Saturday, July 17, 2010

Children's Story by Senior Writer Late Ramesh Vikal मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ?

आलोकले एकदिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ? तर आमाबाले त्यस्तो केही गर्नु भएन । बरु बाले खुसी हुँदै भन्नुभयो 'अहो ! कति राम्रो छाउरो रहेछ, कहाँबाट ल्याएको ?'
'स्कुलबाट बाबा !', आलोकले भन्यो, 'त्यहाँ स्कुलमा नि साथीहरू यसलाई दुःख दिइरहेका थिए । लट्ठीले पिटिरहेका थिए, घोचिरहेका थिए । त्यसैले मैले पैसा तिरेर ल्याएको । उनीहरू बदमास छन् । जसलाई पनि दुःख दिन्छन् । त्यसो गर्न हुँदैन हगि बाबा ?', आलोकले बाबासँग जिज्ञासा राख्यो ।
'हो त्यसो गर्नु हुँदैन', बाले भन्नुभयो, 'बरु त्यस्ता दुःख पाएका निर्धाहरूलाई माया गर्नुपर्छ, दया गर्नुपर्छ । तिमीले ठीक गर्यौ ! यो कुकुरलाई फोहोरी घाउ पनि लागेको रहेछ । सफा गरेर औषधी लगाइदेऊ ।'
घरमा आमाबाले यस्तै राम्रा असल कुरा सिकाएकाले आलोक सानैदेखि असल र राम्रो बानी व्यहोराको केटो थियो । ऊ साथीभाइ सबैसँग मिलेर बस्थ्यो । आफूभन्दा साना, निर्धा, दुब्लालाई माया गर्दथ्यो । केही पर्यो भन्ने मद्दत गर्न अघि सर्थ्र्यो । गुरुबागुरुआमालाई श्रद्धा गथ्र्यो, आदर गथ्र्यो । पाले दाइ, आया दिदीलाई पनि मान गथ्र्यो । त्यसैले उसलाई सबैले माया गर्थे ।
उसैको स्कुलमा एक जना छुच्चो केटो पनि थियो । ऊ धनीको छोरो थियो । उसको बाबु मन्त्री हाकि के हो त्यस्तै ठूला मान्छे थिए रे । त्यसैले ऊ बाबुको धक्कु देखाएर मनपरि गथ्र्यो । पढ्नुभन्दा केटाहरू बटुलेर बदमासी गथ्र्यो । साना कक्षाका विद्यार्थी, पाले दाइ, आया दिदीहरूलाई हेप्थ्यो । गुरुबागुरुआमालाई टेर्दैनथ्यो, सबैलाई दुःख दिन्थ्यो । त्यो बदमास केटाको नाम प्रचण्ड थियो ।
त्यस दिन प्रचण्ड आफ्ना चण्डाल साथीहरूका साथमा त्यो सानो छाउरालाई सताइरहेको थियो । कोही पुच्छर निमोठेर घिसार्थे, कोही कानमा, नाकमा दिसा-पिसाब गर्ने ठाँउमा छेस्काले घोच्थे । बिचरो छाउरो कुइँकुइँ गर्दै भुक्थ्यो । तर उनीहरू त्यसलाई लखेटी-लखेटी समातेर घिसार्दै, लछार्दै ल्याएर अनेक दुःख दिइरहेका थिए । यो सबै देखेर आलोकलाई नराम्रो लाग्यो । उसले अगाडि गएर भन्यो, 'किन तिमीहरूले यो बिचरा छाउरोलाई दुःख दिएको -'
'हामीलाई मन लाग्यो !', प्रचण्डले जिराहा निहुँ खोज्ने स्वरमा भन्यो ।
'तँलाई के को चासो - तँ साले पाखेको छोरालाई - तेरा बाबु हो कि, दिदीबहिनी दाजुभाइ हो कि - हाम्रो काममा रोक लगाउन खोज्ने तँ को होस्, ऐले दिऊँ कि क्या हो -' उसले हप्काउँदै भन्यो ।
बेकारमा आफ्नो बाबा र दाजुदिदीलाई उकासेको देखेर आलोकलाई रिस पनि उठ्यो । यसलाई जोरी पुर्याइदिने हो कि क्या हो - ऊ अगाडि सर्यो, तर उसको मिल्ने साथी ध्रुवले उसलाई रोक्यो, 'भो छोड्दे ! सित्तैमा यस्तासँग किन जुध्नु - रछानमा चलाए आफ्नै मुखमा छिटा पर्छ, जाऊँ हिँड् ।'
'के भनिस् - मलाई रछान भन्ने तँ - खोज्या होस् तैँले -', जुडो खेलाडीको पाराले प्रचण्ड निहुँ खोज्दै अगाडि आयो । यसपल्ट आलोकले अगाडि सरेर प्रचण्डलाई पछार्यो, 'भैगो हामी तँसँग झगडा गर्न आएको होइन । यो छाउरोलाई दुःख नदे ! यो मलाई दे ।'
'किन दिनु तँलाई सित्तैमा ...- के दिन्छस् तँ मलाई -', प्रचण्डले अझै निहुँ खोज्ने तालले भन्यो । आलोकले खाजा खर्चबाट बचाएर राखेको पाँच रुपियाँको नोट झिकेर देखाउँदै भन्यो- 'यो पाँचको नोट दिन्छु म तँलाई । त्यो मलाई दे, हुन्छ -'
'जाबो पाँच रुपियाँको नोट त मलाई दिसा पुछ्न पनि काम लाग्दैन', प्रचण्डले अनुहार खुम्च्याएर भन्यो । आलोकले अर्को पाँच रुपियाँ झिकेर देखाउँदै भन्यो, 'लौ भैगो यो दस रुपियाँ दिन्छु, दिन्छस् -'
धनी बाबुको छोरो प्रचण्डलाई त्यस्ता पाँच/दस रुपियाँ के आँखा लाग्दो हो । तर, उसको खराब चाल बुझेर उसका बाबुले उसको खर्च एकदमै कम गरिदिएका थिए । चुरोट खान अचेल उसले बाबुको बगली मार्ने कि आमाको थैलो रित्याउने गरेको थियो । तर त्यो पनि सधैँ मिल्दैनथ्यो । त्यसैले कहिलेकाहीँ उसलाई पाँच/दस रुपियाँ पनि खाँचो पथ्र्यो । ऊ अहिले दस रुपियाँ देखेर दोधारमा पर्यो ।
'ए प्रचण्ड ! ली ली ! दुइ चारवटा चुरोट भए पनि आउँछ', उसका साथीहरूले उसलाई हौस्याए । अनि उसले त्यो दस रुपियाँ लिएर छाउरो आलोकलाई दियो । कालो जीउमा सेतो खैरो बुट्टा भएको छाउरो सुन्दर थियो । छाउरो लिएर आलोक घर गयो ।
बाबाको आज्ञा पाएपछि उसले छाउरोलाई तातोपानी तताएर नुहाइदियो, घाउ सफा गरेर औषधी लगाइदियो । अनि आफ्नै कोठामा आफ्नो पलङको बगलमै बोरा ओछ्याएर बस्ने ठाउँ बनाइदियो ।
आमाले दूध बिस्कुट ल्याएर खान दिनुभयो । त्यो खाएपछि छाउरो आनन्दसँग बोरामा गुँडुल्किएर बस्यो ।
छाउरो असाध्यै गुनिलो भएर निस्क्यो । आलोकले उसको नाम पाङ्ग्रे राख्यो । ऊ साह्रै राम्रो स्वभावको थियो । दिशापिसाब पनि जथाभावी गर्दैनथ्यो । दिशापिसाब लाग्यो भने कुइँकुइँ कराउँथ्यो । अनि ढोका खोलिदिएपछि बाहिर टाढा कतै रछानमा कि फोहोर फाल्ने ठाँउमा गरेर आउँथ्यो । ऊ आलोकलाई धेरै पछ्याँउथ्यो । जथाभावी चोरेर खाँदैनथ्यो । भोक लागे पनि कुइँकर्ुइँ कराउँथ्यो । आमाले दूधभात ल्याएर खान दिनुभएपछि खाइपिई गरी बगैँचा, फूलबारीतिर खेल्न जान्थ्यो । चराहरूसँग लखेटीलखेटी खेल्थ्यो । कुनै नौलो मानिस घरमा आयो भने भु भु गर्दै कराउँथ्यो, तर कसैलाई टोक्ने गर्दैनथ्यो । भित्रबाट आमाले कि घरका अरू कसैले झयालबाट हेरेर त्यो नौलो मानिससँग हाँसेर राम्रोसँग बोलेपछि ऊ आफ्नो खेलतिर लाग्थ्यो ।
ऊ बराबर आलोकसँगै स्कुल पनि जान्थ्यो । त्यहाँ आलोकले सिकाएका अनेक खेलहरू देखाएर ऊ आलोकका साथीहरूलाई खुसी पनि तुल्याउँथ्यो । सबैले उसलाई माया गर्थे र केकबिस्कुट खान दिन्थे । स्कुल छुटेपछि आलोकसँगै घर र्फकन्थ्यो । अब ऊ यति सुग्घरी र राम्रो भएको थियो, उसलाई आलोक धेरैजसो आफैसँग खाटमै सुत्न दिन्थ्यो । मान्छे र पशु भए पनि आलोक र पाङ्ग्रे एक ज्यानजस्तै भएका थिए, एकै आमाका छोराहरू जस्तै थिए ।
त्यस्तैमा एकपल्ट स्कुलमा देश दर्शनको कार्यक्रम बन्यो । गुरुबागुरुआमाहरूले केही छानिएका विद्यार्थीहरूलाई आफ्नै देशका केही ऐतिहासिक ठाउँमा घुमाउन लाने हुनुभयो । पन्ध्र/बीस दिनको यो भ्रमणमा आलोक पनि जाने भयो । पाङ्ग्रे पनि ऊसँग जान छट्पटायो । तर आलोकले उसलाई फकायो, 'तैँले हामीसँग जान मिल्दैन । तँ आमाबाबाको सेवा गरेर घरै बस् । पन्ध्र/बीस दिन त हो नि ! म आइहाल्छु नि । बरु आउँदा मीठामीठा खानेकुरा ल्याइदिउँला, ज्ञानी भएर बस् ।'
पन्ध्र दिनको यो घुमाइमा आलोकको मनमा हरेक दिन पाङ्ग्रेको सम्झना आइरहृयो । उसले उसको ती नीला र मायालु आँखा, उसको चञ्चले स्वभाव, उसले बगैँचामा चराहरूलाई लखेट्तै उफ्रीउफ्री खेलेका खेल अनि आफैँसँग चौरमा खेलेका अनेक रमाइला खेलहरू कहिल्यै बिर्सन सकेन । उठ्दा, बस्दा, खाँदा र घुम्दा पनि घरिघरि आँखावरिपरि नाचिरहे । कहिले घर पुगेर त्यो प्यारो पाङ्ग्रेलाई बोकेर माया गरौ भनेर ऊ छट्पटाउँथ्यो ।
पन्ध्र दिनको घुमफिर सकेर त्यो टोली घर फक्र्यो । घर आइपुग्दा निकै राती भइसकेको थियो । गुरुहरूले आलोकलाई बाहिर ढोकासम्म पुर्याएर जानुभयो । उसले आमालाई बोलायो आमाले सुनेर ढोका खोल्न आउँदै भन्नुभयो, 'बाबु
आइपुग्यौ - किन यति राती पारेको - पख है म ढोका खोल्न आउँछु ।'
आमा आएर ढोका खोलिदिनुभयो । उसको स्वर सुनेर पाङ्ग्रे अत्यन्त खुसी भयो । ऊ खुसीले आमाको पछिपछि उफ्रिदै आयो । ढोका खु्लेपछि ऊ अत्यन्तै रमाएर आलोकको बुइ चढ्न झम्टिँदै आयो । पेटी निकै अग्लो थियो । तल आँगनमा सिमेन्ट लगाएको थियो । यसरी हर्षे कुइँकुइँ गर्दै उफ्रिदै आउँदा पाङ्ग्रेका गोडा कसरी लटपटिएछन् कुन्नि ऊ लगभग दुइ फिट अग्लो पेटीबाट तल आँगनको सिमेन्ट लाएको भुइँमा बज्रन पुग्यो ।
'कुइँ कुइँ !' उसको घाँटीबाट पीडाको स्वर निस्क्यो । बज्रँदा उसले मुण्टोले टेक्न पुगेछ । कलिलो गर्दन ठनक्कै भाँचिएछ । घाँटीबाट अत्यन्त दर्दनाक स्वर निकाल्दै ऊ छटपटाउन थाल्यो । आलोक आत्तियो, 'आमा के भयो पाङ्ग्रेलाई - के भयो मेरो पाङ्ग्रेलाई -'
उसले पाङ्ग्रेलाई आफ्नो काखमा लियो । आमाले भित्रबाट पानी ल्याएर पाङ्ग्रेको मुखमा हालिदिनुभो । पाङ्ग्रे एक पल्ट नराम्रोसँग छटपटाएर आफ्नो प्यारो आलोकको काखमा शान्त भयो । आलोकको आँखाबाट बलिन्द्र धारा आँसु खस्न थाले । उसको छाती भरियो, बोलीमा भक्कानु फुट्यो, 'आमा - के भयो मेरो पाङ्ग्रेलाई -" मेरो पाङ्ग्रे मर्यो - पाङ्ग्रे मर्यो-'
आमा केही बोल्न सक्नुभएन । उहाँका पनि आँखा भरिएर आए । अनि बल्ल छोरालाई पाङ्ग्रेको लासबाट तानेर माथि लग्नुभयो । पाङ्ग्रेलाई वीरेले लगेर बगैँचाको एउटा स्याउको बोटको फेदमा गाडिदियो । आलोक बेहाल थियो । ऊ दुइ-तीन दिनसम्म रोइरहृयो । दुइ दिनसम्म त खाना पनि राम्ररी खाएन । धेरै फकाएपछि बल्ल तल्ल सम्हालियो । बाबाले उसलाई खुसी तुल्याउन एउटा अर्को राम्रो छाउरो ल्याइदिनुभयो । तर आलोकले त्यसलाई हेर्दा पनि हेरेन । त्यसपछि उसले कुनै कुकुर पालेन ।

