Monday, September 2, 2019

कवितावाचनमा विद्यार्थी सहभागी गराइदिने सम्बन्धमा ।

श्री प्रिन्सिपलज्यू,
 
विषय : कवितावाचनमा विद्यार्थी सहभागी गराइदिने  सम्बन्धमा ।
  
 महोदय,
   यस कार्तिकेय ट्रष्टले राष्ट्रिय बालदिवस २०७६ का अवसरमा निम्न मिति, समय र स्थानमा बालकविता वाचनमा विशेष प्रतिभा भएका बालप्रतिभाहरुबाट कविता वाचन विशेष बालकवि गोष्ठी र बालप्रतिभा पुरस्कार वितरण तथा बालसाहित्य लेखक सम्मान    कार्यक्रम आयोजना गर्न गइरहेको हुँदा त्यस विद्यालयका कक्षा ६ देखि ९ सम्म अध्ययनरत २ जना (छात्र र छात्रा) बालकविहरुलाई सहभागिताका लागि पठाइदिनुहुन निवेदन गर्दछु ।   सहभागी बालकविहरु र विद्यालयलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ । साथै सार्वजनिक यातायातमा आउनुहुने बालबालिकाका लागि बस भाडाको व्यवस्था पनि गरिएको  छ ।
वाङ्मय शताब्दी पुरुष श्री सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने यस कार्यक्रममा यस वर्ष विशेष बालप्रतिभा ४ जना र वरिष्ठ बालसाहित्य लेखक २ जनालाई नगद पुरस्कार र सम्मान प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।
अतः आफ्ना विद्यालयका सिर्जनशीला छात्र र छात्रालाई सहभागी गराई उनीहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिदिनुहुन निवेदन गर्दछु । कार्यक्रममा बालअधिकारसँग सम्बन्धित कविता वाचन गर्नुपर्नेछ । बालप्रतिभाले आफ्नो वा अन्य लेखकको रचना पनि वाचन गर्न सक्नेछन् । सहभागी विद्यार्थीको नाम, विद्यालयको नाम र कक्षा २०७६ भदौ २१ गते बेलुका ५ वजेसम्म फोन नं. ९८०१०७७५१५ वा ९८४१४७७५१५ मा म्यासेज वा फोन गरी टिपाइदिनुहुन अनुरोध गर्दछौँ ।

कार्यक्रम मिति : २०७६ भदौ २२ गते आइतबार
समय : दिउँसो १ः४५ बजे
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रवचन कक्ष १, लेखनाथ हल), कमलादी, काठमाडौँ, नेपाल ।

                                                                                                                          निवेदक
                                                                                                                     मोहन कार्की
                                                                                                                        अध्यक्ष

बालप्रतिभा र बालसाहित्य लेखक पुरस्कृत हुने


काठमाडौँ, भदौ १५/ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आगामी भदौ २२ गते विलक्षण बालप्रतिभाहरु र वरिष्ठ लेखकहरुलाई पुरस्कृत र सम्मानित गर्नुहुने भएको छ । 

कार्तिकेय ट्रष्ट नेपालबाट आयोजना हुने यस कार्यक्रम ट्रष्टका संस्थापक अध्यक्ष वरिष्ठ शिक्षासेवी मोहन कार्कीको सभापतित्वमा सम्पन्न हुनेछ । कार्यक्रममा बालप्रतिभाहरु बालवैज्ञानिक निश्चल पौडेल, प्रोसेस पाण्डे (फरक क्षमताका बालप्रतिभा, गायन), विजय सिंह वाइबा (एसओएस बालग्रामका बालप्रतिभा, चित्रकला) र पुष्पा रेग्मी (संघर्ष गर्दै जीवनलाई उज्यालोतर्फ डोर्याइरहेकी बालप्रतिभा, साहित्य लेखन) लाई कार्तिकेय बालप्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।  

 साथै सोही समारोहमा आदरणीय लेखकहरु विजय चालिसेलाई बालसाहित्य लेखनमा विशिष्ट योगदानका लागि 'चन्द्रनाथ वरिष्ठ बालसाहित्य लेखक सम्मान, २०७५', प्रमोद प्रधानलाई बालसाहित्य लेखन र अनुसन्धानमा विशिष्ट योगदानका लागि 'दुर्गादेवी वरिष्ठ बालसाहित्य लेखक/अनुसन्धाता सम्मान, २०७५',  'चन्द्रनाथ वर्षका उत्कृष्ट लोककथाकार पुरस्कार' नेपाल भाषाका लोककथा संकलन र लेखनमा उत्कृष्ट कृतिका लागि श्रीमती रेवती राजभण्डारीलाई समर्पण गरिने कार्यक्रम रहेको छ ।  

कार्यक्रम २०७६ भदौ २२ गते आइतबारका दिन दिउँसो १ः४५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ (प्रवचन कक्ष हल नं. १ मा) आयोजना हुने आयोजक कार्तिकेय ट्रष्ट नेपाल, पोस्ट बक्स नम्बर २५८५९, काठमाडौँले जनाएको छ ।  

  पुरस्कृत बालप्रतिभाहरुमध्ये बालवैज्ञानिकलाई १० हजार र अन्यलाई जनही ५ हजार नगद पुरस्कारसहित पुरस्कृत गरिने र सम्मानित लेखकज्यूहरुलाई जनही ५ हजार नगद सहित सम्मानित गरिने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ । विगत दुई दशकदेखि वितरण हुँदै आएको यस पुरस्कार बालसाहित्य लेखक कार्तिकेयको लेखकस्वबाट स्थापित भएको विज्ञप्तीमा उल्लेख छ । यस ट्रष्टका संस्थापक अध्यक्ष मोहन कार्की, उपाध्यक्ष पारस श्रेष्ठ, सचिव महेश पौड्याल र कोषाध्यक्षमा भगवती पौडेल रहनु भएको छ ।

Tuesday, August 27, 2019

कार्तिकेय बालप्रतिभा पुरस्कार बालवैज्ञानिक निश्चल पौडेललाई प्रदान गर्ने निर्णय

काठमाडौँ, भदौ १०/ कार्तिकेय ट्रस्टका संस्थापक अध्यक्ष वरिष्ठ शिक्षासेवी मोहन कार्कीको अध्यक्षतामा सोमवार बसेको बैठकले यस वर्षको कार्तिकेय बालप्रतिभा पुरस्कार बालवैज्ञानिक निश्चल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । निश्चल नवजीवन मावि, जुटपानी, सर्लाहीमा कक्षा १० मा अध्ययनरत बालप्रतिभा हुन् । 
आफूलाई सानैदेखि विज्ञानमा रुचि रहेको बताउने निश्चलले कवाडीमा फालिएका सरसामानहरु जुटाएर पाँचवटा र्डोन, ब्यार्टीबाट चल्ने साइकल र मौसमको अवस्थाबारे जानकारी दिने उपकरण बनाएर सबैको स्याबासी पाएका  छन् । निश्चल गाउँमा रहेको कवाडी (थोत्रा सामान किनेर बेच्ने ठाउँ) मा रहेका विभिन्न पाटपुर्जा जम्मा पारेर आफूले बनाएको ब्यार्टीबाट चल्ने साइकल चढेर नै विद्यालय जाने गरेका छन् । 
निश्चल भन्छन्, नास्टका प्राज्ञ ऋषि साहले मलाई सिर्जनात्मक कार्यमा सहयोग गरिरिहनु भएको  छ । 
विगत दुई दशकभन्दा लामो समयदेखि फरक-फरक प्रतिभा भएका बालबालिकालाई प्रदान गरिँदै आइएको यस पुरस्कारबाट पुरस्कृत बालप्रतिभा निश्चललाई नगद दश हजार र ताम्रपत्र प्रदान गरी एक विशेष समारोहमा सम्मानित गरिने भएको छ । पुरस्कार बालसाहित्य लेखक कार्तिकेयको लेखकस्वबाट स्थापित भएको हो । यस वर्षको पुरस्कार राष्टिय बालदिवसका अवसरमा प्रदान गरिने भएको छ । 

Wednesday, August 21, 2019

आदरणीय सत्यमोहन जोशी लिखित पुस्तक प्रकाशित

आदरणीय सत्यमोहन जोशी लिखित पुस्तक बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित भएको छ ।
चित्रांकन वरिष्ठ चित्रकार अशोकमान सिं,
हार्दिक आभार ।

Thursday, August 1, 2019

Respected Tripurari Sharma


Tripurari Sharma is a well-known theatre personality in India and currently works as a professor of Drama at the National School of Drama (NSD), where she teaches acting, writing, and directing. A graduate from Delhi University and NSD, Sharma has written and directed numerous plays including children’s productions.
She has worked with both the NSD theatre company, Theatre in Education, and the Alarippu organization.
Sharma enjoys creating engaging characters and plots that children relate to. Her work has received many honors including the Safdar Hashmi Award and the Sanskriti Award.

