Thursday, July 29, 2010

Children's Poetry by Senior Writer Boond Rana गुजी पाएँ ! - वरिष्ठ लेखक बूँद राना

अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले
के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले
आज फेरि भन्नु भयो सम्झाउँदै राती

'आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !'

गुजी हेर्ने रहर थियो नदेखेको कैल्यै
एक टुक्रा दियालोको झोसें आगो मैले
चुपचाप चोर-चाल आँटीमाथि पुगें
सोलीभरि सेल देखी बल्ल कुरा बुझें
यौटा सेल टिपी दौडी बज्यैछेउ आएँ
हाँस्तै भनें- 'इ बज्यै ! मैले गुजी पाएँ !'
Email: boondrana@yahoo.com

Children's Play by Krishna Shaha 'Yatri' हारुनको मुरली

स्थान -  कुनै मन्दिर परिसर ।
समय – बिहान ।
पात्रहरु:
हारुन अली एक दृष्टिविहीन बालक/मुरलीवादक, वर्ष १३

सानी कक्षा ५ मा पढ्ने एक बालिका, वर्ष ११

रामु कक्षा ६ मा पढ्ने एक बालक, वर्ष १२

डेबिड कक्षा ६ मा पढ्ने एक बालक, वर्ष १२

अङ्कल रामु र डेबिडको अङ्कल/सङ्गीतकार, वर्ष ४५
(एउटा पुरानो खालको मन्दिर देखिन्छ । मानिसहरू ओहोरदोहोर गरिरहेका हुन्छन् । मन्दिरको अगाडि एकजना बालक हारुन अली मुरली बजाइरहेका हुन्छन् । हारुन दुवै आँखा देख्दैनन् । उनी जन्मजात दृष्टिविहीन हुन् । केही मानिस मुरलीको धून ध्यान दिएर सुनिरहेका हुन्छन् । नजिकै सानी फूल बेचिरहेकी हुन्छिन् ।)
सानी: ल आउनुस् हजुर ! बीस रुपैयाँमा फूल, अछेता र प्रसाद लैजानुहोस् । आउनुहोस् । फूल लगेपछि सित्तैमा जुत्तासमेत हेरिदिन्छौँ । ल आउनुहोस् हजुर । ताजा, सफा र सुन्दर फूल लैजानुहोस् ।
(त्यसैबेला रामु र डेबिड आफ्ना अङ्कलसित घुम्न आएका हुन्छन् ।)
रामु: अङ्कल ! अङ्कल ! मलाई त्यो रातो गुलाफको फूल मनपर्छ । किनिदिनुहोस् न ।
डेबिड: अनि मलाई ऊ त्यो लालीगुँरास मन पर्यो । किनिदिनुहोस् न ।

अङ्कल: ए..., तिमीहरूलाई फूल मन पर्यो ? पर्ख है त ।

(अङ्कलसँगै रामु र डेबिड पनि सानी नजिक जान्छन् ।)

अङ्कल: नानी ! ऊ त्यो गुलाफ र लालीगुँरासको कति पर्छ ?

सानी: खै कति भन्ने अङ्कल । त्यति मात्रै फूल लाने भए आफैँ मिलाएर दिनुहोस् न ।
अङ्कल: ल त्यसो भए दस रुपैयाँ दिन्छु, है त ?

सानी : हवस् ।
(सानी गुलाफ र लालीगुँरास दिन्छिन् । रामु र डेबिड खुसी हुँदै फूल लिन्छन् ।)

अङ्कल: (सानीलाई) नानी तिमी पढ्न जादिनौ ?
सानी : जान्छु नि अङ्कल । म तीन कक्षामा पढ्छु । स्कुल बिदाको दिन म यो पसलमा बसेर आमालाई पालो दिन्छु नि ।

रामु: तिम्रो नाम के हो ?

सानी: मेरो नाम सानी हो ।

रामु: सानी ! अनि तिमी कतिबेला होमवर्क गर्र्छौ नि ?