Friday, July 16, 2010

Childhood Days Memories of Senior Writer Vijaya Chalise बुवाले कोठामा थुनिदिनु भयो

विजय चालिसे वरिष्ठ पत्रकार-साहित्यकार हुनुहुन्छ । उहाँ विगत ३५ वर्षदेखि सहित्यिक लेखन र पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ । साहित्य बाहेक पत्रपत्रिकाहरूमा समसायिक विषय लेखन, शिक्षा, आमसञ्चार-पत्रकारिता, साहित्य आदि विविध विषयमा असङ्ख्य टिप्पणीमूलक तथा विश्लेषणात्मक लेखहरू लेखेर जनतामाझ चेतना फैलाउने काममा निरन्तर समर्पित ५७ वर्षीय साहित्यकार चालिसेसँग यस अङ्कमा हामीले उहाँको बाल्यकाल बारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको सम्झना यसरी सुनाउँनुहुन्छ:
काठमाडों जिल्ला अर्न्तर्गत जोरपाटी गाउँ विकास समितिको नौ नम्बर ओडामा एउटा रमाइलो र शान्त गाउँ छ- आरुबारी । नया सडकबाट एघार किलोमिटर जति परको यो रमाइलो गाउँ अग्लो र खुला ठाउँमा रहेको छ । पूर्व राजनीकुञ्जको जङ्गल, उत्तर सधैं सल्लेरी सुसाउने जगडोलको बन, चारैतिर हरियालीले ढाक्ने गरेको खुलाठाउँ उत्तर-पूर्वमा गोकर्र्णोश्वर र दक्षिण बौद्धनाथको बीचमा थुपुक्क बसेको यही गाउँमा म जन्मेको थिएँ । आमा सुशीला चालिसे र बाबा रमेश विकल (रामेश्वर शर्मा चालिसे ) बाट २००८ साल असार २२ गते मेरो जन्म भएको हो ।

मेरो परिवार गाउँको साधारण परिवार हो । मेरा बाजे चन्द्र शेखर ठूलै पदमा सरकारी जागिरे हुनुहुन्थ्यो । म जन्मनुभन्दा दुइ वर्षअगाडि नै उहाँ वित्नुभएकोले मैले उहाँलाई देख्न पाइन । मेरी आमाले खासै औपचारिक शिक्षा पाउनु भएको थिएन । बाबा शिक्षित र साहित्यकारसमेत हुनुभएकोले मैले भने सानैदेखि पढ्ने वातावरण पाएँ । बाबाको धेरैजसो समय घर-गाउँभन्दा बाहिरै बित्थ्यो । विहान हामी उठ्दा उहाँ हिँडिसक्ने, बेलुका हामी सुतिसकेपछि घर फर्कने हुँदा धेरै जसो हामी उहाँलाई देख्नै पाउँदैनथ्यौं । त्यसैले हाम्रो सबै लालनपालन आमाबाटै हुन्थ्यो ।
मलाई पनि सबै केटाकेटीलाई जस्तै सानोमा नयाँ कुरा र नयाँनयाँ कथाहरु सुन्न मन पथ्र्यो । म जन्मनुभन्दा अगाडि नै स्वर्गे भै सकेकोले अरूकोजस्तो मैले बाजे बज्यैको काखमा लुटपुटिएर कथाहरु सुन्ने अवसर पाइन । त्यो कमी म गाउँका साथीसङ्गाती र हाम्रै जग्गाजिमीको हेरचाह गरेर बस्ने गुल्चादाइ, मोहनलाल दाइबाट पूरा गर्थेँ । उहाँहरू हामीलाई दन्त्यकथा र गाउँखाने कथाहरू सुनाउने गर्नुहुन्थ्यो ।

मेरो बाल्यकाल त्यति बेलाका मेरो उमेरका केटाकेटीको जसरी बित्छ, त्यसरी नै साधारण तरिकाले वित्यो । केटाकेटीमा अहिलेको जस्तो रेडियो, टेलिभिजन, सिनेमा केही देख्न पाइँदैनयो । म सत्र वर्षो उमेरमा पुगे पछि २०२५ सालमा मात्र रेडियो र टेप रेकर्ड देख्न पाएको थिएँ । ती कुरा बाबाले आफू अमेरिकाबाट फकँदा ल्याउनु भएको थियो । अहिलेजस्तो टोलटोलमा सिनेमाघर पनि थिएनन् । न त अहिलेकाजस्ता थरी थरीका खेलौनाहरू र अरू खेल्ने कुरा नै पाइन्थ्यो । मनोरञ्जनका साधन भन्नु नै आफ्ना उमेरका साथीसङ्गाती जम्मा भएर खेलिने लुकामारी, झुम्राका पुतलीको बिहे, गट्टा, चोर पुलिस वा डुमदाई, आसपासजस्ता खेलहरू हुनेगर्थे । कहिले काहीँ कपडाको डल्लो र भोगटेको भकुण्डो खेलिन्थ्यो ।

यसरी मेरो बालककाल गाउँकै सानो घेराभित्रै बित्यो । गाउँ र मेरो टोल पनि अहिलेकोजस्तो बाक्लो थिएन । मेरो टोलमा जम्मा छ सात घर थिए । त्यसमा पनि मेरै उमेरका केटाकेटी दुइचारजना मात्र ! मेरी दिदीको उमेरका एक छेंवल थिए । यही सानो समूह र ठाउँमा मेरो विद्यालयजानु अगाडिको समय वित्यो । सरुमा घरमैं बाह्रखरी सिकेर गाउँकै स्कुलमा चार कक्षासमम पढेपछि चावहिलको सरकारी स्कुलमा भर्ना भएँ । दश-एघार वर्षो कलिलो उमेरमा पाँच-छ किलोमिटर टाढा चावेलसम्म हिँडेरै स्कुल आउनुजानु सजिलो थिएन । त्यसैले स्कुल जान नपरे हुन्थ्यो भन्ने पनि लाग्थ्यो । बस मोटर देख्न पाउने कुरै थिएन, न बाटो नै अहिलेको जस्तो सफा र फराकिलो थियो । वषर्ामा हिलैहिलो हुन्थ्यो । अहिले सम्झँदा चाहिँ त्यतिबेला अल्छी र दुःख मानेर स्कुल नगएको भए अहिले भाइबहिनीहरूसँग यसरी कहाँ कुरा गर्न कहाँ पाउँथे र भन्ने लाग्छ ।

