Tuesday, September 1, 2020

बालदिवसको उपहार

 


(बालकथा)

- कार्तिकेय

“म पनि जाने ! हजुरआमासँग मिठो पापा छ ।”

सानो बाबु राजु रुँदै करायो । 

गुरुआमाले ट्वाल्ल पर्दै गुरुबालाई हेरिन् ।

“हुन्न हुन्न ! यस्तो बेला मनले होइन बुद्धिले काम गर्नुपर्छ बुढी । त्यहाँ आमा बाको घर वरिपरि १० जना कोरोना रोगी भेटिइसके रे । फेरि यो त्यहाँ गएपछि हजुरबालाई लिएर गाउँ घुम्न र त्यहाँका केटाकेटीसँग खेल्न जान्छ । भो भो आज नलैजाऊ !” गुरुबाले थचक्क गुन्द्रीमा बस्दै भने ।

राजु हिक्कहिक्क गर्दै बेस्सरी रोयो । गुरुआमाले उसलाई गम्लङ्ग अँगालो मारिन् । आमाको अँगालोमा बाँधिएपछि राजुको रुवाई विस्तारै कम हुँदै गयो ।

“म मेरो सानो बाबुलाई छोडेर कतै जान्न ।” गुरुआमाले उसलाई माया गर्दै भनिन् । यसो भन्दै गर्दा उनको आँखा आँसुले टम्म भरियो । सारीको सप्कोले आँसु पुछ्दै उनी छोरोलाई हेर्दै सोच्न थालिन्,

“यो केटो हजुरबुवा हजुरआमा भनेपछि हिरिक्कै गर्छ । सानो ४ वर्ष पुगेदेखि नै भो अब म तिमीलाई बोक्न सक्दिन । हजुरआमा घर नजाने भनेकी थिएँ ! तर त्यति सानो बच्चो यति लामो बाटो आउँछ र जाने गर्छ भन्दा छिमेकीहरु छक्क पर्थे । कहिलेकाहीं त म आफैँ पनि छक्क पर्थेँ । म विद्यालयमा पढाउन छिर्ने बेला बुवाले आएर लैजानुहुन्थ्यो । ऊ दिनभरि हजुरबुवा र हजुरआमासँग खेल्थ्यो । बेलुका फर्केर आएपछि जब ऊ सुत्थ्यो । अनि म उसका नरम खुट्टा हेरेर आफैँ टोलाउँथेँ । आँखा रसाउँथ्यो । अनि ती साना गोडामा तेल लगाइदिन्थेँ । तर समय नि कस्तो आयो ? हिँड छोरा म बोकेरै लान्छु भन्ने शक्ति पनि ममा छैन ! ऊलाई त के छ जाऊँ भन्यो भने बतोडले कुदेरै मामाघर पुग्न खोज्छ । अब त ७ वर्षको भइसक्यो । सानोदेखि दौडिएको बाटो भएर होला । अब यो २ घन्टाको हिँडाई पनि उसलाई केही लाग्नै छोडिसक्यो । तर, यस्तो बेला मलाई ... ?” गुरुआमा एक्लै बडबडाइन् ।

उनले अकस्मात् सम्झिन्, “ओहो, आज त हामी समुदायको कोटा शिक्षकलाई तलब लिन बोलाएका छन् । यस्तो महामारीको बेला भनेको बेला गएन भने फेरि कहिले पाइने हो ठेगान छैन । घरमा नि खर्चको निकै खाचो छ । निजी विद्यालयमा पढाउने गुरुबाले पनि तलब नपाएको आधा वर्ष नि पुगिसक्यो ।”

गुरुआमा मनमनै आफैँसग कुरा गर्दै ओछ्यानबाट विस्तारै उठिन् । छोरोलाई सानो ओढ्ने ओढाइदिइन् । छोरो फुसफुस सुतिरहेको थियो ।

“गुरुबा अब यो सुत्यो । साँझ मात्र ब्युझिन्छ होला । म विद्यालय गएर बजारसम्म पुगेर आउँछु है ! ब्युँझियो भने यसो पाठो देखाउँदै घुमाउनुहोला ।” गुरुआमाले दुःखी स्वरमा भनिन् ।

