Wednesday, January 13, 2010

साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि Child Story of Kartikeya Ghimire


आमा ! आमा !! आमा !!!
प्रथा चिच्याउँदै आमा छेउमा आइपुगिन् । उनले खुसी हुँदै आमालाई आफ्नो जाँचको मार्कसिट देखाउँदै भनिन् - थाहा छ नि आमा, यसपालि त म पूरै कक्षामा फस्ट भए नि !
छोरीको यति राम्रो कुरा सुनेर आमाले उनलाई नजिक डाकेर गम्लङ् अंगालो मार्नु भयो । प्रथाले खुसी हुँदै आमाको गालामा चप्प म्वाईं खाइन् ।
फेरि आमा पहिला जस्तै गरी बैठक कोठाको कुनामा बसेर पुराना लुगा पट्याउँदै बोरामा हाल्न थाल्नु भयो ।
होइन आमा यो के गर्न लाग्नु भएको ? पुराना लुगा बेचेर चटपटे खाने हो कि क्या हो ? - प्रथाले आमालाई जिस्काउँदै मस्किदै भनिन् ।
खै छोड, आफू त पुराना लुगा लगेर पानी पुरी खाइन्छ - आमाले पनि मुसुक्क हाँस्दै भन्नुभयो ।
एकछिन पछि आमा छोरी दुबै एक अर्कालाई हेरेर गलल्ल हाँसे ।
त्यसपछि प्रथा आमाको नजिकै आएर बसिन् । आमाले कराउँदै भन्नु भयो - नानी, तिमी उता जाऊ । यो लुगाको धूलोले रुघा लाग्छ । मैले यो थन्क्याएपछि सँगै बसूँला ।
यति भनेर आमा फतफताउँदै कराउँनु भयो - होइन यी मेरा दुइजना छोराछोरीका पनि कति धेरै लुगा हो । दुइ बोरा पो भयो ।
आमा खुइया गर्दै उठ्नु भयो र अलि परका तीन चारवटा लुगा टिप्न थाल्नु भयो ।
प्रथालाई टाढा बसेर आमाको गन्थन सुन्दा-सुन्दा दिक्क लाग्यो । उनले टेलिभिजन छेउमै रहेको रेडियो खोलिन् । रेडियोमा मै छोरी सुन्दरी कसरी भरुँ पानी बोलको गीत बजिरहेको थियो । प्रथा कम्मर मर्काइ-मर्काइ नाच्न थालिन् । आमा छोरीको ढङ्ग नमिलेको नाच हेरेर मरी-मरी खितित्त हाँस्न थाल्नु भयो ।
होइन हो मेरी पुतलीलाई पनि के सुर चढ्छ हँ - खै बाटो छोड त नानी, म तलको स्टोर कोठामा यो पुरानो लुगाको बोरा थन्क्याएर आउँछु ।
आमा एउटा बोरा बोकेर कोठाबाट बाहिर निस्कनुभयो । प्रथा गीतको तालमा रमाइरहिन् । अचानक गीत बन्द भयो र समाचारको टङ् टङ् धून आयो । एकछिनपछि रेडियोमा समाचार सुरु भयो । प्रथाले त्यति वास्ता नगरी समाचार अलिअलि सुनिरहेकी हुन्छिन् । तर अचानक आफ्नो घर छेउको चौरको नाम आएर त्यहाँ एउटी सातवर्षीय बालिका जाडोमा न्यानो लुगा लगाउँन नपाएर मरिन् भन्ने समाचार सुनेपछि उनी झसङ्ग हुन्छिन् । त्यसपछि उनले निकै ध्यान दिएर त्यो पूरै समाचार सुन्छिन् ।
समाचार सकिएपछि प्रथा थचक्क सोफामा बस्छिन् । उनको मनमा ओहो ! न्यानो लुगा लगाउँन नपाएर सानी बहिनी मरिन् भन्ने कुरा खेलिरहन्छ ।