ठूला मानिसहरू तास आदि बाह्रमासे खेल्ने गर्थे । हामीभन्दा केही ठूला दाइहरू खोपी, पायाँ, पाङ्ग्रा, ओख्खर आदि खेल्थे । खोपी-तास-पायाँजस्ता खेल त्यतिबेला पनि राम्रो मानिँदैनथे । खराब केटाकेटीले मात्रै त्यस्तो खेल खेल्छन् भन्थ्ियो । स्कुल पढ्न थाले पछि अर्थात केही ठूलो भएपछि मेरे संगत पनि आफूसरहका र आफूभन्दा केही ठूला दाइहरूसँग हुन थाल्यो । उनीहरूकै संगतमा म पनि कहिले काहीँ खोपी तास खेल्न थालेँ, कहिलेकाहीँ ओखरमा च्याँखे राख्थेँ । । एक दिन गाउँकै सडकमा साथीहरूको करले खोपी खेल्दैं थिएँ । त्यतै आइरहनुभएको बाबाले देख्नुभएछ । मलाई घोक्य्राउँदै घर ल्याएर कोठामा थुनिदिनु भयो । त्यस पछि केही दिन त मैले ती साथीहरूकहाँ जानै छाडिदिएँ । तर केटाकेटी मन के मान्थ्यो, फेरि लुकेर साथीहरूसँग खोपी-तास खेल्ने मौका छोपिहाल्थेँ । अर्को एक दिन त्यसरी नै तास खेलिरहेको फेला परेपछि मैले त्यहीँनै नराम्ररी बाबाको हातको पिटाइ खाएँ । त्यस दिनदेखि भने मैले तास, खोपीजस्ता कुनै पनि खेलबाड गर्ने आँट गरिन । अहिले पनि यस्ता मनोरञ्जन र स्वास्थ्यलाई राम्रो नगर्ने जाड रक्सीबाट म सधैं टाढा रहन्छु । अरुले त्यतातिर विताउने समय म लेखपढ गरेर विताउन रुचाउँछु ।

अरुजस्तै कथा सुन्न सानैदेखि मन पराउँथेँ । बाबाले घरमा ल्याउनुहुुने पुस्तक-पत्रिका पल्टाउँदा पल्टाउँदै पत्तै नपाइ साहित्यतिर तानिँदै गएछु,। बाबा आफैं साहित्यकार, उहाँको नाउँ र कथा आदि पत्रपत्रिकामा छापिएको देख्दा यसरी नै आफ्नो पनि नाम छापिए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो । घरमा माधव घिमिरे, भूपि शेरचन, सिद्धिचरण, केदारमान व्यथितजस्ता ठूलाठूला साहित्यकार आउँदा उहाहरूको व्यक्तित्वले पनि नजानिँदो किसिमले तान्दै गयो । बाबा र स्वर्गीय भैरव अर्यालबाट पे्ररणा र प्रोत्साहन पनि पाउँदै गएँ । घरपरिवार, छोराछोरीको सबै जिम्मेवारी मेरी श्रीमती लक्ष्मी चालिसेले लिइदिएर सहयोग नगरेको भए पनि यो क्षेत्रमा लाग्न सकिँदैनथ्यो होला । त्यसैले उनको पनि धेरै ठूलो सहयोग छ ।

माथि नै केही सङ्केत गरेँ, मेरो अध्यनको सुरुआत पहिले घरैमा र केही पछि गाउँकै स्कुलबाट भयो । मेरो स्कुल र महाविद्यालय, विश्व विद्यालयका सबै शिक्षा साधारण स्कुल-कलेजबाट भएको हो । कक्षा चारसम्म गाउँकै अरुणोदय प्राथमिक विद्यालयमा र त्यसपछि आठ कक्षासम्म चावहिलको मित्र मण्डल हाइस्कुलमा पढेँ । कक्षा नौ र दश चाहिँ चावहिलकै मित्र सहशिक्षालय मर्निङ हाइस्कुलमा पढेर प्रवेशिका (एस. एल. सी ) उत्तीर्ण गरें । आइए त्यतिबेलाको महेन्द्ररत्न पब्लिक कलेज बसन्तपुरमाबाट पास गरेँ । आइए पढदै गर्दादेखि नै गाउँको स्कुलमा आंशिक शिक्षकका रुपमा पढाएर आफ्नो खर्च पुर्याने कोशिस गरेँ । स्कूलमा पढाएर आफू पढ्नु पर्ने हुँदा बीए राति पढाइ हुने नेशनल कलेज (अहिलेको शंकरदेव क्याम्पस ) मा पढेर पास गरेँ । बौद्धसम्म मात्रै बस चल्थ्यो, त्यो पनि साँझ पाँच-छ बजेपछि भेटिँदैनथ्यो । त्यसैले पुतली सडकदेखि दुइ घण्टा हिँडेर एक्लै आधारातमा घर आउनु पथ्र्यो । बाटो राम्रो थिएन । सुनसान हुन्थ्यो, चरोमुसो कतै नभेटिने । त्यसैले पढाइमा अब्बल हुन सकिएन, बीएसम्म सामान्य श्रेणीमा पास गरेर चित्त बुझाउनु पर्यो । बीए पास गरेर त्रिभुवन विश्व विद्यालयमा अर्थशास्त्र पढ्न भनी एमएमा भर्ना भएँ । चामुण्डा माध्यमिक विद्यालयमा बिहानभरि पढाएर जोरपाटीबाट एघार बजे कीर्तिपुर पुग्न सम्भव भएन । त्यसैले विश्वविद्यालयको नियमित कक्षा पनि छाड्नु पर्यो । त्यही बीचमा राति पुतली सडककै पद्मोदयमा एक वर्षो बीएडको पर्ढाई सुरु गरें । त्यो सकिएपछि बल्ल नेपाली विषयमा प्राइभेट जाँच दिएर एमए पास गरें । २०२८ सालदेखि २०३६ सालसम्म स्कुलमा पढाएपछि २०३७को सुरुदेखि गोरखापत्रमा उपसम्पादकमा भर्ना भएँ । त्यही बीच कोलम्बो प्लान अर्न्तर्गत मनोनित भइ बेलायत गएर पत्रकारिता विषयमा डिप्लोमाको उपाधि पनि लिएँ । पढ्ने र पढाउने काम त अहिले पनि छुटेको छैन । दिनको दुइ तीन घण्टा सधैँ पढ्छु । २०४२ सालदेखि नै पशुपति क्याम्पसमा पढाउँदै पनि आएको छु ।

Wednesday, July 7, 2010

हार्दिक बधाइ ज्ञापन गर्दछौं

वरिष्ठ अग्रज लेखक शान्तदास मानन्धरज्यूले साझा बालसाहित्य पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछौं ।
उहाँले नेपाली बालसाहित्यको विकासमा विशेष योगदान गर्नुभएको छ । हामी उहाँ प्रति कृतज्ञ छौं ।

To promote Children's Literature and reading activities in Nepal
                       केटाकेटी अनलाइन परिवार
                         र
http://childrensbooks77.blogspot.com/  ब्लग परिवार ।



Tuesday, July 6, 2010

Childhood Days Memories of Korean Writer Yoojeong कोरियाली बालसाहित्यकारको बाल्यकाल