“भो दुःखी नहोऊ गुरुआमा ! सब ठिक हुन्छ । विस्तारै केटोलाई म घरमै रमाउने बानी पार्छु । ढुक्क भएर जाऊ । सकभर छिट्टै आउनू नि है !” गुरुबाले आफ्नी प्यारी बुढी (गुरुआमा) को पिठ्युँ थपथपाउँदै भने ।

त्यसपछि गुरुआमा फिस्स हाँसिन् । अनि फटाफट बाटो लागिन् । विद्यालय पुग्न छिटोछिटो गर्दा नि दुई घन्टा हिँड्नुपथ्र्यो । उकाली, ओराली गर्दै क्यानखोला तरेपछि बल्लतल्ल विद्यालय पुगिन्थ्यो । विद्यालयबाट केही पर उनको माइती घर थियो ।

गुरुआमा एकसुरमा सकभर छिटो हिँड्दै थिइन् । कान्लामाथिबाट काइँला दाइ अकस्मात् कराए – “मास्टरनी नानी, अलि होस गर्दै जानू है । तल खोल्सामा बाघ छ रे । केटाकेटीहरु हल्लीखल्ली गर्दैछन् ।”

गुरुआमा टक्क अडिइन् । उनको मुटुको चाल बढ्यो ।

“होइन, आज त म विद्यालय पुग्नैपर्छ ।” उनले मनमनै अठोट गरिन् । अनि फटाफट बाटो लागिन् । अलिपर पुगेपछि एक हुल केटाकेटी दौडिँदै आए ।

“के भयो ? किन कुँदेका तिमेरु ?” गुरुआमाले सोधिन् ।

“पर खोल्सामा बाघ छ बाघ !” साहिला काकाकी छोरी रीताले स्वाँ स्वाँ गर्दै भनी ।

“अनि कता गयो त ?” गुरुआमाले उत्सुक हुँदै सोधिन् ।

“एकछिन अघिसम्म त्यही थियो । तर अहिले कता हरायो कता ।” रीताले डराउँदै भनी ।

“लौ तिमीहरु घर गएर बस ! छिटो जाओ ।” गुरुआमाले भनिन् ।

“गुरुआमा, तपाईं चाहिँ त्यतै जाने र ?” अर्जुनले सोध्यो । ऊ गुरुआमाको विद्यार्थी थियो । ७ कक्षामा एक वर्ष पढाएकी थिइन् ।

“आज मैले जानैपर्छ बाबु !” गुरुआमाले दृढ स्वरमा भनिन् ।

केटाकेटीहरु गुरुआमा जानुभएको हेरेर एकछिन टोलाए । अनि  घरतिर दौडिए । 

गुरुआमा सकभर छिटो बाटो लाग्दै थिइन् । केटाकेटीले भनेको खोल्सो आउन थालेपछि उनी अलि चनाखो भइन्, डराइन । मुटु छिटोछिटो धड्कन थाल्यो । उनले यसो चियाएर तलतिर खोल्सोमा हेरिन् । आम्मै, बाघको टिलिक्क टल्किएको शरीरको पछाडिको भाग देखियो । ओहो, बाघ त शिकार खानमा मस्त थियो । गुरुआमाले बाघले के खाएको हो भन्ने कुरा नजिक गएर हेर्न सकिनन् । उनी फटाफट हिँडिन् । र, जति सक्यो छिटो गरेर विद्यालय पुगिन् ।

हस्याङफस्याङ गर्दै विद्यालय आइपुगेकी सम्झना गुरुआमालाई हेर्दै लेखापाल गुरुले हाँस्दै सोधे – “होइन, सय मिटरको दौड जितेर आइयो कि क्या हो ?”

“आज बाटामा बाघ भेटियो । शिकार खाँदै थियो !” गुरुआमाले असिनपसिन हुँदै भनिन् ।

“आम्मै ! हो र भन्या ? लौ एकछिन आराम गर्नुस् ! मुख पनि धुनुस् ।” लेखापाल गुरुले भने ।

एकछिन आराम गरेपछि गुरुआमाको डर कम भयो ।

“ज्यानै माया मारेर पढाउन आउनुभएको छ हाम्री गुरुआमा !” लेखापाल गुरुले पैसा बुझेर दस्तखत गर्दै गरेकी गुरुआमालाई हेर्दै भने ।

“यसपालि मासिक तलबको आधा रकम मात्र दिन सकेका छौँ है !” पैसा गन्दै गरेकी सम्झना गुरुआमालाई हेर्दै लेखापाल गुरुले सानो स्वरमा भने ।

गुरुआमाले खुइया गर्दै भनिन् – “ठिकै छ, समुदायको कोटाको शिक्षिका भएपछि यस्तै हो । धन्य ! तिन महिनाको रहेछ र नुन तेल चाहिँ किन्न पुग्ने भो !”

