Saturday, August 15, 2020

लकडाउनमा चोर

- कार्तिकेय

 पहिलो दिन

“ढोका लगायौ बुढी ? ” बुवाले सोधे ।

“लगाएँ बाबा लगाएँ, कति धेरै डराएको ?” आमाले झर्किदै भनिन् ।

“होइन, लकडाउनको बेला चोरी बढेको छ । अनि सम्झाएको नि !” बुवाले सानो स्वरमा भने ।

छेउमै खेलिरहेको ६ वर्षको नयनले पल्याकपुलुक आमाबुवा दुवैलाई हे¥यो । सायद ऊ चोर को होला ? भन्ने कुरा सोचिरहेको थियो ।

“कति किताब पढेको ? पुग्यो अब सुतौँ । यो बाउछोरा दुवैले किताब पढ्न र खेल्न पाएपछि सुत्नै बिर्सेलान् जस्तो छ ।” आमाले रिसाउँदै भनिन् ।

“त्यसो होइन, यो खालीद होसेनीको दी काइट रनर कथा पढेको नि ! गजब राम्रो रहेछ । छोड्नै मन लागेन । अब अलिकति मात्र बाँकी छ है ।” बुवाले भने ।

“अनि छोरो केटो के गर्दै हुनुहुन्छ नि ?” आमाले नयनतिर हेर्दै सोधिन् ।

“चोर बनाएको !”  किरिङमिरिङ यताउता धर्का कोरेको चित्र देखाउँदै नयनले भन्यो । चित्रमा उसले डराएको आँखा भने स्पष्ट बनाएको थियो ।

चित्र हेरेपछि बच्चा नयनलाई अँगालो मार्दै आमाले भनिन् – “नडराऊ सानू । चोरसोरले केही गर्दैन । मामू छँदैछु नि !”

दोस्रो दिन

“होइन हो कान्छा आज त चोरले मेरो १२ हजारको जुत्ता

चोरेछ नि !” बिहान चिया पिउँदै गर्दा कमल काकाको बोली सुनियो ।

“हो र काका ? जुत्ता नि चोर्न थाले अब चोरले ?” बुवाले भने ।

“हो त बाबु, नयाँ जुत्ता थियो । छोरोले मरिहत्ते गरेर हिजै ल्याएको । लग्यो बजियाले ।” कमल काकाले रिसाउँदै भने ।

“होइन हो बुढा चोरको नि कति कति बिगबिगी भएको हाम्रो टोलमा ।” आमाले दुःख पोखिन् ।

“कोरोनाको लकडाउनमा धेरैको कमाइ खाने बाटो गुमेको छ । खै के भनौँ बुढी । जुत्ता नै चोर्न चोर आयो भन्दा त मलाई नि अलिअलि बढी डर लाग्न थाल्यो है बुढी ! भोलि नै गएर यी केही गहना नि बैंकको लकरमा राखी हाल है !” बुवाले अलि डराउँदै भने ।

नयन बिहानको खाजा दुधु चोकोज खाएर बसिरहेको थियो । उसले आफूछेउमै रहेको गुडिया बोकेर आमाको हातमा राखिदिँदै भन्यो – “यसलाई नि लाकरमा राखिदिनू है !”

आमा र बुवा दुवैले एक अर्कालाई ट्वाल्ल परेर हेरे ।

आमाले चप्प माया गर्दै नयनलाई अँगालेर भनिन् – “हस् छोरा, भइहाल्छ नि ! बाबुको खेलौना गुडियालाई नि लाकरमा राख्ने नि    है ?”

