Wednesday, December 6, 2017

हाम्रा आदरणीय बालसाहित्य लेखक कविताराम

विक्रम सम्वत् २००४ माघ ११ गते ओखलढुङ्गा, रामबजारमा जन्मनुभएका रामबहादुर श्रेष्ठ नै नेपाली बालसाहित्यका वरिष्ठ लेखक डा. कविताराम हुनुहुन्छ । साहित्यकार कवितारामका नामले एउटा अलग्गै पहिचान बनाउन सफल डा. रामबहादुर श्रेष्ठ अर्थात् कविताराम बुबा नन्दराम र आमा मनमायाका सुपुत्र हुनुहुन्छ । उहाँले वि.सं. २०१८ सालदेखि साहित्य लेखन शुरु गर्नु भएको हो । उहाँले अस्वीकृत साहित्य आन्दोलन र लेखनका माध्यमले नेपाली साहित्यमा पनि एउटा विशिष्ट पहिचान बनाउनु भएको छ । 
बालसाहित्य लेखक कवितारामको बालसाहित्य यात्रा वि.सं. २०३६ सालबाट शुरु भएको हो । उहाँको प्रथम प्रकाशित बालसाहित्य कृति ‘वनदेवी’ हो । यो रुखबिरुवा संरक्षण गरौं र पशुपन्छीलाई बचाऔं भन्ने आव्हानसहित लेखिएको कृति हो । 
आफू बालक छँदा बालसाहित्यका रमाइला किताबहरु पढ्न नपाएकाले आफू बालसाहित्य लेखनमा लागेको डा. कवितारामको भनाइ छ । उहाँ भन्नुहुन्छ, नेपाली बालसाहित्यमा वर्तमान युगको आवश्यकता अनुसारको बालसाहित्य प्रकाशन हुन नसकिरहेको देखेपछि म आफैँ बालसाहित्य लेखनमा होमिएको हुँ । हो, वास्तवमा कवितारमले नेपाली बालसाहित्य लेखनमा विज्ञान बालसाहित्यको बलियो जग बनाउने काम गर्नु भएको छ । उहाँले रचना गर्नु भएका विज्ञान बालउपन्यासहरु बालबालिका माझमा लोकप्रिय छन् । 
आदरणीय लेखक कवितारामले पहिलो बालउपन्यास ‘वनदेवी’ प्रकाशन भएपछि ‘पानीको थोपा’ बालउपन्यास प्रकाशित भयो । यो अत्यन्त रोचक उपन्यास हो । यसमा पानीको थोपाको यात्रालाई रमाइलोसँग प्रस्तुत गरिएको छ । यसपछि उहाँको ‘कमिलाको कथा’, ‘अनौठो यात्रा’, ‘मावलीको यात्रा’, बुद्विबंगाराको फोन (भाग १, २ र ३) र ‘सृष्टि पुराण’ आदि बालउपन्यासहरु र ‘जुजुहिरा’ र ‘अब हारिन्नँ’ जस्ता बालचित्रकथाकृतिहरु र बालकथा कसरी लेख्ने ? आदि पुस्तकहरु प्रकाशित भएका छन् । उहाँले लेख्नुभएका चर्चित बालउपन्यासहरुको अंग्रेजी संस्करण पनि प्रकाशित छन् ।

यसरी नेपाली बालसाहित्यमा किशोर पाठकहरुलाई लक्षित गरी उनीहरुमा रमाइलो साहित्यका माध्यमले वैज्ञानिक चेतना भर्न कवितारामको कलम अत्यन्त सफल भएको देखिन्छ । उहाँले बालसाहित्यलाई ज्ञानविज्ञानसम्म जोड्न लेखनका माध्यमबाट पुर्याउनु भएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई ‘जनकवि दुर्गालाल राष्ट्रिय बालसाहित्य पुरस्कार’ बाट पनि पुरस्कृत गरिएको छ । 
वास्तवमा लेखनबाहेक बालबालिकामाझमा पठन संस्कृतिको विकासका लागि समर्पित व्यक्तित्व हुनुहुन्छ डा. कविताराम । उहाँले आफूलाई लेखकस्वस्वरुप प्राप्त भएको रकम र विभिन्न पुरस्कारबाट प्राप्त भएको रकमहरु जम्मा गरी कविताराम बालसाहित्य पुरस्कार, बालसाहित्य प्रवद्र्वन पुरस्कार, कविताराम बालप्रतिभा पुरस्कारलगायत विभिन्न पुरस्कारहरु स्थापना गर्नु भएको छ । जुन पुरस्कारहरु विगत लामो समयदेखि प्रदान गरिआइएको देखिन्छ । केटाकेटी अनलाइन पत्रिकाले पनि कविताराम बालसाहित्य प्रवद्र्वन पुरस्कार प्राप्त गरेको थियो । 
यसरी बालसाहित्य लेखक कवितारामले बालसाहित्यमा वैज्ञानिक चेतना प्रदान गर्ने स्थापित लेखकको छवि बनाउँदै बालबालिकाको पठन संस्कार बढाउन पुरुस्कार स्थापना, कथावाचन र लेखन शिविरहरुका माध्यमबाट विशिष्ट योगदान गर्नु भएको छ ।

No comments:

Post a Comment