 पैसा लिएपछि गुरुआमा बिदा भएर हरिवन बजारतिर लागिन् । उनले बजार पुगेर नुनतेल किनिन् । घर फर्कने बेलामा शशी इन्टरप्राइजेज पसल आयो । पसल अगाडि एउटी आमा र बच्चा बात मार्दै गरेका थिए । उनले एकछिन रोकिएर हेरिन् । आफ्नो छोरालाई झलझली सम्झिन् ।

“बालदिवस नि आयो । त्यो केटोलाई केही उपहार लगिदिनु परो ! के लगिदिऊ होला ?” गुरुआमाले पसल अगाडि उभिएर सामान हेर्दै सोचिन् ।

“दिदी, केही चाहिने हो भने भनिहाल्नुस् है । लकडाउनले पसल खोलेको छैन । म त सामान छुटेर लिन आएको मात्र हुँ ।” पसलका मालिकले भने ।

एकछिन विचार गरेर गुरुआमाले छोरा र बुवाआमाका लागि उपहार किनिन् । अनि पोको बोकेर फटाफट बाटो लागिन् ।

बाटामा मानिसहरु चौतारीमा थकाइ मारिहरेका थिए । तर, त्यो दिन अरु बेलाको जस्तो भिड थिएन । हरिवन बजारमा पनि फाट्टफुट्ट मान्छे हिँडेका देखिन्थे । औषधी र किराना पसलहरु मात्र खुलेका थिए ।

“नमस्ते, गुरुआमा !” राजेशले नमस्कार गर्दै भन्यो ।

आफूले कक्षा ९ मा पढाएको विद्यार्थी युवा भइसकेको देखेर गुरुआमाले एकछिन छक्क परेर हेर्दै भनिन् – “नमस्ते ! अहिले के गर्दैछौ बाबु ?”

“गाडी र मोटर बनाउन सिक्ने विषय पढ्दैछु गुरुआमा !” राजेशले खुसी हुँदै भन्यो ।

 “लौ त बाबु, टाढा पुग्नु छ, म लागे है भन्दै गुरुआमा बाटो लागिन् । राजेश पनि नमस्ते गरेर आफ्नो घरभित्र छिर्यो ।

त्यो दिन बाटामा पनि त्यति धेरै मान्छेहरु थिएनन् । बाटो खाली थियो । गुरुआमा यताउति नहेर्दै सकभर छिटो अगाडि बढ्दै थिइन् ।

 “ऐ दिदी ! कफ्र्यु लागेको दिन पनि कता हिँडिरहेको हँ ?” परबाट एउटा प्रहरी कराउँदै दौडिएर आयो ।

नजिक आइपुगेपछि त्यो प्रहरीले नमस्ते ! गुरुआमा भन्दै दुई हात जोडेर नमस्ते ग र्यो ।

 “चिन्नुभयो मिस ? म सन्तबहादुर !” प्रहरीले भन्यो ।

“ऐ सन्त ! तिमी प्रहरी भइसक्यौ बाबु ? माफ गर है बाबु ! मैले त हतारमा  कफ्र्युको कुरा नै भुसुक्कै बिर्सेछु ।” गुरुआमाले भनिन् ।

“होइन ठिक छ गुरुआमा ! मान्छेले रोग नसारुन् भनेर मात्र हो ! मलाई क्षमा गर्नु है गुरुआमा ! मैले नचिनेर कराएँ ।” सन्तबहादुले नम्र स्वरमा भन्यो ।

