Wednesday, December 6, 2017

वरिष्ठ साहित्यकार सुशीला देउजासँग ३ प्रश्न

सुशीला देउजा २४ फागुनमा जन्मनुभएको हो । उहाँका आमा लक्ष्मी देवी खाण, पिता तु¨ध्वज खाण, पति वीरेन्द्र बहादुर देउजा, छोराहरु सर्यात देउजा, सुवीर देउजा हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ ।
सूचक सम्मान, नेपाल इन्जिनियरिङ श्रीमती समाज सम्मान, ‘उत्कृष्ट लेखक सम्मान, २०७२, कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाबाट लगायत पुरस्कार तथा सम्मानहरु उहाँले प्राप्त गर्नुभएको छ । 
उहाँका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नया“ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा  (कथा संग्रह र यात्रा संस्मरण, २०६४),  दोभान  (लघुकथा र कविता संग्रह, २०६६), केही पाइला केही अनुभूति (विकसितदेखि द्वन्द्वप्रभावित मुलुकहरुको भ्रमणबाट, २०६८), चारु       (कथा संग्रह, २०७०) र भगवान्को रुप (सचित्र बालकथासङ्ग्रह, २०७१) गरी ७ कृतिहरु प्रकाशित छन् । यस पटकको ३ प्रश्नमा वरिष्ठ साहित्यकार देउजासँग केटाकेटी अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ : 


प्रश्न १. आफ्नो साहित्य लेखनका बारेमा केही बताइदिनुस न ।

साहित्य लेखन मेरो जीवनको अभिन्न अंग जस्तै बनेको छ । भावुक मनलाई सानासाना घटनाले पनि तर¨ित पार्छ र लेख्न उक्साउँछ । यो विधा त्यो विधा भन्ने नै छैन । मलाई जुनसुकै विधामा पनि कलम चलाउन मन लाग्छ । जस्तै कथा, कविता, यात्रा संस्मरण, लघुकथा, लेख, बालकथा आदि ।

प्रश्न २. तपाईं त ठूला पाठकका लागि लेख्ने लेखक बालसाहित्य लेखनमा कसरी आउनुभयो ?
 
जग बलियो भए मात्र घर बलियो हुन्छ । भोलिको सुन्दर समाज भनेको आजका बालबालिका हुन् । आज बालबालिकालाई असल शिक्षा दिन सके भोलि आदर्श नैतिकवान्, शिक्षित र बिकसित र सुन्दर समाज निर्माण हुन सक्छ । त्यसको लागि आज देखि नै बालबालिकालाई असल शिक्षाको मलजल दिएर हुर्काउनु जरुरी छ । जसका लागि असल बालसाहित्यको आवश्यकता छ । त्यस अभियानमा मेरो पनि केही योगदान दिन सक्छु कि भनी मैले पनि बालसाहित्यको क्षेत्रमा कलम चलाउने प्रयास गरेकी हुँ ।

प्रश्न ३. चार भाषामा एकैपटक प्रकाशित हुन लागेको तपाईंको  नयाँ बालचित्रकथाकृति बाघ र बाबाको वारेमा केही भनिदिनुस् न । यो कस्तो किसिमको किताब हो ? 
 
सबभन्दा पहिला त यो बालबालिकालाई पढ्न रमाइलो लाग्ने किताब हो । कलाकार अविन श्रेष्ठ र प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यले यो किताब अत्यन्त सुन्दर बनेको छ । 
बाघ र बाबा कथामा बालबालिकालाई दुःखमा परेकालाई सहयोग गर्न आव्हान गरिएको छ । उनीहरुलाई जनावरलाई पनि माया गरौं उनीहरुले पनि हामीलाई माया गर्छन् भनी भन्न खोजेकी छु  । तर यी सबै कुरा कथाबाट नै भनेकी छु ।
साथै यो कृति नेपाली, अंग्रेजी, मैथिली र नेपाल भाषा गरी चारवटा भाषामा प्रकाशित हुँदैछ । प्रकाशक बालसाहित्य प्रतिष्ठानका अनुसार एकैपटक एउटै किताबमा चार भाषा समावेश गरी प्रकाशित नेपाली बालसाहित्यको यो पहिलो कृति हो रे । यसरी पहिलो कृतिका लेखक आफू हुन पाउँदा पनि खुसी भएकी छु । यस अवसरमा म मेरो कथालाई विभिन्न भाषामा अनुवाद गर्ने अनुवादकहरु र सम्पादक संयोजकप्रति आभार प्रकट गर्दछु । जसमा श्री महेश पौड्याल (अंग्रेजी), डा. रामदयाल राकेश (मैथिली), श्री नरेशवीर शाक्य (नेपाल भाषा) र सम्पादक संयोजक कार्तिकेय रहनुभएको छ ।

No comments:

Post a Comment