Friday, May 31, 2013

नेपाली बालसाहित्यका चौध कृति मराठी भाषामा प्रकाशित हुने

प्रेस विज्ञप्ती/ मिति: २०७० जेठ १७ गते – नेपाली बालसाहित्यको प्रवर्धनका लागि समर्पित बालसाहित्य प्रतिष्ठान नेपाल र केटाकेटी मिडियाको सक्रियतामा नेपालका विभिन्न बालसाहित्य लेखकहरुको कृति मराठी भाषामा प्रकाशित हुने भएको छ । छिमेकी देश भारतको पुनेमा रहेको स्पर्श प्रकाशनले प्रकाशन गर्न लागेको बालकृतिहरुमा लेखक कार्तिकेयको ६ वटा कृतिहरु रहेको छ । जस अन्तर्गत् पिरिरीको देश, परीगाउँको कथा, तरबारको जादु, फर्सीबहादुरको कथा र इन्र्टेस्टिङ स्टोरिज फर चिल्ड्र्ेन गरी ५ वटा कथाका किताबहरु र अचम्मको देश बालउपन्यास रहेका छन् । यी मध्ये ५ सचित्र बालकथा र १ उपन्यास विधाका कृतिहरु हुन् । सबै कृतिमा गरी कार्तिकेयका ४१ वटा कथा मराठीमा अनुदित भई प्रकाशित हुने भएको भएको छ । त्यस्तै अन्य कृतिहरुमा महेश पौड्यालको किशोर उपन्यास लिटिल लभर्स, रामदेव पाण्डेको सचित्र बालकथा ममताकी खानी, विष्णुकुमार पौडेलको सचित्र बालकथा हात्तीको फुर्ती, भगवती पौडेलको बालकथा मरेको बालक घर आयो, शिवप्रसाद उपाध्यायको भ्यागुताको हाइकिङ, जलेश्वरी श्रेष्ठको बालकथा संग्रह पिंकी र पुतलीहरु, लक्ष्मी उप्रेतीको बालकथा कमिलाको कथा र २० जना अन्य लेखकहरुको एकएकवटा कथा समावेश भएको नेपाली लेखकका बालकथाहरु नामक कथा संग्रह गरी चौधवटा बालकृति मराठीमा प्रकाशित हुन लागेको छ । प्रकाशोन्मुख संयुक्त कथा संग्रहमा गीताकेशरी, रन्जुश्री पराजुली, इन्द्रप्रसाद अधिकारी, ललिता दोषी, उन्नती बोहरा शीला, जलेश्वरी श्रेष्ठ, सुशीला देउजा, वसुश्री पाण्डे, स्नेह पोखरेल, रमा अधिकारी, सुभद्रा गौतम, कोमल पोखरेल, गंगा पौडेल, इल्या भट्टराईलगायत २५ जना लेखकहरु रहेका छन् । मराठीमा प्रकाशन हुन लागेका यी कृतिहरुको अनुवाद र सम्पादन मदन हजेरी, मिना हजेरी र अक्षता अनिकेत जोशीले गर्नुभएको छ । Marathi Edition Book Cover of Piriri's Country, Picture Story Book