Saturday, July 27, 2019

कार्तिकेय ट्रस्टका संस्थापक श्री कार्तिकेयले वि.सं. २०७५ को कार्तिकेय बालप्रतिभा छनोट भ्रमणका क्रममा विभिन्न विद्यालयमा व्यक्त गर्नुभएको मन्तव्यको सार

कार्तिकेय ट्रस्टका संस्थापक श्री कार्तिकेयले वि.सं. २०७५ को कार्तिकेय बालप्रतिभा छनोट भ्रमणका क्रममा विभिन्न विद्यालयमा व्यक्त गर्नुभएको मन्तव्यको सार यहाँ प्रस्तुत गरिएको छ :
 नमस्कार मित्रहरु,
अभिभावक, विद्यार्थी र शिक्षक मित्रहरुमा हार्दिक नमन !
सुरुमा तपाईं अभिभावकसँग मलाई केही भन्न मन लागेको छ,
तपाईं औषधी किन्न जानुहुन्छ, डाक्टरको कागज बोकेर जानुहुन्छ, डाक्टरसँग पनि औषधीबारे प्रश्न पनि गर्नुहुन्छ तैपनि औषधीको एक्सपायर डेट हेर्नुहुन्छ अनि मात्र औषधी किन्नुहुन्छ ।
अनि तरकारी र फलफूल किन्न जाँदा पनि कुहिएको, नकुहिएको छानेर ताजा हेरेर किन्नुहुन्छ । बिग्रेको तरकारी, कुहिएको तरकारी अलिअलि सस्तो पाए भनेर ५० प्रतिशत छुटमा घरमा ल्याएर कहिले छोराछोरीलाई खुवाउने धृष्टता गर्नुभएको छ ?
छैन भने,
आफ्ना बालबालिकाका लागि बालपुस्तक किन्दा तपाईं किन सचेत भइरहनुभएको छैन ? पुस्तक छनोटमा तपाईंले किन महत्वका साथ लिइरहनुभएको छैन ?
तपाईंलाई लाग्ला औषधीले त तुरुन्तै असर गरेर हानी गर्ला कि !
बिग्रिएको फलफूल र तरकारीले पखाला होला कि ! तर, एउटा खराब किताबले के पो गर्ला र ? होईन, यति हलुकासँग नहेर्नुस्, एउटा खराब किताबले माथिका वस्तुहरुभन्दा अझ ठूलो असर   गर्छ ।
कसरी ?
तपाईंहरुको चेहरामा मैले यही प्रश्न देखिरहेको छु,
वास्तवमा तपाईंले बालपुस्तक छनोट गरेर पढाउँदै गर्नुभएको बालक सिकाइको पहिलो चरणको माटो हो । कुमालेले तयार गरेको माटोजस्तै । त्यस कलिलो मस्तिष्कमा खराब किताबले ईष्र्या, घृणा, असमानता, अरुलाई होच्याउनु र ठग्नु अनि झुक्याउनु महानता हो भन्ने जस्ता विचारहरु थोपर्न सक्छन् । ती थोपरीएका विचारहरुले ती बालबालिकाको बानी निर्माण हुनेछ, जसले गर्दा एउटा सभ्य र सहिष्णु समाज निर्माणमा ती किताबले भ्रष्ट भूमिका निर्वाह गर्नेछन् । यति मात्र होइन, तपाईंले छनोट गर्नुभएको किताबमा भाषाको स्तर राम्रो र शुद्ध हुनु जरुरी छ । भाषाको सिकाइको चरणमा नै बालबालिकाले भाषाको गलत प्रयोग सिके भने त्यो जीवनभरि नै सच्चिन कठिन हुन्छ । अनि भाषाको सवालमा अर्को महत्वपूर्ण कुरा पनि छ, यदि कुनै किताबमा उमेर सुहाँउदो भाषा छैन भने त्यसले बालबालिकालाई किताबप्रति वितृष्णा जगाउँछ र उनीहरुमा  पठनसंस्कार विकास गर्ने कुरामा बाधा उत्पन्न हुन पुग्दछ ।
त्यसैले मेरो नम्र निवेदन छ, तपाईं आफ्ना बालबालिकाको पहुँचमा पुगेका किताब किन्नुअघि त्यो किताबबारे केही कुरा बुझेर किन्ने गर्नुहोस् र घरमा विभिन्न माध्यमबाट पुगेका किताबको पनि समीक्षा गरेर मात्र बालबालिकालाई दिनुहोस् । विद्यालयले चित्तनबुझ्ने किताब छनोट गरेको छ भनेपनि प्रश्न गर्नुहोस् ।
किताबको मूल्याङ्कन आफैँ गर्न सक्नुहुन्न भने पनि औषधीको लागि डाक्टरको सल्लाह लिएको जस्तै शिक्षक र अन्य शिक्षित विज्ञहरुको सल्लाह लिनुहोस्, अनि मात्र आफ्ना बालबालिकालाई ती किताब किनेर पढ्न दिनुहोस् ।
तपाईंलाई भन्दा दुःख लाग्छ, मलाई हीनताबोध पनि महसुस भइरहेको छ, वास्तवमा म आफैं अध्यक्ष रहेको बालसाहित्य प्रतिष्ठान नेपाल, अग्रज डा. शैलेन्दुप्रकाश नेपाल अध्यक्ष रहनुभएको नेपाल बालसाहित्य समाज, अग्रज श्री विनय कसजू अध्यक्ष रहनुभएको बालवाङ्मय तथा अनुसन्धान केन्द्र, नेपाल प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य विभाग, जसलाई अहिले अग्रज डा. देवी नेपालले नेतृत्व गरिरहनुभएको छ र विभिन्न विश्वविद्यालयका भाषा र साहित्य पढाउने अग्रज प्रोफेसरहरु, विज्ञहरु आदि आदिको एउटा समूह बनाएर त्यो समूहले वर्षका पठनयोग्य बालपुस्तक, नेपाली बालसाहित्यका १०० पठनयोग्य उत्कृष्ट कृतिहरु भनेर सूची सार्वजनिक गरेर तपाईंहरुलाई सहयोग गर्न सक्नुपर्ने हो । तर, हामीले यो सकिरहेका छैनौँ, यसका लागि हामीले आगामी दिनमा अझ बढी प्रयास गर्दै गएर यो काम पूरा गरेरै छाड्नुपर्छ भन्ने मलाई लाग्दछ । तथापि आजको समयमा किताबको छनोटमा तपाईंको विवेकले भ्याएसम्म सचेत भएर छनोट गर्ने कोसिस गर्नुहोस् भन्ने मेरो हार्दिक आग्रह रहेको    छ । 
हो, अहिले हाम्रो देशमा तरकारीमा विषादीको प्रयोगले कोकोहोलो छ, कुरा त गम्भीर हो तर विश्वभरिका टिभी र इन्टरनेट च्यानलहरु इन्टरनेटबाट खुल्ला गरिदिएर जसरी आज यी माध्यमले बालबालिका र किशोर मष्तिष्कमा विषादी घुलिरहेको छ, त्यसको कसैले लेखाजोखा गरेको छैन । यसलाई रोक्न सकिन्न भन्ने एकथरी मत पनि सुनिन्छ । अर्को थरी मत सरकार नै नलागी नागरिकले यसमा केही गर्न सक्दैनन् भन्ने पनि छ । आज जसरी बच्चा अलमलिएकै छ, फुर्सद पाइएकै छ भनेर तपाईं अभिभावकले बच्चालाई मोबाइल, टिभी र आइप्याड खेलौना दिइरहनुभएको छ । त्यो गलत हो, सरासर गलत हो । आज जसरी अन्य मुलुकमा खान योग्य छैन भनेर भनिएका तरकारी र फलफूल सन् २०१३ देखि नै बिक्री भएर सन् २०१९ सम्म निर्वाध बिक्री भएर बल्ल आवाज उठ्यो । त्यसरी नै विश्व बजारमा हेर्न योग्य छैन भनी सांस्कृतिक अतिक्रमणको लक्ष्यसहित तयार गरिएका बाल र किशोर लक्षित कार्टुन लगायत नयाँ माध्यमका मुभीहरु निर्वाध रुपमा हाम्रा बाल तथा किशोरको खाना खाने बहानाको साथी बनी प्रयोग भइरहेको छ र हामी आफैँ प्रयोग गर्न उक्साइरहेका छौँ । आफ्नो फुर्सदका लागि हामीले हाम्रा बालबालिकाको वर्तमानप्रति खेलवाड गरिरहेका छौँ, अक्षम्य अपराध गरिरहेका छौँ, यसको परिणाम हामी अभिभावकले आँसु बगाएर चुकाउनु नै पर्नेछ एक दिन । तसर्थ यसमा सचेत बनौँ भन्ने मेरो आग्रह रहेको छ ।
मैले यसो भनिरहँदा मलाई धेरै मित्रहरुले यसको समाधान के हो त ? यसमा सरकार दोषी छ, हाम्रो पुरै सिस्टम नै दोषी छ भनेर रिस पोख्ने पनि गर्नुभएको छ । हो, ती मित्रहरुको रिस आफ्नो ठाउँमा ठीक पनि छ तर आफ्नै प्रयासले पनि यसलाई कम गर्न किन प्रयास नगर्ने ? भनेर हामीले गरेर सफल भएका केही व्यवहारिक प्रयोगबारे म तपाईसँग केही विमर्श गर्न चाहन्छु ।
१. वातावरण परिवर्तन गर्नुहोस् : अब तपाईंको घर, विद्यालयको होस्टेल र बालगृहको वातावरण परिवर्तन गर्न पहल सुरु गर्नुहोस् ।
बालक पत्रिकामा सम्पादक भएको समयमा साथै विभिन्न पत्रिकामा कार्यरत रहेका ती दिनहरुमा र आज केटाकेटी अनलाइन डटकम डिजिटल बालपत्रिकामा सम्पादकका रुपमा कार्यरत रहिरहेको अवस्थामा मैले थुप्रै विद्यालयका प्रमुख साथीहरु, होस्टेलका प्रमुख र अभिभावकज्यूहरुलाई अन्तर्वार्ताका लागि भेटेको छु । उहाँहरु गौरवका साथ आफ्ना आश्रित बालबालिकाको खानाको मेन्यु प्रस्तुत गर्नुहुन्छ, हप्ताको दुई दिन मासु खुवाइरहेको कुरा र शाकाहारीका लागि पोषणयुक्त अन्य खानाको व्यवस्थापनको कुरा पनि गर्वका साथ सुनाउनुहुन्छ । जब म प्रश्न गर्छु अनि पुस्तक अध्ययन र अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था नि ? यसमा उहाँहरुको उत्तर दिने उत्साह स्वात्तै घटेर सयबाट दशमा आउँछ, हो मलाई यहीनेर दुःख लाग्छ, यसलाई सुधार्न कराउँदै गुनासो गर्दै हिँड्ने गरेको छु । केही परम मित्रहरुले यो पक्षमा राम्रो सुधार गर्नुभएको छ । त्यहाँ व्यावहारिक परिवर्तन परिणाममा देखिएको छ । त्यो कसरी सम्भव भइरहेको छ ? आउनुस् एकछिन यसमा मन्थन गरौँ ।
टिभी नहेर, मोबाइल नहेर, आइप्याड नहेर भनेर मात्र हुँदैन, तपाईंले त्यसको विकलप पनि त दिन सक्नुपर्यो नि !
हो, महत्वपूर्ण कुरा यही हो यसमा नै सबै कुराको विकल्प रहेको छ । जसका लागि तपाईंले बच्चाको लागि एउटा रुटिन बनाइदिनुहोस् । याद  गर्नुहोस् यो कक्षा कोठा भित्रको रुटिन होइन, एउटा बच्चाको घरको रुटिन, बालगृहको रुटिन र होस्टेलको रुटिन हो । जसमा पुस्तक अध्ययन गर्ने दुईवटा खण्ड हुनेछन् १. पाठ्यपुस्तक दोहोर्याएर पढ्ने र होमवर्क गर्ने र २. अतिरिक्त पाठ्यपुस्तकहरु पढ्ने, जस्तै ः बालकथा, कविता र पत्रपत्रिका आदि आदि पढ्ने र साहित्य रचना गर्ने अर्थात् केही लेख्ने । अनि यो सँगै गाँसिएर खेलकुदका लागि समय र टिभीका लागि समय पनि व्यवस्थापन  गर्ने ।
यसरी समय व्यवस्थापन भएपछि घरको बालकको लागि उसको उमेर अनुसारको पुस्तकहरु भएको पुस्तकालय र होस्टेल तथा बालगृहका लागि पनि सोही अनुसारको पुस्तकालय तथा अतिरिक्त क्रियाकलाप र साप्ताहिक घुमफिरको लागि उचित समय तालिका तयार गरिदिने र अडियो भिजुअलको लागि र खेलकुदको लागि पनि स्थान व्यवस्थापन  गरिदिने ।
