Monday, October 26, 2009

भगवान, के यही हो त बालदिवस ? By Pratibha

', राम (राम झल्यास्स व्युझियो) उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ? निधार सुमसुम्याउदै रामकी मालिक्नीले भनिन् । राम तर्सियो, सपना नै पो हो कि भनेर उसले आफूलाई चिमोट्यो ।
उठ है बाबु, म तिमीलाई दूध तताउछु भनेर मालिक्नी भान्सा कोठामा गइन् । राम एकैछिन त वाल्ल पर्यो अनि सोच्यो- हैन आज मालिक्नीलाई के भएछ ? सधै चार बजे आएर छालै निकालूला जस्तो गरी चिमोटी चिमोटी चिच्याउने मालिक्नीको मनमा आज म प्रति कताबाट दयाभाव आएछ हँ - सायद दुःखीको पनि दिन आउँछ भनेको साँच्चै रहेछ ! मालिक्नीले सायद अब मलाई पनि आफ्नो छोराजतिकै माया गरिबक्सिन्छ क्यारे ।
ओहो ! राम तिमी अझै पनि बिस्तारामा नै छौ ? उठ गएर हातमुख धोऊ, मैले दूध तताइ दिएँ आज तिमी सानो मालिक....सानोबाबुको स्कूल जानुपर्छ- मालिक्नीले मायालु स्वरमा भनिन् ।
रामलाई अझै पनि सपना हो कि विपना छुट्याउनै मुस्किल भइरहेको थियो । भगवानले एक न एक दिन सबैको पुकार सुन्छ भनेको यही हो क्यारे । ऊ यही सोच्दै बिस्ताराबाट उठ्यो अनि मुख धुन भनि तलको बाथरुम जानलाई पाइला बढायो । यो देखी मालिक्नीले उसलाई हत्तपत्त रोक्दै भनिन्- ओ बाबु, कता तलको फोहोरी बाथरुम हिड्न लागेको ? यहीँ छँदै छ नि सफा, राम्रो बाथरुम । अनि सुन, आजबाट तिमी सानोबाबुको कोठामा नै सुत्नु, मैले सानो बाबुको सर्टमा आइरन गरेकी छु आज सानो बाबु बिरामी छ तिमी उसको स्कुल जानु ल । ल, ल जाउ छिटो गर ।
रामुले अझै पनि होस सम्हाल्न सकेको थिएन । अब ती दुःखका कहालिलाग्दा दिनहरु त केवल कल्पनाका तस्बीरहरु बनी टाँगिने भए, ...हो, सोच्दा सोच्दै उसले कपडा लगायो अनि नास्ता खान गयो । ऊ नास्ता खाएर भुइँमा बस्न लाग्यो । यो देखेर उसका मालिकसाहेबले बाबु, किन भुइँमा बसेको - माथि आउन भनेर समाते अनि माथि आफूसँगै टेबुलमा लगेर नास्ता गर्न लगाए अनि भने- बाबु स्कूलमा राम्रोसंग पढ्नु है । रामले हस् मालिकसाहेब भन्यो । रामु, अब हामीलाई मालिक-मालिक्नी हैन अङ्कल-आन्टी भन्नु र बेलुका कतै नभुलि घर आऊ है, बेलुका तिमीलाई भेट्न थुप्रै अङ्कल-आन्टीहरु आउनुहुन्छ ।
हस्, अङ्कल भन्दै राम झोला बोकेर स्कुल गयो ।