“होइन बाबु, ठिक छ ! त्यो तिम्रो काम गरेका हौ नि !” गुरुआमाले भनिन् ।

छुट्टिने बेलामा सन्तले गुरुआमालई दुई हात जोडेर नमस्ते ग र्यो ।

“तिम्रो भलो होस् बाबु !” गुरुआमाले आशीर्वाद दिँदै भनिन् ।

छिटोछिटो हिँड्दै गरेकी गुरुआमाको मनमा रोइरहेको छोराको याद आयो ।

“केटो उठ्यो कि ? रुँदै पो छ कि ?” यही कुरा सोच्दै गुरुआमा सकेसम्म छिटो हिँडिन् ।

माइती घर पुगेर बुवाआमालाई भेटेपछि गुरुआमा खुसी भइन् । एकछिन आराम गरेर एक लोटा पानी खाइन् । उनले सबै कुरा सम्झाउँदै बुवालाई एउटा प्याकेट दिइन् । नाति विरामी भएको खबरले बुढाबुढी हजुरबुवा र हजुरआमा दुःखी भए ।

“नानी यो तँ नि लगा र नाति र ज्वाइँलाई नि दिनू है ! बाहिर हिँड्दा यो लगाएर मात्र हिँडेस् छोरी !” आमाले ३ वटा मास्क गुरुआमाको हातमा राखिदिइन् ।

गुरुआमाले मास्क हेर्दै भनिन् – “यहाँ पनि कोरोना आइसक्यो है आमा !”

“तेरो काकालाई नि भयो छोरी ! बैंकमा काम गर्ने बुहारीलाई सुरुमा भयो रे !” बुवाले दिक्क मान्दै भने ।

“अहिले त छरछिमेकमा नि आफ्नै घरमा बसौँ । कसैको घरमा पाहुना नजाऔँ ! भन्दै गाउँपालिकाले माइकमा भन्दै हिँडेको छ नानी !” आमाले दुःखी स्वरमा भनिन् ।

बुवाआमाको कुरा सुनेर गुरुआमालाई दुःख लाग्यो ।

“अब यो केही समयको लागि मात्र हो रे ! केही महिना घरभित्रै अनुशासनमा बसेपछि सब ठिक हुन्छ रे !” उनले बुवाआमातिर फर्किएर हाँस्दै भनिन् ।

पढेकी छोरीको कुरा सुनेर बुवाआमाको चाउरिएको गाला उज्यालो देखियो ।

“लौ बुवा म घर पुगेर सल्लाहा गरे अनुसार नै गर्छु नि है ! तपाईंले कुरा त बुझ्नुभयो नि ?” छुट्टिने बेलामा गुरुआमाले सोधिन् ।

“बुझेँ नानी बुझेँ !” बुवाले भने ।

“मैले नि बुझेँ नानी ! म नि सम्झाई हाल्छु नि । यो नाति केटोलाई दिनु है !” आमाले एउटा खानेकुराको बट्टा दिँदै भनिन् ।

त्यसपछि गुरुआमा हतारहतार घरतिर लागिन् । बाटाभरि उनको मनमा घरबाट हिँड्दा रोएर सुतेको छोराको सम्झना झलझली आइरह्यो । उकाली–ओराली विद्यालय, घर र बजार गर्दागर्दै ५ घन्टा बढी हिँडेको ज्यान फत्रक गलिसकेको थियो । त्यसमाथि साथमा नुन तेल र सामानको पोको पनि थियो । घर पुग्नै लाग्दा काकाले कान्लामाथिबाट बिहानको जसैगरी कराउँदै भने – “नानी ! आज खोल्सामा बाघले एउटा मृग मारेर खाएछ नि है !”

काकाको कुराले गुरुआमाले बिहान जाँदा शिकार खाँदै गरेको बाघ सम्झिइन् । छोरो भेट्ने हतारोले उनले त त्यो खोल्साको बाघ पनि बिर्सेकी रहिछिन् । उनी बल्ल झसङ्ग भइन् । उनी घर पुग्दा झमक्क साँझ परिसकेको थियो ।

“बाबु उठ्यो त गुरुबा ?” उनले पोको पिढिमा राख्दै सोधिन् ।

“उठेर निकैबेर रोयो । अनि बल्ल सुत्यो । केही गर्दा नि मानेन है आज त ! केटोलाई हनहनी ज्वरो आएको छ ! के गर्ने होला ?” गुरुबाले नियाउरो अनुहार लाएर भने ।

