Thursday, July 29, 2010

Children's Play by Krishna Shaha 'Yatri' हारुनको मुरली

स्थान -  कुनै मन्दिर परिसर ।
समय – बिहान ।
पात्रहरु:
हारुन अली एक दृष्टिविहीन बालक/मुरलीवादक, वर्ष १३

सानी कक्षा ५ मा पढ्ने एक बालिका, वर्ष ११

रामु कक्षा ६ मा पढ्ने एक बालक, वर्ष १२

डेबिड कक्षा ६ मा पढ्ने एक बालक, वर्ष १२

अङ्कल रामु र डेबिडको अङ्कल/सङ्गीतकार, वर्ष ४५
(एउटा पुरानो खालको मन्दिर देखिन्छ । मानिसहरू ओहोरदोहोर गरिरहेका हुन्छन् । मन्दिरको अगाडि एकजना बालक हारुन अली मुरली बजाइरहेका हुन्छन् । हारुन दुवै आँखा देख्दैनन् । उनी जन्मजात दृष्टिविहीन हुन् । केही मानिस मुरलीको धून ध्यान दिएर सुनिरहेका हुन्छन् । नजिकै सानी फूल बेचिरहेकी हुन्छिन् ।)
सानी: ल आउनुस् हजुर ! बीस रुपैयाँमा फूल, अछेता र प्रसाद लैजानुहोस् । आउनुहोस् । फूल लगेपछि सित्तैमा जुत्तासमेत हेरिदिन्छौँ । ल आउनुहोस् हजुर । ताजा, सफा र सुन्दर फूल लैजानुहोस् ।
(त्यसैबेला रामु र डेबिड आफ्ना अङ्कलसित घुम्न आएका हुन्छन् ।)
रामु: अङ्कल ! अङ्कल ! मलाई त्यो रातो गुलाफको फूल मनपर्छ । किनिदिनुहोस् न ।
डेबिड: अनि मलाई ऊ त्यो लालीगुँरास मन पर्यो । किनिदिनुहोस् न ।

अङ्कल: ए..., तिमीहरूलाई फूल मन पर्यो ? पर्ख है त ।

(अङ्कलसँगै रामु र डेबिड पनि सानी नजिक जान्छन् ।)

अङ्कल: नानी ! ऊ त्यो गुलाफ र लालीगुँरासको कति पर्छ ?

सानी: खै कति भन्ने अङ्कल । त्यति मात्रै फूल लाने भए आफैँ मिलाएर दिनुहोस् न ।
अङ्कल: ल त्यसो भए दस रुपैयाँ दिन्छु, है त ?

सानी : हवस् ।
(सानी गुलाफ र लालीगुँरास दिन्छिन् । रामु र डेबिड खुसी हुँदै फूल लिन्छन् ।)

अङ्कल: (सानीलाई) नानी तिमी पढ्न जादिनौ ?
सानी : जान्छु नि अङ्कल । म तीन कक्षामा पढ्छु । स्कुल बिदाको दिन म यो पसलमा बसेर आमालाई पालो दिन्छु नि ।

रामु: तिम्रो नाम के हो ?

सानी: मेरो नाम सानी हो ।

रामु: सानी ! अनि तिमी कतिबेला होमवर्क गर्र्छौ नि ?

सानी: म पसलबाट फर्किएपछि होमवर्क गर्छु ।
डेबिड: (जिब्रो निकाल्दै) आम्मा ! पसलमा काम गर्दा त थाकिन्छ नि । अनि होमवर्क गर्न अल्छी लाग्दैन ?
सानी: आफ्नो काम गर्न कहिल्यै अल्छि मान्नुहुँदैन ।
अङ्कल: आहा ! सानीले कति राम्रो कुरा गरिन् । देख्यौ त रामु । सानी कति मिहिनेती छिन् ।
सानी: अङ्कल, मभन्दा झन् हारुन दाइ निक्कै मिहिनेती हुनुहुन्छ ।
रामु:  हारुन, को हारुन ?
सानी: हारुन अली दाइ क्या त । (हातले इशारा गर्दै) ऊ पर मुरली बजाउने । उहाँ मुरली निक्कै मीठो बजाउनुहुन्छ । के तपाईंहरू हारुन दाइसँग परिचय गर्न चाहनुहुन्छ ?
अङ्कल: हुन्छ नि सानी ।
सानी: ल त्यसो भए मसँग आउनुस् । (नजिकैको साथीलाई) मीना ! मेरो फूल पनि हेरिदेऊ ल । म उहाँहरुलाई हारुन दाइकोमा पुर्याएर आइहाल्छु ।

