Wednesday, July 7, 2010

हार्दिक बधाइ ज्ञापन गर्दछौं

वरिष्ठ अग्रज लेखक शान्तदास मानन्धरज्यूले साझा बालसाहित्य पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछौं ।
उहाँले नेपाली बालसाहित्यको विकासमा विशेष योगदान गर्नुभएको छ । हामी उहाँ प्रति कृतज्ञ छौं ।

To promote Children's Literature and reading activities in Nepal
                       केटाकेटी अनलाइन परिवार
                         र
http://childrensbooks77.blogspot.com/  ब्लग परिवार ।



Tuesday, July 6, 2010

Childhood Days Memories of Korean Writer Yoojeong कोरियाली बालसाहित्यकारको बाल्यकाल

प्राध्यापक डाक्टर यु जङ्गयी कोरियाली बालसाहित्यकार हुनुहुन्छ । उहाँ हङ्गीक विश्वविद्यालयमा कोरियन साहित्य पढाउँनुहुन्छ । उहाँले आधुनिक कोरियाली कविता भन्ने विषयमा विद्यावारिधि गर्नुभएको हो ।
चालीस दिने नेपाल भ्रमणका लागि जङ्गयी नेपाल आउनुभएको थियो । गत २०६६ भदौ १ गते उहाँ आफ्नो भ्रमण सकाएर कोरिया फर्किनु भयो । यो भ्रमणमा उहाँसँगै १३ जना कोरियाली बालबालिकाहरु पनि आएका थिए ।
यस अंकमा हामीले प्रसिद्व कोरियाली कवि, समालोचक र बालसाहित्यकार जङ्गयीसँग उहाँको बाल्यकालका सम्झना वारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको कथा सुनाउँदै भन्नुहुन्छ:
म एउटा साधारण परिवारमा जन्मिएकी हुँ । मेरो बुवा व्यापार गर्नुहुन्थ्यो । मेरो घरमा हामीलाई खान, बस्न र पढ्न पनि गाह्रो अवस्था थियो ।
म सानैदेखि पुस्तक पढ्न खूब रुचि राख्थें । म सानो छँदा विदेशी लेखकका किताबहरु बेच्दै घर-घरमा हकरहरु घुम्दथे । उनीहरु थरीथरीका किताबहरु बेच्दै हिड्थे । एक सेट किताबमा दशथरी कथाका किताबहरु हुन्थे । ती किताब पढ्न मलाई एकदमै मन लाग्थ्यो । तर मेरो बुवाआमाले किन्दिन सक्नु हुन्नथ्यो । मसँगै भाइबहिनीलाई पनि पढाउँनु पर्ने भएकोले घरको सबै पैसा हाम्रो विद्यालयको किताब किन्दा नै सकिन्थ्यो । त्यसैले म सँधै घर बाहिर उभिएर ती घुमाउँदै किताब बेच्न हिडेका हकरहरुले बोकेका कथाका किताबहरु लोभिदै हेर्थें । म पढ्न नपाएकोमा थकथक मान्थें ।
एकदिनको कुरा हो, मैले मेरो छिमेकीको घरमा थुप्रै कथाका किताबहरु दराजमा सजाएर राखेको देखें । त्यसपछि म दङ्ग पर्दै छिमेकीको घरमा गएर किताब पढ्ने कुरा सोच्न थालें । नभन्दै मैले त्यो मौका पाएँ । एक दुइ दिन मैले त्यो छिमेकीको घरमा गएर ती किताबहरु मज्जाले पढें । शुरुको दिन त म किताब पढ्न पाएकोमा यति धेरै रमाएँ कि मैले त धेरै खुसी भएर रुँदै-रुँदै किताबहरु पढें । म आफ्नो जिन्दगीमा त्यो दिनलाई कहिले बिर्सिन सक्दिन ।