“होइन सब ठिक हुन्छ । आफूले जानेको केही न केही उपाय गर्नुपर्छ ।” गुरुआमाले आँसु झार्दै भनिन् ।

त्यसपछि गुरुआमाले बाहिरबाट आएको कपडा फेरिन् । हातमुख साबुन पानीले राम्ररी धोइन् । अनि उनी चिसो पानी र टालो बोकेर छोरा छेउमा गइन् ।

“तिमी यो उपायतिर लाग । म खाना बनाउँछु है !” छोरालाई पानी पट्टी लगाउँदै गरेकी बुढीलाई पुलुक्क हेर्दै गुरुबाले भने ।

“हस् हुन्छ । तरकारीमा सागको रस खाने है !” गुरुआमाले भनिन् ।

गुरुआमाको उपाय पानीपट्टी रहेछ भन्ने कुरा बुझेर गुरु बा भान्सामा गए । यता गुरुआमाले छोरालाई विस्तारै सुमसुम्याइन् । बच्चाको जिउ हनहनी तातेको थियो । निधारमा चिसो भएपछि छोराले पुलुक्क हे¥यो । आमालाई अगाडि देखेपछि ऊ आमासँग टाँसियो । अनि आमासँग अँगालो मारेर निदायो ।

भोलिपल्ट बिहान बच्चाको ज्वरो अलि कम भएको थियो । गुरुआमाले उता घरका बुवालाई सम्झाए जस्तै आफ्ना बुढा गुरुबालाई पनि सबै कुरा बेलुका नै सम्झाइसकेकी थिइन् ।

 हुन्छ, कोसिस गरौँ न त ! गुरुबाले आशा गर्दै भनेका थिए ।

“लौ लौ बाबु ! हजुरबा हजुरआमा आउनुभयो ।” गुरुबाले बेलुका गुरुआमाले भने अनुसार छोरो उठ्ने बित्तिकै कराउँदै भने ।

केटो छक्क प¥यो । खै कहाँ हुनुहुन्छ भन्दै ऊ आमा भएतिर दौडियो ।

गुरुआमा एउटा टेबुलमाथि हजुरबा र हजुरआमाको हाँसिरहेको फोटो राखेर खाटमा बसिरहेकी थिइन् । उनी छेउमा पुगेर त्यो सानो केटो राजुले पनि एकटकसँग हजुरबुवा हजुरआमालाई हे र्यो  

“खोई त हजुरबा आमा ?” राजुले सोध्यो ।

त्यसपछि गुरुआमाले एउटा सानो प्याकेट राजुको हातमा दिँदै भनिन् – “यो मेरो सानो छोरालाई बालदिवसको उपहार !”

राजुले बिस्तारै सानो बक्सा खोल्यो ।

“यो कसरी खेल्ने हो आमा ?” उसले सामान हेर्दै सोध्यो ।

त्यसपछि गुरुआमाले खेलौनामा भएका नम्बर थिचिन् । अनि उसको अगाडि राखिदिइन् ।

“को हो ? मेरो नाति राजुले फोन गरेको हो ?”

अचानक हजुरआमाको साँच्चैको आवाज सुनियो ।

राजुले एकपटक टेबुलमा राखिएको हजुरआमाको फोटोलाई हे¥यो । अनि फेरि त्यो खेलौनालाई हे र्यो ।

“के गर्दैछ मेरो सानो बाबु ?” हजुरआमाले पठाइदिएको पुस्टकारी खायो ।

हजुरआमाले सोधिन् ।

त्यसपछि बल्ल सानेले च्याप्प त्यो खेलौना आमाको हातबाट लियो । अनि हातमा बोकेर आमाले गरेजस्तै गरी बोल्दै भन्यो – “मैले मिठो पापा खाएँ आहा आमा ! ”

उताबाट हजुरबाको बोली पनि सुनियो – “मिठो पापा अर्को पनि देऊ त छोरी  सानेलाई ! ”

अनि बल्ल राजु खुसी हुँदै फोनमा बोल्न थाल्यो । त्यो दिन राजुले हजुरबुवा र हजुरआमासँग धेरैबेर मजाले कुरा ग¥यो । अनि ऊ टन्न दुध भात खाएर सुत्यो । उसको ज्वरो पनि धेरै कम भइसकेको थियो ।