नयन फिस्स हाँस्यो ।

तेस्रो दिन

“लौन नि ढोका खोल्नुस् न कृष्ण दाइ ! ”

“को आयो एकाबिहानै कराउन ? ” बुवाले फतफताउँदै ढोका खोले ।

ढोकामा सुरोज भाइ आँखाभरि आँसु पारेर उभिएका थिए । 

“के भयो भाइ ? किन रोएको नि ?” बुवाले सोधे ।

“मेरो त सुकाएको ठाउँबाट दुई जोर लुगा चोरी भएछ नि दाइ ! किन्ने पैसा नि छैन । कोरोनाले जागिर नि गइहाल्यो । के गर्ने दाइ ? म त बर्बाद भएँ ।”

बुवाले आफ्ना एक जोर पाइन्ट र सर्ट दिएर सुरोज भाइलाई पठाए ।

“मलाई त लुगा नै चोर्न पनि चोर आयो भन्दा त झन् बढी डर पो लाग्न थाल्यो है बुढी ! घरमा भएका केही नगद पैसा नि भोलि नै लगेर बैंकमा राखिहाल है ! इ सेवाबाट काम चलाउनु पर्छ अब ।” बुवाले डराउँदै भने ।

नयन ढुइँढुइँ गाडी खेल्दै बसेको थियो । ऊ खुर्र दौडेर सुत्ने कोठामा गयो । टेबुलमुनिबाट आफ्नो खुत्रुके बोकेर ल्याएर उसले आमाको हातमा राख्दै भन्यो – “मेरो मनीलाई नि लाखिदिनु है !”

आमा र बुवा दुवैले एक अर्कालाई ट्वाल्ल परेर हेरे ।

बाबाले माया गर्दै नयनलाई अँगालो मारेर भने – “हस् छोरा, भइहाल्छ नि । म भोलि आफैँ बैंकमा गएर राख्छु नि है !”

नयन फिस्स हाँस्यो ।

०

यसरी दिनहरु बित्दै गए । हरेक दिन नयनले चोरको बारेमा केही न केही सुन्दै गयो ।

०

शुक्रबारको दिन

सुत्ने बेला भएको थियो । नयन ओछ्यान छेउमा खेलिरहेको थियो । बुवाले दुःखी हुँदै भने – “यो चोरले त गर्नुसम्म गर्यो बुढी । कति दुःख दिएको होला ?”

“त्यही त बाहिर राखेको त केही देख्नै नहुने भो भन्या !” आमाले रिसाउँदै भनिन् ।

नयनले जुरुक्क उठेर आफ्नो सानो रंगीन नयाँ बल बोकेर ल्यायो । अनि बाबाको कम्प्युटरको घर्रा खोलेर फुत्त भित्र हाल्यो र घर्रा लगायो ।

यो देखेर बुवा र आमा दुवै फिस्स हाँसे ।

“लौ अब सुतौँ छोरा । भोलि बाउ र छोरा बिहान उठेर मर्निङ वाक जानुपर्छ नि है !” बुवाले नयनलाई ढाप मार्दै भने ।

“हाम्रो घरछेउको चौरमा गएर  ‘को जिती को जिती’ खेल्ने नि है !” नयनले खुसी हुँदै भन्यो ।

“हुन्छ, भइहाल्छ नि ! भोलि त म जित्छु है ?” बुवाले भने ।

“हुन्न म जित्न दिन सक्दिन है केटा !” नयनले भन्यो ।

नयनको जवाफ सुनेर आमा खितित्त हाँसिन् । बुवा पनि हाँसे । अनि नयन पनि हाँस्यो ।  

शनिवारको दिन

“बाबा ! ऐ बाबा !! एक हप्ताभरि चोरेर हैरान पार्ने त्यो चोरलाई टोलका केटाले समातेर चौरमा बाँधेका रहेछन् है !” सबेरै मन्दिर गएर फर्किएकी आमाले आतिँदै बुवालाई भनिन् ।

नयन र बुवा आमा आउनासाथ मर्निङ वाकमा जाने सल्लाह गरेर तयार भएर बसेका थिए ।

 “हो र आमा !” यति भनेर नयन चौरतिर दौडियो ।

बुवा पनि बाबु विस्तारै है विस्तारै भन्दै उसको पछिपछि दौडिए ।

नयन हस्याङफस्याङ गर्दै चौरमा पुग्यो । चौरमा टोलका छिमेकीहरुको भिड थियो । भिडलाई ठेलेर नयन भित्र पुग्यो ।

त्यसपछि अचानक नयन चिच्याउँदै करायो – “बाबा ! चोर भनेको त मान्छे पो रहेछ !!”

