Monday, March 19, 2012

मिडिया शिक्षाको सवालमा केही कुरा (विचार) कार्तिकेय घिमिरे

मिडिया अर्थात् आम संचार माध्यमहरु (रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकाहरु) बाट प्रसारित र प्रकाशित विज्ञापनले सबै भन्दा बढी कसलाई प्रभावित गर्छ ?
यो प्रश्न तपाईंलाई कसैले सोध्यो भने तपाईं के जवाफ दिनुहुन्छ ?
तर मनोविदहरु भन्छन् – बालबालिकालाई बढी असर गर्छ । उनीहरु सिकाइको प्रारम्भिक चरणबाट गुज्रिरहेको हुनाले विज्ञापनका हरेक कुरा उनीहरुलाई नयाँ लाग्छन् र त्यसको आकर्षक हाउभाउ र प्रस्तुतिबाट उनीहरु तुरुन्तै प्रभिावित भइ हाल्छन् । यस सम्वन्धमा मिडियाको अनुसन्धानमा लागेकाहरु भन्छन् – बालबलिकाले विज्ञापन हेर्ने र त्यसको नक्कल गरेर दुर्घटना निम्त्याउने र आफै दुर्घटनामा पर्ने रोगले अहिल विश्व नै ग्रस्त छ । अमेरिकामा त द्घन्द सिनेमाको भूतले यतिसम्म बाल मष्तिष्कलाई अठ्याउने गरेको छ कि हरेक वर्ष जसो बालयुवाहरुले हिरोको भूमिकाको नक्कल गर्दै अन्धाधुन्ध गोली चलाएर आफ्ना सामान्य मनमुटाव भएका साथीहरु र गुरुहरुलाई मार्ने गरेका छन् । यो क्रम लगातार चार वर्षदेखि चलिरहेको छ । वर्षमा कम्तिमा एउटा यस्तो घटना त्यहाँ घटेको खबर मिडियामा आइरहेका छन् । अझ कतिपय अलि साना घटना त सम्वन्धित कलेज र महाविद्यालयहरुले आफ्नो संस्थाको व्यापार खतम हुने डरले बाहिर आउन नदिएर भित्रभित्रै लुकाउने गरेका पनि छन् ।
हो, यस घटनाचित्रले स्पष्ट के संकेत गर्दछ भने बालबालिकाहरु मिडियाबाट सबै भन्दा बढी प्रभावित हुने वर्गमा पर्छन् ।
मूलतः ६ देखि १५ वर्षमुनिका बालबालिकानहरुलाई पढाइरहेका प्रशिक्षित गुरुआमाहरु भन्छन् – बाल सिकाइमा टेलिभिजनको महत्व ठूलो छ । अहिले सूचना प्रविधिको युगमा मिडियाको व्यवस्थित उपयोग बालबालिकाको हितमा छ । किनकि उनीहरुलाई मिडियाबाट टाढा राखेर समाजमा प्रतिस्पर्धामा उत्रन नसक्ने लङ्गडो बनाउनु पनि हुन्न ।
वास्तवमा मनोविद, गुरु, गुरुआमा र मिडिया विशेषज्ञहरु सिधै मिडियालाई बाल अहितकारी भन्ने पक्षमा देखिदैनन् । तर उनीहरु मिडियामा हेरेका कुराहरु माथि बालबालिकाहरुलाई सही गलत के हो भनेर विश्लेषण गर्न प्रेरित गर्नुपर्छ भन्ने विचार राख्छन् । साथै उनीहरु के कुरामा पनि जोड दिन्छन् भने कुनै पनि बालबालिकालाई उनीहरुको उमेर अनुकुलका टेलिभिजन कार्यक्रमहरु र अन्य मिडियाका सामग्रीहरु हेर्न, पढ्न र लगअन गर्न प्रेरित गर्नु राम्रो हो । यसका लागि शिक्षक र अभिभावकहरुले राम्रो भूमिका खेल्न सक्छन् ।
बालबालिकाहरुलाई सानै देखि ठूला–ठूला एक्सनका सिनेमाहरु हेर्न प्रेरित गर्ने र उनीहरु दङ्ग परे भन्दैमा बढीमा बढी टेलिभिजनमा झुम्मिन दिने प्रवृति गलत हो । यसले शारिरीक र मानसिक दुबै रुपमा बालबालिकाहरु पीडित हुन्छन् । एकातिर शारिरीक विकासमा बाधा हुन्छ भने अर्कोतिर उनीहरु अपराध मनोवृतितिर मोडिन सक्छन् ।