त्यसपछि गुरुबाले आफ्नो धेरैअघि बिग्रेको मोबाइल फोनलाई दिक्क मानेर हेर्दै नयाँ फोनलाई लोभ गर्दै हेरे ।

 “यो तिमीलाई पनि हो बुढा ! यो उन्नाइस सयको फोनले आज अमूल्य काम ग र्यो ।”

गुरुआमाले खुसी हुँदै भनिन् ।

“त्यो त हो बुढी !” गुरुबाले मुसुक्क हाँस्दै भने ।

त्यसपछि सानो छोरोलाई दुईतिरबाट अँगालो मारेर गुरुबा र गुरुआमा मस्तसँग सुते ।

पोस्ट बक्स २५८५९, काठमाडौँ, नेपाल ।


Monday, August 31, 2020

चिडिमारको कथा

–   कार्तिकेय

“गे माई चिडिमार पकडगेल (ऐ आमा, चिडिमार समातियो ।)”

रामजनमले दौडिँदै आएर भन्यो ।

जानकीका कान ठाडा भए । उसले बाउले चिडिमारलाई बेचेको चरालाई झलझली सम्झी । 

 “कति राम्रो छ !” उसले मनमनै भनी ।

 “कहाँ छ भाइ कहाँ छ ? त्यलाई कहाँ राखेको छ ?” जानकीले उत्सुक हुँदै सोधी ।

“पुलिसको घरमा राखेको छ ! त्यहाँ बुवा पनि छ ।” रामजनमले आतिँदै भन्यो ।

त्यसपछि जानकी यताउति कतै नहेरी सीधै पुलिस चौकीतिर दौडी । 

बाटामा उसलाई हस्याङफस्याङ गर्दै दौडेको देखेर सबैले अचम्म मानेर हेरे । ऊ भने केही वास्ता नगरी चौकीमा पुगेर मात्र टक्क अडिई ।

उसले चनाखो भएर चरा कतातिर छ भनेर चारैतिर हेरी ।

“पुलिसले कुखुरालाई जस्तै चरालाई नि पकाएर खायो जस्तो छ !” उसले खिन्न भएर मनमनै भनी ।

एकछिनपछि “होइन हजुर होइन !” भन्दै कोही कराएको आवाज सुनियो ।

जानकी सुटुक्क झ्यालछेउमा गई । उसले चियाएर हेरी । चिडिमार कान समातेर प्रहरीको सामुन्ने उभिएको थियो । उसका बा अलि पछाडि अँध्यारो मुख लाएर बसेका थिए । पुलिसको हवल्दार पान चपाउँदै थियो । उसले हातमा कालो डन्डा बोकेको थियो । उसको टोपीमा टिलिक्क ब्याच टल्केको थियो ।

त्यो कोठामा जानकीले सबैथोक देखी । तर उसले त्यहाँ चरालाई भने देखिन । अँह चरा त्यहाँ थिएन ।

“होइन कहाँ राख्यो होला त्यो चिडिमारले चरा ? कतै पुलिसले आफ्नो छोरा अनुकलाललाई दिएर पो पठायो कि ? मेरा बाउले पनि त्यो चरा समातेर ल्याएको दिन मलाई बोक्न दिएको थियो ।” जानकीले आफैँसँग मनमनै कुरा गर्दै भनी । ऊ चरा समातेको दिनको कल्पनामा हराई :

“त्यो दिन म कति रमाएको थियो । मैले यसो हातले चराले छुन खोजेँ । उसले मलाई टोकुँला जस्तै गर्यो । अनि उसलाई मैले पिँजडाभित्र खानेकुरा हालिदिएँ । पानी पनि खान दिएँ । अनि बल्ल ऊ शान्त भयो । ऊ मलाई टवाल्ल परेर हेरिरहेको थियो । त्यो दिन उसलाई आफू सुत्ने खाट छेउमै राखेर म सुतेँ । भोलिपल्ट बिहान भएपछि बाबु काममा गए । त्यो दिनभरि म चरासँग खेलेर बसेँ । दिउँसो भँगेराहरु उडेर पिँजडा नजिक आए । चराले फटफटी पखेटा चाल्यो । पिँजडा भित्र यसो गर्दा उसको एउटा प्वाँख पनि चुँडिएर झर्यो । विचरा ! उसलाई कति दुख्यो होला ! कति उड्न मन लागेको होला ? मैले त्यो दिन यो कुरा धेरै  सोचेँ । ”