यसरी समय बाँडिदै गएपछि बालबालिका र किशोरले मोबाइल र आइप्याड र टिभीमा नै आश्रित भइरहनु पर्ने समय स्वतः घट्दै जानेछ र उनीहरुको बानी क्रमशः बदलिँदै जानेछ, जसले कालान्तरमा उसको व्यक्तित्व विकासमा ठूलो सकारात्मक महत्व राख्नेछ भन्ने कुरालाई हामीले मनन गरी यो कुरा लागू गर्न आजैबाट प्रतिबद्ध होऔँ भनी निवेदन गर्दछु । खानेकुराको सवाल पनि यस्तै हो, यदि कुनै विद्यालय, बालगृह वा घरमा फास्टफुड भित्रिन नदिने प्रतिबध्ता गरी मेनु निर्माण गरियो भने यो कार्य गर्न सम्भव छ, गर्न सकिन्छ, हाम्रा साथीहरुले सफल भएर देखाइसक्नुभएको छ ।
तपाईं र मजस्तै अभिभावक मित्रहरुले जसरी पुस्तक छनोटमा सचेत हुनुपर्छ त्यसरी नै आफ्ना छोराछोरीले हेर्ने टिभी तथा युट्यब इन्टरनेटको छनोटमा पनि सचेत हुनैपर्छ । हामीले जतिसक्यो बढी प्रयास गरी आफ्ना बालबालिकालाई सुमधुर र सौहार्द बालापन जिउनका लागि वातावरण तयार गरिदिने हो । उनीहरुको थरीथरी कल्पनामा रमाउने र कल्पनाको उडान भर्ने बालापन युट्युब कम गरेर दिन सक्छौँ । केही बुज्रुक अभिभावकहरुलाई लाग्ला नयाँ प्रविधिसँग चाँडै साक्षात्कार नगराए हाम्रा बालबालिका पछाडि पर्ने पो हुन् । आफ्ना नानीहरुका लागि त्यसरी गहन रुपमा सोच्ने ती प्यारा अभिभावकको सोचलाई सलाम । तर, जसजसले यो मोबाइल बनाए जो यसको मुख्य व्यापारी छन्, तिनीहरुले नै आफ्ना साना नानीहरुलाई यसबाट टाढा राख्ने नियम कडाइका साथ कार्यान्वयन गरिरहेको आजको अवस्था हो । उनीहरुले किन यसो गरिरहेका छन् ? एकपटक हामी पनि गम्भीर भएर सोचौं अनि लहैलहैमा उनीहरुका धेरै कुराहरु कपी गरिरहेका त छँदैछौँ, एकपटक यसलाई पनि कपी गरेर लागू गरी हेरौं न त !
आदरणीय तपाईं अभिभावकले व्यस्तताको छालमा लपेटिएर प्रश्न गर्न छाड्नुभएको छ आजकल । प्रश्न गर्नुस्, आवाज उठाउनुस् । हाम्रो बच्चा पढ्ने विद्यालय समय घटाउँदै घटाउँदै लगेर नेपाली भाषा मार्न उद्यत छ । त्यही विद्यालय हामीलाई संमृद्धिको लालीपप चुसाएर चाइनिज भाषाको छुट्टै कक्षा नै पढाइरहेको छ, किन ?
आफ्नै नेपाली भाषा शिक्षणमा किन उसले जागर देखाइरहेको छैन ? किन हाम्रा विद्यार्थीहरुकको मातृभाषामा शिक्षणलाई बेवास्ता गरी अंग्रेजीलाई अत्याधिक प्राथमिकता दिइँदैछ ?
हामीले प्रश्न गर्ने पक्ष यो पनि हो । तर हामी अरुको भाषामा रमाउँदै गरेको बालक, अरुको फास्टफुडमा अभ्यस्त हुँदै गरेको बालकलाई हेरेर गर्व गरिरहेका छौँ । उसलाई नेपालीजस्तो बनाउन चाहिरहेका नि छैनौँ, यसमा दोष कसको हो ? आफैँले आफैँलाई प्रश्न गर्नुहोस् ।
 चाइना भ्रमण गर्न जान पाउने लालसामा हाम्रा विद्यालयहरुले चाइनिज भाषा लादिरहेका छन् । आफ्नो भाषा मारेर संमृद्धि मिल्छ, बच्चाले भविष्यमा सुख पाउछ भनेर हामी अभिभावकले आफ्नो बच्चाभित्र सिक्ने चरणमै मर्दै गरेको नेपाली भाषा सिप हेरेर ताली बजाइरहेका छौँ, अंग्रेजी भाषाका लागि ।
अरुको भाषा जानेर मात्र मुलुक समृद्ध हुने हो भने जापानिज र चाइनिजहरु किन अंग्रेजी भाषामा पोख्त हुन त्यति रहर गर्दैनन्, तर आफ्नो भाषाप्रति गर्व गरेर नै विश्व अर्थतन्त्रमा अगाडि  छन् ? त्यसैले जब हामीले बच्चालाई हाम्रो भाषा केही होइन, हाम्रो देश केही होइन भन्दैभन्दै अभ्यस्त पार्दै जान्छौँ, त्यसको असर उसको आत्मविश्वासमा पनि पर्छ, उसले अरुलाई भन्दा आफूलाई होचो र निचो देख्छ । उसको आत्मविश्वास डगमगाउँछ । त्यसैले हामी पनि आफ्नो देशका असंख्य कुराहरुलाई छोपेर आफ्ना बालबालिकालाई देशको बारेमा नकारात्मक कुरा मात्र नसुनाऔँ । जतिसक्यो बढी उनीहरुमा सकारात्मक सोचको विकास गरौँ, असल अभिभावकको कर्तव्य निर्वाह गरौँ ।
अब तपाईं विद्यार्थी मित्रहरुलाई पनि मलाई केही कुरा भन्न मन लागेको छ :
अहिले तपाईंहरु अरुको नक्कल गरेर र घोकेर सुनाएर ताली पाउनमा अभ्यस्त हुँदै जानुभएको देखेर मलाई दुःख लाग्छ ।
तपाईं आफैँले आफैँलाई विश्वास गर्नुस् । तपाईं सबैभन्दा अलग हुनुहुन्छ, सबैभन्दा फरक हुनुहुन्छ । तपाईं हरेक बालबालिकामा भिन्नभिन्न विशेष क्षमताको प्रतिभा निहित रहेको छ । त्यो प्रतिभाले मौलाउने फस्टाउने मौका खोजिरहेको छ, त्यसलाई परिश्रम र अभ्यासको बलले मौलाउने मौका दिनुहोस् ।
त्यसपछि तपाईंको प्रतिभाले आफ्नै शैली, आफ्नै क्षमताको विकास गर्छ फलस्वरुप तपाईंको एउटा अलग्गै परिचय बन्छ ।
हो, मेरो गुनासो यही कुरामा हो, तपाईं जस्तो यस्तो आफ्नै शैली र क्षमता विकास गर्न सक्ने बालप्रतिभाले किन घोकेर पढ्ने ? किन अरुको नक्कल गरेर अरुजस्तै बन्न खोज्ने ? तपाईं आफू आफूजस्तै नै बन्नुस् । आफ्नो लागि आफैँ हिरो र हिराइन हुँ भन्ने आत्मविश्वास बोकेर अगाडि बढ्नुस् । आफूलाई एकदमै महत्व दिनुस्, आफ्नो मनोबल सधैँ उच्च राख्नुस् । तर, सधैँ याद गर्नुस्, तपाईंको जितमा मानवताले कहिल्यै हार्नुहुँदैन । मानवतालाई आफ्नो जितभन्दा माथि राख्नुस् । मानवतालाई मारेर, मानवतालाई हराएर हासिल भएको तपाईंको जितले कालान्तरमा तपाईंलाई आत्मग्लानी, पछुतो र छटपटी शिवाय खुसी र शान्ति दिन सक्ने छैन । त्यसैले सबै साथीभाइलाई सम्मान गर्नुस् । स्वस्थ प्रतिस्पर्धा गर्नुस् । प्रतिभाको प्रतिस्पर्धा गर्नुस् । अहंकार र छलकपटको होइन । सही प्रतिस्पर्धाले हाम्रो जीवनमा उर्जा मिल्छ । र, उर्जाले जीवन सौहार्द र शान्त हुन्छ । खेलमा हार र जितका दुई पटाहरु हुन्छन् । हारमा आत्तिने र जितमा मात्तिने नगर्नुस् । हारपछिको जित मीठो हुन्छ र जितपछिको हारले अझ बढी मिहिनेतको अपेक्षा राख्छ अनि त्यो हारपछिको जित रोमान्चक हुन्छ, अविष्मरणीय बन्छ । मलाई यति भन्नु छ, यदि तपाईं दौड प्रतियोगितामा हुनुहुन्छ र दौडने क्रममा एउटा साथी हर्टअट्याक भएर लड्यो भने जितलाई बिर्सिदिनुस् र कसरी हुन्छ त्यो साथीको प्राण रक्षाको लागि कटिबद्ध हुनुहोस् । अनि तपाईं असल मान्छे बन्नुहुनेछ । दृढ विश्वास गर्नुस्, असल मान्छे नै दीर्घकालीन रुपमा सफल र सर्वप्रीय मान्छे बन्नेछ । अरु भनेका पानीका फोकाजस्ता मात्र हुन् । क्षण भरमै चम्किएर बिलाउनेछन् ।
अब प्रतिभा छनोटका लागि ठाउँठाउँमा कार्तिकेय ट्रस्ट किन पुगिरहेको छ ? भन्ने प्रश्नको जवाफ दिने प्रयास गर्दछु ।
वास्तवमा म धेरैभन्दा धेरै बालबालिका र किशोर मित्रहरुसँग संवाद गर्न चाहन्छु । उहाँहरुलाई आफ्ना केही कुरा भन्न चाहन्छु र उहाँहरुका केही कुरा सुन्न चाहन्छु । यो त्यही उद्देश्यबाट प्रेरित एउटा शृङ्खला मात्र हो । हामी विगत २२ वर्षदेखि यसरी नै यो सानो सत्प्रयासमा निरन्तर लागिरहेका छौँ ।
कस्तो प्रतिभा छनोट हुन्छन् त ?
यो प्रश्न यस यात्रामा सबैभन्दा बढी सोधिने प्रश्न हो । साँच्चै भन्नुपर्दा प्रतिभा छनोट गर्ने काम अत्यन्त कठिन काम हो । एउटा विद्यालय, बालगृह वा आश्रम वा अन्य यस्तै बालसंरक्षण केन्द्रहरुमा पुग्दा फरफरक विधाका उत्कृष्ट भनेर २०÷२५ जना विद्यार्थीहरुसँग छलफल गर्ने मौका प्राप्त हुन्छ । म पनि यो अवसरका लागि उहाँहरुप्रति कृतज्ञ हुन्छु, कथा सुनाउँछु र लामो गफगाफ कुराकानी गर्ने गर्छु । बालबालिकाको कुरा पनि मज्जाले सुन्छु । तर हरेक ठाउँमा पुग्दा हामी आयोजकका पनि केही बाध्यता हुन्छन् । हामी सबैलाई पुरस्कृत गर्न सक्दैनौँ । तर सधैँ मेरो मनको प्राथमिकतामा त्यस्ता बालबालिकाहरु पर्छन्, जसले जीवनका प्रतिकूलताहरुसँग लाप्पा खेल्दै जीवनलाई सुनौलो भविष्यतर्फ, उज्यालोतिर अग्रसर गराइरहेका हुन्छन् । हो, म मान्दछु, कतिपय अवस्थामा कहिलेकाही प्रतिकूलताबीच हुर्किएका बालबालिकाभन्दा सहज पारिवारिक अवस्थामा हाँसीखुसी हुर्किएका बालबालिकाहरु अझ बढी प्रतिभावान् हुन् कि जस्तो पनि लाग्छ । त्यो स्वाभाविक पनि हो, स्याहार पुगेको बिरुवा राम्ररी सप्रनु स्वाभाविक पनि हो । ती सधैँ उम्दा छन् र रहिरहने छन् । उनीहरुका लागि जीवनका अनेकौँ सफलताका ढोकाहरु खुल्दैखुल्दै जनेछन्, यो मेरो विश्वास हो र शुभाशीष पनि ।
तर प्रतिकूलतालाई जितेर आएकाहरुको चमकमा पनि कुनै कमी हुँदैन । उनीहरु पनि अब्बल छन्, हुन्छन् । यो कार्तिकेय ट्रस्टको विश्वास हो । हामी जीवनका फरकफरक मोडहरुमा संघर्ष गर्दै वर्तमानलाई टल्काउँदै सुमधुर भविष्यतर्फ अग्रसर संघर्षशील बालप्रतिभाहरुका लागि हो । हाम्रो छनोटमा विगत दुई दशकदेखि उनीहरु पहिलो प्राथमिकतामा पर्दै आएका छन् । र, परिरहने छन् । अनि सहज पारिवारिक वातावरणमा हुर्किएर विलक्षण क्षमता प्रस्तुत गर्न सफल बालप्रतिभाहरुलाई पनि हामीले पुरस्कृत गर्दै आएको सत्य सबै सामु छर्लङ्ग नै छ ।
र, अन्त्यमा विद्यालयहरुलाई पनि मलाई केही भन्नु छ,