प्राध्यापक डाक्टर यु जङ्गयी कोरियाली बालसाहित्यकार हुनुहुन्छ । उहाँ हङ्गीक विश्वविद्यालयमा कोरियन साहित्य पढाउँनुहुन्छ । उहाँले आधुनिक कोरियाली कविता भन्ने विषयमा विद्यावारिधि गर्नुभएको हो ।
चालीस दिने नेपाल भ्रमणका लागि जङ्गयी नेपाल आउनुभएको थियो । गत २०६६ भदौ १ गते उहाँ आफ्नो भ्रमण सकाएर कोरिया फर्किनु भयो । यो भ्रमणमा उहाँसँगै १३ जना कोरियाली बालबालिकाहरु पनि आएका थिए ।
यस अंकमा हामीले प्रसिद्व कोरियाली कवि, समालोचक र बालसाहित्यकार जङ्गयीसँग उहाँको बाल्यकालका सम्झना वारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको कथा सुनाउँदै भन्नुहुन्छ:
म एउटा साधारण परिवारमा जन्मिएकी हुँ । मेरो बुवा व्यापार गर्नुहुन्थ्यो । मेरो घरमा हामीलाई खान, बस्न र पढ्न पनि गाह्रो अवस्था थियो ।
म सानैदेखि पुस्तक पढ्न खूब रुचि राख्थें । म सानो छँदा विदेशी लेखकका किताबहरु बेच्दै घर-घरमा हकरहरु घुम्दथे । उनीहरु थरीथरीका किताबहरु बेच्दै हिड्थे । एक सेट किताबमा दशथरी कथाका किताबहरु हुन्थे । ती किताब पढ्न मलाई एकदमै मन लाग्थ्यो । तर मेरो बुवाआमाले किन्दिन सक्नु हुन्नथ्यो । मसँगै भाइबहिनीलाई पनि पढाउँनु पर्ने भएकोले घरको सबै पैसा हाम्रो विद्यालयको किताब किन्दा नै सकिन्थ्यो । त्यसैले म सँधै घर बाहिर उभिएर ती घुमाउँदै किताब बेच्न हिडेका हकरहरुले बोकेका कथाका किताबहरु लोभिदै हेर्थें । म पढ्न नपाएकोमा थकथक मान्थें ।
एकदिनको कुरा हो, मैले मेरो छिमेकीको घरमा थुप्रै कथाका किताबहरु दराजमा सजाएर राखेको देखें । त्यसपछि म दङ्ग पर्दै छिमेकीको घरमा गएर किताब पढ्ने कुरा सोच्न थालें । नभन्दै मैले त्यो मौका पाएँ । एक दुइ दिन मैले त्यो छिमेकीको घरमा गएर ती किताबहरु मज्जाले पढें । शुरुको दिन त म किताब पढ्न पाएकोमा यति धेरै रमाएँ कि मैले त धेरै खुसी भएर रुँदै-रुँदै किताबहरु पढें । म आफ्नो जिन्दगीमा त्यो दिनलाई कहिले बिर्सिन सक्दिन ।
हुन त मेरा छिमेकीका पनि छोराछोरीहरु थिए । तर उनीहरु घरमा भएको त्यति राम्रा किताबको वास्ता गर्दैनथे । उनीहरुलाई त कथाको किताब पढ्न मन नै लाग्दोरहेनछ । त्यतिबेला म सोच्थें कस्तो बोर जसलाई किताब पढ्न मन छैन ऊसँग चै यति धेरै किताब । मलाई पढ्न मनलाग्छ तर मसँग किताब नै छैन । यो सम्झदाँ मलाई रुन मन लाग्थ्यो ।
यसरी मैले रमाउँदै दुइ तीन दिन छिमेकीकोमा गएर किताब पढें । तर त्यसपछि मैले त्यहाँ गएर किताब पढेको उनीहरुले मनपराउँन छाडे । त्यसपछि म त्यो छिमेकीकोमा किताब पढ्न जान छाडें । आमालाई कर गरेर छिमेकीको घरमा किताब लिन पठाउँन थालें । यसरी दुइ दिनसम्म आमाले मलाई त्यहाँबाट किताब ल्याइदिनु भयो । तर एकदिन आमालाई पनि वचन लगाएछन् । त्यसपछि आमाले रिसाउँदै ती छिमेकीको सेखी झार्न मलाई एक सेट दशवटा कथाका किताबहरु ल्याइदिनु भयो । ओहो, त्यो दिन त म धेरै खुसी भएकी थिएँ । आफ्नो कथाका किताबलाई किस गरेर, अंगालो मारेर मैले रमाइ-रमाइ पढें । हो, मैले मेरो आफ्नो किताब आफैले रुँदै, कराउँदै, हाँस्दै र हल्ला गर्दै पढेको त्यो दिन मेरो जिन्दगीको कहिल्यै नबिर्सने दिन हो ।
साँच्चै, म किताबको कीरा नै थिएँ । म निक्कै धेरै किताब पढ्थें । म किताब पढ्दापढ्दै खाना खान नै बिर्सिन्थें । आमाले मलाई छोरी तिमीले खाना खाएकी छैनौ भनेर दुइ तीन पटक सम्झाउँनु पर्दथ्यो ।
यसरी धेरै किताब पढ्ने बानीले गर्दा होला अहिले म लेखक बन्न सकें । अहिले पनि म धेरै किताब पढ्ने गर्छु । मैले क्याम्पसमा विद्यार्थीहरुलाई पढाउन पनि धेरै किताब पढ्नुपर्छ । त्यो बाहेक मलाई नयाँ-नयाँ उपन्यास, कथा र कविताहरु लेख्न पनि त मैले धेरै किताब पढ्नुपर्छ नि ! मेरा बालसाहित्यमा दशवटा किताबहरु छापिएका छन् । ती सबै किताबले पुरस्कारहरु पनि जितेका छन् । यो पनि म धेरै पढ्ने मान्छे लेखक भएर हो भन्नुहुन्छ मेरा गुरुहरु ।
म समालोचक पनि हुँ । मेरा समालोचनासम्वन्धी पाँचवटा किताबहरु छापिएका छन् । अरुका किताबहरु पढेर ती किताबको राम्रा पक्ष र नराम्रा पक्षका वारेमा लेख्नु मेरो काम हो । त्यही कामलाई समालोचना भनिन्छ । त्यसैले समालोचना गर्न पनि म धेरै किताबहरु पढ्ने गर्छु ।
यसरी आफूलाई सफल मान्छे बनाउँन म धेरै थरी किताबहरु पढिरहेकी छु । मलाई लाग्छ, हरेक मान्छेले किताब पढ्नुपर्छ । राम्रा ज्ञानगुनका किताब पढ्ने मान्छेहरु जीवनमा सँधै सुखी र सफल हुन सक्छन् ।
प्रस्तुतिः कार्तिकेय घिमिरे

Childhood Days Memories of Senior Writer Rochak Ghimire घोडाबाट पछारिए कर्णेल बूढा !

रोचक घिमिरे वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ नेपालको प्रसिध्द साहित्यिक पत्रिका रचनाका प्रधान सम्पादक पनि हुनुहुन्छ । निवन्ध लेखनमा सुपरिचित लेखक रोचकको बाल्यकालको रमाइलो संस्मरण यस अंकमा हामीले प्रस्तुत गरेका छौं ।
मेरो उमेर त्यो बेला १२ वर्षजतिको थियो होला । दशैंको रमझम सकिएर तिहार लाग्दो बेला थियो । तिहारको खुशीयालीमा फाट्टफुट्ट पटखा पड्काउने, फुलझडी बाल्ने, आतिसबाजी गर्ने चलन भर्खर भर्खर काठमाडौंमा शुरु भएको थियो । बाले हामी तीनजना दाजुभाइ म, रघु र केशवलाई के काम परेर हो कुन्नि लप्टन बा तारानाथ (शङ्कर घिमिरे र डा.मधु घिमिरेका पिता) कहाँ भाटभटेनी पठाउनुभो । लप्टन बा कहाँबाट हामी दाजुभाई गहिरीधारातिर लाग्यौं । त्यहाँको हलुवाई पसलेको बर्फीको स्वाद लिन पल्केका थियौं हामी । हामीसंग एकदुइ रुपियाँ थियो । बर्फी खाएर केही पैसा बच्यो । त्यहीं छ्याके साहूको पसल अगाडि पटखा, भैंचम्पा, टीनको सिटी, टीनकै बन्दुक, कागतको सर्प आदि विभिन्न खेलौना फिंजाएर बेच्न राखिएका थिए । ती सामानको वरिपरि केटाकेटीहरू झुम्मिइरहेका थिए । हामी पनि तमासे भएर हेर्न थाल्यौं । भाइ रघुले सिटी किन्यो, केशवलाई कागतको सर्प मन पर्यो । मैले चाहिं टीनको कालो खेलौना बन्दूक र त्यसलाई पड्काउन चाहिने बारूदको टिके रील किनें । बन्दूकमा त्यो रील हालेर प्याट्ट प्याट्ट पड्काउँदै हिड्न थालें म । ठूलो आनन्द र खुसी अनुभव भो मलाई । भाइहरू पनि रमाएर सिटी फुक्दै, सर्प हल्लाउँदै हिडिरहेका थिए ।
हामी त्यसै क्रमले गैरीधाराबाट टङ्गाल गणेशथानतर्फ आइरहेका थियौं । उताबाट कर्णेल डम्बर शमशेर थापा (१५ साले चुनावमा डा.के.आइ.सिंहको पार्टीबाट विजयी सांसद लोचन समशेर थापाका पिता) घोडा चढेर आइरहेका थिए । घोडाको पछिपछि सइस हिडिरहेको थियो । त्यो वेला घरानियाहरू घोडा, साइकल चढ्थे । कार मोटरसाइकल त ज्यादै कम थिए र ती राणा परिवारकै एकलौटी थिए भनेपनि हुन्छ । एक सुरले म बन्दुक पड्काउँदै, रमाइलो गर्दै हिडिरहेको थिएँ । अचानक डम्वर समशेर बूढा घोडाबाट तल सडकमा डङ्ग्रङ्ङ पछारिए । ती मोटा, सुकुमार बूढा उठ्न सकेन्, सइस भाग्न लागेको घोडा समाउनतिर लाग्यो । जम्मा भएका बटुवाहरूले कर्णेल बूढालाई उठाएर उभ्याए । हामी तीन भाइ फुच्चे मग्न भएर यो सबै रमीता हेरिरहेका थियौं । कर्णेल बूढाले चारैतिर हेरे । खेलौना बन्दुक मेरो हातैमा थियो । डम्बर शमशेर मेरो नजिकै आए अनि मेरो हातको बन्दुक खोसेर भने-'यै हो तेरो बन्दूक ! बड, बन्दूक पड्काउने भा'को !' यति भनेर उनले त्यो बन्दूक नीलकाँडाको झ्याङ्तिर हुर्र्याइदिए । मैले पड्काएको बन्दुकबाट तर्सिएर घोडाले कर्णेल बूढालाई लडाएको रहेछ । त्यसैले मेरो त्यो दोषी बन्दुकसँग उनले त्यसरी बदला लिएका रहेछन् भन्ने कुरा बल्ल बुझ्यौं हामीले । मैले अँध्यारो मुख लगाएँ । 'दाजुले होइन ! दाजुले होइन !' भनेर भाइ केशव रुन लाग्यो । बूढाको आँखा सिटीमा पनि पर्ला र फ्याँकिदेलान भनेर अर्को भाइ रघु सिटी लुकाउन लाग्यो । त्यहाँ उभिएका पाका मान्छेहरू पनि 'कर्साबलाई लडाउने, बदमास केटाहरू !' भन्दै हामीलाई नै गाली गर्न लागे । कसैले त हामीलाई चिनेका पनि रहेछन् र यी गहनापोखरीका पण्डित बाजेका छोरा हुन् भनेको पनि सुनियो । बाले थाहा पाउनुहोला भनेर हामीलाई डर लाग्यो ।
हामी तीनभाइ लुत्रे कान लगाएर घरको बाटो लाग्यौं । डम्बर शमशेर बूढा खोच्याङ् खोच्याङ् गर्दै पैदलै हिडे । सइस घोडा डोर्याएर लुखुर लुखुर उनको पछिपछि लाग्यो । लप्टनबा तारानाथले चाहीं यो कुरा थाहा पाउनुभएछ । एकदिन उहाँले मलाई भन्नुभो- 'तिमीहरूले बन्दुक पड्काएर घोडाबाट पछारिएका कर्णेल बूढा केही दिन थला परेर बल्ल उठेछन् बिचरा !'
एक्लै यो घटना सम्झदा अहिले पनि मलाई रमाइलो, नरमाइलो, कस्तो कस्तो लाग्छ । हामी तीन दाजुभाइ भएको वेला यसको चर्चा चल्दा चाहिं एकै पटक गलल्ल हाँसोको फोहोरा छुट्ने गर्छ !