अचानक पछाडिबाट “चरा मिलगेल पुलिस दाजु ! (चरा भेटियो पुलिस दाइ)” भन्दै कोही कराएको  सुनियो ।

जानकीले झसङ्ग हुँदै यसो पछाडि फर्केर हेरी ।

“गे माई ! दारु चाचा पो रहेछ । (ऐ आमा दारु काका पो रहेछ) उसको हातमा पिँजडा र चरा !” जानकीले छक्क पर्दै सानो स्वरमा भनी ।

अनि ऊ चाचाको छेउमा पुगेर चरालाई हेर्न थाली ।

बल्ल कोठाबाट पुलिस, चिडिमार र जानकीका बाउ निस्किए ।

“कहाँ लुकाको रहेछ यो बदमासले ?” पुलिसले रिसाउँदै भन्यो ।

“हजुर नन्दनी भाउजूको पसलमा राखेको रहेछ । पचास टका दिएपछि बल्ल बोल्यो !” दारु चाचाले ङिच्च दाँत देखाउँदै भने ।

 “साला, हरामी ! झुटो बोल्छस् ! पुलिसले चिडिमारलाई एक लात हान्यो ।”

ऊ होइन हजुर, होइन भन्दै हात जोड्दै डराएर अलि पछाडि सर्यो । अब जानकीका बुवा प्रहरीको आँखामा परे । उसलाई पनि प्रहरीले गालामा चड्याम्म हिर्कायो ।

मालिक अब यस्तो गर्दैन मालिक भन्दै ऊ हात जोडेर रोयो ।

यो सबै दृश्य हेर्दाहेर्दै जानकीका गोडा थरथर कामे । उसले आँखा चिम्म गरेर सुटुक्क यो सबै कुरा हेरी । उसको एउटा आँखा चरामा र अर्को आँखा पुलिसमा थियो ।

“यो चरो समातेर बेच्न पाइँदैन भन्ने थाहा छैन ? बदमासहरु !” पुलिसका हाकिमले भने । उनी बल्ल चौकीमा आइपुगे ।

इन्सपेक्टर साब भन्दै प्रहरी हवल्दारले सलाम ठोके । दारु चाचाले पनि हजुर सर भन्दै नमस्कार गरे ।

“के भयो त हलदार साब यिनेरुको कुरा ?” इन्सपेक्टरले सोधे ।

हवल्दारले एकछिन इन्सपेक्टरसँग सल्लाहा गरे ।

“लौ अब चिडिमारसँग लिएको पैसा निकाल त बलदेव ।” हवल्दारले कराउँदै भने ।

जानकीका बा बलदेवले खल्तीबाट ५ सय निकाल्यो । पुलिसलाई पैसा फिर्ता दिँदा उसको हात थर्र   काम्यो ।

बाउले पुलिसलाई पैसा दिएपछि ‘आज साम भरपेट मिठो खाने छोरी’ (आज बेलुका भरपेट खाउँला छोरी) भनेर बाउले भनेको कुरा जानकीले झलझली सम्झी । उसको अनुहार नियाउरो भयो । फेरि उसले फटफट पखेटा चाल्दै पिँजडाबाट जान खोजेको चरालाई सम्झी । आफ्नो पखेटा नै खस्ने गरी उफ्रिएर उड्न खोजेको चराको सम्झनाले उसको मन गह्रौ भयो । मनमनै भनी – “यो चरालाई पुलिसले पिँजडामा थुनेर पाल्छ होला । होइन, होइन पुलिसले नि पारिबाट आएको अर्को चिडिमारलाई बेच्छ होला । बाले भनेको पारि यसको पाँच हजार आउँछ रे । अब के गर्छ होला पुलिसले ?”