हुन त मेरा छिमेकीका पनि छोराछोरीहरु थिए । तर उनीहरु घरमा भएको त्यति राम्रा किताबको वास्ता गर्दैनथे । उनीहरुलाई त कथाको किताब पढ्न मन नै लाग्दोरहेनछ । त्यतिबेला म सोच्थें कस्तो बोर जसलाई किताब पढ्न मन छैन ऊसँग चै यति धेरै किताब । मलाई पढ्न मनलाग्छ तर मसँग किताब नै छैन । यो सम्झदाँ मलाई रुन मन लाग्थ्यो ।
यसरी मैले रमाउँदै दुइ तीन दिन छिमेकीकोमा गएर किताब पढें । तर त्यसपछि मैले त्यहाँ गएर किताब पढेको उनीहरुले मनपराउँन छाडे । त्यसपछि म त्यो छिमेकीकोमा किताब पढ्न जान छाडें । आमालाई कर गरेर छिमेकीको घरमा किताब लिन पठाउँन थालें । यसरी दुइ दिनसम्म आमाले मलाई त्यहाँबाट किताब ल्याइदिनु भयो । तर एकदिन आमालाई पनि वचन लगाएछन् । त्यसपछि आमाले रिसाउँदै ती छिमेकीको सेखी झार्न मलाई एक सेट दशवटा कथाका किताबहरु ल्याइदिनु भयो । ओहो, त्यो दिन त म धेरै खुसी भएकी थिएँ । आफ्नो कथाका किताबलाई किस गरेर, अंगालो मारेर मैले रमाइ-रमाइ पढें । हो, मैले मेरो आफ्नो किताब आफैले रुँदै, कराउँदै, हाँस्दै र हल्ला गर्दै पढेको त्यो दिन मेरो जिन्दगीको कहिल्यै नबिर्सने दिन हो ।
साँच्चै, म किताबको कीरा नै थिएँ । म निक्कै धेरै किताब पढ्थें । म किताब पढ्दापढ्दै खाना खान नै बिर्सिन्थें । आमाले मलाई छोरी तिमीले खाना खाएकी छैनौ भनेर दुइ तीन पटक सम्झाउँनु पर्दथ्यो ।
यसरी धेरै किताब पढ्ने बानीले गर्दा होला अहिले म लेखक बन्न सकें । अहिले पनि म धेरै किताब पढ्ने गर्छु । मैले क्याम्पसमा विद्यार्थीहरुलाई पढाउन पनि धेरै किताब पढ्नुपर्छ । त्यो बाहेक मलाई नयाँ-नयाँ उपन्यास, कथा र कविताहरु लेख्न पनि त मैले धेरै किताब पढ्नुपर्छ नि ! मेरा बालसाहित्यमा दशवटा किताबहरु छापिएका छन् । ती सबै किताबले पुरस्कारहरु पनि जितेका छन् । यो पनि म धेरै पढ्ने मान्छे लेखक भएर हो भन्नुहुन्छ मेरा गुरुहरु ।
म समालोचक पनि हुँ । मेरा समालोचनासम्वन्धी पाँचवटा किताबहरु छापिएका छन् । अरुका किताबहरु पढेर ती किताबको राम्रा पक्ष र नराम्रा पक्षका वारेमा लेख्नु मेरो काम हो । त्यही कामलाई समालोचना भनिन्छ । त्यसैले समालोचना गर्न पनि म धेरै किताबहरु पढ्ने गर्छु ।
यसरी आफूलाई सफल मान्छे बनाउँन म धेरै थरी किताबहरु पढिरहेकी छु । मलाई लाग्छ, हरेक मान्छेले किताब पढ्नुपर्छ । राम्रा ज्ञानगुनका किताब पढ्ने मान्छेहरु जीवनमा सँधै सुखी र सफल हुन सक्छन् ।
प्रस्तुतिः कार्तिकेय घिमिरे

Childhood Days Memories of Senior Writer Rochak Ghimire घोडाबाट पछारिए कर्णेल बूढा !

