Saturday, December 1, 2018

सीएलएफएनका अध्यक्ष कार्तिकेय र एडब्लुआइसी, नयाँ दिल्ली, भारतका अध्यक्ष श्रीमती निलिमा सिन्हाबिच भेटघाट

बालसाहित्य प्रतिष्ठान नेपाल (सीएलएफएन) का अध्यक्ष श्री कार्तिकेय र एसोसियसन अफ राइटर्स एण्ड इलुस्टेटर्स फर चिल्ड्रेन, नयाँ दिल्ली, भारत (इण्डियन सेक्सन अफ आइबीबीवाई) का अध्यक्ष श्रीमती निलिमा सिन्हाबिच सौहार्द भेटघाट भयो । उक्त अवसरमा बालबालिकाका लागि स्तरीय पठन सामग्री उत्पादन र पठन संस्कृतिको विकासका लागि सक्रिय यी दुवै गैरसरकारी सामाजिक संस्थाबिच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा मन्थन भएको थियो । 
भेटघाटका अवसरमा प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले सीएलएफएनबाट प्रकाशित ६ ब्रेल बालपुस्तकहरु र अंग्रेजी भाषामा प्रकाशित बालकथा संग्रहहरु र रंगीन बालचित्रकथाकृतिहरु एडब्लुआइसीलाई उपहार प्रदान गर्नुभएको थियो ।
उक्त भेटघाटका अवसरमा वरिष्ठ बालसाहित्य लेखिका निलिमा सिन्हाले आफ्नो बालसाहित्य लेखन यात्राको बारेमा बताउनु भएको थियो । उक्त छलफलको केही अंश समेटिएको भिडियो प्रतिष्ठानको फेसबुक पेजमा पनि हेर्न सकिने छ । उक्त भिडियो कुराकानीमा आदरणीय लेखिका सिन्हाले आफूले बालसाहित्य लेखनको शुरुवात विश्वप्रसिद्व लेखिका एनिड ब्लाइटनबाट प्रभावित भएर गरेको कुरा बताउनु भएको छ । पछि लेखनमा उत्साह बढ्दै गएपछि स्थानीय पात्र र परिवेशमा किशोरका लागि उत्साहप्रद साहसी र तिलस्मी कथाहरु लेखनमा रुचि बढ्दै गएको कुरा उहाँले बताउनु भयो । साथै, उहाँले आफ्नो लेखक व्यक्तित्वको विकासका लागि नेसनल बुक ट्रस्ट अफ इण्डियाको पुरस्कारले पनि हौसला प्रदान गरेको कुरा गर्नु भएको थियो ।
भेटघाटका अवसरमा आगामी दिनमा नेपाल र भारतका बालचित्रपुस्तक तथा ती पुस्तकमा रहेका चित्रहरुको प्रदर्शनी नेपालको काठमाडौँमा तथा भारतको नयाँ दिल्लीमा गर्ने सम्बन्धमा ग्रहकार्य सुरु गर्ने विषयमा पनि छलफल भएको थियो । साथै, बालसाहित्य लेखक र चित्रकारको क्षमता अभिवृद्विका लागि दुवै संस्था मिलेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि गम्भिर छलफल भएको थियो ।
उक्त छलफलपछि एडब्लुआइसीले तयार गरेका स्तरीय बालपुस्तकहरुको नेपाली संस्करण प्रकाशनका लागि सीएलएफएनसँग सहकार्य गरिने र एडब्लुआइसीमा आबद्व लेखक तथा चित्रकारहरुको पुरस्कृत र प्रसंशीत बाल तथा किशोर साहित्य पुस्तकहरुको नेपाली संस्करण प्रकाशनका लागि दुवै संस्थाले मिलेर काम गर्न सकिने सहमति भएको थियो ।
आफ्ना चिरपरिचित राजनेता पति यशवन्त सिन्हाका साथमा काठमाडौँ आउनु भएकी आदरणीय लेखक श्रीमती निलिमा सिन्हालाई सीएलएफएन परिवार नेपालमा हार्दिक स्वागत गर्दछ र उहाँको पारिवारिक भ्रमण सफल रहोस् भन्ने कामना पनि गर्दछ । साथै, प्रतिष्ठानलाई उहाँले आफ्नो महत्वपूर्ण समय उपलब्ध गराउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछ । उहाँसँगको दुई घन्टाको भलाकुसारीबाट सीएलएफएनलाई भविष्यमा कसरी अगाडि बढ्नुपर्छ भन्ने एउटा बाटो तयार गर्न पनि सघाउ मिलेकोमा उहाँप्रति सीएलएफएन हार्दिक आभारी रहेको छ ।