“ऐ सानी केटी यता आइजे त ।” पुलिसले अकस्मात् बोलायो ।

जानकी निकै डराई । उसले मनमनै भनी – “उसले घरसम्म लगेर चरा छोडि दे भन्यो भने म के गर्ने होला ? राति पकाएर पो खाइदिने हो कि ? ”

“ऐ केटी किन ढिलो हँ ? छिटो आउनू भनेको सुनिनस् !” पुलिसले लौरो ठटाएर कराउँदै भन्यो ।

जानकी झसङ्ग भई । ऊ विस्तारै हिँडेर पुलिसको हाकिम छेउमा पुगी ।

“लु यो चरा बोकेर मेरो पछिपछि हिँड त अब !” पुलिसले कराउँदै भन्यो ।

जानकी पिँजडा बोकेर पछि लागी । ऊ सँगसँगै चिडिमार, उसका बाउ बलदेव, हवल्दार र पुलिसका हाकिम इन्सपेक्टर पनि हिँडे ।

बाटामा हिँड्दै जाँदा जानकीले यसो चरालाई हेरी । आम्मै, त्यो चराले उसलाई टुलुटुलु हेरिरहेको थियो । जानकीले उसलाई मायालु नजरले हेरी ।

“लौ यही ठाउँ ठिक छ । पिँजडालाई यही राखौँ !” पुलिसका हाकिमले भने ।

“पिँजडा यहाँ राखेर पछाडि बस त केटी !” हवल्दारले रुखो स्वरमा भन्यो ।

जानकीले ठुस्स परेर हाकिमतिर हेर्दै पिँजडालाई भुइँमा राखी ।

“आम्मै, पुलिसका हाकिमले कम्मरमा भिरेको सानो बन्दूक पो निकाले ! कतै चरा मार्न त होइन ?” जानकीले डराउँदै मनमनै भनी ।

एकछिनपछि हाकिमले आफ्नो बन्दूक र बेल्ट हवल्दारलाई बोक्न दियो । उसले वनको वरिपरि हेर्यो । त्यहाँ ठुलाठुला रुखहरु थिए । छेउमा सानो मन्दिर पनि थियो ।

”लौ ठिक छ ! यो चराका साथीहरु यतै उडिरहेका छन् जस्तो छ ।” पुलिसका हाकिमले भने ।

”अब के गर्ने त सर ?” हवल्दारले सोध्यो ।

 “ऐ नानी यता आऊ त !” इन्सपेक्टरले जानकीलाई बोलाए ।

जानकी डराई डराई हाकिमको नजिक गएर उभिई । उसको छेउमै पिँजडा थियो । चरो ट्वाल्ल परेर हेरिरहेको थियो ।

“लु अब यो चरोलाई पिँजडाबाट निकालेर उडाइदेऊ !” इन्सपेक्टरले भने ।

पुलिसका हाकिम इन्सपेक्टरको कुरा सुनेर जानकी दङ्ग परी । अघिसम्म फिटिक्कै मन नपरेको पुलिस पनि उसलाई मनपर्न थाल्यो । झन् हाकिम त उसलाई अझ बढी मनपर्यो ।

त्यसपछि जानकीले च्याप्प समातेर चरालाई पिँजडाबाट निकाली । अनि एकपल्ट दुःखी भएका बाउलाई हेरी । एक हप्ताभरि घरमा मिठो खाना नपाक्ने कुरा पनि सम्झी । तर ऊ दुःखी भइन । उसको हातको चरा पखेटा चलाउन हतारिएको थियो । उसले आफ्नो हात खुकुलो पारी । अनि ‘जा अपने माई के पास जा’ (जा आफ्नी आमा भएको ठाउँमा जा) भन्दै फुत्त चरालाई उडाइ दिई । चराले पर पुगेर फुत्त फर्केर हेर्यो । सायद उसले सबैजनालाई धन्यवाद भनेको हुनुपर्छ । त्यसपछि चरा मजाले भुर्र उडेर रुखमाथि  गयो ।

जानकी एकपटक फेरि बाउलाई हेरेर दुःखी भई । अनि फेरि रुखमा बसेको चरालाई हेरेर मुसुक्क हाँसी । छोरी खुसी भएकोमा उसको बाउ बलदेव पनि खुसी भयो ।

रुखमा बसेको चरा आफ्नो परिवारसँग रमाउँदै गरेको देखेर सबैजना खुसी भए । अनि रमाउँदै घर फर्किए ।


                     चिडिमार गाउँको भ्रमणका क्रममा लेखकले खिच्नुभएको बालिकाको तस्बिर ।