आदरणीय प्रिन्सिपलज्यू,
कृपया बच्चालाई घोकाएर, रट्न लगाएर ५ पेज लेखाएर विद्यालयका एउटा मेडल र शिल्ड भित्रिएकोमा गर्व नगर्नुस् । बरु एक पेज नै किन नहोस्, बच्चाले आफैँ लेखेर ऊ आफैँ गौरवान्वित हुने मौका दिनुहोस् । विद्यार्थीलाई घोक्ने मञ्च र घोकाउने शिक्षक होइन । विचार आदान प्रदान गर्ने, आफ्ना कुरा निर्धक्क भन्न पाउने साप्ताहिक सृजना वाचन मञ्चको संयोजन गरिदिन सक्ने शिक्षक दिनुस् । त्यो मञ्चले नै भाषालाई निखार्दछ । आज मञ्च पाएको त्यो बालबालिकाले ५ पेजको मात्र के कुरा गर्नुहुन्छ, ठूलो समूहमा एक घन्टा भाषण गर्न सक्ने सामथ्र्य आफूभित्र विकसित गर्न सक्नेछ । २० पेज लेख्न सक्ने क्षमता आफूभित्र विकसित गर्न सक्नेछ ।
तपाईं प्रिन्सिपलज्यूहरुसँग मेरो अर्को पनि गुनासो छ, तपाईंहरु सधैँ जान्नेलाई मात्र अगाडि सार्नुहुन्छ । नजान्ने झन् झन् नजान्ने बन्दै गएर आत्मग्लानीले सिद्धिएको, आत्मविश्वास गुमाएको खबर नै राख्नुहुन्न । यो गलत हो प्रिन्सिपलज्यू । ब्याक बेन्चरलाई पनि अगाडि ल्याउनुस्, जान्ने र नजान्नेको जोडी बनाइदिएर उनीहरुलाई सँगसँगै दाउनुहोस् , जोत्नुहोस् र सँगसँगै रोपाइँ पनि गर्नुहोस् । विश्वास गर्नुस्, नजान्नेले रोपेको धान पहिलो वर्ष अलिकति होचो होला, अलिकति थोरै फल्ला तर त्यसमा धान पक्कै फल्छ । अर्को वर्षमा त झन् सप्रेको बोट भएर नै धान फल्नेछ । कुरा आत्मविश्वासको हो, तपाईं उसको आत्मविश्वासलाई डगमगिन नदिनुहोस् । सफलता तपाईं हामीजस्तो छैन, ऊ निष्पक्ष र तटस्थ रहन्छ सधैँ, तसर्थ उसले नजान्नेको ट्याग लागेकोलाई पनि एकदिन मज्जाले सफलताको स्वाद चाख्ने मौका दिनेछ, अवश्य दिनेछ । तर, तपाईंले उसलाई सिक्नका लागि सधैँ प्राथमिकतामा राखिदिनुहोस् ।
भन्ने कुरा धेरै छन्, यहाँ सबै भनेर सम्भव पनि छैन । तर अन्त्यमा मेरो यति भन्नु छ,
प्रिन्सिपलज्यूहरु,
आफ्ना विद्यार्थीहरुलाई हरेक दिन एक घन्टा पुस्तकालयमा बिताउने मौका दिनुहोस् । किताबहरु भरिभराउ भएको एउटा पढ्न सहज भएको पुस्तकालय नभएको विद्यालय पनि के विद्यालय ? त्यो त जनावर बस्ने खोर मात्र हो । तसर्थ मैले सधैँ भन्ने गरेको छु, जुन विद्यालयमा पुस्तकालय छैन, त्यहाँ मलाई कथा भन्न नबोलउनुहोस् । किनकि त्यहाँ तीतो कुरा गरेर झुकेको तपाईंको शिर हेर्दा म आफैँलाई लज्जा महसुस हुन्छ । त्यसै म त्यस्तो विद्यालयमा आफैँ जान्नँ ।
 र, अन्त्यमा कार्तिकेय ट्रस्ट बालबालिका माझमा पठन संस्कृतिको विकासका लागि स्थापित भएको हो । यस ट्रस्टले दुई दशक लामो यात्रामा अगाडि बढिरहेको छ । ट्रस्टले यति लामो समयसम्म काम गर्न सक्नुमा यस ट्रस्टका संस्थापक अध्यक्ष वरिष्ठ शिक्षासेवी श्री मोहन कार्की सरको ठूलो योगदान रहेको छ । उहाँप्रति हामी कृतज्ञ छौँ । त्यस्तै ट्रस्टका सचिव श्री महेश पौड्याल (आख्यानकार, समीक्षक तथा त्रिविविका अंग्रेजी विषयका शिक्षक) को सहयोगप्रति पनि आभारी रहेका छौँ । साथै कार्तिकेय लिखित बालकृतिहरु किनेर सहयोग गर्नुहुने पाठक, विद्यालय र पुस्तकालय परिवारप्रति पनि आभारी छौँ ।

