अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), अमेरिकाबाट लेखक, अधिवक्ता एवम् हाल राष्ट्रिय सूचना आयोगको प्रवक्ता रहनुभएकी
अधिकारकर्मी कमला ओलीको जेलभित्रकी सानी बालकथासंग्रह प्रकाशित भएको छ । आदरणीय लेखक एवम् अनेसासका ट्रस्टी गीता खत्री अध्यक्ष रहनुभएको कार्यकालमा प्रकाशित यस कृतिमा सपनाको संघर्ष, बदलाको भावना, बिछोड–मिलन, जेलभित्रकी सानी, व्यस्तताको परिणाम, गरिब जीवन, उसमाथि गोली चलेको रात, छाउपडी र वेदना र शंकाको परिणाम गरी ९ वटा कथाहरु रहेका छन् ।यी कथाहरु पढ्दै जाँदा नेपाली समाजमा बालबालिकाहरुले भोगिरहेको समस्या र पीडाले पाठक मनलाई भावुक बनाउँछ । लेखक ओली भन्नुहुन्छ– “जेलभित्रकी सानी मैले विभिन्न समयमा लेखेका कथाहरुको संग्रह हो । यसमा नेपाली समाजको दर्द, पीडा र यथार्थ प्रतिबिम्बित गर्ने कोसिस गरेकी छु । देशमा २०५२ सालदेखि २०६२ सालसम्मको द्वन्द्वको समयमा बालबालिकामा परेको नकारात्मक असरलाई मैले कथामा विषयवस्तु बनाएकी छु । समाजको यथार्थलाई उजागर गर्ने र सकारात्मक सन्देश दिने मेरा कथाहरुको मूल विशेषता हो भन्ने मलाई लागेको छ ।”
अनेसासका ता. अध्यक्ष गीता खत्रीले प्रकाशकीय मन्तव्यका भन्नुभएको छ – “लेखक कमला कानुन व्यवसायी मात्र होइनन्, उनी पत्रकार पनि हुन् । खास गरी बालबालिकाको हितका लागि लेख्ने र संघर्ष गर्ने पत्रकार पनि ।”
अनेसासको ७६ औँ थुँगाका रुपमा प्रकाशित यस कृतिमा भर्खरै निवर्तमान हुनुभएका अनेसासका अत्यन्त सक्रिय पूर्व अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मन्तव्यका क्रममा भन्नुभएको छ – “कथाकार ओलीको प्रस्तुत कथासंग्रहमा उनका नवीन सोच र बलियो शिल्पकला उद्घाटित भएको छ ।”
जम्माजम्मी ३२ पृष्ठ, आवरण रंगीन र भित्री एकरंगी छपाइ रहेको यस कृतिको मूल्य रु. ७० रहेको छ । चित्रकार उमेशचन्द्र अधिकारीका सुन्दर चित्रहरुले सजिएको यस कृति लेखक ओलीले आफ्ना मातापिता स्व. नारायण ओली र सावित्रा ओलीलाई समर्पण गर्नुभएको छ । मातापितालाई कृति समर्पणका क्रममा उहाँ भन्नुहुन्छ – “मेरा परमपुज्य पिता स्व. श्रीनारायण ओली र ममतामयी माता सावित्रा ओली जसले मलाई यस धर्तीमा जन्म दिएर सभ्य मान्छेका रुपमा बाँच्न सिकाउनुभयो, आमजनसमुदायको पक्षमा शिर ठाडो पारेर उभिरहने र बाँचिरहने प्रेरणा दिनुभयो ।”
No comments:
Post a Comment