Wednesday, February 17, 2010

वरिष्ठ लेखिका गीता केशरी

गीता केशरी वि.सं.१९९७ असार २७ गते पकनाजोल, नयाँ बजार काठमाडौंमा जन्मनु भएको हो । उहाँ नेपाली साहित्यको वरिष्ठ लेखिका हुनुहुन्छ । उहाँको दशवटा उपन्यास र तीनवटा कथा-सङ्ग्रह गरी १३ वटा कृतिहरु प्रकाशित भएका छन् ।
नेपाली साहित्यको इतिहासमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रथम महिला सदस्यसचिव बन्न सफल हुनुभएकी केशरीले राष्ट्रिय प्रतिभा पुरस्कारलगायत नौवटा विशिष्ट पुरस्कार र सम्मानहरु प्राप्त गर्नुभएको छ । उहाँ बालसाहित्य प्रतिष्ठान नेपाल, कार्तिकेय बालप्रतिभा पुरस्कार कोष र www.ketaketi.org (पहिलो नेपाली अनलाइन बालपत्रिका) को वरिष्ठ सल्लाहकार हुनुहुन्छ । उहाँ अहिले सार्क राइर्टस फाउन्डेसन नेपालको नेपाल च्याप्टरको सह-अध्यक्षका रुपमा नेपाली साहित्यलाइ विश्वभरि फैलाउने उद्देश्यमा क्रियाशील हुनुहुन्छ ।
लहर नाम गरेको कृति वरिष्ठ लेखिका केशरीको पछिल्लो कृति हो । यस कृति वि.सं.२०६५ मा प्रकाशित भएको हो । यसलाई पन्त स्मृति प्रतिष्ठानले प्रकाशित गरेको हो । उहाँको अगुवाइमा स्थापित यो प्रतिष्ठानले हरेक वर्ष लेखक, कलाकार र बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै आएको छ ।
वरिष्ठ लेखिका केशरीको लहर कथाकृतिमा उहाँका १७ वटा रमाइला कथाहरु रहेका छन् । यस कृतिमा रहेका माया र शान्ति, सम्झनाको चिनो, जिज्ञासा र सुरक्षा शीर्षकका चारवटा कथाहरुमा लेखिकाले बालमनोविज्ञानको पक्षलाई सुन्दर र सशक्त ढङ्गले प्रस्तुत गर्नुभएको छ ।