हस् त धन्यवाद् ।
तपाईंले मेरो मनको कुरा सुनिदिनु भयो, सबैप्रति हार्दिक आभार ।
जय बालबालिका ।
जय बालसाहित्य ।।
 (यस कार्यक्रमको रिपोर्टर मनीषलाई हार्दिक धन्यवाद छ ।)

Sunday, July 21, 2019

नेपाली बालसाहित्यमा साँच्चिकै परिवर्तन ल्याउने हो भने के गर्नुपर्छ ? - कार्तिकेय

हामीले नेपाली बालसाहित्यलाई पुस्तक बजारको मूल प्रवाहमा छिराउन सक्नुपर्छ अनि मात्र हरेक विद्यालयका पुस्तकालयमा नेपाली बालसाहित्यका सेलेक्टेड पुस्तकहरुको छुट्टै ठूलो र्याक बस्छ । अनि नेपाली बालसाहित्यलाई संस्थागत रुपमै खरिद गरिने वातावरण सिर्जना हुनसक्छ । त्यसका लागि हामीले यी कुरा गर्न सक्नुपर्छ :
१. नेपाली बालसाहित्यका १०० उत्कृष्ट बालकृतिहरुको सूची सार्वजनिक गर्ने । यो कार्यका लागि बालसाहित्यको प्रवद्र्धनमा लागेका सामाजिक संस्थाहरुको एउटा अलाइन्स बनाउने, त्यो अलाइन्सले मुलुकका प्रतिष्ठित विश्वविद्यालयबाट एकएक जना विशेषज्ञ, संस्थागत प्रतिनिधि विशेषज्ञ, मनोविद् आदिको एउटा बोर्ड बनाउने र त्यो बोर्डले के कस्ता गुण भएका किताब उत्कृष्ट बालकृति हुने भन्ने एउटा मापनको खाका तयार गर्ने र त्यसलाई बृहत् छलफल गरी बुक छनोटको मापदण्डको रुपमा सार्वजनिक गरिदिने । त्यसपछि त्यही आधारमा विस्तृत अध्ययन गरी ३ वर्षभित्र नेपाली बालसाहित्यका १०० उत्कृष्ट बालकृतिहरुको सूची सार्वजनिक गर्ने ।
२. त्यसपछि त्यही आधारमा वर्षका २५ (उमेर समूह अनुसार गर्नुपर्ने भएकाले २५ गरिएको) उत्कृष्ट बालसाहित्य लेखक र पुस्तकहरुको सूची सार्वजनिक गर्ने परम्परा सुरु गर्ने । 
३. त्यसपछि उत्कृष्ट १०० मा छानिएका किताबहरुको नयाँ साजसज्जा संस्करण प्रकाशन गर्न सुरु गर्ने । ती सबै किताब बजारमा सहजै उपलब्ध हुने वातावरण बनाउने । साथै, १०० मा छानिएका मध्ये धेरेै भन्दा धेरै किताबको मोटो गाता संस्करण पनि प्रकाशन गर्ने ताकि विदेशी किताबमा रमाउने विद्यालय र पुस्ताको पनि उक्त कृतिहरुमा ध्यान आकृष्ट होस् ।
४. त्यसपछि यस्तो दिन ल्याउन प्रमोसन गर्न सुरु गर्ने कि नेपाली बालसाहित्यका १०० किताब हाम्रो पुस्तकालयको पुस्तकालयमा छ भन्दा विद्यालय टिमलाई गौरव महसुस होस् । उत्कृष्ट २५ किताब पनि त्यसरी नै विद्यालयसम्म पुग्ने वातावरण बन्दै जानेछ । र, त्यसपछि मात्र नेपाली बालसाहित्यका ती सूचीमा नपरेका किताबहरुको मूल्य स्वतः कम हुनेछ र सूचीमा परेकाहरुले पनि मितव्ययी मूल्य राख्न स्वतः प्रोत्साहित हुनेछन् किनकि उनीहरुको बिक्रीको संख्या बढी हुने भएकाले छपाइको मूल्य त कम हुँदै गएको अवस्था हुनेछ ।
५. आगामी ५ वर्षभित्र यति गरिसकेपछि त्यही अलाइन्सले सबैसँग सहयोग जुटाएर १ करोडको अक्षयकोष बनाउने र सुरुवातमा हरेक २ वर्षमा दुई उमेर समूहका २ लेखकलाई २ लाख ५० हजार राशिको उत्कृष्ट बालसाहित्य पुरस्कार प्रदान गर्ने परम्परा सुरु गर्ने । अनि बल्ल बालसाहित्य लेखन र पठन संस्कृतिका उपलब्धिपूर्ण धक्का महसुस हुनसक्छ र नेपाली बालसाहित्यको अवस्थामा साँच्चिकै परिवर्तन हुनेछ । अहिले त डलरको चमचमले नेपाली बालसाहित्य चहकिलो भएको जस्तो मात्र लागेको हो तर त्यतिबेला साँच्चै नेपाली पाठकको नेरुले नै बालसाहित्य चम्कने छ । किनकि आज रोल डाल र एनिड ब्लाइटन लगायत लेखकका सिरिजका सबै किताब किनेर घरमै पुस्तकालय बनाएर पढाउन सक्ने आर्थिक स्तर भएका पाठकसम्म पनि नेपालबाट प्रकाशित नेपाली बालसाहित्य पुग्ने दिन आउने छ ।
६. हो, पुरस्कारको हकमा छनोटमा र बुक सेलेक्सेनमा निष्पक्ष हुँदैन विदेशमा त यस्तो भनेर नि प्रतिक्रिया आउन सक्छ तर म ती मित्रहरुलाई यति मात्र भन्न चाहन्छ, भो अब विदेशको उदाहरण दिएर गौरव गर्न कम गरौं, पुरस्कार छनोटमा र बुक सेलेक्सेनमा असहमतिका स्वरहरु युरोप, अमेरिका र अन्य बालसाहित्य पढ्ने अवस्था अत्यन्त राम्रो भएका मुलुकमा पनि सुनिँदै आएका छन् । तर हाम्रो प्रयास त्यसलाई कसरी कम गर्ने भन्ने हुँदै जानुपर्छ । अर्को कुरा हामीले यस्तो उदाहरण दिन सक्ने दिन ल्याउनुपर्छ : जस्तै— फलानो प्रदेशमा बालसाहित्य बढी बिक्यो, फलानो प्रदेशमा बालबालिकाको पुस्तकालय बढी छ, फलानो प्रदेशका बच्चाहरुको पठन गति तगडा छ, फलानो प्रदेशमा किताब पढौं, पुरस्कार जितौं कार्यक्रममा १ लाख विद्यार्थीले भाग लिए, फलानो प्रदेशमा धेरै किताब पढ्नेमध्ये टप टेनलाई स्थानीय सरकारको पहलमा हरेक वर्ष छात्रवृत्ति प्रदान गरियो, यसबाट देशभरि दसौं हजार विद्यार्थीले राम्रो किताब पढ्ने बानीका कारणले निःशुल्क पढ्न पाए, आदि आदि यस्ता कुराहरु र उदाहरणले सही र सुनौलो भविष्यका लागि प्रदेशप्रदेशबीच आन्तरिक प्रतियोगिता बढाउन सके हामीले परिवर्तन महसुस गर्न र भोग्न पाउने हो ।