सानी: म पसलबाट फर्किएपछि होमवर्क गर्छु ।
डेबिड: (जिब्रो निकाल्दै) आम्मा ! पसलमा काम गर्दा त थाकिन्छ नि । अनि होमवर्क गर्न अल्छी लाग्दैन ?
सानी: आफ्नो काम गर्न कहिल्यै अल्छि मान्नुहुँदैन ।
अङ्कल: आहा ! सानीले कति राम्रो कुरा गरिन् । देख्यौ त रामु । सानी कति मिहिनेती छिन् ।
सानी: अङ्कल, मभन्दा झन् हारुन दाइ निक्कै मिहिनेती हुनुहुन्छ ।
रामु:  हारुन, को हारुन ?
सानी: हारुन अली दाइ क्या त । (हातले इशारा गर्दै) ऊ पर मुरली बजाउने । उहाँ मुरली निक्कै मीठो बजाउनुहुन्छ । के तपाईंहरू हारुन दाइसँग परिचय गर्न चाहनुहुन्छ ?
अङ्कल: हुन्छ नि सानी ।
सानी: ल त्यसो भए मसँग आउनुस् । (नजिकैको साथीलाई) मीना ! मेरो फूल पनि हेरिदेऊ ल । म उहाँहरुलाई हारुन दाइकोमा पुर्याएर आइहाल्छु ।

(चारैजना हारुन भए ठाउँमा आउँछन् ।)

सानी: हारुन दाइ !
हारुन: (सम्हालिँदै) को ? सानी ?
सानी: हो, हारुन दाइ, तपाईंको मुरली सुन्न एकजना अङ्कल र साना साथीहरु आउनुभएको छ ।
हारुन:  ए हो ?
अङ्कल: हो नि हारुन बाबु । सानीले खुबै प्रशंसा गरिन् । नसुनी मनले मान्दै मानेन । ल सुनौँ न त, तपाइको मुरलीको धून ।
हारुन: अनि कतिजना ?  को को हुनुहुन्छ नि ?
रामु: म रामु र मसँगै डेबिड पनि छ । मलाई पनि मुरली बजाउन मनपर्छ तर जान्दै जान्दिनँ । स्कुलमा कृष्ण सरले बजाउन सिकाउनुहुन्छ । हैन त डेबिड ?
डेबिड: हो नि ।
सानी : ल त्यसो भए तपाईंहरु सुन्दै गर्नुहोस् । म पसल पुगेर आउँछु है ।
अङ्कल : हुन्छ, हुन्छ ।
(हारुन मुरली बजाउन थाल्छ । सबैजना ध्यान दिएर सुन्न थाल्छन् । उनले मुरली बजाएको सुनेर सबै दङ्ग पर्छन् । हारुनले मुरली बजाउन छाडेर विश्राम लिन्छन् ।)
हारुन: अनि कस्तो लाग्यो त मेरो मुरलीको धून ?
अङ्कल: बाबु ! तिमीभित्र एउटा ठूलो कलाकार लुकेको रहेछ ।
हारुन: धन्यवाद अङ्कल ।
अङ्कल: हारुन ! तिमीलाई यो मुरली बजाउन कसले सिकाएको हो ?
हारुन: मेरो बुबाले सिकाउनुभएको हो अङ्कल ।
अङ्कल: अनि तिम्रो बुबा कहाँ हुनुहुन्छ त ?
(अचानक हारुनको गला अवरुद्ध हुन्छ । आँखाको डिलमा आँसु देखिन्छ । हारुन केही बोल्न खोज्छ, तर सक्दैन । सानी आइपुग्छिन् ।)
सानी: ल, फेरि तपाईंले पनि हारुनदाइको बुबाको कुरा कोट्याउनुभयो कि क्या हो ?
अङ्कल: हो सानी । मैले सोधेको मात्र के थिएँ, हारुन त रुन पो थाले ।
सानी:  नसोधेकै भए बेस हुन्थ्यो ।
अङ्कल :  किन र सानी ?
सानी : हारुन दाइको बुबालाई पोहोर साल गाडीले ठक्कर दिएर मारेको हो । त्यो घटनाले गर्दा हारुन दाइले निकै दिन केही खानुभएन । बिरामी पनि पर्नुभयो । यो कुरा गर्यो कि उहाँको गला नै रोकिन्छ ।
अङ्कल: ओहो । साह्रै नराम्रो घटना घटेछ । म अब सोध्दिनँ । यो सुनेर मलाई दुःख लाग्यो ।
हारुन: भयो अङ्कल । अब त मैले पनि बिर्सिसकें । यो दुःखीको सानैमा आमा बित्नु भयो । एक मात्र सहारा बुबालाई पनि कालले चाँडै लग्यो । अब त बाँच्ने सहारा यो मुरली मात्र बनेको छ । धन्न सानीजस्ता साथीहरू पाएको छु र यो संसार रमाइलो लाग्छ ।
अङ्कल: हारुन ! तिमी सङ्गीत सिक्न र पढ्न चाहन्छौ ?
हारुन: पढ्न पाए किन नपढ्नु नि । तर, ती सबै सपना हुन् मेरा लागि ।
रामु: सानी, हाम्रो अङ्कल पनि राम्रो सङ्गीतकार हुनुहुन्छ । उहाँले धेरै गीत पनि गाउनुभएको छ ।
हारुन: ए हो र ?
डेबिड: हो नि । अनि अङ्कल एउटा सङ्गीत विद्यालयमा पढाउनु पनि हुन्छ ।
हारुन: हो अङ्कल ?
अङ्कल: हो हारुन । मैले तिम्रो प्रतिभालाई नियालिरहेको थिएँ धेरै दिनदेखि । आज बल्ल नजिकबाट बुझ्न पाएँ । के तिमी सङ्गीत विद्यालयमा पढ्न चाहन्छौ ?
हारुन: तर म कसरी पढ्न सक्छु र ? पढ्ने पैसा कसले दिन्छ मलाई ?
अङ्कल: हारुन ! तिमीजस्तै असहाय तर प्रतिभाशाली बालबालिकाहरुका निम्ति छात्रवृत्तिको समेत हामीले व्यवस्था गरेका छौं । म त्यो पाठशालाको प्रिन्सिपल पनि हुँ । तिमीलाई पढ्ने, बस्ने र खाने व्यवस्था म मिलाई दिन्छु हारुन । तिमी मसँग हिँड । तिमी भविष्यमा एउटा राम्रो कलाकार बन्नुपर्छ ।
सानी:  के साँच्चै हो ? त्यसो भए हारुनदाइले पनि पढ्न पाउने हुनुभयो ?