Monday, July 5, 2010

कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको वि.सं. २०६७ को पुरस्कारका लागि सिफारिस पठाउँने सम्बन्धी जरुरी सूचना

पुरस्कारको नामः कार्तिकेय बालप्रतिभा पुरस्कार २०६७
प्रतिभाको क्षेत्रः साहित्य सिर्जना, संगीत, अभिनय, विज्ञान, अध्ययन र साहसिक कार्य मध्ये कुनै एक वा यी मध्ये केही क्षेत्रमा विलक्षण क्षमता प्रदर्शन गर्न सफल भएकाले आवेदन गर्न सक्नुहुनेछ । (प्रतिकूल अवस्थामा रही हुर्किएर पनि विलक्षण क्षमता प्रदर्शन गर्न सफल प्रतिभाशाली बालबालिकाहरुलाई विशेष प्राथमिकता दिइने छ ।)
आवेदन दिने अन्तिम मितिः २०६७ असोज मसान्तभित्र ।
पुरस्कार घोषणा मितिः मंसिर ५ (नोभेम्बर २०) अर्न्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा ।
पुरस्कार बितरणः पुष ४ गते २०६७
पुरस्कार राशिः रु ५ हजार १ र सम्मान पत्र । विशेष कार्यक्रम गरी प्रदान गरिदै आइएको छ ।
आवेदन गर्दाः विद्यालयको र सम्बन्धित संघसंस्थाहरुको सिफारिस, प्राप्त उपलब्धीहरुको प्रमाण पत्रहरुको फोटोकपि, फोटो दुइ प्रति, अन्य बालप्रतिभाको क्षमतावारे थप जानकारी लिन सहयोग मिल्ने सम्पूर्ण कागजातहरु पठाउँनु पर्नेछ ।
शैक्षिक प्रोत्साहन पुरस्कारको लागि असहाय, गरिबीको अवस्थामा रहेर पनि पढाइमा बिलक्षण बालबालिकाहरुका लागि सम्बन्धित संघसंस्था, विधालय र बालबालिकाहरु स्वयंले हामीलाइ बालप्रतिभाको क्षमता वारे शैक्षिक प्रमाण पत्रको फोटोकपि र सिफारिसहरु पठाउँनु पर्नेछ । यो पुरस्कार लेखक घिमिरेको सिर्जना मन्चन र वाचन गरी च्यारिटी संकलन गरेको रकमबाट प्रदान गर्ने गरिएको छ ।
यस कोषको वारेमा थप कुरा:
स्थापनाः
वि.सं. २०५८ मा यस कोषको स्थापना भएको हो । बालअधिकारको प्रर्वर्धनका लागि विगत चौध वर्षेखि कार्यरत स्वतन्त्र संचारकर्मी एवं लेखक कार्तिकेय घिमिरेको विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित लेखरचनाहरुको पारिश्रमिक, प्राप्त पुरस्कारहरुको रकम र प्रकाशित पुस्तकहरुको लेखकस्व रोयल्टी जम्मा गरी यस कोषको स्थापना गरिएको हो । घिमिरेका हालसम्म पत्रपत्रिकाहरुमा एक हजार तीनसयभन्दा बढी लेखरचनाहरु, दुइ पचास भन्दा बढी बालकथाहरु र ३३ वटा बालसाहित्यका कृतिहरु प्रकाशित छन् । घिमिरे वि.सं. २०३३ पुस ३ गते हरिवन दुइ पुरानो बजार सर्लाहीमा जन्मनुभएको हो । उहाँको बुवाको नाम चन्द्रनाथ घिमिरे र आमाको नाम दुर्गा देवी घिमिरे हो । उहाँ परिवारको माइलो छोरा हुनुहुन्छ ।
स्थापनामा विशेष सहयोगः
यस कोषको स्थापनामा विशेष सहयोग विगत २४ वर्षदेखि शिक्षा क्षेत्रमा समर्पित शिक्षासेवी मोहनकुमार कार्कीले गर्नुभएको हो । उहाँ यस कोषका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
उद्देश्यः
विलक्षण प्रतिभाशाली बालबालिकाहरुलाई पुरस्कृत गरी समाजमा चिनाउँने काम यस कोषले गर्दै आएको छ । आफ्नो प्रतिभालाई तिखार्दै अघि बढ्न प्रयासरत बालप्रतिभालाई हौसला प्रदान गर्नु कोषको प्रमुख लक्ष्य हो । यस कोषबाट हालसम्म ३८ जना बालप्रतिभाहरु पुरस्कृत र २४ जना बालप्रतिभाहरु सम्मानित हुनुभएको छ । बालबालिकाहरुको मानसिक, शारिरीकलगायत समग्र सिर्जनात्मक विकासका लागि कोष लागिरहेको छ । विलक्षण बालप्रतिभाहरुलाई समाजमा चिनिन सहयोग गरेर समाजका अरुलाई पनि उहाँहरुको प्रतिभाको विकासमा सहयोग गर्न प्रेरित गर्नु कोषको मुख्य लक्ष्य हो ।
सिफारिस पठाउँने ठेगाना:
अध्यक्षः मोहन कुमार कार्की
९७७- ९७५१००३५३१, ९८४१४७७५१५
पोस्ट बक्स नम्बर २५८५९ काठमाडौं ।
इमेलः ketaketinews@gmail.com, kartikeya99@gmail.com

Saturday, July 3, 2010

हरिवनमा बालकथावाचन र लेखन कार्यक्रम सम्पन्न

मनकामना उच्च मावि, हरिवन, सर्लाहीमा रमाइलो बालकथावाचन र लेखन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बालकथावाचन राष्ट्रिय अभियान लिएर देशका २४ जिल्लामा पुगिसक्नुभएका बालबालिकाका लागि साहित्य लेख्ने लेखक कार्तिकेय घिमिरेले कथावाचन गर्नुभएको थियो । उहाँले आफ्ना रुचाइएका कथाहरु ड्राइभर अंकल किन रोए, डस्टर उड्यो, फर्सी बहादुरको कथा र साँच्चैको हिरो हो कृष्णबहादुर वाचन गरी सुनाउँदा बालबालिकाहरु निकै रमाएका थिए । उहाँले बालबालिकाहरुलाई बालकथा कसरी लेख्ने भन्ने विषयमा रोचक ढंगले प्रशिक्षण पनि दिनुभएको थियो । यस कार्यशालामा एघारजना बालप्रतिभाले हाउभाउसहित कथावाचन गरी कार्यक्रमलाई झन् रोचक बनाएका थिए । उनीहरुमध्ये उत्कृष्ट तीनजनालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दशदेखि सोह्र वर्षउमेरसम्मका एकचालिस जना बालबालिकाहरुले भाग लिएका थिए ।
बालसाहित्य प्रतिष्ठान काठमाडौंको सहकार्यमा मनकामना उच्च माविले आयोजना गरेको यो कार्यक्रम प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईको सभापतित्वमा भएको थियो । कार्यक्रममा उप-प्रधानाध्यापक ङमेन्द्रप्रसाद घिमिरेले यस कार्यक्रमबाट विद्यार्थीहरुमा सिर्जनशीलता बढाउँन विशेष सहयोग पुगेको विचार व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा समुदायका बालबालिकामा सिर्जनशीलता बढाउँन कार्तिकेय बालप्रतिभा पुरस्कार कोष काठमाडौंको सहयोगमा केटाकेटी बुक क्लब स्थापना गरिने घोषणा गरिएको छ । कोषले उपलब्ध गराएका नौ सयभन्दा बढी किसिमका चार हजार बालपुस्तक रहने सो किताब क्लबले स्थानिय समुदायका बालबालिकाहरुलाई पुस्तकालयको सेवा प्रदान गरी विलक्षण र सिर्जनशील बालव्यक्तित्व निर्माणमा टेवा पुर्याउँने अपेक्षा रहेको विद्यालयका संस्थापक शिक्षासेवी एन.टि. लामाले बताउँनुभएको छ ।

Monday, June 21, 2010

के तपाईं बालसाहित्य पढ्नु हुन्छ ?

किताब पढ्दै, ज्ञान लिदै र रमाउँदै पुन्य कमाउँनुहोस्
बालबालिकाका निम्ति साहित्य लेख्ने लेखक कार्तिकेय घिमिरेका ३३ वटा बालसाहित्यका कृतिहरु प्रकाशित भएका छन् । यिनी बालहितकारी पुरस्कार पाउँने कान्छो लेखक हुन् । यिनले ३३ वर्षको उमेरमा ३३ वटा बालसाहित्यका किताब लेखेका छन् । विश्वविद्यालयबाट दुइवटा शोध हुने यिनी नै सम्भवत कान्छा बालसाहित्य लेखक हुन् । यिनले बालहितका क्षेत्रमा प्रतिष्ठित पुरस्कार र सम्मानसमेत पाएका छन् ।
घिमिरेको हरेक कृति यदी तपाईंले किनेर पढ्नुभयो भने त्यसबाट प्रति कृति एक प्रति बराबर रु ५ लेखकस्वको रकम कार्तिकेय बालप्रतिभा पुरस्कार कोषमा जम्मा हुन्छ । यो कोष आजभन्दा दश वर्षअघि स्थापना भएको हो । यो कोषले प्रतिभाशाली बालबालिकाहरुलाई बालप्रतिभा पुरस्कार र अति बिपन्न परिवारमा रहेर सघर्षपूर्ण अवस्थामा अध्ययन गरिरहेका बालबालिकाहरुलाई शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ । हालसम्म ३८ जना बालबालिकाहरु यस कोषबाट पुरस्कृत भएका छन् । उनीहरुको भविष्य उज्यालोतिर अघि बढिरहेको छ । त्यसैले कार्तिकेय घिमिरेले रचना गर्नुभएका कृतिहरु किनेर पढ्नुहोस् । पढाइको आनन्द लिदै पुन्य पनि कमाउँनुहोस् ।
थप जानकारीका लागिः
बालसाहित्य प्रतिष्ठान नेपाल
इमेलः childacademy43@gmail.com
वेब बालपत्रिकाः http://www.ketaketi.com.np/

यी प्रकाशकसँग तपाईंले सिधै सम्पर्क गरी यी विभिन्न किताब किन्नु भयो भने पनि तपाईंले पुन्य कमाउँन सक्नुहुनेछ ।
ऐरावती प्रकाशन, बागबजार, काठमाडौं, फोन ०१ ४२३३०७० सँग
१. फर्सी बहादुरको कथा, बालचित्रकथा ।
२. जादुको टोपी, बालचित्रकथा ।
साझा प्रकाशन, पुल्चोक, ललितपुर, फोन ०१ ५५२२१३२ सँग
१. भ्यागुताको प्रजातन्त्र, बालकथा सङ्ग्रह ।
महालक्ष्मी प्रकाशन, न्यूरोड, काठमाडौं, फोन ०१ ४२४४०९२ सँग
१. द टेल अफ मास्टर पम्पकिन, अङ्ग्रेजी बालकथा सङ्ग्रह ।
२. द फ्लाइङ डस्टर, अङ्ग्रेजी बालकथा सङ्ग्रह ।