रोचक घिमिरे वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ नेपालको प्रसिध्द साहित्यिक पत्रिका रचनाका प्रधान सम्पादक पनि हुनुहुन्छ । निवन्ध लेखनमा सुपरिचित लेखक रोचकको बाल्यकालको रमाइलो संस्मरण यस अंकमा हामीले प्रस्तुत गरेका छौं ।
मेरो उमेर त्यो बेला १२ वर्षजतिको थियो होला । दशैंको रमझम सकिएर तिहार लाग्दो बेला थियो । तिहारको खुशीयालीमा फाट्टफुट्ट पटखा पड्काउने, फुलझडी बाल्ने, आतिसबाजी गर्ने चलन भर्खर भर्खर काठमाडौंमा शुरु भएको थियो । बाले हामी तीनजना दाजुभाइ म, रघु र केशवलाई के काम परेर हो कुन्नि लप्टन बा तारानाथ (शङ्कर घिमिरे र डा.मधु घिमिरेका पिता) कहाँ भाटभटेनी पठाउनुभो । लप्टन बा कहाँबाट हामी दाजुभाई गहिरीधारातिर लाग्यौं । त्यहाँको हलुवाई पसलेको बर्फीको स्वाद लिन पल्केका थियौं हामी । हामीसंग एकदुइ रुपियाँ थियो । बर्फी खाएर केही पैसा बच्यो । त्यहीं छ्याके साहूको पसल अगाडि पटखा, भैंचम्पा, टीनको सिटी, टीनकै बन्दुक, कागतको सर्प आदि विभिन्न खेलौना फिंजाएर बेच्न राखिएका थिए । ती सामानको वरिपरि केटाकेटीहरू झुम्मिइरहेका थिए । हामी पनि तमासे भएर हेर्न थाल्यौं । भाइ रघुले सिटी किन्यो, केशवलाई कागतको सर्प मन पर्यो । मैले चाहिं टीनको कालो खेलौना बन्दूक र त्यसलाई पड्काउन चाहिने बारूदको टिके रील किनें । बन्दूकमा त्यो रील हालेर प्याट्ट प्याट्ट पड्काउँदै हिड्न थालें म । ठूलो आनन्द र खुसी अनुभव भो मलाई । भाइहरू पनि रमाएर सिटी फुक्दै, सर्प हल्लाउँदै हिडिरहेका थिए ।
हामी त्यसै क्रमले गैरीधाराबाट टङ्गाल गणेशथानतर्फ आइरहेका थियौं । उताबाट कर्णेल डम्बर शमशेर थापा (१५ साले चुनावमा डा.के.आइ.