त्यसैले मिडिया र बालबालिका वारे आचारसंहिता र नीति नियम बनाउने विज्ञहरु भन्छन् – मिडियाको कु्न कार्यक्रम, स्तम्भ वा कुन वेब पत्रिका वा सिनेमाहरु आफ्ना बालबालिकाहरुको लागि सिर्जनात्मक र उपयोगी छ भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ । त्यस्तै सामग्री उत्पादन गर्ने मिडिया हाउसले पनि उत्पादित सामग्रीको लक्षित समूह वारे जानकारी गराउँनुपर्छ । हरेक टिभी सो होस् वा सिनेमाको सिडीमा स्पष्ट साथ यी कुरा उल्लेख गरिनुपर्छ । साथै अभिभावकहरुलाई नै लक्षित गरी केही सन्देश उल्लेख गनुपर्छ भन्ने ती विज्ञहरुको ठहर रहेको पाइन्छ । साथै बालबालिकाहरुलाई पनि मिडियाको प्रवृति, व्यापार गर्ने काइदा र विज्ञापनको विश्वसनीयताका पक्षहरुवारेको छलफल र अन्तरक्रियामा सहभागी गराई मिडिया शिक्षा दिनु जरुरी छ भन्ने ठान्छन् उनीहरु ।
वास्तवमा मिडिया शिक्षा कसरी दिने ? के मिडिया शिक्षा भनेको मिडियाप्रति बालबालिका वा किशोरहरुलाई नकारात्मक हुन प्रेरित गर्ने शिक्षा हो त ? भन्ने जस्ता प्रश्नहरु अहिले उठिरहेका छन् ।
यस सम्वन्धमा हाम्रो देशमा एउटा ठोस धारणा बन्नसकेको अवस्था अहिले देखिन्न । यहाँ एकथरी मान्छेहरु अनावश्यक रुपमा लोभ्याउने, अश्लिल र हिंसाजन्य कुराहरु हेर्न र पढ्नबाट बालबालिकाहरुलाई रोक्नुपर्छ भन्ने मत राख्छन् । अर्काथरी मान्छेहरु समयसिमा निर्धारण गरेर बालबालिकाहरु सुतिसकेपछि अर्थात् लेट आवर रातिको समयमा मात्र त्यस्ता सामग्रीको प्रसारण हुनुपर्छ भन्ने मत राख्छन् । तात्कालीन माओवादी लडाईंको कालमा रगतको आहालमा डुबेका लासहरु टेलिभिजनहरुले प्रसारण गर्दा यो मुद्दा चर्केर उठेको थियो ।
तर यी दुवै मतलाई अस्वीकार गर्दै मिडिया शिक्षाको कुरा गर्नेहरुको भने फरक मत रहेको पाइन्छ । उनीहरु भन्छन् – समाजमा घट्ने हरेक घट्नाहरुवारे सूचना प्राप्त गर्न पाउनु बालबालिकाहरुको पनि सूचनाको हक हो । उनीहरुले सूचना पाउनुपर्छ यो उनीहरुको अधिकार हो । तर उनीहरुसँग बसेर छलफल, अन्तरक्रिया र विचार आदान–प्रदान गरी हामी बयस्कहरुले उनीहरुलाई मिडियामा प्रसारित, प्रकाशित सामग्री र विज्ञापनहरु प्रति आलोचनात्मक दृष्टिकोण बनाउन सघाउनुपर्छ । उनीहरुलाई मिडियाको विषयवस्तुका वारेमा सचेत र सजक गराउँनु पर्छ । अर्थात् हर्लिक्स खाएर जाँचमा फस्ट हुन सकिने हो कि होइन ? कम्प्लान खाएर हाइट बढ्ने हो कि होइन ? चाउचाउले दिमाख कति तेजिलो बनाउने हो ? यस्तै आदि–इत्यादि खालका टेलिभिजनलगायतका मिडियामा आउने विज्ञापनहरुवारे अभिभावकहरु र गुरुहरुले आफ्ना बालबालिकाहरुसँग खुलेर छलफल र अन्तरक्रिया गर्नुपर्छ भन्छन् विद्घानहरु । साथै मिडियाले किन विज्ञापन प्रसारण गर्छ ? विज्ञापन बनाउँनु प्रचार गर्नुको उद्देश्य के हुन्छ ? भन्नेजस्ता तमाम सवालमा पनि अन्तरक्रिया हुनुपर्छ ।