भिडका सबै जना उसलाई हेर्दै गलल्ल हाँसे ।

नयन बुवाको हात समातेर उभियो । उसले खम्बामा बाँधेको चोरलाई क्वाक्वारती हेर्यो ।

चोरको गालामा घाउ थियो । मुखबाट रगत आएको थियो ।

एकछिनपछि खै के सोचेर हो नयन अगाडि बढ्यो । ऊ चोरको नजिक गयो । उसले चोरलाई बाँधेको डोरी खोलिदियो ।

“होइन के गरेको यो बाबुले ?” भिडबाट कमल काकाले कराउँदै  भने ।

चोरले यताउति हे¥यो । त्यसपछि ऊ बेतोडसँग दौडिँदै त्यहाँबाट भाग्यो ।

“लौ हेर कृष्णको छोराले गर्दा आज बल्लतल्ल समातेको चोर उम्कियो !” काकाले कराउँदै भने ।

“कस्तो नमज्जा भयो । त्यसलाई पुलिसले लौरोले पिटेपछि सामान कहाँ छ भन्थ्यो कि !” युवाहरुले भने ।

चोर भागेकोमा चौरमा जम्मा भएका सबै जना थकथक मान्दै पछुतो गर्दै गफ गर्दै बसेका थिए । तर १० मिनेट पछि अचम्मै भयो । त्यो अघिको चोर एउटा ठुलो बोरा बोकेर लमकलमक गर्दै चौरमा आयो । उसले ग्वाँग्वाँ रुँदै चौरमा बोराको सामान खन्याइदियो । सामान चोरिएका टोलका सबै मान्छेहरुले एकएक गर्दै आआफ्नो सामान लिए ।

त्यसपछि नयन घुक्कघुक्क रुँदै गरेको चोरको छेउमा गयो । उसले आफ्नो खल्तीमा हात हालेर एउटा चोकोफन चकलेट निकाल्यो र चोरको हातमा राखिदियो । चोर नयनलाई क्वारक्वारती हेर्दै झन् जोडले हिक्कहिक्क गर्दै रुन थाल्यो ।

एकछिनपछि त्यहाँ अचम्म भयो । चोरलाई पिट्ने हातहरुमा बिस्कुट र चकलेट देखिए । सबैले चोरको अगाडि खानेकुरा राखिदिए । ठिक त्यतिबेला नि “बाबा बाबा ..” भन्दै एउटा ५ वर्षको बच्चा कुदेर आयो । त्यहाँ भएका सबैले अचम्म मान्दै त्यो बालकलाई हेरे ।

“कसको हो यो बच्चा ?” कमल काकाले ठुलो स्वरमा कराउँदै भने । बच्चा खुरुरु  दौडिँदै गएर त्यो चोरको काखमा बस्यो । ऊ बुवाको अगाडि खानेकुरा देखेर लोभियो । अनि पकापक खान थाल्यो । उसले खाएको हेर्दा लाग्थ्यो ऊ धेरै भोकाएको थियो । एकछिनपछि एउटा खुट्टा काटिएकी महिला वैशाखी टेक्दै आइन् । उनले बोरामा बिस्कुट र चकलेट टिपेर हाल्न थालिन् ।

नयनले घर जाने बेलामा पुलुक्क चोरलाई हे¥यो । चोरले एउटा बिस्कुट र चकलेट नयनको हातमा राखिदियो । नयनले अप्ठ्यारो मान्दै बाबालाई हेर्यो ।

“हुन्छ लेऊ दाजुको उपहार हो !” बुवाले भने ।

त्यसपछि नयन बाबाको हात समातेर घरतिर लाग्यो । ऊ घरतिर जाँदै गरेको भिडका सबैले हेरे । सबैभन्दा बढी ध्यान दिएर त्यही चोर बाउले हेर्यो ।

आजकल नयनको टोलमा त्यो चोरको परिचय फेरिएको छ । ऊ एउटा सानो छोराको पिता र एउटी अपाङ्ग श्रीमतीको पति बनेको छ । अब ऊ पनि एउटा असल टोलवासी बनेको छ ।

(प्रकाशोन्मुख बालकथा संग्रह ‘लकडाउनमा चोर र अरु बालकथा’ बाट साभार)





No comments:

Post a Comment