सिंहको पार्टीबाट विजयी सांसद लोचन समशेर थापाका पिता) घोडा चढेर आइरहेका थिए । घोडाको पछिपछि सइस हिडिरहेको थियो । त्यो वेला घरानियाहरू घोडा, साइकल चढ्थे । कार मोटरसाइकल त ज्यादै कम थिए र ती राणा परिवारकै एकलौटी थिए भनेपनि हुन्छ । एक सुरले म बन्दुक पड्काउँदै, रमाइलो गर्दै हिडिरहेको थिएँ । अचानक डम्वर समशेर बूढा घोडाबाट तल सडकमा डङ्ग्रङ्ङ पछारिए । ती मोटा, सुकुमार बूढा उठ्न सकेन्, सइस भाग्न लागेको घोडा समाउनतिर लाग्यो । जम्मा भएका बटुवाहरूले कर्णेल बूढालाई उठाएर उभ्याए । हामी तीन भाइ फुच्चे मग्न भएर यो सबै रमीता हेरिरहेका थियौं । कर्णेल बूढाले चारैतिर हेरे । खेलौना बन्दुक मेरो हातैमा थियो । डम्बर शमशेर मेरो नजिकै आए अनि मेरो हातको बन्दुक खोसेर भने-'यै हो तेरो बन्दूक ! बड, बन्दूक पड्काउने भा'को !' यति भनेर उनले त्यो बन्दूक नीलकाँडाको झ्याङ्तिर हुर्र्याइदिए । मैले पड्काएको बन्दुकबाट तर्सिएर घोडाले कर्णेल बूढालाई लडाएको रहेछ । त्यसैले मेरो त्यो दोषी बन्दुकसँग उनले त्यसरी बदला लिएका रहेछन् भन्ने कुरा बल्ल बुझ्यौं हामीले । मैले अँध्यारो मुख लगाएँ । 'दाजुले होइन ! दाजुले होइन !' भनेर भाइ केशव रुन लाग्यो । बूढाको आँखा सिटीमा पनि पर्ला र फ्याँकिदेलान भनेर अर्को भाइ रघु सिटी लुकाउन लाग्यो । त्यहाँ उभिएका पाका मान्छेहरू पनि 'कर्साबलाई लडाउने, बदमास केटाहरू !' भन्दै हामीलाई नै गाली गर्न लागे । कसैले त हामीलाई चिनेका पनि रहेछन् र यी गहनापोखरीका पण्डित बाजेका छोरा हुन् भनेको पनि सुनियो । बाले थाहा पाउनुहोला भनेर हामीलाई डर लाग्यो ।
हामी तीनभाइ लुत्रे कान लगाएर घरको बाटो लाग्यौं । डम्बर शमशेर बूढा खोच्याङ् खोच्याङ् गर्दै पैदलै हिडे । सइस घोडा डोर्याएर लुखुर लुखुर उनको पछिपछि लाग्यो । लप्टनबा तारानाथले चाहीं यो कुरा थाहा पाउनुभएछ । एकदिन उहाँले मलाई भन्नुभो- 'तिमीहरूले बन्दुक पड्काएर घोडाबाट पछारिएका कर्णेल बूढा केही दिन थला परेर बल्ल उठेछन् बिचरा !'
एक्लै यो घटना सम्झदा अहिले पनि मलाई रमाइलो, नरमाइलो, कस्तो कस्तो लाग्छ । हामी तीन दाजुभाइ भएको वेला यसको चर्चा चल्दा चाहिं एकै पटक गलल्ल हाँसोको फोहोरा छुट्ने गर्छ !

