Saturday, March 6, 2010

विशेष च्यारिटी शोमा कार्तिकेय घिमिरेको 'पाँच रुपियाँ'

रुसि सांस्कृतिक केन्द्रमा भइरहेको साताव्यापि बालनाटक महोत्सब, बालनाटकको रमाइलो मेला २०६६ को पाँचौ दिन आज कार्तिकेय घिमिरे लिखित बालनाटक पाँच रुपियाँको मन्चन भएको छ । बिहान १२ बजे र तीन बजे गरी जम्मा दुइ शो देखाइएको यो नाटकको निर्देशन प्रेम पौडेल र मानस राजले गरेका हुन् । यो नाटकको मुख्य पात्र आशा एघार वर्षीय बालिका आयुषी सामरी हुन् । उनी आलोक विद्याश्रममा पढ्छिन् । उनले यस नाटकमा एउटी दयालु बालिकाको चरित्रमा जोडदार र जीवन्त अभिनय गरेकी छिन् । त्यस्तै यस नाटकलाई मनछुने बनाउँने काम जुम्सीको अभिनयले गरेको छ । त्यो भूमिकामा दश वर्षीय बालिका पूजा अधिकारीले अभिनय गरेकी छिन् । उनी श्री बालव्यवसायी मावि सिफलमा पढि्छन् । यो नाटक शैली थिएटरको प्रस्तुतिमा मन्चन भएको हो ।
        हाम्रो देश विविधताको देश हो । यहाँ धनी गरिब सबै खालका बालबालिकाहरु छन् । जापानदेखि आएर जापानका बालबालिकाहरुले नेपालका गरिब बालबालिकाहरुलाई सहयोग गर्छन् । तर नेपालकै सक्षम धनी बुवाआमाका छोराछोरी बालबालिकाले गरिब नेपाली बालबालिकालाई सहयोग गर्दैनन् किन ? किन धनी परिवारका आमाबुवाहरुले गरिब बालबालिका प्रति मानवीय सेवा गर्न आफ्ना छोराछोरीलाई प्रेरित गर्दैनन् ? यहाँ एकथरी बालबालिकाहरु जाडोमा लुगा लाउँन नपाएर मरिरहेका छन् र अर्कोथरि बालबालिकाहरु भने लुगा धेरै भएर स्टोर कोठामा राखेर सढाइरहेका छन् । किन उनीहरुको मनमा असहायलाई सहयोग गर्नुपर्छ भन्ने भावना जगाउँन धनी आमाबुवाहरुले प्रयास गरिरहेका छैनन् ? किन उनीहरु गरिब बालबालिकामाथि बालश्रमिकका नाममा पशु सरहको व्यवहार गर्छन् ? यस्ता थुप्रै प्रश्नहरु बोकेर नाटककी मुख्य पात्र आशा यो नाटकमा एउटी विद्रोही मानवतावादी चरित्रको रुपमा उभिएकी छिन् । उनी आफ्नै घरभित्र आफ्नी आमासँग संघर्ष गरेर सबै बालबालिकाहरु असहाय साथीहरुलाई हामी सहारा भएका सक्ने साथीहरुले सहयोग गर्नुपर्छ भन्ने आव्हान गर्न चाहन्छिन् । त्यसैले उनी हरेक शहरी भेगका धनीमानी बालबालिकालाई के आब्हान गर्छिन् भने आउँनुस्, हामीले आफ्नो खाजा खर्चबाट हरेक दिन पाँच रुपियाँ जोगाएर हिमालकी पेमा दिदीलाई, तराइकी धनिया बहिनीलाई र जुम्सी जस्ता स्कुल जान नपाएका साथीहरुलाई सहयोग गरौं ।
    चुस्त निर्देशन र कलाकारहरुको मन छुने अभिनयले यो नाटक उत्कृष्ट भएको छ । सुरुमा हँसाउँने र बिस्तारै दर्शकलाई गम्भीर बनाउँदै लगेर वियोगान्त अन्त्य भएको यो नाटकमा निर्देशकद्घय प्रेम पौडेल र मानसराजको काम तारिफयोग्य रहेको छ । एक महिना लामो अभ्यास पछि विशेष च्यारिटी शोका लागि तयार गरिएको यो नाटक देशका प्रमुख शहरी भेगमा पनि आर्थिक रुपमा सम्पन्न बालबालिकाबीच मानवीय संवेदना जगाउँने र झकझक्याउने उद्देश्यसहित मन्चन गरिने कार्यक्रम रहेको छ । यस नाटकको निर्देशनमा शैली थिएटरका अध्यक्ष नवराज बूढाथोकीले विशेष सहयोग गरेका छन् ।
     रुसि साँस्कृतिक केन्द्र, कार्तिकेय बालप्रतिभा पुरस्कार कोष र शैली थिएटरको संयुक्त पहलमा आयोजना गरिएको यस बालनाटक महोत्सब २०६६ भब्य सफल भएको छ । गरिब र असहाय बालबालिकालाई शैक्षिक प्रोत्साहन छात्रबृति प्रदान गर्न आयोजित यो महोत्सबलाई करिब दुइ हजार चारसय बालबालिकाहरुले हेरी हार्दिक सहयोग गर्नुभएको छ । हामी ती सम्पूर्ण नाटकप्रेमी दर्शक बालबालिका र सहयोगी विद्यालयहरुप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं । यो महोत्सबले नाटक हेर्ने संस्कृतिको विकासमा ठूलो टेवा पुर्याएको महसुस गरिएको छ ।