हो, वास्तवमा मिडिया शिक्षा भनेको यसबाट निस्कने निचोडहरु नै हुन् । जसले एकातिर मिडियाको सूचनाको विश्वसनियतातर्फ बालबालिकाहरुलाई आकर्षित गरेर उनीहरुलाई सूचना ग्रहण गर्न प्रेरित गर्दछ भने अर्को तर्फ मिडियाले पैसाको खेतीका लागि चमचमाएर प्रकाशन र प्रसारण गरेका विज्ञापनको वारेमा पनि स्पष्ट धारणा बनाउन पनि सहयोग मिल्दछ ।
तर यहाँनिर बालअधिकारवादीहरुको स्पष्ट अवधारणा र एकमत के रहेको पाइन्छ भने बालबालिकाहरुलाई यसो गर, त्यसो नगर भनेर गुरुकुल शैलीमा बन्देज लगाउने होइन । उनीहरुलाई छलफल, अन्तरक्रिया र ठोस तथ्यहरुका आधारमा तर्क प्रस्तुत गरी उनीहरुको जिज्ञासालाईसमेत समाधान हुने गरी समाधान गरिदिएर मिडिया शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ । यसो गर्न सकियो भने एकातिर यसले बाल व्यक्तित्वमा निखार ल्याउन मद्घत गर्दछ भने अर्कोतिर मिडियाको विज्ञापनलगायतका कुराहरुको नकारात्मक असरहरु न्यूनिकरण गर्न सघाउ पनि मिल्दछ ।
हो, आज हामी बाँचिरहेको युग मिडियाको युग हो । यस संसारका सबै मानिसहरु अहिले मिडियाको अत्याधुनिक विकासको मज्जा लिदै यगको उपयोगमा लठ्ठ परेर रमाइरहेका छन् । तर यही मिडिया यसको सही र समुचित उपयोग गर्न नजान्दा कत्तिका लागि अभिशाप पनि भएको छ । यसमा सबै भन्दा बढी बालबालिका र किशोरकिशोरीहरु पर्दछन् । त्यसैले यो मिडियाको युगमा मिडिया प्रति बालबालिकाहरुलाई आलोचनात्मक हुन हामीले प्रेरित गर्नुपर्छ । उनीहरुलाई मिडियाका साधनमा प्रसारित र प्रकाशित सामग्रीहरु जस्तैः विज्ञापन, सिनेमा, सनसनीपूर्ण समाचारहरु आदि प्रति चनाखो हुन र त्यसलाई आलोचनात्मक ढङ्गले हेर्न प्रेरित गरिनुपर्छ ।
हो, एउटा सिनेमा वा विज्ञापनमा मानिस उडेको देखाइनछ भने वास्तविक जीवनमा यत्तिकै मानिस उड्न सक्दैन यसले हावा देखायो वा रमाइलोका लागि देखायो भन्नेखालका आलोचनात्मक वा विश्लेषणात्मक खालका धारणाहरु बनाउँन आफ्ना बालबालिकाहरुलाई प्रेरित गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र बालबलिकामा पर्ने विज्ञापनको असर र समग्र मिडियाकै बालबालिकाहरुको सृजनात्मक विकासका लागि बाधक हुनेखालका असरहरुलाई न्यूनिकरण गर्दै लैजान र सकारात्मक असरहरुलाई बढाउँदै लैजान सहयोग मिल्दछ । त्यसैले अब बालबालिकासँग सरोकार राख्नेहरु सबै मिडिया शिक्षालाई व्यापक बनाउँन लाग्नुपर्छ भन्ने कुरामा शायदै कसैको दुई मत होला ।

बालसाहित्य पढ्नेहरू चलाख र बुद्घिमान् हुन्छन्


राष्ट्रिय सभाग्रहमा केही समयअघि सम्पन्न भएको साझा बृहत् पुस्तक प्रदर्शनीमा आफ्ना छोराछोरीलाई सँगै लिएर आइपुगेका काठमाडौं सिफलका राजेश लामिछानेले भनेछोराछोरी बालकथा भनेपछि पढ्न हुरुक्कै गर्छन् । त्यसैले पुस्तक मेलामा छानीछानी किताब पाइन्छ भन्ने सुनेर आएको । 