बेलुका उसलाई लिन मालिक्नी यानी आन्टी आएकी थिइन् । रामलाई देखेपछि हात समातेर घर ल्याइन्, अनि घर ल्याएर जुस पिउन दिइन्, त्यसपछि सानोबाबुका राम्रा कपडा ल्याएर लगाउन दिइन् । रामले चुपचाप कपडा फेर्यो एकैछिनमा उसको अङ्कल पनि अफिसबाट आइपुगे । केहीबेरमा नै त्यो घरमा ठूलो भीड जम्मा भयो । कसैको हातमा माइक र कसैको हातमा फूल थिए । रामले केही सोच्नै सकेन । पछि कुरा बुझ्दै जादा ती त कोही पत्रकार, कोही मन्त्री त कोही हाकिम पो रहेछन् । उनीहरु सबैको खातेदारी आन्टीले नै गरिन् । अनि सबैजना पत्रकारले प्रश्न गर्न थाले । राम आत्तिएर केही बोल्नै सकेन । उसको अङ्कलले क्यामरातिर फर्केर भने- राम अलि लजालु स्वभावको छ । हामीले उसलाई यहाँ ल्याएको तीन वर्ष भयो । कहिल्यै पनि बदमासी गर्दैन, ज्ञानी छ, सधैँ स्कूल जान्छ, भ्याउदा अलिअलि आन्टीलाई सहयोग गर्छ । जे होस्, गर्व लाग्छ एउटा अनाथलाई ल्याएर छोराको स्थानमा राख्न पाउँदा हैन बाबु ? रामु केही प्रतिक्रिया नजनाई केवल कृत्रिम मुस्कान हास्छ । सोफाबाट मन्त्री उठ्छन् अनि मन्त्रीले सबै मान्छेको अगाडि उसको ढोङ्गी अङ्कललाई दोसल्ला ओढाइ प्रमाणपत्र दिन्छन् अनि भन्छन्- आज बालदिवसको दिन यस्तो ठूलो व्यक्तिलाई सम्मान गर्न पाउँदा म पनि हर्षवभोर भएको छु । सबै व्यक्तिमा यस्तै सोच पलाओस् भन्ने कामना गर्दै रामको उज्ज्वल भविष्यको लागि यो २ लाखको चेक दिन चाहन्छु, हस त धन्यवाद ।
त्यसपछि कार्यक्रम सकिन्छ । सबैजना आ-आफ्नो घरतिर लाग्छन् ।

रामले आज बालदिवस रहेछ भन्ने कुरा बल्ल थाहा पायो । मनमा कुरा खेलाउदै टेबुलमा भएको जुस पिउन हात मात्रै के अगाडि बढाएको थियो । उसको हातमा सहनै नसक्ने प्रहार भयो । ऊ रन्थनिएर रातो भयो र बिस्तारै टाउको उठाएर हेर्यो । उसमाथि प्रहार गर्ने त उसकै आन्टी पो रहिछिन् । अनि उसले मसिनो स्वरमा भन्यो आन्टी, फेरि उसको ढाडमा सुम्ल्याउँदै उनले उनले भनिन्- केको आन्टी, मालिक्नीसाहेब भन् । तर आन्टी अघि त.....के को अघि - अघिको कुरा त तेरो भ्रम या भनौँ सपना नै सम्झी । राम केवल आँसु तपतप चुहाएर उभिइरह्यो । मालिक्निसाहेबले भनिन्- ती कपडा फुकाल अनि कतै लगेर मिल्काइदिनु, अब ती कपडा सानो मालिकले लगाउँदैन, अनि सुन् भान्सामा एउटा रोटी छ त्यो रोटी खा अनि यी सबै भाडा माझ, कोठा सफा गर्, भूइँ पुछ् अनि मैला-मैला कपडा धोएर त्यो भर्याङमुनि कै कोठामा गएर सुत्नु, आज पार्टी हामी उतै डिनर गरेर आउछौँ बुझिस् ।
रामले टाउको हल्लाउँदै बुझेँ मालिक्नीसाहेब भन्यो । अनि मनमा आएको पहिरो थाम्नै नसकेर पल्लो कोठामा गएर भक्कानो छुट्ने गरेर रोयो । उसको घाउ यति गहिरो थियो कि त्यसको कुनै मलम, औषधी नै थिएन । उसले भगवानको अगाडि गएर आफ्नो मनको गाठो फुकाउँदै ढुंगाको देवतालाइ सोध्यो भगवान, के यही हो त बालदिवस ?