अङ्कल:  हो, सानी । अब हारुन पनि स्कुल जानेछन् ।

रामु/डेबिड: आहा ! अब हारुन पनि स्कुल जाने !
(सबैको अनुहारमा खुशी छाउँछ । हारुनलाई बिस्तारै सबैले उठाउँछन् ।)
हारुन: अङ्कल । मलाई अझै विश्वास लागेको छैन । के म स्कुल पढ्न सक्नेछु ?
अङ्कल: हारुन । तिमीले आँखाले हेर्न नसक्दैमा हरेस खानुहुँदैन । अवसर पाएको खण्डमा तिमीले जे पनि गर्न सक्छौ । हाम्रै मुलुकमा पनि थुप्रै नाम कहलिएका दृष्टिविहीन गायक-गायिका तथा सङ्गीतकारहरु छन् । ल हिँड, जाऊ अब ... ।
हारुन: अङ्कल ! तपाईंलाई धेरै धेरै धन्यवाद ।
अङ्कल: धन्यवाद मलाई हैन, तिम्रो मुरलीलाई दिनुपर्छ । जसले हामी सबैको मन तान्न सक्यो । कि कसो सानी ?
सानी: (सुँक्क-सुँक्क गर्दै) हो नि अङ्कल । हारुन दाइ यहाँबाट गएपछि मलाई नबिर्सनुस् है ? अनि जानुभन्दा अघि अन्तिमपटक मुरली बजाइदिनुस् न ल ।
हारुन: सानी, के भनेकी ? तिमी त मेरी प्यारी बैनी हौ । म बिर्सन्नँ । (सानीको मुहार हातले छुन्छ ।) सानी तिमी रोएकी ? के तिमी खुसी छैनौ ?
सानी: (आँसु पुछ्दै) होइन हारुन दाइ । म त असाध्यै खुसी छु । खुसीले पो रोएकी । अब अरु नरुवाउनोस् है । ... हारुन दाइ ! जानुअघि एकपटक मुरली बजाएर मात्र जानुस् है । अनि पढेर ठूलो मान्छे हुनुस् ।
(सानीको कुराले सबै स्तब्ध हुन्छन् । हारुनले मुरलीलाई चुम्छ र बजाउन थाल्छ । मीठो धूनमा सबैजना आनन्दित हुन्छन् । पर्दा बिस्तारै खस्छ ।)
For feedback Email: krishnayatri@gmail.com

