Tuesday, April 6, 2010

सानो संसार र होचा मान्छे (बालकथा)

लेखक नन्दलाल आचार्यको घर उदयपुर जिल्लामा हो । उहाँ लिटिल फ्लावर मा‌‌विका प्रिन्सिपल हुनुहुन्छ । यो स्कुल राजविराजमा रहेको छ । एकांकी, कथा, कविता र निवन्ध लेख्नुहुने उहाँका थुप्रै रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । यस अंकमा हामीले उहाँको एउटा मार्मिक बालकथा सानो संसार र होचा मान्छे प्रस्तुत गरेका छौं ।     
- सम्पादक

'हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?'

उमेशको प्रश्नले धनप्रसाद झस्किए । 'अब नातिले सताउने पर्यो, कसले यसलाई के भन्दियो कुन्नि, मैले पुष्टि नगरी हुन्न, फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।' धनप्रसादको मनले मनसँगै कुरा गरिरह्यो ।

'हजुरबुवा किन चुप रहनुभएको ? भन्नुस् न हामी कसरी होचा मान्छे भयौँ ?' उमेशको अर्को प्रश्न तेर्सियो ।

धनप्रसाद चुपचाप रहे । गम खान थाले ।

'बाबु, सानो र होचो कुरा कसले गर्यो ?' धनप्रसादले प्रतिप्रश्न गर्नासाथ उमेशको प्रश्न ठडियो, 'के सानो संसारका हामी होचा मान्छे हौँ भन्ने कुरा नै गलत छ ?'

धनप्रसाद हैरान भए । उनको अनुहारमा चिटचिट पसिना आयो । 'केही बोलौँ त प्रश्न माथि प्रश्नको खात लाग्छ, चित्त बुझ्दो जवाफ नभए इज्जत नै लिलाममा पार्छ । हाम्रो हजुरबुवालाई यो पनि आउँदैन त्यो पनि आउँदैन, भुस्कोल हुनुहुन्छ भनेर चारैतिर झ्याली पिट्न थाल्छ । त्यस्तै मौका परेमा मेरै सामु मलाई पनि भुस्कोल हजुरबुवा भनेर नामाकरण गर्न बेर लगाउँदैन । यसका हरेक प्रश्नको जवाफ दिनलाई मसँग ज्ञान पनि हुनुपर्यो नि त ।' धनप्रसादको मनमा कुराहरू तँछाडमछाड गर्दै आए ।

उमेशले झकझकाई रह्यो । धनप्रसाद मौन रहँदा भए । घरीघरी उमेश अर्कै थरीका प्रश्न प्रहार गर्न थाल्थ्यो । 'पख पख, उत्तर दिन्छु' भन्न वाध्य थिए, धनप्रसाद । 'सानो संसार र होचा मान्छे' उनको दिमाखमा यही कुरा घुमिरहेको थियो । त्यत्तिकैमा उमेश कोठाभित्र पस्यो, प्रधानाध्यापक सन्तोष पनि टुप्लुक्क देखापरे । दुबैका बीच अभिवादन साटासाट भयो । शनिवारको दिन भएकोले आफ्नो गाउँघर घुमफिर गरूँ कि भनेर बाहिरिएको हुँ भन्ने कुरा सन्तोष सरले गरे । नातिले प्रश्न माथि प्रश्न तेर्साएर हैरान पारेको र उसका ती प्रश्नको जवाफ आफूसँग नरहेको कुरा गर्न पनि धनप्रसादले भ्याए ।

'यो संसार सानो भयो र हामी मान्छे कसरी होचा भयौँ ? उसको प्रश्न यही हो ।' उनले कुरा राखे ।

'कुरा ठीक हो, संसार सानो भयो, हामी होचै छौ ।' सन्तोषले मुख खोले ।

'उसो भए कसरी ?' धनप्रसाद उत्साहित देखिए ।

'विज्ञान-प्रविधि, सञ्चार-यातायात आदिले एक ठाउँको सूचना अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । एक ठाउँको मान्छे अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । वर्षौँ वर्ष लगाएर तय गर्नुपर्ने यात्रा घण्टामा परिणत भएको छ । लण्डनमा घटिरहेका घटना हामी आफ्नो कोठामा तत्कालै हेर्न सक्छौँ । कतारमा लेखेको कुरा कास्कीमा बसेर तत्कालै पढ्न भेट्छौँ । पेरिसमा बोलेको कुरा तत्कालै ग्रहण गरी जवाफ फर्काउन सक्छौँ । खै, कहाँ संसार ठूलो छ ? संसार त कोठामा कैद भइसक्यो ।' सन्तोष सरको कुरा सिद्धिन नपाउँदै धनप्रसादले लामो श्वास फेरे ।

त्यत्तिकैमा सन्तोष सरलाई उमेश नमस्कार गर्दै देखा पर्यो । सन्तोष सरले पनि नमस्कार गर्दै मेरो कुरा सुन्यौ भनेर प्रश्न राखे । 'सुनेँ सर, म झ्यालबाट सुनिरहेको थिएँ ।' उसले जवाफ फर्कायो ।

'उसो भए मान्छे कसरी होचो भयो त्यो पनि बुझ्न चाहन्छौ, हैन ?' सरको प्रश्नको जवाफस्वरूप उसले मुण्टो हल्लायो ।

'संसारलाई सानो त मान्छेले नै बनायो तर आफू भने होचाको होचै रह्यो । मान्छे ठूलो हुनुपथ्र्यो, हुनसकेन । यही त दुर्भाग्य हो, हाम्रो ।'

उमेश र धनप्रसाद जिज्ञासु भएर सुनिरहेका थिए । सन्तोष सर अगाडि भन्दै गए, 'आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको भावना, अहङ्कार, इष्र्या, जस्ता कुभावना आए र आजका मान्छेमा मानवता नै हराएको छ । आजका हामी ढोँगी, स्वार्थी, संकिर्ण, आडम्वरी भयौँ । स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू भुसुक्कै बिर्सियौँ । लुच्चा, लफङ्गा, स्वार्थी, कामचोर मात्र भयौँ । त्यसैले हामी अग्लो हुन सकेनौँ ।'

उमेश र धनप्रसाद छक्क परे । सन्तोष सर अगाडि थप्छन्, 'हामीले अग्लो मान्छे बन्न सगरमाथाजस्तै ठूलो छाती पार्नुपर्छ । संसारलाई दिने काम मात्र गर्नुपर्छ, लिने काममा लिप्त हुनुहुन्न । विज्ञान-प्रविधि, सञ्चार-यातायात आदिले ल्याएको प्रगतिलाई व्यक्तिगत स्वार्थको तराजुमा तौलनुहुन्न, संसारको उन्नतिमा लगाउनुपर्छ । यसो भएमा मात्र हामी अग्लिन सक्छौँ ।'

'लक्ष्मी रिजाल म्याडमले निबन्ध लेख्न दिनुभएकोले मैले जिज्ञासा राखेको थिएँ, अब मलाई धेरै जानकारी भयो । अब म निबन्ध लेख्न गएँ ।' यत्ति भन्दै उमेश बाहिरियो । धनप्रसाद र सन्तोष सर मुखामुख गर्दै मुसुक्क हाँसे ।

No comments:

Post a Comment