  छेउमै उभिएर बुवाको कुरा सुनिरहेकी कक्षा ५ मा पढ्ने जानुकाले मुसुक्क हाँस्दै भनिन्मलाई बालकथा पढ्न मज्जा लाग्छ । उनका भाइ निखिलले पनि के कम थिए उनले पनि थपिहाले मलाई त चुट्किलाको किताब मनपर्छ । चित्रहरू धेरै भएको कथा पनि मनपर्छ ।
 यसपल्टको मेलामा काठमाडौंका मात्र होइन काठमाडौं छेउछाउका जिल्लाहरू नुवाकोट, धादिङ, ललितपुर र भक्तपुरलगायतका जिल्लाका अभिभावकहरू आफ्ना छोराछारीलाई मनपर्ने बालसाहित्यको किताब किनेर लगिदिन कस्सिएर आएका भेटिए । उनीहरूले रमाइलारमाइला बालसाहित्यका किताब पोको पारेर छोराछोरीलाई कोसेली लगिदिएको दृश्य साँच्चै रमाइलो थियो ।
 बुवासँगै किताबको पोको बोकेर दङ्ग पर्दै गरेकी मुनाले भनिन् मलाई यो मेलामा थुप्रै थरी किताब एकै ठाउँमा पाएकोमा खुसी लाग्यो । ल हेर्नुहोस् मैले किनेका किताब । उनले उत्साहित हुँदै आफ्नो झोला देखाइन् । उनको झोलामा रमाइला कथाका किताब र मेमोरी कसरी बढाउँने, बृहत् समान्यज्ञानलगायतका किताबहरू थिए ।
अनि उनले झन् उत्साहित हुँदै भनिन्– ‘थाहा छ, यी किताब बाबाले मलाई बर्थडेको गिफ्ट दिनुभएको हो नि !
    वास्तवमा यसपालिको पुस्तक मेला हेर्न थुप्रै अभिभावकहरू आए र बालबालिकाहरू पनि आए । तर काठमाडौं नैकापकी सुभलता नहकर्मीलाई यो प्रदर्शनीमा किताब छान्न धौधौ प¥यो । उनले गुनासो गर्दै भनिन्अलि स्पष्ट जानकारी दिने सिस्टम भएन । कुन किताब कता हो खोज्नै गाह्रो । अलि राम्ररी ठूलो मिलाएर म्याप बोर्ड  प्रदर्शनी ठाउँमा राखेर कुन खालको किताबको कुनो कता हो देखाएर प्रदर्शनी गरे राम्रो हुने थियो । यहाँ त सब घारघुर रहेछ । किताब खोज्नै गाह्रो !
      यसरी विद्यार्थी बालबालिकाहरू आफैले धाएर अनि अभिभावकले चासो देखाएर छोराछोरीलाई पढ्ने मौका दिनु राम्रो कुरा हो भन्छन् बाल चिकित्सक, विशेषज्ञ एवं समाजसेवी प्रा.डा. अच्युतमणि आचार्य । उनी भन्छन्वास्तवमा बालसाहित्य पढ्ने बालबालिकाहरू चलाख र वुिद्घमान हुन्छन् । त्यस्तै विचार राख्छन् मुना पत्रिकाका पूर्व सम्पादक एवं वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराई । उनी भन्छन्बालसाहित्यले बालबालिकाको सिर्जनशील क्षमताको विकास गर्छ । साथै, उनीहरूलाई काम गर्न प्रेरित र अग्रसर पनि गराउछ ।
                                                                                                                       By Kartikeya

बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू – कार्तिकेय घिमिरे


बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो कामका सहभागी हुँदै हुनुहुन्छ भने तपाईंले बालबालिकाका लागि अन्याय गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाई सचेत हुनुपर्छ ।