यो कथा अनलाइन बालकथा प्रतियोगिता २०६५ मा प्रथम पुरस्कार प्राप्त कथा हो

डाकाले पूरा गाउँ नै लुटेर लैजान्थ्यो- रामकाजी कोने

रामकाजी कोने राम्रा मुक्तकहरु लेख्छन् । यिनको मुक्तकमेला नामको मुक्तक-सङ्ग्रह भर्खरै प्रकाशित भएको छ । यिनी पेशाले वरिष्ठ पर्यटन व्यवसायी हुन् । समाजसेवाको क्षेत्रमा पनि यिनले विशेष योगदान पुर्याइरहेका छन् । यिनै वरिष्ठ साहित्यकार कोनेसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं । उनी बाल्यकालको अनुभव सुनाउँदै भन्छन् :
म वि.सं.२०११ साल वैशाख पूणिर्मा बुद्घजयन्तीका दिन कास्की जिल्लाको दाङ्सीं मोहारिया गाउँमा जन्मेको हुँ । मेरो पहिलो विद्यालय भैरहवाको भैरहवा हाइस्कुल हो । मैले रुपन्देही मन्रि्रामको शान्ति विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको हुँ । भैरहवा क्याम्पसमा मैले प्रविणता प्रमाण पत्र तह पढें । मैले त्यहीबाट भाषा-साहित्य पढ्न शुरु गरेको हुँ । जुन एउटा रमाइलो क्षण थियो । यो बेला म गुरु टंक न्यौपानेलाई विशेष सम्भिरहेको छु । उहाँले पढाउँनुभएको साहित्य लेखनको प्रेरणाले नै म साहित्यकार बन्न पुगें । त्यो बेला बालकृष्ण भट्टराई गुरु र क्याम्पसका साथीहरुले मलाइ ठूलो गुन लगाएका थिए ।
वि.सं.२०३२ सालको कुरा हो । त्यो बेला भैरहवामा स्नात्तकको पढाइ हुन्थेन । त्यसैले अध्ययनको लागि म काठमाडौं आएँ । मैले त्रिचन्द्र क्याम्पसमा स्नात्तक पढ्न शुरु गरें । त्यहाँ मैले गुरु कृष्ण गौतमबाट साहित्य लेख्नुपर्छ भन्ने अझ बढी प्रेरणा पाएँ ।
जीवन सोचे जस्तो हुँदैन, देखे जस्तो हुँदैन मात्र भोगे जस्तो हुन्छ भनेझैं मेरो जीवनमा पनि त्यस्तै भयो । साहित्यलाई मनमै लुकाएर राख्नुपर्यो । म घरको जेठो छोरो । आमाको आज्ञा अनुसार अघि बढ्न थालें । त्यसैले मैले परिवारलाई भौतिक सुख दिन अक्षरको खेती गर्ने लेख्ने काम छोडेर अंकको खेती गर्ने व्यापारको काम रोज्नु पर्यो । यसरी धेरै अघिदेखि लेख्न थालेपनि बीचमा धेरै वर्षम व्यापारमै ब्यस्त भएँ । त्यसैले धेरै ढिलो भर्खरै वि.सं. २०६६ मा मेरो पहिलो मुक्तक सङ्ग्रह प्रकाशित हुन पुग्यो । केही साथीहरुले किताब ढिला निकाल्यौ भने । धेरै साथीहरुले राम्रो लेख्दारहेछौ भनेर हौसला पनि दिएका छन् । यतिबेला मलाई मेरा साहित्यिक मित्रहरु र सहयोगी साहित्यिक पत्रिकाहरुको गुन सम्झन मन लागेको छ । युवराज नयाँघरे, विजय वजिमय, वियागी बूढाथोकी, डा.हरि शर्मा, युवराज गौतम, मधुपर्क, गरिमा, मिर्मिरेलगायत सबै शुभचिन्तकप्रति म कृतज्ञ रहेको छु ।