आमा अझै फर्कनुभएको छैन ।
प्रथा आमाले पुरानो भनेर फाल्नलाई थुपार्नु भएको एक बोरा लुगा हेरेर आफू आफैसँग बोल्छिन् - मेरो घरमा यति धेरै बाक्लो लुगा छ । तर त्यो बहिनीसँग एउटा पनि बाक्लो लुगा नभएर ऊ मरी त ? - यति भन्नासाथ प्रथा गम्भीर हुन्छिन् । उनी हतार-हतार बोराभित्र हात छिराएर बाक्ला, मोटा र न्याना लुगाहरु निकाल्न थाल्छिन् । उनी तीनचार थरी मोटा लुगा सुइटर, ज्याकेट एकातिर थुपारेर त्यही भूँइमा थचक्क बस्छिन् । अनि उनी एक्लै कराउँदै भन्छिन् - होइन, यस्तो किन भएको हो - म पनि केटी । ती बहिनी पनि केटी । मसँग लुगा फालाफाल छ । तर ती बहिनीसँग एक जोर पनि छैन ।

यस्तो किन भयो ? - अचानक प्रथा जोडले चिच्याउँदै कराइन् । आमा, दौडदै कोठाभित्र छिर्नु भयो । उहाँले अचम्म मानेर प्रथालाई हेर्नु भयो । फेरि उहाँको ध्यान पुराना लुगातिर गयो । आफूले मिलाएर बोरामा हालेको लुगा छोरीले निकालेकी देखेर उहाँले रिसाउँदै भन्नुभयो - होइन, नानी तँ किन मात्तिएकी ? यो लुगा किन निकालेकी हँ ?

प्रथा आमाको कुरा सुनेको नसुन्यै गर्छिन् । उनको आँखा अचानक बुवाले बिहान ल्याउँनुभएको नागरिक पत्रिकामा पर्छ । त्यो पत्रिकामा रेडियोमा समाचारमा भनिएको बहिनीको फोटो छापिएको हुन्छ । फोटोमा माघको जाडोमा च्यातिएको फ्रक र कट्टु गन्जी मात्र लगाएर कठांग्रीएर मरेकी सानी बहिनीको फोटो हुन्छ । त्यो देखेर प्रथा एकदमै ब्याकुल हुन्छिन् । समाचारको अन्तिम लाइनले उनको मन एकदमै छटपटाउँछ । त्यो अन्तिम लाइनमा ती सानी बहिनी विद्यालय पोशाक नभएर स्कुल नगएकी, उसकी आमा बिरामी भएर तीनदिनदेखि भोकै र छिमेकी महिलाले काममात्र लगाएर आमा बिरामी भएपछि खान नदिएको भन्ने कुराहरु हुन्छन् ।

त्यो समाचार पढेपछि प्रथा झन दुःखी हुन्छिन् । उनको मन धरधरी रुन्छ । त्यही बेला आमाले ल छोरी हलुवा खाऊ भनेर हलुवा ल्याएर दिनुहुन्छ ।

प्रथा घरी हलुवालाई त घरी भूँइमा फिजाइएका पुराना कपडालाई हेर्न थाल्छिन् । एकछिनपछि खै के सोचेर हो प्रथा जुरुक्क उठि्छन् । उनी फेरि बोराबाट पुराना मोटा लुगा निकाल्न थाल्छिन् ।

आमालाई छोरीको यो चाला देखेर एकदमै रिस उठ्छ । उहाँले ए काली तैले मलाई हेपेकी भनेर दुइ झापड हिर्काउँनु हुन्छ ।

प्रथा आँखाभरि आँशु पारेर राता-राता आँखा पार्दै ठिङ्ग उभिन्छिन् । उनी जोडले चिच्याउँदै कराउँछिन् - हो, मैले तपाईंलाई हेपेकी हुँ । आज बिहान मेरै टोलकी एउटी बहिनी मोटो न्यानो लुगा लगाउँन नपाएर मरी । उसले तीनदिन देखि केही खान पाएकी थिइन । तपाईं किन यसरी पुराना लुगा घरमै सढाउँनु हुन्छ आमा ? किन आमा, किन तपाईं मेरै छोराछोरीले मात्र खाउँन्, मेरैले मात्र लाउँन् भनेर अरुलाई वास्ता गर्नुहुन्न ? अस्ति बिहान त्यो चिम्सी बहिनीकी आमाले खाना माग्दा तपाईंले किन दिनुभएन ? यति धेरै पुराना नाना उसकी छोरीलाई किन दिनुभएन ? समाचारको छिमेकी तपाईं नै हो आमा ?