Monday, July 5, 2010

कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको वि.सं. २०६७ को पुरस्कारका लागि सिफारिस पठाउँने सम्बन्धी जरुरी सूचना

पुरस्कारको नामः कार्तिकेय बालप्रतिभा पुरस्कार २०६७
प्रतिभाको क्षेत्रः साहित्य सिर्जना, संगीत, अभिनय, विज्ञान, अध्ययन र साहसिक कार्य मध्ये कुनै एक वा यी मध्ये केही क्षेत्रमा विलक्षण क्षमता प्रदर्शन गर्न सफल भएकाले आवेदन गर्न सक्नुहुनेछ । (प्रतिकूल अवस्थामा रही हुर्किएर पनि विलक्षण क्षमता प्रदर्शन गर्न सफल प्रतिभाशाली बालबालिकाहरुलाई विशेष प्राथमिकता दिइने छ ।)
आवेदन दिने अन्तिम मितिः २०६७ असोज मसान्तभित्र ।
पुरस्कार घोषणा मितिः मंसिर ५ (नोभेम्बर २०) अर्न्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा ।
पुरस्कार बितरणः पुष ४ गते २०६७
पुरस्कार राशिः रु ५ हजार १ र सम्मान पत्र । विशेष कार्यक्रम गरी प्रदान गरिदै आइएको छ ।
आवेदन गर्दाः विद्यालयको र सम्बन्धित संघसंस्थाहरुको सिफारिस, प्राप्त उपलब्धीहरुको प्रमाण पत्रहरुको फोटोकपि, फोटो दुइ प्रति, अन्य बालप्रतिभाको क्षमतावारे थप जानकारी लिन सहयोग मिल्ने सम्पूर्ण कागजातहरु पठाउँनु पर्नेछ ।
शैक्षिक प्रोत्साहन पुरस्कारको लागि असहाय, गरिबीको अवस्थामा रहेर पनि पढाइमा बिलक्षण बालबालिकाहरुका लागि सम्बन्धित संघसंस्था, विधालय र बालबालिकाहरु स्वयंले हामीलाइ बालप्रतिभाको क्षमता वारे शैक्षिक प्रमाण पत्रको फोटोकपि र सिफारिसहरु पठाउँनु पर्नेछ । यो पुरस्कार लेखक घिमिरेको सिर्जना मन्चन र वाचन गरी च्यारिटी संकलन गरेको रकमबाट प्रदान गर्ने गरिएको छ ।
यस कोषको वारेमा थप कुरा:
स्थापनाः
वि.सं. २०५८ मा यस कोषको स्थापना भएको हो । बालअधिकारको प्रर्वर्धनका लागि विगत चौध वर्षेखि कार्यरत स्वतन्त्र संचारकर्मी एवं लेखक कार्तिकेय घिमिरेको विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित लेखरचनाहरुको पारिश्रमिक, प्राप्त पुरस्कारहरुको रकम र प्रकाशित पुस्तकहरुको लेखकस्व रोयल्टी जम्मा गरी यस कोषको स्थापना गरिएको हो । घिमिरेका हालसम्म पत्रपत्रिकाहरुमा एक हजार तीनसयभन्दा बढी लेखरचनाहरु, दुइ पचास भन्दा बढी बालकथाहरु र ३३ वटा बालसाहित्यका कृतिहरु प्रकाशित छन् । घिमिरे वि.सं. २०३३ पुस ३ गते हरिवन दुइ पुरानो बजार सर्लाहीमा जन्मनुभएको हो । उहाँको बुवाको नाम चन्द्रनाथ घिमिरे र आमाको नाम दुर्गा देवी घिमिरे हो । उहाँ परिवारको माइलो छोरा हुनुहुन्छ ।
स्थापनामा विशेष सहयोगः
यस कोषको स्थापनामा विशेष सहयोग विगत २४ वर्षदेखि शिक्षा क्षेत्रमा समर्पित शिक्षासेवी मोहनकुमार कार्कीले गर्नुभएको हो । उहाँ यस कोषका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
उद्देश्यः
विलक्षण प्रतिभाशाली बालबालिकाहरुलाई पुरस्कृत गरी समाजमा चिनाउँने काम यस कोषले गर्दै आएको छ । आफ्नो प्रतिभालाई तिखार्दै अघि बढ्न प्रयासरत बालप्रतिभालाई हौसला प्रदान गर्नु कोषको प्रमुख लक्ष्य हो । यस कोषबाट हालसम्म ३८ जना बालप्रतिभाहरु पुरस्कृत र २४ जना बालप्रतिभाहरु सम्मानित हुनुभएको छ । बालबालिकाहरुको मानसिक, शारिरीकलगायत समग्र सिर्जनात्मक विकासका लागि कोष लागिरहेको छ । विलक्षण बालप्रतिभाहरुलाई समाजमा चिनिन सहयोग गरेर समाजका अरुलाई पनि उहाँहरुको प्रतिभाको विकासमा सहयोग गर्न प्रेरित गर्नु कोषको मुख्य लक्ष्य हो ।
सिफारिस पठाउँने ठेगाना:
अध्यक्षः मोहन कुमार कार्की
९७७- ९७५१००३५३१, ९८४१४७७५१५
पोस्ट बक्स नम्बर २५८५९ काठमाडौं ।
इमेलः ketaketinews@gmail.com, kartikeya99@gmail.com