– याङ्जी थोकर
सुशीला देउजाको यसभन्दा अघि मैले बालचित्रकथा ‘बाघ र बाबा’ पनि पढिसकेकी छु । मलाई त्यस कृति अत्यन्तै मनपर्यो । ‘महिमा’ बालउपन्यासले त मेरो मन नै छोयो । यस उपन्यासले बालबालिकाभित्र हुने आफ्नो आमाबुवाप्रति माया, सम्मान, त्याग आदि बुझाइएको छ ।
यस बालउपन्यासको प्रमुख पात्र महिमा नै हुन् । जो आफ्नो बाआमाकी प्यारी छोरी हुन् र आफ्नो भाइको मायालु दिदी । उपन्यासको प्रारम्भमा महिमाले राति सपनीमा आफ्नो बाबा देख्छिन् र भन्छिन्, ‘बुवा ! बुवा !! पर्खनुस् न बुवा ।’ यो आवाज सुनेर भाइ महेश ब्युउँझिन्छ र आफ्नो दिदी सुतेको ठाउँतिर जान्छ । महिमा आफ्नो भाइको धेरै ख्याल राख्छिन् । खाजा बनाइदिने, लुगा मिलाइदिने, विद्याालय सँगसँगै लैजाने आदि गरिदिन्थिन् । यसबाट महिमा आफ्नो भाइप्रति निकै जिम्मेवारी देखिन्थिन् ।
महेश एक असल स्वभाव, आफ्नो दिदीलाई धेरै माया गर्ने भाइ हो । महेश आफ्नो दिदीको मुड अनुसार दिदीसँग आफ्नो मनभित्र भएका कुराहरु सोध्थ्यो । महेश जे कुरामा पनि आफ्नो दिदीलाई मात्रै देख्दछ ।
इलाम जिल्लाको एउटा ग्रामीण क्षेत्रको पहाडी गाउँमा महिमाको घर थियो । जहाँ आमाबुबा, महिमा अनि उसको भाइ महेश बस्थे । निम्नवर्गीय महिमाका परिवारको आधार खेती नै थियो । एकपल्ट गाउँमा पहिरोले महिमाको गैरीखेत लग्यो । परिवारकै जीवन धान्ने त्यस गैरीखेत पहिरोले लगेपछि महिमाको परिवार धेरै दुःखी भए । यसकारण, गाउँका पुरुषहरु भारतको सिलगढी र कलकत्तामा काम गर्न जाने भनेर निधो गरे । त्यस दिनको भोलिपल्ट नै सबैजना मुगलानतिर लागे । गएको तीन महिनापछि महिमाको बुवाको चिठी आयो । तर त्यस चिठी नै उसको बुवाको अन्तिम चिठी हुन पुगियो । उसको आमा सधैँ बुवाको बाटो हेरीराख्थी । भाइ भने बाबाले हामीलाई माया नै गर्नुहुन्न कि भनेर सोध्थ्यो ।
मुगलान फर्किएका सबैजनासँग महिमाको बाबाको बारे कुरा हुन्थ्यो । तर सबैले थाहा भएन भन्थ्यो । बुवा गएको पाँच वर्ष भइसक्दा पनि केही खबर आएन । महिमाले आफ्नो आमाको आँसु र भाइको बेचैनी सहन सकिन र उसले आफ्नो बाबालाई खोज्न जाने निधो गरी । आफ्नो आमासँग सल्लाह गरेर जाने निधो भयो । उसले आफ्नो बुवासँगै मुगलान गएका गाउँका काकासँग बाबुको ठेगाना र जाने बाटोको पत्ता लगायो । बुवाको खोजी गर्न पुरै परिवार नै लागे । खोजीको बिहानै आमाले यात्रामा चाहिने सरसामानहरु पोको पार्नुभयो । सबैजनालाई बिदाई गरेर उनीहरु यात्रातिर लागे । यात्राको पहिलो रातमा महिमाको सुधा दिदीसँग भेट भयो । महिमाले आफू किन आएको भनी सबै कुरा बताई र दिदीले पनि उसलाई सहयोग गर्ने बाचा गरे र सिलगढीसम्म सँगै जाने पनि भन्यो ।
यात्राको क्रममा महिमा र महेशले रमाइलो ठाउँ देखे । त्यो देखेर उनीहरु दुवैजना खुवै रमाए । तर महिमाको आमा भने अलि चिन्तित देखिन्थी । यात्रा गर्दागर्दै उनीहरु सुधा दिदीको काकाकाकी भएको ठाउँमा पुगे । अनि भोलि बिहानै महिमाको बुवा काम गर्ने कम्पनीमा जाने निधो गरे ।
