Saturday, January 2, 2010

किन रोई जानकी ? Modern Child Story Of Kartikeya Ghimire


बापु ! केशव किन जान लागेको हो ?
जानकीले आँगनमा उभिएर आँखाभरि आँशु पार्दै बुवालाई प्रश्न गरी । बुवा केही बोल्न सकेनन् । उनले हरि माड्साबको आँगनमा एकटकसँग हेरिरहे । आँगनमा दुइवटा ट्रक रोकेर राखिएको थियो । ट्रकभरि लुगा, पलङ, भाँडाकुडा, माड्साबका किताब र दराजहरु टन्न लोड भइरहेको थियो । केशव आफ्नो बुवासँगै नियाउरो अनुहार लगाएर ढिङ्ग उभिएको थियो । ऊ घरीघरी आफ्नो घरतिर हेर्दथ्यो । कहिलेकाही पुलुक्क आफूसँगै पढ्ने साथी जानकीको घरतिर पनि हेर्दथ्यो । ऊ जानकीसँग आँखामा आँखा जुँधाएर हेर्न सकिरहेको पनि थिएन । खै आज के भएको हो ? यस्तो किन भयो ?
उसले केही बुझ्न सकेको थिएन । ऊ सानो थियो । भर्खरै कक्षा ४ मा पढ्दै थियो । ऊ सँगै पढ्थी जानकी । जानकी र केशव एकदम मिल्ने साथी थिए । तर खै किन हो । केही दिनदेखि ऊ टोलाएर मात्र बस्ने गरेको थियो । आमाले बाबु अब हामीले जनकपुर छाडेर जानुपर्छ, यो घर पनि बेचिसक्यौं । अब हामी जनकपुरबाट हेटौडा बसाईं सर्ने भनेर भन्नुभएको दिन उसले आमालाई मात्र एउटा प्रश्न गरेको थियो । उसले भनेको थियो- आमा, अब हामी जनकपुर कहिलै फर्कन्नौं त ? केशवको यो प्रश्नले आमालाई निकै गाह्रो बनाएको थियो । उहाँले फरक्क पछाडि फर्किएर सारीको सप्कोले आफ्नो आँशु पुछ्नुभएको थियो ।
आमाबाट यो प्रश्नको उत्तर नपाउँदा केशव झन निराश भएको थियो । ऊ के गर्ने, के नगर्ने केही सोच्न सकिरहेको थिएन ।
ल ल अब सामान लाद्ने र कस्ने काम पूरा भयो । अब गाडी लैजानुपर्छ । अब सबैजना गाडीमा चढ्नुहोस् - ड्राइभर अंकलले तिखो स्वरमा कराउँदै भने । केशव झसंग हुँदै बल्ल आत्तियो । ऊ दौडिदै बेत्तोडले जानकीको आँगनमा पुग्यो । उसले गहभरि आँशु पार्दै जानकीलाई हेर्‍यो । जानकीले टुलुटुलु केशवलाई हेरी । उनीहरु दुबैले केही बोल्न सकेनन् । एकछिन पछि अचानक केशवले जानकीको हात च्याप्प समात्यो । उसले बिस्तारै मसिनो स्वरमा भन्यो- जानकी अब हम जाइबे । केशवले यति मात्र के भनेको थियो । जानकी हिक्कहिक्क रुन थालि । ऊसँगै उभिएका बुवा सियाराम पनि आँखाबाट वलिद्र धारा आँशु बगाउँन थाले । उनले जानकीलाई कपाल मुसार्दै फुल्याए । केशवलाई न्यानो अंगालोमा कसेर भने- बाबु ! सानू बेटा हामीलाई सम्झेर भएनि आऊ है ! हामी मधेसी होइन, तिम्रा बुवाआमा हौं । त्यतिबेलासम्म जानकीकी आमाले पनि दौडदै आएर केशवलाई अंगाल्न भ्याइसकेकी थिइन् । केशव जानकीको हात समातेर घुक्कघुक्क रोइरहेको थियो ।
ठीक त्यति बेला हरिका बुवा केशव माड्सापको चर्को स्वर सुनियो- ए केशव ! तँ कहाँ छस् हँ ? तँ आउँने होस् कि तँलाई छोडेर जाऊ ।
अहँ, केशवले बुवाको चर्को स्वर पनि सुनेन । ऊ जानकीको न्यानो हात समातेर चाचाचाचीको अंगालोमा हिक्क-हिक्क रुँदै थियो । उसलाई आफ्नो प्यारो जनकपुर छोडेर जाने मन नै थिएन ।
अचानक केशवका बुवा माड्साप दौडदै आइपुगे । उनले केशवलाई नजिक तानेर उसको गालामा चड्याम्म हिर्काए । केशव ट्वाल्ल परेर रुँदै उभिरह्यो । त्यसपछि उनले राता-राता आँखा पारेर चारैतिर हेरे । उनले रोइरहेकी जानकी र उसका बुवाआमालाई पनि घोरिएर हेरे । आँगनको कुनामा बाँधिएको कैली गाईलाई त उनले झन ध्यान दिएर हेरे । वास्तवमा त्यो उनकै गाई थियो । सानै देखि उनकै गोठमा हुर्किएको थियो । अनि केशव र जानकी पनि त्यो गाईसँगै हुर्किएका थिए । जानकीकी माई र केशवकी आमा त झन एउटै गाउँका थिए । दुबैलाई छिमेकीहरुले जलेश्वरका दिदीबहिनी हुन् यी भन्थे ।
तर खै आज के भयो । सबै कुरा सकियो । माया, ममता र साथीत्व सबै सकियो । म केशवको बा पहाडीमा परें। उनी जानकीका बापु मधेसीमा परे । खै यो के भयो ?