आमाले ट्वाल्ल परेर हेरिरहिन् ।

प्रथाले झन जोडले घुक्क घुक्क रुँदै भनी - आमा, के गरीबहरु मान्छे होइनन् र ? (के गरिबहरु मान्छे होइनन् र ? उनी रेडियो भूइँमा फाल्दै कराइन् )

अनि प्रथा समाचार छापिएको पत्रिकालाई गम्लंग अंगालो मारेर ठिङ्ग उभिन् र आमातिर फर्किएर भनिन् - म आजदेखि एउटा बाचा गर्छु । त्यसपछि उनले आफ्नो खल्तीबाट पाँच रुपियाँको नोट निकालिन् र त्यो नोट समाचारमा छापिएको फोटोमाथि राखेर उनले भनिन् - साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि । म अबदेखि सँधै हरेक दिन आफ्नो खाजा खर्चबाट पाँच रुपियाँ जोगाएर तिमी जस्तै गरिब साथीहरुलाई सहयोग गर्नेछु ।
के तपाईं यसको लागि तयार हुनुहुन्छ ? - प्रथाले पत्रिका पढिरहेका साथीहरुलाई सोधिन् ।
त्यसपछि अचानक, प्लिज नाईं नभन्नुस है, बरु मसँगै उता हेर्नुस् भनेर उनी सडकतिर हेर्न लागिन् ।
सडकमा बिहान जाडोले कठाङ्ग्रीएर मरेकी बहिनीको लास बोकेर मानिसहरु रामराम सत्ते हो भन्दै हिडिरहेका थिए ।

Monday, January 11, 2010

वर्तमान सन्दर्भमा बालसाहित्य लेखकका चुनौती र समाज परिवर्तनको सवाल By Kartikeya Ghimire


अहिले विश्व विज्ञान र प्रविधिको तीब्रतर विकासँगै अगाडि बढिरहेको छ । विज्ञानका क्षेत्रमा भएका ठूला-ठूला आविष्कारहरुको चमचमाउँदो चमक र प्रविधिको उच्चतम् उपयोगले गर्दा आज मानव जातिले यसको भरपूर आनन्द लिइरहेको अवस्था छ । एकातिर मानिसका हरेक दैनन्दिन क्रियाकलापमा ठूलो परिवर्तन देखा परिरहेको छ भने अर्कोतिर मानिसको यस दिमाखी विजय, अर्थोपार्जन गर्ने रस्साकस्सी र शक्ति प्रदर्शनको प्रतिस्पर्धाको होडबाजीका कारणले प्रकृति नै संकटमा परेको छ । अर्थात् पृथ्वी, पानी, आकाश र हिमालमा नै यसको असरको संकेतका काला बादलहरु मडारिन थालिसकेका छन् । कार्बनको कहालिलाग्दो दुस्चक्रमा प्रकृतिको पद्घति नै डगमगाउँदो अवस्थामा पुग्ने संकेत देखिन थालेको छ । 

वास्तवमा यो समय हरेक प्राणीका लागि चुनौतीपूर्ण समय हो । यो बेला यो पृथ्वीमा आश्रित हरेक प्राणीको जीवन संघर्षमय अवस्थामा गुज्रिरहेको छ । वातावरणमा प्रतिकूल अवस्था सिर्जना गर्न उद्यत ठूला र धनी राष्ट्रहरुको कारण यो समस्या आगामी दिनमा अझ बढी घनीभूत हुँदै भयाबह बन्दै जाने खतरा छ ।

