Monday, August 2, 2010

Childhood Days Memories of Senior Social Worker Prof. Dr. Achyut Mani Acharya प्राध्यापक डाक्टर अच्युतमणिको बाल्यकाल

प्रा.डा. अच्युतमणि आचार्य वरिष्ठ बालरोग विशेषज्ञ हुनुहुन्छ। उहाँ समाजसेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । आचार्यले बालहितकारी, चिकित्सा, शिक्षा र धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्न विभिन्न पुरस्कारहरुको पनि स्थापना गर्नुभएको छ। दुःखी गरीब बालबालिकाहरुलाई विभिन्न अनाथालमा गई निशुल्क उपचार गरिदिने र औषधीसमेत सहयोग गर्ने डा. आचार्य चिकित्सा क्षेत्रका आदरणीय व्यक्तित्व हुनुहुन्छ । यस अंकमा डा. आचार्यसँग उहाँको बाल्यकालका बारेमा कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकाल सुनाउँदै भन्नुहुन्छ :
म काठमाडौंको चावहिलमा वि.सं. १९९८ सालमा पिता विष्णुमणि र माता गोपी आचार्यको पुत्रका रुपमा जन्मिएको हुँ । म जन्मेको दुइ वर्षमा नै मेरो आमा बित्नुभयो । त्यसैले म मेरी हजुरआमासँगै खेल्दै, रमाउँदै र पढ्दै हुर्किएको हुँ । म सानो छँदा चाबहिल एउटा सानो गाउँ थियो । पशुपतिनाथको उत्तर-पश्चिम रुखै-रुख र मकैबारीले भरिएको हरियाली थियो । चाबहिल गणेशथानदेखि लिएर अहिलेको चाबहिल चोकसम्म भने सडकको दुबै छेउमा घर बजार थियो । त्यो चोकमा ठूलो खरीको बोट थियो । खरीको बोटमुनि दुइजना कपाल खौरने हजामहरु बस्दथे । उनीहरुले निकै दुखाएर कपाल खौरन्थे ।
त्यसबेला त्यो सानो गाउँमा पनि आवश्यक पर्ने कामका लागि सबै किसिमका कार्य गर्ने एक दुइ परिवार थिए । जसले गर्दा समुदायमा सजिलो हुन्थ्यो । चावहिलमा त्यहीका बासिन्दाले नै कपाल काट्ने, लुगा धुने, काठको काम गर्ने र इटा बनाउने, छाता बनाउने, जुत्ता बनाउने, लुगा सिउने, मासु काट्ने र भाँडा बनाउने लगायत हात हेर्ने र विरामी हेर्ने आदि जस्ता सबै काम गर्थे । सबै पेसाका मान्छेहरु हाम्रो समुदायमा थिए । जीवन सजिलो र रमाइलो थियो । कुनै काम परे हजुरआमाले फलानोको घरमा गएर भन न गर्दिहाल्छन् नि भन्नुहुन्थ्यो । पेट दुखे वैद्यकोमा जाने, लुगा च्यातिए दमिनी भाउजुकोमा जाने गर्थें । यसरी सबैजनाले मलाई जुनसुकै काम पर्दा सहयोग गर्थे । सहयोग गर्ने मानिसहरुले हाम्रो घरमा आएर चामल, मकै र पैसा लिएर जानुहुन्थ्यो । यसरी समाजमा मानिसहरु एक आपसमा मिलेर बसेका थिए ।