Friday, March 5, 2010

दुर्गा भवानीमा बालकथावाचन र लेखन कार्यक्रम सम्पन्न

दुर्गा भवानी एकेडेमी, धुम्बाराही, काठमाडौंमा रमाइलो बालकथावाचन र लेखन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बालसाहित्यलेखक कार्तिकेय घिमिरेले कथावाचन गर्नुभएको थियो । उहाँले आफ्ना चर्चित कथाहरु वाचन गरी सुनाउँनु भएको थियो । कार्यक्रममा घिमिरेको दुइवटा सुन्ने बालकथा परीगाउँको कथा र हनुमानले सूर्य निले पनि सुनाइएको थियो । बालबालिकालाई आधुनिक प्रविधिको स्वादमा रमाइलो प्रदान गर्दै आयोजना गरिएको यस कार्यक्रममा दृश्य बालकथा पनि प्रस्तुत गरिएको थियो । बालबालिकालाई बालकथा कसरी लेख्ने भन्ने विषयमा रोचक ढंगले प्रशिक्षण दिइएको यस कार्यशालामा पाँचजना बालप्रतिभाले हाउभाउसहित कथावाचन गरी कार्यक्रमलाई झन रोचक बनाएका थिए ।
कार्यक्रममा नौदेखि चौध वर्षम्मका एकसय पचासजना बालबालिकाहरुले भाग लिएका थिए ।
बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा उक्त एकेडेमीले आयोजना गरेको यो कार्यक्रम प्रधानाध्यापक लम्बोदर घिमिरेको सभापतित्वमा भएको थियो ।

Thursday, March 4, 2010

बालनाटकको रमाइलो मेला शुरु

काठमाडौं फागुन १७, २०६६
बालबालिकाहरुको मानसिक, शारिरीकलगायत समग्र सिर्जनात्मक विकासका लागि बालनाटकको रमाइलो मेला बालनाटक महोत्सब फागुन १७ बाट शुरु भएको छ । यो महोत्सब आगामी २३ गतेसम्म रुसि सांस्कृतिक केन्द्र कमलपोखरीमा चल्नेछ ।

आज आयोजित एक समारोहबीच बरिष्ठ नाट्यकर्मी अभि सुवेदीले पानसमा दीयो बालेर यस महोत्सबको उद्घाटन गर्नु भयो ।

यस नाटक महोत्सबबाट बालबालिकाको सोच्ने शक्तिको विकास हुने, शब्द भण्डार बढ्ने, लेखन पक्षमा सुधार हुने, आफू जस्तै साथीले गरेको अभिनय हेरी आत्मविश्वास बढ्ने र सिनेमा हेरे जस्तै मनोरन्जन प्राप्त गरी स्वास्थ्यमा पनि फाइदा पुग्ने आशा गरिएको मेलाका संयोजक लक्ष्मीप्रसाद बास्तोलाले बताउँनुभएको छ ।