बिहानै महिमाको बुवा काम गर्ने कम्पनीतिर लागे । त्यता पनि महिमाको बुवाको केही अत्तोपत्तो भएन । बुवाको खोजीको लागि यहीतिर आमालाई काम पाइन्छ कि भनी महिमाले सबैलाई सुनाए र उसको सल्लाह ठीक छ भने । ठेकेदारले आफ्नो छोरी नाति पनि हेर्ने मान्छे र घरको ख्याल राख्ने मान्छेको खोजीमा रहेको भनी बताए । त्यसदिनको भोलिपल्टदेखि महिमाकी आमाले त्यही काम गरिन् । एकदिन महिमा घरमा एक्लै हुँदा उसले एकजना नयाँ साथी बनायो । उसको नाम पवन थियो । उनीहरु दुवैजना धेरै मिल्थ्यो । कहिले बजार घुम्न जाने, तरकारी बेच्न सहयोग गर्ने, कहिले पिरो चट्पटे खाने आदि काम उनीहरु मिलेर गर्दथे ।
दिनहरु बित्दै गएको थियो । महिमाले पनि एउटा घरमा काम पाई र उसको भाइ विद्यालय जान थाल्यो । एकदिनको कुरा हो, महिमा घरमा भाँडा माझ्दै थिई । त्यतिखेर अलि एउटा ठूलो घर देखी । जहाँ थुप्रै मानिसहरु लाइन लागेर खाना खान बसेका थिए भने कोही बैशाखी टेकेर उभिएका र कोही ह्वीलचेरमा हिँडिरहेका थिए । महिमालाई त्यस घरमा जान मन लाग्यो । अनि उसले पवनलाई जाम् भने । त्यो ठूलो घर त सुधार केन्द्र पो रहेछ भनी पवनले भन्यो । एकदिनको कुरा हो, महिमाले गाडीबाट चढेर भित्र जाने भनी पवनलाई भन्यो र उनीहरुले त्यही नै गरे । भित्र पुगिसकेपछि उनीहरुको भेट विक्रम सरसँग भयो । जो सर त्यस सुधार गृहका प्रमुख हुन् । उनले महिमालाई सबै कुरा सोधे र महिमाले भने । त्यसपछि उनले आफ्नी श्रीमती र छोरीसँग भेट गराए ।
विक्रम सर र माया मेमले महिमालाई सहयोग गरिदिन्छु भने । यो देखेर महिमा धेरै खुसी भइन् । बेलुका घरमा उसले आफ्नी आमालाई भने । आमा पनि धेरै खुसी भइन् ।
भोलिपल्ट पवन र महिमा विक्रम सरको अफिसमा गए । त्यसपछि के भयो
? उपन्यासमै पढ्न मजा आउछ ।
वास्तवमा यस बालउपन्यास पढिसकेपछि ममा अर्को फूर्ति जागिरहेको छ । हरेक छोरीले पनि यस्तो गर्न सक्लान् । बाआमाको बुढेसकालको सहारा बन्न सक्छन् र छोरीहरु पनि साहसी हुन्छन् । जिम्मेवारीबोध गरेका हुन्छन् भन्ने यस बालउपन्यासले भनेका छ । हामीले मिहिनेत गरे जे पनि गर्न सक्छौँ भनी यस बालउपन्यासमा भन्न खोजिएको छ । हामी साहसी, मिहेनेती, सहयोगी, मनको सफा हुनुपर्छ । यस बालउपन्यास महिमाको मात्र कथा होइन, हरेक छोराछोरीको कथा हो । जसको बुवा, दाजुभाइ, आफ्नो परिवारको खुसीको लागि सम्पूर्ण परिवार नै त्यागेर हामीभन्दा टाढा परदेश जानुहुन्छ । जो आफ्नो परिवारको खुसीलाई सम्झी धेरै मिहिनेत गरेर काम गर्नुहुन्छ । यस बालउपन्यासमा महिमा पात्रद्वारा आफ्नो बाआमाप्रति भएको आदर, माया, मेहेनती भाव, नयाँ सोचको चित्रण गरिएको छ । ‘महिमा’ बालउपन्यासमा नेपाली ग्रामीण ठाउँको निम्न वर्गीयहरुको दुःख, प्राकृतिक प्रकोप, परिवारप्रतिको माया, प्राकृतिक सुन्दरताको मीठो बयान आदि चित्रणले गर्दा पठनीय छ ।
म बालसाहित्यकार सुशीला देउजालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । उहाँले एउटा राम्रो किताब हामीलाई उपहार दिनुभएको छ । आशा छ फेरि पनि उहाँका धेरै राम्राराम्रा कृतिहरु पढ्न पाउनेछु । मलाई ‘महिमा’ बालउपन्यास र ‘बाघ र बाबा’ बालचित्रकथा धेरै नै मनपर्यो । हजुरको अन्य कृतिहरु पनि पढ्न पाएँ हुन्थ्यो भनी पर्खेर बसिरहेकी छु । फेरि पनि धन्यवाद लेखक सुशीला देउजा दिदी !
No comments:
Post a Comment