(चारैजना हारुन भए ठाउँमा आउँछन् ।)

सानी: हारुन दाइ !
हारुन: (सम्हालिँदै) को ? सानी ?
सानी: हो, हारुन दाइ, तपाईंको मुरली सुन्न एकजना अङ्कल र साना साथीहरु आउनुभएको छ ।
हारुन:  ए हो ?
अङ्कल: हो नि हारुन बाबु । सानीले खुबै प्रशंसा गरिन् । नसुनी मनले मान्दै मानेन । ल सुनौँ न त, तपाइको मुरलीको धून ।
हारुन: अनि कतिजना ?  को को हुनुहुन्छ नि ?
रामु: म रामु र मसँगै डेबिड पनि छ । मलाई पनि मुरली बजाउन मनपर्छ तर जान्दै जान्दिनँ । स्कुलमा कृष्ण सरले बजाउन सिकाउनुहुन्छ । हैन त डेबिड ?
डेबिड: हो नि ।
सानी : ल त्यसो भए तपाईंहरु सुन्दै गर्नुहोस् । म पसल पुगेर आउँछु है ।
अङ्कल : हुन्छ, हुन्छ ।
(हारुन मुरली बजाउन थाल्छ । सबैजना ध्यान दिएर सुन्न थाल्छन् । उनले मुरली बजाएको सुनेर सबै दङ्ग पर्छन् । हारुनले मुरली बजाउन छाडेर विश्राम लिन्छन् ।)
हारुन: अनि कस्तो लाग्यो त मेरो मुरलीको धून ?
अङ्कल: बाबु ! तिमीभित्र एउटा ठूलो कलाकार लुकेको रहेछ ।
हारुन: धन्यवाद अङ्कल ।
अङ्कल: हारुन ! तिमीलाई यो मुरली बजाउन कसले सिकाएको हो ?
हारुन: मेरो बुबाले सिकाउनुभएको हो अङ्कल ।
अङ्कल: अनि तिम्रो बुबा कहाँ हुनुहुन्छ त ?
(अचानक हारुनको गला अवरुद्ध हुन्छ । आँखाको डिलमा आँसु देखिन्छ । हारुन केही बोल्न खोज्छ, तर सक्दैन । सानी आइपुग्छिन् ।)
सानी: ल, फेरि तपाईंले पनि हारुनदाइको बुबाको कुरा कोट्याउनुभयो कि क्या हो ?
अङ्कल: हो सानी । मैले सोधेको मात्र के थिएँ, हारुन त रुन पो थाले ।
सानी:  नसोधेकै भए बेस हुन्थ्यो ।
अङ्कल :  किन र सानी ?
सानी : हारुन दाइको बुबालाई पोहोर साल गाडीले ठक्कर दिएर मारेको हो । त्यो घटनाले गर्दा हारुन दाइले निकै दिन केही खानुभएन । बिरामी पनि पर्नुभयो । यो कुरा गर्यो कि उहाँको गला नै रोकिन्छ ।
अङ्कल: ओहो । साह्रै नराम्रो घटना घटेछ । म अब सोध्दिनँ । यो सुनेर मलाई दुःख लाग्यो ।
हारुन: भयो अङ्कल । अब त मैले पनि बिर्सिसकें । यो दुःखीको सानैमा आमा बित्नु भयो । एक मात्र सहारा बुबालाई पनि कालले चाँडै लग्यो । अब त बाँच्ने सहारा यो मुरली मात्र बनेको छ । धन्न सानीजस्ता साथीहरू पाएको छु र यो संसार रमाइलो लाग्छ ।
अङ्कल: हारुन ! तिमी सङ्गीत सिक्न र पढ्न चाहन्छौ ?
हारुन: पढ्न पाए किन नपढ्नु नि । तर, ती सबै सपना हुन् मेरा लागि ।
रामु: सानी, हाम्रो अङ्कल पनि राम्रो सङ्गीतकार हुनुहुन्छ । उहाँले धेरै गीत पनि गाउनुभएको छ ।
हारुन: ए हो र ?
डेबिड: हो नि । अनि अङ्कल एउटा सङ्गीत विद्यालयमा पढाउनु पनि हुन्छ ।
हारुन: हो अङ्कल ?
अङ्कल: हो हारुन । मैले तिम्रो प्रतिभालाई नियालिरहेको थिएँ धेरै दिनदेखि । आज बल्ल नजिकबाट बुझ्न पाएँ । के तिमी सङ्गीत विद्यालयमा पढ्न चाहन्छौ ?
हारुन: तर म कसरी पढ्न सक्छु र ? पढ्ने पैसा कसले दिन्छ मलाई ?
अङ्कल: हारुन ! तिमीजस्तै असहाय तर प्रतिभाशाली बालबालिकाहरुका निम्ति छात्रवृत्तिको समेत हामीले व्यवस्था गरेका छौं । म त्यो पाठशालाको प्रिन्सिपल पनि हुँ । तिमीलाई पढ्ने, बस्ने र खाने व्यवस्था म मिलाई दिन्छु हारुन । तिमी मसँग हिँड । तिमी भविष्यमा एउटा राम्रो कलाकार बन्नुपर्छ ।
सानी:  के साँच्चै हो ? त्यसो भए हारुनदाइले पनि पढ्न पाउने हुनुभयो ?