यसरी आफू र आफ्नो लागि मात्र चिन्ता गर्नुपर्ने समूहभन्दा अलिकति माथि रही एउटा सर्जक भएर आफ्नो रचनामार्फत् असंख्य जनतामा चेतना, मनोरन्जन र सन्देश फैलाउँने दायित्व बोकेको लेखकका लागि यस यस अवस्थामा निकै चुनौतीहरु छन् । त्यसमा पनि भर्खरै समाज र विश्वलाई बुझ्दै गरेका अनि आफूलाई पनि चिन्दै र चिनाउँदै गरेका साना बालबालिकाहरुका लागि बालसाहित्य लेख्ने लेखकका लागि भने यो समयको लेखन अझ बढी सशक्त चुनौतीपूर्ण छ । किनकि ठूला पाठक त आफूले पढ्ने कुरा फिल्टर गरेर लिनसक्ने सामर्थ्य राख्छन् । उनीहरुले थुप्रै आरोह अवरोहहरुलाई भोगिसकेका हुन्छन् । अनुभव पनि उनीहरुको ठूलो अस्त्र हुन्छ । तर बालबालिकाहरुको हकमा यो पृथ्वीका हरेक काम कुरा नयाँ हुन्छन् । अर्थात् उनीहरु जीवनको प्रारम्भमा हुन्छन् । भर्खरै-भर्खरै भोगिरहेका हुन्छन् यी भीडका मानिसहरुलाई, अनि अनि छातीमै कुल्चिएर अघि बढ्ने यी विकास र परिवर्तनका तीब्रताहरुलाई पनि ।

हो, यहाँनिर प्रश्न उठ्नसक्छ । आज बढ्दै गएको अशान्ति र अनेकखालका उताचढावका बीचबाट एउटा सौहार्दपूर्ण बालापन हामीले हाम्रा बालबालिकाहरुलाई कसरी दिन सक्छौं ? कसरी दिने हामीले उनीहरुलाई सुन्दर बालापन ब्यतित गर्ने मौका ? प्रश्न यो जति सहज छ । त्यतिकै जटिल पनि छ । हरेक कुरामा बयस्कहरु हावि भएको हाम्रो समाजमा बालबालिकाका

इच्छा, आकांक्षा र कामनाहरु पनि निरुत्तर हुने गरेका छन् । त्यसैले यो रिक्तता, यो शून्यता र यो जटिल जडतालाई चिर्दै अघि बढ्नका लागि बालबालिकाहरुले सँधै एउटा कुशल बालसाहित्य लेखकको छत्रछायाँ खोजिरहेका हुन्छन् । उनीहरुलाई कल्पनाको उडान गराउँने, सोच्ने शक्तिमा भरपूर विकास गराउँने र समाजको यथार्थसँग साक्षात्कार गराउँने जस्ता यी विविधखालका साहित्य उनीहरुका घरको ढोका-ढोकामै पुर्याइनुपर्छ ।

     आज हाम्रो देशमा कृति प्रकाशनको कोणबाट हेर्दा बालसाहित्यको स्थिति एकदमै राम्रो छ । गैर सरकारी संस्थाहरुले गाउँगाउँमा स्थापना गरेका पुस्तकालयमा किताबहरु किनेर पुर्याइरहेका छन् । त्यसैले यो बेला बालसाहित्यका पुस्तक प्रकाशनको बाढी आइरहेको छ । तर अधिकांश प्रबाशकले चिनेजानेका र नजिककाहरुको किताब छापेर बालसाहित्यमा लगानी बढाइरहेका छन् । एकदमै थोरै लेखकहरुमात्र यस क्षेत्रमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि टिकेका र भविष्यमा पनि यही क्षेत्रमा समर्पित हुन्छु भनेर लागेका देखिन्छन् । अहिलेका लेखकहरुको ठूलो हूल अहिले आएको चमकधमकलाई हेरेर यो मौसमको बाजा बजाएर थोरबहुत नाम र दाम कमाउँने ध्याउँन्नमा बालसाहित्य लेखक बन्न आतुर भएर यस क्षेत्रमा हाम्फालेका छन् ।