एउटा बालक, आजको आशा हो । ऊ अगुवा पनि हो । त्यसैले उसको लागि तयार गरिने साहित्यिक सामग्रीले विशेष महत्व राख्दछ । किनकि एउटा मानिस मष्तिष्कबाट संचालित हुन्छ । साहित्यले उसको मष्तिष्कलाई प्रभावित गर्ने काम गर्दछ ।
जब हामी बालसाहित्य लेखनको कुरा गर्छौं त्यो सँगै बालबालिकाको व्यवहार निर्माण, सामाजिकता र भाषाको सिकाइको पक्ष पनि गाँसिएर आउँछ । त्यसैले एउटा असल बालसाहित्यले सौहार्दपूर्ण बालकको निर्माणमा सहयोग गर्दछ र उसलाई भाषिक रुपमा दक्ष पनि बनाउछ । त्यसरी नै एउटा अपरिपक्व बालसाहित्यले बच्चाको भाषिक सिकाइलाई मात्र भ्रष्ट पार्दैन उसको व्यवहारिक र नैतिक पक्षमा पनि घात गर्दछ । त्यसैले बालसाहित्य लेखन अत्यन्त गम्भीर लेखन हो भनिएको हो ।
वास्तवमा बालकका लागि लेखिने साहित्य उनीहरुको उमेर समूह, समाज र पारिवारिक पृष्ठभूमि आदि जस्ता पक्षबाट सिधै प्रभावित हुनुपर्छ । उमेर समूह अन्तर्गत् रंगको संयोजन, भाषाको प्रयोगको अवस्था र कुन परिवेशको बच्चालाई के कुरा, कस्तो कुरा पढ्न दिदा वा पढेर सुनाउँदा राम्रो हुन्छ भन्ने कुरामा बालसाहित्य लेखक सदैव सचेत हुनु जरुरी छ । जसका लागि उमेर समूह अनुसारका बालबालिकाको रुचि, मनोविज्ञान र भाषिक स्तरका वारेमा एउटा लेखकले पर्याप्त ज्ञान हासिल गरेको हनुपर्दछ । यस आलेखमा यिनै पक्षमा केन्द्रित भई केही छलफल र वैचारिक मन्थन गर्ने काम गरिएको छ । साथै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुको जगमा उभिएर विमर्श पनि गरिएको छ ।
एउटा बालक जो ६ वर्षको छ । सामान्य अवस्थामा निश्चय नै उसले स्वाद लिईलिई क्रम मिलाएर पढ्ने क्षमता ग्रहण गरिसकेको हुन्छ । उसमा प्रतिस्पर्धा गर्न चाहने, हतारिने र घरभन्दा बढी विद्यालयमा रमाउने स्वभाव हुन्छ । यिनीहरु प्रश्न गर्न पाउँदा रमाउँछन् । साथै अरुसँग घुम्न पाउँदा र अरुले खानेकुरा उपहार दिएमा दंग पर्ने स्वभावका हुन्छन् । साथै असफलतामा छिट्टै विचलित भई हाल्ने र रोइ हाल्ने यिनीहरुको स्वभाव हुन्छ । अनुसन्धानले के देखाएको छ भने यो उमेरका नानीहरु यी पक्षलाई विचार गरी लेखिएको रचना स्वाद लिएर पढ्छन् । जसले गर्दा उनीहरुको भाषिक स्तरमा पनि राम्रो टेवा पुग्दछ र उनीहरुको व्यक्तित्वको विकासमा पनि यसले मद्घत गर्दछ । यस खालको स्वभाव र व्यवहारको अवस्था एउटा बच्चामा ७ र आठ वर्षमा पनि रहिरहन्छ । यसमा उमेरको उकालो लाग्ने चरणसँगै समूहमा मिलेर काम गर्न रुचाउँने, रमाइलो गर्न, पटपट बोल्न, गल्ति सुधार्दै अघि बढ्न र शब्दभण्डार ह्वात्तै बढाउँन सक्नेजस्ता खूबी एंव स्वभावहरु थपिदै जान्छन् । साथै खेलकुदमा रमाउँने, समानता, सबैप्रति समान व्यवहार, भेदभाव मननपराउँने आदि जस्ता स्वभाव पनि रहन्छन् । त्यसैले एउटा लेखकले यो पक्ष पनि बुझ्नु आवश्यक छ ।
