Wednesday, May 26, 2010

तीस जना सन्थाल बालबालिकाहरु शैक्षिक प्रोत्साहन पुरस्कारबाट पुरस्कृत

बिर्तामोड, झापा, २०६७ जेठ १२
झापा जिल्लाको चारपाने गाविसमा अध्ययन गर्ने अति बिपन्न भूमीहीन, गरीब र लोपोन्मुख आदिवासी जनजाति सन्थाल समुदायका विद्यालयमा पढाइमा उत्कृष्ट नतिजा ल्याउँन सफल तीसजना जेहेन्दार सन्थाल बालबालिकाहरुलाई शैक्षिक प्रोत्साहान पुरस्कार २०६७ प्रदान गरिएको छ ।
पन्चरत्न मावि, चैतुबारीका १२ जना, वीर अमर सिंह माविका १२ जना र मोहनमाया निमाविका ६ जना गरी कक्षा ३ देखि दशसम्म अध्ययनरत ३० जनालाई यो पुरस्कार प्रदान गरिएको हो ।
मदरहुड केयर नेपाल, ललितपुर, फाउन्डेसन फर चाइल्ड डेभलपमेन्ट, ललितपुर र कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले संयुक्त रुपमा प्रदान गरेको यस पुरस्कारमा पुरस्कृत बालबालिकाहरुलाई वाषिर्क शुल्क, दुइ जोर विद्यालय पोशाक, झोला, पाठ्यपुस्तक, कापि कलमलगायत एउटा विद्यार्थीलाई पढ्न मैत्रीपूर्ण वातावरण बनाउँन आवश्यक पर्ने सबै सहयोग गरिएको छ ।
यसैगरी सोही समारोहमा फाउन्डेसन फर चाइल्ड डेभलपमेन्ट, ललितपुरका अध्यक्ष समाजसेवी तेजकुमार सुब्बाद्घारा आफ्नी आमा बुद्घीमायाको स्मृतिमा यसै वर्षबाट स्थापित बुद्घीमाया शैक्षिक प्रोत्साहन पुरस्कार २०६७ सन्थाल समुदायबाट सबैभन्दा बढी पढेकी दुवागढी, झापाकी जेहेन्दार गरीब छात्रा सुनिता सोरेनलाई प्रदान गरिएको छ । उनी अहिले बिएड दोस्रो वर्षमा त्रिदेव बहुमुखी क्याम्पस, दुवागढीमा पढिरहेकी छिन् । पुरस्कृत छात्रा सोरेनलाई नगद रु दश हजार एक रुपियाँ र प्रसंशा पत्र प्रदान गरिएको थियो ।
पुरस्कृत बालबालिकाहरुलाई बिर्तामोडमा आयोजित एक कार्यक्रममाझ प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाले प्रसंशा पत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रम मदरहुड केयर नेपालका झापा शाखाका अध्यक्ष ओमप्रसाद सेलवालको सभापतित्वमा भएको थियो । कार्यक्रम संचालन सोही शाखाका सचिव कैलाश वलीले गर्नुभएको थियो ।
तलको तस्बीर पुरस्कारका संस्थापक तेजकुमार सुब्बाको हो ।