वास्तवमा म पहाडमा जन्मेपनि मैले धेरै समय तराईमा बिताएँ । भैरहवामा हाम्रो जग्गा जमीन थियो । त्यो बेला हाम्रो छिमेकी गाउँमा डाका आएर लुटेको सम्झँदा अहिले पनि मलाई नमज्जा लाग्छ । गोरुले तान्ने गाडा नै लिएर एक हुल डाकाहरु आएका थिए । उनीहरुले पूरै गाउँका घरबाट सामानहरु लुटेर लगे । तराईमा बस्नेहरुको यो दुःख सम्झँदा मेरो मन कटक्क खान्छ । त्यस्तै चैत महिनाको हावाहुरीमा कच्ची खरले छायका घरहरुमा आगो लागेर दुःख पाएका त्यतिबेलाका मानिसहरु सम्झँदा म अहिले पनि भावुक हुन्छु । साँच्चै नै तराईको जीवन निकै कष्टपूर्ण हुन्छ ।
मेरो जीवनमा म मेरा दुइजना हजूरबुवाहरुबाट निकै प्रभावित भएको छु । मेरो मामा घरको हजूरबुवाको नाम नरबहादुर हो । उहाँ एकदमै धार्मिक हुनुहुन्थ्यो । सँधै विहान कार्यालयमा काम गर्न जाँदा बाटोमा पर्ने सबै कमिलाका गोलाहरुमा एक-एक मुठ्ठी चिनी हालिदिएर जानुहुन्थ्यो । बाटोमा हिड्दै जाँदा खुला चौर र खेतका गराहरुमा पिसाब फेर्दा पनि धर्ती आमालाई दुख्छ भनेर पात राखी पातमाथि पिसाब फेर्ने गर्नुहुन्थ्यो । उहाँ प्राणीहरुलाई एकदमै माया गर्नुहुन्थ्यो । आफ्नो पैतालाले कमिला पनि कुल्चिएर नमरोस् भनी विचार पुर्याएर हिड्नुहुन्थ्यो । त्यस्तै म पाँच वर्षको छँदा बित्नुभएका मेरो बुवाघरका हजूरबुवाको वारेमा आमाले मसँग धेरै कुरा गर्नु् भएको छ । उहाँ बित्नुभएको दिन उहाँलाई सैनिक पोशाक लगाइदिएर पाल्कीमा हालेर लगेको अहिले पनि म झलझली सम्झन्छु । त्यो सानो बेला अरुले सोध्दा मैले हजूरबुवा बजार जानुभएको हो भनेर जवाफ दिएको थिएँ । त्यो बेलासम्म मलाई मान्छेहरु मर्छन् भन्ने कुरा नै थाहा थिएन ।
मेरा बुवाघरका हजूरबुवा क्याप्टेन खड्ग सिंह समाजसेवी हुनुहुन्थ्यो । उहाँले त्यो बेला गाँउमा स्वास्थ्य चौकी र पुस्तकालयहरु स्थापना गर्ने काम गर्नुभयो । उहाँ गाउँलेहरुको नेता पनि हुनुहुन्थ्यो । सिपाहीको जागिर पछि उहाँले धेरै समय राजनीति पनि गर्नुभयो । उहाँ गाउँ आउँदा गाउँलेहरु खुसीले रमाएर नाच्दथे ।
मेरा दुबै हजूरबुवाहरु मेरो जीवनका आदर्श नायकहरु हुनुहुन्छ । मैले मेरी आमा सकलादेवीलाई भाविको रुपमा पाएँ । आमाको प्रेरणा र सही मार्गदर्शनले नै आज म सफल मान्छे बन्न सकेको हुँ । आमालाई आदर र स्नेह गर्ने छोराछोरी नै खुसी रहन सक्छन् जस्तो मलाई लाग्छ । आमाको न्यानो मया र प्रेरणा अनि हजूरबुवाहरुको सम्झनाले गर्दा अहिले म उहाँहरुलाई नै आदर्श बनाएर व्यापारको घोडामा बसेर साहित्यको लगाम समातेर अघि बढिरहेको छु । जसले गर्दा मेरो व्यापार इमान्दारितामा टिकेको छ । अनि साहित्यको रसमा पौडदै, लेख्दै र पढ्दै जीवन बाँच्न पाएकोमा म दङ्ग छु, फुरुङ्ग छु र आफूलाई निकै भाग्यमानी पनि ठान्दछु ।