Childhood Days Memories of Senior Journalist Shiv Prasad Bhattrai जीवनमा जस्तोसुकै दुःख परेपनि हिम्मत नहारी प्रयास गरिरहनुपर्छ

शिवप्रसाद भट्टराई वरिष्ठ पत्रकार हुनुहुन्छ । उहाँ विगत २० वर्षदेखि यस क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँ अहिले मुना मासिक बालपत्रिकामा सम्पादक हुनुहुन्छ । यस अघि उहाँ गोरखापत्र दैनिकमा प्रधान सम्पादक हुनुहुन्थ्यो । यस अंकमा हामीले यिनै आदरणीय पत्रकार दाजु शिवप्रसाद भट्टराईसँग उहाँको बाल्यकाल बारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ : 

मेरो जन्म काठमाडौंको बालुवाटारमा भएको हो । त्यतिबेला मेरो परिवार डेराको घरमा बसेको थियो । पछि हामी मैतिदेवी नजिकैको अर्को घरमा डेरा सर्यौं । त्यसपछि बल्ल बुवाले बल्लतल्ल ठूलो दुःख गरेर काठमाडौंको टंगाल गैरीधारामा घर किन्नु भयो । यसरी तीनवटा ठाउँमा मेरो बाल्यकाल बित्यो ।

मलाई क, ख चिनाउँने काम मेरै बुवा पद्मप्रसाद भट्टराईबाट घरमै भएको हो । पछि बुवाले मलाई संस्कृतमा लेखिएको अमरकोश र कौमुदी आदि पढाउँनु भयो । त्यसपछि मलाई उहाँले रानी पोखरी छेउमा रहेको संस्कृत प्रधान पाठशालामा भर्ना गरिदिनुभयो । त्यहाँ मैले बुद्विनाथ गुरुबाट कौमुदी, केशवराम जोशीबाट गणित, बाल्मीकि पौडेलबाट रुद्री र सिद्विनाथ गौतमबाट कालिदास, भारवि र माघले कुमारसंभवम् र शिशुपाल वध नामक संस्कृत काव्यहरु पढेको सम्झँदा अहिले पनि मलाई मज्जा लाग्छ । त्यहाँ पढ्दा पढ्दै मैले संस्कृत छात्रावासमा भर्ना भएर पढ्ने अवसर पाएँ । छात्रावासमा साथीहरुसँग मिलेर खेल्दै पढ्दा खूब रमाइलो हुन्थ्यो । मैले त्यहाँ बस्दा वादविवाद, कविता, हाजिरी जवाफलगायत थुप्रै प्रतियोगितामा भाग लिएँ । थुप्रै पुरस्कारहरु पनि जितें । त्यसपछि कथा-कविताहरु लेख्ने र पत्रपत्रिकाहरुमा छाप्नको लागि पठाउँने पनि गर्न थालें । मलाई त्यो बेला मेरो लेखरचना छापिएको हर्ेदा एकदमै खुसी लाग्थ्यो । म पढ्दा अहिलेको बाल्मिकी क्याम्पसको नाम राजकीय संस्कृत महाविद्यालय रहेको थियो । यसै बीच २०३० साल पुस २५ गतेका दिन मेरो बुवाको निधन भयो । उहाँ संस्कृतको ठूलो विद्घान हुनुहुन्छ । उहाँको नाममा नेपाल सरकारले २०५३ सालमा हुलाक टिकट पनि प्रकाशित गरेको छ ।

मेरो प्यारो बुवाको मृत्युपछि मैले जीवनमा धेरै दुःख पाएँ । म त्यतिबेला १७ वर्षको थिएँ । त्यसपछि जीवन धान्नको लागि जागिर खाँदै कहिले वीरगन्ज, कहिले जनकपुर पुग्न वाध्य भएँ । यसरी दुःखका कारणले ७ वर्षम्म मैले मेरो पढाइलाई अघि बढाउँन पाइन । यो समयमा मैले विभिन्न विद्यालयमा नेपाली र संस्कृत विषय पढाउँनुको साथै विभिन्न दैनिक, साप्ताहिक र मासिक पत्रिकाहरुमा पनि काम गरें ।

मलाई आफ्नो पढाइ बढाउँन खूब मन थियो । मौकाको खोजीमा थिएँ । ७ वर्षछि मैले मिहिनेत गर्दै गएर साहित्य विषयमै उत्तरमध्यमा प्रविणता प्रमाणपत्र तह पूरा गरें । पछि पढ्दै, पढाउँदै र पत्रकारिता गर्दै मैले नेपाली विषयमा एम.ए र शिक्षा शास्त्रमा एम.एड. सम्मको अध्ययन गरें । यस बीचमा मैले त्रि.वि.शिक्षा शास्त्र संकाय, काठमाडौं शिक्षा क्याम्पस, जेम्स स्कुल, ज्ञानोदय आवासीय मावि, अल्फाज स्कुल, माउन्ट सेब स्कुल र माउन्ट सिनाइ स्कुलमा पढाउँने काम पनि गरें ।

विं.सं.२०४५ सालमा गोरखापत्र दैनिकमा काम गर्ने गरी उपसम्पादक पदमा म छनोट भएँ । त्यस अघि २०४० देखि ०४४ सम्म मैले गोरखापत्र र मधुपर्कको प्रुफ हेर्ने काम पनि गरेको थिएँ । त्यसपछि मलाई गोरखापत्र संस्थानले गोरखापत्र दैनिकका सह-सम्पादक, नायब कार्यकारी सम्पादक, कार्यकारी सम्पादक, नायब प्रधान सम्पादक र प्रधान सम्पादकसमेत भई काम गर्ने अवसर प्रदान गर्यो । यसैबीच म गोरखापत्र संचालक समितिको सदस्यमा पनि नियुक्त हुन पाएँ । अहिले म गोरखापत्र संस्थानबाटै वि.सं.२०४७ दखि निरन्तर प्रकाशित हुँदै आएको मुना मासिक बालप्रकाशनको सम्पादकका रुपमा काम गर्दैछु ।

जीवनमा जस्तोसुकै दुःख परेपनि हिम्मत नहारी प्रयास गरिरहनुपर्दोरहेछ । जीवनको अर्को नाम नै संघर्ष हो । आज कडा मिहिनेतले दुःखलाई हटाएर मैले मेरो जीवनलाई सुखी बनाएको छु । आज म जे छु, जहाँ छु र जुन अवस्थामा छु यो मेरै श्रम र सिपको कारणले हो भन्ने मलाई लागेको छ ।

Monday, June 14, 2010

बालबालिकाका निम्ति कार्यरत संचारकर्मीहरु सबैलाई एसओएस बालग्रामको हार्दिक निम्तो छ

एसओएस बालग्रामले नेपाली असहाय बालबालिकाहरुको हकहित संरक्षणका लागि थप कार्यक्रमहरु शुरु गर्ने योजना बनाएको खबर प्राप्त भएको छ । एसओएसको कुरा सुन्न र त्यसलाई मिडियामा ल्याई सबै असहाय नेपाली बालबालिकाहरुको लागि योगदान दिन आगामी असार 4 गते शुक्रबार दिउँसो २ बजे एसओएस बालग्रामको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा बालबालिकाका निम्ति कार्यरत संचारकर्मीहरु सबैलाई हार्दिक निम्तो छ ।


Friday, June 11, 2010

पाल्पामा ९ जना असहाय बालबालिकालाई सहयोग

जिल्ला बाल कल्याण समिति पाल्पाले विपन्न तथा असाहय ९ जना बालबालिकाकालाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । जिल्ला बाल कल्याण अधिकारी चमेली देवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले उनीहरुलाई सहयोग गर्ने निर्णय गरेको हो ।
हुमिन गाविस २ का बहुअपांगत भएका शैलेस लोहनी र अप्सरा लोहनीलाई ४ हजार, रुखबाट लोटेर हात खुट्टा भाचिएर उपचार गराइरहनु भएका गल्धा ९ का १० वर्षीय देवी सरा सारुलाई २ हजार र यम्घा ९ का डोलराज सापकोटाका ३ जना सन्तानलाई २ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको हो । यस्तै बुवाआमा पत्ता नलागेको बौघा पोखराथोक गाविस-७ का संझना रसाली, सोही गाविस ६ का बाबुआमा दुवैको मृत्यु भएका मनीषा विक तथा बाबुको मृत्यु भएको र आमाको अकैसँग विह भएका मिलन रानालाई आठ आठ सयका दरले छात्रवृत्ति स्वरुप रकम सहयोग गरिएको बाल अधिकार अधिकृत हरि बहादुर सारुले बताए । आर्थिक वर्ष २०६६/०६७ मा जिल्ला बाल कल्याण समिति पाल्पाले ३२ जना बालबालिकाहरुलाई आर्थिक तथा छात्रवृत्ति सहयोग गरेको अधिकृत सारुले जानकारी गराएका छन् ।
- By Hari Saru CRO palpa
पाल्पा, जेष्ठ २८, २०६७