Tuesday, July 27, 2010

Childhood Days Memories of Senior Writer Shreeom Rodan श्रीओम रोदनको बाल्यकालको कथा

श्रीओम श्रेष्ठ रोदन वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँले नेपाली साहित्यको निवन्ध, लघुकथा, नियात्रा लेखन र सम्पादनका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ । नेपाली साहित्यको राष्ट्रिय पत्रिका मधुपर्कका सम्पादकसमेत रहनुभएका रोदनले साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि उल्लेख्य योगदान गरिरहनुभएको छ ।
यस अंकमा हामीले यिनै मिलनसार, मायालु र सह्रदयी वरिष्ठ लेखक रोदनको बाल्यकालका सम्झनाहरु प्रस्तुत गरेका छौं । उहाँ आफ्नो सम्झना सुनाउँदै भन्नुहुन्छ :
म वि.सं. २०१९ साल लक्ष्मी पूजाको दिन ललितपुरको झम्सीखेलमा जन्मिएको हुँ । म बुवा शिवप्रसाद र आमा दिलकुमारीको माइलो छोरा हुँ । म एउटा साधारण परिवारमा जन्मिएको हुँ । मेरो परिवारमा सातजना हुनुहुन्छ । चारजना दाजुभाइ र एउटी दिदी अनि बुवाआमा हुनुहुन्छ ।
पाँचजना छोराछोरी एउटा बुवाको जगिरले पालिन हामीलाई त्यो बेला गाह्रो थियो । त्यही भएर होला हामी पाँचै जना छोराछोरीले बोर्डिङ स्कुलमा पढ्न पाएनौं । मैले घर नजिकै सानेपामा रहेको टीकाविद्याश्रम स्कुलमा पढें । मेरो औपचारिक शिक्षा त्यो विद्यालयबाट सुरु भए पनि बुवाको जागिरको कारणले गर्दा कहिले भद्रपुर, कहिले बिराटनगर, कहिले जनकपुर, कहिले बीरगन्ज आदि ठाउँमा पुगेर मैले विद्यालय फेरी-फेरी पढें ।
त्यो बेला बुवा नेसनल ट्रेडिङमा काम गर्नुहुन्थ्यो । त्यसो भएको हुनाले धेरैवटा विद्यालयमा पढ्दा पनि म एक कक्षाको एक कक्षामै रहेको अनुभव पनि मैले गरेको थिएँ । किनकि त्यो बेला बुवाको एक वर्षभत्रै तीन चारवटा ठाउँमा सरुवा हुने भएर मेरो पढाइ त्यस्तो भएको थियो । यसरी घुमेर पढ्न पाएकोमध्ये मलाई जनकपुरको गंगाधाममा रहेको विद्यालयमा पढेको याद अझै पनि आउँछ । त्यो विद्यालय एउटा पाटीमा चलाइएको थियो । पाटीमा माथि छत त थियो तर दायाँ बायाँ सबै खुला थियो । त्यही बसेर हामी पढ्थ्यौं । पढ्ने पाटी छेउमै गंगा सागर नाम गरेको ठूलो पोखरी थियो । त्यो बेला हामी सिलेटमा लेख्दै पढ्थ्यौं । कहिलेकाही सिलेट धेरै फोहोर भयो त्यही छेउको पोखरीमा चप्लङ् चोपेर सफा गर्ने गर्दथ्यौं ।
म स्कुल पढेदेखि नै पसलमा बस्ने गरेको थिएँ । बुवाले जागिर खाएको पैसाले मात्र परिवार धान्न गाह्रो भएपछि हामीले पसल खोलेका थियौं । मैले स्नातक बी.ए.सम्म पढुन्जेल पनि पसलमा धेरै समय दिएँ । त्यो बेला पसलको लागि सामान साइकलमा राखेर ल्याउँदा साथीहरुले देख्दा मलाई नमज्जा पनि लाग्थ्यो । के सोचे होलान् भन्ने पनि सोच्थें । तर म आफ्नो काम आफै गर्नर्ुपर्छ भन्ने स्वभावको मान्छे थिएँ । आफू जस्तो छु त्यो सत्य कुरा साथीहरुबाट लुकाउँन मलाई मन पनि लागेन । यही कारणले गर्दा पढाइमा पनि खट्ने र पसलमा पनि खट्ने मेरो बानी बस्यो । मेरो यो बानीलाई साथीहरुले पनि मनपराएको मैले अनुभव गरेको छु ।
मेरो विद्यालय र कलेज जीवनमा म अतिरिक्त क्रियाकलापमा चर्चित विद्यार्थी थिएँ । कथा, कविता लेख्ने र नाटक खेल्ने भएकाले सबै विद्यार्थीहरुले मलाई चिन्थे । म स्कुल र कलेज जीवनमा त हिरो नै थिएँ । केटी साथीहरु पनि थुप्रै थिए । सबैको माझमा म प्रीय प्यारो पनि थिएँ ।
वास्तवमा त्यो बेला मैले धेरै दुःख गरेर पढेको हुँ । मैले कक्षा एकदेखि स्नात्तकोत्तर एम.ए.सम्मको पढाइ नै दुःख गरेर पूरा गरेको हुँ । मेरो परिवारका सबै जनाले मैले जस्तै दुःख गरेर पढेका हुन् । दुःख गरेर परिश्रम गरेर भएपनि पढ्यो भने राम्रो हुँदोरहेछ भन्ने कुराको गतिलो पाठ मेरो जीवनले नै मलाई सिकाएको छ जस्तो मलाई लाग्छ ।