नूर-गङ्गा बालसाहित्य पुरस्कार कार्तिकेयलाई

वि.सं. २०६५ सालको नूर-गङ्गा बालसाहित्य पुरस्कार केटाकेटी अनलाइन बालपत्रिकाका प्रधान सम्पादक कार्तिकेय घिमिरेले पाएका छन् ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच घिमिरेलाई उक्त पुरस्कारबाट समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सम्मानित गरे ।
नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष डा.चूडामणि बन्धुको सभापतित्वमा भएको यस समारोहमा गुठीका संरक्षक नूर प्रताप ज..राणाले साहित्यकार प्रश्रतिलाई अभिनन्दन गरेका थिए ।
सो समारोहमा गुठीले प्रदान गर्ने नूर-गङ्गा लोकगीत गायन राष्ट्रिय पुरस्कारबाट गायिका हरिदेवी कोइराला, बालसाहित्यको राष्ट्रिय नूर-गङ्गा बालसाहित्य पुरस्कारबाट कार्तिकेय घिमिरे र लुम्बीनी अन्चलका साहित्यकार पुरस्कारबाट विष्णु प्रभात, पाल्पा जिल्लामा एसएलसी परीक्षामा उत्कृष्ट छात्रछात्राहरुलगायत विभिन्न प्रतिभाहरु पुरस्कृत भएका थिए ।
उक्त अवसरमा वरिष्ठ समालोचकहरु प्राध्यापक गोपीकृष्ण शर्मा डा. भवेश्वर पंगेनी र प्रमोद प्रधानले पुरुरस्कृत प्रतिभाहरुको वारेमा प्रकाश पार्नुभएको थियो ।
विगत १८ वर्षदेखि प्रदान गरिदै आएको नूरगङ्गा पुरस्कार नेपाली साहित्यको विशिष्ट पुरस्कार हो । यस पुरस्कारका संस्थापक अध्यक्ष वरिष्ठ लोकगायिका स्वर्गीय गङ्गा राणा हुन् ।

बालसाहित्यकार कपिल लामिछानेको बाल्यकाल

कपिल लामिछाने कवि, कथाकार, समालोचक र बालसाहित्यका लेखक हुन् । लामिछानेका अक्षर, कालेकुकुर, भाँडाकुटी, सुनकथा, म्याउँम्याउँ बिरालो, राँकेभूत, रमाइला गाउँखाने कथा, नाङ्लाजत्रो फूल, रमाइला केही कथा, दसैं, पिङ र हात्ती, ठूलो मान्छे, मुसाको बस्ती आदि एक दर्जनभन्दा बढी बालसाहित्यका पुस्तकहरू प्रकाशित भइसकेका छन् । पच्चीस वर्षदेखि उनी शिक्षण र लेखनमा लागिरहेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने लामिछानेको नेपाली बालसाहित्यका क्षेत्रमा उल्लेखनीय र विशेष योगदान रहेको छ । उनी आफैंले बाआमाका सम्मानमा शुकदेव-सुकुमाया लामिछाने बालसाहित्य पुरस्कारको स्थापना पनि गरेका छन् । लामो समयदेखि भैरहवामा बसोबास गर्दै आएका लामिछाने पोखराको रमाइलो प्रकृतिको काखमा २०१५ असोज २४ गते जन्मिएका हुन् । यस अंकमा हामीले वरिष्ठ लेखक लामिछानेको बाल्यकालका केही संस्मरणहरू प्रस्तुत गरेका छौं ।

