । साथै कार्यक्रममा लेखकहरू कृष्ण अविरल, नीलम कार्की निहारिका, शर्मिला घिमिरे, कार्तिकेय र राधा पौडेलले पनि आफ्नो लेखनको अनुभव र बाल्यकालिन सम्झना सुनाउनु भएको थियो । लेखक महेश पौड्यालको संयोजनमा भएको यस कार्यक्रममा पौड्यालले साहित्य लेखनवारे प्रशिक्षण दिनुका साथै कथा पनि सुनाउनु भएको थियो । उहाँले लेखन कला र भाषाको लालित्य विकास गर्नका लागि पहिलो अनिवार्य शर्त भनेकै धेरै भन्दा धेरै पुस्तकहरू पढ्ने बानी बसाल्नु हो भन्नुभएको थियो ।

No comments:

Post a Comment