अतः धेरै भन्दा धेरै लेखक बालसाहित्यमा सहभागी भएको वि.सं.२०६६ को आजको मितिसम्मको यो सुखद सन्दर्भमा यो पुस्तक प्रकाशनको बाढीलाई नराम्रो भन्ने पक्षमा म छैन । किनकि जुन-जुन लेखकका कृतिहरु जो-जो प्रकाशकहरुले छापे ती सबैले लगानी उठ्ने वातावरण देखेर नै छापे । यसबाट लेखक र प्रकाशक दुबैलाई फाइदा भयो । फाइदा हुनु यो आफैमा सकारात्मक पक्ष हो । यसको हामीले स्वागत गर्नैपर्छ । किनकि ती पुस्तक गाउँगाउँका पुस्तकालयमा पुगेपछि ती क्षेत्रका बालबालिकाले पढ्नेछन् र तिनलाई पनि फाइदा पुग्नेछ । त्यसैले यो सबैको फाइदाको कुरा हुन पुगेको छ । जुन सँधै स्वागतयोग्य रहिरहने छ ।

तर यहाँनिर उठाउँन खोजिएको मुख्य विषय के हो भने पुस्तक प्रकाशनको सशक्त माहोल बन्दै गएको बालसाहित्य लेखकहरुका लागि वर्तमान सन्दर्भमा केही महत्वपूर्ण चुनौतीहरु छन् । तिनलाई सामना गर्न सक्ने दक्षता उनीहरुले हासिल गर्नसक्नुपर्छ । त्यसका लागि अब चुनौतीका पहाडहरुबारे नै बहस केन्द्रीत गरौं ।

पहिलो चुनौती बदलिदो विश्वको विषयगत विविधताको पक्ष हो । आज हरेक दिन, हरेक क्षण नयाँ-नयाँ क्षेत्रमा विकासहरु भइरहेका छन् । त्यसैले अब बालसाहित्य लेखकले परिवर्तनको त्यो तीब्र गतिलाई बुझ्न सक्नुपर्छ । ऊ परिवर्तन प्रति चनाखो हुनुपर्छ र उसले हरेक परिवर्तन र विकास जसले बालबालिकासँग प्रत्यक्ष सरोकार राख्छन् त्यस्ता विषयको जानकारी राख्नुपर्छ । यो उसको लागि चानचुने चुनौती होइन ।

त्यस्तै अर्को महत्वपूर्ण चुनौती पाठकको विविधताको चुनौती हो । हामी माझमा एकातिर शहरका उच्चतम् प्रविधिमा रहमाइरहेका बालबालिकाहरु छन् । अर्कोतिर शहरमै पनि मूलतः सरकारी विद्यालयमा पढिरहेका प्रविधिको सुविधाबाट बन्चित बालबालिका छन् । र, अर्को थरी बालबलिकाहरु छन् ती भने भूगोलको विकटता, राज्यको बेवास्ता र गरिबी दुस्चक्र अनि हरेक कुराको अवसरबाट बिल्कुलै बन्चित छन् । आफूलाई बालसाहित्य लेखक हुँ भन्नेले यी सबैथरी बालबालिकाको निम्ति लेख्न सक्नुपर्छ । यो ठूलो चुनौतीपूर्ण कुरा हो । यसको सामना गर्नसक्ने सिप र धैर्य हाम्रा लेखकहरुमा हुनु जरुरी छ ।