उत्तरपट्टी माछापुच्छ्रे हिमाल, दक्षिणपट्टी बेगनास ताल । दुवैका बीचमा छ, माझठाना गाउँ । कास्की जिल्लाको त्यही रमाइलो ठाउँमा २०१५ साल असोजमा मेरो जन्म भएको हो । शुकदेव र सुकुमाया मेरा बुवाआमा हुनुहुन्छ । वहाँहरू सारै मिहिनेती किसान हुनुहुन्थ्यो । दुइ छोरी (दिदी मधु र चन्द्रकला) पछि मेरो जन्म भएकाले घरमा हर्षबढाइँ मनाइएछ । सात गाउँ डाकेर भोजभतेर र नचरी लगाइएको थियो रे ! सामाजिक मूल्य र मान्यता नै त्यस्तै थियो । सबै छोराको खायस वा चाहना गर्थे । छोरो पाउँदा खुसी हुन्थे । बाआमा र दुइवटी दिदीको प्यारो भएर म बढ्दै थिएँ । मोटोघाटो थिएँ रे सानैदेखि । छ महिनाको बेलामा राति आमा सुतेको मौका छोपी रातो देखेर अँगेनाको आगो खान खोज्दा मेरो हातै पोलेछ ।
पाँचछ वर्षको भएपछि मेरो पढाइ सुरु भयो । घरमा फराकिलो आँगन थियो । आँगनका डिलमा बान्नो (ढुङ्गे पर्खाल) उठाइएको थियो । बान्नामाथि ठूला छपनी थिए । तिनै छपनीमा धूलो हालेर कहिले औंलाले कहिले छेस्काले लेखिन्थ्यो । मैले पनि त्यसरी नै कखग सिकें। बारखरी सिकें। दुना पढें । सिक्ने क्रममा बुवाले भनेझैं त्यही गतिमा सिक्न-बुझ्न सकिन्नथ्यो । एकदिन जानेन भनेर रिसले बुवाले लुगा भुत्ल्याएर सिस्नाको झ्याङमा फालिदिनुभयो । म डर, त्रास र सिस्नाको बिझाइले थर्कमान भएको थिएँ । दिदीहरूले त्यहाँबाट झिक्नुभयो र सम्झाई-सम्झाई सिकाउनु भयो । त्यसपछि ठूलो वर्णमाला भन्ने किताब पाएँ । त्यसमा केही स्तोत्र थिए, केही वैज्ञानिक आविष्कारका कुरा थिए, केही कथाकुथुङ्ग्री थिए, केही अङ्ग्रेजी शब्दका नेपाली अर्थ थिए, दुना थिए । मैले ती सबै कण्ठ पारें । एकदिन बुवाले स्कुलमा हाल्ने कुरा गर्नुभयो । एकडेढ घन्टा हिँडेर स्कुल जानुपर्थ्र्यो । किसानी काममा व्यस्त बुवाले एकदिन मेरा लागि समय निकाल्नु भयो । स्कुल जाँदै गर्दा मैले १५ सम्मका दुना सुनाएँ । ठूलो वर्णमालामा भएका सबै पाठ मुखाग्र थिए । सबै सुनाएँ । बुवा खुसी हुनुभयो । जनक प्राइमरी स्कुलमा पुगेर पनि मैले हेडगुरुलाई जानेका कुरा सुनाएँ । त्यसले गर्दा दुइ कक्षामा मेरो नाम लेखियो ।
स्कुलमा साथीहरूसित रमाउँदै पढ्थें । कक्षामा सबैभन्दा सानो थिएँ । अलिक कम बोल्थें। कसैको हराएको कुरा खुसुक्क झोलामा हाल्ने चलन थिएन । कसको के हरा' - भनेर कराउँथें । अनि हराउनेवाला उठेर मेरो भन्थ्यो । दिन्थें । एकदिन पढ्दै गर्दा पुस्तकको पाना च्यातियो । सरले हप्काउनुभयो र भोलिपल्ट आउँदा अलिकति भातको माड ल्याउन भन्नुभयो । ल्याएँ । त्यसले च्यातिएको पाना टाँस्सियो । गम भन्ने कुरा त्यतिखेर हामीलाई थाहै थिएन ।