Friday, July 12, 2019

TELL AND LISTEN TO STORIES EVERYDAY

 MOUNT EVEREST STORYTELLING EXPRESS
----------
TELL AND LISTEN TO STORIES EVERYDAY

काठमाडौँ, असार २९/ किताब क्याफे, बसुन्धरा, काठमाडौँमा लेखकसँग साक्षात्कार कार्यक्रममा गत शनिवार २८ गते बालसाहित्य लेखक कार्तिकेयले कथावाचन गर्नुभयो । कार्यक्रममा बालसाहित्य लेखक ललिता शर्मा (बाँके, नेपालगन्ज) र आश्मा अर्यालले लेखकलाई रचनावाचन र उद्घोषणमा सघाउनुभएको थियो ।
माउन्ट एभरेस्ट स्टोरी टेलिङ एक्सप्रेस, कथा सुनौं र सुनाऔं अभियानका अभियन्ता कार्तिकेयले उक्त कथावाचन समारोहमा 'आमा, पपी छुट्यो', 'नयन हरायो', 'म चोर होईन', 'फुच्ची नानी सूर्य भेट्न गइन्' र 'नयाँ पाहुना' गरी आफ्ना ५ वटा बालकथा वाचन गरी सुनाउनुभएको थियो । अन्त्यमा उहाँले हुम्लाको किम्बदन्तीमा आधारित कथा 'लच्छिनको दाँत' सुनाएर बालबालिकालाई अझ बढी रमाइलो थप्नुभएको थियो । 'लच्छिनको दाँत' कथा के.बी. सिम्पलले पुनर्कथन र कार्तिकेयले सम्पादन गर्नुभएको कथा हो । उक्त समारोहमा लेखक ललिता शर्माले कार्तिकेय लिखित वाग्मती नदीमा शीर्षक कथा र आफ्नो एउटा कथा वाचन गर्नुभएको थियो । कथावाचक कार्तिकेयले कथावाचन गरिएका कृतिहरुका चित्रकारहरु क्रमशः सुमन महर्जन, समित श्रेष्ठ, राजुबाबु शाक्य सारब र अविन श्रेष्ठ तथा प्रकाशक बुकआर्ट नेपाल र नयाँ पाहुना कृतिका प्रकाशक कथालयलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै उक्त अवसरमा वाचित ललिता शर्माको 'सपनाको क' चित्रकथाकृतिका चित्रकार सोनाम तामाङलाई पनि लेखक शर्माले हार्दिक धन्यवाद दिनुभएको थियो । कार्यक्रमको संयोजन किताब क्याफेका प्रबन्धकद्धय विभोर बराल र अर्चना बरालले गर्नुभएको थियो । 


कविता पराजुलीका दुई बालकविताकृतिहरु विमोचित

काठमाडौँ, असार २८/ कविता पराजुलीका दुई बालकविताकृतिहरु निदरी र हजुरआमाको विमोचन वरिष्ठ बालसाहित्य लेखक विजय चालिसेले गत शुक्रवार  असार २७ गते आयोजित एक भव्य समारोहबीच गर्नुभएको छ
नेपाल प्रज्ञा–प्रतिष्ठान, प्रवचन हल– १, कमलादी, काठमाडौँमा आयोजित उक्त समारोहमा उक्त कृतिभित्रको एकएकवटा रचनालाई लेबरोटरी स्कूलका कक्षा ७ मा अध्ययनरत दृष्टिविहीन बालक प्रोसेस पाण्डे र झंकार कला केन्द्रका बालबालिकाहरुले गाउनुभएको थियो । संगीत संयोजन वरिष्ठ संगीतकारद्धय रमेश सुवेदी र आश्मा अर्यालले गर्नुभएको थियो । दुवै दृष्टिविहीन फरक क्षमताका प्रतिभा हुनुहुन्छ ।
   आश्मा अर्याल, युवा लेखक, संगीतकार, गायिकाले उद्षोण गर्नुभएको उक्त समारोह बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि र विशेष अतिथिहरुमा क्रमशः गीता केशरी, वरिष्ठ साहित्यकार, सल्लाहकार बालसाहित्य प्रतिष्ठान नेपाल, पूर्व अध्यक्ष गुञ्जन, श्री रञ्जुश्री पराजुली, वरिष्ठ साहित्यकार, आजीवन सदस्य गुञ्जन, जलेश्वरी श्रेष्ठ, वरिष्ठ साहित्यकार, संस्थापक, बालसाहित्य प्रतिष्ठान नेपाल, अध्यक्ष, जलरिका साहित्य प्रतिष्ठान नेपाल, पूर्व उपाध्यक्ष गुञ्जन,  सुशीला देउजा, वरिष्ठ साहित्यकार, संस्थापक, बालसाहित्य प्रतिष्ठान नेपाल, वर्तमान कोषाध्यक्ष गुञ्जन, प्रा.डा. विजया पन्त, त्रिविवि, कीर्तिपुर रहनुभएको थियो । त्यस्तै समीक्षकहरुमा सरिता अर्याल, युवा समीक्षक, स्नातक दोस्रो वर्ष, अंग्रेजी विभाग, शहीद स्मारक कलेज, कीर्तिपुर, पुष्पा लोहनी, बालसमीक्षक, कक्षा १०, न्युटन मावि, बालुवाटार र याङ्जी थोकर, कक्षा १०, वासु मावि, भक्तपुर रहनुभएको थियो । समारोहमा विमोचित कृतिका प्रतिभाशाली युवा चित्रकार पल्पसा मानन्धर, ललिता शर्मा, बालसाहित्य लेखक, नेपालगन्ज, बाँके,  विमोचित कृतिका लेखक कविता पराजुलीका श्रीमान् डा. उमेश नाथ पराजुलीका साथै विमोचित हुने कृतिका लेखकका स्नेही छोरी डा. श्रिया पराजुली र स्नेही छोरा श्रेयश पराजुली तथा उक्त कार्यक्रमका समीक्षक श्री सरिता अर्यालका आदरणीय मातापिता पनि उपस्थित रहनुभएको थियो ।  उक्त समारोहमा विशेष रचना वाचनमा वरिष्ठ बालसाहित्य लेखकहरु गंगा कर्माचार्य पौडेल, ललिता दोषी, विजयराज न्यौपाने, विद्याप्रसाद घिमिरे, श्यामकृष्ण खुलीमुली, नरेन्द्रकुमार नगरकोटी, देबु लुइँटेल, उद्धव प्याकुरेल, ईश्वर थोकर, पार्वती श्रेष्ठ, मुना मन्जरी भट्टराई, सेन्टमेरिज स्कूलकी कवयित्री शुभिका बराल लगायतले रचना वाचन गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रममा रिपोर्टरको भूमिकामा स्वयंसेवक श्री देबुु लुइँटेल र शुक्र बि.क.,  भिडियो रेकर्डरको भूमिकामा स्वयंसेवक शीतल बि.क. र अन्य प्रतिष्ठानका स्वयंसेवक साथीहरुले पनि विभिन्न भूमिकामा रही सक्रियतापूर्वक सहयोग गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि विजय चालिसेले बालसाहित्य लेखकले वर्तमान समाजका बालबालिकाहरुले बाँचिरहेको जीवनको र उनीहरुको आवाज बोल्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । समारोहमा लेखक पराजुलीका विमोचित कृतिले बालबालिकाको भावना समेट्न सफल भएकोमा वक्ताहरुले लेखकलाई बधाई दिनुभएको थियो ।

Thursday, July 11, 2019

लेखक कविता पराजुलीका दुई बालकविताकृतिहरु निदरी र हजुरआमा विमोचन समारोह– २०७६

लेखक कविता पराजुलीका दुई बालकविताकृतिहरु निदरी र हजुरआमा विमोचन समारोह– २०७६
मिति : २०७६ असार २७ गते शुक्रबार
समय : दिउँसो २ः०० बजे
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान, प्रवचन हल– १, कमलादी, काठमाडौँ

उद्घोषण
: श्री आश्मा अर्याल, युवा लेखक, संगीतकार, गायिका
(अतिथिज्यूहरुको आगमन २ बजेभित्र र कार्यक्रम आरम्भ २ः१५ बाट)