Children's Story by Bidhya Sapkota 'Nirjala' पारु

'छि ! मलाई त योसँग बोल्न पनि मन लाग्दैन ।'


'हो भन्या हेर न सधैं टासिँन आउछे ।'                                 

'कत्ति न जान्ने भएर बोलिरा'की हुन्छे फेरी ……………'

रमिला ,कोपिला र उत्तम कक्षामा खासखुस गरिरहेका थिए । अलिपर सरितासँग बसिरहेकी पारु बडो मायालाग्दो अनुहार पारेर यताउता हेरिरहेकी थिई । कक्षामा उसलाई पढ्न पनि मन लाग्दैनथ्यो । सर मिसले पनि वास्तै नगरेजस्तो कस्तो कस्तो लागिरहन्थ्यो । ऊ हरेक दिन निहाउरिदैं स्कूल पुग्थी अनि त्यस्तै गरेर घर फर्किन्थी ।
घरमा पनि खासै वोल्दिनथी । मलाई केही खान मनछैन फन्फनिदै हिड्थी ।
आमाले माया गरेर खाजा दिइसकेपछि भन्थी -'म भोलिदेखी स्कूल जान्न्न हैं'
'पढेर आउदा पनि तँ किन ठूलै मेलो जितेर आएजस्तो गर्छेस् नानु, स्कूल नजाने भन्ने पनि हुन्छ पढ्न जान परि गो नि ।' आमा हर्कानुहन्थ्यो ।
जान्न भनेपछि जान्न के………। ऊ भूतभुताउदै निस्कन्थी । कहाँ जान्थी आमालाई पत्तै हुनैनथ्यो । सुरेश आले र कमली उसैलाई पर्खैर बसिरहेका हुन्थे । उनीहरु गुच्चा खेल्थे । घण्टौ बालुवामा लडिबुडी गर्थे अनि अवेर फर्कन्थे ।
घर फर्कदा बुबा पनि कामबाट फर्किसक्नुभएको हुन्थ्यो ।
कहाँ गएकी पारु अहिलेसम्म ?

