Sunday, August 15, 2010

Children's Story by Senior Writer Vijaya Chalise कासाङ

"आज पसलको सामान नल्याइ नहुने, आजै पाहुना पनि धेरै आउँछन् । के पो गर्ने होला !" आमा छिमेकी बजुलाई आफ्नो समस्या सुनाउँदै हुनुहुन्थ्यो ।
"त्यै त के गरी भ्याउँछ्यौ एक्लैले" विहानको घाम ताप्दै तर्कारी केलाउन सघाइरहनुभएकी बजुले भन्नुभयो ।
पासाङकी आमा मुक्तिनाथ आउने पाहुनाहरू बस्नेखाने सानो सानो लज चलाउनुहुन्थ्यो । यो झारकोट गाउँ असाध्यै रमाइलो थियो । बाबा विदेशी पाहुना लिन पोखरा जनुभएकाले घरमा आमा र कासाङ मात्र थिए । जोमसोममा कलेज नभएकोले कासाङका दाजु पनि पोखरामैं बसेर पढ्थे । एक्लै लज चलाउन आमालाई भ्याइनभ्याई थियो । लजको समान लिन झण्डै एक विहानको बाटो हिंडेर जोमसोम पुग्नुपथ्र्यो ।
"आमा,म गएर ल्याउँछु नि त सामान ! के के ल्याउने भन्नोस् न बरु ।" आमाको समस्या बुझेर कासाङले भनिन् । उनी अघिपछि पनि विदाको बेला घोडा लिएर जोमसोम आउने जाने गर्थिन् । किनमेल गरेर आमालाई सघाउँथिन् । उनी जोमसोम कै स्कुलमा छ कक्षाकी विद्यार्थी थिइन् ।
"पढ्न चाहिं कति बेला जान्छ्यौ नि -"आमाले समस्या देखाउनु भयो ।
"आज शनिवार होइन, बिर्सनुभएको -"कासाङले स्कूल जानुनपर्ने कुरा सम्झाइन् ।
"ए हो त नि ,राम्ररी गएर सामान ल्याउ छोरी !"आमाले भन्नुभयो ।
कासाङ आमासँग किन्नु पर्ने सामानको सूची र पैसा लिएर जोमसोमतिर हिंडिन् । उनी घोडामा थिइन् । उनले माया गर्ने भएकोले घोडा पनि भनेको मान्थ्यो ।
जोमसोम झर्ने बाटो एकदमैं ठाडो र भिरालो थियो । बाटाभरि मसिना ढुङ्गाका गिर्खाले घोडाका खुर समेत रड्किने डर हुन्थ्यो । अझ अलि ढिलो भयो भने त कालीगण्डकीको खोचै खोँच जोडतोडको हावा चलेर मान्छे नै उडाउलाजस्तो गर्थ्र्यो । उकालो बाटोको धूलो र वगरको बालुवा उडाएर आँखै हेर्न दिंदैनथ्यो ।
"पख्...पख्...फुर्के, विस्तारै हिंड । खुट्टा रड्केर लड्लास् फेरि ! कासाङले भनिन् । उनको कुरा बुझेजस्तै घोडा पनि विस्तारै हिंड्न थाल्यो । कासाङ घोडालाई फुर्के भनेर बोलाउँथिन् । ओरालो सकेर बल्ल बल्ल कालीगण्डकीको किनारै किनारको बगर हिंडेर उनी जोमसोम पुगिन् ।