हो, आज वास्तवमै विविध भूगोल, समाज र विविध सन्दर्भमा बाँचिरहेका बालबालिकाहरुबीचको भावनात्मक एकता कमजोर छ । यहाँ एकथरी बालबालिकहरु वर्षभरि घिउँ भातमा रमाउँछन् भने अर्कोथरि वर्षको तीन महिना चमलको भात खान पाउँन पनि पुकारा गरिरहेका छन् र झन अर्कोथरी त चामलको भात खान त के खाना खान नै छाक गन्नुपर्ने स्थितिमा छन् । खै हामी बालसाहित्य लेखकले लेख्न सकेको यो भावनात्मक दुरीलाई कम गर्दै यी सबैलाई जोड्नेखालको बालसाहित्य ? हामी आफूलाई बालसाहित्य लेखक हौं भन्नेहरुले । यो हाम्रा लागि अर्को ठूलो र अहम् चुनौती हो ।

अस्ति भर्खरको कुरा हो, मेरी छिमेकी दिदीले आफ्ना दुइजना छोराछोरीको पुराना लुगा भनेर तीन बोरा पोको पारेर मेरै अगाडि स्टोर कोठामा थन्क्याइन् । ती थन्किदै गरेका हरेक लुगा मैले हेरेको थिएँ । यहाँ जाडोमा आङ्ग ढाक्न नपाएर बालबालिकाहरु मरिरहेका छन् । अब ती लुगा मुसाले खाएर त्यतिकै सड्ने भए । किनकि ती दिदीलाई लुगा दिने संस्था खोजिरहने झन्झट गर्ने फुर्सद छैन । खै हामीले लेखेको बालसाहित्य पढेका ती नानीहरुले ममी हाम्रो नाना ती गरिब बालबालिकालाई दिनुपर्छ भनेर भन्न सकेको ?

  त्यसैले अब हामीलाई हिमाल, पहाड र तराईका बालबालिकालाई यस्तै मुद्दामा एकाकार बनाएर जोड्नेखालको बालसाहित्य चाहिएको छ । यहाँ जापानका बालबालिकाहरु आएर सहयोग गर्छन् तर हाम्रा आफ्नै बालबालिकाहरु संवेदनहीन भएर बसेका छन् । यो पक्षलाई भत्काउँन अब हामीले सामाजिक संवेगका बालसाहित्यहरुको बाढी ल्याउँनुपर्छ । आफ्नै समाजभित्रका हरेक बालबालिकाको संवेग पढ्न हामी बयस्क बालसाहित्य लेखकले त सकेका छैनौं भने कलिला बालसाथीहर्रुलई किन दोष दिने ?

 यहाँ आफूलाई बालसाहितयको विज्ञ हौं भन्नेहरु आज लेखकको हाँकका कुरा

 गर्छन् । तर उनीहरु छेपारो, बिरालो र खरायोको बालसाहित्य लेख्छन् र उच्चतम् प्रविधिमा रमाइरहेका सात प्रतिशत बालबालिकालाई मात्र समेटेर लेख्छन् । अरुको डलर खाएर जलवायु परिवर्तन र ल्यापटपका कुरा लेख्छन् ।

यस्तै एउटा लेखक म पनि हुँला, तपाईं पनि हुनुहोला, ऊ पनि होला र उनी पनि होलिन् । यस्तो अवस्थामा मैले लेखेको बालसाहित्यले मेरो समाज परिवर्तन गर्नसक्ने सामर्थ्य राख्छ, भोलि सुन्दर देश निर्माण गर्छ भनेर मैले कसरी विश्वास राख्ने ? भो म विश्वास गर्न सक्दिन । त्यसैले यो अविश्वासलाई जित्दै, अविश्वासको कालो बादल हटाउँनेखालको बालसाहित्य लेख्नु नै म, तपाईं,

तिमी, हजूर सबै बालसाहित्य लेखकहरुको आजको चुनौती हो । के तपाईं यसका लागि तयार हुनुहुन्छ ?

यदि तयार हुनुहुन्छ भने बालसाहित्य सम्मेलनको नारा जलवायु परिवर्तन र यसको असर होइन समाज परिवर्तनका लागि बालसाहित्य लेखक र बालबालिकाको भूमिका भन्ने मूल नारा लिएर अगाडि बढ्नुस् ।

त्यसैमा सक्रमणकालीन नेपालको कल्याण छ ।

जय बालसाहित्य ।

विजयी बालबालिका ।।