हेर गति………।

होमवर्क पनि गर्नु पर्दैन ?

ऊ नसुने झैं गर्थी । जव आमाले बुबाको कुरामा हा मा हा मिलाउनुहन्थ्यो अनि ऊ रुन थाल्थी ।
कोही मेरो कुरै बुझ्दैनन् । मलाई हामवर्क सोमवर्क गर्नुछैन । म स्कूल जान्न । त्यास्तो जावो स्कूल । बरु म त कमलीहरुसँगै खेल्छु । एकैसासमा भनिभ्याउथी ऊ ।
हरेक दिन रडाको मच्चाएर स्कूल पठाउनुपर्थ्यो । पारुको पारा देखेर आमा दिक्क भैसक्नुभएको थियो । त्यस्तैमा जाडो विदाको बेला पारेर शहरमा पढ्ने दाजु घर आउनुभयो । दाजु आएपछि त झन् पारु उग्र देखिई । विद्यालय जान पटक्कै मानिन ।
पहिला-पहिला स्कूल जान भनेपछि फुर्किएर दौडने आफ्नी बहिनीको बदलिदों रुप देखेर दाजु छक्क पर्नुभयो । उहाँलाइ लाग्यो गाली गरेर यो मान्नेवाला छैन तर किन जान मानिन यो चाहिं पत्ता लगाउनुपर्यो ।
होस् मेरी नानु स्कूल जान्न मसँग घुम्न जान्छे । आमालाई इशाराले चूप हुन सिकाउदै मायालु आवाजमा दाजु बोल्नुभयो ।
स्कूलकै वाटो भएर हिड्दा पारुका साथीहरु खेलीरहेका थिएँ तर कसैले पनि बहिनीलाई वास्तै नगरेको देखेर उहाँलाई नराम्रो लाथ्यो ।
भोलिपल्ट शनिबारको दिन थियो । दाजुबहिनी नुहाइधुवाइ गर्न भनेर खोलातिर गएँ । फर्केपछि दाजुले उसको कपाल कोरिदिन खोज्नुभयो ।
'वाफरे ! टाउकोमा त जुम्राले गुँडै लगाइसकेछ । आमा के हो यो यसको तपाई ख्यालै गर्नुहुन्न कि के हो ?'दाजु कराउनुभयो ।
'घरधन्दा भन्यो के भन्यो म भ्याउदै भ्याउन्न । फेरी यो पनि त कहाँ सानी छे र दश वर्षकी भैसकी कपाल कोर्न सक्दिन र ?'
'पुल्पुलिएकी कहीकी, लगा न चड्कन ।' आमा उल्टै रिसाउनु पो भयो ।
दाजुले तेल लगाएर विस्तारै उसको कपाल कोरिदिनुभयो ।
'कत्ति फोहरी नानु तँ तलाई यो जुम्राले डोरी लगाएर रुखमा झुण्ड्याउने वेला भैसकेछ । अवदेखी म तलाई नानु हैन जुम्री भनेर बोलाउछु हैं ।' उहाँले जिस्क्याउदै भन्नुभयो ।
पारु कालेनीलो भएर रुन लागी । 'मलाई कोही पनि मन पर्दैन मलाई कसैले पनि माया गर्दैन । म घरमा पनि बस्दिन स्कूल पनि जान्न । कमली र सुरेशकहाँ बस्छु
'ऊ रिसाएर हिड्न खोजी ।
'अरे ! मेरी नानु मैले त जिस्क्याएको पो त । नरिसाऊ हिड बजार जाऊ
' दाजुले बल्लबल्ल उसलाई मनाउनु भयो ।
आइतबारको दिन दाजु पनि सँगै बस्ने शर्तमा पारु स्कूल गई । साच्चै नै पारु त्याहा एक्लीएकी रहिछ । उसका त साथी नै रहेनछन् ।
दाजुले बच्चाहरुको खासखुस् गरेको सुन्नुभयो 'आज त्यो जुम्रीसँग को आएछ ?'
आफ्नी बहिनी फोहरी भएकैले सबैले हेला गर्दा रहेछन् भन्ने थाहा पाएर उहाँलाई दुख लाथ्यो र मनमनै प्रण गर्नुभयो म मेरी नानुलाईं सफा चंचल मिहिनेती र अरुभन्दा अझ प्यारी बनाएरै छाड्नेछु ।
दाजु आएपछिका दिन उसलाई रमाइलो लाग्न थालेको थियो । उहाँ उसको राम्रो ख्याल गर्नुहुन्थ्यो । होमवर्क सिकाइदिनुहुन्थ्यो । आफैंले विद्यालयको लागि तयार गरेर पुर्याइदिनुहुन्थ्यो । अनि फुस्रदमा घुमाउनु हुन्थ्यो मीठोमीठो कथा सुनाउनुहन्थ्यो ।
साँच्चै केहीदिन मै पारु हसिलीखुसिली देखिई । कहिल्यै पाठ नबुझाउने पारु अरुभन्दा पहिला उठेर होमवर्क बुझाउन थालेको नजानेको कुरा सोधेको देखेर सर-मिस पनि खुसी हुनुभयो । हेर्दाहेर्दै उसका धेरै साथी भएँ ।
अर्को एकविहान ऊ चिच्याउदै थिई । 'आमा ! छिटो खाजा राखिदिनुस् मलाई स्कूल जान ढिला भैसक्यो । '

