Wednesday, August 1, 2012

१२ जना बालबालिकाहरुलाई नगद पुरस्कासहित पुरस्कृत


कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको दसौं वार्षिकोत्सवका अवसरमा आज आयोजित एक समारोहमा प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले १२ जना बालबालिकाहरुलाई नगद पुरस्कासहित पुरस्कृत गर्नुभयो । पुरस्कृत हुने बालप्रतिभाहरूमा गायनमा उत्कृष्ट दृष्टिबिहिन बालिका सरिता अधिकारी       (पोखरा), महेश भट्टराई (भक्तपुर), सुयोशा आचार्य (पर्वत), धर्मेन्द्र पाण्डे (मकवानपुर), टीकाराज मानन्धर (रामेछाप), अनिता सेढाईं (धादिङ), नारायण थापा (काभ्रे), सरिता मुखिया (रौतहट), प्रनिशा शर्मा (नुवाकोट) र हिमाँशु निभा कुँवर, अमेरिका रहेका छन् । दृष्टिबिहिन बालिका सरिता अर्याल (सुर्खेत) र राहुल भूजेल  (काठमाडौं) गरी दुईजनाले प्रारम्भ बालप्रतिभा पुरस्कार प्राप्त गरेका छन् ।
कोषका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा सम्पन्न यस कार्यक्रम प्रयास नेपाल, प्रारम्भ बालप्रतिभा पुरस्कार कोष र कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रयास नेपालका अध्यक्ष मनी जोशी, प्याब्सन अध्यक्ष डा. बाबुराम पोखरेल र लिटिल मिस वल्र्ड विपश्वी पौडेलले संयुक्त रुपमा नगद पुरस्कार सहित पुरस्कृत गरेका थिए । उत्कृष्ट प्रतिभा अधिकारीलाई दश हजार नगद पुरस्कार अन्य पुरस्कृत सबैलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । लेखक कार्तिकेय घिमिरेको लेखकस्वमा स्थापित यस कोषले यस समारोहमा कार्तिकेय घिमिरेका कृतिहरु प्रकाशन गरी नियमित रुपमा लेखकस्व प्रदान गरी कोषको स्थायित्व र निरन्तरतामा विशेष योगदान गर्नुहुने प्रकाशकहरु ऐरावती प्रकाशन (बागबजार, काठमाडौं) र साझा प्रकाशन  (पुल्चोक, ललितपुर) लाई र मुद्रणमा निरन्तर सहयोग गर्ने मुद्रक परिचित छापाखानालाई पनि कार्यक्रममा सम्मान गरेको थियो । कार्यक्रम संचालन र धन्यवाद ज्ञापन महेश पौड्यालले गरेका थिए । पौड्याल प्रारम्भ बालप्रतिभा कोषका संस्थापक पनि हुन् ।
कार्यक्रममा साहित्यकारहरु रन्जुश्री पराजुली, ललिता दोषी, छायादत्त न्यौपाने, ऋषिराम पाण्डे, गरिमा जोशी, विनिषा महर्जन, युवराज रायमाझी, रामदेव पाण्डे, अन्जना राजवंशी, सुमिक्षा खड्का, पुष्पा अधिकारी र दयाराम थापाले रचना सुनाएका थिए भने दृष्टिबिहिन संगीत शिक्षक रमेश सुवेदीको संगीतमा पुरस्कृत दृष्टिबिहिन बालिकाहरुले उत्कृष्ट गीत प्रस्तुत गरेका थिए । समारोहमा बालप्रतिभा सुदीक्षा डंगोलले भायोलिन बजाएर उत्कृष्ट प्रतिभा प्रस्तुत गरेकी थिइन् ।   काठमाडौं, असार १४ ।

Monday, July 30, 2012

केटाकेटी मिडियामा बाललेखकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

केटाकेटी मिडिया (जमल, काठमाडौं) मा आज बाललेखकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साहित्य सिर्जना गरी पुस्तक प्रकाशन गरिसकेका र साहित्य लेखनमा रमाइरहेका गरी २३ जना बालप्रतिभाहरू सहभागी भएका थिए ।
सहभागी प्रतिभामा पुस्तक लेख्ने लेखक प्रतिभाका साथै सिनेमामा अभिनय गरेका, गायनमा एल्बम प्रकाशन गरिसकेका र रेडियो एवम् टिभीमा कार्यक्रम संचालन गरिरहेकालगायत विविध विधाका प्रतिभाशाली बालबालिकाहरू सहभागी भएका थिए ।
कार्यक्रममा अमेरिकामा अध्ययनरत ११ वर्षिय लेखक हिमांशु निभा कुँवर, सेन्टमेरिजमा कक्षा ५ मा अध्ययनरत लेखिका ज्वाला ढकाल भिएस निकेतनको १२ वर्षका लेखक महेश भट्टराई नोबेल एकेडेमीका १३ वर्षीया नियात्राकार र कवि सुशान्तमान सिंह मास्केसँग सहभागी साथीहरूले अन्तरक्रिया गरेका थिए ।
साथै कार्यक्रममा गायनमा उत्कृष्ट प्रतिभाहरू गरिमा ज्ञवाली (कक्षा ६, टाइम्स टेलिक स्कुल) र वर्षा अधिकारी (कक्षा ६, क्रिएटिभ एकेडेमी, कीर्तिपुर) ले प्रतिभा प्रस्तुत गरेका थिए, साथै सहभागी प्रतिभाहरूले एकअर्कालाई साथी बनाउने र आआफ्नो घरमा दराजभरि किताब राखेर पुस्तकालय बनाई जतिसक्यो बढी साहित्यका किताब पढ्ने निर्णय गरेका थिए ।
बालबालिकाहरू कस्तो साहित्य पढ्न चाहन्छन् र उनीहरू कस्तो लेखिरहेका छन् र किन लेख्छन् भन्ने कुरामा आधारित रही बालबालिकाको कुरा सुनौं भन्ने आब्हानका साथ आयोजित यस अन्तरक्रियामा लेखक नयनराज पाण्डेले आफ्नो बाल्यकालको सम्झना बालबालिकाहरूलाई रोचक ढंगले सुनाउनु भएको थियो । साथै कार्यक्रममा लेखकहरू कृष्ण अविरल, नीलम कार्की निहारिका, शर्मिला घिमिरे, कार्तिकेय र राधा पौडेलले पनि आफ्नो लेखनको अनुभव र बाल्यकालिन सम्झना सुनाउनु भएको थियो । लेखक महेश पौड्यालको संयोजनमा भएको यस कार्यक्रममा पौड्यालले साहित्य लेखनवारे प्रशिक्षण दिनुका साथै कथा पनि सुनाउनु भएको थियो । उहाँले लेखन कला र भाषाको लालित्य विकास गर्नका लागि पहिलो अनिवार्य शर्त भनेकै धेरै भन्दा धेरै पुस्तकहरू पढ्ने बानी बसाल्नु हो भन्नुभएको थियो ।