त्यस्तै जब ऊ ९ वर्षको पुग्छ । ऊ ज्ञान प्रति जिज्ञासु हुन थाल्छ । जानकारीमूलक खेलमा रुचि राख्छ । साथै निष्पक्ष व्यवहार खोज्ने र गुनासो गर्ने बानीको विकास हुन्छ । यस अलावा उसमा कुरालाई बढाइचढाइ गरेर तन्काएर भन्दा रमाइलो मान्ने, ठूलामाथि खोट लगाउँने र घुर्की लगाउँने आदि जस्तो स्वभावको विकास हुन्छ । यस अलावा आफ्नै लिंगको (केटा भए केटासँग र केटी भए केटीसँग) मिलेर राम्रो मित्रता राखेर काम गर्दा दंग पर्ने हुन्छ ।
त्यसपछि दश वर्षको उमेरमा परिवारका सदस्य र साथीभाइबीच रमाउँने र सही कुरा गर्न मनपराउँने साथै धेरै किसिमका किताब पढ्न रुचि राख्ने र आफ्ना कुरा अरुलाई भन्न रुचि राख्ने एवं हँसिलो भएर प्रस्तुत हुनेखालको हुन्छन् । अरुको कुरा सुन्ने, लगनशीलता र सहयोगी भावनाको विकास पनि यो उमेरका प्रमुख पक्ष हुन् ।
यसरी बढ्दै जब बालक ११ वर्षको हुन्छ तब उसमा तर्क गर्ने क्षमता बढ्दै जान्छ । ऊ फरक फरक कोणबाट समाजलाई हेर्न थाल्छ । आफूमै मग्न भई रमाउँने र निर्णय गर्दा अलमलिने दोधारमा पर्ने, नयाँ नयाँ काम गर्न रुचाउँने स्वभावको हुन्छ । यो उमेरमा उसमा अरुलाई ठाडठाडै भन्ने मुडी स्वभाव पनि रहन्छ । त्यसपछि १२ वर्षमा टेक्दा उसमा प्रौढको जस्तै व्यक्तित्व देखा पर्न थाल्छ । ऊ विवेकी र समझदार बन्छ । अर्काको दुःख मर्म बुझ्ने तथा साथीभाइलाई बढी महत्व दिने स्वभाव विकसित हुन्छ । यही उमेरको क्रममा केटीहरुमा रजस्वला हुने गर्दछ । केटाकेटी दुवै क्रमशः किशोरावस्थातिर लम्कन्छन् ।
साँच्चै भन्नुपर्दा यहाँ चर्चा गरिएको उमेरका विषयमा, यिनको शारिरीक, मनोवैज्ञानिक, भाषिक र सामाजिक विकासका वारेमा एउटा लेखकले जान्नुपर्ने, बुझ्नुपर्ने र थाहा पाउनुपर्ने कुराहरु थुप्रै छन् । यी त झलक मात्र हुन् । तथापि भविष्यमा एउटा असल पाठक र एउटा सफल व्यक्तित्व निर्माण भएको नागरिक तयार गर्नका लागि यी उमेरका वारेका प्रस्तुत गरिएका कुरालाई गमेर लेख्न सक्दा पनि पठनीय र रुचिकर बालसाहित्य तयार हुने धरातल निर्माण हुनसक्ने कुरामा विमति राख्न सकिन्न ।
 यस अलावा हामी कहाँ अहिले लेखिदै आएको साहित्य अधिकांशतः यी उमेर समूहका लागि बढी लक्षित पाइएकाले पनि यी उमेर समूहवारे थोरबहुत चर्चा गर्नु यहाँनिर उपर्युक्त हो भन्ने लागेको छ ।
अब यो भन्दा तल्लो उमेर समूह वा प्रारम्भिक तहको बालबालिकाका लागि लेख्न ती बालबालिकाको रुचि र स्वभावारे केही चर्चा गरौं । नेपालको सन्दर्भमा भन्दा हालसम्म प्रकाशित बालसाहित्यमध्ये दुई प्रतिशतमात्र यो उमेर समूका लागि लक्षित पुस्तकहरु प्रकाशित भएका छन् भन्ने एक अनुसन्धानले देखाएको छ । जुन दुःखलाग्दो अवस्था हो । यो उमेर समूहका लागि चर्को रंग रहेका चित्र भएका किताबहरु हुनुहँुदैन, सादा वा सालिन रंग हुनुपर्छ । किताबलाई यताउति चलाएर सार्न मिल्ने, किताबको