Thursday, June 10, 2010

प्रारम्भ बालप्रतिभा पुरस्कार गायक राहुल भूजेललाई प्रदान गरिने

बालबालिकाको अधिकारका लागि विगत सात वर्षदेखि कार्यरत पत्रकार एवं साहित्यकार महेश पौड्याल 'प्रारम्भ' द्घारा आफ्नो विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित लेखरचनाहरु र हालसम्म प्रकाशित २३ वटा पुस्तकहरुको रोयल्टी रकम संकलन गरी स्थापित प्रारम्भ बालप्रतिभा पुरस्कार यस वर्ष २०६७ का लागि ब्राइट फ्युचर स्कुल, नैकाप, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय प्रतिभाशाली गायक राहुल भूजेललाई प्रदान गरिने भएको छ ।
सुमधुर स्वरका धनी राहुल उत्कृष्ट संगीत सिर्जना गर्न पनि सिपालु विलक्षण प्रतिभा हुन् । निकट भविष्यमा उनको एकल गीति एल्बम ब्राइट स्टार बजारमा आउँन लागेको छ ।
हरेक पटक गायन प्रतियोगिताहरुमा भाग लिन जाँदा कहिल्यै दोस्रो नहुने, सँधै प्रथम हुने गायक राहुलका एल्बममा रहेका आठवटा गीतमध्ये दुइवटा गीतहरुको म्युजिक भिडियोको छायाङ्कन पनि भइरहेको छ ।
राहुल गायकीमा राम्रो प्रतिभावान् छात्र भएकोले भविष्यमा उनी राम्रो गायक बन्नेछन् भन्ने कुरामा आशावादी छन् ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल मोहनकुमार कार्की ।
राहुलले परिवार र विद्यालयमासमेत राम्रो सांगितिक वातावरण पाएकाले उनी सफल हुँदै अघि बढेको विश्वास ब्यक्त गर्छन् राहुलका बुवा संगीतकार राम भूजेल ।
प्रारम्भ कोषको आज बसेको निर्णायक समितिको बैठकले यस वर्ष प्रारम्भिक रुपमा छनोट गरेका २३ जना बालप्रतिभाहरुमध्येबाट राहुललाई सर्वोत्कृष्ट ठहर गरी यो पुरस्कारबाट नगद रु ५ हजार १ रुपियाँ र सम्मान पत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । निर्णायक समितिको संयोजकमा कार्तिकेय घिमिरे र सदस्यहरुमा कोषका संस्थापक महेश पौड्याल प्रारम्भ र रमेश शर्मा रहनुभएको थियो ।
पुरस्कार निकट भविष्यमै एक विशेष समारोहको आयोजना गरी प्रदान गरिने बताइएको छ ।

Saturday, June 5, 2010

कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको परिचय

स्थापनाः
वि.सं. २०५८ मा यस कोषको स्थापना भएको हो । बालअधिकारको प्रवर्धनका लागि विगत चौध वर्षदेखि कार्यरत स्वतन्त्र संचारकर्मी एवं लेखक कार्तिकेय घिमिरेको विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित लेखरचनाहरुको पारिश्रमिक र प्रकाशित पुस्तकहरुको लेखकस्व रोयल्टी जम्मा गरी यस कोषको स्थापना गरिएको हो । घिमिरेका हालसम्म पत्रपत्रिकाहरुमा एक हजार तीन सयभन्दा बढी लेखरचनाहरु, दुइ सयभन्दा बढी बालकथाहरु र ३३ वटा बालसाहित्यका कृतिहरु प्रकाशित छन् । घिमिरे वि.सं. २०३३ पुस ३ गते हरिवन वार्ड नम्बर दुइ पुरानो बजार सर्लाहीमा जन्मनुभएको हो । उहाँको बुवाको नाम चन्द्रनाथ र आमाको नाम दुर्गा देवी घिमिरे हो । उहाँ परिवारको माइलो छोरा हुनुहुन्छ ।

स्थापनामा विशेष सहयोगः
यस कोषको स्थापनामा विशेष सहयोग विगत २४ वर्षदेखि शिक्षा क्षेत्रमा समर्पित शिक्षासेवी मोहनकुमार कार्कीले गर्नुभएको हो । उहाँ यस कोषका संस्थापक अध्यक्ष हुनुहुन्छ । साथै त्रिविविका अंग्रेजी विषय शिक्षक प्राध्यापक लेखक समीक्षक महेश पौड्याल प्रारम्भले पनि यस कोषको निरन्तरता र उन्नतिमा विशेष गुन लगाइरहनु भएको छ । उहाँ यस कोषका संस्थापक सचिव हुनुहुन्छ ।

उद्देश्यः
विलक्षण प्रतिभाशाली बालबालिकाहरुलाई पुरस्कृत गरी समाजमा चिनाउँने काम यस कोषले गर्दै आएको छ । आफ्नो प्रतिभालाई तिखार्दै अघि बढ्न प्रयासरत बालप्रतिभालाई हौसला प्रदान गर्नु कोषको प्रमुख लक्ष्य हो । यस कोषबाट हालसम्म ३८ जना बालप्रतिभाहरु पुरस्कृत र २४ जना बालप्रतिभाहरु सम्मानित हुनुभएको छ । बालबालिकाहरुको मानसिक, शारिरीकलगायत समग्र सिर्जनात्मक विकासका लागि कोष लागिरहेको छ । विलक्षण बालप्रतिभाहरुलाई समाजमा चिनिन सहयोग गरेर समाजका अरुलाई पनि उहाँहरुको प्रतिभाको विकासमा सहयोग गर्न प्रेरित गर्नु कोषको मुख्य लक्ष्य हो ।

पुरस्कार राशिः
नगद रु ५,००१ ।- र सम्मान पत्र । विशेष कार्यक्रम गरी प्रदान गरिदै आइएको छ ।

अभियानः
बालअधिकारको प्रवर्धनका लागि बालसाहित्य भन्ने मूल नारा लिएर कोषले बालसाहित्य प्रतिष्ठान नेपाल र केटाकेटी नेपालसँग सहकार्य गरी देशका २२ जिल्लामा बालकथावाचन र लेखन कार्यशाला एबं बालसाहित्य सम्मेलनहरुको आयोजना गरिसकेको छ । हालसम्म १०४ वटा स्थानमा यस कोषका संस्थापक लेखक घिमिरेले कथावाचन गरिसक्नुभएको छ ।

सहयोगका लागि आब्हानः
कोषले हरेक वर्ष अति बिपन्न र पिछडिएका बालबालिकाहरुलाई शैक्षिक प्रोत्साहान पुरस्कार दिने उद्देश्यले शैक्षिक कोषको स्थापना गरेको छ । यस वर्ष ३० जना पिछडिएको अति बिपन्न भूमिहीन सन्थाल समुदायका जेहेन्दार बालबालिकाहरुलाई पुरस्कृत गरिएको छ । साथै यसै वर्ष नै दुइजना जेहेन्दार र विलक्षण प्रतिभाशाली अनाथ बालिकाहरुलाइ कार्तिकेय बालप्रतिभा पुरस्कार २०६७ प्रदान गरिने कार्यक्रम रहेको छ ।
रु ५,००१ ।- सहयोग गरी एक वर्षभरि एउटा जेहेन्दार गरिब विद्यार्थीको शिक्षामा सहयोग गर्न पाइने यस कार्यक्रममा सहयोग गरी पुन्य कमाउँनुहुन आब्हान गर्दछौं । साथै यस वर्ष २०६७ जेठमा झापा जिल्लाको बिर्तामोडमा भएको एक कार्यक्रममा फाउन्डेसन फर चाइल्ड डेभलपमेन्ट, ललितपुरका अध्यक्ष एवं कवि समाजसेवी तेज कुमार सुब्बा (विक्रम काङ्भा सुब्बा)ले गरिब बालबालिकाहरुलाइ ममतामयी माता बुद्घीमायाको स्मृतिमा रु दश हजार एक रुपियाँ राशिको बुद्घीमाया शैक्षिक प्रोत्साहन पुरस्कार २०६७ प्रदान गरी विशेष सहयोग गर्नुभएको छ । उहाँ प्रति कोष हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
थप जानकारीका लागि ९७७- ९७५१००३५३१ इमेलः ketaketinews@gmail.com,

Wednesday, May 26, 2010

तीस जना सन्थाल बालबालिकाहरु शैक्षिक प्रोत्साहन पुरस्कारबाट पुरस्कृत

बिर्तामोड, झापा, २०६७ जेठ १२
झापा जिल्लाको चारपाने गाविसमा अध्ययन गर्ने अति बिपन्न भूमीहीन, गरीब र लोपोन्मुख आदिवासी जनजाति सन्थाल समुदायका विद्यालयमा पढाइमा उत्कृष्ट नतिजा ल्याउँन सफल तीसजना जेहेन्दार सन्थाल बालबालिकाहरुलाई शैक्षिक प्रोत्साहान पुरस्कार २०६७ प्रदान गरिएको छ ।
पन्चरत्न मावि, चैतुबारीका १२ जना, वीर अमर सिंह माविका १२ जना र मोहनमाया निमाविका ६ जना गरी कक्षा ३ देखि दशसम्म अध्ययनरत ३० जनालाई यो पुरस्कार प्रदान गरिएको हो ।
मदरहुड केयर नेपाल, ललितपुर, फाउन्डेसन फर चाइल्ड डेभलपमेन्ट, ललितपुर र कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले संयुक्त रुपमा प्रदान गरेको यस पुरस्कारमा पुरस्कृत बालबालिकाहरुलाई वाषिर्क शुल्क, दुइ जोर विद्यालय पोशाक, झोला, पाठ्यपुस्तक, कापि कलमलगायत एउटा विद्यार्थीलाई पढ्न मैत्रीपूर्ण वातावरण बनाउँन आवश्यक पर्ने सबै सहयोग गरिएको छ ।
यसैगरी सोही समारोहमा फाउन्डेसन फर चाइल्ड डेभलपमेन्ट, ललितपुरका अध्यक्ष समाजसेवी तेजकुमार सुब्बाद्घारा आफ्नी आमा बुद्घीमायाको स्मृतिमा यसै वर्षबाट स्थापित बुद्घीमाया शैक्षिक प्रोत्साहन पुरस्कार २०६७ सन्थाल समुदायबाट सबैभन्दा बढी पढेकी दुवागढी, झापाकी जेहेन्दार गरीब छात्रा सुनिता सोरेनलाई प्रदान गरिएको छ । उनी अहिले बिएड दोस्रो वर्षमा त्रिदेव बहुमुखी क्याम्पस, दुवागढीमा पढिरहेकी छिन् । पुरस्कृत छात्रा सोरेनलाई नगद रु दश हजार एक रुपियाँ र प्रसंशा पत्र प्रदान गरिएको थियो ।
पुरस्कृत बालबालिकाहरुलाई बिर्तामोडमा आयोजित एक कार्यक्रममाझ प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाले प्रसंशा पत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रम मदरहुड केयर नेपालका झापा शाखाका अध्यक्ष ओमप्रसाद सेलवालको सभापतित्वमा भएको थियो । कार्यक्रम संचालन सोही शाखाका सचिव कैलाश वलीले गर्नुभएको थियो ।
तलको तस्बीर पुरस्कारका संस्थापक तेजकुमार सुब्बाको हो ।

Friday, April 23, 2010

Motherhood Care Nepal (MC Nepal)

Motherhood Care Nepal (MC Nepal) is a non-political and non-profit making child centered social organization. A group of self-inspired individuals with a strong motive to contribute something out of their strength and capacity for the welfare of the children gave birth to this organization in 2003. From the very start Motherhood Care Nepal has focused its concern to the protection of the children.
Approximately, the children cover fifty percent of the total population in Nepal. It is, therefore, the over all development of the nation depends on how the children of today get brought up for tomorrow. Despite of knowing this fact, the poverty, illiteracy and unstable politics in Nepal have been deteriorating the condition of the children. As a result, the fundamental rights of the children to education, health and childhood life have been extremely violated. On top of this, the situation of the children in under developing country like Nepal will be always at risk of victimized. We, thus, centralize our concern to improving children’s access to education, healthcare and motherly care. It is therefore MC Nepal steps straight for minimizing the hardships of the children and work for meeting the children’s need first.
About thirty-five orphan and helpless children are under the care of the organization in its Children’s Home. Programs like scholarship to the children from backward communities, health awareness program on child mortality, safe motherhood and creative activities for over all development of the children are being operated by the organization.