Sunday, July 25, 2010

By Shlesma Chhetri, USA भगवानको घर कहाँ छ ?

यो २०६० सालको कुरा हो जति बेला म कक्षा ९ मा पढथें, त्यतिबेला मैले मेरी प्यारी हजुरआमालाई गुमाएको थिएँ । त्यो बेला मलाई राम्ररी थाहा छ भोलिपल्टको दिन असार ३ गते मेरो चौधौं जन्मदिन थियो अनि हजुरआमाको आशिर्वाद थाप्नु अगाडि नै उहाँले यस संसारबाट बिदा लिनुभएको थियो । सधैं उपहारहरु प्राप्त गरेर मेरो जन्मदिन रमाइलो हुन्थ्यो तर चौधौं जन्मदिनमा मैले ममतामयी हजुरआमाको काख गुमाएको थिएँ, जुन काखमा मैले मेरो जीवनको आरम्भ गरेकी थिएँ । मेरो बालसुलभ मस्तिकमा त्यसबेला प्रश्नहरु छरिएका थिए । यस संसारबाट बिदा लिएर मेरी हजुरआमा कहाँ जानुभयो होला ? मैले यही प्रश्न विस्तारै मेरी आमालाई सोधेकी थिए अनि उहाँले भन्नुभएको थियो भगवानको घर जानुभयो जहाँ गएपछि कोही पनि फर्केर आउन सक्दैन । मैले अझ प्रश्नहरु थप्न लागेको थिएँ उहाँले फेरि भन्नुभयो तिमी ठूली भएपछि बुझ्ने छौं । उहाँले मलाई चुप त गराउनु भयो तर मेरा मनमा भने हुरी चल्न थाल्यो । भगवानको घर कहाँ होला ? किन त्यहाँ गएपछि फर्कन नमिल्ने होला ? त्यसै दिनताका मलाई उदास देखेर फेरि आमाले मलाई सम्झाउनु भएको थियो । भगवानको घर बादलपारि तारै-तारा भएको ठाउँमा हुन्छ रे, त्यहाँ फूलैफूलको सुन्दर बगैंचा अनि रमाइलो बातावरण हुन्छ रे जसलाई स्वर्ग भन्ने गरिन्छ अनि त्यसैले त्यहाँ जाने मानिसहरुलाई स्वर्गिय भनेको हो । मलाई सम्झाउँदै गर्दा उहाँ रे ...... रे......... भन्दै हुनुहुन्थ्यो सायद उहाँलाई पनि कसैले त्यस्तै भनेको थियो होला ? मलाई अलि ढुक्क त लागेको थियो किनकि मेरी प्यारी हजुरआमा तारै-ताराको झिलिमिली र फूलैफूलको सुगन्धमा हुनुहुन्छ । उहाँ स्वर्गे भएको बर्षमै मैले बीर गणेशमान सिंह बालप्रतिभा पुरस्कार प्राप्त गरेर बर्ष बालक २०६० को उपाधि पाएकी थिएँ । मैले खुशी हुँदै त्यो ताम्रपत्रलाई आकाशतर्फ फर्काएर हजुरआमालाई देखाएको थिएँ ।सायद देख्नु भयो होला जस्तै लागेको थियो । म जहिले पनि उहाँलाई सम्झदा आकाश तर्फ हेरेर बादलपारि स्वर्गमा बस्ने हजुरआमालाई हेर्ने प्रयास गर्थें अनि नीलो आकाशमा भएका सेता बादलहरुले विभिन्न आकारमा उड्दै जाँदा म बादलको आकारमा मेरी हजुरआमाको रुपको कल्पना गर्थें जसले गर्दा मलाई उहाँसंग भेट भएको भान हुन्थ्यो ।