ढोका खोल्न मिल्ने र किताब छुँदा विभिन्न आवाज आउने जस्ता रमाइला प्रकृतिका उनीहरुका दैनिक क्रियाकलापसँग सम्बन्धित शब्द थोरै भएका वा शब्द नै नभएका क्रियाकला मात्र भएका पनि पुस्तक हुन सक्छन् । जन्मेदेखि २ वर्षसम्मको बच्चालाई पुस्तकप्रति लगाव पैदा गर्न वा किताब छ है भनेर स्मृतिमा राख्ने हेतुले मात्र मोटा गाता भएका यस्ता किताबको तयारी उत्तम मानिन्छ ।
त्यस्तै २ देखि ४ वर्षसम्मको बच्चाको लागि भाषाको सिकाइको सुरुको चरणका वर्णमालाको ज्ञान दिने, लय हालेर गाउदै र भन्दै सुनाउन सकिनेखालका र विपरीतार्थी शब्द एवं ५ शब्दको वाक्य संरचनामा तयार भएका चित्रकथाहरु पनि उनीहरुका लागि रुचिकर हुन्छन् । जसमा उनीहरुलाई नयाँ पात्रको अनौठो दैनिकीवारे हाउभाउसहित प्रस्तुत गरिदा त्यो प्रभावकारी हुन्छ ।
त्यस्तै ४ देखि ६ वर्षका नानीको हकमा छोटा, रमाइला र लय मिलेका कथा र कविताका पुस्तक मनपराउँछन् । के कसरी चल्छ भन्ने जस्ता जिज्ञासा मेटाउने सामग्री तर्फ पनि यिनीहरुको ध्यान बिस्तारै बढ्दै जान्छ । त्यसैले सरल, लयात्मक जानकारी किताबहरु यो उमेरका लागि बढी रुचिकर हुन्छन् भन्ने अनुसन्धानले देखाएको छ ।
अब अन्त्यमा अलिकति बालसाहित्य लेखनको वर्तमान अवस्थावारे टिप्पणी गरौं । अहिले हरेक महिना ५ वटाको हाराहारीमा वार्षिक ६० वटा जति बालसाहित्यका किताब छापिइरहेको अवस्था छ । तर ती किताब लेखनको अवस्था निकै अलमलको छ । त्यो यस अर्थमा कि लेखक कुन उमेर समूहका लागि लेखिरहेको छु भन्ने कुरामा स्पष्ट हुन सकिरहेको देखिन्न । यस अवस्थालाई दृष्टिगत गरी अब यहाँनिर यही विषयको सेरोफेरोमा केही चर्चा गर्नु उचित हुन्छ भन्ने ठानेको छु ।
लेखक साथी, तपाईंले लेख्नुभएको किताब सुरुवात एउटा उमेर समूहको, बीचको अर्को उमेर समूहको र अन्त्य अर्को उमेर समूहको रुचिसँग मिल्दो भइदियो भने के त्यो किताब पठनीय बन्ला त ? त्यो पक्कै पनि बन्दैन । त्यसैले सुरुको चरणमा लेखकले अरु कुनै कुरामा अलमल नगरी यी कुरामा ध्यान दिनु आवश्यक देखिन्छ ।
लेखनको सन्दर्भमा सर्वप्रथम आफूले लेख्ने चरणलाई तीन चरणको चश्माबाट हेर्ने, जन्मदेखि ५ वर्ष, ६ देखि ९ वर्ष र १० देखि १३ वर्ष । हाम्रो परिवेशमा यो उचित हुन्छ भन्ने मलाई लाग्दछ । यसरी हेरिसकेपछि तपाईंले तयार गर्नुभएको योजनालाई यो आलेखमा रहेका कुराहरुले थोरबहुत सहयोग गर्न सक्छन् । तथापि तपाईंले लेख्ने निर्णय गर्नुभएको उमेर समूहका बालबालिकाको गतिविधिको प्रत्यक्ष अवलोकन, उनीहरुसँग गफ गर्न, खेल्न र समय बिताउँन निकाल्ने समय र संसर्गले तपाईंलाई थप धेरै कुराहरुका सम्बन्धमा निर्देशित गर्नेछ । जसले गर्दा तपाईंले उत्कृष्ट बालसाहित्य सिर्जना गर्न सक्नु हुनेछ । जसका लागि तपाईंलाई अग्रिम शुभकामना छ । 
                            मिति २०६८ फागुन ९