चाबहिल गाउँभरिका मान्छेहरुले एकअर्कालाई चिन्दथे । एक आपसमा मित्रता थियो । मलाई लाग्छ त्यतिबेलाको समाज एकदमै रमाइलो थियो । अलि ठूलो भएर म पद्मोदय स्कुल नजाउन्जेलसम्म सानै छँदा मेरी आमा बित्नुभएको कुराले मलाई केही पिर पारेको थिएन । त्यतिबेलासम्म पनि मलाई मेरो बुवा को हो भन्ने कुरा थाहा थिएन । किनकि मैले बुवालाई हेर्नै पाएको थिइन । म सँधै हजुरआमाको वरिपरि नै घुमिरहेको हुन्थें ।
मेरी हजुरआमा कलिलै उमेरमा विधवा हुनुभएको थियो । उहाँको संसार भनेको नै गौरीघाट, गुहेश्वरी र पशुपति नै थियो । उहाँ विहान चारबजे रुमाल धोती लिएर गौरीघाटमा नुहाउन जानुहुन्थ्यो । उहाँले सधै मलाई विहान चार बजे उठाएर जाने बेलामा ढोका लगाएर बस् है बाबु भन्नुहुन्थ्यो । म उठ्न अल्छी गरें भने उहाँले मलाई संस्कृतको काग चेस्टा स्वान निन्धा भन्ने श्लोकको गीत गाएर उठाउनुहुन्थ्यो । हजुरआमा बिहान उठेर अँध्यारोमा हिड्नुभएको म टुलुटुलु हेरिरहन्थे । उहाँ अँध्यारोमा नदेखिने हुनुभएपछि म ढोका बन्द गरेर कहिले पढ्थें भने कहिले भुसुक्कै निदाउँथें । म सुतें भने चाहिं मेरी दिदीले दिउँसो हजुरआमालाई सुटुक्क पोल लाइदिन्थिन् । त्यसैले म धेरै जसो विहान उठेर पढ्ने गर्थे । अहिले पनि बिहान उठेर पढ्दा मलाई मज्जा लाग्छ ।
हाम्रो घरमा जोडिएको आधा घर पल्लापट्टी बाजे र बज्यैको घर थियो । उहाँहरु मेरो हजुरआमाको जेठाजु जेठानी रे । तर, मलाई आफ्नै बाजे बज्यै जस्तो गरी माया गर्दथे । किनकि उहाँहरु मलाई सम्झनाको लागि बारबार आमा नभएको टुहुरो र बाबुले पनि अर्की बिहे गरेपछि बनेको अनाथको रुपमा हेर्नुहुन्थ्यो र माया दर्शाउँनुहुन्थ्यो । हुन पनि हाम्रो घरमा मलाई सुत्ने-पढ्ने कोठा थिएन । हजुरआमालाई थकाई लागेको दिन वा फूपु माइत बस्न आएको बेला मलाई शरण दिने काम पल्लापट्टी बाजे-बज्यैको नै थियो । यसैकारण मेरो सानो बेला वल्लो घर कि पल्लो घर थियो । वास्तवमा खाने बस्ने ठेगान थिएन । जत्ता गए पनि भयो । जसको नाति भइदिए पनि भयो । पल्लापट्टी बाजे बज्यैको छोराछोरी कोही नभएकाले मलाई पाल्दा केटाकेटी पाल्ने उहाँहरुको रहर केही हदसम्म पूरा भएको अनुभूति गर्नुहुन्थ्यो होला । उहाँहरुको संर्सगले मलाई पनि फाइदै पुगेको थियो । केटाकेटी अवस्थामा काम गर्नेसँग चिसो छिडीमा सुत्न पनि परेन । भोको बस्न पनि परेन । सबभन्दा ठूलो फाइदा भनेको मेरो मन किताब र अध्ययनतिर गयो । किनभने पल्लापट्टी बाजे दरबार हाई स्कुलमा वेदको पण्डित अध्यापक हुनुहुन्थ्यो । उहाँका धेरै पुस्तकहरु थिए र धेरै चेलाहरु पनि थिए । यसैले पनि होला मलाई पनि पढ्ने र पढाउने पट्टी अभिरुचि बढ्यो र म प्राध्यापक पनि बन्न सकें ।