दुइको परीक्षा सकियो । त्यतिबेला काका (कान्छाबा) आसामबाट घर आइपुग्नुभयो । म वहाँसित झयाम्मिएँ र पछि लागेर आसाम पुगें । पोखराबाट भैरवहासम्म हवाईजहाजमा उडें । त्यतिखेर बाटो बनेको थिएन । आसाममा काकाले बांगला स्कुलमा हालिदिनु भयो । त्यसमा मेरो दिल बसेन । पढ्न छाडेर म गाई-गोठालाको पछि लागेँ । जङ्गल-जङ्गल घुमें । मट्याङ्ग्रा खेलें । खाल्डे खेलें । गोठाला साथीका लहैलहैमा लागेर बाँदर र हात्तीका बथानलाई जिस्क्याएँ । बयर बटुलें । बयर कुट्दा हातै कुट्यो । ब्रह्मपुत्र भारतकै ठूलो नदी हो । गाईको पुच्छरमा समातेर ब्रह्मपुत्र पार हुन खोज्दा झन्डै मरेको थिएँ । साथीहरूले बचाएरमात्र बाँचें । त्यो घटना सम्झँदा अहिले पनि जीउ जिरिङ्ग हुन्छ ।
यसरी १४ महिनाजति आसाममा बिताएर घर फर्कें । स्कुले साथीहरू चारमा पुगेका थिए । म पनि चारमै भर्ना भएँ । साथीहरू लगातार पढ्दै आएका, म फड्केर आएको । तर चारको जाँच हुँदा म राम्रो अङ्क ल्याएर पास भएँ । पाँच कक्षामा दोस्रा भएर कलम र कापी पुरस्कार पाएँ । कति साथीहरू फेल भएर रुँदै घरतिर लागे । मैले अभावका बीच हुर्केर पनि राम्रो कामले गर्दा सबैको स्याबासी पाएँ ।
जनक प्रा.वि. अहिले पनि प्रा.वि. नै छ, तर त्यसले थुप्रै नागरिक जन्माएको छ । त्यसले आफू बढ्नुमा होइन, अरूलाई बढाउनुमा विश्वास गरेको छ । त्यसपछि म रत्नशोभा नि.मा.वि. (हाल उच्च मा.वि.) मा भर्ना भएँ । त्यहाँबाट ६ र ७ कक्षा उतीर्ण गरेपछि हाईस्कुलका लागि मैले झनै टाढा जानुपर्ने भयो । करिब ५ किलोमिटर हिंडेर जानु हिंडेर आउनु सानो बालकका लागि चानचुने कुरा थिएन । जनज्योति मा.वि. (कालिका गा.वि..) मा कक्षा आठमा म र डा.रामकृष्ण तिमल्सिना (हाल रजिस्ट्रार सर्वोच्च अदालत) फुच्चे केटा थियौं । पढाइमा भने तेज ।
घरमा छँदा बाआमालाई काममा सघाउँथें । कहिले बाख्रा चराउन जानु, कहिले भैंसी हेर्न जानु, कहिले कोदालो खन्नु, कहिले घाँसदाउरा काट्नु पढाइका अतिरिक्त नियमित कामजस्तै हुन्थ्यो । घरको आर्थिक अवस्था र स्कुल टाढा भएको कारणले मैले हाईस्कुलको पढाइ छाड्नुपर्यो । आठको जाँचै दिन पाइनँ । बुवाको इच्छा र चाँजोपाँजोमा म टीकाराम भण्डारी (हाल जनज्योति मा.वि.का शिक्षक) का साथ लागेर बनारस पुगें । दस हन्डर र सोर ठक्कर खाँदै त्यो परदेशमा आफैंले कमाएर पढ्नुपथ्र्यो । पढें । पूजा गरें । खाना पकाएँ । औषधि घोटें । केकेमात्र गरिनँ -