आसन ग्रहणको कार्यक्रम
१. सभापति : कार्तिकेय, अध्यक्ष, बालसाहित्य प्रतिष्ठान नेपाल
२. प्रमुख अतिथि : श्री विजय चालिसे, वरिष्ठ बालसाहित्य लेखक
३. विशिष्ट अतिथि : श्री गीता केशरी, वरिष्ठ साहित्यकार, सल्लाहकार बालसाहित्य प्रतिष्ठान नेपाल, पूर्व अध्यक्ष गुञ्जन ।
४. विशेष अतिथि : श्री रञ्जुश्री पराजुली, वरिष्ठ साहित्यकार ।
५. विशेष अतिथि : श्री जलेश्वरी श्रेष्ठ, वरिष्ठ साहित्यकार, संस्थापक, बालसाहित्य प्रतिष्ठान नेपाल । अध्यक्ष, जलरिका साहित्य प्रतिष्ठान नेपाल । पूर्व कोषाध्यक्ष गुञ्जन ।
६. विशेष अतिथि : श्री सुशीला देउजा, वरिष्ठ साहित्यकार, संस्थापक, बालसाहित्य प्रतिष्ठान नेपाल । कोषाध्यक्ष गुञ्जन ।
७. प्रा.डा. विजया पन्त, त्रिविवि, कीर्तिपुर
८. श्री रमेश सुवेदी, वरिष्ठ संगीतकार (दृष्टिविहीन प्रतिभा)
९. श्री सरिता अर्याल, युवा समीक्षक, स्नातक दोस्रो वर्ष, अंग्रेजी विभाग, शहीद स्मारक कलेज, कीर्तिपुर ।
१०. श्री पुष्पा लोहनी, बालसमीक्षक, कक्षा १०, न्युटन मावि, बालुवाटार
११. श्री याङ्जी थोकर, कक्षा १०, वासु मावि, भक्तपुर ।
१२. श्री पल्पसा मानन्धर, प्रतिभाशाली युवा चित्रकार, आज विमोचित हुने निदरी रंगीन बालकृतिका चित्रकार ।
१३. श्री ललिता शर्मा, बालसाहित्य लेखक (नेपालगन्ज, बाँके)
१४. आज विमोचित हुने कृतिका लेखक श्री कविता पराजुलीका श्रीमान् डा. उमेश नाथ पराजुली ।

(साथै आज विमोचित हुने कृतिका लेखककी स्नेही छोरी डा. श्रिया पराजुली र स्नेही छोरा श्रेयश पराजुली तथा यस कार्यक्रमका समीक्षक श्री सरिता अर्यालका आदरणीय मातापिताज्यूलाई पनि यथास्थानमा उभिएर आ–आफ्नो परिचय दिनुभई मञ्चको अगाडि रहेको कुर्सीको पहिलो लाइनमा आई आसन ग्रहण गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । साथै गायनमा संलग्न कलाकार बालबालिकाहरुलाई पनि अग्रस्थानमा आसन ग्रहणको लागि अनुरोध छ)
साथै आजको समारोहमा विशेष रचना वाचनको लागि हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नुभएका वरिष्ठ बालसाहित्य लेखकज्यूहरु श्री गंगा कर्माचार्य पौडेल, श्री ललिता दोषी, श्री विजयराज न्यौपाने, श्री विद्याप्रसाद घिमिरे, श्री श्यामकृष्ण खुलीमुली, श्री नरेन्द्रकुमार नगरकोटी, श्री देवु लुइँटेल, श्री उद्धव प्याकुरेल, श्री ईश्वर थोकर, श्री पार्वती श्रेष्ठ, श्री मुना मन्जरी भट्टराई लगायतलाई मञ्चको अगाडि रहेको कुर्सीको पहिलो लाइनमा आई आसन ग्रहण गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।)

साथै आजको कार्यक्रममा रिपोर्टरको भूमिकामा रहनुभएका स्वयंसेवक श्री देवु लुइँटेल र श्री शुक्र बि.क.,  भिडियो रेकर्डको भूमिकामा रहनुभएका स्वयंसेवक शीतल बि.क. र अन्य प्रतिष्ठानका स्वयंसेवक साथीहरुलाई पनि यथास्थानमा रही सक्रियतापूर्वक आआफ्नो भूमिका निर्वाहका लागि अनुरोध गर्दछु ।)

खादा समर्पणको कार्यक्रम
मञ्चमा रहनुभएका प्रमुखअतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र अतिथि लगायत रचना वाचनमा आउनुभएका वरिष्ठ लेखकहरु र विमोचित कृतिका परिवारजनलाई खादा ओढाएर स्वागत गर्नका लागि प्रतिष्ठानका सदस्य प्रतिभाशाली युवा चित्रकार श्री पल्पसा मानन्धर र प्रतिभाशाली युवाहरु साहित्यकार देबु लुइँटेल, मुना मञ्जरी र पुष्कर हुमागाईंमा अनुरोध गर्दछु ।

स्वागत गीत प्रस्तुत

लेखक कविता पराजुली लिखित गीत गायनबाट आजको कार्यक्रममा आउनुभएका सबैलाई स्वागत गर्नुहुन झंकार कला केन्द्रका बालबालिकाहरुलाई हार्दिक अनुरोध छ ।

पुस्तक विमोचनको कार्यक्रम
प्रमुख अतिथिज्यू लगायत मञ्चमा आसिन विशिष्ट अतिथि, विशेष अतिथि लगायत सम्पूर्ण महानुभावहरुबाट सामूहिक रुपमा ।

पुस्तक समीक्षाको कार्यक्रम
१. बालसमीक्षक श्री पुष्पा लोहनी, कक्षा १०, न्युटन मावि, बालुवाटार, काठमाडौँ 
२. बालसमीक्षक श्री याङ्जी थोकर, कक्षा १०, वासु मावि, भक्तपुर
३. श्री सरिता गौतम, स्नातक, शहीद स्मारक कलेज, कीर्तिपुर ।

फरक क्षमताको प्रतिभा प्रस्तुति
१. गायक बालप्रतिभा श्री प्रोसेस पाण्डे, कक्षा ७, लेबरोटरी स्कूल, कीर्तिपुर र संगीतकार श्री रमेश सुवेदीको प्रस्तुति (दुवैजना दृष्टिविहीन प्रतिभा हुनुहुन्छ ।)

शुभकामना मन्तव्यको कार्यक्रम
१. विशिष्ट अतिथि श्री गीता केशरी
२. विशेष अतिथि प्रा.डा. विजया पन्त
३. विशेष अतिथि श्री जलेश्वरी श्रेष्ठ
४. विशेष अतिथि श्री सुशीला देउजा
५. विशेष अतिथि श्री रञ्जुश्री पराजुली
६. विशेष अतिथि डा. उमेश नाथ पराजुली

लेखकको मन्तव्य र धन्यवाद ज्ञापन
१. विमोचित कृतिका लेखक श्री कविता पराजुली

वरिष्ठ लेखकबाट रचना वाचनको कार्यक्रम

१. श्री गंगा कर्माचार्य पौडेल
२. श्री ललिता दोषी
३. श्री विजयराज न्यौपाने
४. श्री विद्याप्रसाद घिमिरे
५. श्री देबु लुइँटेल
६. श्री उद्धव प्याकुरेल
७. श्री श्यामकृष्ण खुलीमुली
८. श्री नरेन्द्रकुमार नगरकोटी
९. श्री ईश्वर थोकर
१०. श्री रश्मी खागी
११. श्री पार्वती श्रेष्ठ
१२. श्री मुना मन्जरी भट्टराई
१३. शुभिका बराल, कक्षा ९, सेन्टमेरिज हाईस्कूल, ललितपुर ।
१४. श्री ललिता शर्मा, नेपालगञ्ज, बाँके ।

प्रमुख अतिथिज्यूको मन्तव्य
श्री विजय चालिसे

मायाको चिनो वितरण

प्रतिष्ठानका अध्यक्ष कार्तिकेय र लेखक कविता पराजुलीबाट ः
१. प्रमुख अतिथि श्री विजय चालिसेज्यूलाई
२. समीक्षक श्री सरिता अर्याल
३. समीक्षक श्री पुष्पा लोहनी
४. विशिष्ट अतिथि श्री गीताकेशरी
५. विशेष अतिथि श्री रञ्जुश्री पराजुली
६. विशेष अतिथि श्री जलेश्वरी श्रेष्ठ
७. विशेष अतिथि श्री सुशीला देउजा
८. विशेष अतिथि प्रा.डा. विजया पन्त
९. वरिष्ठ लेखक श्री गंगा कर्माचार्य पौडेल
१०. वरिष्ठ लेखक श्री ललिता दोषी
११. वरिष्ठ लेखक श्री विजयराज न्यौपाने
१२. वरिष्ठ लेखक श्री विद्याप्रसाद घिमिरे
१३. वरिष्ठ लेखक श्री देबु लुइँटेल
१४. वरिष्ठ संगीतकार श्री रमेश सुवेदी
१५. प्रतिभाशाली युवा लेखक श्री आश्मा अर्याल

-- प्रमुख अतिथिको मन्तव्य

---सभापतिको मन्तव्य

----(सभा विसर्जन/जलपान)