मेरो पहिलो विद्यालय पशुपति गौशालाको सत्तल हो । मेरो कक्षा चाहीं भन्डारखाल पट्टी थियो । म सँगै पढ्ने साथीमा मेरी दिदी र अर्का साथी निबु ढुंगाना थिए । अरु साथीलाइ मैले याद गर्न सकिन । निबु अहिले क्यानडामा छन् ।
त्यो विद्यालयमा विहान जान त गइन्थ्यो । बेलुका वा दिउसो आउन परे नसकिने । बनकालीको जंगल अँध्यारो थियो । दिउसै काग कराइरहन्थे र कोही पनि एक्लै दुक्लै गौशालाबाट चावहिल आउँदैनथे, पत्याउनुहुन्छ ? यो सत्य हो । यसैकारण दोस्रो वर्षमा म स्कुल सरें । कुटुबहाल लामपोखरी चावहिलको विनायक स्कुलमा । यो स्कुलमा मैले तीनवर्ष बिताएँ । जुन कक्षामा पनि पहिलो-पहिलो भएकाले त्यस स्कुलको हेडमास्टरको सिफारिसमा म मेरो अन्तिम स्कुल पुतलीसडकको पद्मोदय हाइस्कुलमा भर्ना हुन पुगें । त्यसबेला काठमाडौंमा दरवार स्कुल, जुद्धोदय र पद्मोदय मात्र हाईस्कुल थिए । चावहिलको गाउँबाट शहरमा पढ्न आउने भनेको भाग्यै थियो । उतिबेला मोटर, बस, रिक्सा आदि थिएनन् ।
मोहन शमशेर महाराज सिंह दरबारमा बस्नुहुन्थ्यो । हामी उहाँको ढोका अगाडि जान पाउँदैनथ्यौ । दरवार हेर्न पाइदैनथ्यो । पुतलीसडकबाट थापाथली जानलाई महाराजको बाटो मुनि सुरुङ जस्तो बनाइएको थियो । जहाँबाट हामी हिड्ने गर्दथ्यौ । त्यो बेला तीन चारवटा गाडी मात्र थिए । सबैजना गाडी हेर्न र गाडीको धुवा खान सडकमा कुदाकुद गर्थे ।
एक वर्ष पद्मोदयमा बिताउँदा नबिताउँदै २००९ साल आयो । त्यसपछि धेरै परिवर्तन आयो । हामीले राजा हिड्ने बाटोमा हिड्न मात्रै पाएनौ । राजा सुत्ने खोपी पनि हेर्न जान पायौं । राजा त्रिभुवनले सिंहदरबार हेर्न र्सवसाधारणलाई खुल्ला गरिदिए । पद्मोदयका विद्यार्थी सबैले एसियाको सबैभन्दा ठूलो घर, चोक, बगैचा चहारे र संसारकै सबैभन्दा ठूलो परेड ग्राउण्ड टुडिखेलमा दौडन पुगे । टुडिखेल पनि दुइवटा थिए । ठूलो टुडिखेल रानीपोखरीदेखि अहिलेको रंगशालाको उत्तरपट्टीको बारसम्म र सानो टुडिखेल डाँडामुनि कमलको फूल फुल्ने पोखरीदेखि त्रिपुरेश्वरसम्म । त्यसबेला बिहान नौ बजे भात खाई हिड्दै पद्मोदय स्कुल आएका केटाकेटी साँझ छ बजेसम्म फुटबल खेली सानो टुडिखेलबाट हिड्दै बेलुका सातबजे चावहिल घर पुग्दथ्यौ । त्यसरी खेलेको र हिडेको कारणले होला आज ६८ वर्ष लाग्ने बेलातिर पनि मेरा खुट्टा बलिया छन् ।
यसरी मैले जीवनमा थुप्रै दुःख गरेर पढें । डाक्टर बन्न पनि सफल भएँ । तर मलाई आजकल के लाग्छ भने मान्छे जो जे-जे बने पनि, जुन पेशामा लागे पनि, साँच्चैको सुख पाउँन त दिनदुःखी मान्छेहरुको नै सेवा गर्नुपर्ने रहेछ । त्यसमा नै भगवानको पूजा र जीवनको ठूलो सुख लुकेको हुँदोरहेछ । अहिले म त्यही सुख भोगिरहेको छु ।