Friday, June 11, 2010

पाल्पामा ९ जना असहाय बालबालिकालाई सहयोग

जिल्ला बाल कल्याण समिति पाल्पाले विपन्न तथा असाहय ९ जना बालबालिकाकालाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । जिल्ला बाल कल्याण अधिकारी चमेली देवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले उनीहरुलाई सहयोग गर्ने निर्णय गरेको हो ।
हुमिन गाविस २ का बहुअपांगत भएका शैलेस लोहनी र अप्सरा लोहनीलाई ४ हजार, रुखबाट लोटेर हात खुट्टा भाचिएर उपचार गराइरहनु भएका गल्धा ९ का १० वर्षीय देवी सरा सारुलाई २ हजार र यम्घा ९ का डोलराज सापकोटाका ३ जना सन्तानलाई २ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको हो । यस्तै बुवाआमा पत्ता नलागेको बौघा पोखराथोक गाविस-७ का संझना रसाली, सोही गाविस ६ का बाबुआमा दुवैको मृत्यु भएका मनीषा विक तथा बाबुको मृत्यु भएको र आमाको अकैसँग विह भएका मिलन रानालाई आठ आठ सयका दरले छात्रवृत्ति स्वरुप रकम सहयोग गरिएको बाल अधिकार अधिकृत हरि बहादुर सारुले बताए । आर्थिक वर्ष २०६६/०६७ मा जिल्ला बाल कल्याण समिति पाल्पाले ३२ जना बालबालिकाहरुलाई आर्थिक तथा छात्रवृत्ति सहयोग गरेको अधिकृत सारुले जानकारी गराएका छन् ।
- By Hari Saru CRO palpa
पाल्पा, जेष्ठ २८, २०६७

Thursday, June 10, 2010

प्रारम्भ बालप्रतिभा पुरस्कार गायक राहुल भूजेललाई प्रदान गरिने

बालबालिकाको अधिकारका लागि विगत सात वर्षदेखि कार्यरत पत्रकार एवं साहित्यकार महेश पौड्याल 'प्रारम्भ' द्घारा आफ्नो विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित लेखरचनाहरु र हालसम्म प्रकाशित २३ वटा पुस्तकहरुको रोयल्टी रकम संकलन गरी स्थापित प्रारम्भ बालप्रतिभा पुरस्कार यस वर्ष २०६७ का लागि ब्राइट फ्युचर स्कुल, नैकाप, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय प्रतिभाशाली गायक राहुल भूजेललाई प्रदान गरिने भएको छ ।
सुमधुर स्वरका धनी राहुल उत्कृष्ट संगीत सिर्जना गर्न पनि सिपालु विलक्षण प्रतिभा हुन् । निकट भविष्यमा उनको एकल गीति एल्बम ब्राइट स्टार बजारमा आउँन लागेको छ ।
हरेक पटक गायन प्रतियोगिताहरुमा भाग लिन जाँदा कहिल्यै दोस्रो नहुने, सँधै प्रथम हुने गायक राहुलका एल्बममा रहेका आठवटा गीतमध्ये दुइवटा गीतहरुको म्युजिक भिडियोको छायाङ्कन पनि भइरहेको छ ।
राहुल गायकीमा राम्रो प्रतिभावान् छात्र भएकोले भविष्यमा उनी राम्रो गायक बन्नेछन् भन्ने कुरामा आशावादी छन् ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल मोहनकुमार कार्की ।
राहुलले परिवार र विद्यालयमासमेत राम्रो सांगितिक वातावरण पाएकाले उनी सफल हुँदै अघि बढेको विश्वास ब्यक्त गर्छन् राहुलका बुवा संगीतकार राम भूजेल ।
प्रारम्भ कोषको आज बसेको निर्णायक समितिको बैठकले यस वर्ष प्रारम्भिक रुपमा छनोट गरेका २३ जना बालप्रतिभाहरुमध्येबाट राहुललाई सर्वोत्कृष्ट ठहर गरी यो पुरस्कारबाट नगद रु ५ हजार १ रुपियाँ र सम्मान पत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । निर्णायक समितिको संयोजकमा कार्तिकेय घिमिरे र सदस्यहरुमा कोषका संस्थापक महेश पौड्याल प्रारम्भ र रमेश शर्मा रहनुभएको थियो ।
पुरस्कार निकट भविष्यमै एक विशेष समारोहको आयोजना गरी प्रदान गरिने बताइएको छ ।