अङ्कल:  हो, सानी । अब हारुन पनि स्कुल जानेछन् ।

रामु/डेबिड: आहा ! अब हारुन पनि स्कुल जाने !
(सबैको अनुहारमा खुशी छाउँछ । हारुनलाई बिस्तारै सबैले उठाउँछन् ।)
हारुन: अङ्कल । मलाई अझै विश्वास लागेको छैन । के म स्कुल पढ्न सक्नेछु ?
अङ्कल: हारुन । तिमीले आँखाले हेर्न नसक्दैमा हरेस खानुहुँदैन । अवसर पाएको खण्डमा तिमीले जे पनि गर्न सक्छौ । हाम्रै मुलुकमा पनि थुप्रै नाम कहलिएका दृष्टिविहीन गायक-गायिका तथा सङ्गीतकारहरु छन् । ल हिँड, जाऊ अब ... ।
हारुन: अङ्कल ! तपाईंलाई धेरै धेरै धन्यवाद ।
अङ्कल: धन्यवाद मलाई हैन, तिम्रो मुरलीलाई दिनुपर्छ । जसले हामी सबैको मन तान्न सक्यो । कि कसो सानी ?
सानी: (सुँक्क-सुँक्क गर्दै) हो नि अङ्कल । हारुन दाइ यहाँबाट गएपछि मलाई नबिर्सनुस् है ? अनि जानुभन्दा अघि अन्तिमपटक मुरली बजाइदिनुस् न ल ।
हारुन: सानी, के भनेकी ? तिमी त मेरी प्यारी बैनी हौ । म बिर्सन्नँ । (सानीको मुहार हातले छुन्छ ।) सानी तिमी रोएकी ? के तिमी खुसी छैनौ ?
सानी: (आँसु पुछ्दै) होइन हारुन दाइ । म त असाध्यै खुसी छु । खुसीले पो रोएकी । अब अरु नरुवाउनोस् है । ... हारुन दाइ ! जानुअघि एकपटक मुरली बजाएर मात्र जानुस् है । अनि पढेर ठूलो मान्छे हुनुस् ।
(सानीको कुराले सबै स्तब्ध हुन्छन् । हारुनले मुरलीलाई चुम्छ र बजाउन थाल्छ । मीठो धूनमा सबैजना आनन्दित हुन्छन् । पर्दा बिस्तारै खस्छ ।)
For feedback Email: krishnayatri@gmail.com

No comments:

Post a Comment