समयको अन्तरालमा मेरा दिनहरु बित्दै गए अनि ममा बालसुलभता हराउँदै गयो जीवनको अर्थ पनि पहिल्याउँदै गएँ । मैले मेरो जीवनको २० सौं बसन्तको हाराहारीमा आइपुग्दा अकस्मात् फेरि एउटा बिर्सन नसक्ने दुर्घटना भयो । मेरी प्यारी साथी मालश्रीको कर्णालीमा डुङ्गा दुर्घटनामा मृत्यु भयो । कर्णालीको छालले उनलाई सायद बादलपारि पुर्यायो र्स्वर्गमा, अनि उनी स्वर्गिय हुन पुगिन् मेरी हजुरआमा जस्तै । यस पटक भने उ कहाँ गई भनेर मैले कसैलाई सोधिन । जीवन र मृत्यु, शुरु र अन्त्य जस्तै हो पूरै नबुझेपनि सामान्यरुपमा स्वीकार्न करै लाग्यो असामयीक भएपनि मृत्यु त मृत्यु नै हो ।

हामीहरु सामाजिक प्राणी भएकाले मन त्यसै भौतारिदो रहेंछ अनि अन्त्यमा मनलाई हलुका पार्ने त आँशुनै रहेछ मनको साथी । बिछोडको पीडालाई भुल्न धेरै रोंए रुदाँरुदै मन हलुका भयो अनि मलाई लाग्यो भगवानको घर त आफ्नै मनभित्र पो रहेछ जहाँ सधैं मेरी हजुरआमा र मेरी प्यारी साथी मालश्रीले दरिलो डेरा जमाएका छन् । म रुँदै थिएँ मेरो ९ बर्षे अबोध भाइले भन्यो "दिदी तिमी किन यति धेरै रोएको ? " मैले रुँदै भने "मालश्री दिदी भगवानको घर गइन् त्यसैले रुन मन लाग्यो" भाइले फेरि प्रश्न गर्यो "भगवानको घर कहाँ छ ? भगवानको घर माथि आकाशमा बादल पारि छ । त्यहाँ तारैताराहरुको झिलिमिली छ अनि फूलैफूलको सुन्दर बगैंचा छ भनेर भाइलाई सम्झाए । उसको बाल सोचाइले यसको के अर्थ लगायो मलाई थाहा भएन । मैले जीवन र मृत्यु स्वभाविक हो, यो संसार भन्दा बेग्लै अर्को संसार छैन अनि भगवानको घर कल्पना मात्र हो,  मनलाई बुझाउने बहाना मात्र हो भनेर बुझेपनि भाइलाई बुझाउन सकिन । तसर्थ मैले पनि आमाले मलाई भने जस्तै गरी उसलाइ भनें- तिमीले ठूलो भएपछि बुझ्नेछौ ।
(लेखिका क्षेत्रीको प्रकाशोन्मुख कृति मालश्री बाट साभार)
Email : shlesma41@hotmail.com