हरि माड्साब यिनै कुरा सोच्दै टोलाइरहेका थिए । अकस्मात् उनले खुट्टा समातेर हिक्क-हिक्क रोइरहेकी जानकीलाई देखे । उनले जानकीलाई जुरुक्क बोकेर चप्प म्वाईं खाए । केशव दौडिदै गएर बुवाको खुट्टा समाएर उभियो । गहभरि आँशु लिएर उभिएको छोरालाई देखेर हरि माड्साब बिस्तारै झुके । उनी घुँडा टेकेर उभिदै जानकी र केशवलाई गम्लङ्ग अंगालो मारेर ग्वाँ-ग्वाँ रुन थाले ।
अचम्मै भयो । हरि माड्साब यसरी रोएको आजसम्म कसैले देखेका थिएनन् । झन केशव त छक्कै पर्‍यो । उसले पनि बुवा यसरी रोएको कहिल्यै देखेको थिएन ।
बिस्तारै माड्साबको काँधमा हात राखेर जानकीका बापु सियारामले थपथपाउँदै सान्त्वना दिए । माड्साबले गहभरि आँशु पार्दै आफ्ना राता आँखा मास्तिर उठाएर उनलाई हेरे । अचानक माड्साब मैनझै पग्लिए । त्यसपछि उनले गम्लङ्ग सियारामलाई अंगालो मारे । आफ्नो बालककालदेखिको साथीलाई यसरी अंगालो मार्न पाउँदा माड्साब खुसी भए । उनले जानकीकी आमालाई पनि हात समातेर सान्त्वना दिए । केशवले त्यो बेला झलझली आफ्नी आमालाई सम्झियो । आन्दोलनमा पहाडी कर्मचारी भनेर अफिसबाट फर्कदै गर्दा मधेस आन्दोलनकारीले उसकी आमालाई मारेका थिए । आमा हुनुभएको भए फूल्बा चाची कति रमाउँथिन् होली ? म त झन... उसले यो भन्दा बढी सोच्न सकेन । ऊ यिनै कुरा सम्झदै टोलाइरहेको थियो । उसले पुलुक्क बुवालाई हेर्‍यो । बुवा अहिलेसम्म पनि सियाराम चाचाको अंगालोमा बाँधिएर रोइरहेका थिए ।
ए दाइ, यो के नाटक हो ? ट्रकमा सामान हालेर तपाईंहरु यहाँ आएर बस्ने । जाने हो कि नजाने हो ? - ड्राइभर अंकल चिच्याउँदै र कराउँदै आँगनमा नै आइपुगे । माड्साबले अन्तिम पल्ट चाचा, चाची, जानकी र कैली गाईलाई पुलुक्क हेरे । त्यसपछि उनी ल केशव छिटोछिटो हिड है भन्दै फटाफट ड्राइभर अंकलको पछि लागे । केशव वाल्ल परेर घरी बुवालाई र घरी चाचा, चाची र जानकीलाई हेर्न थाल्यो । ऊ एकछिन आँखा चिम्म गरेर उभियो । ठीक त्यति बेला जानकीले दौडदै आएर उसको हात च्याप्प समाति । त्यसपछि उसले भनि- हेर केशव तिमी ठूलो भएपछि जानकी मन्दिरमा आउँनु है । माईले भनेको भगवान् त सबैको हो रे । अनि म पनि तिमीसँगै भूटन देवी माईको मन्दिरमा जाउँला नि है !
केशवले केही बुझेझै गरी टाउको हल्लायो । जानकीले पनि केही बुझेझै गरी बाई-बाई गरी । वास्तवमा जानकी र केशवले त केही बुझेका थिएनन् । उनीहरु त अहिले छुटि्टनुपरेकोमा दुःखी थिए । दुबै बर्र आँशु खसाल्दै हिक्क-हिक्क रुँदै अलग भए । जानकी घरभित्र पसि । केशव दौडदै ट्रकमा चढेर बुवासँगै सिटमा बस्यो ।
त्यसपछि ट्रक धूलो उडाउँदै दौडियो, दौडिरह्यो ।
                                  (समाप्त)
रचनाकाल सन् २०१० जनवरी २, रातको एघार बजे ।
२०६६ पुस १८ गते, शनिवार बेलुका ११ बजे ।