Saturday, March 7, 2020

Author with Visually Impaired Children

भक्तपुर, माघ/ नयाँठिमीस्थित आदर्श माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुका लागि आयोजित एकदिने कथा–कविता लेखन तथा वाचन कार्यशाला गत माघ १६ गते सरस्वती पूजाका अवसरमा सम्पन्न भयो ।
मिट दि अथर विथ स्कूल चिल्ड्रेनको माघ महिनाको यस कार्यशालामा उक्त विद्यालयको अन्धा शाखामा आश्रित १३ जना बालबालिकालाई लेखकद्वय महेश पौड्याल र देवु लुइँटेलले कथा लेखन तथा वाचन एवम् छन्द कविता लेखन तथा वाचन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा लेखक देवु लुइँटेलले छन्द कविता लेखनको तालिम दिनुभएको थियो । उहाँले लोकछन्दमा कविता लेखन तथा वाचनबारे विशेष प्रशिक्षण दिनुभएको थियो । उक्त अवसरमा उहाँले बालबालिका माझमा चर्चित बालकविताहरु वाचन गर्दै सोही अनुसार अभ्यास गराउँदै तालिम दिनुभएको थियो । दुवै लेखकको तालिमपछि अभ्यासका क्रममा बालबालिकाहरुले आआफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।
लेखकद्व पौड्याल र लुइँटेलको प्रशिक्षणका क्रममा बालबालिकाहरु एकदमै खुसी हुनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा लेखकहरु रमा अधिकारी पौड्याल, रश्मी खागी, जीवनाथ अधिकारी, संगीतकार रमेश सुवेदी, नम्रता मिस र कार्तिकेयले कथावाचन तथा गायन प्रस्तुत गर्नुभएको थियो ।
कार्तिकेय ट्रस्टको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित यस कार्यक्रम ममतामयी माता देवनायिकी रामानुजदासीको स्मृतिमा आयोजना गरिएको हो ।
आदर्श माविका प्राचार्य हेडसर बुद्विकुमार घोको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उहाँले सिर्जनात्मक क्षमताको विकासले बालबालिकाहरु ज्ञानको क्षेत्र फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा लेखक कार्तिकेयले आँखा नदेख्ने बालबालिकामा छन्द लेखनको अभ्यासले उनीहरुको सिर्जनात्मक लेखन सिपको विकास हुनुका साथै उनीहरुको गायन सिप तिखार्न पनि लयको ज्ञानले विशेष महत्व राख्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा ब्रेललिपिमा प्रकाशित रामकाजी कोने, जलेश्वरी श्रेष्ठ, मनोरमा जफा, गंगा कर्माचार्य पौडेल र कार्तिकेयका ब्रेलबुकहरु पनि विद्यालयको पुस्तकालयलाई उपहार प्रदान गरिएको थियो ।
बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयकी ममतामयी माता दुर्गादेवी देवानायिकी रामानुजदासीको स्मृतिमा देशका ९ स्थानका अवस्थित बालगृहहरुका यस किसिमको कथा तथा छन्द कविता लेखन तथा वाचन कार्यशाला गरिने कार्यक्रम रहेको कार्तिकेय ट्रस्टले जानकारी गराएको छ । यसअघि बुंगमतीस्थित अपाङ्ग सेवा केन्द्र, लेबोरटरी स्कूल, कीर्तिपुर, प्रयास नेपाल बालुवाटार र अन्धा शैक्षिक केन्द्रमा कार्यक्रम सम्पन्न भइसकेको छ ।
वरिष्ठ बालसाहित्य लेखक प्रभा भट्टराईले लेबरोटरी स्कूलमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुलाई छन्द वाचन तथा लेखनको तालिम दिनुभएपछि यो अभियान सुरु भएको हो । यस अभियानका क्रममा १५ जना विविध परिवेशका लेखकज्यूहरुले फरक क्षमताका बालबालिकाहरुलाई ’मिट दि अथर’ शृङ्खलाअन्तर्गत् प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । अब अन्य ४ स्थानमा यो कार्यक्रमको आयोजना गरिने कार्तिकेय ट्रस्टका अध्यक्ष÷संरक्षक मोहन कार्कीले जानकारी गराउनु भएको छ ।

No comments:

Post a Comment