यस च्यारिटी बालनाटक महोत्सबमा सातवटा बालनाटकहरु जम्मा १३ वटा शो प्रदर्शन गरिने छन् । कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको सहयोगमा शैली थिएटर, ग्लोबल पब्लिक स्कुल, साथसाथ थिएटर, सेरेन भ्याली स्कुल र भ्याली भ्यु स्कुलका बालकलाकारहरुको प्रस्तुतिमा नाटक प्रदर्शन हुने यस महोत्सबमा एक हजार चार सय बालबालिकाहरुले टिकट बुक गरिसकेका छन् । साथै ३ सय असहाय बालबालिकाहरुलाई यो शो निःशुल्क देखाइने छ । बिहान र दिउँसोको शोमा गरी दुइ हजार बालबालिकाहरुले नाटक हेर्ने अपेक्षा गरिएको छ । हालसम्म चौध सय बालबालिकाहरुले टिकट बुक गरिसकेका छन् ।

यस महोत्सबबाट उठेको सम्पूर्ण रकमबाट गरिब, असहाय र बिपन्न बालबालिकाहरुलाई शैक्षिक प्रोत्साहन छात्रबृति प्रदान गरिने छ ।

यस कार्यक्रम गर्नुको उद्देश्यवारे प्रकाश पार्दै कार्तिकेय बालप्रतिभा पुरस्कार कोषका अध्यक्ष मोहनकुमार कार्कीले कोषले सँधै बालहितकारी कार्यक्रममा जोड दिने र बालप्रतिभालाई प्रत्यक्ष सहयोग गर्नेतर्फजोड दिएको धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा शैली थिएटरका अध्यक्ष नवराज बूढाथोकीले यो कार्यक्रमले बालबालिकाको सिर्जनात्मक क्षमताको विकास हुने आशा गरिएको बताउँनु भयो ।

यो नाटक मेलामा स्वदेशी र विदेशी लेखकहरु क्रमशः कार्तिकेय घिमिरे, टंकप्रसाद चौलागाईं, महेश पौड्याल प्रारम्भ, आलेक्साजेन्द्रा पुश्किन र लियो टल्सटायका नाटकहरु मन्चन भइरहेका छन् । पहिलो दिन पुश्किनको नाटक सुनौलो माछा प्रदर्शन गरिएको थियो भने अन्तिम दिन टल्सटायको नाटक छुट्टी मकै भुट्टीको प्रदर्शन हुनेछ । कार्तिकेय लिखित नाटक पाँच रुपियाँको प्रदर्शन आगामी २२ गते शनिवार १२ बजे विशेष च्यारिटी शोमा गरिने भएको छ । समाजका सक्षम बालबालिकाहरुले विपन्न र असहाय बालबालिकाहरुप्रति माया र सद्भाव देखाउँनुपर्छ भन्ने मनछुने कथा भएको यो नाटकलाई प्रेम पौडेल र मानसराजले निर्देशन गर्नुभएको हो । यस नाटकमा दशवर्षीय बालिका मुख्य पात्रको रुपमा रहेकी छिन् ।

पुश्किन र टल्सटायको नाटकको निर्देशन नवराज बूढाथोकीले गर्नुभएको हो भने महेश पौड्याल प्रारम्भ, टंकप्रसाद चौलागाईंले पनि आ-आफ्नो नाटक निर्देशन गर्नुभएको छ ।
बालनाटक महोत्सबबाट संकलित सम्पूर्ण रकम समुदायका गरिब र विपन्न एबं संघर्ष गरी आफ्नो पढाइलाई निरन्तरता दिदै आएका दशजना सघर्षशील बालबालिकाहरुलाई शैक्षिक प्रोत्साहन छात्रबृतिको रुपमा प्रदान गरिने बताइएको छ ।

Tuesday, March 2, 2010

दुर्गा भवानी एकेडेमीमा बालकथावाचन कार्यक्रम हुने

यही फागुन २१ गते शुक्रवार दिउँसो १ बजे दुर्गा भवानी एकेडेमी धुम्बाराही काठमाडौंमा बालकथावाचन कार्यक्रम २०६६ हुने भएको छ । यस कार्यक्रममा सयजना बालबालिकाहरुको सहभागिता रहने छ । १० जना बालबालिकाले कथा सुनाउँने यस समारोहमा बालसाहित्य लेखक कार्तिकेय घिमिरेले कथावाचन गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा कथालेखनवारे पनि प्रशिक्षण दिइने बालसाहित्य प्रतिष्ठान नेपालले जानकारी दिएको छ ।