यसरी मेरो बाल्यकाल माछापुच्छ्रेको आँगनमा रमाउँदै, आसामको जङ्गल र बनारसका गल्लीमा भौंतारिंदै बित्यो । त्यहीं फेरि नउदाउने गरी बाल्यकाल अस्तायो । जीवनका सुरुका दिन सुखद भए पनि ती मेरा सम्झनामा छैनन् । मैले मेरो बाल्यकालका जति कुराहरू सम्झेको छु, ती सारै कष्टदायक मात्र छन् । सानैमा आफैंले कमाएर जीवन धान्दै पढ्नु कम कष्टको कुरो होइन । त्यस्तो कष्ट कुनै बालबालिकालाई नपरोस् । मेरो यही कामना र चाहना छ । एउटा कुरा भने हो, त्यसले मलाई खार्यो, जिम्मेवार बनायो र जीवनका पछिल्ला दिन केही सजिला हुनपुगे । बाल्यकालका कुरा संझिल्याउँदा मलाई अहिले पनि कहाली लाग्छ । त्यस्ता घटना मेरो लेखनका सामग्री पनि भएका छन् । केही प्रेरणादायी पनि भएका छन् ।
सुरुमा धुलौटोमा लेख्थें, यतिखेर कम्प्युटरमा लेख्दै छु । एउटै मान्छेको जीवनमा यत्रो परिवर्तन भएछ । त्यो मैले चालै पाइन । म त लागिरहें पढ्न र लेख्न । २०४४ देखि मैले बालकथा लेख्न थालेको हुँ । अहिले पनि लेख्दै छु । अहिलेसम्म बालसहित्यका एक दर्जन पुस्तक छापिसकेका छन् । केही छापिने तर्खरमा छन् । मलाई भाइबहिनीका लागि अझ धेरै लेख्ने इच्छा छ ।
                                                                                                                                  २०६६।१।६

अनलाइन बालकथा प्रतियोगिता २०६६ को सूचना

नेपालको पहिलो इन्टरनेट बालपत्रिका केटाकेटी न्युज डटकम र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा प्रारम्भ अनलाइन बालकथा प्रतियोगिताको २०६५ बाट आयोजना शुरु गरिएको हो । यस वर्ष २०६६ मा पनि यसको आयोजना हुने भएको छ । यस प्रतियोगितामा ९ वर्षदेखि १८ वर्षम्मका बालबालिकाहरु र १९ वर्षदेखि ७५ वर्षसम्मका वयस्कहरु गरी दुइ समूहका लेखकहरुले भाग लिन पाउनेछन् । समसामयिक परिवेशका बालकथाहरुलाई प्राथमिकता दिइने यस प्रतियोगितामा भाग लिन यही पुस मसान्तभित्र आफ्नो कथा ketaketinews@gmail.com इमेल ठेगानाबाट पठाइसक्नुपर्नेछ । इमेलको सुविधा नभएको हकमा पो‌‌‌स्ट बक्स नम्बर २५८५९ काठमाडौंमा कथा पठाउनुहोस् । प्रतियोगितामा पठाइने कथा मौलिक, अप्रकाशित र बढीमा ६ सय शब्दसम्मको नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । उत्कृष्ट बालकथाकारलाई पत्रकार एवं बालसाहित्यकार महेश पौड्याल प्रारम्भको संरक्षकत्वमा प्रदान गरिने प्रारम्भ अनलाइन बालकथा पुरस्कारबाट नगद रु पाँच हजार एकसहित पुरस्कृत गरिने छ ।
थप जानकारीका लागिः
बालसाहित्य प्रतिष्ठान नेपाल
पो..नं.२५८५९ काठमाडौं, नेपाल
फोन ९८४१०६७६०१, ९८४१४७७५१५, ९७५१००३५३१
माथिको तस्बीर प्रारम्भ अनलाइन बालकथा पुरस्कार २०६५ प्राप्त गर्ने प्रतिभा प्रतिभा केसी, कुश्मा, पर्वतको हो । तलको फोटो कुश्मा बजारमा भएको पुरस्कार वितरण समारोहको हो ।