Thursday, June 27, 2019

ब्रेललिपिमा प्रकाशित ६ वटा बालकथा सङ्ग्रह विमोचित

ललितपुर, असार १२ गते
नमुना मच्छिन्द्र मावि, लगनखेल, ललितपुरको दृश्यविहीन शाखामा ६ वटा ब्रेललिपिमा प्रकाशित बालकथासङ्ग्रह विमोचन गरियो । विहीवार आयोजित उक्त समारोहमा नमूना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख डा. दीनबन्धु शर्मा, दृश्यविहीन बालप्रतिभाहरु, विमोचित कृतिका लेखकहरु जलेश्वरी श्रेष्ठ, गङ्गा कर्माचार्य पौडेल, साहित्यकार देवु लुइँटेल, दृश्यविहीन विलक्षण युवाहरु आश्मा अर्याल, सरिता अर्याल, वरिष्ठ कलाकार हेम पौडेल लगायतले संयुक्त रुपमा कृति विमोचन गर्नुभएको थियो ।
 विमोचित कृतिहरुमा वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठ लिखित पिङ्की र पुतलीहरु र अरु बालकथा, वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेल लिखित को ठूलो ?, वरिष्ठ भारतीय लेखक मनोरमा जफा लिखित हाँस्ने सुगा र अरु बालकथा र लेखक कार्तिकेय लिखित ३ वटा बालकथासङ्ग्रहहरु म चोर होइन र अरु बालकथा, वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा र साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा गरी ६ कृतिहरु रहेका छन् ।    https://clfnnepal.blogspot.com/



















ब्रेललिपिमा प्रकाशित ६ वटा बालकथा सङ्ग्रह विमोचित

ललितपुर, असार १२ गते
नमुना मच्छिन्द्र मावि, लगनखेल, ललितपुरको दृश्यविहीन शाखामा ६ वटा ब्रेललिपिमा प्रकाशित बालकथासङ्ग्रह विमोचन गरियो । विहीवार आयोजित उक्त समारोहमा नमूना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख डा. दीनबन्धु शर्मा, दृश्यविहीन बालप्रतिभाहरु, विमोचित कृतिका लेखकहरु जलेश्वरी श्रेष्ठ, गङ्गा कर्माचार्य पौडेल, साहित्यकार देवु लुइँटेल, दृश्यविहीन विलक्षण युवाहरु आश्मा अर्याल, सरिता अर्याल, वरिष्ठ कलाकार हेम पौडेल लगायतले संयुक्त रुपमा कृति विमोचन गर्नुभएको थियो ।
विमोचित कृतिहरुमा वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठ लिखित पिङ्की र पुतलीहरु र अरु बालकथा, वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेल लिखित को ठूलो ?, वरिष्ठ भारतीय लेखक मनोरमा जफा लिखित हाँस्ने सुगा र अरु बालकथा र लेखक कार्तिकेय लिखित ३ वटा बालकथासङ्ग्रहहरु म चोर होइन र अरु बालकथा, वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा र साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा गरी ६ कृतिहरु रहेका छन् ।
उक्त अवसरमा विमोचित कृतिहरुबारे दृश्यविहीन युवा प्रतिभा सरिता अर्यालले गहकिलो समीक्षा गर्नुभएको थियो भने दृश्यविहीन युवा प्रतिभा आश्मा अर्यालले सुन्दर कार्यक्रम संचालन गर्नुभएको थियो । समीक्षा मन्तव्यका क्रममा समीक्षक अर्यालले ब्रेलमा नेपाली बालसाहित्य प्रकाशनको इतिहासमा एकै पटक ६ वटा बालपुस्तक विमोचन भएको यो नै पहिलो पटक हो भन्नुभयो । साथै उहाँले ब्रेललिपिमा एउटै लेखकका ३ कृतिहरु एकै दिन विमोचन हुनु पनि दृश्यविहीन बालबालकाका लागि ठूलो सौगात भएको धारणा राख्नुभएको थियो ।
समारोहमा फरक क्षमताका बालबालिका माझमा माउन्ट एभरेस्ट स्टोरी टेलिङ एक्सप्रेस कार्यक्रम अन्तर्गत विमोचित कृतिका लेखकत्रय जलेश्वरी श्रेष्ठ, गङ्गा कर्माचार्य पौडेल र कार्तिकेयले कथावाचन गर्नुभएको थियो । साथै कलाकार हेम पौडेल र साहित्यकार देवु लुइँटेलले बालकविता वाचन गर्नुभएको थियो ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै वरिष्ठ साहित्यकार तथा नमूना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माले बालसाहित्य लेखन अत्यन्त संवेदनशील लेखन भएकाले बालसाहित्य लेखकहरुले सजग र गम्भीर भएर यस क्षेत्रमा कलम चलाउनु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, असल पुस्ता निर्माणका लागि बालसाहित्यले ठूलो जिम्मेवारी बहन गर्न सक्नुपर्छ । त्यसैले बालसाहित्य लेख्न सजिलो छ भन्ने धारणा आजैबाट हामीले त्याग्नुपर्छ । यो अत्यन्त जटिल लेखन विधा हो । यसमा कुशल कलम चलाउन मिहिनेत र समर्पण चाहिन्छ ।
हेमगङ्गा कलासाहित्य प्रतिष्ठानबाट प्रकाशित को ठूलो ? ब्रेलबुक र बालसाहित्य प्रतिष्ठानबाट प्रकाशित ५ ब्रेलबुक गरी यी सबै ६ कृतिहरु निःशुल्क वितरणका लागि प्रकाशित गरिएको हो । साथै प्रतिष्ठानबाट प्रकाशित ५ वटा ब्रेललिपिका बाकथाकृतिहरु साहित्यकार कार्तिकेयले आफ्नी ममतामयी माता दुर्गादेवी घिमिरे देवनायीकी रामानुज दासीको स्मृतिमा प्रकाशित गर्नुभएको हो ।

Saturday, June 22, 2019

NEPALI CHILDREN'S STORIES BRAILLE EDITION

CLFN'S UPCOMING PROGRAM
===
NEPALI CHILDREN'S STORIES BRAILLE EDITION

6 Braille Books Launching Program
June 27, 2019 (10:30 am to 1:00 pm)
venue : Namuna Machindra School, Blind Section, Lalitpur

यस कार्यक्रममा ६ वटा ब्रेललिपिमा बालकथाका पुस्तकहरु विमोचन हुने कार्यक्रम रहेको छ । विमोचन हुने कृतिका लेखकहरु क्रमशः श्री मनोरमा जफा (हाँस्ने सुगा र अरु बालकथा), श्री जलेश्वरी श्रेष्ठ (पिंकी र पुतलीहरु र अरु बालकथा), श्री गंगा कर्माचार्य पौडेल (को ठूलो ?) र श्री कार्तिकेय लिखित ३ ब्रेलबुकहरु १. म चोर होइन र अरु बालकथा २. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा, र ३. वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा रहेका छन् । यी हरेक कृतिहरुमा ६/६ वटा कथाहरु रहेका छन् ।
विमोचन हुने यी कृतिहरुमध्ये ५ वटा लेखक कार्तिकेयले आफ्नी ममतामयी माता दुर्गादेवी घिमिरे (देवनायकी रामानुजदासी) को स्मृतिमा निःशुल्क वितरणका लागि प्रकाशित गर्नुभएको हो भने को ठूलो ? कृति हेमगंगा प्रतिष्ठानले निःशुल्क वितरणका लागि प्रकाशित गरेको हो ।
कार्यक्रममा विमोचित कृतिका लेखकहरुले कथावाचन गर्नुहुनेछ भने दृष्टिविहीन प्रतिभा सरिता अर्यालले विमोचित कृतिबारे समीक्षा गर्नुहुने कार्यक्रम रहेको छ ।
यी कृतिहरु देशका विभिन्न स्थानमा रहेका ६७ वटा ब्रेल लिपिमा पढाइ हुने विद्यालयहरुको पुस्तकालयमा पठाउने व्यवस्था गरिएको छ । ब्रेलसम्पादनमा श्री निर कुमार मगरले सघाउनु भएको हो भने ब्रेलबुक प्रकाशन संयोजक बालसाहित्य प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष संगीत, सिर्जना र फरक क्षमताका बालबालिबालिकाको सिर्जनात्मक विकास विभाग प्रमुख श्री रमेश सुवेदीको विशेष सहयोग रहेको छ । यस ब्रेलबुक प्रकाशनमा सहयोग गर्नुहुने कार्तिकेय ट्रस्टका संस्थापक/अध्यक्ष श्री मोहन कार्की Mohan Karki, प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्य Achyut Acharya, मनकामना आवासीय उच्च मावि, हरिऔंन, सर्लाहीका संस्थापक श्री एन. टि. लामा N. T. Lama, श्री करुणा खड्गी Karuna Khadgi, प्र.अ., कुम्भेश्वर स्कूल, ललितपुर, श्री रुद्र अधिकारी Rudra Mani Adhikari, प्रिन्सिपल, क्यामेलिया उच्च मावि, कालिमाटी, काठमाडौं र अंग्रेजी अनुवादका लागि श्री महेश पौड्याल Mahesh Paudyal, कभर आर्टका चित्रकारहरु श्री अविन श्रेष्ठ Abin Shrestha, श्री राजुबाबु शाक्य सारब, श्री सोनाम तामाङ Tamang Sonam, डिजाइनर रश्मी खागी Rashmi Khagi र यस कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने बालसाहित्य प्रतिष्ठानका संस्थापक लेखक श्री जलेश्वरी श्रेष्ठ Jaleswari Shrestha, लेखक श्री गंगा कर्माचार्य पौडेल Ganga Karmacharya Paudyal, नमूना मच्छिन्द्र स्कूलको भिजुयल्ली इम्याएर शाखा Ma Dibyaपरिवार र कार्तिकेय ट्रस्ट परिवारप्रति हार्दिक आभारी छौं ।