Thursday, April 15, 2010

अनाथ बालबालिकाहरुलाइ सहयोग गर्नुस्

१९ जना अनाथ बालबालिकाहरु एउटा घरमा बस्छन् । ती बालबालिकालाइ तपाइ, कापि कलम, पाठ्यपुस्तक र जन्मदिन अनि स्मृति दिन पारेर भोजन गराएर पुन्य कमाउँन चाहनुहुन्छ भने सम्पर्क गर्नुस् । म ड्राइभर भएर अबश्य तपाइलाइ ती बालबालिकाहरु माझमा पुर्याउँने छु ।

MERO Email: ketaketinews@gmail.com

Tuesday, April 13, 2010

HAPPY NEW YEAR 2067 नयाँ वर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना

नयाँ वर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना ।
तपाइको जीवन सुख, शान्त र समृद्द होस्, यही नै छ हाम्रो कामना, नयाँ वर्षको शुभ शुभकामना ।

केटाकेटी अनलाइन ब्लग परिवार

Tuesday, April 6, 2010

सानो संसार र होचा मान्छे (बालकथा)

लेखक नन्दलाल आचार्यको घर उदयपुर जिल्लामा हो । उहाँ लिटिल फ्लावर मा‌‌विका प्रिन्सिपल हुनुहुन्छ । यो स्कुल राजविराजमा रहेको छ । एकांकी, कथा, कविता र निवन्ध लेख्नुहुने उहाँका थुप्रै रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । यस अंकमा हामीले उहाँको एउटा मार्मिक बालकथा सानो संसार र होचा मान्छे प्रस्तुत गरेका छौं ।     
- सम्पादक

'हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?'

उमेशको प्रश्नले धनप्रसाद झस्किए । 'अब नातिले सताउने पर्यो, कसले यसलाई के भन्दियो कुन्नि, मैले पुष्टि नगरी हुन्न, फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।' धनप्रसादको मनले मनसँगै कुरा गरिरह्यो ।

'हजुरबुवा किन चुप रहनुभएको ? भन्नुस् न हामी कसरी होचा मान्छे भयौँ ?' उमेशको अर्को प्रश्न तेर्सियो ।

धनप्रसाद चुपचाप रहे । गम खान थाले ।

'बाबु, सानो र होचो कुरा कसले गर्यो ?' धनप्रसादले प्रतिप्रश्न गर्नासाथ उमेशको प्रश्न ठडियो, 'के सानो संसारका हामी होचा मान्छे हौँ भन्ने कुरा नै गलत छ ?'

धनप्रसाद हैरान भए । उनको अनुहारमा चिटचिट पसिना आयो । 'केही बोलौँ त प्रश्न माथि प्रश्नको खात लाग्छ, चित्त बुझ्दो जवाफ नभए इज्जत नै लिलाममा पार्छ । हाम्रो हजुरबुवालाई यो पनि आउँदैन त्यो पनि आउँदैन, भुस्कोल हुनुहुन्छ भनेर चारैतिर झ्याली पिट्न थाल्छ । त्यस्तै मौका परेमा मेरै सामु मलाई पनि भुस्कोल हजुरबुवा भनेर नामाकरण गर्न बेर लगाउँदैन । यसका हरेक प्रश्नको जवाफ दिनलाई मसँग ज्ञान पनि हुनुपर्यो नि त ।' धनप्रसादको मनमा कुराहरू तँछाडमछाड गर्दै आए ।

उमेशले झकझकाई रह्यो । धनप्रसाद मौन रहँदा भए । घरीघरी उमेश अर्कै थरीका प्रश्न प्रहार गर्न थाल्थ्यो । 'पख पख, उत्तर दिन्छु' भन्न वाध्य थिए, धनप्रसाद । 'सानो संसार र होचा मान्छे' उनको दिमाखमा यही कुरा घुमिरहेको थियो । त्यत्तिकैमा उमेश कोठाभित्र पस्यो, प्रधानाध्यापक सन्तोष पनि टुप्लुक्क देखापरे । दुबैका बीच अभिवादन साटासाट भयो । शनिवारको दिन भएकोले आफ्नो गाउँघर घुमफिर गरूँ कि भनेर बाहिरिएको हुँ भन्ने कुरा सन्तोष सरले गरे । नातिले प्रश्न माथि प्रश्न तेर्साएर हैरान पारेको र उसका ती प्रश्नको जवाफ आफूसँग नरहेको कुरा गर्न पनि धनप्रसादले भ्याए ।

'यो संसार सानो भयो र हामी मान्छे कसरी होचा भयौँ ? उसको प्रश्न यही हो ।' उनले कुरा राखे ।

'कुरा ठीक हो, संसार सानो भयो, हामी होचै छौ ।' सन्तोषले मुख खोले ।

'उसो भए कसरी ?' धनप्रसाद उत्साहित देखिए ।

'विज्ञान-प्रविधि, सञ्चार-यातायात आदिले एक ठाउँको सूचना अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । एक ठाउँको मान्छे अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । वर्षौँ वर्ष लगाएर तय गर्नुपर्ने यात्रा घण्टामा परिणत भएको छ । लण्डनमा घटिरहेका घटना हामी आफ्नो कोठामा तत्कालै हेर्न सक्छौँ । कतारमा लेखेको कुरा कास्कीमा बसेर तत्कालै पढ्न भेट्छौँ । पेरिसमा बोलेको कुरा तत्कालै ग्रहण गरी जवाफ फर्काउन सक्छौँ । खै, कहाँ संसार ठूलो छ ? संसार त कोठामा कैद भइसक्यो ।' सन्तोष सरको कुरा सिद्धिन नपाउँदै धनप्रसादले लामो श्वास फेरे ।

त्यत्तिकैमा सन्तोष सरलाई उमेश नमस्कार गर्दै देखा पर्यो । सन्तोष सरले पनि नमस्कार गर्दै मेरो कुरा सुन्यौ भनेर प्रश्न राखे । 'सुनेँ सर, म झ्यालबाट सुनिरहेको थिएँ ।' उसले जवाफ फर्कायो ।

'उसो भए मान्छे कसरी होचो भयो त्यो पनि बुझ्न चाहन्छौ, हैन ?' सरको प्रश्नको जवाफस्वरूप उसले मुण्टो हल्लायो ।

'संसारलाई सानो त मान्छेले नै बनायो तर आफू भने होचाको होचै रह्यो । मान्छे ठूलो हुनुपथ्र्यो, हुनसकेन । यही त दुर्भाग्य हो, हाम्रो ।'

उमेश र धनप्रसाद जिज्ञासु भएर सुनिरहेका थिए । सन्तोष सर अगाडि भन्दै गए, 'आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको भावना, अहङ्कार, इष्र्या, जस्ता कुभावना आए र आजका मान्छेमा मानवता नै हराएको छ । आजका हामी ढोँगी, स्वार्थी, संकिर्ण, आडम्वरी भयौँ । स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू भुसुक्कै बिर्सियौँ । लुच्चा, लफङ्गा, स्वार्थी, कामचोर मात्र भयौँ । त्यसैले हामी अग्लो हुन सकेनौँ ।'

उमेश र धनप्रसाद छक्क परे । सन्तोष सर अगाडि थप्छन्, 'हामीले अग्लो मान्छे बन्न सगरमाथाजस्तै ठूलो छाती पार्नुपर्छ । संसारलाई दिने काम मात्र गर्नुपर्छ, लिने काममा लिप्त हुनुहुन्न । विज्ञान-प्रविधि, सञ्चार-यातायात आदिले ल्याएको प्रगतिलाई व्यक्तिगत स्वार्थको तराजुमा तौलनुहुन्न, संसारको उन्नतिमा लगाउनुपर्छ । यसो भएमा मात्र हामी अग्लिन सक्छौँ ।'

'लक्ष्मी रिजाल म्याडमले निबन्ध लेख्न दिनुभएकोले मैले जिज्ञासा राखेको थिएँ, अब मलाई धेरै जानकारी भयो । अब म निबन्ध लेख्न गएँ ।' यत्ति भन्दै उमेश बाहिरियो । धनप्रसाद र सन्तोष सर मुखामुख गर्दै मुसुक्क हाँसे ।

Saturday, April 3, 2010

निष्ठुरी ती लोग्ने मान्छेहरु, जसले कृष्णहरुको आँशुलाई पढ्न सकिरहेका छैनन्

यी छ वर्षीय बालक कृष्णलाई आज मैले कलेज छेउको खाजा खाने पसलमा भेटें । आमासँगै आएका उनले मलाई निकै गहिरिएर हेरे । मैले पनि हेरेर मुसुक्क हाँसे । उनी यताउती हेरेर टोलाइ मात्र रहे केही बोलेनन् । एक दुइ पल्ट उनले यस्तो ब्यवहार गरेपछि मैले सोधें तिम्रो बुवा खोई कहाँ हुनुहुन्छ बाबु ? मेरो यो प्रश्नले छ वर्षीय बालक भक्कानियो, रोयो ऊ ठूलो मान्छे झै गरी । उसका आँखाबाट बिस्तारै शालिन ढंगले आँशुहरु बगे । अनि मैले प्रस्ताब राखें, लौ छोड अब यी दुःखका कुराहरु अब हामी भेज मम खाने । मम खाँदै गर्दा मैले कृष्णको आमालाई हेरें । उनको अनुहारमा छोराको खुसी बलिरहेको थियो । निष्ठुरी ती लोग्ने मान्छेहरु, जसले कृष्णहरुको आँशुलाई पढ्न सकिरहेका छैनन् ।